दसैँ

हिन्दुहरूको महान चाड
(दशैँ बाट पठाईएको)

दसैँ वा बडा दसैँ (अन्य नाम: दशहरा, विजया दशमी, नौरथा, नवरात्रि, आयुध-पूजा) नेपालीहरूको प्रमुख चाड हो।[२] राष्ट्रिय चाड समेत मनिने दसैँ (नौरथा) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म (नौरथाभर) शक्तिको आराधना गरी दशौँ दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन्। आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नौरथा विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ। प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ।[३]

दसैँ
Durga Puja celebration.jpg
दुर्गा माता
वैकल्पिक नामबडादसैँ, विजया दशमी, आयुध-पूजा, दसेहरा, दसाहरा, दसेरा, दसारा,
अनुयायीहिन्दू
प्रकारधार्मिक
महत्त्वमहिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको दुर्गाले दैत्य चण्ड-मुण्ड तथा शुम्भ-निशुम्भलाई बध गरेको खुसियालीमा मनाउने गरिन्छ[१]
उत्सवयो दिन दुर्गा पूजाको अन्तिम दिनको रूपमा मनाउनुका साथै एक-आपसमा खुसियाली साटासाट गरिन्छ।
परिपालनदुर्गा पूजा,टीकाजमरा लगाउने
प्रारम्भआश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म
मिति१९ अक्टोबर, ५ अक्टोबर
सुरुवात कर्ताप्राचिन कालदेखि

विजया दशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन रहेको छ।[४] आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो। यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिइन्छ। यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो। आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ।[५][६]

दसैँ वर्षका तीन अत्यन्त शुभ तिथिहरूमा पर्छन्: चैत्र (चैत) को शुक्लको एवम् कार्तिक शुक्लको प्रतिपदा तिथि। यी दिनहरूमा हिन्दुहरू नयाँ कार्य सुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन्। विजयदशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो। दशैँ हर्ष एवम् उल्लास तथा विजयको पर्व हो। हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव (पर्व) सुरु भएको हो।[७] दसैँ पर्वले दश प्रकारका पापहरू- काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने(छोड्ने) प्रेरणा दिन्छ। [८]

महत्त्व

असत्य माथि सत्यको विजयको प्रतीकका रूपमा दसैँ मनाइन्छ।

शक्तिवादका अनुयायीहरूका लागि, यो देवी दुर्गाको विजयको प्रतिनिधित्व गर्दछ। हिन्दू धर्मशास्त्रमा महिषासुर दानवले देवलोक (देवताहरू बस्ने संसार)मा आतङ्क मच्चाएका थिए तर दुर्गाले राक्षसहरूलाई मारेकी थिइन्।[९][१०][११] दसैँको पहिलो नौ दिन दुर्गा र महिषासुरका विभिन्न अवतारहरूबीच भएको युद्धको प्रतीक हो। दशौं दिन त्यो दिन हो जब दुर्गाले अन्ततः उनलाई पराजित गरेकी थिइन्। अन्य हिन्दूहरूका लागि यो चाड रावणमाथि रामको विजयको प्रतीक हो जुन रामायणमा वर्णन गरिएको छ।

महत्त्वपूर्ण दिनहरू

घटस्थापना

 
टिका र जमरा

विजयादशमीको पहिलो दिन घटस्थापना हो। यसै दिनदेखि नौरथा आरम्भ हुन्छ। क्रमशः दशमीका दिन प्रातः काल मात्र यस व्रत समापन हुन्छ। यसै दिन जमरा राखिन्छ। यस दिन घट कलशको स्थापना गरी देवी-देवतालाई आवाहन गरिन्छ। यस दिन नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँ घरमा चलिआएको अन्न छरिन्छ।

महासप्तमी

नौरथाको सातौँ दिनलाई फूलपाती अथवा महासप्तमी भनिन्छ। नौरथाको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दसैँ घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ। वर्षा ऋतु सकिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् भन्ने विश्वास गरिन्छ।

महाष्टमी

नौरथाको आठौँ दिनलाई महाअष्टमी भनिन्छ। यस दिनमा महाकाली -भद्रकालीको विशेष पूजा-आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौँ योनी-शक्ति) का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ। यी दिनहरूमा मानिसहरू आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन्। शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ। यसै दिन दसैँघर (हनुमानढोका) को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ।

महानवमी

नौरथाको नवौँ दिनलाई महानवमी भनिन्छ। यस दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा-आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ।

विजयादशमी

नौरथाको दशौँ दिनलाई विजयादशमी पनि भनिन्छ। यस सम्बन्धमा श्रीमद्देवीभागवत नौरथा प्रकरणमा नौरथा पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको हो भन्ने कथन छ। यस दिनमा देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मोलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैँको लागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउन जान्छन्।
टीका लाउँदा दिने आशिष (पुरुष):-
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥
 


टीका लाउँदा दिने आशिष (महिला):-
जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवधात्री स्वाहा स्वधा नमोस्तुते।
जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते॥

द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईँलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ। मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ। मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ। रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो। टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ भन्ने विश्वास रहेको छ।

आफ्नो घरमा टीका लगाउन आउनेको क्रम पनि उत्तिकै रहन्छ। अन्त्यमा यो टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दसैँ चाडको अन्त्य हुन्छ।यसै बखत वर्षा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन गरी वर्षा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ।

'आवाहनं नजानामि नजानामि विर्जसनम्।

पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी।

इमां पूजां मया देवी यथाशक्त्या निवेदितम्।

रक्षार्थ त्वत्प्रसादाय व्रज स्वस्थानमुत्तमम्।।'

यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मुलिद्वारा भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दसैँको लागि तयार पारी राखिएको लुगाले ठाँटिएर टीका लगाउन जान्छन्।

कोजाग्रत पूर्णिमा

पूर्णिमाको दिन मनाइने यस पर्वको अन्तिम दिनलाई 'कोजाग्रत' पूर्णिमा भनिन्छ। कोजाग्रतको शाब्दिक अर्थ ' जागृत' भन्ने हो। यस दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ। देवी लक्ष्मी पृथ्वीमा अवतरित हुन्छिन् र धन र समृद्धिको साथ रातभर जाग्राम रहने जो कोहीलाई वर्षा गराउँछिन् भन्ने विश्वास गरिन्छ। मानिसहरू तास, लङ्गुर बुर्जा, कौडा लगायतका खेलहरू पनि खेल्ने गर्छन् तथापि, यस्ता खेलहरू नेपालमा प्रतिबन्धित छन्।

अन्य देशहरूमा

भारतमा दसैँ

विजयदशमी भगवान रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्षोउल्लास तथा विजयको पर्व हो। संसारका कुना-कुनामा यो पर्व विभिन्न रूपमा मनाइन्छ । सिक्किममा पनि नेपालमा जस्तै घटस्थापना, फूलपाती, विजया दशमी आदि धूमधामसित मनाइन्छ, नेपालमा जस्तै दसैँ मनाउने अन्य स्थानहरू हुन्:

  1. पश्चिम बङ्गाल उत्तरी जिल्लाहरू जसमा दार्जिलिङ्ग, जलपाईगुडी हुन्।
  2. भुटान देश।
  3. म्यानमार
  4. भारतका उत्तर-पूर्वी नेपाली बसेका राज्यहरू जस्तै मेघालय, आसाम, अरुणाचल प्रदेश, नागाल्यान्ड, मणिपुर, त्रिपुरा, उत्तराखण्डको देहरादून आदि।
  5. विश्वका ती स्थानहरू जहाँ नेपालीहरू बसोबास गर्दैछन् ।

हिमाचल प्रदेशमा कुल्लू का दशहरा भनेर प्रसिद्ध छ। अन्य स्थानहरूकै जस्तो यहाँ पनि दश दिन अथवा एक सप्ताह पूर्व यस पर्वको तैयारी आरम्भ हुन्छ। स्त्री-पुरुष सबै सुंदर वस्त्रहरू पहिरिएर तुरही, बिगुल, ढोल, नगाडा, बाँसुरी आदि-आदि जोसित जो बाजा छ, लिएर बाहिर निस्कन्छन्। पहाडका मानिसहरू आफ्नो ग्रामीण देवताको धूम धामसित जुलूस निकालेर पूजा गर्दछन्। देवताहरूको मूर्तिलाई आकर्षक पालकीमा सुंदर ढङ्गले सजाइन्छ। साथै उनीहरू आफ्नो मुख्य देवता रघुनाथजीको पनि पूजा गर्दछन्। यस जुलूसमा प्रशिक्षित नर्तक-नटी नृत्य गर्दछन्। यस प्रकार जुलूस बनाएर नगरका मुख्य भागहरू हुँदै नगर परिक्रमा गर्दछन् र कुल्लू नगरमा देवता रघुनाथजीको वंदनासित दसैँ (दशहरा) उत्सवको आरम्भ गर्छन्। दशमीको दिन यस उत्सवको शोभा रोचक हुन्छ।[१२]

पञ्जाबमा दशहरा नौरथाका नौ दिनको उपवास राखेर मनाइन्छ। त्यसबेला यहाँ अतिथहरूको स्वागत पारंपरिक मिठाई र उपहारले गरिन्छ। यहाँ पनि रावण-दहनको आयोजन हुन्छ अनि मैदानहरूमा मेला लाग्छन्।

बस्तरमा दशहराको मुख्य कारणलाई रामले रावणमाथि गरेको विजय नमानेर, मानिसहरू यसको कारण मां दन्तेश्वरीको आराधनालाई समर्पित एक पर्व मान्दछन्। दन्तेश्वरी माता बस्तर अंचलका निवासीहरूको आराध्य देवी हुन्, जसलाई दुर्गाको रूप मानिन्छ। यहाँ यो पर्व पूरै ७५ दिनसम्म चल्दछ। यहाँ दशहरा श्रावण मासको अमावाश्य देखि आश्विन मासको शुक्ल त्रयोदशीसम्म चल्छ। प्रथम दिन जसलाई काछिन गादि भन्दछन्, देवीसित समारोह आरंभको अनुमति लिइन्छ। देवीलाई एउटा गद्दीमा सजाइन्छ, जसलाई काछिन गादि भनिन्छ। यो समारोह लगभग १५ औँ शताब्दीदेखि शुरु भएको बतान्छ। यस पछि जोगी-बिठाई कार्यक्रम, त्यसपछि भीतर रैनी (विजया दशमी) र बाहर रैनी (रथ-यात्रा) र अंतमा मुरिया दरबार उत्सव मनाइन्छ। यो आश्विन शुक्ल त्रयोदशीमा ओहाडी पर्वसित समापन हुन्छ। [१३]

पश्चिम बङ्गालमा यो पर्व दुर्गा पूजाको रूपमा नै मनाइन्छ। यो बङ्गालीको सबैभन्दा महत्त्वपूर्ण पर्व हो। बङ्गालमा पाँच दिनसम्म यो पर्व मनाइन्छ। यहाँ देवी दुर्गालाई भव्य सुशोभित पण्डालहरूमा सजाइन्छ। देशका नामी कलाकारहरू बोलाएर दुर्गाको मूर्ति तैयार गरिन्छ। यसका साथै अन्य देवी द्वेवताहरूको पनि मूर्तिहरू बनाइन्छ। पर्वको समयमा शहरका सानातिना स्टालहरू पनि मिठाईले भरिन्छन्। यहाँ षष्ठीको दिन दुर्गा देवीको बोधन, आमन्त्रण एवं प्राण प्रतिष्ठा आदिको आयोजन गरिन्छ। त्यसपछि सप्तमी, अष्टमी एवं नवमीका दिन प्रातः र सायंकाल दुर्गाको पूजामा व्यतीत हुन्छन्। दशमीको दिन विशेष पूजाको आयोजन गरिन्छ। प्रसाद चढाइन्छ र प्रसाद वितरण गरिन्छ। पुरुष आपसमा आलिंगन गर्दछन्, जसलाई कोलाकुली भनिन्छ।[१४] स्त्रीहरूले देवीको शीरमा सिंदूर चढाउँछन् र देवीलाई आँशु झार्दै विदाई दिन्छन्। यसका साथै उनीहरू आपस्तमा पनि सिन्दूर लगाउँछन् र सिन्दूर खेल्छन्। यस दिन यहाँ नीलकण्ठ पक्षीको दर्शन शुभ मानिन्छ। [१४] त्यसपछि देवी प्रतिमाहरूलाई ठूला-ठूला ट्रकहरूमा हालेर विसर्जनको निम्ति लगिन्छ। विसर्जनको यो यात्रा पनि साह्रै शोभनीय र दर्शनीय हुन्छ। [१२]

तमिलनाडु, आन्ध्र प्रदेश एवम् कर्नाटकमा दशहरा नौ दिनसम्म चल्छ जसमा तीन देवीहरू लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ। पहिला तीन दिन लक्ष्मी - धन र समृद्धिकी देवीको पूजन हुन्छ। दोस्रो तीन दिन सरस्वती- कला र विद्याकी देवीको अर्चना गरिन्छ र अंतिम दिन देवी दुर्गा-शक्तिकी देवीको स्तुति गरिन्छ। पूजन स्थललाई राम्ररी फूलहरूले र दीपकहरूले सजाइन्छ। मानिसहरू एक-अर्काप्रति मिठाईहरू र लुगाहरू आदान-प्रदान गर्दछन्। यहाँ दशहरा नानीहरूको निम्ति शिक्षा या कला सम्बन्धि नयाँ कार्य सिक्नकालागि शुभ समय मानिन्छ। कर्नाटकमा मैसूरको दशहरा विशेष उल्लेखनीय छ। मैसूरमा दशहराको समय पूरै शहरका गल्लीहरू रोशनीले सजाइन्छ र हात्तीहरूलाई सिंगारेर शहरभरि एक भव्य जुलूससित घुमाइन्छ। यस समय प्रसिद्ध मैसूर महललाई दीपमालिकाहरूले सजाइन्छ। यसका साथै मानिसहरू टार्च लाईट लिएर नाँच-गान गरी आनंद लिन्छन्। यी द्रविड प्रदेशहरूमा रावण-दहनको आयोजन गरिदैन।[१२]

गुजरातमा मिट्टी सुशोभित रङ्गीन घडा देवीको प्रतीक मानिन्छ र यसलाई कुमारी केटीहरूले सिरमा राखेर एउटा लोकप्रिय नृत्य गर्छन् जसलाई गरबा भनिन्छ। गरबा नृत्य यस पर्वको महत्त्वपूर्ण अङ्ग हो। पुरुष एवं महिलाहरू दुइवटा साना-साना रङ्गाएका लौरा लिएर संगीतको लयमा आपसमा बजाउँदै घूमेर नृत्य गर्दछन्। यस अवसरमा भक्ति, फिल्म तथा पारंपरिक लोक-संगीत सबै थोकको समायोजन हुन्छ। पूजा र आरतीपछि डांडिया रास रातभरि गरिन्छ। नौरथामा सुन र गहना किन्नु शुभ मानिन्छ। [१२]

महाराष्ट्रमा यस अवसरमा सिलंगणको नामले सामाजिक महोत्सवको रूपमा मनाइन्छ। सायंकालको समयमा सबैजना सुंदर-सुंदर नयाँ लुगा लगाएर गाँउको सीमा पार गरेर शमी वृक्षका पातको रूपमा 'स्वर्ण' (सुन) लिएर आ-आफ्नो गाउँ फिर्छन्। फेरि त्यस स्वर्णलाई परस्परमा आदान-प्रदान गर्दछन्।

 
लंकापति रावणलाई दशानन पनि भनिन्छ।

महाराष्ट्रमा नौरथाका नौ दिन मां दुर्गालाई समर्पित गरिन्छ, जब कि दशौँ दिन ज्ञानकी देवी सरस्वतीको वंदना गरिन्छ। यस दिन विद्यालय जाने बालबालिका आफ्नो पढाईको निम्ति आशीर्वाद माँग्न माता सरस्वतीका तांत्रिक चिह्नहरूको पूजा गर्छन्। कुनै पनि कुरालाई शुरु गर्न विशेष गरी विद्या शुरु गर्न यो दिन अति शुभ मानिन्छ। महाराष्ट्रका मानिसहरू यस दिनलाई विवाह, गृह-प्रवेश एवं नयाँ घर किन्ने शुभ मुहूर्त मान्दछन्।[१२]

कश्मीरका अल्पसङ्ख्यक हिन्दू नौरथाको पर्वलाई श्रद्धासित मनाउँछन्। परिवारका सबै वयस्क सदस्य नौ दिनसम्म खालि पानी खाएर उपवास बस्छन्। अत्यन्त पुरानू परम्परा अनुसार नौ दिनसम्म मानिसहरू माता खीर भवानीको दर्शन गर्न जान्छन्। यो मन्दिर एउटा तालको बीचमा बनिएको छ। बताइन्छ कि देवीले अपने भक्तहरूसित भनेकी थिइन्: जब कुनै अनर्थ हुने सम्भावना हुन्छ त्यसबेला सरोवर (ताल)को पानी कालो हुनेछ। भनिन्छ कि इंदिरा गांधीको हत्याको ठीक एक दिन पहिला र भारत-पाकिस्तान युद्धको पहिला यहाँको पानी साँच्चै कालो भएको भनी बताइएकोछ।

विविध

 
दसैँमा टीका ग्रहण गर्दै

यस चाडले "ईश्वरीय" र "राक्षसी" शक्तिहरूबीचको रक्तपातपूर्ण लडाईँको सम्झना गर्ने भएकोले यस समयमा पशुबलिहरू सामान्य जस्तै छ। [१५]

मालश्री धुन लाई दशैँको सङ्गीतको रुपमा नेपाली सङ्गीतको मूलधारमा समाहित गरिएको छ।[१६] यही धुनले नै दसैँ आएको घोषणा हुन्छ। मालाश्री धुन नेवाः कलाको सबैभन्दा पुरानो जीवित भक्ति सङ्गीत मध्ये एक हो, जसको उत्पत्ति १७औँ शताब्दीमा भएको थियो। उचित समयमा र दशैँ नेवारहरूले मात्र होइन तर सबै नेपालीहरूले मनाउने तथ्यलाई पनि ध्यानमा राख्दै, यो धुनलाई सृजना गरिएको थियो। यो राष्ट्रिय संस्कृतिको एक भाग हो जसलाई दसैँको समयमा बजाइन्छ।

दशैँ नजिकिँदै जाँदा चङ्गा उडाउनु सामान्य हुँदै जान्छ। अब वर्षा नपठाउन भगवान्लाई सम्झाउने एउटा तरिका मानिने भएकाले चङ्गा उडाउने गरिन्छ।[१७] यो नेपालमा दसैँ मनाउनुको एउटा महत्वपूर्ण पाटो हो। रङ्गीचङ्गी चङ्गा र 'चङ्गा चेट' (यो वाक्यांश सामान्यतया एकले अर्को व्यक्तिको चङ्गाको डोरी काट्दा प्रयोग गरिन्छ) भनेर चिच्याउने आवाजहरू चाडको समयमा लोकप्रिय रहन्छ।

तास, लङ्गुर बुर्जा, कौडा आदी खेल्नु पनि दसैँ मनाउने अर्को तरिका हो। दसैँको समयमा केटाकेटीहरू चङ्गा उडाउन व्यस्त हुँदा, परिवारका ठूला सदस्यहरू पैसा र रमाइलोको लागि एकसाथ भेला भएर र तास खेलेर आफ्नो समय बिताउँछन्।

नयाँ लुगा किन्नु र लगाउनु चाडबाडको महत्वपूर्ण भाग हो। गाउँघरमा बसोबास गर्ने धेरै मानिस गरिबीको रेखामुनि रहेकाले उनीहरूका लागि नयाँ लुगा दशैँसँगै मात्र किनमेल गरेको पाइन्छ। लगभग सबै पसलहरूमा उत्सव प्रस्तावहरू र छुटहरूका साथ सामानहरू बिक्री गरिन्छ। यसले किनमेललाई थप आकर्षक बनाउँछ। चाडबाडमा सबैभन्दा बढी लत्ताकपडा बिक्री हुने गरेको छ।[१८]

 
दसैँमा निर्माण गरिएको फिर्के पिङ

उत्सवको रूपमा देशका धेरै भागहरूमा बाँसको पिङहरू निर्माण गरिन्छ। दसैँमा विभिन्न प्रकारका पिङहरू निर्मण गरिन्छन्। यसले स्थानीय संस्कृति, परम्परा, सामुदायिक भावना, र आनन्दको सबै भन्दा राम्रो प्रस्तुती मानिन्छ। यी पिङहरू समुदायका सदस्यहरूले परम्परागत सामग्रीहरूद्वारा निर्माण गरेका हुन् जसमा कडा घाँस, बाँसको लट्ठी र काठ र डोरी प्रयोग गरिन्छ। सामान्यतया घटस्थापनाको एक हप्ताअघि नै पिङ निर्माण हुने र दशैँपछि आउने तिहारपछि मात्र भत्काउने गरिन्छ। कुनै-कुनै पिङको उचाई बीस फिटभन्दा बढी हुन्छ। सबै उमेरका मानिसहरू पिङको आनन्द लिन्छन्।

चाडबाडको समयमा मेला तथा उत्सवको आयोजना गरिन्छ। सामान्यतया, यस पर्वमा विविध सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिन्छ।। तथापि, सहरहरूमा व्यावसायिक मेला र उत्सवहरू सामान्यतया व्यवस्थित हुन्छन्।

हरेक वर्ष दशैँमा राँगा, हाँस, भेडा, कुखुरा, खसी बोकालगायत हजारौँ जनावरको वध हुने गरेको छ। यस्ता बलिबाट देवीदेवताहरू प्रसन्न हुन्छन् भन्ने मान्यता भएकाले यसलाई महत्वपूर्ण अनुष्ठानका रूपमा लिइन्छ। प्रायः सबै मन्दिरहरू, विशेष गरी दुर्गा र काली मन्दिरहरूमा हजारौं बलि चढाइन्छ। अष्टमी र नवमी बलि दिने प्रमुख दिन हो। देवीदेवताहरूलाई प्रसन्न पार्न हजारौँ पशुहरूको बलि चढाइन्छ भने मानिसहरू चाडवाडका लागि पशुहरूको पनि बलि चढाउँछन्। चाडबाडको पन्ध्र दिनसम्म धेरै भोज भतेर र जमघट हुने भएकाले मासुको माग ह्वात्तै बढ्छ। माग पूरा गर्न, जनावरहरूको वध धेरै उच्च र आवश्यक हुन्छ जसले गर्दा यस पर्व खर्चिलो हुन जान्छ।[१९][२०]

विजय पर्व

दसैँको उत्सव शक्ति र शक्तिको समन्वय गराउने उत्सव हो। नौरथाका नौ दिन जगदम्बाको उपासना गरेर शक्तिशाली बनेको मनुष्य विजय प्राप्तिको लागि तत्पर रहन्छ। यस दृष्टिले दसैँ अर्थात विजयको लागि प्रस्थानको उत्सवको उत्सव आवश्यक पनि हुन्छ।

हिन्दू संस्कृति प्राचीनकालदेखि नैं वीरता र शौर्यको समर्थक रहेकोछ। प्रत्येक व्यक्ति र समाजको खूनमा वीरताको प्रादुर्भाव होस् भन्ने ध्येयले नैं दसैँको उत्सव मनाइन्छ। यदि कतै युद्ध अनिवार्य नैं भयो भनें शत्रुको आक्रमणको प्रतीक्षा नगरी उमाथि आक्रमण गरेर जीत्नु नैं कुशल राजनीति हो। भगवान रामको समयदेखि नैं यो दिन विजय प्रस्थानको प्रतीक निश्चित भएको भन्ने भनाई छ। भगवान रामले रावणसित युद्ध गर्न यसै दिन प्रस्थान गरेका थिए। मराठा रत्न शिवाजीले पनि औरंगजेवको विरुद्ध यसै दिन प्रस्थान गरेर हिन्दू धर्मको रक्षा गरेका थिए। इतिहासमा अनेक उदाहरण छन् जब हिन्दू राजा यस दिन विजय-प्रस्थान गर्दथे।

 
रावणलाई मार्दै रामको चित्रण।

यस पर्वलाई भगवतीको 'विजया' नाममाथि पनि 'विजया दशमी' भनिएको हो। यस दिन भगवान रामचंद्र चौध वर्षको वनवास भोगेर तथा रावणको वध गरेर अयोध्या पुगे। यस कारण पनि यस पर्वलाई 'विजया दशमी' भनिन्छ। यस्तो मानिएको छ कि आश्विन शुक्ल दशमीमा तारा उदय हुने समय 'विजय' नामक मुहूर्त हुन्छ। यो काल सर्वकार्य सिद्धिदायक हुन्छ। यसकारण पनि यसलाई विजया दशमी भनिएको हो।

यस्तो पनि मानिएको छ कि शत्रुमाथि विजय पाउनका लागि यसै समयमा प्रस्थान गर्नुपर्छ। यस दिन श्रवण नक्षत्रको योग अझ शुभ मानिएकोछ। यस दिन दुर्‍योधनले पाण्डवलाई जुवामा पराजित गरेर बाह्र वर्षको वनवासको साथ तेह्रौँ वर्षमा अज्ञातवासको शर्त दिएका थिए। तेह्रौँ वर्षमा यदि उनीहरूको पत्ता लागे पाण्डवले पुनः वनवास भोग्नु पर्ने थियो। यसै अज्ञातवासमा अर्जुनले आफ्नो धनु एउटा शमी वृक्षमा राखेका थिए तथा स्वयं राजा विराटको दरवारमा नौकरी गरेकाथिए। जब गोरक्षाको लागि विराटका पुत्रले अर्जुनलाई आफ्नो साथ लिए, तब अर्जुनले शमी वृक्षबाट आफ्ना हतियार उठाएर शत्रुमाथि विजय प्राप्त गरेका थिए। विजया दशमीको दिन भगवान रामचन्द्रले लङ्कामाथि चढाई गर्न प्रस्थान गर्दा शमी वृक्षले भगवानको विजयको उद्घोष गरेको बताइन्छ। विजयकालमा शमीको पूजा यसै कारण भएको हो।

पशुबलिसँग सम्बन्धित विवाद

दसैँ पर्वमा पशुबलिका कारण प्रायः आलोचना हुने गरेको छ। सामूहिक पशुबलि विरुद्ध सरकारी कारबाहीको माग गरिएको छ।[२१][२२][२३] ताजा रगत चढाउँदा देवी दुर्गा प्रसन्न हुन्छ भन्ने विश्वासका साथ विशेषगरी पर्वको आठौँ र नवौँ दिनमा सयौँ पशुपक्षीको विधिपूर्वक वध गरिन्छ।[२४] परम्परागत रूपमा बलिको लागि योग्य चरा र जनावरहरूमा खसी, बोका, राँगा, भेडा, कुखुरा र हाँस समावेश छन्।[२५] केही पशु अधिकारकर्मीहरूले चराचुरुङ्गी र जनावरहरूको विपरीत फर्सी र नरिवलको प्रयोगको लागि आह्वान गरेका छन्।[२६]

विभिन्न राष्ट्रिय विभूति तथा पशु अधिकारकर्मीले पनि यस पर्वमा पशुक्रूरताको विषयमा चिन्ता व्यक्त गरेका छन्। २०७३ असोज १७ का दिन नेपाली हास्यकलाकार हरिवंश आचार्यले नेपाल साप्ताहिकमा 'एउटा खसीको आत्माकथा' शीर्षकको व्यङ्ग्यात्मक लेख लेखेका थिए।[२७]

नेपालको वर्तमान राजनीतिक परिवेशमा पनि विभिन्न आदिवासी जनजाति (आदिवासी जनजाति) ले आफूमाथि राज्यले चाडबाड थोपरिएको तर्क गर्दै आएका छन्। नेपाली राज्यमा प्रभुत्व जमाएको हिन्दू सम्भ्रान्तवर्गको सांस्कृतिक प्रभुत्वको विरोध गर्न विभिन्न सङ्गठन (हिन्दू विरोधी) ले दसैँ बहिष्कार गरेका छन्।[२८] अहिलेसम्म ती अभियानहरूले देशभरि सीमित प्रभाव पारेका छन्। तैपनि, दसैँ र अन्य सांस्कृतिक उत्सवहरू पनि नेपाली जीवनशैलीमा गाँसिएका छन्।[२९]

यो पनि हेर्नुहोस्

टीका टिप्पणी

   क.    ^ आश्विनस्य सिते पक्षे दशम्यां तारकोदये।

स कालो विजयो ज्ञेयः सर्वकार्यार्थसिद्धये॥

   ख.    ^ मम क्षेमारोग्यादिसिद्ध्‌यर्थं यात्रायां विजयसिद्ध्‌यर्थं

गणपतिमातृकामार्गदेवतापराजिताशमीपूजनानि करिष्ये।

   ग.    ^ यत्र योगेश्वरः कृष्णो यत्र पार्थों धनुर्धरः।

तत्र श्रीर्विजयो भूतिर्ध्रुवा नीतिर्मतिर्मम॥

सन्दर्भ सामग्रीहरू

  1. Christopher John Fuller (२००४), The Camphor Flame: Popular Nepali and hilly Society in India, Princeton University Press, पृ: 108–109, आइएसबिएन 0-691-12048-X 
  2. "नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच ०६ असोज २०७९ 
  3. "नवरात्र के हो ? के के गरिन्छ, (माता ब्रह्मचारिणी देवी स्वरुपको पूजा विधि)", अखबर पाटी (नेपालीमा), अन्तिम पहुँच ०६ असोज २०७९ 
  4. "किन सुरू भयो होला जमरा लगाउने चलन?", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच ०६ असोज २०७९ 
  5. "जमराको महत्व : स्वास्थ्यदेखि संस्कृतिसम्म !", खरिबोट (नेपालीमा), अन्तिम पहुँच ०६ असोज २०७९ 
  6. प्रकाश पाण्डे, "दसैँ महिमा : दशैँको टिका, जमरा, दक्षिणा र आशिर्वादको के छ महत्व ?" (नेपालीमा), अन्तिम पहुँच ०६ असोज २०७९ 
  7. "महान पर्व दसैँको महत्व र इतिहास", कखरा (नेपालीमा), अन्तिम पहुँच ०६ असोज २०७९ 
  8. राजकुमार दूबे (२००७), "सद्प्रेरणाको पर्व दशहरा" (एचटीएम), विप्र वार्ता, पृ: ०२, अन्तिम पहुँच १९ अक्तूबर 
  9. "Mahishasur Mardini", Shaktisadhana.50megs.com, अन्तिम पहुँच ११ नोभेम्बर २०१५ 
  10. "The Slayer Of Mahishasura", Balagokulam.org, अन्तिम पहुँच ११ नोभेम्बर २०१५ 
  11. "Major festivals of nepal", Asukagroup.com, मूलबाट ३१ मार्च २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०१५ 
  12. १२.० १२.१ १२.२ १२.३ १२.४ "भारत भरमा दशहरा उत्सव" (एचटीएम), भास्कर डट कम, २००७, पृ: ०२, अन्तिम पहुँच १९ अक्तूबर 
  13. "सांस्कृतिक परम्पराओं की विरासत - बस्तर दशहरा" (एचटीएम), रिडिफ आइल्यान्ड, २००८, पृ: १, अन्तिम पहुँच १ अक्तूबर 
  14. १४.० १४.१ "विजयादशमी" (एचटिएम), भास्कर डटकम, २००७, पृ: १, अन्तिम पहुँच १९ अक्तूबर 
  15. "September Festivals", Explore Himalaya, २७ सेप्टेम्बर २००९। 
  16. Melodious Instruments of Lyrical Nepal
  17. "ECS Dasain", ECS.com.np, अन्तिम पहुँच ११ नोभेम्बर २०१५ 
  18. "To Swing On A Ping", ECS.com.np, अन्तिम पहुँच ११ नोभेम्बर २०१५ 
  19. "Enjoy Healthy Food This Dashain", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २४ सेप्टेम्बर २०१७ 
  20. "Goat for Dashain - The Himalayan Times", The Himalayan Times (en-USमा), २१ सेप्टेम्बर २०१७, अन्तिम पहुँच २४ सेप्टेम्बर २०१७ 
  21. Criveller, Gianni, "NEPAL Buddhists and animal rights activists against animal slaughter for Durga - Asia News", Asianews.it, अन्तिम पहुँच ११ नोभेम्बर २०१५ 
  22. Bibek Bhandari (२७ अक्टोबर २०१४), "Animal rights activists want Nepal's sacrifice festival stopped | South China Morning Post", Scmp.com, अन्तिम पहुँच ११ नोभेम्बर २०१५ 
  23. "NFC starts selling goats for Dashain", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २४ सेप्टेम्बर २०१७ 
  24. Haviland, Charles (१९ अक्टोबर २००७), "Revulsion over Nepal animal slaughter", बीबीसी, अन्तिम पहुँच ९ अक्टोबर २०१६ 
  25. "Dashain festival, Nepal - Occupy for Animals!", Occupyforanimals.net, अन्तिम पहुँच ११ नोभेम्बर २०१५ 
  26. "Debating Animal Cruelty During Nepal's Dashain Festival · Global Voices", Globalvoices.org, २१ अक्टोबर २०१०, अन्तिम पहुँच ११ नोभेम्बर २०१५ 
  27. "एउटा खसीको आत्मकथा", नेपाल साप्ताहिक (नेपालीमा), कान्तिपुर प्रकाशन, ३ अक्टोबर २०१६, अन्तिम पहुँच ९ अक्टोबर २०१६ 
  28. वसन्त महर्जन, "अतिवादको चेपुवामा दसैँ", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच ०६ असोज २०७९ 
  29. Hangen, Susan (जनवरी २००५), "Boycotting Dasain: history, memory and ethnic politics in Nepal", Studies in Nepali History and Society (अङ्ग्रेजीमा)। 

बाह्य कडीहरू