होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।[१] यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् । यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।[२]

होली
रङ्गहरूको चाड
होली खेलिरहेको
आधिकारिक नामहोली
वैकल्पिक नामफागु पूर्णिमा.
अनुयायीहिन्दू
प्रकारहिन्दू
महत्त्ववसन्त ऋतुको आरम्भ, होलिकाको पराजय
उत्सवहोलीको अघिल्लो रात: होलीका दहन
होलीको दिन: अरूलाई रंग छर्कने, नाचगान गर्ने
प्रारम्भफागुन शुक्ल चतुर्दशी
समापनफाल्गुण पूर्णिमा
मितिफागुन शुक्ल चतुर्दशी (पहाडी भेग)
फाल्गुण पूर्णिमा (तराई भेग)
आवृत्तिबार्षिक
सम्बन्धितनेपाल भारत
होली खेल्दै रामाउदै एक बालिका
होली बिराटनगर बासीको

इतिहास

होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकश्यपुका छोरा प्रह्लाद बिष्णुका परम भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएका थिए । एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएको थियो । दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भने अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध चुसाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।

 
राधा कृष्ण तथा ब्रजवासी होली खेल्दै

[३] होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराणभविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ। भारतमा पर्ने विंध्यक्षेत्रको रामगढ भन्ने स्थानमा स्थित ईसापूर्व ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ । संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो ।[१][४]

नेपालमा होली

 
२०७४ रङहरु सँग रम्दै नेपालीहरू

फागु पूर्णिमा अर्थात होली पर्व नेपालमा निकै हर्षोल्लाशका साथ मनाउने गरिन्छ । नेपालमा यो पर्व धुमधाम गरी, अरू ठुला चाडहरू जस्तै रमाइलो गरी मनाइन्छ।  होलीको अघिल्लो साझ नेपालको वसन्तपुर दरवार अगाडि 'होलिका दहन' गरेर  यस चाडको सुरुवात गरिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिकाले बिष्णुका परम् भक्त हिरण्यकश्यपुका छोरा (प्रह्लाद)लाई मार्न अग्निमा आसन गर्दा होलिका आँफै जलेर नष्ट भएको र असत्य माथि सत्यको जित भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ। हिन्दू धर्म मान्नेहरूको बाहुल्यता भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भब्य हुन्छ। नेपालमा पहाडी क्षेत्रमा फागुपुर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलीपल्ट मात्र तराईमा होली मनाइन्छ । नेपालको विशेष सहरहरु काठमाडौँ, पोखरा, धरान, भरतपुर, बिराटनगर, धनगढी लगायत ठाउँमा होलीको रौनक अझै फरक हुन्छ । विशेष सांस्कृतिक कार्यक्रमहरू र त्यसमाथि रङहरूको वर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ । नेपालका गाँउहरूमा पनि होली भब्यताका साथ मनाइन्छ । होलीमा पानी छ्याप्ने, अबिर, केशरी लगायत रङ लगाउने चलन छ । बर्तमान समयमा होलीले विभिन्न खालका विकृति, विसङ्गतिहरू पनि नभित्र्याएको पनि कहाँ हो र ? होलीमा आजका युवाहरु इच्छा बिपरित रङ्ग दलिदिने, अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाइदिने, युवाहरु रक्सी, गाँजा, भांग, खाएर मातिने जस्ता काम गर्छन् जसलाई राम्रो मान्न सकिदैन । नेपालका मुख्य शहरहरूमा होलीका लागि भनेर विभिन्न ठाउँमा कडा सुरक्षा जाँच गरिन्छ। [५]

उपत्यका

काठमाण्डौ

 
वसन्तपुरमा विधिपूर्वक ठड्याइएको चिर

प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चिर ठड्याइएसँगै फागुपर्व सुरु हुन्छ । हनुमानढोका दरवारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि मुलुकभर फागु अर्थात् होली पर्व सुरु हुने गर्दछ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई आइतबार बिहान विशेष पूजा गरी ठड्याइने गरिन्छ । रङ्गीचङ्गी कपडाहरु झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको अग्लो बाँसको चीर ठड्ईन्छ । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एक आपसमा अविर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु हुन्छ । सो अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिने गर्दछ ।[६][७] असत्यमाथि सत्यको विजय हुने मान्यताका साथ प्रतीकात्मक रूपमा चिर उठाउने र एकसातापछि फागु पूर्णिमाका दिन सो चिर ढलाएर टुँडिखेलमा पुर्याइ दहन गर्ने परम्परा रहेको छ। चीर बीचमै ढलेको खण्डमा पुनः ठड्याई शान्ति स्वस्ति र क्षमा पूजागरिने चलन छ। त्यसरी अचानक चीर ढलेका कारण देशमा कुनै संकट नपरोस् र अनिष्ट नहोस् भनी ब्राह्मणद्वारा स्वस्ति, शान्ति, होम र क्षमा पूजा गराइने चलन रहदै आएको छ ।[८] त्यसै अवसरमा हनुमानढोका दरवार परिसर तथा हनुमानढोका दरवारभित्रको मोहनकाली चोक र दाखचोकमा पनि रंगीविरंगी कपडाका टुक्राहरु झुन्ड्याईएको मयलको रुखको हाँगा गाढेर पूजा पनि गरिने चलन छ । साथै, मोहनकाली चोकमा काठ निर्मित हातमा मुरली लिएका श्रीकृष्णको मूर्ति र नौवटा विभिन्नमुद्राका गोपीका मूर्तिहरु सजाई अविर छर्केर पूजा गरिदै आएको छ ।

 
होलिका दहन, काठमाडौँ, नेपाल.

फाल्गुण शुक्ल पूणिर्माको साइतमा चीरलाई ढाली तानेर लगी टुंडिखेलको मध्यभागमा पुर्याएर दाह गरेर पर्व समापन गरिन्छ । त्यसको भोलीपल्टदेखि वसन्त ऋतु प्रारम्भ हुन्छ । टुँडिखेलमा दाह गर्नुअघि चीरको अन्तिममा दर्शन र पूजा गर्न मारवाडी समुदायका श्रद्धालुहरूको निकै घुइँचो लाग्ने गर्छ। चीर दाहपछि त्यसको खरानी प्रसादका रूपमा मानिसहरूले घर-घर लैजाने चलन छ। यसैगरी ठमेलस्थित विक्रमशील महाविहारमा रहेको चकँ द्य-चक्रमणशीलको मूर्तिलाई राति त्यसै महाविहारसँगैको टुँ (इनार) चोकमा नौ पटक ओहोरदोहोर गराउने परम्परा छ। नेपाल भाषामा यसलाई 'गुह्रु न्यायेकेगु' भन्ने गरिन्छ। त्यसो गर्नुअघि मूर्तिलाई बाजागाजाका साथ होली खेल्दै जात्रा गरेर ठमेल नगर परिक्रमा गराइन्छ। सिंहसार्थ बाह भनिने त्यस मानवाकृत रातो चकँ द्यको मूर्तिलाई बाजागाजाले सहित जात्रा गर्दै ठमेलबाट ज्याठा, असन, इन्द्रचोक हुँदै हनुमानढोका पुर्याई त्यहाँबाट मरुसत्तल, प्याफल, नरदेवी, टेंगल, बाँगेमुढा, थँहिटी, क्वबहाल हुँदै विक्रमशील महाविहार पुर्याोउने परम्परा छ। चकँ द्य जात्राका क्रममा बोधिसत्व महामञ्जुश्री यहाँ आई विक्रमशील महाविहारमा बस्दा आफैले लेखेको भनिने 'प्रज्ञापारमिता' नामका ठूल्ठूला चार ठेली ग्रन्थ पनि सँगै बोकेर नगर परिक्रमा गराउने परम्परा थियो। तर केही वर्षयता 'ठ्यासफु' का रूपमा रहेको प्रत्येक पाना कालो पृष्ठभूमिमा सुन र चाँदीको मसीले रञ्जना लिपिमा लेखिएको ग्रन्थका पृष्ठहरू च्यातिने र हराउने डरले परिक्रमा गराउन छाडेको छ।

 
काठमाडौँका सर्बसाधारण होलीमा रमाउदै

व्यापारीहरूको नेतृत्व गर्दै ल्हासामा व्यापार गर्न गएका सिंहसार्थ वाह स्वदेश र्फकने क्रममा सँगै आएका सबै व्यापारीहरू मारिएका र उनी मात्र बाँचेर सकुशल आफ्नो घर फर्केको खुसियालीमा सिन्दुर जात्रा गरी होली खेलिएदेखि चकँ द्य जात्रा गर्ने परम्परा चलेको लोककथन पनि छ। ऋतुराज वसन्तको पुनरागमनमा प्रकृति नै हराभरा भई सर्वत्र रमणिय देखिन थालेको वातावरमा आठ दिनसम्म एकापसमा मैत्री एवं सद्भावपूर्वक खेलिने यस राष्ट्रिय पर्वमा भाङ, घोट्टा पिउने तथा ख्याली, टप्पा, वसन्त राग गाउँदै नाच्दै निकै रमाइलो गरिन्छ । युवायुवतिहरूले यस पर्वलाई आफूले मन पराएकासंग लामो समयदेखि आफूले प्रकट गर्न नसकेको मायाप्रीतिलाई नाच गानको माध्यमबाट प्रकट गर्ने अवसरको रूपमा पनि लिने गर्दछ ।[९] यस पर्वमा चीर ठड्याउने परम्परा सम्वन्धमा एक लोककथन अनुसार एक पटक यमुना नदीमा एक समूह गोपिनीहरु निवस्त्र नुहाइरहेका थिए । त्यसै बेला भगवान श्रीकृष्णले ती गोपिनीहरूको सबै लुगाहरु नदीको किनारमा एउटा रुखको हाँगामा झुन्ड्याई आफू अर्का हाँगामा बसी बाँसुरी बजाउन थालेका थिए । गोपिनीहरूले आफ्ना लुगा पाउन धेरै बिन्तीभाउ गर्दा पनि कृष्णले लुगा झारिदिएनन् । बरु उनले भने 'निबस्त्र नुहाएकोमा प्रायश्चित गरेमात्र लुगाहरु दिनेछु ।' त्यसअनुसार गोपिनीहरूले श्रीकृष्णलाई अर्घ्य जल चढाएर प्रायश्चित गरेका थिए । त्यसपछि कृष्णले रुखको हाँगाबाट लुगाहरु झारी दिएका थिए । श्रीकृष्णको त्यसै रास लीलाको स्मरणमा गोपिनीहरूको लुगाको प्रतिकमा रंगीचंगी कपडाका टुक्राहरु झुन्ड्याई चीर ठड्याउने प्रचलन भएको भन्ने छ । काठमाडौँ लगायतका पहाडी भेगमा फागु पूर्णिमाका दिन होली खेलिन्छ भने तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइन्छ ।[१०][११]

भक्तपुर

भक्तपुरमा चिर स्वायगू अथार्त लिङ्ग घुमाएपछि फागुपर्वको सुरूवात भएको मानिन्छ । जगतप्रकाश मल्लको समयमा बनेको दत्तात्रय मन्दिर संगै रहेको भीमसेनको मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरूवात गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन शनिबार भिमसेन मन्दिरमा राखिएको लिङ्ग अथार्त लगलाई टोल-टोलमा पसलै पिच्छे घुमाएर पूजा गरी घुमाएर पुन मन्दिरको पाटीमा राखिने परम्परा छ। काठबाट बनेको दुई हात लामो लिङ्ग करिब ३० इन्च मोटाई रहेको छ । संस्कृतिकर्मी ओम धौभडेल का अनुसार यसलाई भिमसेनको लिङ्ग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रूपमा लिने गरिन्छ । घर र पसल घुमाएको लिंगलाई भक्तजनले स्पर्षगरी ढोग्ने र दान दक्षिणा चढाएका थिए । लिंगको दर्शन गरे व्यापार फस्टाउने विश्वास रहेको छ | चिर स्वायगू अथार्त लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् । विशेषगरी होली भरी शनिबार र मंगलबार भिमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । यहाका गायजु गुठीले भिमसेन मन्दिरको पाटीमा बसेर होलीको गित गाउने गरेका छन् 'भिमसेन देया लज खङ्गलो वानला ल्यासे बिस्यूवाने म्वायक सो झायला' अथार्त यसलाई नेपालीका भिमसेनको लिङ्गले मन लोभियोकी भाग्नु नपर्ने गरी हेर्न आउनु भयो की' जस्ता गित गाउने गर्छन् । फाल्गुन शुक्ल पूर्णिमाका दिन रङ्ग होली खेलेपछि उक्त दिन साझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गुलाबको फूल, अत्तर र अमुख सहित पूजा गरेपछि नगर परिक्रमा गरिन्छ । त्यसबेला बाटोमा रहेको देवी देवतालाई तेलमा मुछेको अविरको डल्लाले छरी साझपछि दत्तात्रय मन्दिर पुर्‍याउने प्रचलन रही आएको छ । धौभडेलले बताए अनुसार साझपख दत्तात्रय मन्दिर अगाडिको भिमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिर स्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा राखिन्छ । यसरी मन्दिरबाट खोला सम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको हानाथाप हुन्छ । लिङ्ग बोक्नेको छोरा जन्मन्छ भन्ने विश्वास अहिलेसम्म पनि रहेकाले लिङ्ग बोक्न छोरा नहुनेको प्रतिष्पर्धा चल्ने गरेको उनले बताए । लिङ्ग पखालेर भीमसेन मन्दिरमा ल्याएपछि यस वर्षको होली समाप्त हुन्छ ।[१२][१३]

किम्बदन्तीहरू

 
होलिका दहनको चित्र

त्रेता युगमा विष्णुका परम् भक्त प्रह्लादलाई मार्नको लागि हिरण्यकश्यपुले विभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट जलेर नमर्ने बरदान पाएकी होलिकालाई प्रल्हादलाई काखम लिएर आगोमा बस्न लगाउँदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका आफैं जलेर नष्ट भइ असत्य माथि सत्यको विजय भएको उपलक्षमा यो पर्बको अघिल्लो दिन त्यही होलिका बनाई दहन गरी मनाइने गरिन्छ । [१४]

रङ्ग

 
होलीको लागि रङ्गको एक दुकान

रंगले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ। होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रंग बढी प्रयोग हुन्छ। कुनै पनि रङको प्रयोग गर्नूपूर्व त्यसको फाइदा, बेफाइदा, महत्त्व र रंगको प्रतीक बुझ्नु आवश्यक छ।

रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। त्यसैले देवताहरूले रातो रंगको पहिरन लगाएका हुन्छन् । अधिकांशलाई मन पर्ने रंग हो- रातो । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ। हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ। स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रूपमा लिइने यो रंग होलीमा पनि विशेष प्राथमिकताका साथ प्रयोग गरिन्छ। रातो रंगलाई साहस र प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ। रातो रंग मन पराउने मानिसहरू महत्त्वाकांक्षीका साथै जिज्ञासु एवं जोसिला हुन्छन्।

हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ। यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ। हरियो रंग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छन्। उनीहरू झैझगडा पटक्कै मन पराउँदैनन्। यो रंग मन पराउने मानिसहरूको आत्मविश्वास कम हुने विश्वास गरिन्छ।

यो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ। यो रंग मन पराउने मानिसहरू धर्मकर्मप्रति बढी विश्वास गर्छन्। होली हिन्दू धर्म अवलम्बीहरूको चाड भएकाले यो रंगको विशेष प्रयोग हुन्छ। कतिपय समुदायमा त रातो र पंहेलो अबिर दलेर होली खेल्ने परम्परा पनि छ। यो रंगको सम्बन्ध खुसी र हर्षसँग पनि छ। मनोविज्ञहरूका अनुसार यो रंग मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्न उत्साहित हुन्छन् ।

नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नील बर्णका भगवान बिष्णुले अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको मान्यता पनि सुन्न पाइन्छ । यो रंगलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ। त्यसैले पनि यो रंगको प्रयोग बढी हुन्छ। यो रंग मन पराउने मानिसहरू सन्तुलित विचारधाराका हुन्छन्। उनीहरू अलि बढी चिन्तित स्वभावका हुने मनोविदहरू बताउँछन् ।

होलीमा कालो रंगको पनि व्यापक प्रयोग हुन्छ। यो रंग ईष्र्या र स्वार्थसँग सम्बन्धित हुन्छ। यो रंग मन पराउने मानिसहरू आफ्नो इच्छा र भावना खुलस्त रूपमा भन्न चाहँदैनन्। तुरुन्तै रिसाउने खालका हुन्छन्।

धेरैलाई मन पर्ने रंग हो- सेतो। यो रंगलाई शुद्धताको प्रतीक मानिन्छ। कर्ममा विश्वास राख्ने व्यक्तिहरू सेतो रंग मन पराउँछन्। चहकिलो सेतो रंगलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ।[१५]

अन्य देशहरूमा होली

 
जर्मनीमा होलीपर्व मनाउदै युवा

अन्य चाडपर्व जस्तै होलीका पनि आफ्नै विशेषता छ। हरेक मुलुकमा आ-आफ्नै तरिकाले होली पर्व मनाइन्छ। नेपालमा फाल्गुण शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडाहरू मिलाएर बनाएको चिर गाडे पछि होली पर्व सुरू भएको मानिन्छ। यसरी सुरू भएको होली पर्व पूणिर्माका दिन चिरलाई ढालेर जलाए पछि होली सम्पन्न हुन्छ। तराईमा भने भोलिपल्ट होली खेलिन्छ। इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले। यसैगरी अमेरिका, जापान, इजिप्ट, इन्डोनेसिया, थाइल्याण्ड आदि देशमा पनि आ-आफ्नै प्रकारले यो पर्व मनाइन्छ। होलीलाई असत्यमाथि सत्यको जितको प्रतीकका रूपमा लिइन्छ। नेवारी परम्परा अनुसार पानीसँग नभएर अबिर र रंगसँग होली खेल्ने चलन छ। नेवारी संस्कृतिमा होलीका बारेमा युवा-युवतीलाई जिस्क्याउँदै गाएका अनेक शिष्ट तथा रोचक गीतहरू प्रशस्त पाइन्छन्। होलीको सन्दर्भमा गाईएका नेवारी गीतमा निकै मार्मिक तथा प्रेममय भावमा व्यक्त गरिएका छन्। [१६]

भारत

 
बाँके बिहारीमा होली

होली वा फगुवालाई भारतका विभिन्न प्रान्तमा फागवह वा डोलजात्रा, डोलाजात्रा र वसन्तोत्सवका नामले पनि जानिन्छ। भगवान् श्रीकृष्णको ब्रजभूमि मथुरा, बृन्दावन, नन्दगाव र बर्सनाको होली हेर्न त पर्यटकको ओइरो नै लाग्छ। गुजरात, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, बङ्गाल, उडिसा, असम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटक, तेलङ्गाना, आन्ध्र प्रदेश, जम्मु कश्मीर पञ्जाब, मध्य प्रदेशतमिलनाडुको होलीमा स्थानीय लोकसंस्कृतिको झलक पाइन्छ। त्यसमा पनि गुजरातको अहमदाबादमा नौनीले भरिएको माटाको भाँडा फोर्ने प्रतियोगिता तथा उत्तरप्रदेशको ब्रजक्षेत्रको मथुरानजिकैको बर्सनामा महिलाले पुरुषलाई कुट्ने लठ मार होली (लौरोले प्रहार गर्ने होली) निकै लोकप्रिय छ। धार्मिक र सामाजिक रूपले महिलालाई जिस्काउने र दुर्व्यवहार गर्न नहुने सन्देश दिनु यो परम्पराको उद्देश्य हो। किंवदन्ती अनुसार भगवान् कृष्ण यस दिन राधाको गाउँ पुगेर उनलाई र उनका सखीहरूलाई जिस्काएका थिए। प्रतिकारमा बर्सनाका महिलाहरूले उनलाई लखेटेका थिए। त्यति बेलादेखि नै यो परम्परा कायम छ। छिमेकी बिहारको भोजपुरी शैलीको होली पनि चित्ताकर्षक हुन्छ। त्यहाँको जोगिरा गायन अर्थात् 'जोगिरा सरर...' पूरा एसियामा लोकप्रिय छ। [१६][१७]

पाकिस्तान

पाकिस्तानमा पनि होली पर्व मनाउने चलन छ। भारतीय संस्कृतिको प्रभाव रहेको यो मुलुकमा हिन्दू धर्म मनाउनेहरूको पनि उपस्थिति छ। यहाँ घर-आँगन सफा गर्ने र विभिन्न खालका मिठाई बनाएर खाने तथा आफन्त एवं इष्टमित्रहरूलाई ख्वाउने चलन छ। पाकिस्तानी होलीमा साथीहरूसँग सांगीतिक वातावरणमा रमाइलो गर्ने चलन पनि छ। प्रायः मन्दिरहरूमा भेला भै होली मनाइन्छ।[१६]

बङ्गलादेश

बङ्गलादेशमा पनि होली पर्व मनाइन्छ। यो मुलुक बहुसांस्कृतिक मुलुक हो। यहाँ विशेषतः हिन्दू, बौद्ध एवं मुसलमान समुदायका मानिसहरू बसोबास गर्छन्। मुस्लिम समुदायको वर्चस्व रहे पनि हिन्दू धर्मावलम्बीहरूले यो पर्व मनाउँछन्। हिन्दू धर्मावलम्बीहरू मन्दिरमा जम्मा भएर रङका साथमा होली खेल्ने चलन छ। बङ्गलादेशका अधिकांश क्षेत्रमा भारतीय संस्कृतिको प्रभाव छ। [१६][१८]

गयाना

दक्षिण अमेरिकाको दक्षिण क्षेत्र गुयानामा पनि होली मनाउने चलन छ। उक्त क्षेत्रमा होलीको विशेष महत्त्व छ। यहाँ पानी, रङ र गीत-संगीतका बीच होली मनाउने चलन छ। बालबालिकाहरू पनि पिचकारीले पानी छ्यापेर होली खेल्छन्। भगवान् शिवको नाममा यहाँ होली मनाउने चलन छ। त्यहाँका हिन्दूहरूलाई यो पर्वमा सार्वजनिक बिदा समेत दिइन्छ। पारिवारिक जमघट गरेर पनि रमाइलोका साथ होली पर्व मनाइन्छ।[१६]

बेलायत

बेलायतमा बसोबास गरिरहेका अन्य मुलुकका नागरिकले आ-आफ्नै किसिमले होली मनाए पनि त्यहाँको आफ्नै परम्परा र संस्कृति छ। यहाँ विशेष गरी आफन्त र साथीहरूलाई निम्तो गरेर होली मनाउने चलन छ। कतिपय ठाउँमा टिकट बेचेर होली मनाउने चलन पनि छ। ठूलो मुलुक र थुप्रै समुदाय भएकाले होली विभिन्न समय र प्रकृतिअनुसार मनाइन्छ। होलीमा सांगीतिक कार्यक्रमहरू पनि सम्पन्न गरिन्छन्। विशेषतः भारतीय नागरिकको वर्चस्व रहेका क्षेत्रहरूमा धूमधामका साथ होली मनाउने चलन छ।[१६]

मौरिसस

अफ्रिकी महादेशमा पर्ने यो मुलुकमा करिब ६३ प्रतिशत नागरिक भारतीय मूलका छन्। यहाँ होलीका दिन सार्वजनिक बिदा दिइन्छ। यहाँ पनि होलिका दहन गर्ने चलन छ। एक आपसमा मिठाई बाँडेर तथा पानी र रङका साथ होली खेलिन्छ। साथीभाइसँग खानपिन गरेर रमाइलो गर्ने चलन छ।[१६]

फिजी

फिजीमा सांगीतिक रमझमका साथ होली मनाइन्छ। राधाश्रीकृष्णको प्रेमभावका गीतहरू गाएर होली मनाउने चलन छ। यहाँ पनि विभिन्न खालका रङ दलेर होली खेलिन्छ। फिजीमा होलीमा मात्र होइन, यो मौसम भरिनै होली गीतहरू गाइन्छ।[१६]

दक्षिण अफ्रिका

दक्षिण अफ्रिकामा गीतहरू गाउने, नाच्ने र साथीभाइहरू जमघट भै होली खेल्ने चलन छ। विशेषतः भारतीय नागरिकको वर्चस्व रहेको क्षेत्रमा होलीको वातावरण देखिन्छ। दिनभर होली खेलेर साँझपख मिठाई तथा चकलेटहरू बाँडेर होली मनाउने चलन छ।[१६]

सुरिनाम

सुरिनाममा ३५ देखि ४० प्रतिशत हिन्दू छन्, जो भारतको उत्तर प्रदेश तथा विहारबाट गएका हुन्। त्यहाँ पनि होलीका गीत गाउने र रङ खेलेर होली मनाउने चलन छ। यसका साथै विभिन्न प्रकारका मिठाई बनाएर बाँड्ने र खाने चलन छ। साथीभाइ एवं परिवारसँग जमघट गरेर रमाइलो गर्ने चलन पनि छ।[१६]

अमेरिका

 
२०१३ मा न्यू योर्क सहरमा बजागाजा सहित होली मनाउदै

अमेरिकाका विभिन्न राज्यमा पनि होलीको रौनक देख्न पाइन्छ। विश्वभरका नागरिक बसोबास गर्ने यो मुलुकमा होली मनाउने आफ्नै परम्परा छ। यसका साथै अन्य नागरिकले पनि आफ्नो समुदाय र प्रचलन अनुसार होली मनाउने गरेका छन्। अमेरिकामा फेसन शो, म्युजिक कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरू आयोजित गरेर होली मनाइन्छ। आफन्तहरूसँगको भेटघाट एवं खानपिन पनि अमेरिकी होलीको महत्त्वपूर्ण पक्ष हो।[१६]

पञ्चाङ्ग

होली कहिले कुन दिन मनाउने त्यो नेपाली मिति अथवा अंग्रेजी मिति अनुसार नभएर हिन्दू पञ्चाङ्ग अनुसार निर्णय भएको छ त्यसैले यसको अन्य मितिमा सधै भिन्नता रही रहने गरेको छ । केहि वर्ष पहिला र केहि वर्ष पछिको होलीको मिति यसप्रकार छ ।

  • विसं २०७० चैत्र १-२ सन् २०१४ मार्च १६
  • विसं २०७१ फाल्गुण २०-२१ सन् २०१५ मार्च ५
  • विसं २०७२ चैत्र ९-१०' सन् २०१६ मार्च २३
  • विसं २०७३ फाल्गुण २८-१९ ' सन् २०१७ मार्च १२
  • विसं २०७४ फाल्गुण १७-१८ सन् २०१८ मार्च १
  • विसं २०७५ चैत्र ७-८ सन् २०१९ मार्च २१
  • विसं २०७६ फाल्गुण २६-२७ सन् २०२० मार्च ९
  • विसं २०७७ चैत्र १४-१५ सन् २०२१ मार्च २८
  • विसं २०७८ चैत्र ३-४ सन् २०२२ मार्च १८
  • विसं २०७९ फाल्गुण २२-२३ सन् २०२३ मार्च ७
  • विसं २०८० चैत्र ११-१२ सन् २०२४ मार्च २५

[१९]

चित्र दीर्घा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ नेपालीपात्रो
  2. holi
  3. विभिन्न हिन्दू धार्मिक ग्रन्थहरू
  4. इतिहास[dead link]
  5. jyaloonline[dead link]
  6. इकान्तिपुर वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-०२ मिति
  7. ujyaloonline वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२१ मिति
  8. इकान्तिपुर वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-१९ मिति
  9. कान्तिपुर वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-०२ मिति
  10. annapurnaposht[dead link]
  11. rajdhanidaily वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-०६ मिति
  12. janaboli
  13. saptahik वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-१३ मिति
  14. sagarmatha tv[dead link]
  15. saptahik kantipur वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-२४ मिति
  16. १६.०० १६.०१ १६.०२ १६.०३ १६.०४ १६.०५ १६.०६ १६.०७ १६.०८ १६.०९ १६.१० epurbanchal[dead link]
  17. इकान्तिपुर वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-०६ मिति
  18. कान्तिपुर दैनिक[dead link]
  19. hinducalenderapp

बाह्य कडीहरू