दार्चुला जिल्ला
दार्चुला जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा जिल्ला हो। यो जिल्ला नेपालको पश्चिम तिरको अन्तिम जिल्ला हो।
दार्चुला जिल्ला | |
---|---|
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
सदरमुकाम | खलङ्गा |
सरकार | |
• प्रकार | जिल्ला समन्वय समिति |
• अङ्ग | जिल्ला समन्वय समिति, दार्चुला |
क्षेत्रफल | |
• जम्मा | २,३२२ किमी२ (८९७ वर्ग माइल) |
उच्चतम उचाई | ७,१३२ मिटर (२३३९९ फिट) |
न्यूनतम उचाई | ५१८ मिटर (१६९९ फिट) |
जनसङ्ख्या | |
• जम्मा | १३५०५६ |
• घनत्व | ५७/किमी२ (१५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
भाषाहरू | नेपाली |
नामाकरण
सम्पादन गर्नुहोस्यस जिल्लाको नाम दार्चुला कसरी रहन गयो भन्ने सम्बन्धमा कुनै लिखित प्रमाण न भेटिएता पनि विभिन्न किंवदन्तीहरू सुन्न पाइन्छन्। [२]
- दार्चुला शब्दको उच्चारण गर्दा दारचुला भए पनि यहाँको स्थिनिय भाषाका दुईवटा शब्दहरू धार र चुलाबाट विकसित भएको हो। स्थानिय भाषामा पहाडको अग्लो चुचुरोलाई धार भनिन्छ र चुल्होलाई चुला भनिन्छ। यो क्षेत्रमा खाना पकाउन एकनासका तिनवटा ढुङ्गाहरूमा माटो पोतेर चुचुरो आकारका चुल्हाहरू निर्माण गरिएका हुन्छन्। यसरी तिनै पहाडको चुचुरो (धार) जस्तो चुल्हो बनाई खाना पकाएर खाने ठाउँ भएकाले यस ठाउँको नाम धारचुला रहन गएको र पछि अपभ्रंस भई दारचुला र त्यसपछि दार्चुला बन्न गएको भन्ने एक थरिको भनाई रहेको छ। दार्चुला जिल्लाको ठिक पारिपट्टी पर्ने उत्तराखण्डको "धार्चुला" नामक स्थान पनि पर्दछ।
- अर्को किंवदन्ति अनुसार यहाँ तिनवटा पहाडका चुचुराहरू रहेका छन्। वर्तमानमा एच चुचुरो भारतमा पर्दछ भने दुईवटा चुचुराहरू नेपालमा नै अवस्थित छन्। फेदोबाट हेर्दा यि पहाडका चुचुरा (धार) चुल्हो आकारका देखिन्छन्। पौराणिक कालमा व्यास हिमालबाट तपस्या गरेर फर्कदा व्यास ऋषिले यिनै धारहरूको चुल्हो बनाई भात पकाएर खाएको हुनाले यस ठाउँको नाम धारचुला रहन गएको र पछि अपभ्रंस भई दार्चुला रहन गएको हो भन्ने अर्को थरीको भनाई रहेको छ।
- दार्चुला जिल्लाको सिमाना चिनको स्वशाषित प्रदेश तिब्बतसँग जोडिएको छ। तिब्बतसँग व्यापार गर्ने यहाँको प्रमुख नाकाको रूपमा व्याँस क्षेत्र रहेको छ। व्यासबाट तिब्बत क्षेत्रमा आवात जावत गर्दा एउटा भन्ज्याङ पार गर्नु पर्दछ। त्यो भन्ज्याङलाई तिब्बती भाषामा "ला" भनिन्छ। यो क्षेत्र तिब्बतसँग व्यापार गर्ने द्वार (बाटो) भएकोले द्वार र ला दुईवटा शब्दहरू मिलेर दार्चुला नाम रहन गएको हो भन्ने एक अर्को थरिको पनि भनाई रहेको छ।
भूगोल
सम्पादन गर्नुहोस्दार्चुला जिल्लाको सिमाना पूर्वमा बझाङ जिल्ला, पश्चिममा भारतको उत्तराखण्ड राज्यको पिथौरागढ, उतरमा चिनको स्वशाषित प्रदेश तिब्बत र दक्षिणमा बैतडी जिल्लासँग जोडिएको छ। विश्व मान चित्रमा यो जिल्ला २९ डिग्री ३६ मिनेट उत्तर देखि ३० डिग्री १५ मिनेट उत्तरी अक्षांश र ८० डिग्री २२ मिनेट पूर्व देखि ८१ डिग्री ०९ मेनेट पूर्वी देशेन्तरसम्म फैलिएको छ। यस जिल्लाको कुल क्षेत्रफल २३२२ वर्ग किलोमिटर छ। समुद्री सतहबाट यो जिल्ला ५१८ मिटर देखि ७१३२ मिटर सम्मको उचाइमा रहेको छ। अतिसित, सितोष्ण, समसिष्ण, अर्ध सितोष्ण, लेकाली हावापानी भएको यस जिल्लाको भू उपयोगको अवस्था विश्लेषण गर्दा कुल क्षेत्रफल २३२९५९.५ हेक्टर मध्य खेतीयोग्य जमिन ६१२१५ हेक्टर, वन क्षेत्र ७२९८२.३ हेक्टर, चरन क्षेत्र २४.९६४ हेक्टर, झाडी बुट्यान क्षेत्र ६५५५.२ हेक्टर र अन्य क्षेत्र ६७२४३ हेक्टर रहेको छ। [२] भू-विभाजन अनुसार दार्चुला जिल्लाको भूगोललाई समथर प्रदेश, पहाडी प्रदेश, लेकाली प्रदेश र हिमाली प्रदेश गरी चार भागमा विभाजन गरेर हेर्न सकिन्छ।[२]
जलवायु
सम्पादन गर्नुहोस्हिमाली जिल्ला भएकोले दार्चुला जिल्लाको मौसम जाडोमा धेरै चिसो हुन्छ। यहाँको वार्षिक औषत वर्षा २१२९ मिलि मिटर रहेको छ। यहाँको वार्षिक औषत तापक्रममा न्यूनतम तापक्रम ५.७० डिग्री सेलसियस र अधिकतम तापक्रम २८.६० सेलसियस रहेको पाइन्छ। [२]दार्चुला जिल्लाको भौगोलिक बनोटमा देखिएको विविधता झैँ हावापानी तथा वातावरणमा पनि विषता देखिन्छ। तसर्थ यस जिल्लाको हावापानी तथा वातारणलाई सितोष्ण, समसितोष्ण र अतिसितोष्ण गरेर विविध तिन भागमा विभाजन गर्न सकिन्छ। [२]जिल्लाको पश्चिम दक्षिणमा नदीका समथर बेसीहरूमा उष्ण हावापानी पाइन्छ। ग्रिष्ममा अत्यधिक गर्मी र हिउँदमा आंसिक रूपमा चिसो हुनु यस हावापानीको मुख्य विशेषता हो। खास गरी साविकका गोकुश्वर, लाली, उकु, दत्तु, आदी गाविसहरू जुन समुद्र सतह देखि करिब ५१८ मीटर को उचाइमा रहेका छन् त्यहाँ यस किसिमको हावापानी पाइन्छ। समसितोष्ण हावापानी जिल्लाको मध्य भागमा रहेको भूभागमा पाइन्छ। गर्मी याममा त्यती गर्मी नहुनु र जाडो याममा पनि त्यती चिसो नहुनु यो हावापानीको मुख्य विशेषता हो। साविकका रिठाचौपाता, शंकरपुर र छापरी गाविसहरूमा समसितोष्ण हावापानी पाइन्छ।
पर्यटन
सम्पादन गर्नुहोस्दार्चुला जिल्ला एक हिमाली जिल्ला हो। यहाँको सबै भन्दा बढी उचाइँ भएको ठाउँ अपी हिमाल (उचाइँ-७१३२ मि.), नाम्पा हिमाल (उचाइँ-६७५५ मि.), ओम पर्वत (उचाइँ-५५९० मि.) र त्रिशुल हिमाल (उचाइँ-) चुचुरा हुन् भने सबै भन्दा होचो स्थान जौलजीवी हो। दार्चुला जिल्लामा पवित्र तिर्थ स्थल ओम पर्वत पनि पर्दछ। त्यसै गरी कालापानि र लिम्पिया धुरा पनि नेपाल कै भूमि अन्तर्गत पर्दछन्। यस्तै चिनको तिब्बतमा अवस्थित हिन्दु धर्मावलम्बीहरूको महत्त्वपूर्ण तिर्थ स्थल तथा पर्यटकिय महत्त्व समेत बोकेको मानसरोवर जाने प्रमुख मार्गको रूपमा समेत यो जिल्लामा रहेको छ। यस जिल्लाको सदरमुकाम खलङ्गा भारतको धारचुलासँग जोडिएको छ। खलङ्गा बजार महाकाली नदीको किनारामा अवस्थित एक सुन्दर सहर हो। [२]यो जिल्ला पर्यटकिय तथा धार्मिक स्थलहरूको क्षेत्रमा निकै धनि रहेको छ। यस जिल्लाका पर्यटकिय तथा धार्मिक स्थलहरूमा घुषा गाविसको अपि हिमाल समुद्र सतह देखि ७१३२ मीटर उचाइंमा अवस्थित छ। व्यास गाविसमा पर्ने व्यास हिमाल समुद्र सतह देखि ६७७० मिटर उचाइमा अवस्थित छ र नाम्पा हिमाल समुद्र सतह देखि ६७५४ मिटरको उचाइमा अवस्थि छ। उकु गाविसको महलको भग्नावशेष पनि एक पर्यटकिय विन्दु हो। खण्डेश्वरीको सुर्मासरोवर एक धार्मिक तथा पर्यटकिय स्थल हो भने समुद्र सतह देखी ५००० मिटरको उचाइमा रहेको लिपु लेक पनि पर्यटकहरूका लागि निकै मनमोक स्थल हो। खण्डेश्वरीको धर्मी गुफा पनि एक अर्को महत्त्वपूर्ण स्थल हो। मालिकार्जुन गाविसको शिखरडाँडा र मालिकार्जुन मन्दिर पनि महत्त्वपूर्ण स्थलहरू हुन्।हुनैनाथ गाविसमा रहेको हुनैनाथ मन्दिर लेकम गाउँपालिकाको हुनैनाथ मन्दिर कुणी, केदारनाथ मन्दिर सुङरौ, जयपुर मन्दिर,मालिकार्जुन मन्दिर मैखोली र ऐडिवाग मन्दिर मैखोली बोहरीगाउँको बन्तोली मन्दिर, देवल गाविसको महलको भग्नावशेष, गोकुलेश्वर गाविसको गोकुलेश्वर शिव मन्दिर, लटीनाथ गाविसको लटीनाथ मन्दिर पनि यहाँका महत्त्वपूर्ण धार्मिक तथा पर्यटकिय स्थलहरू हुन्। [२] यसका साथै यस जिल्लामा रहेको अपि नाम्पा संरक्षण क्षेत्र पनि यस जिल्लाको एक पर्यटकिय केन्द्र विन्दू हो।यसै गरि उकू बाकु लाली यो जिल्लाका भकारी हुन।
प्रशाशनिक विभाजन
सम्पादन गर्नुहोस्स्थानिय तह पुनर्संरचना अनुसार दार्चुला जिल्ला एक संसदिय विकास क्षेत्र २ नगरपालिकाका १८ वटा वडा र ७ गाउँपालिकाका ४३ वटा वडा गरी जम्मा ६१ वटा वडाहरूमा विभाजित छ। व्यास गाउँपालिका भारत र चिनसँग सिमाना जोडिएको छ भने दुहुँ गाउँपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका भारतसँग सिमाना जोडिएको छ।[२]
स्थानीय तह | वडा सङ्ख्या | केन्द्र | जनसङ्ख्या |
---|---|---|---|
महाकाली नगरपालिका | ९ | खलङ्गा | २१,२३१ |
शैल्यशिखर नगरपालिका | ९ | गोकुलेश्वर | २२, ०६० |
अपिहिमाल गाउँपालिका | ६ | खाण्डेश्वरी | ७, ०२३ |
दुहुँ गाउँपालिका | ५ | हिकिला | १३, ४६५ |
नौगाड गाउँपालिका | ६ | होपरीगाड | १५, ८७४ |
मार्मा गाउँपालिका | ६ | लटिनाथ | १४, ९५६ |
मालिकार्जुन गाउँपालिका | ८ | शंकरपुर | १५,७५४ |
लेकम गाउँपालिका | ६ | रातमाटा | १४, ८३८ |
व्याँस गाउँपालिका | ६ | सून्सेरा | १०, २०५ |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्२०६८ सालको राष्ट्रिय जनगणना अनुसार दार्चुला जिल्लाको कुल जनसङ्ख्या १,३३,२७४ रहेको छ। जस मध्य पुरुषको सङ्ख्या ६३६०५ रहेको छ भने महिलाको सङ्ख्या ६९६६९ रहेको छ। दार्चुला जिल्लामा कुल घरधुरी सङ्ख्य २४६१८ रहेको छ। यस जिल्लाको औषत घरधुरी आकार ५.४१ र जनघनत्व ५७ प्रति वर्ग किलोमिटर रहेको छ। यस जिल्लाको वार्षिक जनसङ्ख्या वृद्धि दर ०.८८% रहेकोमा लैङ्गिक अनुपात ९१.३ रहेको छ। यस जिल्लामा २६.९४% घरधुरीमा विद्युत सेवा पुगेको छ, भने ३३.०५% घरधुरीमा सोलार सुविधा उपलब्ध छ। दार्चुला जिल्लाको कुल साक्षरता दर ६५.३६% रहेक छ, जसमा महिला साक्षरता दर ५२.६३% र पुरुष साक्षरता दर ७९.३७% रहेको छ। जिल्ला शिक्षा कार्यलय दार्चुलाको २०७२ विवरण अनुसार पुरुष ९४.६% र महिला ९६.४% गरी जम्मा कुल ९५.४% साक्षरता दर रहेको छ।[२]
स्वास्थ्य तथा शिक्षा
सम्पादन गर्नुहोस्२०६८ सालको राष्ट्रिय जनगणना अनुसार दार्चुला जिल्लामा ८२.५६% खानेपानीको सुविधा पुगेको देखिन्छ। सरसफाईमा ४६.७७% मात्र यहाँका वासिन्दाले चर्पीको सुविधा प्राप्त गरेका छन्। यसरी हेर्दा यो जिल्ला राष्ट्रिय सरसफाई तथ्याङ्क भन्दा १५% पछाडी रहेको देखिएता पनि दार्चुला जिल्लालाई खुल्ला दिसा मुक्त क्षेत्र तथा सरसफाई क्रियाकलाप कार्यान्वयन गर्न विभिन्न कार्यालय सङ्घ संस्थाको सक्रिय भूमिका रहँदै आएकोमे आर्थिक वर्ष २०७४/७५ मा ७७ जिल्ला मध्य दार्चुला जिल्ला २०७५ साल बैशाख २५ गतेका दिनमा नेपालको ५२औँ खुल्ला दिसा मुक्त जिल्ला घोषणा भई पूर्ण सरसफाई तर्फ उन्मुख भएको छ। दार्चुला जिल्लाको स्वास्थ्य सम्बन्धी सुविधा अन्तरगत जिल्ला अस्पतालको सङ्ख्या १, प्राथमिक स्वास्थ्य उपचार केन्द्रको सङ्ख्या १, स्वास्थ्य चौकीहरूको सङ्ख्या ११, महिला स्वयम् सेविकाहरूको सङ्या ३६९, उप स्वास्थ्य चौकीहरूको सङ्ख्या २९, मातृ शिशु कार्यकर्ताहरूको सङ्ख्या ३६, आयुर्वेद औषधालयहरूको सङ्ख्या ३, तालिम प्राप्त सुडेनीहरूको सङ्ख्या ९०, डट्स उपचार केन्द्रहरूको सङ्ख्या १३, उपचार उपकेन्द्रहरूको सङ्ख्या २९, खोप क्लिनिकहरूको सङ्ख्या १४७, गाउँ घर क्लिनिकहरूको सङ्ख्या १४१ र बर्थिङ सेन्टरहरूको सङ्ख्या ४ रहेको छ।[२]
अर्थतन्त्र
सम्पादन गर्नुहोस्विकासका सूचकाङ्कहरूलाई हेर्दा कुल दार्चुला जिल्लामा शाक्षरता दर, प्रति व्यक्ति आय, औसत आयु, बाल मृत्यु दर, मृत्यु दर, जन्म दर, आदी धेरै जसो नकारात्मक रहेका छन्। यस जिल्लाको ९०% भन्दा बढी जशसङ्ख्या कृषिमा आधारित छन्। कृषि क्षेत्रमा नयाँ प्रविधिको विकास हुन नसकेकाले कृषि उत्पादन क्षेत्रमा राम्रो उत्पादन हुन सकेको छैन, जसले गर्दा खाद्य सन्तुलन नकारात्मक रहेको छ। भौगोलिक विकटता र विविधता रहेको यस जिल्लाको आर्थिक क्रियाकलाप समेत न्यून रहेको छ। जसले गर्दा खाद्य सन्तुलन नकारात्मक रहेको छ।[२]
वन पैदावार
सम्पादन गर्नुहोस्दार्चुला जिल्लामा सितोष्ण, समसितोष्ण र अतिसित हावापानी जिल्लामा सितोष्ण, सम सितोष्ण, अतिशीत हावापानी पाईने भएकाले यहाँ ५ प्रकारका वनहरू पाइन्छन्। जस अनुसार कोणधारी वन, हार्डउड वन, मिश्रित वन, झाडी बुट्यान वन र अन्य वनहरू रहेका छन्। यस जिल्लाको वनको कुल क्षेत्रफल ७२९८२.३ हेक्टर रहेको छ। जस मध्य सामुदायिक वन क्षेत्रले ओगटेको क्षेत्रफल ३७२१.७१ हेक्टर उपभोक्ता समितिहरूलाई हस्तान्तरण गरी सकिएको छ। ICIMOD १९९७ अनुसार वन जङ्गलमा आस्रीत घरहरूको सङ्ख्या २७.५ % रहेको छ। यस जिल्ला भित्र पाइने वनस्पतिहरू मध्य देवदार, बाँज, सल्लो, साल, टुणी, उत्तिस, सिमल, चिउरी, लाली गुराँस, बाँस, कोइरालो, साज, सानन, धुईयो, मौनेठी, पैंयो, जामुन, जस्ता वनस्पतिहरूका साथै यार्सा गुम्बा, पाँचऔंले, झ्याउ, भुतकेश, भोजपत्र, भ्याकुर, दालचिनी, टिमुर, पदमचाल, पाषाणभेद, दारुहल्दी, तितेपाती, लौठसल्लो, गुच्ची च्याउ, कुमकुम, सिकाकाई, सतुवा, सेतक चिनी, कुटकी, काफल बोक्रा, ओखर बोक्रा, धुपी पात, तेजपात र रिठ्ठो आदी डडिबुटीहरू समेत रहेका छन्। [२]
इतिहास
सम्पादन गर्नुहोस्दार्चुला जिल्लाका साविकका गा.वि.स.हरू ४१ र हालका ७ ओटा गाउपालिका र २ ओटा नगरपालिका रहेका छन्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "National Population and Housing Census 2011(National Report)", Central Bureau of Statistics, Government of Nepal, नोभेम्बर २०१२, मूलबाट १८ अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १ नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण १८ अप्रिल २०१३ मिति
- ↑ २.०० २.०१ २.०२ २.०३ २.०४ २.०५ २.०६ २.०७ २.०८ २.०९ २.१० २.११ दार्चुला जिल्लाको सङ्क्षिप्त परिचय