राम शाह
राम शाह गोरखा राज्यका चौथो शाह वंशीय राजा हुन् । उनी राजा पुरन्दर शाहका छोरा र राजा छत्र शाहका भाइ हुन् ।[१] दाजु छत्र शाहको मृत्युमा यिनी राजा घोषित भएका हुन्। उनको शासनकाल कहिलेदेखी कहिले सम्म कायम थियो भन्नेमा इतिहासकारहरू बीच भिन्न मत छ । योगी नरहरि नाथको अनुसार उनको शासनकाल ई. १६०६-१६३३, सूर्यविक्रम ज्ञावलीका अनुसार सन् १६०६-१६३६, दिनेशराज पन्तका अनुसार बि.सं १६७१-१६९३ प्रमाणिक मिति हो । [२] विष्णु प्रसाद श्रेष्ठले उनको शासनकाल बि सं १६६३-१६९० सम्म उल्लेख गरेका छन् ।[३] डेनियल राइटका अनुसार साके १५२८ देखी २७ वर्ष थियो । उनले स्वस्ति श्री गिरिराज चक्रचुडामणि नारायणेत्यादी विविध विरूद्धवली विराजमान मनोनत श्रीमन्त महाराजधिराज को उपाधि धारण गरेका थिए।
राम शाह | |||||
---|---|---|---|---|---|
गोरखाको राजा | |||||
![]() राजा राम शाह | |||||
शासनकाल | वि.सं. १६६३ - १६९० | ||||
पूर्वाधिकारी | छत्र शाह | ||||
उत्तराधिकारी | डम्बर शाह | ||||
जन्म | अन्दाजी बि.सं १६४३ सल्यान | ||||
मृत्यु | वि.सं. १६९० | ||||
सन्तान | डम्बर शाह प्राण शाह नारायण शाह विक्रम शाह | ||||
| |||||
वंश | शाह वंश | ||||
बाबु | पुरेन्द्र शाह | ||||
धर्म | हिन्दू |
राम शाह गोरखाली राजाहरूमा सबैभन्दा प्रख्यात राजा थिए ।[४] उनका सुधारहरूमा आर्थिक पक्षमा मानापाथी , ढक तराजु, जमिनको श्रेणीविभाजन र भूमी नापजाँच पर्दथे भने वाणिज्य क्षेत्रमा पाटनका राजा सिद्धिनरसिंह मल्लसँग सन्धि गरी गोरखामा २४ कोठी खोल्ने, तिब्बत सँगको व्यापारमा विस्तारलाई लिन सकिन्छ ।
गोरखाको राज्यविस्तार गरी त्यसै नेतृत्वमा बिशाल राज्यको स्थापना गर्ने आरम्भ राजा राम शाहकै राज्यकालबाट भएको थियो । त्यो योजना श्री ५ पृथ्वीनारायण शाहबाट बल्ल पूरा भयो ।[४]
प्रारम्भिक जीवन र गद्दीरोहण
सम्पादन गर्नुहोस्राजा पुरन्दर शाहका दुई रानीहरू थिए । मन परेकी रानीबाट छत्र शाहको जन्म भएको थियो । छत्र शाह राजाको उत्तराधिकारी थिए । मन नपरेकी रानी गर्भवती भएको बेलामा सौता सौताको झगडा हुन गयो । र कान्छी रानी "मेरा उपर राजाको पनि प्रिति छैन । मन नपरेकी छु । यहाँ मैले बस्नु छैन ।" भनि सल्यानमा आई बसिन् ।[५] राम शाहको जन्म सल्यानमा नै भयो
त्यसै क्रममा ३५ वर्ष राज्यभोग गरी शाके १५२७ (ईश्वी १६०५)[६] मा राजा पुरन्दर शाहको मृत्यु भयो। उनीपछी छत्र शाह राज भए तर ७ महिना पछी उनी पनि स्वर्गे भए । उनको कुनै उत्त राधिकारी नभएकाले गोर्खामा बडो खलबल भयो । त्यहाँदेखी गोर्खाका सब पञ्चहरूले "कान्छी महारानीको पनि गर्भ भएको थियो । साहेबज्यु पैदा हुनुभएको छ, सल्यानमा हुनुहुन्छ भनेए सुनिन्छ । चलाउन जाउ ।"[५] भनि उनलाई सल्यानदेखि गोर्खामा ल्याए ।
गद्दीरोहण
सम्पादन गर्नुहोस्सल्यानदेखी गोर्खामा सब पञ्चाहरू बसी दिप गणेश्पूजनपूर्वक ब्राह्मणदि टिका चढाए । राम शाहले सिंहासनमा बसे । त्यहाँदेखी बडादसैमा सल्यानबाट गोर्खा दरबारमा फुलपाती भित्राउने गरिन्छ ।
शासनकाल
सम्पादन गर्नुहोस्उनले आफ्नो राज्यमा ढक, तराजु, माना, मुरि, दाम, पैसाको प्रचलन र जिन्सिमा २५ प्रतिशत र नगदमा १० प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने चलन चलाए ।[७] पानी, पँधेरो, कुलो आदिको प्रयोग पालैसँग गर्ने चलन चलाए । राम शाहको न्याय प्रियताले गर्दा न्याय नपाए गोर्खा जानू भन्ने उक्ति चलेको थियो । उनका अनेकौँ प्रजा हितकारी कामले गर्दा केहि छिमेकी राज्य राम शाहको प्रशासनिक कौशलबाट प्रभावित भइ गोरखामा मिल्न गएका थिए भने उनका सुधारका काम छिमेकी राज्यलाई प्रेरणा बनेको थियो । यिनी नेपालका राष्ट्रिय विभूति हुन्।
यिनले लकाङ, मिर्कोट देउराली, धुवाँकोट, च्याङ्ली, मझुवा, आठार सय खोला आदि विजय गरी राज्य सुदृढ गर्ने काम गरेका थिए। यिनले वि.सं. १६७१ मा गोरखाको पोखरी थोकमा मुरली नारायणको मन्दिर, वि.सं. १६९३ मा रामेश्वर महादेवको मन्दिर स्थापना गरेका थिए। ३७ वर्ष शासन गरी वि.सं. १६९० मर्स्याङ्दी र दरौंदीको दोभानमा पर्ने मझुवा खैरेनीमा यिनको मृत्यु भएको थियो।
राज्य विस्तार
सम्पादन गर्नुहोस्राम शाह अत्यन्त महत्त्वाकांक्षी राजा थिए।[८] लिगलिग, गोरखा, सिरानचोक र अजीरगढ मिलेर बनेको सानो राज्यबाट उनी सन्तुष्ट थिएनन्। उनी गोरखालाई ठूलो राज्य बनाउने चाहनामा थिए। गोरखाको वरपर गुरुङ, भोटिया र राजपूतहरूले शासन गरेका धेरै साना राज्यहरू थिए, जसलाई समेटेर उनले आफ्नो राज्य विस्तार गर्न सक्थे।
सबभन्दा पहिले उनले आफ्नो सैनिक शक्ति बढाए। उनले राम्रो अनुशासनमा रहको, तालिमप्राप्त र पूर्ण रूपमा सुसज्जित सेना तयार गरे। त्यसपछि उनले पाल्पा र जुम्लाका शक्तिशाली पहाडी राजाहरू तथा ललितपुरका सिद्धिनरसिंह मल्लसँग मैत्री सम्बन्ध गाँसे।
त्यसपछि उनले सैनिक अभियान सुरू गरे र बारपाक, श्यारटाङ, अठारसय खोला, फेरुङ, खारी, मेघी चराँगे, निवर्चोक, धादिङ लगायतका क्षेत्रहरू एकपछि अर्को गरी विजय गरे। उनले तनहुँका सेन राजा पनि आफ्नो अधीनमा ल्याए। यी विजयहरूका कारण उनको राज्य पूर्वमा त्रिशूली, पश्चिममा मर्स्याङ्दी, उत्तरमा रसुवा र दक्षिणमा महाभारत पर्वत शृंखलासम्म फैलिएको थियो।
गोरखाको बढ्दो शक्ति देखेर लमजुङका राजा अचिन्द्र शाह डराए र गोरखाको शक्ति नियन्त्रण गर्ने उद्देश्यले गोरखा आक्रमण गरे, तर राम शाहले लमजुङको सेना मर्स्याङ्दी पारि धकेले। त्यसको बदला लिन लमजुङका राजा अचिन्द्र'शाहले वारपाक निवासीहरूलाई उचालेर गोरखाको सरहदमा वागी भई घुस्न लगाए । त्यो षडयन्त्रबाट गोरखाली शंकालू देखिंदा राम शाह बालुवा व्याशीमा शिकारमा गएको मौकापारी उनमाथि हमला गरी मार्न लगाए । तर त्यो योजना पनि सफल भएन । [९] त्यसपछि लमजुङका राजाले दोस्रोपटक गोरखा आक्रमण गर्ने साहस गरेनन्।
थिति
सम्पादन गर्नुहोस्“ | स्वस्ति श्री ९ महाराजधिराज रामसाहबाट वाधि वक्स्याको थिति [१०]
प्रथम थिति ।। ।। श्रीनन्दामिश्रज्यूलाइ गुरु तुल्याइ वक्सनु भै हाम्रा संतानले तपाईका संतानलाइ गुरु तुल्याउनु अरुलाइ न तुल्याउनु भन्न्या धर्म गरि वक्सनु भयो ... ... ... |
„ |
दोश्रो थिति ।। ।। पैल्हे वाँसका ढुंग्राले डालाले आह्रिले भर्न्या वस्तु भरिकन लिनु दिनु गर्थ्या एस्ता तरहको लिनु दिनु गर्दा विथिति हुनाले १० मुठिको १ मानु ८ मानाको १ पाथि २० पाथिको १ मुरि गरि चलन गर्नु भनि माना पाथिमा छाप लाई वक्सनु भयो ... ... ... | ||
तेश्रो थिति ।। ।। तुलो ढकको पनि अघि विथिति हुनाले १० लालको १ मासा १० मासाको १ तोला १८ लालको १ पल २७ तोलाको वोडि १०८ तोलाको १ विसौली २ विसौलीको १ धार्नि तुल्याई चलन गर्नु भनि तुलामा अंक काटि ढक्मा छापलाई वक्सनु भयो ... ... ... | ||
चौथो थिति ।। ।। अंनको पहिले असामिले साहुछेउ लियाको कर्जा तिर्न नसकि जति सुकै वर्ष रह्या पनि वर्षै प्रतिको व्याज हिसाब गरि लिदा ढेरै वर्षमा रिन तिर्न न सकन्या भया पनि वर्ष प्रतिको व्याजमा हुनाले कहिले पनि रिन तिर्ननसकदा मुलुक्मा कोहिता कहिले पनि साहु देषि छुटि नहुन्या भै सवै रिनग्राहि भया तस्कारण १ वर्षको पचउदका हिसावले दस वर्षमा ३ गुन हुँछ साहुले तेवर लिनु असामिले साउ व्याज केहि पनि तिर्न नसकि १० वर्ष देषी उभो जति सुकै वर्ष रह्या पनि फेरि सकन्या भै तिर्दाका बेलामा वर्षै प्रतिको व्याज साहुले नलिनु तेवरमात्र लिनु भंन्या थिति वांधी वक्सनु भयो ... ... ... | ||
पाँचौ थिति ।। ।। दामको पनि पहिले असामिले साहुछेउ लियाको कर्जा तिर्न नसकी जति सुकै वर्ष रह्या पनि वर्षै प्रतिको व्याज जमा हुनाले कहिले पनि रिन तिर्न न सक्दा मुलुकमा कोहिता कैले पनि साहुदेषी छुट्टी न हुन्या भै सवै रिनग्राहि भया तस्कारण १ वर्षका हिसावले दसौदका १० वर्षमा दोवर हुंछ साहुले दोवर लिनु असामिले साउँ पनि व्याज पनि तिर्न न सकि १० वर्ष देषि उभो जतिसुकै वर्ष रह्यो भन्या पनि फेरि सकन्या भै तिर्दाका बेलामा वर्ष प्रतिको व्याज साहुले न लिनु दोवरमात्रै लिनु भंन्या थिति वाँधि वक्सनु भयो ... ... ... | ||
छेटौं थिति ।। ।। पध्याराको थोरो थोरो झगरा नसुंनु भंन्या हुकुम भयो क्या अर्थले भन्या पध्यारामा वहुत स्त्रिजाति जान्या ताहा देषी अरु कोही चाकर जान्या पानि न भै भन्या कसैको पनि काम नचलन्या तसर्थ जोअघि पध्यारामा लिन पुग्यो तेसैले अघिवाट ल्याउनु अर्काले म लैजान्छु न भंनु तेस पछिकाले तेसै पछि लै जानु यस्तै क्रमले पानि ल्याउनु तेस्मा पनि कसैले अलिकति कुरामा झगरा ग¥यो भन्या कचहरि जोरि झगरा नसुंनु भंन्या थिति वाँधि वक्सनु भयो ... ... ... | ||
सातौ थिति ।। ।। कोलको पनि थोरो थोरो झगरा नसुंनु भंन्या हुकुम भयो किन भन्या ढेरै घरको कोल यकै हुँछ आफ्ना आफ्ना पालाले पेलनु अर्काले म अघिवाट पेलछु न भंनु तस्मा पनि ढेरै स्त्रिजाति अरु कोहि चाकर वाकरै हुँछं कदाचित थोरो झगरा भयो भन्या कचहरिमा ल्याइ झगरा नसुंनु भंन्या थिति वाँधि वक्सनु भयो ... ... ... | ||
आठौं थिति ।। ।। कुलाको पनि झगरा नसुंनु भंन्या हुकुम भयो क्या निमित्त भन्या कुलामा पनि बहुधा वाधा कमारा चाकरै जाँछन्तसर्थ आफ्ना आफ्ना षेतको हिसाबमा आयाको पानिको भाग पालीपालासित लाउनु आफ्ना पाला बाहिक र आफ्ना हिसाब वाहेक अर्काले पानि न लाउनु तस्मा पनि थोरो झगरा भयो भन्या कचहरिमा जोरि झगरा नसुंनु भन्या यस्तै थिति वाँधि वक्सनु भयो ... ... | ||
नवौं थिति ।। ।। अघि व्राम्हणलाई विर्ता दिदामा पनि फलानु डाडो फलानु षोलो फलानु पहरो फलानु कांल्हो भित्रको जगा विर्ता दिञ्यु भन्याको मात्रै एति मुरि यति रोपनि येति षेत भंन्या ठेगाना केही न हुनाले व्राम्हणको विर्ताको र रैकर जगाका साध किलाको वंदेज न भयाको नजर हुदा कस्तो हुकुम भयो भन्या अव उप्रान्त व्राम्हणलाइ विर्ता संकल्प परि वक्सदा श्री ५ महाराजाको भुमि चौतरियाको झारि काजिको विंति व्राम्हणको हात दान गर्नाले येति षेत येति रोपनि येति मुरि भनि संकल्प गर्नु संकल्प गराउन्याले पनि संकल्प वाक्ये यही येति षेत येति रोपनि येति मुरि भंन्या वाक्ये परि संकल्प गराउनु विर्ता लिनु अरूलाई दिलाउनु पनि श्री ५ माहाराजाका हुकुमले थर घर पाँचहरू गै साधलाई ४ किल्ला गाडि येति षेत येति रोपनि भनि साधलाइ श्री ५ महाराजाका वाहुलिवाट संकल्प भयामा घटि बढि कत्ति नपारि जति संकल्प भयाको छ तति साधलाई आउनु भन्या थिति वाधि वक्सनु भयो ... ... ... | ||
दसौं थिति ।। ।। श्री देवताको गुठ धर्मसालाको गुठ. व्राम्हणहरूलाइ विर्ता संकल्प गरि वक्सदा चौतरियाको झारि भन्याकोक्या निमित्त हो भन्या चौतरिया भन्याका आफ्ना भाइ भाइ भन्याका मुषे अंग हुन्अंग पुर्न गरि दान ग¥या आफुलाइ यथोक्त फल हुँछ भनी चौतरियाको झारि भन्याको कारण येति हो, काजिको विंति भन्याको क्या अर्थ भन्या पनपक्षे न गरि योग्ययोग्य विचार गरि काजिले विंति गर्नु काजिको विंति भन्याको येति हो. पाँचको साध भन्याको क्या अर्थ हो भन्या छ थर प्रभृति अरु पाँच साध भाइ वसि येति षेत येति रोपनि येति मुरि येति षेतको घड्यारि येति पाषो भनि निकास पैसार संधि सर्पनकोविचार राषि चार किल्ला गाडी साधलाइ दिनुपाँचको साध भन्याको यो हो भन्या थिति वाधि वक्सनु भयो ... ... ... | ||
येघारौं थिति ।। ।। पाँडे पंथ अज्र्याल षनाल राना वोहरा तिमिहरु छ थर भयौ मितिहरूलाइ छ थर भन्याको वाध्याको क्या अर्थले हो भन्या चौतरिया काजि सर्दार इ प्रभृति अरु जो कोहि अन्याय अनरितिमा लागि गादिको विगार्नामा र निसाफ विगार्नामा पस्नन्तिनको कत्ति मोहवद मोलाहिजा नराषि जो भयाको विस्तार विंति गर्न आउनु भनि मर्जि भै छ थर भंन्या व्यवस्ता वाधि वक्सनु भयो तिमिहरूका संन्तान, दरसन्तानलाइ हाम्रा संतान दरसंतानले गादिको सोझो गरंज्यालसम्म थामि वक्सौला भनि हुकुम भै थिति वाधि वक्सनु भयो ... ... ... | ||
वाह्रौ थिति ।। ।। गौचर राषनु भन्या हुकुम भयो गौ व्राम्हणलाई षाना कन दुःख हुन्छ र राजालाइ प्रत्यवायलागछ भंना निमित्त गाउ गाउमा निकास पैसार को चल्दो मिल्दो पारि गौचर राषनु भंन्या थिति वाधि वक्सनु भयो ... ... ... | ||
तेह्रौ थिति ।। ।। वाटाका रूष राषनु भंन्या हुकुम भयो क्या अर्थले भन्या दुषी गरीव काज काम गरि थाकि आउन्या बोझा वोकि हिडन्या अरु जो कोहि वाटामा हिडन्या मानिस पनि गर्मी हुन्छ भनि छाहारि वस्न खोजछन्भंना निमित्त वाटाका रूष पालनु वाटाका रूष जो काटतछ ५ रूपैञा दंड गरि लिनु भंन्या मर्जि भै थिति वाधि वक्सनु भयो ... ... ... | ||
चौधौं थिति ।। ।। पध्यारामा वन पालनु रूष न भया देषी जैले षोज्यो तैले पानि रहदैन सुकी जान्छ वन ढेरै फाडिया पैरो पनी जान्छ ढेरै पैरो गया उपधाहा चल्छ उपधाले षेत पनि लैजान्छ वन न भया गृहस्तिको कौनै काम पनि चल्दैन तसर्थ पध्याराको वन जो काटला तेसलाई पनि ५ रूपैञा दंड गरि लिनु भन्या थिति वाधि वक्सनु भयो ... ... ... | ||
पंध्रौ थिति ।। ।। चौतरिया भाई गोतिया इनहरूले जिय संवंधि ठूलो विराउ ग¥या मुडि विदेस गराउनु संन्यासि वैरागि भाट इनले पनि ठूलो विराउ ग¥या भन्या मुडि विदेस निकाला गराउनु भाइ चौतरिया गोतियालाइ विदेस गराउनुभन्याको क्या अर्थ भन्या जिउ मारिन्या पिराउ ग¥यो भन्या जिउ लिन्याको जिउ लिनु भंन्या सास्त्रमा पनि कह्याको छ जिउमा¥या भन्या गोत्रहत्या लागन्या नमा¥या देषी भन्या राजालाइ प्रत्वाय लागन्या तसर्थ देसनिकाला गर्नु पनि मा¥यै तुल्यछ भनिविदेश गराउनु भन्याको हो व्राम्हणलाइ पनि मा¥या व्रम्हहत्या लागन्या न मा¥या राजालाइ प्रत्यवाव लागन्या तस्कारण मुडनु पनि मा¥यै तुल्य छ भनि मुडी विदेस गराउनु भन्याको हो वैरागि संन्यासी भेष लियाका हुनाले अवध्य छन् भाट पनि अवध्य छन् भनि देश निकाला गर्नु भन्याको हो तसर्थ यसै गर्नु थिति वाधि वक्सनु भयो ... ... ... | ||
सोह्रौं थिति ।। ।। षस मगर नेवार प्रभृति जात मध्यमा जियेसंवधि विराउ ग¥या भन्या जसले विरायाको छ उसैको मात्र जिये मार्नु जस्को पाप उस्को गर्धन भंन्या थिति वाधि वक्सनु भयो ... ...... | ||
सत्रौं थिति ।। ।। सुवर्ण का गहना श्री पाटवंदि माहारानिले मात्र पाउमा पैह्रनु क्या अर्थले भन्या सुवर्ण भन्याको नारायणको अंश राजा भन्या का पनि नारायणका अंश हुन पाटवंदि महारानि भन्याका लक्ष्मीका अंश हुनाले पाटवंदि महारानिले सुवर्णका गहना पाउमा पैह्रनु भैयाद चौतरियाहरुका चौतार्निहरुले ता श्री ५ महाराजा श्रीमहारानीवाट वक्स्या मात्रै पाउमा न लाउनु वक्सी त पाउवाहेक मात्रमा लाउनु भाई चौतरियाका रौतेला रौतेली लाइ वालषकालमा मात्र पाउमा लाउनु ब्राम्हण षस मगर प्रभृति अरु जातिले त श्रीमहाराजावाट वक्स्या मात्र हातमा लाउनु. भनि थिति वाधि वक्सनु भयो... ... ... | ||
अठारौं थिति ।। ।। | ||
उनिसौं थिति ।। ।। चार पुरोहित तुल्याइ वक्सनु भयो अज्र्याललाइ अज्र्यालि होतु अचार्ज वगाल्या लाइ होतु विहा¥या लाइ अज्र्यालि आचार्ये षनाल लाइ ब्राम्हण भट्टराइ लाई गणेश ति चार पुरोहितका व्यवस्थाको थिति वाधि वक्सनु भयो ... ... ... | ||
विसौं थिति ।। ।। गोर्षामा प्रवेस हुदा पैले तल्ला कोटमा गादी पु¥याका हुनाले पाडे ब्राम्हण लाई पुरोहित्याञि वक्सनु भयो अर्येत पर्येत (अद्य पर्यन्त) पनि पाडे ब्राम्हणहरु तल्ला कोटमा पुरोहित छदै छन्... ... ... | ||
यकाइसौं थिति ।। ।। तल्ला कोटमा श्रीदेवता स्थापनागरि वलिदान गरि माथि दर्वारमा वलिदान गर्नु तल्ला कोटमा देवता स्थापना गरि वलिदान गरिकन माथि दर्वारमा वलिदानादि विधि गर्नु भंन्या थिति वाधि वक्सनु भयो ... ... ... | ||
वाइसौं थिति ।। ।। ग्राँजा थापा लाइ ददांगि मान वक्सनु भयो तुरुक क्षाकि आले ग्रांजा थापा ग्यामि राना इ तीन थरले आलो पालो गरि राषनु भनि कपर्दारि मान वक्सनु भयो पाडे पंथ अज्र्याल इ तिन्थरलाइ आलो पालो गरी राष्नु भनि षजानाको काम वक्सनु भयो धर्माधिकार सर्दारि भान्स्या येति मानका पनि अज्र्यालै लाई वक्सनु भयो भन्या थिति वाधि वक्सनु भयो ... ... ... | ||
तेइसौं थिति ।। ।। विह्रौटाको त्रिसाला कमाइ वाली आफैले षानु चौथा साल देषी धनि वोटि तल्सींलाई दिनु वनि वोटि कमाउन्याले षानु भंन्या थिति वाधि वक्सनु भयो ... ... ... | ||
चौविसौं थिति ।। ।। वाह्र थर अठार थर भन्या चौविसौं थिति वाधि वक्सनु भयो ... ... ... | ||
पचिसौं थिति ।। ।। पाटनका राजा सिद्धिनरसिंहमल्ल सित हाम्रा संतान न भया तम्रा संतानले तम्रा संतान न भया हाम्रा संतानले राज्ये गर्नु भन्या हुकुम भै यस्तो वंदोवस्त गरि वक्सी पाटन वाट चौविस कोठि झिकाइ. इन लाइ सात षत माफ गरि वक्सनु भयो भंन्या थिति वाधि वक्सनु भयो ...... ... | ||
छविसौँ थिति ।। ।। श्री महाराज रामसाहबाट मैले वाध्याका थितिमा छोटा वडा प्रजा प्राणि चार वर्ण छतिस जात जो लंधन गर्ला तसलाइ म मेरा संतान मा जो राजा होला उसले ढुंगा छुवाइ षत अनुसारको राजाले डंड गर्नु भन्या थिति वाधि वक्सनु भयो ... ... ... | ||
यो ढुंगा छुवाउनु भन्याको कस्तो हो भन्या श्रीलक्ष्मीनारायण देवता को पाउका प्रतिनिधि ढुंगो हो. सो जानि पान फूल द्रव्य तसै सिलामा चढाई अन्याय ग¥याको पाप छुटन्या उपाये येहि हो भनि यस्तो थिति वाधि बक्सनु भयो .. ... .. |
बिदेश नीति
सम्पादन गर्नुहोस्राम शाहले दिल्ली र उदयपुरमा आफ्नो प्रतिनीधिमण्डल पठाएका थिए । उनले पाटन राज्यसँग पनि सम्बन्ध बिकास गरेका थिए । बाइसे र चौबिसे राज्यहरूमा गोर्खाको पहिचान न्यायकेन्द्रको रुपमा बनेको थियो ।
तिब्बत
सम्पादन गर्नुहोस्गोरखा र तिब्बतबीचको आक्रमण राम शाहद्वारा सन् १६३० मा भएको अनुमान गरिन्छ। राम शाहका तिब्बतमा भएका विजयहरूले उपत्यकाको केरुङतर्फको महत्वपूर्ण व्यापार मार्गलाई खतरा पुर्यायो। यसले काठमाडौं उपत्यकालाई नेपाल-तिब्बत व्यापारमा आफ्नो एकाधिकारजस्तो स्थितिलाई जोगाइराख्न तत्काल र साहसी कदम चाल्न बाध्य बनायो। त्यसैले प्रताप मल्लले गोरखाका राजा डम्बरसिंह शाह (लगभग सन् १६३५–१६४२) विरुद्ध साहसी र सफल सैन्य अभियान चलाए, जुन समयमा डम्बरसिंह शाहले पाटनका राजा सिद्धिनरसिंह मल्ललाई सहयोग गरिरहेका थिए। प्रताप मल्लले त्यसपछि केरुङ र कुतिसमेत आफ्नो प्रभावमा ल्याए।[११]
पाटन
सम्पादन गर्नुहोस्सिद्धिनरसिंह मल्ल (राज्यकाल ई. १६१९–१६६१ ) र राजा राम शाह सँग अत्यन्त राम्रो सम्बन्धमा थिए। ती दुई राजाहरूले एकअर्काप्रति मित्रता र भाइचाराको प्रतिज्ञा मात्र गरेनन्, तर यदि दुबैमध्ये कुनै एकको पुरुष उत्तराधिकारी नभएर मृत्यु भएमा संयुक्त उत्तराधिकारी राख्ने सम्झौता पनि गरे।[१२] यसै आधारमा पनि ललितपुर पाटन राज्यमा राजनैतिक संकट चुलिएको बेलामा दलमर्दन शाह ई. १७६४-१७६५ सम्मको लागी पाटनको राजा बनेका थिए । प्रताप मल्लले पाटन र तिब्बतबीचको व्यापारिक सम्बन्ध तोड्न प्रयास गरे, तर सफल हुन सकेनन्। त्यसपछि उनले काठमाडौं र पाटनबीचको सम्पूर्ण सम्पर्क, जसमा वस्तुहरूको आवागमन पनि पर्थ्यो, रोक्न प्रयास गरे। पाटनका प्रख्यात व्यापारी वा सरकारी कर्मचारीहरू काठमाडौं आएमा तिनीहरूलाई पक्राउ गरिन्थ्यो। सिद्धिनरसिंह मल्लले यो आर्थिक नाकाबन्दी तोड्ने प्रयास गरे। उनले गोरखाका राजा राम शाह (सन् १६०६–१६३९) सँग मैत्रीपूर्ण सम्बन्ध स्थापना गरे, जो आफ्ना राज्यमा समृद्धि ल्याउन प्रयासरत थिए। सिद्धिनरसिंह मल्लले पाटनका व्यापारीहरूलाई गोरखा पठाए। यसको परिणामस्वरूप, काठमाडौंले लगाएको आर्थिक नाकाबन्दी केही हदसम्म प्रभावहीन बन्यो।[१३]
दिल्ली प्रतिनीधिमण्डल
सम्पादन गर्नुहोस्राम शाहले थरघरका मानिसलाई वकिल बनाई चितौरगढ र मुगल दरबार दिल्लीमा (सम्भवतः जाँहागिरको समय) मा आफ्नो कुटनैतिक प्रतिनिधिमण्डल पठाएका थिए। उनले राणा राठौर, चितौर, उदयपुर, जोधपुर, कोटा, बुन्दी, जयपुर गई आफ्नो कुलशाखाको निश्चय गर्न, श्रीकुलदेवताको पनि निश्चय गरि अरु कामकाज बुझी आउनु भनी खलितापत्र लेखी सवंगी कस्तुरी चमर बाज चर समेतको सौगात तयारी गरी मानिस पठाए।
गोर्खाली वकिलमण्डल चितवरगढ उदयपुर गई सौगात खलितापत्र नजर गराई बैठक भयो। त्यसपछि दिल्लीतर्फ प्रस्थान गर्यो। दिल्लीमा बादसाह सँग बातचित भयो। गोर्खाली वकिलले "श्री गोर्खेश्वर महाराजबाट हुकुम भै चित्तौरगठमा रहेका श्रीराणाजी महाराजको प्रशस्ति कुन हो हामी पहाडमा आई राजा भयाका छौ। हाम्रो प्रशस्ति कस्तो हो श्री वादशाहका हजुरमा जाइ विन्ति गरि श्री बादशाहका मुहारबाट निकासा गरि ल्याउ भनि हुकुम भयो र हामी आयाको हो।" भनि विन्ती गरे र सिसौतिया श्रीराणाजी महाराजबाट भएको प्रशस्ति पनि देखाए। बादशाहले पण्डित बोलाई राजा महाराजबाट भएको प्रशस्तिमा अगाडि मुहोडा फेर्न लगाए, "गिरिराजचक्रचूडामणि" यति मात्रै फेर्दा हुन्छ भनी पण्डितहरूले बताए र यही प्रशस्तिले बादसाहबाट "स्वस्ति श्रीगिरिराजचक्रचूडामणि नरनारायणेत्यादि विविधविरुदावलि विराजमान मानोनत श्रीमन्नहाराजाधिराज श्रीमद्रामसाहदेवानां सदा समरविजयिनाम्" खलितापत्र लेखी सरसौगात तयार गरि वकिलहरूलाई खिल्लत दिई बिदा गरे।[५]
गद्दीत्याग
सम्पादन गर्नुहोस्ईश्वी १६३३ मा एकदिन राजा रामशाहको सपनामा गुरु गोरक्षनाथले "अब तिम्रो राज्य भोग गरिसक्यौ । धर्मकर्म गर्नालाई ढिला नगर ।" भनि आज्ञा दिए । उनी निद्रादेखी जागे र रानीलाई "प्रातकाल" भयो । मैले सपनामा यस्तो देखे" भने बताए । रानीले "अब हाम्रा पुत्र डम्बर शाहलाई शिक्षा जो बक्सनुपर्न्या हो सो शिक्षा बक्स्याजावस् " भनि बिन्ती गरिन् । राजाले छोरा डम्बर शाह र बुहारीसमेतलाई बोलाई आफुलाई श्री देवता सिद्ध सकलबाट जो जो वरदान भयाको थियो सो वृत्तान्त सुनाइ यस्ता तरहले राज्य गर्नु भनि सकल नीतिथिति बुझाएपछी सकल गोर्खाका भला भला मानिस आफ्ना जो जो प्रीतिपात थिए उनका घरमा आफै गैइ वातचित गर्न लाग्दा मानिसहरुले सधै हामी दरबारमा जान्थ्यौ । जो परिआएको कामकुरो हुकुम हुन्थ्यो । आज महाराज नै घरघरमा पाउलाग्नु भयो । यो अर्थ क हो भनेए आश्चार्य माने ।
राजा राम शाह र रानीबाट भूमिदान, गौदान अन्नदानादि जस्ता धर्मकर्म भयो । "संसारको मोह अधिक हुदो रहेछ र कलत्र पुत्र गृह सकल प्रजा-इष्टमित्र मेरै हुन्। यिनसंग र कैल्हे छुट्नु नपरोस्" भने
मृत्यु
सम्पादन गर्नुहोस्यिनको मृत्यु सन् १६३६ (वि.सं. १६९३) मा गोरखा दरबारमा भयो।
स्मृति
सम्पादन गर्नुहोस्राम शाहलाई उनको न्याय प्रियताले प्रसिद्ध भएका थिए । उनले छिनोफानो फैसला गर्ने गोरखा दरबारको चौतारामा उनको सालिकको निर्माण गरिएको छ । त्यस्तै देशको सर्वोच्च न्यायलय भएको मार्गलाई राम शाहपथ नामाकरण गरिएको छ ।[१४]
राजा पृथ्वीनारायण शाहले जीवनको अन्तिम अवस्थामा राम शाहलाई यसरी स्मरण गरेका थिए :[१५]
उप्रान्त राजा राम शाह ले बाध्याको थिति पनी हेरिसके । राजा जयस्थितिमल्ल ले बाध्याको थिति पनी हेरिसकें । राजा महिन्द्रमल्ल ले बाध्याको थिती पनि हेरिसकें । इस्वर ले दियो भन्या म पनि यस्ता बन्देज को बाह्र हजारको थिति बांधि जाला भन्या अवीलाषा थियो । |
पूर्वाधिकारी छत्र शाह |
गोरखाको राजा सन् १६०६ – १६३६ |
उत्तराधिकारी डम्बर शाह |
सन्दर्भ साम्रगीहरू
सम्पादन गर्नुहोस्- ↑ http://www.royalark.net/Nepal/nepal2.htm
- ↑ पन्त, दिनेशराज (Number १, १९७३), "रामशाहको राज्यकाल", Kailash 1 (1)।
- ↑ विष्णु प्रसाद श्रेष्ठ (बि.सं. २०६३), नेपालको शाह र राणा वंशावली, श्रीमती देब बदन श्रेष्ठ, पृ: ४।
- ↑ ४.० ४.१ सुवेदी, राजाराम (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: 166–167, आइएसबिएन 99933-2-406-X।
- ↑ ५.० ५.१ ५.२ "गोर्खा वंशावलि", प्राचीन नेपाल 28 (1): 4।
- ↑ ज्ञावली, सूर्यविक्रम, "शाह वंशका केही राजाहरूका राज्यकालका विषयमा विचार", प्राचीन नेपाल 9 (4): 33।
- ↑ राइट, डेनियल (१८७७), History of Nepal, क्याम्ब्रिज युनिभर्सिटी प्रेस, पृ: २७९।
- ↑ Shrestha, D.B.; Singh, C.B. (१९७२), The History of Ancient and Medieval Nepal (Englishमा) (1st संस्करण), Kathmandu: University of Cambridge, पृ: 85।
- ↑ दिनेशराज पन्त (बि.सं. २०४१), गोरखाको इतिहास १, दिनेशराज पन्त, पृ: २८।
- ↑ मुलुकी ऐन, १९१० परिशिष्ट (क)
- ↑ Shaha, Rishikesh, Ancient and Medieval Nepal (Englishमा), Kathmandu, Nepal: University of Cambridge, पृ: 63।
- ↑ Shaha, Rishikesh, Ancient and Medieval Nepal (Englishमा), Kathmandu, Nepal: University of Cambridge, पृ: 72।
- ↑ Regmi, Mahesh C., "Regmi Research Series", German Oriental Society 5: 197।
- ↑ "Supreme Court of Nepal", supremecourt.gov.np (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०५-०८।
- ↑ "पृथ्वीनारायण शाहको दिव्य-उपदेश", नेपाल कानून आयोग।