महेन्द्र वीर विक्रम शाह
महेन्द्र वीर विक्रम शाह नेपालका नवौँ शाहवंशीय राजा थिए। उनले वि.सं. २०११ चैत्र १ देखि वि.सं. २०२८ माघ १७ सम्म नेपालको राजाको रूपमा सेवा गरेका थिए। राजा महेन्द्रले वि.सं. २०१८ सालमा नवलपरासीको उनले ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरेका थिए भने उनलेे वि.सं. २०२२ सालमा नवलपरासी जिल्लाको गैँडाकोटमा महेन्द्र राजमार्गको उद्घाटन गरेका थिए।[४]
महेन्द्र वीर विक्रम शाह देव | |||||
---|---|---|---|---|---|
नेपालका राजा | |||||
![]() राजा महेन्द्र | |||||
शासनकाल | वि.सं. २०११ चैत्र १ – वि.सं. २०२८ माघ १७[१] | ||||
राज्याभिषेक | वि.सं. २०१३ बैशाख २१ | ||||
पुर्वाधिकारी | राजा त्रिभुवन | ||||
उत्तराधिकारी | राजा वीरेन्द्र | ||||
जीवनसाथी | इन्द्र राज्यलक्ष्मी देवी शाह (वि.सं. १९९७ बैशाख २९[२] –२००७ भदौ १८, मृत्यू) रत्न राज्यलक्ष्मी देवी शाह (वि.सं. २००९ माघ २५–२०२८, मौसुफको मृत्यु) | ||||
सन्तान | शान्ति शाही शारदा शाह वीरेन्द्र वीर विक्रम शाह ज्ञानेन्द्र शाह शोभा शाही धिरेन्द्र शाह | ||||
| |||||
वंश | शाह वंश | ||||
वंश | नारायणहिटी दरवार | ||||
पिता | त्रिभुवन वीर विक्रम शाह | ||||
माता | कान्ति राज्यलक्ष्मी देवी शाह | ||||
जन्म | १९७७ जेठ ३० ११ जुन १९२० नारायणहिटी दरवार, काठमाडौँ, नेपाल | ||||
मृत्यु | वि.सं. २०२८ माघ १७ ३१ जनवरी १९७२ (५१ वर्ष) दियालो बङ्गला, भरतपुर, नेपाल[३] | ||||
धर्म | हिन्दु |
महेन्द्र उच्चकोटीको राजनीतिक र कुटनीतिक चातुर्यता भएका दूरदर्शी राजा थिए। आजको विन्दूबाट इतिहासलाई फर्केर हेर्दा उनले चालेका प्रत्येक कदम दूरदर्शी एवम् राष्ट्रिय भावनाबाट प्रेरित रहेको अनुभव गर्न सकिन्छ।[५][६]
प्रारम्भिक जीवनसम्पादन
राजा महेन्द्रको जन्म विक्रम संवत् १९७७ मा नारायणहिटी दरबारमा भएको थियो। उनको विवाह जुद्ध शमशेरको नातिनी इन्द्र राज्य लक्ष्मीसँग भएको थियो।[७] विक्रम सम्वत २००७ कार्तिक २१ मा राजा त्रिभुवनले भारतीय दुतावासमा शरण लिंदा युवराज महेन्द्र पनि सँगै गएका थिए।[८]
राजा त्रिभुवनले २००७ को क्रान्तिपछि राणाहरूलाई बिदाइ गर्ने क्रममा २००७ को अन्तरिम शासन बिधानमा राजसंस्थाको अधिकार घटाएकोमा महेन्द्रको चित्त बुझेको थिएन ।
शासनकालसम्पादन
महेन्द्र राजा त्रिभुवनको उत्तराधिकारीको रूपमा नेपालको राजा भएका थिए। राजा त्रिभुवनले उपचारको लागि युरोप प्रस्थान गर्दाको समयमा महेन्द्रले तात्कालिन राजा त्रिभुवनबाट शासनाधिकारको अख्तियार पाएका थिए। उनको राज्याभिषेक विक्रम संवत् २०१३ वैशाख २१ मा भएको थियो।[९][१०]
टङ्कप्रसाद आचार्यको मन्त्रीमण्डलसम्पादन
२०१२ साल माघ १३ गते, राजा महेन्द्रले आचार्यलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।[११] उनको प्रधानमन्त्रीको क्रममा पहिलो पञ्चवर्षीय योजनाको सुरु भएको थियो। उनकै पालामा नेपाल राष्ट्र बैङ्क[१२] र सर्वोच्च अदालतको[१३] स्थापना भएको थियो। आचार्यको कार्यकाललाई विदेश सम्बन्धका लागि नेपालका लागि सुनौलो युगको रुपमा पनि हेरिएको छ। धेरै देशहरूसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुका साथै सरकार चिनियाँ सरकारसँग घनिष्ठ सम्बन्ध कायम गर्न सफल भएको थियो। २०१३ असोज २२ गते चीन सरकारले नेपाललाई ६ करोड प्रदान गरेको थियो। [१४]टङ्कप्रसाद आचार्यले २०१४ असारमा उनले प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए।[१५]
कुँवर इन्द्रजित सिंहको मन्त्रीमण्डलसम्पादन
कुँवर इन्द्रजित सिंहलाई २०१४ सालमा राजा महेन्द्रले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।[१५][१६] उनको मन्त्रिपरिषदमा शिक्षा मन्त्री महाकवि लक्ष्मीप्रसाद देवकोटा रहेका थिए।[१७] अत्यन्तै उद्दण्ड स्वभावका देखिएकाले उनको सरकार ३ महिनासम्म पनि टिक्न सकेन। पछि उनलाई प्रतिस्थापन गर्दै सुवर्ण सम्शेर राणाको नेतृत्त्वमा सरकार गठन भएको थियो।[१८]
नेपाल अधिराज्यको संविधान २०१५सम्पादन
देशलाई संसदीय व्यवस्था तर्फ लैजानका लागि राजा महेन्द्रले २०१५ मा संविधान जारी गरेका थिए। यो संविधान विक्रम संवत् २०१५ फागुन १ गते घोषणा गरिएको थियो।[१९] २०१५ सालको निर्वाचन यसै संविधान अनुसार भएको थियो।[२०]
आम निर्वाचन २०१५सम्पादन
आम निर्वाचन २०१५, नेपालको संसद्को तल्लो सदन प्रतिनिधि सभाको लागि १०९ प्रतिनिधिहरूलाई निर्वाचित गर्नको लागि वि.सं. २०१५ साल फागुन ७ देखि वि.सं. २०१५ साल चैत्र २१ सम्म ४५ दिन लगाएर गरिएको नेपालको पहिलो प्रजातान्त्रिक निर्वाचन थियो।[२१] वि.सं. २०१५ फागुन १ गते लागू गरिएको नेपाल अधिराज्यको संविधान २०१५ बमोजिम यो निर्वाचन सम्पन्न गरिएको थियो।[२२]
बिपी मन्त्रिपरिषद्सम्पादन
निर्वाचनमा सबैभन्दा ठूलो दलको रूपमा उदाएको नेपाली काङ्ग्रेसले[२३] पार्टी सभापति बिपी कोइरालालाई संसदीय दलको नेता छानेर उनलाई नेपालको प्रधानमन्त्री बनाउन दावेदारी पेश गरेको थियो। वि.सं. २०१६ जेठ १३ मा नेपाली काङ्ग्रेसका विश्वेश्वरप्रसाद कोइरालाले तत्कालिन राजा महेन्द्र वीर विक्रम शाह समक्ष सपथग्रहण लिई आफ्नो कार्यभार सम्हालेका थिए।[२४]
२०१७ साल पुष १ को कदमसम्पादन
महेन्द्रले विक्रम संवत् २०१७ सालमा जननिर्वाचित सरकार अपदस्थ गरेर राजनीतिक दलहरूमाथि प्रतिवन्ध लगाएर एकतन्त्रीय शासन चलाएका थिए। यही आधारमा उनलाई प्रजातन्त्र विरोधी, निरङ्कुश, तानाशाह जस्ता आरोपहरू लाग्ने गरेको छ।[२५] महेन्द्र एक महत्त्वाकांक्षी राजा थिए।[२६] आफैँले प्रत्यक्ष शासन चालाउने मोह उनमा रहेको थियो। विक्रम सम्वत २०१७ सालको ‘कु’मा यसबाहेकका कारणहरुसमेत छन्। मूल कारण भनेको नेपाललाई भारतीय हस्तक्षेप र प्रभावबाट जोगाउनु थियो।[२७]
पञ्चायती व्यवस्थासम्पादन
बहुदलीय संसदीय व्यवस्था नेपालमा अफाप सिद्ध भएको भन्दै राजा महेन्द्रको शाही घोषणा मार्फत निर्वाचित संसद र विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रीमण्डल विघटन गरेपछि २०१७ सालमा पञ्चायती व्यवस्था सुरू गरिएको थियो।[२८] यो निर्दलीय व्यवस्था थियो। २२ पुस २०१७ मा राजा महेन्द्रले लोकतान्त्रिक अभ्यास अन्त्य गरी "निर्दलिय" पञ्चायत व्यवस्था लागूू गरेका थिए।[२९] नेपालको संविधान २०१९ जारी भएसँगै यसले निर्दलीय पञ्चायती व्यवस्थाको जग झन् मजबुत तुल्याएको थियो। २०४६ को "जनआन्दोलन"ले राजतन्त्रलाई संवैधानिक सुधार गर्न र बहुदलिय संसद बनाउन बाध्य तुल्याएको थियो र फलस्वरूप नेपालमा बहुदलीय प्रजातन्त्रको पुनर्बाहली भएको थियो।[३०]
जनकपुर बम काण्डसम्पादन
२०१८ साल माघ ९ गते राजा महेन्द्र पूर्वी भ्रमण पुरा गरी जानकी मन्दिरको दर्शनमा गएका थिए। दर्शन गरी रङ्गभूमितर्फ फर्किरहेको अवस्थामा दुर्गानन्द झाको नेतृत्त्वमा अरविन्दकुमार ठाकुर लगायत पञ्चायत विरोधी युवाहरूले उनी सवार गाडीमा बम प्रहार गरेका थिए। दुर्गानन्द झा, अरविन्दकुमार ठाकुर र दलसिंह थापालाई मृत्युदण्डको घोषणा गरिएको थियो। २०२० माघ २५ गते दुर्गानन्द झालाई फाँसी दिइएको थियो[३१] भने बाँकी दुई जनालाई जन्मकैदको घोषणा गरिएको थियो।[३२]
नेपालको संविधान २०१९सम्पादन
पञ्चायती व्यवस्थाको आधार समेत मानिएको नेपालको संविधान २०१९ वि.सं. २०१९ पुस १ मा राजा महेन्द्रले जारी गरेका थिए। २० भाग ९७ धारा र ६ अनुसुची रहेको उक्त विधानमा १ सदनात्मक व्यवस्था रहेको थियो। उक्त व्यवस्थापिकाको नाम राष्ट्रिय पञ्चायत थियो। सार्वभौम सत्ता तथा अवशिष्ट अधिकार धारा ९० को आधारमा राजामा रहेको थियो। यस संविधानमा राजाको शाही घोषणाद्वारा संविधान संसोधन हुन सक्ने प्रावधान रहेको थियो।[३३]
गाउँ फर्क राष्ट्रिय अभियान, २०२४सम्पादन
गउँ फर्क राष्ट्रिय अभियान पञ्चायती व्यवस्थाको एउटा राजनीतिक कार्यक्रम थियो। गाउँबाट अध्ययन र रोजगारीका लागि सहर गएका नेपालीहरूलाई गाउँ फर्काउनका लागि यो अभियान ल्याइएको थियो।
विदेश भ्रमणसम्पादन
देश | भ्रमण गरेको क्षेत्र | मिति | वर्णन |
---|---|---|---|
सोभियत सङ्घ | जेठ २२- असार १२, २०१५ | ||
जापान | २८ चैत २०१६[३४] | ||
संयुक्त राज्य अमेरिका | होनोलुलु (हवाई), न्युयोर्क सहर, क्नोक्सभिल (टेनेसी), सान फ्रान्सिस्को, लस एन्जलस, न्यु मेक्सिको, मियामी, डेट्रोइट | १५-१८ वैशाख २०१७[३५] | वैशाख १६ मा, अमेरिकी काङ्ग्रेसमा सम्बोधन |
संयुक्त अधिराज्य | लन्डन | १-४ कात्तिक २०१७ | |
मेक्सिको | जेठ ३-५ जेठ २०१७ | ||
क्यानडा | १२-१५ जेठ २०१७ | ||
चीन | १५-१९ असोज २०१८ | ||
फ्रान्स | पेरिस | २०२३ कार्तिक ९ | |
संयुक्त राज्य अमेरिका | विलियम्सबर्ग, केप केनेडी र न्युयोर्क सहर। | १५-१८ कात्तिक २०२४ | २०२४ कार्तिक २३ गते पछि, शिकारका लागि अलास्का प्रस्थान। |
इरान | २६-३० असोज २०२८ | फारसी साम्राज्य स्थापनाको २५००औँ वर्षगाठ समारोहमा उपस्थित |
सुधार तथा उल्लेख्यनिय कार्यहरूसम्पादन
अर्थतन्त्रको कायापलटसम्पादन
राजा महेन्द्र ले योजनाबद्ध विकासको सुरुवात गरे। उनले वि.सं. २०१३ मा पञ्चवर्षीय योजनाको अवधारणाको विकास गरे।
महेन्द्र आउनु अगाडि नेपालमा राज्यका न्यूनतम् पूर्वधारहरू समेत थिएनन्। राजनीतिक, आर्थिक, प्रशासनिक सबै ढंगबाट नेपाल भारतमा निर्भर थियो। वि.सं. २००७ सालदेखि वि.सं. २०११ सम्मको भारतसितको आर्थिक निर्भरता ९५ प्रतिशत थियो। महेन्द्रले त्यसलाई ६० प्रतिशतभन्दा तल ल्याए। उनले नेपाललाई स्वावलम्बी अर्थतन्त्र उन्मुख गराए।
राजा हुनासाथ महेन्द्रले आर्थिक तथा प्रशासनिक संरचनाहरूको निर्माणमा आफ्नो सारा ध्यान केन्द्रित गरेका थिए।
उनले नेपाल राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगको स्थापना गरेर अर्थतन्त्रलाई व्यवस्थापन गरे।[३६] विदेशी राष्ट्रहरूको सहयोगमा भौतिक पूर्वाधारहरु निर्माण गरेर अर्थतन्त्रको जग बसाल्ने काम गरे। स्वदेशी उद्योगधन्दाहरु विकास गरेर भारतीय परनिर्भरतालाई न्यून गर्दै गए। बालाजु औद्योगिक क्षेत्र (वि.सं. २०१८), हेटौँडा औद्योगिक क्षेत्र, वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरु, सबै उनकै पालामा स्थापना भएका हुन्।
राजा महेन्द्रले स्थापना गरेका यी यावत् उद्योग धन्दाहरूलाई २०४६ सालपछि बनेका निर्वाचित सरकारहरूले नीजिकरणको नाममा खण्डहर बनाइए।
राजमार्ग तथा सडकसम्पादन
राजा महेन्द्रको शासनकालमा महेन्द्र राजमार्ग, पृथ्वी राजमार्ग र अरनिको राजमार्ग जस्ता मुख्य सडकहरूको निर्माण भए।
- पूर्व-पश्चिम राजमार्ग राजा महेन्द्रको महत्त्वपूर्ण देन थियो। उक्त राजमार्ग नहुँदासम्म तराईमा एउटा जिल्लाबाट अर्को जिल्ला जानुपर्दा भारतको बाटो प्रयोग गर्नुपर्थ्यो। विदेशी सहयोगमा राजमार्ग निर्माण गरेर यो अवस्था अन्त्य गरे। राजा महेन्द्रले सुरुमा यो राजमार्गका निर्माणका लागि भारतलाई अनुरोध गरेका थिए। तर, भारतले नमानेपछि सोभियत रुसको सहयोग लिएका हुन्। ढल्केबरदेखि पथलैयासम्मको सडक रुसले बनाइदिएपछि भारत पनि आकषिर्त भएको थियो। ढल्केबरदेखि मेची खण्ड भारतले बनाइदियो भने हेटौडा नारायणघाट खण्ड एसियाली विकास बैङ्क, नारायणघाट-बुटबल खण्ड बेलायत र बुटबल कोहलपुर खण्ड भारतले बनाइदिएको थियो।
व्यापार विविधीकरणको सोच महेन्द्रले त्यतिबेला देखि नै व्यवहारमा अपनाएका थिए। कोदारी अरनिको राजमार्गको निर्माण यसको ज्वलन्त उदाहरण हो। चीनले कोदारी राजमार्ग निर्माण गर्ने भनेपछि भारत तीव्ररूपमा आक्रोशित बनेको थियो। चीनले नेपालमा प्रभुत्व सिर्जना गर्न खोजेको भनेर उसले हौवा पिटे पनि उनी डग्मगाएनन् उनले साम्यवाद गाडी चढेर आउदैन भने जवाफ दिए।[३७] राजमार्ग निर्माण सम्पन्न गरेरै छाडे। यसरी राजा महेन्द्रले आफ्नो कुटनीतिक चातुर्यता प्रयोग गरी चौतर्फीरूपमा वैदेशिक सहयोग हासिल गर्न सफल भए। शीत युद्धको समयमा नेपालले दुवै गुट सँग समदुरी कायम गर्दै दुवै पक्षबाट सहायता प्राप्त गरे।
राष्ट्रियताको सम्वर्द्धनसम्पादन
राष्ट्रियताको संवर्द्धनमा राजा महेन्द्रको भूमिका अविस्मरणीय रहेको छ। जतिबेला हिन्दी भाषाको नेपालमा अत्यधिक दबदबा थियो, उनले नेपाली भाषालाई राष्ट्रभाषाका रूपमा स्थापित गरेर यसलाई देशव्यापी बनाए । उनले त्यतिबेला लागू गरेको “एउटै भाषा एउटै भेष”” को नीति कति दूरदर्शी थियो भन्ने आज आएर सान्दर्भिक भएको छ । अहिले नेपाललाई जातको आधारमा, भाषाको आधारमा विभाजन गर्ने दुस्प्रयासहरु भइरहेका छन् । जबकि उनले भाषा र भेषभुषाकै आधारमा समेत देशलाई एक सूत्रमा बाँध्ने काम गरे ।
नेपाल राष्ट्र बैेंकको स्थापना गरेर राजा महेन्द्रले नेपाली मुद्रालाई अधिराज्यभरि अनिवार्य गरिदिए । जबकि त्यतिबेला नेपालमा ९० प्रतिशत भारतीय मुद्राको चलनचल्ती थियो । ०१७ साल अगाडि नेपालको भूमि खरिद-विक्री गर्न भारतीयहरु स्वतन्त्र थिए । महेन्द्रले कुनै पनि विदेशीलाई नेपालको भूमि खरिद गर्न रोक लगाइदिए ।
कुटनैतिक अभियानसम्पादन
अन्तर्राष्ट्रिय जगतमा नेपाललाई स्थापित गराउन महेन्द्रले खेलेको भूमिकालाई पनि स्मरण नगरिरहन सकिन्न । संयुक्त राष्ट्रसंघको सदस्यता दिलाउनेदेखि लिएर नेपाललाई शान्तिक्षेत्रका रूपमा स्थापित गराउने सोच उनैको हो। पञ्चशील र असंलग्न परराष्ट्र नीतिको सिद्धान्त]]लाई अंगीकार[३८] गर्दै उनले छिमेकी देशहरूसित दौत्य सम्वन्ध बनाएर त्यसलाई सन्तुलनमा राखे ।
राजा त्रिभुवनको सरल स्वभावबाट फाइदा उठाएर राणा शासनपछिको चार वर्षे प्रजातान्त्रिक कालखण्डमा भारतले गर्नु–नगर्नु गर्यो। गृह, परराष्ट्र, रक्षा, अर्थ, लोकसेवा आयोग, राजदरबार र सिंहदरबारबारे रायसल्लाह दिने विज्ञको भेषमा गोविन्द नारायणलाई नेपाल पठाइयो। उनलाई प्रधानमन्त्रीलाई जस्तै पूर्ण अधिकार प्रदान गरिएको कुरा २००८ कात्तिक ७ गते प्रकाशित राजपत्रमा अध्ययन गर्दा बुझ्न सकिन्छ।[३९]
भारतीय वा कुनै पनि विदेशीलाई नेपालमा ढलीमली गर्न दिनै हुँदैन भनेर तत्कालीन युवराजाधिराज महेन्द्र दृढ थिए। पिताको स्वर्गवास भएपछि उनी राजा भए। त्यसपछि उनले कूटनीतिक सरसफाइ अभियान सुरु गरे। गोविन्दनारायणलाई तुरुन्त फिर्ता पठाए। कैयन् भारतीय गुप्तचरलाई लखेटे। तराईमा भारतीयले थिचोमिचो नगरून् भनेर झापादेखि कञ्चनपुरसम्म ठाउँठाउँमा नेपालीहरूको बस्ती बसाए। हतियार चलाउन जानेका भूपू सैनिकदेखि लिएर बर्माबाट लखेटिएका नेपालीहरूलाई जमिन दिएर राखे। आफ्नै देशको एक कुनाबाट अर्को कुनामा पुग्न भारतको भूभागबाट आवतजावत गर्नुपथ्र्यो। नेपालको तराईमा मेची–महाकाली जोड्ने बाटो थिएन। २०१८ सालमा नवलपरासीको गैँडाकोटमा उनले ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरे।
भारतीय रुपियाँ नेपाली नोट सरह चलिरहेकामा उनले त्यो बन्द गराए। भारतीय पाठ्यपुस्तक हटाइदिए। पचहत्तरै जिल्लामा नेपाली भाषा, साहित्य, संस्कृति, संगीत र कला फैलिदै गयो तर स्थानीय परम्परा, धर्म–संस्कृति, रहनसहन, पर्व तथा भाषाहरू बचाउन उनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय नाचघर लगायतका संस्थाहरूलाई सक्रिय गराए। राजा महेन्द्रले राष्ट्रवादी आन्दोलन र जागरण नै ल्याए। त्यसैले उनी पृथ्वीनारायण शाह पछिका सबैभन्दा स्वाभिमानी र राष्ट्रवादी राष्ट्रनायक हुन्। नेपाललाई कसैले केही कुरामा हेप्न नसकून् भनेर उनले सयौँ काम गरेर उदाहरण देखाए।”
नेपाल स्वाधीन राष्ट्र हो भन्ने कुरा संसारलाई बुझाउन राजा महेन्द्रले
- ४५ देशसँग राजा महेन्द्रले कूटनीतिक सम्बन्ध स्थापना गरे।[४०]
- २०१२ साल (१४ डिसेम्बर १९५५) मा नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्यो। ऋषिकेश शाह संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि बने।[४१]
युरोप, अमेरिका, अफ्रिका र एसियाका धेरै राष्ट्रको भ्रमण गरेर एउटै सन्देश दिए, “चीन र भारतका बीचमा हामी छौँ, तर कतै ढल्केका छैनौँ, असंलग्न बसेका छौँ र असंलग्न रहन्छौँ, आफ्नो निर्णय आफैं गर्छौं ।” यी सबै कुरा भारतलाई मन परेन। त्यसैले राजा महेन्द्रमाथि चौतर्फी रूपमा वैचारिक हमला गराइयो।
राजा महेन्द्रले धेरै विश्वास गरेका प्रधानमन्त्री टंकप्रसाद आचार्यले चीन र जापानको भ्रमण गरेर मैत्री सम्बन्ध स्थापना गरे।
सामाजिक सुधारसम्पादन
सामाजिक सुधारका क्षेत्रमा पनि राजा महेन्द्रले प्रशस्तै योगदान दिएका छन् । ०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी उनले छुवाछुत, जातिभेद र लिंग भेदविरुद्धको नीति अख्तियार गरेका थिए । ०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै उनले जमिन्दारी प्रथा र बिर्ता उन्मूलन गरी जग्गा जोत्ने मोहीहरूको अधिकार सुरक्षित गरे ।
- २०१३ सालमा राष्ट्रिय योजना आयोग बनाए।
- २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान र शाही नेपाल वायुसेवा निगम स्थापना गरे।
- कर्मचारीको वृत्ति विकास गर्न नेपाल निजामती ऐन ल्याए। [४२] र पँजनी प्रथाको अन्त्य भयो।
- प्रहरी ऐन बन्यो।[४३] सेनाको मनोबल उठाइयो। राष्ट्रवादको लहर आयो।
- २०१८ साल वैशाख १ गते १४ अञ्चल ७५ जिल्लामा विभाजन गरी प्रसासनिक विकेन्द्रीकरण गरियो ।
- जातिभेद उन्मूलन गर्न छुवाछूत विरोधी ऐन ल्याइयो।
- किसानलाई मोहियानी हक दिलाइयो। धर्म–संस्कृति र परम्पराको रक्षा गर्ने अभियान नै चलाइयो।
त्रिभूवन विश्वविद्यालयको आधुनिकीकरण गर्दै उच्च शिक्षा नेपालमै हासिल गर्ने अवस्था सिर्जना गरे भने पाठ्यक्रमबाट भारतीय पुस्तकहरु विस्थापित गरिदिए ।
राज्य रजौटा ऐन, २०१७सम्पादन
प्रमाणीकरण र नेपाल राजपत्रमा प्रकाशन मिति : २०१७।१२।२७
राज्य रजौटा ऐन, २०१७ र राज्य अदालत उन्मूलन ऐन, २०१७ लागू भएपछि सबै राज्यहरू खारेज भएका थिए । यद्यपि राज्य रजौटा ऐनले सल्यान, बझाङ, जाजरकोट, मुस्ताङ, भिर्कोट, माल्नेटा, दर्ना गरी १७ रजौटालाई मान्यता दिएको थियो ।
राज्य अदालत उन्मुलन ऐन लागू भएपछि राज्य अदालतको ठाउँमा इलाका अदालतको गठन गरिएको थियो ।
बझाङ काण्डसम्पादन
तर बझाङी युवराज ओमजंगबहादुर सिंहले इलाका अदालतको विरोध गरेका थिए । राज्य अदालत कायमै राख्नुपर्ने उनको माग थियो । इलाका अदालत गठन पछि बझाङमा न्यायाधिश उत्तमकुमार पोखरेल आएका थिए । तर बझाङ पुगेका न्यायाधीश पोखरेललाई ओमजंगबहादुरले असहयोग गरेका थिए । ओमजंगले राज्य अदालतका कागजात न्यायाधीश पोखरेललाई नबुझाई बझाङ, झुटेडाको ज्यान मुद्दामा सिंह आफैँले फैसला गरेका थिए ।
नयाँ मुलुकी ऐनसम्पादन
श्री ५ महेन्द्रबाट वि.सं. २०२० भाद्र १ गते नयाँ मुलुकी ऐन लागू गरियो ।[४४]
भूमिसुधार कार्यक्रमसम्पादन
श्री ५ महेन्द्रबाट २०२१ साल मंसिर १मा भूमिसुधार कार्यक्रम लागू गरियो । भूमिसुधार कार्यक्रमबाट जमिनदारी प्रथाको उन्मुलन , जग्गाको हदबन्दी, मोहियानी हकको व्यवस्था, मोहिले जग्गाधनीलाई तिर्नुपर्ने कुतको निश्चितता लगायत्का विविध व्यवस्थाहरु गरिए । भूमी सम्बन्धी कार्यक्रम लागू गरी देशका गरिब जनताको हितका लागि क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्य राखिएको थियो ।[४५]
वि.सं. २०२४ सालमा भूमि प्रशासन ऐन लागू भई भूमि प्रशासन कार्यालयहरु खोलिए । वि.सं. २०२७ सालमा मालपोत असूली र स्याहाको लागि “कोष तथा तहसिल” कार्यालय खोलिए ।
वि.सं. २०१८ साल देखि जग्गा प्रशासनको लागि ७५ जिल्लामा माल अड्डाहरु स्थापना गरिए । वि.सं. २०२४ सालमा भूमि प्रशासन ऐन जारी भएपछि सुरुमा काठमाण्डौ उपत्यकाका तीन जिल्ला सहित ९ जिल्लामा जग्गा (नापजांच) ऐन, २०१९ अनुसार तयार भएको नक्सा र श्रेस्तावाट भूमिको प्रशासन हेर्ने गरी भूमिसुधार मन्त्रालय अन्तरगत भूमि प्रशासन कार्यालय स्थापना भए । वि.सं. २०२४ सालमा भूमि प्रशासन कार्यालय खारेज गरी भूमिसुधार कार्यालय नामाकरण गरियो । तत्कालीन कोष तथा तहसिल कार्यालयलाई मालपोत कार्यालयमा परिणत गरियो । भूमि प्रशासन कार्यालयले दिएको लगत अनुसार मालपोत असूल गर्न वि.सं. २०२६ सालमा मालपोत कार्यालयलाई तत्कालीन अर्थ मन्त्रालयको मालपोत विभाग अन्तर्गत रहने गरी स्थापना गरियो । वि.सं. २०२८ सालमा सो मालपोत कार्यालयको नाम कोष तथा तहसिल कार्यालयमा परिणत भयो ।[४६]
भारतीय सेना फिर्तासम्पादन
२०२८ सालमा नेपाल तिब्बत सिमामा राखिएका भारतीय सैनिकका १७ वटा चेकपोष्टहरु हटाउने कार्य ; महेन्द्रले भारतविरुद्ध चालेको सबैभन्दा साहसिक कदमका रूपमा लिइन्छ,। ०२६ सालमा राजाले सुर्यबहादुर थापालाई अपदस्थ गरेर कीर्तिनिधि विष्टलाई प्रधानमन्त्री बनाएका थिए । भारतीय चेकपोष्ट हटाउने विषयमा उनी आफैं संलग्न नभईकन कीर्तिनिधिलाई अघि सारे । कीर्तिनिधिले सुरुमा भारतलाई आफ्नो चेकपोस्ट फिर्ता लैजान अनुरोध गर्दै लिखित पत्र पठाए ।
नेपाल एउटा स्वाधीन राष्ट्र भएकाले विदेशी सैनिकको उपस्थिति हाम्रो र हाम्रा छिमेकीको हित अनुकलमा छैन भन्दै उनले पत्र लेखे । तर, भारतले कुनै सुनवाइ गरेन। त्यसपछि कीर्तिनिधिले कि १९५० को मैत्री सन्धिको कुनै वैधानिकता छैन भनेर भाषण गरे ।[४७] नेपालले आफैं ती चेकपोष्टहरु हटाउने तयारी गरेपछि तत्कालीन भारतीय परराष्ट्रमन्त्री विनयसिंह नेपाल आए। उनले सरकारलाई प्रष्ट शब्दमा भने कि यसको नतिजा राम्रो हुने छैन ।
तर, सरकार आफ्नो अडानबाट पछि नहटेपछि यो विषय अन्तर्राष्ट्रियकरण हुने डरले भारतले ती चेकपोष्टहरु फिर्ता लग्यो ।[४८][४९] नेपाल सरकारले भारतलाई झुकाएको दुर्लभ घटनाका रूपमा यसलाई लिन सकिन्छ ।
चेकपोष्ट हटाएको निहुँमा नै भारतले नेपालमाथि २०२८ सालमा नाकाबन्दी लगाइदिएको थियो ।[५०] तर, त्यो बेला पेट्रोलियम बाहेकमा भारतीय निर्भरता खासै थिएन । भारतीय नाकाबन्दीले ठूलो असर सिर्जना गर्न नसकेपछि भारत पछि हट्न बाध्य बन्यो ।
राजा महेन्द्रले चालेका प्रत्येक कदमहरु एकपछि अर्को गर्दै भारतलाई धक्का दिने खालका थिए । उनले नेपालमा भारतीय प्रभावलाई पहिलेको तुलनामा ४० प्रतिशतभन्दा तल झारेका थिए । जसको फलस्वरुप भारतले उनलाई नरुचाउनु स्वभाविक नै हो ।
आलोचनासम्पादन
- निरङ्कुश राजा
राजा महेन्द्रलाई लाग्ने मुख्य आरोप नेपाली काङ्ग्रेसको सरकार र संसद विघटन गरे भन्ने छ। यस बारे उनको भनाइ थियो "म मेरा प्रजालाई प्रजातन्त्र बदला सबल राष्ट्र दिनेछु। हाम्रो प्रमुख शत्रु भनेको गरिबी हो।" - एक देश एक भेषको नीति
एक राजा एक देश
एक भाषा एक भेष (महेन्द्रिय राष्ट्रवाद) - नेपाल राष्ट्र बैङ्कको स्थापना गर्दा गणेशमान सिंहबाट आलोचना:"जिमीदार औ दायाँबायाँ बस्ने व्यापारीहरूको फाइदाका निमित्त खोलिएको राष्ट्र बैंकले गरिब रैतीहरूलाई कुनै फाइदा छैन"[५१][५२]
- आफ्नो रानी रत्नको नाममा रत्नपार्कको निर्माण
दोश्रो विवाहसम्पादन
पहिली पत्नी इन्द्र राज्यको २००६ मा निधनपछि तत्कालीन युवराज महेन्द्र साली रत्नको प्रेममा पागल भइसकेका थिए। तर राजा त्रिभुवन भने कुनै हालतमा राणापुत्री रत्नसँग छोराको विवाह हुन नदिने योजनामा थिए। बाबुले खोजेकी केटीसँग विवाह गर्न दिएको दबाब युवराज महेन्द्रलाई मन परेको थिएन। राजा त्रिभुवन भने राणा परिवार, अझ जुद्ध शमशेरको खलकसँग सम्बन्ध विस्तार गर्ने पक्षमा थिएनन्। राजा जुद्ध शमशेरले आफूलाई गरेको अपमानबाट आक्रोशित थिए । सो विवाद लामो समय चल्यो।
विश्वेश्वरप्रसाद कोइरालासँग सम्पर्कसम्पादन
विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री एक दिन युवराजाधिराज महेन्द्र बेलुका उनी बसेको रङ्गमहलमा टुप्लुक्क आइपुगे। त्यस दिन बिहान उनको छोरीको मृत्यु भएको थियो।
अचानक युवराज आएको देखेपछि बीपीले — ‘सरकार, बिनासूचना सवारी ? के त्यस्तो हतार भयो ? किन ?’ भनेर सोधे होइन। एउटी केटी खोजिदिएको छ, उसैसँग बिहा गर हुकुम हुन्छ। एक त आफूले चाहेकी केटीसँग विवाह गर्न नपाउनु। अर्को उहाँले खोजेकै सँग गर्नुपर्ने ? त्यसैले आफ्नो प्रेमका खातिर मैले पद त्याग गर्नुको विकल्प देखिनँ।’ भने [५३]
महेन्द्रले — ‘मैले युवराजबाट राजीनामा दिन थालें। अब म साधारण मानिस भएर बस्छु ´ भने । उनले राजा त्रिभुवनलाई सम्बोधन गरेर लेखिएको चिठी देखाउँदै थपे— ‘म एउटी केटीसँग बिहा गर्न खोज्छु। बुबाचाहि“ हुँदैन हुकुम हुन्छ। त्यति मात्र युवराज महेन्द्रलाई आश्वस्त पार्दै बीपीले भने— ‘राजासँग कुरा गरेर मिलाउँला। सरकारले राजीनामा दिने कुरा छैन।’
बीपी र त्रिभुवनबीचको संवादसम्पादन
केही दिनको अन्तरालमा बीपी र त्रिभुवनबीच कुरा भयो— ‘सरकार, अस्ति मकहाँ युवराजाधिराज सवारी भएको थियो। राजीनामाको कुरा गरिबक्सन्थ्यो।’ अनि राजाले भने— ‘राणाकी छोरीसँग बिहे गर्छु भन्छ। म राणाहरूसँग सम्बन्ध टुटाउनुपर्छ भन्छु, मान्दैन। ठीक छ, उसलाई भनिदिनु— बिहा गर्ने भए म राजीनामा स्वीकृत गर्छु, भाइ हिमालय राजा हुन्छन्।’
राजाको कुरा सुनेर छक्क पर्दै बीपीले भने— ‘सरकार, बरू युवराजका जेठा छोरा वीरेन्द्र राजा हुन्छन्, हिमालय हुँदैनन्। प्रजातन्त्र आएपछि पनि मन पराएकी केटीसँग बिहा गर्न नपाउने कुरा जायज हुन्छ र सरकार ?’ उनले राजा त्रिभुवनलाई सम्झाउन खोजे।
बीपीकै मध्यस्थतामा त्रिभुवन र महेन्द्रबीच एउटा — छ महिनासम्म युवराजले बिहा गर्छु नभन्ने र राजाले पनि राणाकी छोरीसँग बिहा नगर भनेर कर नगर्ने सम्झौता भयो।
बिहेको टुङ्गो नलाग्दै राणा–कांग्रेस सरकार विघटन भई मातृकाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसको एकल सरकार बनिसकेको थियो। राजाको इच्छा बमोजिम प्रधानमन्त्री मातृका पनि युवराजको प्रेमको विपक्षमा अर्थात् महेन्द्रले राजाको चाहना बमोजिम गैरराणा केटीसँग विवाह गर्नुपर्छ भन्ने पक्षमा सक्रिय भए, जुन युवराज महेन्द्रलाई मन पर्ने कुरै थिएन।
भर्खरै स्थापना भएको प्रजातन्त्र र सङ्क्रमणकालीन राजनीतिक वातावरणलाई दाजु भाइ (मातृका र बीपी) र बाबु छोरा (राजा र युवराज) को झगडाले असर गरिरहेको थियो। २००९ सालतिरको कुरा हो, युवराजको प्रेम विवाद नारायणहिटी दरबारको चार घेराबाट बाहिरिएर सतहमा छताछुल्ल भयो। युवराजको विवाह प्रसङ्गमा राजा त्रिभुवनले भारतीय प्रधानमन्त्री जवाहलाल नेहरूसँग २००९ भदौ २० गते सल्लाह लिँदा नेहरूले राजालाई सुझाएछन्— ‘युवराज वास्तवमै एउटी खास केटीसँग लहसिएका छन् र विवाह गर्न पनि चाहन्छन् भने त्यसलाई लामो समय रोक्नु उचित हुँदैन।’ [५४]
राजीनामासम्पादन
प्रेमिकासँग विवाह गर्न नपाउने हो भने म राजीनामा गर्छु भनेर युवराजले राजा त्रिभुवनलाई पत्रै थमाएका थिए तर उनको त्यो राजीनामा केवल धम्की मात्र थियो। राजा पनि के कम, महेन्द्रको राजीनामा सबैले देख्ने गरी कोटको खल्तीमा राख्तै भनिदिए— ‘भैगो, तेरो राजीनामा स्वीकृत गरिदिन्छु र भाइलाई युवराज बनाउँछु। मन लागेको गर।’ बाबुलाई घुक्र्याउने प्रयोजनका लागि थियो महेन्द्रको राजीनामा तर ‘साँच्चै स्वीकृत गरिदिए भने के गर्ने’ भनेर उनी फसादमा परे र सहयोगको हात थाप्तै बीपीको शरणमा पुगे। राजा त्रिभुवन र प्रधानमन्त्री मातृका विपक्षमा रहेकाले बीपी बाहेक उनको अर्को सहारा बाँकी थिएन। यस्तैमा एक रात युवराज महेन्द्र रत्नका साथ नयाँ सडकस्थित रञ्जना हलमा पुगे। बीपी र महेन्द्रबीच लामो संवाद भयो। सकेसम्म राजालाई सम्झाएर राजीनामा स्वीकृत गर्नबाट रोक्ने वचन बीपीले महेन्द्रलाई दिए। त्यही भेटमा महेन्द्रले पदवी छोड्नै परे नेपाली कांग्रेसको सदस्यता लिएर राजनीतिमा आउने चाहना राखेका थिए तर बीपीले मानेनन्।
बीपी महेन्द्रलाई उनको गद्दीसिद्ध अधिकार दिलाउन चाहन्थे। दुवैको निकट मित्रता थियो। युवराज बीपीको निवासमा आइरहन्थे। अरुलाई थाहा नहोस् भनेर पछि दुई जनाको अधिकांश भेट कांग्रेस नेता सूर्यप्रसाद उपाध्यायको भाटभटेनीस्थित घरमा हुन थाल्यो।
त्यही विषयमा बीपीले राजालाई सम्झाउन गएका बेला राजाले भने, ‘बीपी, तपाईँ प्रजातन्त्रमा मन पराएको केटीसँग विवाह गर्न पाउनुपर्छ भन्नुहुन्छ। तर मेरो छोरालाई मैले जति चिनेको छु, तपाईँले चिन्नुभएको छैन। यसले दुःख दिएपछि थाहा पाउनु हुनेछ।’
महेन्द्रका लागि सैन्य विद्रोहसम्पादन
एकातिर रत्नसँग महेन्द्रको प्रेम प्रसङ्ग उत्कर्षमा थियो, अर्कोतिर राणाकी छोरीसँग युवराजको विवाह हुन नदिने राजाको धम्की थियो।
फेरि बरू राजगद्दी छोड्ने तर आफ्नो प्रेम मर्न नदिने युवराज मेहन्द्रको अडान थियो ।
युवराज महेन्द्रलाई ससुरा हरिशमशेरले आडभरोसा दिएका थिए। जमलस्थित सेतो दरबारमा भेटघाट र योजना बन्थे। आफ्ना विश्वासपात्रलाई कुराकानीका लागि महेन्द्र पनि त्यहीँ बोलाउँथे।
राजा त्रिभुवन पनि के कम, महेन्द्रको राजीनामा स्वीकृत गरी उनका भाइलाई राजा बनाउने भए। यसैबीच दरबारमा महेन्द्रलाई पदच्युत गरी गोरखा दरबार धपाउने र माहिला छोरा हिमालयलाई उत्तराधिकारी बनाउने अभियान सुरू भयो।
प्रधानमन्त्री मातृका राजाकै पक्षमा लागेर महेन्द्रलाई गोरखा पठाउने तयारीमा थिए। मातृका प्रधानमन्त्री भए पनि राजनीतिमा पकड भएका नेता बीपी नै हुन् भन्ने युवराज महेन्द्रलाई थाहा थियो। आफूमाथि आइपरेको सङ्कट समाधानका लागि महेन्द्रले गोप्य रूपमा बीपीसँग सहयोग मागेका थिए। युवराज महेन्द्रले सूर्यप्रसाद उपाध्यायको घरमै पुगेर बीपीसँग भने, ‘मलाई निकाल्ने अन्तिम योजना बनेको छ, तपाईँले रोक्नुप¥यो।’ बीपी महेन्द्रको गद्दीसिद्ध अधिकारको पक्षमा थिए। उनले प्रधानमन्त्री मातृकालाई कुनै हालतमा युवराजलाई गोरखा धपाउने त्यस्तो अप्रिय निर्णय नगराउन दबाब दिए। त्यही दिन बीपीले महेन्द्रलाई आश्वस्त पार्दै भनेका थिए— ‘युवराजबाट राजीनामा नगर्नू र भाग्ने काम पनि नगर्नू, परि आयो भने हामी सैनिकको साथ लिएर ‘कु’ सम्म गरौंला।।’
राजाको जेठो छोरो गद्दीको उत्तराधिकारी हुने परम्परा जोगाउन गोप्य योजना बनाउँदै बीपीले आफ्ना विश्वासपात्र विश्वबन्धु थापासँग भने— ‘हेर न विश्वबन्धु, युवराज रत्नसँग बिहे गर्न नपाए युवराजको पदवी छोड्छु भन्दै छन्। त्रिभुवन पनि आफूले खोजेकी केटीसँग विवाह गरेन भने उसको भाइलाई युवराज बनाइदिन्छु भनेर धम्क्याउँदै छन्। भोलि राजा हुने मान्छेले आफूले मन पराएकी केटीसँग बिहा गर्न नपाउने पनि हुन्छ त प्रजातन्त्रमा ! म राजालाई सम्झाउँछु, भएन भने कसरी मिलाउने सोच्नुपर्छ। प्रेम गरेकी केटीसँग विवाह गरेको अभियोगमा कसैलाई गद्दी त्यागको सजाय दिनु त अति नै हुन्छ।’ ‘सम्झाउँदा पनि राजाले मानेनन् भने के गर्ने ?’ विश्वबन्धुको जिज्ञासासँगै बीपीले उपाय सुझाए— ‘आवश्यक परे सैनिक कु गरेर भए पनि उनलाई गद्दीको अधिकार दिलाउनुपर्छ।’
"कु"को योजनासम्पादन
कु का लागि गोप्य योजना बन्यो। सैनिक अधिकारीसँग कुरा मिलाउने काममा खटिएका थापा भन्छन्— ‘बीपीको निर्देशन बमोजिम मैले जनरलहरूसँग कुरा गरें। उनीहरूले यो योजनामा बीपी र युवराज महेन्द्र एक ठाउँमा छन् भनेर कसरी विश्वास गर्ने भन्ने प्रश्न उठाए। हामीले सिनेमा देखाउने निहुँमा सैनिक अधिकारीहरूलाई गोप्य तबरबाट जय नेपाल हलमा बोलाउने, त्यहीँ बीपी र युवराज महेन्द्रले हात हल्लाएर दुवै एकसाथ रहेको सन्देश दिने व्यवस्था मिलायौं।’ सैनिक कु गरेर त्रिभुवनलाई हटाउने र युवराज महेन्द्रलाई राजा बनाउने योजना अन्तिम चरणमा पुगिसकेको थियो। यसैबीच त्रिभुवन र महेन्द्रबीच कुरा मिल्यो। अनि त्यो योजना गुपचुप राखियो।
अन्तिम समयमा आफ्नो अडानबाट पछि हटेर त्रिभुवनले भनेका थिए— ‘ठीक छ, प्रजातन्त्र उसलाई लागेको छ भने मलाई पनि लागेको छ। ऊ चाहेकी केटीसँगै विवाह गरोस्, म रोक्तिनँ तर म विवाह समारोहमा सहभागी हुन्न। बम्बै जान्छु।’ राजाले आफ्नो फैसला सुनाइदिए। [५५]
त्रिभुवनले रत्नसँग छोराको विवाह त रोकेनन् तर विवाहको समयमा आफू चाहि“ बम्बइतिर हिडिदिए। नयाँ दुलहीलाई नारायणहिटी दरबारमा भित्र्याउन दिएनन्। नागार्जुन दरबारमा बडागुरूज्यूकी दुलहीले रत्नलाई भित्र्याइन्।
त्यति बेलै राजा त्रिभुवनले कांग्रेसी नेताहरूसँग भनेका थिए— ‘बीपीले महेन्द्रका लागि मसँग निकै कर गरे। उनको राजीनामा स्वीकार नगर्न दबाब दिए। यिनले युवराजलाई के चिनेका छन्। यसले तपाईँहरूलाई धुरूधुरू रूवाउनेछ। मैले चिनेको छु यसलाई।’[५६][५७]
सम्मानसम्पादन
राष्ट्रियसम्पादन
- नेपाल प्रताप भास्कर
- गोरखा दक्षिण बाहु
- त्रिशक्ति पट्ट
- महेन्द्र माला
- नेपाल तारा
- राजा त्रिभुवनको गद्दी आरोहन रजत महोत्सव, (11 December 1936)[५८]
विदेशीसम्पादन
- Iran: अडर अफ पहलवी, 3 July 1960
- Iran: फारसी साम्राज्य स्थापनाको २५०० औँ वर्षगाठ को पदक , 14 October 1971.[५९]
- Japan: Collar of the Order of the Chrysanthemum, 19 April 1960
- Portugal: आडर अफ सेन्ट जेम्स अफ द सोर्ड, 13 July 1960[६०]
- France: लिजन अफ अनर , 24 February 1956
- Finland: आडर अफ ह्वाइट रोज , 1958
- Belgium: आडर अफ लिओपोर्ड २, 1964
- Germany: Grand Cross Special Class of the Order of Merit of the Federal Republic of Germany, 1964
- ढाँचा:Country data Kingdom of Laos: Collar of the Order of the Million Elephants and the White Parasol, 1970
- Pakistan: निशान-ए–पाकिस्तान, 1970
- Netherlands Grand Cross of the Order of the Netherlands Lion, 25 April 1967.[६१]
- United Kingdom: Royal Victorian Chain, 26 February 1961
- Philippines: Collar of the Order of Sikatuna, Rank of Raja, 1971.
स्मृती / स्मारकसम्पादन
- महेन्द्र राजमार्ग
- महेन्द्र माला
- महेन्द्रशालिक (दरबारमार्ग)
- महेन्द्र पुलिस क्लब
- महेन्द्र प्रकृति संरक्षण कोष
- महेन्द्र रत्न क्याम्पस
- महेन्द्रनगर
- महेन्द्र ताल /रारा ताल
- श्री ५ महेन्द्र स्मारक आँखा अस्पताल
चित्र दीर्घासम्पादन
- Mahendra salik Durbarmarg.jpg.jpg
मृत्युसम्पादन
राजा महेन्द्रको मृत्यु २०२८ माघ १७ बिहान ३:४५ मा चितवनको दियालो बंगला दरवारमा भयो। उनका जेठा पुत्र युवराज बिरेन्द्रले राजगद्दी सम्हाले । [६२][६३]
कविको रूपमा महाराज महेन्द्रसम्पादन
चर्चित गीतहरू
- सन्तान थरी थरिका
- गाजलु ती ठुला ठुला आँखा
- लोलाएका ती ठूला
सन्दर्भसम्पादन
स्रोतसम्पादन
- ↑ नेपालको शाह तथा राणा वंशावली: विष्णु प्रसाद श्रेष्ठ
- ↑ नेपालको शाह तथा राणा वंशावली: विष्णु प्रसाद श्रेष्ठ पृष्ठ २
- ↑ "राजा महेन्द्र र गणतन्त्र नेपाल" (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "राजतन्त्रको पालामा बनेको गौरव महेन्द्र राजमार्ग गणतन्त्रमा जीर्ण अवस्थामा"। नेपाल पत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "महेन्द्रको दूरदर्शी विचारले नेपाल अहिले स्वतन्त्र छ – कमल थापा"। खरिबोट (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "सन्दर्भ पुस १ राजा महेन्द्र, जसले भारतीय सेनालाई नेपालबाट धपाए"। अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "श्री ५ रत्नको आमा बन्ने अधिकार हनन् भएको थियो"। डिसी नेपाल (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "फागुन ४ देखि ७ रोचक, महत्पूर्ण र नाटकीय चार दिन"। घामछायाँ (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "Selected Originals Nepal - Coronation Of…"।
- ↑ Pathé, British, "Nepal - Coronation Of King Mahendra", अन्तिम पहुँच २० जुलाई २०१६।
- ↑ वि.सं. २०१२ माघ १३ को राजपत्र
- ↑ "नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो ?"। नेपाल राष्ट्र बैङ्क (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "बारम्बार सोधिने प्रश्नहरू"। सर्वोच्च अदालत (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "महेन्द्रले पत्याएका मान्छे" (नेपाली) भाषा)। नागरिक दैनिक। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ १५.० १५.१ http://rajpatra.dop.gov.np/welcome/book/?ref=1104
- ↑ http://rajpatra.dop.gov.np/welcome/book/?ref=1111
- ↑ "महाकविको कोट र बुद्धचित्तको बोट !"। अन्नपूर्ण (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "तन, मन र धन सबै दिने नेता"। कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "७० वर्षमा ७ संविधान, यस्तो छ नेपालको संविधानको इतिहास"। इमेज खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "नेपालको संवैधानिक इतिहास"। नेपाल पत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ सेतोपाटी संवाददाता। "४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव" (नेपाली) भाषा)। सेतोपाटी। सङ्ग्रह मिति २७ जनवरी २०२१।
- ↑ रिसाल, भैरव, "राजा झुक्किंदा भयो चुनाव", नेपाली हिमाल, अन्तिम पहुँच १९ जुन २०२०।
- ↑ "केवल एक पार्टी प्रमुखले जितेका थिए पहिलो आमनिर्वाचन"। देशसञ्चार। २०१७-१२-०१। सङ्ग्रह मिति २०२०-०६-१७।
- ↑ "यशस्वी राजनेता बीपी कोइराला"। नेपाल पत्रिका (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ कुमार रुपाखेती। "निरङ्कुश राजा महेन्द्र ?" (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "सन्दर्भ पुस १ः राजा महेन्द्र, जसले भारतीय सेनालाई नेपालबाट धपाए" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "भारत र महेन्द्र बीपीको उचाइको तगारो"। रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "किन ढल्यो पञ्चायती शासन ?"। ब्लास्ट खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१।
- ↑ "राजा महेन्द्रको अलग धार"। कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१।
- ↑ "सम्झनामा जनआन्दोलन ०४६ (श्रृंखला १)"। नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१।
- ↑ "सहिद दुर्गानन्द झा जसलाई मृत्युदण्ड दिन कानुन नै संशोधन गर्नुपर्यो"। रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "प्रजातान्त्रिक योद्धा अरविन्दकुमार" (नेपाली) भाषा)। नागरिक दैनिक। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ प्रेमराज सिलवाल। "नेपालका संविधान कस्ता"। गोरखापत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ जगत नेपाल। "यस्तो थियो महेन्द्र र बीपीबीच व्यक्तित्वको टकराव"। पहिलो पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ Visits By Foreign Leaders of Nepal
- ↑ राष्ट्रिय योजना आयोग परिचय र इतिहास
- ↑ Vault of history XXX: Communism and taxi
- ↑ Nepal and the Non – Aligned Movement BY: NNW TEAM ON: APRIL 10, 2015 IN: NNW ARTICLES
- ↑ http://rajpatra.dop.gov.np/welcome/book/?ref=2084
- ↑ https://mofa.gov.np/foreign-policy/diplomatic-relations/
- ↑ PERMANENT MISSION OF NEPAL TO THE UNITED NATIONS
- ↑ नेपाल निजामती सेवा ऐन, २०१३
- ↑ प्रहरी ऐन २०१२
- ↑ मुलुकी ऐन २०२०
- ↑ नेपाल राज पत्र
- ↑ नेपाल सरकार भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय भूमि व्यवस्थापन तथा अभिलेख विभाग
- ↑ The Indian checkposts, Lipu Lekh, and Kalapani
- ↑ Savada, Andrea Matles, सम्पादक (१९९१), "Foreign Policy", Nepal: A Country Study, GPO for the Library of Congress, अन्तिम पहुँच १७ अप्रिल २०१७।
- ↑ Singh, Raj Kumar (२००९), Global Dimensions of Indo-Nepal Political Relations: Post Independence, आइएसबिएन 9788121210256।
- ↑ https://www.nepjol.info/index.php/rnjds/article/download/2127 2. SOCIO ECONOMIC IMPACT OF UNDECLARED BLOCKADE OF INDIA ON NEPAL - Bhuwaneswor Pant2
- ↑ उधृतांश- देवकोटा, राजनीतिक दर्पण भाग-१, पृष्ठ ३८८
- ↑ कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?
- ↑ (कोइराला, २०६७: २६४–६५)
- ↑ (कोइराला, २०७१</nowiki> : १९९)<nowiki>
- ↑ (नेपाल, २०६७ : १६१)
- ↑ पहिलो संसद्: बीपी–महेन्द्र टकराव पुस्तक
- ↑ बीपी महेन्द्र सम्वन्ध https://himaldainik.com/2018/09/09/48087
- ↑ "ODM of Nepal: King Tribhuvan Silver Jubilee Medal 1935", अन्तिम पहुँच २० जुलाई २०१६।
- ↑ "Grand State Banquet", मूलबाट ५ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुलाई २०१६।
- ↑ Presidência da República
- ↑ Benelux Royal वेब्याक मेसिन अभिलेखिकरण २८ सेप्टेम्बर २०१५ मिति
- ↑ http://rajpatra.dop.gov.np/welcome/book/?ref=5107
- ↑ http://rajpatra.dop.gov.np/welcome/book/?ref=5109
https://www.onlinekhabar.com/2015/12/363243
पूर्वाधिकारी त्रिभुवन वीर विक्रम शाह |
नेपालको राजा सन् १९५५ -- १९७२ |
उत्तराधिकारी बीरेन्द्र वीर विक्रम शाह |