जानकी मन्दिर
जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ | सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो । मन्दिरको वाषिर्क क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ । राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन-भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन् । प्रत्येक महिनाका पूणिर्मामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन् । यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्न प्रयास जारि राखेको छ । धार्मिक र सास्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रूपमा रहेको छ जानकीधाम ।
जानकी मन्दिर | |
---|---|
जानकी मन्दिर | |
प्राथमिक विवरण | |
स्थान: | जनकपुर |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | धनुषा |
देश | नेपाल |
वास्तुकला विवरण | |
वास्तुकला प्रकार | हिन्दु,राजपुत |
निर्माता | राजकुमारी वृषभानु कुँवरी |
अवस्थिति | ७८ मी (२५६ फिट) |
इतिहास
यो मन्दिर १९११ ई.स.मा टीकमगढकी (भारत) राजकुमारीकुमारी वृषभानुद्वारा निर्माण गरिएको हो । जानकी मन्दिर मुगल शैलीमा बनाईएको मन्दिर हो र यो तथ्यले यस मन्दिरलाई अझै पनि महत्त्वपूर्ण बनाउँछ । यस मन्दिरको निर्माण गर्दा त्यस ताका ९ लाख रूपैया खर्च भएको भन्ने किंबदन्ति रहि आएको छ, त्यसैले यस मन्दिरलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ । यो नेपालको क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो मन्दिर हो ।[१] मन्दिर निर्माणको सवा सय वर्ष जति मात्र भए पनि यसमा स्थापित राम-जानकीका प्रतिमा झन्डै सात सय वर्ष पुराना भएको संस्कृतिविद्को भनाइ छ । वि.सं. १४१७ मा भारतको राजधानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम-जानकीको प्रतिमा फेलापारेको बताइन्छ । १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बिघा दान दिएको लिखत अझै छ ।[२]
तीर्थयात्रीहरू
प्रत्येक वर्ष नेपाल लगायतका मुख्य गरी अन्य दक्षिणी एसियाली मुलुकहरू जस्तै भारत, श्रीलङ्का बाहेक अन्य राष्ट्रहरूका हजारौंका संख्यामा तीर्थयात्री यस जानकी मन्दिरको दर्शन तथा अवलोकन गर्न आउने गर्दछन् ।
फोटोहरु
-
मन्दिरलाई अगाडिबाट हेर्दा
-
सुर्यास्तमा मन्दिरलाई हेर्दा
-
जानकी मन्दिर प्रवेश द्वार
-
बिहानमा मन्दिरलाई हेर्दा
-
जानकी मन्दिरको भित्रि भाग
-
जानकी मन्दिरको कुनै एक कोण
-
-
जानकी मन्दिर भित्रको सङ्ग्रहालयमा रहेको चल मुर्तिहरू तस्बिर
-
जानकी मन्दिरको पछिल्लो भागको सानो प्वालबाटलिइएको अगाडिको मुख्य द्वारको फोटो
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्री
- ↑ "जानकी मन्दिर परिचय", जिविस धनुषा।
- ↑ "हाम्रो सम्पदा : आस्थाको केन्द्र जानकी मन्दिर", कान्तिपुर।