बहादुर शाह (जन्म: १८१४ वि.सं. - मृत्यु: १८५४ ) वि.सं.पृथ्वीनारायण शाहका माहिला छोरा र राजनीतिज्ञ थिए। (राजा रणबहादुर शाहले उनलाई लेखेको पत्रमा माहिला काका भनी सम्बोधन गरेका छन्।) उनले आफ्ना पिताले सुरु गरेको नेपाल एकिकरणको अभियानलाई तीव्र गतिले अघि बढाए । पिताको सपना साकार पार्न पश्चिमका राजा-रजौटाहरूको समाप्ति यिनको चाहना थियो। भाउजू राजेन्द्रलक्ष्मी र भतिजा रणबहादुर शाहको अनेकौ षड्यन्त्र र दाउपेचको शिकार बन्नुपरे तापनि राजेन्द्रलक्ष्मीको मृत्यु (वि.सं. १८४२) पश्चात् निर्वासनबाट फर्केर नेपाल एकीकरण अभियानमा योगदान दिए।[२]

बहादुर शाह
नायव साहेब नेपाल
जन्मवि सं १८१४ असार ६
नुवाकोट, गोरखा राज्य
मृत्युवि सं १८५४ असार १५[१]
आर्यघाट, पशुपतिनाथ, नेपाल
जीवनसाथीविद्या लक्ष्मी देवी
सन्तानरिपू मर्दन शाह
शत्रु मन्जन शाह
वंशशाह वंश
बाबुपृथ्वीनारायण शाह
आमानरेन्द्र राज्य लक्ष्मी देवी
धर्महिन्दु

तर उनले आफ्ना पिताले स्थापित गरेका केहि नियमहरूलाई उल्लङ्घन गरे। कुनै पनि भारदारलाई नमार्नु भन्ने पृथ्वीनारायण शाहको दिव्योपदेशको विपरित उनले सर्वजीत राना मगरलाई मारी भारदारको हत्याको प्रचलन सुरु गरे। भारदारको हत्या गर्ने प्रचलन भीमसेन थापाको शासनमा चरममा पुगेको थियो।[३]

३८ वर्षको उमेरमा नेपालका एक सशक्त निर्माता बहादुर शाहको दुर्भाग्यपूर्ण अवसान भयो र नेपालको एकीकरणको महत्वपूर्ण अभियान एकाएक बीचैमा रोकियो।[४] उनको हत्याकाण्ड पछि नेपालको राज्यव्यवस्थामा ठूलो आतंक फैलियो। नेपालको राजदरबार भित्र षड्यन्त्र तथा हत्याकाण्डका शृङ्खला चल्न थाले र नेपाली नागरिक अनेकौं किसिमको विपत्तिको सामना गर्न विवश रहे। राजा रणबहादुर शाहचौतारा शेरबहादुर शाहीहरूको डरले गर्दा कुनै पनि भारदार पनि यस हत्याकाण्डको सम्बन्धमा चुँसम्म पनि गर्न समर्थ थिएनन् भने सर्वसाधारण नागरिकको त झन् कुरै भएन।

आफ्ना विशिष्ट योगदानहरूले गर्दा सुयोग्य पिताका योग्य पुत्रका रुपमा मात्र होइन, नेपाल अधिराज्यका निर्माताका वास्तविक उत्तराधिकारीका रुपमा पनि यिनी लामो समय सम्म नेपालीहरूबीच गर्वका साथ सदा सम्झीईदै रहनेछन्।[५]

प्रारम्भिक जीवनसम्पादन

उनको जन्म १८१४ असारमा भएको हो। उनलाई पहिले फत्तेबहादुर शाह भनिन्थ्यो तर पछि बहादुर शाह मात्र भन्न थालियो। उनको शिक्षा-दीक्षा गोरखा र नुवाकोट दरबारमा भयो। उनी सामान्य लेखपढ गर्न जान्दथे। सैद्धान्तिक शिक्षा उनले प्रशस्त पाएका थिए। आफ्ना बाबू पृथ्वीनारायण शाहसंगै नुवाकोट दरबारमा कूटनीतिक वातावरणमा बस्ने मौका पाएका हुँदा नेपालका भारदारसँग उनको सम्पर्क नजिकबाट भयो। उनी योग्य र इमानदार भारदारहरूको चयन गर्दथे।[६]

पृथ्वीनारायण शाहको मृत्यु पश्चात्सम्पादन

वि.सं. १८३१ माघ १ मा बडामहाराजधिराज पृथ्वीनारायण शाहको मृत्यु भएपछि युवराज प्रतापसिंह शाहले नेपाल अधिराज्यको राजमुकुट धारण गरे।

नजरबन्दसम्पादन

प्रतापसिंह शाहले "बहादुर शाहले आफ्ना विरुद्ध विद्रोह गर्ने पो हुन् कि?" भन्ने अनावश्यक शङ्का लिई यिनले आफ्ना आफ्ना प्रमुख सल्लाहकार राजगुरु व्रजनाथ पौड्याल पण्डित तथा सरदार स्वरुपसिंह कार्कीहरूको परामर्श अनुसार काका काजी दलजीत शाहका साथ पिताको आशौच वारि बसीरहेका राजकुमार बहादुर शाहलाई आशौच भित्रै नुवाकोटमा सहसा कैद गरियो। राजकुमार काहीँ दलजीत शाह पछि भागेर वेपत्ता भएकाले उनको सर्वस्वहरण गरियो। राजकुमार बहादुर शाहले नजरबन्द अवस्थामा नै आफ्ना पिताको काजकिरिया विधिपूर्वक सम्पन्न गरे।[७]

निर्वासनसम्पादन

दुई दाजुभाइमा मेल नहुँदा चेपेपार धपाइएपछी बहादुर शाह कहिले पाल्पा, कहिले तनहु तिर गइ रहन लागे। त्यहाँ रहंदा ती राज्यसंग सम्पर्क राखी आफ्नो राज्यको हित गर्ने कुरा तिर उनले दृष्टि दिएका थिए। यस विषयमा बहादुर शाह आफ्ना दाजुलाई बराबर पत्र लेखि पठाउँथे। दाजुको हृदय परिवर्तन गराई पाए फर्कने सुरमा उनी थिए। प्रतापसिंह उनलाई यहाँ पस्न चाहि नदिने , उनलाई चाहिने चिजबिज चाहि बराबर पठाइदिने गर्ने भन्ने कुरा उनले लेखेका पत्रले स्पस्ट रुपमा देखाएको छ। [८]

बि.सं १८३३ को शुरुमा बहादुर शाहले तनहुँ बाट प्रतापसिंह शाहलाई "हजुरको हामीले सोझै गरेका थियौ। हजुरले हामीलाई निकाल्नु भयो, हामीले तनहुँको नून खाएका छौ, उनीहरूले जे गराउलान्, सो गरौला, तर हजुरले भलो गर्नु भयो भने हामीले अन्यथा गर्नु हुदैन। आफ्नै मुलुकमा आएर बस्नु छ" भनी पत्र लेखे। त्यसको जवाफामा बि.सं १८३३ श्रावण १५ गते प्रतापसिंह ले "तिमीहरूले गरे अनुसार ओखती गरिएको हो, तिमीहरूले राम्रो चाल चलन गर्यौ भने यो घर तिमीहरूकै हो, यो कुरा मैले अस्तिको चिठीमा पनि लेखेको थिए। तिमीले तनहुँ संग मिलेर लमजुङका राजासंग भेट गरेछु, यसको फल कस्तो हुन्छ पछी थाहा होला, तनहुँ, लम्जुङ कास्की पर्वत प्युठानासंग सन्धि गर्न वंशराज पाँडेहरूलाई पठाएको छ, उनीहरू गोर्खा आइपुगे " भनी चारपाटे बिछ्यौना तथा मेवा आदि चीजबिज पठाइदिएको कुरा परेको छ।[८]

बेतिया निर्वासन र फिर्तासम्पादन

पछि राजकुमार बहादुर शाह भारतको बेतियामा गैई त्यहीँ नै निर्वासित जीवन बिताउन थाले।

वि.सं १८३४ मार्गमा प्रतापसिंह को २६ वर्षको उमेरमा मृत्यु भयो। त्यसबेला प्रतापसिंह का छोरा रणबहादुर शाह अढाई वर्षका थिए। वि.सं १८३४ मार्ग ९ गते रणबहादुर शाहको भाकाबाट दलमर्दन शाह र बहादुर शाहलाई "बुबाज्यूलाई पहिले रक्तातिसारको रोग थियो, पछि वात पनि भयो, रोगले च्याप्दै ल्यायो र मंसीर ६ गते सोमबार बिहान उहाँको स्वर्गवास भयो, ८ जना केटीहरू सती गए, क्रियाकर्म गर्न लाग्यौ, नरु शाह, शिव शाह भोटु पाँडेहरू क्रिया बसेका छन्, तपाईहरूले पनि जूठो बार्नु होला , चोखिएपछी तपाईहरूलाई लिन यहाँबाट मानिस आउँछन् , त्यहाँसम्म त्यही राज गर्नुहवस् " भनी पत्र लेखियो।[९]

राजेन्द्रलक्ष्मीको नायबीकालसम्पादन

प्रतापसिंह शाहको १९३४ मङ्सिरमा मृत्यु भएपछि राजेन्द्रलक्ष्मी नाबालक राजा रणबहादुर शाहकी नयबका रूपमा रहन लागिन्। सर्वप्रथम उनले आफ्नो हात बलियो पार्न चौतारिया दलमर्दन शाह र बहादुर शाहलाई काठमाडौँ आउन बेतियातिर पत्र लेखेर पठाइन्।

प्रतापसिंह शाहको मृत्यु पछि वज्रनाथ पण्डित राजेन्द्र लक्ष्मीलाई सति पठाएर आफू बालक राजाको नाममा शासन चलाउन चाहन्थे। राजेन्द्र लक्ष्मीले वज्रनाथ पण्डितलाई चारपाटा मुडेर चारभञ्ज्याङ कटाइदिइन्। भारदार परशुराम थापालाई नेलगल्फन्दी हालियो। मैजुकन्यालाई सती पठाइदिइन्।[१०]

चौतारियाका छोराहरू बलभद्र शाह र कृष्ण शाहलाई दरबारमा बोलाइन् र बहादुर शाहसँग राजकाजको सल्लाह लिई काम गर्न थालिन्।

दोस्रो पटक नजरबन्दसम्पादन

बहादुर शाह र राजेन्द्रलक्ष्मीको संयुक्त नायबी काल केहि समय राम्ररी चल्यो। क्रमशः बहादुर शाहको योजना नेपालको छिटो एकीकरण गर्नुपर्छ भन्ने थियो भने राजेन्द्र लक्ष्मीको योजना आफ्नो छोरा ठूला हुनेछन् र पछि उनले नै एकीकरण अभियान सञ्चालन गरि अघि बढाउने छन् भन्ने योजना थियो। भारदारहरूले ती कुराहरू सुनेपछि "नेपालको विस्तार र एकीकरण गर्नुपर्छ" भन्ने मत व्यक्त गरे। दरबारका भारदारहरूले बहादुर शाहको पक्ष लिएको थाहा पाएर राजेन्द्र लक्ष्नीले सर्वजित राना मगरलाई प्रभावमा लिएर बहादुर शाहलाई नजरबन्दमा राखिन्।

राजगुरु गजराज मिश्रको अनुरोधमा उनलाई मुक्त गरियो ।

बि.सं. १८३५ भदौ १९ मा बहादुर शाहले राजेन्द्रलक्ष्मीलाई नजरबन्द गरे। रानीका समर्थक सर्वजीत राना काटिए। भदौ २१ मा बहादुर शाहले लालमोहर लिई आफू शासक भएको कुरा घोषणा गर्न लगाए।[११]

बि.सं. १८३६ एकीकरणको क्रममा बहादुर शाह तनहुँ आक्रमण गर्न गोरखा पुगे। त्यसै बेला असार १० मा राजेन्द्रलक्ष्मी मुक्त भइन्।

निर्वासनसम्पादन

बहादुर शाह बि.सं. १८३६ असारमा बेतियातिर निर्वासित भए।

नायवीसम्पादन

राजेन्द्रलक्ष्मीको मृत्यु (वि.सं. १८४२) पश्चात् राजकुमार बहादुर शाहले रणबहादुरको नायवी ग्रहण गर्दै नेपालको एकिकरण अगाडि बढाए। राजकुमार बहादुर शाहले पश्चिम नेपालको शक्तिशाली पाल्पा राज्यका राजा पृथ्वीपाल सेनकी बहिनीसँग वैवाहिक संबन्ध बनाइ पश्चिम पर्वत देखि गुल्मी, अर्घा, खांची, रूकुम प्युठान, सल्यान, जाजरकोट, दैलेख, दुल्लु, जुम्ला, डोटी, अछाम, बझाङ, हुदै कुमाउ गढवाल हुदै सतलज नदी पारी गोरखाली पुगेका थिए। नेपाल एकिकरणको अभियानमा बहादुर शाहको नेतृत्वकाललाई स्वर्णकाल मानिन्छ।

विजय अभियानसम्पादन

पाल्पा राज्यसँग गरिएको सन्धिअनुसार विजय गरिएका राज्यहरु आपसमा बाँडेर लिने कुरा उल्लेख थियो।

बहादुर शाहले पाल्पा राज्यको सहायता लिई काजी जीव शाह, काजी दामोदर पाँडे, काजी जगजीत पाँडे, पारथ भण्डारी, सरदार अमरसिंह थापा, सुब्बा जोगनारायण मल्ल, प्रबल राना आदिको नेतृत्वमा फौज पठाए। वि सं १८४३ जेठमा अघि बढेको नेपाली फौजले जेठ ११ गते गुल्मी, भाद्र २६ गते अर्घा, २८ गते खाँची र आश्विन १४ गते पर्वत विजय गर्यो । यसपछी क्रमशः धुरकोट, गलकोट, मुसिकोट, इस्मा, दाङ, प्युठान र रोल्पा विजय गरी मङ्सिरसम्ममा भेरी नदिसम्मका क्षेत्रहरु एकीकृत गरिए । पाल्पासँग गरिएको सन्धिअनुसार आधा क्षेत्र दिनुपर्ने भए पनि केवल अर्घा, खाँची र गुल्मी तीनओटा राज्य दिई बाँकी सम्पूर्ण क्षेत्र नेपालमा मिलाइयो।

भेरी नदिभन्दा पश्चिमको जाजरकोट राज्यसँग पृथ्वीनारायण शाहको समयमै सन्धी भएकाले त्यहाँका राजा गजेन्द्र शाहसँग सन्धी नवीकरण गरियो। जाजरकोटले नेपाललाई वार्षिक रू. ७,००० र सैनिक सहयोग गर्ने शर्तमा आफ्नो समर्थक बनाएपछि भेरी नदि सम्म पुग्यो । बहादुर शाहले पश्चिमी क्षेत्रमा एकीकरण अभियान बढाइरहेको समयमा वि सं १८४५ मा नेपाल र तिब्बत बीच युद्ध भएकाले दामोदर पाँडे लगायत्का कतिपय सैनिक अधिकारीहरू तिब्बतसँगको युद्धमा संलग्न भए।

वि सं १८४६ मा शिवनारायण खत्रीको नेतृत्वको फौजले मुक्तिनाथको बाटो हिमाली क्षेत्र हुँदै जुम्ला माथी आक्रमण गरी सरदार कालू पाँडे (काजी कालू पाँडे होइनन्) र भक्ती थापाको सहायताबाट जुम्ला विजय गरियो। सरदार भक्ति थापा र कालु पाँडेले दैलेखमाथी आक्रमण गर्दा त्यहाँका राजा भागे भने दुल्लुका राजा उत्तम शाहले नेपालको अधिनता स्विकार गरी अमरसिंह थापाको साथ दिए। बझाङी राजाले पनि नेपालको अधीनता स्वीकार गरी वार्षिक रु ५००/- सिर्तो रकम तिर्न मञ्जुर गरे । त्यसपछि अमरसिंह थापाको नेतृत्वको फौजले कर्णाली नदि तरेर अछाम तथा डोटि राज्यमाथी विजय गरेकाले नेपालको पश्चिमी सीमा महाकाली नदिसम्म पुग्यो। डोटी राज्यलाई नेपालमा मिलाउन ज्यादै कठिन भएको समयमा त्यसलाई पराजित गर्नका लागि बझाङी राजा समुद्रसिंह तथा प्रतिमान शाहीको ठूलो भूमिका रहेको छ। [१२]

नेपाल चीन युद्धसम्पादन

नेपाल चीन युद्धमा चीनले नेपाललाई नराम्रोसँग पराजित गर्यो। नेपाल चीनसँग बेत्रावती सन्धि गर्न बाध्य भयो। यो सन्धिले नेपाललाई चीनको संरक्षित राज्य सरह बनाएको थियो।

१८७१-७२ को नेपाल अङ्ग्रेज युद्धमा अंग्रेजको बल पुगेको भए नेपाल सरकारलाई सहायक सन्धिका जालामा फसाएर अवध र निजाम राज्यका अवस्थामा ल्याउँथे। बेत्रावती सन्धिमा बहादुर शाहले चीनसँग सम्बन्ध जोडेर यस कुराको बचाउ गरेका थिए।

पद त्यागसम्पादन

राजा रणबहादुर शाह अठार वर्ष पुगेका हुनाले दरबारका चाटुकार एकीकरण विरोधी भारदारहरूले बहादुर शाहका विरुद्ध राजालाई उचाल्न थाले। रणबहादुर शाह, बहादुर शाहका विरुद्ध कारबाही गर्न आफैँले शासन चलाउनु पर्ने कुरा भारदारको मतानुसार सोच्न थाले। रणबहादुर शाह आफ्नो पुनः राज्याभिषेक गराउन चाहन्थे। गुल्मी राज्यलाई स्वतन्त्रता दिई साला सिद्धिप्रताप शाहलाई राजा बनाउने, विदुर शाही र शेरबहादुर शाहीलाई चौतारिया पद दिने, कान्तिवतिलाई सकार्ने जस्ता कुरामा विवाद हुँदा बहादुर शाह र रणबहादुर शाहको मनमुटाव भयो। परिणामस्वरूप बहादुर शाहले आफ्नो नायब पद त्याग गरी धर्मकार्यपट्टी लाग्न थाले। त्यसपछि रणबहादुर शाह नेपालको सर्वेसर्वा भए।

मृत्युसम्पादन

बहादुर शाह जस्ता वीर र सुझबुझ पूर्ण नेतृत्व क्षमता भएकालाई रणबहादुर शाहको लहडबाजीमा जेलमा हाली मृत्यु गराइयो। बहादुर शाहलाई बिष्णुमतिको छेउमा बन्दी बनाइएको थियो। उनले बहादुर शाहको टाउकोमा उमालेको तेल खनाउन लगाए । बहादुर शाहकी पत्नीलाई दुर्ववहार गर्न लगाए। उनलाई भए नभएका कुरा सुनाएर दिक्क पारिएको थियो। उनलाई राजेन्द्र लक्ष्मीलाई खानामा विष मिसाएर हत्या गरेको जस्ता आरोप लागिएको थियो। यस बखत नवयुवक राजा रणबहादुर शाहले राजकुमार बहादुर शाह माथी मुख्य रूपमा निम्न लिखित आरोप लगाएका थिए:[१३]

  1. कान्छा चौतारा दलमर्दन शाहसँग मिली बुबाज्यू महाराज प्रतापसिंह शाहको हत्या गरि टाउको लुकाउने र ढाड झ्यालबाट खसाउने योजना गरेको
  2. मुमामहारानी राजेन्द्रलक्ष्मीलाई भए-नभएको बात लगाई नेल हाली सर्वजित रानालाई कटाएको र मलाई पनि मारी दाखचोकको इनारमा पुर्ने योजना गरेको
  3. मथुरा नामकी एउटी केटीलाई लगाई मेरी मुमालाई बीस खुवाई मार्ने उद्योग गरेको
  4. विवाह गर्न भनी बहादुर शाह गोरखा जाँदा बोर्लाङघाटमा वास परेको दिन मलाई मारी गण्डकी नदीमा बगाउने योजना गरेको
  5. "राजालाई (मलाई) घरबाट निस्कन किन दिइस्" भनी बन्धु रानालाई गाली गरेको
  6. मलाई मार्न मसानको प्रयोग गरेकाले दक्षिण कालीको दर्शन गरेर फर्किदा बाटामा तीन पटकसम्म झाडापखाला तथा बमन भएको
  7. कुकर्मी बहादुर शाहले रातको बीचमा मलाई खोज्दै आएको, यसैबीचमा कुकुरले झम्टन जाँदा अकारण नै कुकुरलाई काटिदिएको
  8. मेरो अनुपस्थितिमा आफ्नो मनखुसीसँग आफ्नै हातले लालमोहरका छाप लगाउने गरेको
  9. मलाई मार्न भनी आधारातमा आएको, "पुनी" नामक धाईले थाहा पाई ढोकामा चुकुल हालेको र यसै रिसले तरबारले ढोकामा हानी फर्किई गएको।
  10. मलाई तीन सलाम गर्ने नगरेको
  11. राजा राम शाहका पालादेखी चलिआएको मैत्रीसम्बन्धको उपेक्षा गरि तिब्बतसंग अनावश्यक युद्ध गरेर झन्डै देशलाई नै डुबाइदिएको। चीनसँग युद्ध गर्न भनी अंग्रेजहरूसँग मित्रता बढाएको।

उनले बन्दी अवस्थामा खान, सुत्न, मनमा लागेको कुरा भन्न र आफन्तलाई भेट्न पनि पाएनन्।

वि सं १८५४ आषाढ १४ गते शनिबार को रात राजकुमार बहादुर शाहको गुप्त रूपमा हत्या गरियो। हत्या सम्भवतः गलामा पासो लगाएर गरिएको थियो। तर "कालगतिले नै यिनको मृत्यु भएको हो" भन्ने भान पारी बिहान उज्यालो नहुँदै पशुपति आर्यघाटमा पुर्याएर यिनको भौतिक शरीरको दाहसंस्कार सम्पन्न गरियो।[१४]

वि सं १८५४ आषाढ १५ गते बहादुर शाहको मृत्यु भएको घोषणा गरियो । चीनमा उनको मृत्युबारे खबर गर्दा छेरौटीले मरेको, भारतीय कम्पनीलाई लेख्ता सिकिस्त बिरामी परेको जस्ता प्रतिवेदन गरेका थिए।

बहादुर शाहको मृत्यु सार्वजनिक गरिएन। उनको दाहसंस्कार राजकीय ढाँचाबाट समेत गरिएन। बहादुर शाहका पक्षधरलाई नेपाल असुरक्षित भूमी हुन लाग्यो।[१२]


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. इतिहास अभागी राजकुमार बहादुर शाह
  2. प्रसाई, दीर्घराज (६ असार २०७९), "बहादुर शाहको त्यो बहादुरी", नागरिक, अन्तिम पहुँच १६ आषाढ २०७९ 
  3. Acharya 1975, पृष्ठ 215.
  4. बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: ३०, आइएसबिएन 978-9937-665-40-7 
  5. बाबुराम आचार्य (माघ २०७५), [[अब यस्तो कहिल्यै नहोस्]], फाइनप्रिन्ट बुक्स, पृ: ३१, आइएसबिएन 978-9937-665-40-7  ইউআরএল শিরোনামে উইকিলিঙ্ক এমবেড করা (सहायता)
  6. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १९२
  7. चवन्न सालको घटना: अब यस्तो कहिल्यै नहोस्; बाबुराम आचार्य;
  8. ८.० ८.१ गौतम बज्र बज्राचार्य ; महेशराज पन्त (२०२५ बैशाख जेठ असार), पूर्णिमा, संशोधन मण्डल, पृ: ३३। 
  9. गौतम बज्र बज्राचार्य ; महेशराज पन्त (२०२५ बैशाख जेठ असार), पूर्णिमा, संशोधन मण्डल, पृ: ४३। 
  10. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १९०, आइएसबिएन 99933-2-406-X 
  11. पूर्णिमा १० अंकको ४७ पृष्ठ
  12. १२.० १२.१ राजाराम सुवेदी, ´हिस्ट्री अफ बझाङ´ (काठमाडौँ : २०४४)
  13. बाबुराम आचार्य (फागुन २०६१), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: २८-२९, आइएसबिएन 978-9937-665-40-7 
  14. आचार्य २०१८, पृष्ठ ३०.

स्रोतसम्पादन

  • Acharya, Baburam (१ नोभेम्बर १९७५) [१९६६], "Some Confusions", Regmi Research Series (Regmi Research Centre) 7 (11): 210–215। 
  • आचार्य, बाबुराम (१ नोभेम्बर १९७५) [२०१८], चवन्न सालको घटना 7 (11), पृ: 210–215।