पशुपतिनाथ मन्दिर
पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौँ महानगरपालिका वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।[१] काठमाडौँ उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला सङ्ग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन , सौर, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्रको रूपमा रहेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल , अखाडा पनि रहेका छन्। [२] पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रूपमा रहेको छ। जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।
पशुपतिनाथ मन्दिर | |
---|---|
श्री पशुपतिनाथ मन्दिर | |
स्थान नेपाल | |
प्राथमिक विवरण | |
स्थान: | काठमाडौं |
निर्देशाङ्क | २७°४२′३५″उ ८५°२०′५५″पू / 27.70972°N 85.34861°E |
सम्बन्धन | हिन्दुत्व |
देवता | शिव (पशुपति) |
चाडपर्व | महा शिवरात्रि, तीज |
जिल्ला | काठमाडौं |
प्रदेश | बागमती प्रदेश |
देश | नेपाल |
वास्तुकला विवरण | |
वास्तुकला प्रकार | प्यागोडा |
स्थापित मिति | ५ औं शताब्दी ई. |
विशेष विवरण | |
साइट क्षेत्र | 2,460,000 m² |
मन्दिर(हरू) | ५१९ प्यागोडा |
मापदण्ड | सांस्कृतिक: (iii)(iv)(vi) |
नामाङ्कित | १९७९ (तेस्रो सत्र) |
को भाग | काठमाडौं उपत्यका |
सन्दर्भ क्रम सङ्ख्या | 121bis-006 |
यो मन्दिर यस संसारमा रहेका २७५ 'पादल पेत्र स्थलम'(शिवको पवित्र स्थान) मध्ये एक हो । पशुपतिनाथमा मुख्य रूपमा शिवजीको पूजा हुने भएकाले शिवरात्रि पर्व विशेष महत्त्वका साथ मनाइन्छ। शिवरात्रि नेपालभरि धुमधामसँग मनाइने राष्ट्रिय पर्व हो । प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्रि पर्व मनाइन्छ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुँइचो लाग्ने गरेको छ । यस दिन आराध्यदेव पशुपति अर्थात् शिवजीको आराधना गर्दै नेपाल तथा छिमेकी मुलुक भारतका हिन्दू धर्मावलम्बीहरूको ठूलो संख्याले पशुपतिनाथको दर्शन गर्ने गर्दछन्। शिवरात्रि एक अत्यन्त महत्त्वपूर्ण आध्यात्मिक वृत्तान्तको स्मरणोत्सव हो। सृष्टिका समस्त मनुष्यात्माका पारलौकिक परमपिता परमात्मा शिवजी को दिव्य जन्म वा अवतरणको महान् दिन हो शिवरात्रि।अन्य सबै पर्वहरू मनुष्य वा देवताको जन्मदिनको स्मरणको रूपमा मनाइन्छ भने शिवरात्रि मनुष्यबाट देवता बनाउने देवका पनि देव महादेव, र्सवका सद्गति दाता परमप्रिय परमात्माको आफ्नै दिव्य र शुभजन्मको स्मरणोत्सव हो। शिवरात्रि तेत्तीस कोटी देवी-देवता लगायत ब्रह्मा, विष्णु, शंकरका समेत रचयिता, सबै धर्म मान्ने वा नमान्ने सम्पूर्ण आत्माका आफ्नै आत्मिक पारलौकिक परमपिताको जन्मदिन हो। शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश जस्ता नामले पनि पुकार्ने गरिन्छ ।[३]
मन्दिरको गर्भमा रहेको शिवलिङ्ग मा पाँच मुख रहेको छ
- पुर्व तर्फ: तत् पुरुष (ज्ञान)
- पश्चिम: तर्फ सदोधन (सम्पति)
- उतर तर्फ: वामन (दम्पति)
- दक्षिण तर्फ: अघोर (शत्रुनाश)
- आकास तर्फ: ईशान
मन्दिर वास्तुकला
यो मन्दिर नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ । यहाँको सबै विशेषताहरू प्यागोडा शैलीमा रहेको पाइन्छ जुन अति सुन्दर खुदी काठको छन् । यस मन्दिरको दुई स्तर छाना सुन पहिरन सँगै तामाको रहेको छ । यस मन्दिरमा रहेको चार मुख्य ढोकाहरू चाँदीको रहेको छ । यस मन्दिरमा रहेको सुनको गजुरले यहाँको धार्मिक विचारको प्रतीकलाई दर्साउँछ । यस मन्दिरको पश्चिमी ढोकामा रहेको ठूलो गोरु वा नन्दीको मुर्ति कास्यको रहेको छ । यहाँ रहेको लिङ्ग देवत्व कालो पत्थरको रहेको छ, जुन ६ फिट अग्लो छ र त्यसको परिधि पनि उस्तै छ । पशुपतिनाथको पूर्वमा वासुकीनाथ रहेको छ ।
सिन्धु–सभ्यताका पशुपतिनाथ शिव
रुद्र वा शिवका अनेकौँ नाउँमध्ये “पशुपति” शिवको प्रमुख नाउँ हो । ऋग्वेद संहितामा रुद्रको पशुपति नाउँ त पांइदैन, तर रुद्र सम्बन्धि बशिष्टको सुक्त (७।४६।।१–४) मा धनुर्धरी अजेय, तीक्ष्ण आयुध धारण गर्ने रुद्रले हाम्रो प्रार्थना सुनुन् आफ्नो तेजोमय वाण अन्तरिक्षस्थ विद्युत्, जो पृथ्वीमा घुम्दछ, हामीलाई नष्ट नगरोस् । हामीलाई रोग–व्याधिले ग्रस्त नपार, हजारौ औषधीका ज्ञाता हे रुद्र १ हाम्रा पुत्र–पौतादिलाई नष्ट नगर, हाम्रो हिंसा नगर, तिम्रो क्रोधका भागी हामी नबनौ हाम्रो रक्षा गर, इत्यादि । यस्तै ऋक् (१।११४) सूक्तमा कुत्सआङ्गिरस ऋषि रुद्रको स्तुति गर्दै भन्दछन्– महान् वीरका स्वामी जटा मुकुटधारी रुद्रको स्तुति गर्छौ । यस गाउँका सबै प्राणीहरू निरोगिताका साथ पुष्ट रहुन्, दोपाया चौपाया सुखी रहुन् । हे रुद्र । दया गर, सुखी बनाऊ ।
हिन्दू धर्मका सबै धार्मिक ग्रन्थहरूमा भगवान शिवलाई पशुपतिनाथ भनिएको छ । महाभारतमा भगवान शिवको अस्त्रलाई पाशुपतास्त्र भनेर बर्णन गरिएको छ । महाभारतका पात्र अर्जुनले हिमालय पर्वतमा किराँतरुपी शिवलाई युद्ध गरेर खुसी बनाएकाले पाशुपतास्त्र दिएका थिए ।
पौराणिक कथानुशार महाभारतको युद्वपछी पाण्डवहरूले भगवान कृष्ण र भिष्मसँग युद्वमा आफन्तहरू मृत्य गरेकाले गोत्रहत्याको पापबाट मुक्त हुनको लागि के उपाय गर्नु पर्ला भनेर सोधेका थिए । भगवान शिवको दर्शन गरेपछी गोत्रहत्याको पापबाट मुक्त हुन्छ भन्ने कुरा थाह पाएपछी पाण्डवहरू शिवजीको दर्शन गर्ने हिमालयमा गए । पाण्डवहरू आएको देखेर भगवान शिव भैंसीको रुप लगेर भैंसीको बथानमा लुकेका थिए । पाण्डवहरूले भैंसीरुपी भगवान शिवलाई चिनेर दर्शन गर्न नजिकै जाँदा भैंसीरुपी शिव जमिन भित्र धासिएका थिए । यसरी शिवजी जमिनमा धासिएपछी भैंसीरुपी शिवको पच्छर पाण्डवले स्पर्श गर्दा केदारनाथमा केदारनाथ भगवानको रूपमा प्रकट भए भने भैंसीरुपी शिवको शिर नेपालमा पशुपतिनाथ भगवानको रूपमा प्रकट भएका थिए । यसरी पाण्डवहरूले पशुरुपी शिवको पुच्छर स्पर्श गरेर गोत्रहत्याको पापबाट मुक्त भएका थिए भन्ने धारणा छ । यसरी पशुको रुप लिएर प्रकट भएको हुनाले भगवान शिवलाई पशुपतिनाथ भनिन थालियो [४]
एक अर्को कथाका अनुसार भगवान शिवले मृगको रुप लगेर श्लेष्मान्तक वनमा पार्वतीको साथमा विहार गरेका थिए । यसैले भगवान शिवलाई पशुपतिनाथ भनियो [५]
लिङ्ग पूजासम्बन्धी विद्वानहरुको धारणा
आर्य पराम्पराको विकासक्रमलाई नै ध्यानमा राखेर प्रस्तुत गरिने यस ग्रन्थको विषय अन्य सभ्यतामा प्रचलित प्रजनन शक्तिको रूपमा उपासना गरिने लिङ्गको परिचर्चा त्यति आवश्यक थिएन तर मुर्तिपूजासम्बन्धी परिपाटी विदेशी प्रभाव हो भनेर मन्तव्य प्रकट गर्ने विद्वानहरुको तर्क, सुत्र र विवेचना गर्नु पनि आवश्यक हुन्छ । किनभने हिन्दु विद्वानलाई पनि विदेशीहरूको उक्त तर्कले निकै प्रभाव पारेको छ र तुलनात्मक रूपमा सिन्धुसभ्यता तथा वेविलोन सभ्यताको अनुदान नै लिङ्गपूजा हो भन्ने कुरा प्रस्तुत गरिएको पाइन्छ [६]।
पशुपतिनाथ मन्दिरको व्यवस्थापन
पशुपतिनाथ मन्दिरको व्यवस्थापन हाल सबै पशुपति विकास कोषको मातहतमा रहेको छ ।
पशुपतिनाथ मन्दिरको सामान्य दैनिकी
- ४ बजे भट्ट द्वारा पशुपतिनाथको जागा गरिन्छ।
- भट्टजी द्वारा पशुपतिनाथको स्नान गराईन्छ साथै सरसफाइ गरेर सफा लुगा लगाईन्छ।
- त्यस पछि बालभोग (हलुवा) को भोग दिइन्छ।
- १२:३०-१ बजे देखि २ बजे सम्म विषेश पुजा हुन्छ।
- त्यस्तै सांझ ५:३० बजे बेलुकाको आरती हुन्छ।
- विषेश दिन बाहेक सामान्यता ६ बजे मन्दिर बन्द हुन्छ।
सन् २००९को घटना
पशुपतिनाथको पुजारीहरूलाई भट्ट भनिन्छ र मूल पुजारीलाई मूल भट्ट वा रावल भनिन्छ । केही नेपालीहरूले मन्दिर भित्र घुस भएको आरोप लगाएका थिए । जनवरी २००९ मा माओवादीको सरकारले मुल भट्टहरूलाई राजीनामा दिन लगायो र नेपाली पुजारीहरूलाई मन्दिर चलाउन दिइयो ।[७] यो चलिआएको मान्यता(प्रक्रिया) विपरित रहेको तर नेपाली पुजारीहरूलाई स्थान दिइएकोमा आफ्नो विरोध नरहेको भनी मन्दिरका भण्डारीहरूले विरोध गरे । यो विषय सर्वोच्च अदालतसम्म पुग्यो[८][९] तर सरकारकै आदेशलाई सहि ठहरायो । यसको विरोधमा आन्दोलनहरू भए र आन्दोलनको प्रतिविरोध वाइसीएलहरूले गरे जसका कारण दर्जनौं विरोधिहरू घाइते पनि भए ।[१०]
देश बाहिर र भित्रका हिन्दुहरूद्वारा तत्कालीन नेपाल सरकारको चर्को विरोध गरियो र आफ्नो फैसला फिर्ता लिई सर्वोच्च अदालतले पुरानै भट्टहरूलाई पशुपतिनाथको पुजारी बन्ने जिम्मा लगायो ।
पशुपतिनाथ भ्रमण
भारतका प्रख्यात अभिनेता, गायक, अभिनेत्री र थुप्रै व्यक्तित्वहरूको भ्रमणले पशुपतिनाथको चर्चा बढाउने गरेको छ । जुलाई २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपाल भ्रमण गर्दा पशुपतिनाथको दर्शन गरेका थिए ।
महाभूकम्प २०७२
विक्रम संवत २०७२ वैशाख १२ गते गोरखा जिल्लाको वारपाकलाई केन्द्रविन्दु बनाई गएको ७.८ रेक्टर स्केलको महाभूकम्पमा पनि मूल मन्दिर दैविक-वैदिक-वास्तु शक्ति (शिव-कथित भूतत्त्व-विग्यान)को कारण सुरक्षित रहेको देखियो । यस्तै २ वर्ष अगाडि महाप्रलयमा श्रीकेदारनाथ मन्दिर पनि सुरक्षित रहेको थियो ।
आरती
पशुपतिनाथको नित्य आरती
जय शिव शंकर शम्भो जय गिरिजाधीश । शिव जय गिरिजाधीश ।।
जय जय करुणासागर २ पशुपति जगदीश । ॐ हर हर हर महादेव ।।
गिरि कैलाश निवास छ गण छन् सहचारी । शिव गण छन् सहचारी ।।
मुण्ड माला छ गलामा २ रुप छ भयहारी । ॐ हर हर हर महादेव ।।
डमरु त्रिशुल सुसोभित प्रभुका दुइ करमा । शिव प्रभुका दुइ करमा ।।
भूषण नाग विराजित २ बाघाम्बर तनमा । ॐ हर हर हर महादेव ।।
तीन नयनमा थरीथरी ज्योति छ दिव्य सदा । शिव ज्योति छ दिव्य सदा ।।
वाहन वृषभ मनोहर २ सँगमा छन् गिरिजा । ॐ हर हर हर महादेव ।।
भष्म विलेपन सुन्दर शिरमा चन्द्रकला । शिव शिरमा चन्द्रकला ।
कलकल बग्छिन हरदम २ गंगा पुण्यजला । ॐ हर हर हर महादेव ।।
ब्रह्मा विष्णु महेश्वर प्रभुका रुप सबै । शिव प्रभुका रुप सबै ।।
सृष्टि–स्थिति लय सबहुन् २ शुभ लिला प्रभुकै । ॐ हर हर हर महादेव ।।
वेद पुराण थकित छन् प्रभुको वर्णनमा । शिव प्रभुको वर्णनमा ।।
कण कण व्यापक प्रभुको २ महिमा त्रिभुवनमा । ॐ हर हर हर महादेव ।।
सुर नर मुनि सब प्रभुकै निसदिन ध्यान गरी । शिव प्रभुकै ध्यान गरी ।।
परमानन्द मगन भै २ जान्छन् पार तरी । ॐ हर हर हर महादेव ।।
सच्चिदानन्द परात्पर सज्जन हितकारी । शिव सज्जन हितकारी ।।
जय जय साम्बसदाशिव २ जय जय त्रिपुरारी । ॐ हर हर हर महादेव ।।
चित्र दीर्घा
-
पशुपतिनाथको मन्दिर रातको समयमा
-
पशुपति मन्दिर
-
प्रवेशद्वार
-
पशुपतिनाथको मन्दिर
-
पशुपतिनाथको मन्दिरको पूर्वी प्रवेशद्वार
-
सुर्य अस्ताउने समयमा देखिएको पशुपति क्षेत्र
-
विरुपाक्षको मुर्ति
-
विरुपाक्षको मुर्ति
-
भक्तजनहरूको लामो लाईन
-
पशुपति रातको समयमा
-
दाह्संस्कार गरिदैँ
-
साँझको आरती
-
साँझको आरती
सन्दर्भ सामग्रीहरू
- ↑ "विश्व सम्पदा सूचीमा प्रस्तावित डेढ दर्जन सम्पदा ओझेल", review publications, अन्तिम पहुँच १ अगस्ट २०१३।[स्थायी मृत कडी]
- ↑ "श्री पशुपतिनाथ", pashupati area development trust, अन्तिम पहुँच १ अगस्ट २०१३। वेब्याक मेसिन अभिलेखिकरण २३ जुन २०१५ मिति
- ↑ "मुलुक भरि महाशिवरात्री पर्व मनाईदै", souryadaily.com, अन्तिम पहुँच १ अगस्ट २०१३। वेब्याक मेसिन अभिलेखिकरण ५ मार्च २०१६ मिति
- ↑ शिव पुराण
- ↑ स्वस्थानी व्रतकथा
- ↑ कुलचन्द्र कोइराला, नेपालका आराध्य देव भगवान् श्री पशुवतिनाथ, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, प्रथम संस्करण वि.सं.२०५१,पेज नं.५७, प्रतिवोध प्रिन्टिङ्ग प्रेस, काठमाडैं
- ↑ "Indian Express", Indian Express, २००९-०१-०५, अन्तिम पहुँच २०१४-०८-०५।
- ↑ "Kantipur", Kantipuronline.com, अन्तिम पहुँच २०११-१०-३०। वेब्याक मेसिन अभिलेखिकरण २००९-०२-२१ मिति
- ↑ "Hindu Shrine: Pashupatinath in Nepal", Newsblaze.com, २००९-०१-०८, अन्तिम पहुँच २०११-१०-३०। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
- ↑ "Kantipur", Kantipuronline.com, अन्तिम पहुँच २०११-१०-३०। वेब्याक मेसिन अभिलेखिकरण २००९-०२-२१ मिति