झापा जिल्ला
झापा जिल्ला (ⓘ; नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्यधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराई पर्दछ । विसं २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या ८१,२६५० रहेको छ [१]। यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. रहेको छ । यो जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गालसँग सिमाना छुट्याएको तथा यस जिल्लाको दक्षिणमा भारतको बिहार रहेको छ। उत्तरमा इलाम, पश्चिममा मोरङ जिल्ला रहेका छन् । यस जिल्लामा ३३ गाउँ विकास समितिहरू, ८ नगरपालिकाहरू, ७ संसदीय निर्वाचन क्षेत्रहरू, १७ इलाकाहरू, एवं १९३४ वस्तीहरू रहेका छन्। सन् २०१४ को मानव विकास समग्र सूचकाङ्कमा नेपालको दशौँ स्थानमा[२] रहेको यस जिल्लाको सदरमुकाम चन्द्रगढी हो, जुन पूर्व पश्चिम राजमार्गको बिर्तामोडबाट १३ कि.मी. दक्षिणमा पर्दछ । नेपालको सबभन्दा होचो भू-भाग केचनाकवल -५८ मी.[३] र नेपालको सबभन्दा लामो पक्की पुल कन्काई (७०२ मी.) पनि यसै जिल्लामा पर्दछ।[४] देशको केन्द्रीय राजनीतिमा मुख्य भूमिका खेल्दै आएको झापा जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्त्वपूर्ण जिल्ला हो। यहाँका प्रमुख व्यापारिक सहरहरू बिर्तामोड नगरपालिका, दमक नगरपालिका र काकरभिट्टा हुन् । यस जिल्लाका प्रसिद्ध पर्यटकीय एवं तीर्थस्थलहरूमा कन्काई धाम कोटीहोम, अर्जुनधारा,जामुनखाडी सिमसार क्षेत्र, किच्चक वध, केचनाकवल, सतासीधाम, धनुषकोटी धामआदि पर्दछन् । झापाका प्रमुख नदी भनेर कनकाई नदी, बिरिङ नदी, रतुवा नदी मावा नदी, र मेची नदीलाई जानिन्छ । [५][६][७]
झापा जिल्ला | |
---|---|
उपनाम: झापा | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
अवस्थिति | तराई |
नगरपालिका | ८ |
सदरमुकाम | चन्द्रगढी |
क्षेत्रफल | |
• जम्मा | १६०६ किमी२ (६२० वर्ग माइल) |
उन्नतांश (अधिकतम) | ५०६ मिटर (१६६० फिट) |
जनसङ्ख्या | |
• जम्मा | ८१२६५० |
• घनत्व | ५१०/किमी२ (१३००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०२३ |
मुख्य भाषाहरू | नेपाली, लिम्बू भाषा, राई भाषा, मैथिली, सतार भाषा, ताजपुरिया, राजवंशी |
प्रमुख जातिहरू | बाहुन, क्षेत्री, लिम्बु, राई, गुरुङ, मगर, तामाङ, कोचे, मेचे, सतार, थारू, ताजपुरिया, राजवंशी, भुजेल(खवास) |
वेबसाइट | www.ddcjhapa.gov.np |
जिल्लाको नामाकरण
पहिले झापा जिल्लाको सम्पूर्ण प्रशासनिक कार्य मोरङ गोश्वाराले हेर्ने गर्दथ्यो। पछि उक्त मोरङ गोश्वारा हालको कुमरखोद गाविस अन्तरगत पर्ने झापा गाउँमा सारियो जुन गाउँ हाल पनि कुमरखोद गाविसमा झापा बजार नामले चिनिन्छ। तसर्थ त्यस झापा गाउँको नामबाटै कालान्तरमा यस ठाउँ (जिल्ला)को नाम झापा रहन पुग्यो। झापा जिल्लाका आदिवासी जाति राजवंशीहरूको राजवंशी भाषामा झापाको अर्थ ढकनी वा विर्को भन्ने अर्थ लाग्ने र शताब्दीऔं देखि वन जंगलबाट ढाकिएको वा छोपिएको हुँदा यस ठाउँको नाम झापा रहन गएको भन्ने भनाई रहिआएको छ।[८]
भौगोलिक विभाजन
- अक्षांश:- २६.२०" देखि २६.५०" उत्तर
- देशान्तर:- ८७.३९" देखि ८८.१२" पूर्व
- सिमाना:- पूर्व पश्चिम बङ्गाल (भारत), पश्चिम मोरङ जिल्ला, उत्तर इलाम जिल्ला, दक्षिण बिहार, भारत
- क्षेत्रफल:- १,६०६ वर्ग कि.मि.
- औषत लम्वाई:- लगभग ४६ कि.मि. (पूर्व पश्चिम)
- औषत चौडाई:- लगभग २९ कि.मि. (उत्तर दक्षिण)
- उचाई:- समुद्री सतहदेखि करिब ५८ मिटरदेखि ५०० मिटरसम्म रहेको छ।[७][९]
ऐतिहासिक पृष्ठभूमि
पृथ्वीनारायण शाहको शासन काल पूर्व मोरङ र झापा लिम्बुवान राज्यमा पर्द थियो र त्यसबेला लिम्बुवान खेबाङ वंशी राजा बुद्धिकर्ण राय खेवाङको शासन थियो। सन् १७७३ मा अभिमान सिंह बस्नेत र सरदार सारथी भण्डारीको नेतृत्वमा आएको फौजले आक्रमण गरी मोरङ पनि कब्जा गरे । सन् १७७४ मा आक्रमण गरी विजयपुरलाई पनि कब्जामा लिए। अभिमान सिंह बस्नेतको नेतृत्वको फौजले पल्लो किराँत लिम्बुवानको उत्तरी सिमाना र पूर्व तमोर नदीसम्म अधिकार जमायो र लिम्बुवानका लिम्बुहरु र गोर्खाली बिच सम्झौता गरी नेपाल एकिकरणमा समाहित भएकाले पृथ्वीनारायण शाहको समयमा नेपालको सिमाना पूर्वी पहाडतर्फ सिंहलिला पहाडसम्म र मैदानतर्फ कन्काई नदी क्षेत्रसम्म फैलियो। सन् १७८३ मा अर्थात् रणबहादुर शाहको शासनकालमा नेपालको सिमाना पश्चिमतर्फ कुमाउँ, गढवाल र पूर्वतर्फ टिष्टा नदीसम्म पुगेको थियो। तर सन् १८१४ मा अङ्ग्रेजले बिराटनगर र रङ्गेलीबीच पर्ने 'धनपुर' भन्ने स्थान र झापा बजार हाल कुमरखोद गाविसमा आक्रमण गरी आफ्नो कब्जामा लियो। बाध्यताबस १८१६ मार्च ४ मा सुगौली सन्धिमा हस्ताक्षर गर्न नेपाल बाध्य भयो र मेची नदी सदाको लागि पूर्वी अन्तर्राष्ट्रिय सिमाना हुन पुग्यो।
हावापानी
यस जिल्लामा मनसुनी हावा पानी ( अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ। गृष्मकालमा यहाँको तापक्रम ३२ डिग्री सेल्सियस देखि ३५ डिग्री सेल्सियससम्म पुग्दछ भने शीतकालमा १५ देखि १० डिग्री सेल्सियससम्म ओर्लिन्छ। कुनै वर्ष अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस सम्म पुगेको र न्यून्तम तापक्रम ८ डिग्री सेल्सियससम्म झरेको पाइन्छ। वर्षा ऋतुमा हिन्द महासागरको बङ्गालको खाडीबाट आउने मनसुनी हावाबाट यहाँ २७१.७५ मिलि मीटरसम्म वर्षा हुने गरेको पाइन्छ। यहाँको हावापानी ज्यादै उष्ण र शुष्क हुने हुँदा स्वास्थ्यका लागि उपयोगी नभएपनि कृषि कार्यका लागि उपयोगी मानिन्छ। ।[७]
जिल्लाको प्राकृतिक विभाजन
उत्तर तर्फको भिरालो प्रदेश वा भावर प्रदेश
जिल्लाको उत्तरी भागमा चुरे क्षेत्रबाट वग्ने नदी र खोलानालाहरूले वगाएर ल्याएको वलौटे माटो पाइन्छ। जसलाई भावर क्षेत्र पनि भनिन्छ। उक्त क्षेत्रमा बाहुनडाँगी, शान्तिनगर, बुधबारे खुदुनावारी, सुरुङ्गा, सतासीधाम, धरमपुर, तोपगाछी र लखनपुर गाविस तथा दमक नगरपालिकाहरू पर्दछन्। यस प्रदेशमा औषत न्युनतम तापक्रम ५.७ डिग्री सेल्सियस मंसीर तथा पौष महिनामा र सबै भन्दा वढी औषत तापक्रम ४० डिग्री सेल्सियस जेष्ठ तथा असार महिनामा हुन्छ। ।[७]
दक्षिणको तराई प्रदेश
भावर प्रदेशमा आएर सुकेका नदीहरूले यहाँका तटवर्ती जग्गालाई सिञ्चित गरेको छ। यस भेगको माटो मलिलो छ र यो प्रदेशले ६५ प्रतिशत भूभाग ओगटेको पाइन्छ। नेपालको सबै भन्दा होचो भूभाग केचनाकवल समेत यसै क्षेत्रमा पर्दछ। यहाँको तापक्रम मध्यम पाइन्छ जहाँ वढीमा ४० डिग्री सेल्सियस र घटीमा ०.० डिग्री सेल्सियस हुन्छ। पूर्वबाट आउने मनसुनी हावा महाभारत पर्वत शृङ्खलामा ठक्कर खाएर यहाँ मनसुनी वर्षा हुन्छ। सबै भन्द बढी वर्षा असार श्रावण र भाद्र महिना र कम वर्षा मंसिर महिनामा हुन्छ। यहाँ वर्ष भरीमा औषत २७१.७५ मिलिमिटर वर्षा हुन्छ। मेची, निन्दा, बिरिङ, कन्काई, रतुवा र मावा यस जिल्लाका प्रमुख नदीनालाहरू हुन। मेची नदी नेपालको पूर्वी सीमाना पनि हो भने मावा खोला यस जिल्लाको पश्चिम सिमाना रहेको छ। धार्मिक महत्त्व समेत भएको जिल्लाको सबै भन्दा ठूलो कन्काई नदी जिल्लाको बिच भागबाट बगेको छ। प्रायः सबै नदी नालाहरूको उद्गम स्थल महाभारत पर्वत शृङ्खला रहेको छ। ती नदीनालाहरू जिल्लाको धेरै भू-भाग सिंचित गर्दै भारतको बिहार राज्य तर्फ बग्दै गएका छन्।
झापाका पर्यटकीय र धार्मिकस्थलहरू
झापा जिल्ला धार्मिक एवं पर्यटकीय क्षेत्रको एउटा धनी जिल्ला हो । झापा जिल्लाका प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थलहरू निम्न रहेका छन् ।
कनकाई धाम कोटीहोम
कनकाई धाम कोटीहोम पर्यटकीय र धार्मिक दुवै ढङ्गले पूर्ण भएको धार्मिक थलो हो। झापा जिल्लाको सम्भवत बिचबाट कनकाई नदी बगेकी छन । यसैको कीनारामा रहेको यस स्थानमा माघ महीनाको एक दुई र तीन गते ठुलो मेला लाग्ने गर्दछ । यस अतिरिक्त पनि बाह्रै महीना यहाँ विभिन्न ठाऊँबाट आउने मानिसहरूको भीड लाग्ने गर्दछ । यस्तै अर्को बिर्तामोडदेखि उत्तरमा रहेको अर्जुनधाराधाम धार्मिक दृष्टिले झापाकै सबै भन्दा प्रसिद्ध स्थलको रूपमा रहेको छ । यहाँ बाला चतुर्दशी,एवं अन्य विशेष पर्वमा मानिसको ठुलो भीड लाग्ने गर्दछ यहाँ चारकुने एउटा पोखरी छ जसको बिचमा अर्जुनले गाइलाई पनि ख्वाएको मूर्ति स्थापना गरिएको छ यस पोखारीमा बाह्रै महीना पानी बगिरहन्छ।
सतासीधाम
सतासीधाम झापा जिल्लाको शिवसताक्षी नगरपालिका रहेको धार्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थलो हो । किम्बदन्ति अनुसार पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ भनी सतासीधामलाई चिन्ने गरिन्छ ।झीलझीले बजारबाट करिब ४ कि. मी. उत्तर चुरेपहाडको फेदीमा इलामको सिमानासँग जोडिएको यस स्थानमा रहेका प्राकृतिक मूर्तिका स्वरुपहरू,भित्तामा रहेका गाईका थुन आकारका प्रतीकहरू, सतासी खोलाको एक स्थानको बीच भागमा करिब २० मिटरभित्र मात्र निस्कने गन्धक – पानी, फेदीमा रहेका अन्य मूर्तिहरूले पनि यो स्थान धार्मिक र प्राकृतिक दृष्टिले रोमाञ्चकारी रहेको छ । सतासीधाममा प्रत्येक वर्ष बालाचतुर्दशीको दिन शतबीज छर्नको निम्ति दर्शनार्थीहरूको घुँइचों लाग्ने गर्दछ ।
जामुनखाडी सिमसार क्षेत्र
जामुनखाडी सिमसार क्षेत्र झापाको कनकाई नगरपालिकामा रहेको एउटा पर्यटकीय स्थल हो । यहाँ झापा मोरङ इलाम आदि विभिन्न स्थानबाट आउने मानिसहरूको भीड लागि रहन्छ । जामुनखाडी सामुदायिक वनको केही भूभागलाई सिमसार क्षेत्र घोषणा गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सुरु गरिएको थियो । विश्वमै लोप हुदै गईरहेको अजिङ्गर यहाँको आकर्षण हो । यस अतिरिक्त अनेक वन्य जन्तुहरूले यहाँको शोभा बढाएका छन् । यहाँ पर्यटकलाई आकर्षित गर्न झोलुङ्गे पुल नौका बिहार एवं आराम गर्न ठाऊँ ठाऊँमा चौतारोहरूको निर्माण गरिएको छ ।
किच्चक वध
किचकवध भन्ने ठाउँ पृथ्वीनगर गाविसमा मेची र देउनियाँ खोलाको संगममा पर्दछ । यस ठाउँलाई ऐतिहासिक धार्मिकस्थलको रूपमा लिइन्छ । महाभारतको कथाअनुसार पाण्डवहरू मत्स्यदेशका राजा विराटको दरवारमा गुप्तबास बसेको अवस्थामा विराटका साला एवं मत्स्यदेशको सेनापति किच्चकले द्रौपदीमाथि कुदृष्टि गर्यो । भीमसेनले यो कुरा चाल पाए र किच्चकको वध गरे । त्यही भीमसेनले कीचकको वध गरेको ठाउँलाई कीचकवध भनिएको हो भन्ने भनाइ छ ।
केचनाकवल
केचनाकवल झापा जिल्लामा रहेको केचना गा.वि.स.मा पर्ने केचनकवल नेपालको सबैभन्दा होचो ठाउँ भएकोले यो पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थल रहेको छ । यो समुद्री सतहबाट ५८ मी. उचाइमा रहेको छ । यस क्षेत्रमा ४ बिघा जमीन ऐलानी भएको र अत्यन्त होचो भएको कारण वर्षायाममा पानी जमेर दलदलम परिणत हुने भएकोले हिउँदमा मात्र आधारस्तम्भमा पुग्न सकिन्छ । यो ठाउँ नेपाल भारत सिमानाबाट करिब ५०० मिटर दूरीमा पर्दछ ।
विराट पोखर
अनारमनी विर्ताबजार दक्षिण सैनिकमोडदेखि चारपाने गाविस क्षेत्रको माथिल्लो भागसम्ममा रहेका करिब सातवटा पोखरी रहेको क्षेत्रलाई महाभारतकालीन कथासँग जोडेर स्थानीय बासिन्दाहरू विराटपोखर भन्ने गर्दछन ।
समयगढ
समयगढ त्रिगर्त नरेश सुशर्माले महाभारत कालमा राज्य गर्दा बनाएका गढहरु हाल तोपगाछी गाविस मा रहेको छ । यसलाई स्थानीय बासिन्दाहरु सेमेगढ पनि भन्ने गर्दछन् ।
चिल्लागढ
चिल्लागढ कन्काई माईको किनारामा अवस्थित चिल्लागढ पोखरीको ऐतिहासिकता अझै प्रष्ट भएको छैन तर त्यसमा किरातहरूले आफ्नो पवित्र धार्मिकस्थल भनी पूजाआजा गर्ने गरेका छन् ।
चन्द्रगढ
चन्द्रगढ चन्द्रगढी गाविस को वडा न. २ मा ६२ बिगाहा जमीनमा श्री ३ चन्द्र शमशेर आई सैनिक किल्ला कायम गरी भौतिक रूपमा गढ निर्माण गरी सानो भवन, सिसाको इनार समेत निर्माण गरिएकोमा हाल उक्त इनार भग्नावशेष को रूपमा पाइन्छ । हाल उक्त स्थानमा गौशाला र लक्ष्मी नारायण मन्दिरको निर्माण गर्ने र आवधिक योजना निर्माण गरी पर्यटकीय स्थल निर्माण गर्ने कार्यमा स्थानीय जनता, गाविस र धार्मिक तथा सामाजिक संघसस्था लागिपरेको पाइन्छ । यही चन्द्रगढको नामबाट झापा जिल्लाको सदरमुकामको नाम चन्द्रगढी रहन गएको पाइन्छ।
कृष्ण थुम्की
कृष्ण थुम्की झापा जिल्लाको बाहुनडाँगी गाविस अनतर्गत पर्ने एक धार्मिक तथा पर्यटकीय स्थल हो ।
धनुषकोटी धाम
धनुषकोटी धाम झापा जिल्लाको कन्काई नगरपालिकाको सुरुङ्गा बजारदेखी ३ कि.मी उत्तरमा रहेको धार्मिक स्थल हो ।
दोमुखा
दोमुखा झापा जिल्लाको कन्काई नदीकोको किनारमा रहेको एउटा पर्यटकीय क्षेत्र हो ।[१०]
जिल्लाका प्रमुख नदीनालाहरू
मावा नदी
मावा नदी झापा जिल्ला र मोरङ जिल्लाको सीमा नदीका रूपमा रहेको झापाको पश्चिम सीमा भई वग्ने मावा नदीको उद्गम स्थल इलाम जिल्ला हो। यो महाभारत पर्वत शृङ्खलाबाट निस्किएको हुँदा यहाँ वर्ष भरी नै पानी बगिरहन्छ। यस नदीबाट वर्षायाममा सिंचाई सुविधा उपयोग गरेको खण्डमा झापा जिल्लाको दमक, लखनपुर, लगायत मोरङ जिल्लाका किसानहरूले पनि फाइदा लिन सक्छन।
रतुवा नदी
रतुवा नदी दमक नगरपालिकाको पूर्वी भाग हुँदै मावा नदीमा मिसिने यस नदीको उपजलाधार १२,४२२ हेक्टर रहेको छ। भू-क्षयको दृष्टिले उपजलाधार क्षेत्र मध्ये जिल्लाको तेस्रो स्थानमा रहेकोले यस रतुवा नदीमा वर्षायाममा आउने बाढीबाट दमक नगरपालिका, लखनपुर, कोहवरा गाविसको आवादी जग्गा र बसोबास क्षेत्रलाई हरेक वर्ष क्षति पुर्याई रहेको छ। सिंचाईको सुविधाबाट वञ्चित यस भेगमा रतुवा नदीको वर्षाको पानीलाई उपयोग गर्न सकेमा भरमगदुर फाइदा लिन सकिन्छ। रतुवा नदी र मावा नदीलाई दमक नगरपालिका र लखनपुर, कोहवरा गाविसको दुःख पनि भनिन्छ।
बिरिङ नदी
बिरिङ नदी इलाम जिल्ला उद्गमन स्थल रहेको बिरिङ नदी खुदुनावारी, बुधबारे, अर्जुनधारा, घैलाडुब्बा, सुरुङ्गा, डांगीवारी, चकचकी र राजगढ गाविस हुँदै भारत प्रवेश गर्दछ। २०,१५० हेक्टर उपजलाधार क्षेत्रफल रहेको यस नदी भू-क्षयको दृष्टिले प्राथमिकताको क्रम अनुसार चौथो नम्बरमा आउने र वर्षाको बाढी तथा कटानका कारणले बिरिङ नदी यस क्षेत्रको अभिषाप बन्न पुगेको छ।
मेची नदी
मेची नदी नेपालको पूर्वी सिमाना भई बग्ने मेची नदी पाँचथर जिल्लाको सिंगलिला (फालेलुङ्ग डाँडा)बाट उत्पत्ति भई पाँचथर, इलाम, झापा हुँदै भारत प्रवेश गर्दछ। निन्दा, हडिया, देवनिया आदि सहायक नदी रहेको यस नदीमा बाढी पहिरो भू-क्षय र नदी कटानको गम्भिर समस्या उत्पन्न भएको छ। नेपाल र भारतको सिमानाको रूपमा रहेको यस नदीले आफ्नो धार वर्षेनी परिवर्तन गरिरहने हुँदा देशको सिमानामा पनि विवाद आइरहने अर्को समस्याको रूपमा पनि यसलाई लिइएको छ।
कनकाई नदी
कनकाई नदी झापा जिल्लालाई पूर्व र पश्चिम करिब दुई बराबरी भागमा बाँडेको यस नदीको उद्गम स्थल इलाम जिल्ला हो। माई, देउमाई, जोगमाई र पुवामाई मिली जिल्लाको सबैभन्दा ठूलो नदीको रूपमा परिचित यस कनकाई नदीको उपजलाधार क्षेत्र १७,९६४ हेक्टर रहेको छ। भू-क्षयको दृष्टिले जिल्लाको पाँचौं क्रममा आउने र धार्मिक रूपले आफ्नो बेग्लै पहिचान बोकेको नदीको रूपमा यसलाई लिइन्छ। यस नदीबाट बैज्ञानिक ढङ्गबाट नहर निकाली ६,००० हेक्टर जमीनमा नियमित रूपमा सिचाई सुविधा उपलब्ध गराइएको छ। देशकै सबैभन्दा लामो पक्की पुल (७०२ मिटर) यसै नदीको अर्को विशेषता हो। ।[७]
झापाका आर्थिक व्यवसायहरू
झापा जिल्लामा अर्थिक व्यवसायका रूपमा अनेकौ व्यवसायहरू रहेका छन् । यहाँका अधिकांश व्यक्तिहरू कृषि पेसामा आत्म निर्भर रहेका छन् । झापा जिल्ला नेपालकै दोस्रो धान तथा तरकारी उत्पादन गर्ने जिल्ला हो [११]। यहाँका मानिसहरू व्यपार व्यवसायमा पनि उत्तिकै अगाडि रहेका छन् ।यस अतिरिक्त चिया उत्पादन यहाँको मुख्य उत्पादनमा पर्दछ[१२] । यहाँ माछा पालन , कुखुरा पालन, बाख्रा पालन, गाई पालन, र अहिले वर्तमान अवस्थामा मौरी पालन मुख्य व्यवसाय पर्दछन ।[१३]
प्रमुख जातिहरू
झापा जिल्ला बहुजाति बहुभाषी र विभिन्न संस्कृति तथा रितीरिवाज र परम्परा मान्ने मानिसहरूको बसोबास भएको जिल्ला हो । यहाँका प्रमुख जाति बाहुन, क्षेत्री, लिम्बु, राई, गुरुङ, मगर, तामाङ, कोचे, मेचे, सन्थाल, धिमाल, थारू, ताजपुरिया, राजवंशी, कामी, दमाई र मुसलमान जाति रहेका छन् । जनगणना २०६८ अनुसार यस जिल्लामा ११० जाति र ९० भाषाभाषीका मानिसरू बसोबास गरेको पाइन्छ । हरेक जातिका आ–आफ्नै संस्कृति परम्परा चाडपर्व आदिले गर्दा यो जिल्लामा वर्षभरि नै चाडपर्वले रमाएको हुन्छ ।[७]
राजनीतिक विभाजन
झापा जिल्लालाई ७ वटा संसदीय निर्वाचन क्षेत्र, १७ वटा इलाका, ८ वटा नगरपालिका र ३३ वटा गा.वि.स.हरूमा विभाजन गरिएको छ ।
गाउँ विकास समितिहरू
नगरपालिकाहरू
झापा जिल्ला चित्रग्यालरी
-
बिर्तामोड
-
धनुषकोटि
-
अर्जुन धाराधाम
-
किच्चक वध
-
दमक झापा
-
जामुन खाडी
सन्दर्भ सामग्रीहरू
- ↑ १.० १.१ "जनसङ्ख्याको वितरण", cbs.gov.np, केन्द्रीय तथ्याङ्क विभाग, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६। वेब्याक मेसिन अभिलेखिकरण १६ अगस्ट २०१६ मिति
- ↑ Nepal Human Development Report (2014), Page 15: United Nations Development Fund, Government of Nepal, National Planning Comission
- ↑ "केचनकवल", http://www.tourismofficekvt.gov.np, अन्तिम पहुँच ३० मार्च २०१५। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-११ मिति
- ↑ "Nepal's longest bridge: An initiation into local development", http://setopati.net, अन्तिम पहुँच २० मार्च २०१५। वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-०७ मिति
- ↑ झापा जिल्लाको विवरण
- ↑ धार्मिक एवं पर्यटकीय स्थल वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-०८ मिति
- ↑ ७.० ७.१ ७.२ ७.३ ७.४ ७.५ epurwanchal.com[स्थायी मृत कडी]
- ↑ Neoalikhrefabar[स्थायी मृत कडी]
- ↑ झापा जिल्लाको वस्तूगत विवरण झापा
- ↑ मुख्य धार्मिक तथा पर्यटकीयस्थल[स्थायी मृत कडी]
- ↑ अभियान
- ↑ नेपालमा चिया खेतिको इतिहास वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-१९ मिति
- ↑ झापामा मौरीपालन