रामशरण दर्नाल
रामशरण दर्नाल (अङ्ग्रेजी: Ramsharan Darnal) (वि.सं. १९९४ असार २७ – वि.सं. २०६८ असोज १) एक नेपाली वाद्यविद् हुन्।[१][२][३] नेपाली लोकसङ्गीत तथा संस्कृतिविद् दर्नाल सङ्गीतसम्बन्धी अध्ययन-अनुसन्धानका एक विशिष्ट अभियन्ता हुन्।[४][५]उनले नेपाली, साहित्य क्षेत्रमा योगदान दिनुका साथै नेपाली बाजागाजाको अन्वेषक भएर पनि काम गरेका थिए।[६] उनले जातीय चाडपर्वमा विभिन्न जातजातिले बजाउने बाजा र धुनको ऐतिहासिक महत्त्व र गरिमाबारे गहन अध्ययन गरी जनसमक्ष ल्याएका थिए।[७] रामशरण दर्नाल नेपाली लोक तथा शास्त्रीय सङ्गीतका पुस्तकालय पनि मानिन्छन्।[८]
रामशरण दर्नाल | |
---|---|
जन्म | रामशरण दर्नाल जुलाई १०, १९३७ धोबिचौर, काठमाडौँ, नेपाल |
मृत्यु | १८ सेप्टेम्बर २०११ ठमेल मार्ग, काठमाडौँ, नेपाल | (उमेर ७४)
मृत्युको कारण | पार्किनसन |
वासस्थान | धोबिचौर, काठमाडौँ, नेपाल |
राष्ट्रियता | नेपाली |
नागरिकता | नेपाली |
पेशा | सङ्गीत अन्वेषण |
चिनारीको कारण | सङ्गीत अन्वेषण |
उल्लेखनीय कार्य |
|
गृहनगर | काठमाडौँ, नेपाल |
जीवनसाथी | हरिमाया दर्नाल |
सन्तान | ४ |
मातापिता |
|
पुरस्कार |
|
बाल्यकाल र शिक्षा
सम्पादन गर्नुहोस्दर्नालको जन्म वि.सं. १९९४ असार २७ गते काठमाडौँको धोबिचौरमा भएको थियो। पिता सत्यकुमार दर्नाल र आमा दिलकुमारी दर्नालको माहिलो छोराको रूपमा जन्म लिए तापनि बाँचेका सन्तानमध्ये उनी नै जेठा थिए।[६][९] उनको न्वारानको नाम दण्डकुमार थियो।[१०] बाल्यकालको अधिकांश समय उनले आफ्नो मामाघरमा व्यतित गरेका थिए।[१] राणाकालीन समयमा उनका पिता सत्यकुमार दर्नाल तथा बडा बुबा नेपाली सेनाको ब्यान्ड समूहलाई तालिम दिन्थे। बुवाको संरक्षणमा हुर्केका रामशरणलाई सङ्गीतप्रतिको मोह त्यसैबेला जागृत भएको थियो।[२]
दर्नालको आफ्नो प्रारम्भिक शिक्षा काठमाडौँस्थित दरबार हाइस्कुलबाट प्राप्त गरेका थिए भने वि.सं. २००८ सालमा माध्यमिक शिक्षा अध्ययन गर्नको लागि सेन्ट रोबर्ट हाइस्कुल, दार्जिलिङ, भारत गएका थिए।[१] त्यहाँको साङ्गीतिक वातावरणको प्रभावले गर्दा उनले अध्ययनकै सिलसिलामा मेन्डोलिन[११], गितारजस्ता वाद्यसामग्री बजाउन सिकेका थिए।[२]
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्सानैदेखि रोगबाट ग्रस्त रामशरणलाई उनका आमाबुबाले ११ वर्षको उमेरमै महादेवस्थान मण्डन, काभ्रेपलाञ्चोक जिल्लाकी हरिमाया दर्नालसँग वि.सं. २००५ सालमा विवाह गरिदिएका थिए।[स्रोत नखुलेको] वि.सं. २००८ सालमा माध्यमिक शिक्षा अध्ययन गर्न दार्जिलिङ्ग गएका रामशरण दुई वर्ष कोलकातापनि बसेका थिए। दर्नालका तीन छोरा र एक छोरी छन्।[१२][१३]
कार्य जीवन
सम्पादन गर्नुहोस्अध्ययनकै क्रममा दर्नालले भारतको कलकत्ताको एक रेकर्डिङ्ग कम्पनीमा काम गर्न थाले। उनको त्यहाँ नै नेपालका पुराना कलाकारहरू धर्मराज थापा, नातिकाजी, शिवशंकर मानन्धर र तारादेवीसँग परिचय भएको थियो। वि.सं.२०१५ सालमा उनले भारतबाट नेपाल आउँदा गितार र मेन्डोलिन ल्याएका थिए।[१४] उनलाई नेपालमा ती दुई बाजा भित्र्याउने पहिलो व्यक्तिको रूपमा चिनिन्छ।[१४] एक वर्षको पर्खाईपछि वि.सं. २०१६ सालमा उनले नेपाल प्रज्ञा प्रतिष्ठानमा मेन्डोलिन बाधकको रूपमा जागिर पाएका थिए। प्रज्ञा प्रतिष्ठानका विभिन्न पदमा कार्य गर्दै दर्नालले वि.सं. २०२१ सालमा प्रज्ञा प्रतिष्ठानका लागि कुलपति श्री ५ महेन्द्रबाट ल्याइएको त्रिवर्षीय योजनामा सङ्गीत-नाट्य शाखाको सहायक सचिव भएर कार्य गरे। वि.सं. २०२८ सालमा तत्कालिन कुलपति केदारमान व्यथितले उनलाई जागिरबाट हटाए।[स्रोत नखुलेको] पछि सूर्यविक्रम ज्ञवालीले उनलाई पुनर्वहाली गरे।[कहिले?][स्रोत नखुलेको] उनले वि.सं. २०६० सालसम्म प्रज्ञा प्रतिष्ठानमा काम गरेका थिए। नेपालको आधुनिक वाद्य-सङ्गीतको संयोजनमा सक्रिय भूमिका निर्वाह गरेका दर्नालले नेपाली साङ्गीतिक तथा सांस्कृतिक विकासका लागि दिएका योगदानहरू उल्लेखनीय रहेको छ। अध्ययनलाई विस्तृत गर्ने क्रममा पुष्कल बुढापिर्थीबाट प्रभावित भएर उनले पाश्चात्य सङ्गीतको सम्बन्धमा पनि गहन अध्ययन गरेका छन्।[स्रोत नखुलेको] गीत, वाद्य तथा नृत्य तीन पक्षमा अनुसन्धान र योगदान गरेर उनी यी क्षेत्रका प्रिय बनेका छन्।[२][१५]
प्रज्ञा प्रतिष्ठानमा वाद्य प्रबन्धक भई काम गर्दा बाजा सङ्ग्रहालय हेर्ने उनी एक्लो व्यक्ति थिए। उनी बाजा सङ्ग्रहालयमा काम गर्दा त्यहाँ २५ सय वर्षअघिका क्वताः भनिने तीनमुखे बाजा (बुद्धकालीन समय) सहित सय किसिमका १२७ वटा बाजा थिए।[३] नेपाल प्रज्ञा प्रतिष्ठानमा वि.सं. २०१६ सालदेखि उनले स्वरलिपिकारको पदमा जागिरे भएर ३५ वर्षको अनवरत सेवापछि वाद्य प्रबन्धकका रूपमा अवकाश पाएका थिए।[१६][१७]
सङ्गीत शिरोमणि यज्ञराज शर्माको सिफारिसमा[स्रोत नखुलेको] नेपाल प्रज्ञा प्रतिष्ठानमा जागिर पाएका दर्नालले करीब ५० वर्ष काम गरेका थिए। वि.सं. २०६० देखि वि.सं. २०६५ सम्म उनी प्राज्ञ सभा सदस्य रहे।[स्रोत नखुलेको] अवकाशपछि उनले म्युजिक नेपालमा काम गरेका थिए। त्रिभुवन विश्वविद्यालयको सङ्गीत विषय समिति, लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर, नारायणगोपाल युवा सङ्गीत कोष र नेपाली शिक्षा परिषद्का सदस्य दर्नाल नेपाली लोकबाजा सङ्ग्रहालय, बिसे नगर्ची प्रतिष्ठान, नेपाल शास्त्रीय सङ्गीत समाज, नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, कलानिधि इन्दिरा सङ्गीत महाविद्यालय आदिमा संरक्षक र सल्लाहकार रहे।
गीत सङ्गीत
सम्पादन गर्नुहोस्दार्जिलिङ्गमा अध्ययनको क्रममा दर्नालले लख्खीदेवी सुन्दास, शिवकुमार राईलगायतका विद्वानको सङ्गतमा सङ्गीत र वाद्यवादन कलामा उन्नति गरेका थिए। कलकत्ताबाट काठमाडौँ फर्कदा मेन्डोलिन, विकसित गितारजस्ता थुप्रै वाद्ययन्त्र लिएर आएका थिए।[१८]
गितार सिक्नका लागि उनले गायक प्रेमध्वज प्रधानको कालधारास्थित घर जाने गर्दथे।[१९] मेन्डोलिन, गितार, 'ड्रमसेट' बजाएर ईश्वरबल्लभको गीत, माधवप्रसाद घिमिरेको रचना 'गाउँछ गीत नेपाली' गीतमा धुन भरेका थिए। उनले महेन्द्र वीर विक्रम शाहको गीत 'उसका लागि र फेरि उसैका लागि'मा 'नोटेसन' गरेका थिए। 'हे वीर हिँड अघिसरी, गर्छिन् आमा रोईकराई' गीतमा 'अरेन्ज', 'नोटेसन' तथा वाद्यवादनको काम गरेका दर्नालले नेपाली चलचित्र 'मनको बाँध'मा सङ्गीत दिने काम गरेका थिए।[१५][२०]
सङ्गीत अन्वेषण तथा लेखन
सम्पादन गर्नुहोस्यो खण्डमा सम्भवत: मूल अनुसन्धान गरेको पाइन्छ। |
बाजाका लागि जीवनकै स्वर्णिम दिनहरू खर्चिएका, बाजा नै जीवनशैली बनेका दर्नाल बाजा र बाजाका धुनहरू खोज्दै सुदूर पश्चीमी नेपालका गाउँसम्म पुगे। नेपालका मध्यपश्चिम र सुदूरपश्चिमका जिल्लामा बाजा सङ्कलनका लागि उनी एक्लै पनि पुग्थे। सेती र महाकाली अञ्चलका विभिन्न जिल्ला डडेल्धुरा, बझाङ, अछाम, डोटी र महेन्द्रनगरका हुड्के (हुड्का बाजा बजाउने) हरूसँग भेट गरी हुड्को समेत ३६५ थरीका बाजाहरू सङ्कलन गरेका थिए।[२३] नेपाली संस्कृतिमा उब्जेका चार सयभन्दा बढी बाजा छन्। नेपाली बाजागाजाको तथ्याङ्क राख्ने कामको आरम्भ दर्नालबाटै भयो। उनी यसबारे एउटा संस्था नै मानिन्थे।[६]
वि.सं. २०२५ सालमा अविरल वर्षाले घर भत्कँदा उनका घरमा रहेका १५ थरी पुराना बाजाहरू नष्ट भए। उनकी आमाको पनि त्यही घरले पुरिएर निधन भयो। यस घटनालाई उनी जीवनको अत्यन्तै दुःखको क्षण मान्दथे। यस घटनाले दुःखी उनी सुरुमा निराश थिए। पछि धैर्य गरे र बाजाको सर्वनाश भएर वाद्यवादनभन्दा लेखनतिर सक्रिय हुन थाले। उनलाई विशेष परिस्थितिले लेखक बनायो। उनको जीवनले नयाँ मोड लियो। उनी कसैले ध्यान नदिएको सङ्गीत विधामा केही पुस्तक लेखे। नेपाली संस्कृतिमा वाद्यवादनको स्थान लेख वि.सं. २०२३/२४ तिर बनारसबाट निस्कने सँगालो पत्रिकामा प्रकाशित गरे। वि.सं. २०२५ सालदेखि लोकबाजा अन्वेषणमा लागेका दर्नालले पहिलो पटक गोरखापत्रमा नेपाली संस्कृतिमा बाजाको स्थान लेखमा नेपाली बाजाबारे प्रकाश पारेका थिए। त्यसपछि निरन्तर लेखनमा लागेका दर्नालका सङ्गीत परिक्रमा, नेपाली सङ्गीत साधक, प्रज्ञा पुरस्कारद्वारा पुरस्कृत प्रतिभाहरू, सङ्गीतको विस्तृत अवलोकन, विश्वविख्यात सङ्गीतकार, नेपाली बागिना र कला, नेपाली बाजा, गायनशैली, काठमाडौँ उपत्यकाका समसामयिक गीतहरू लगायत ११ वटा पुस्तक प्रकाशित भएका छन्। उनले पहिलो पटक बिसे नगर्चीबारे अध्ययन अनुसन्धान गरे। नेपाली बाजा भन्ने पुस्तकमा नेपालमा रहेकामध्ये ३७५ वटा बाजागाजा लोपोन्मुख छन् भनेर नाम र विषेशतासहित खुलाएर लेखे। उनी भन्ने गर्दथे, “मलाई लाग्छ, साँचो अर्थमा लेखक त्यही हो, जो प्रतिकूल परिस्थिति र कठिन अवस्थामा पनि आफ्नो लेखनलाई निरन्तरता प्रदान गरिरहन्छ। आफ्नो साधनाबाट विमुख हुँदैन।”[१५] अतः उनका समयमा धोबीचौरको पल्लो छेउमा रहेको उनको घर नेपाली बाजाहरूको अन्वेषणमा लाग्नेहरूका लागि पवित्र तीर्थस्थल बनेको थियो भने त्यहाँ मूर्ति वा देवता बनेका थिए रामशरण दर्नाल।[२४][२५]
आफ्ना दर्जन कृतिमध्ये रत्न पुस्तक भण्डारबाट छापिएको पुस्तक नेपाली बाजालाई गहकिलो मान्थे उनी। नेपाली सङ्गीत साधक प्रज्ञा-प्रतिष्ठानबाट निक्लेको उनको पहिलो पुस्तक हो। यी पुस्तकहरू सङ्गीतसम्बन्धी अध्ययन, अनुसन्धान गर्नेका लागि महत्त्वपूर्ण सन्दर्भ-सामग्री हुन्।[२६]
बिसे नगर्चीबारे पहिलो अध्ययन अनुसन्धान गर्ने पनि उनै रामशरण हुन्। खोजी र अन्वेषण हो उनी र उनका छोरा प्रकाश दर्नालको क्षेत्र। रामशरणले जसरी विभिन्न गीतमा सङ्गीत भरे र सङ्गीतकै बारे अन्वेषण गरे, त्यसरी नै प्रकाशले पनि मुस्ताङको लोमान्थाङमा रहेको बाह्रौ शताब्दीको पुरानो मानव गुफा पत्ता लगाए।[२७]
कृति
सम्पादन गर्नुहोस्वि.सं. २०२५ सालको गोरखापत्रमा उनको पहिलो रचना छापिएको थियो । उनका प्रकाशित कृतिहरू :
- सङ्गीत परिक्रमा (लेखसङ्ग्रह, वि.सं. २०३८)
- नेपाली सङ्गीत साधक (जीवनीसङ्ग्रह, वि.सं. २०३८)
- प्रज्ञा-पुरस्कारद्वारा पुरस्कृत प्रतिभा (जीवनीसङ्ग्रह, वि.सं. २०३९)
- विश्वविख्यात सङ्गीतकार (जीवनीसङ्ग्रह, वि.सं. २०४१)
- सङ्गीतको विस्तृत अवलोकन (लेखसङ्ग्रह, वि.सं. २०४१)
- नेपाली सङ्गीत-संस्कृति (सङ्गीत/कला, वि.सं. २०४५)
- सङ्गीत सौरभ (सङ्गीत, वि.सं. २०५८)
- नेपाली बागीना र कला (सङ्गीत/कला, वि.सं. २०६०)
- नेपाली बाजा (वाद्यवादन, वि.सं. २०६१)
- गायनशैली (संस्कृति, वि.सं. २०६१)
- काठमाडौँ उपत्यकाका प्राचीन समसामयिक गीतहरू (सङ्गीत, वि.सं. २०६७)
पुरस्कार, सम्मान तथा अलङ्कार
सम्पादन गर्नुहोस्उनले नेपालको साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप नेपाल सरकार लगायत सामाजिक सङ्घसंस्थाले उनलाई विभिन्न मान पदवी, पुरस्कार तथा सम्मान दिएका थिए।[२८][२९]
रामशरण दर्नालको सम्मानमा हुलाक सेवा विभागले हुलाक टिकट प्रकाशन गरेको थियो जहाँ उनको तस्वीर अङ्कित टिकटको मूल्य दश रूपैयाँ रहेको छ।[३०]
दर्नालसम्बन्धी शिक्षा मन्त्रालय, नेपाल सरकारले कक्षा ९ को नेपाली विषयको पाठ्यक्रममा सङ्गीतज्ञ रामशरण दर्नाल समावेश गरेको छ।[३१]
पुरस्कार
सम्पादन गर्नुहोस्- जगदम्बाश्री पुरस्कार (वि.सं. २०६६)
- नारायणगोपाल सङ्गीत पुरस्कार (वि.सं. २०६६)
- लूनकरणदास गङ्गादेवी चौधरी पुरस्कार (वि.सं. २०६२)
- इन्द्रराज्य लक्ष्मी पुरस्कार, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (वि.सं. २०६२)
- नूरगङ्गा पुरस्कार (वि.सं. २०६१)
- झपट पुरस्कार (वि.सं. २०६०)
- राष्ट्रिय प्रतिभा पुरस्कार (वि.सं. २०५३)
सम्मान
सम्पादन गर्नुहोस्मिति | सम्मान | कारण | संस्था |
---|---|---|---|
२०४९-०९-१४ | गोरखा दक्षिण बाहु | प्रशंसनीय कार्य गरेबापत | राजदरबार |
२०४५-०८-२९ | प्रशस्ति पत्र | दलित उत्थानका लागि | भारतीय दलित साहित्य अकादमी, नयाँ दिल्ली |
२०४४-१२-२८/२९ | लेखन सम्मान | दलित समुदायको उत्थानका लागि | पूर्वाञ्चल क्षेत्रीय दलित सम्मेलन तयारी समिति, धरान |
मृत्यु
सम्पादन गर्नुहोस्सङ्गीत अनुसन्धाता, नेपालका लोकबाजा, लोकसंस्कृति र कला सङ्गीत क्षेत्रका एक महत्त्वपूर्ण व्यक्ति रामशरण दर्नाल लामो समयदेखि आफैँले गरेका काम थाहा नपाउने रोग पार्किनसनबाट पीडित थिए। वि.सं. २०६८ साल, असोज १ गते बेलुका ७४ वर्षीय दर्नालको निधन भयो।[४][८][९][२६][१९][३२]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ राजेन्द्र महर्जन तथा पदम सुन्दास, सम्पादक (२०७१), "आत्मवृतान्त", सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म, दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति, पृ: २१–२७, आइएसबिएन 9789937284578।
- ↑ २.० २.१ २.२ २.३ लुइँटेल, कृष्णकुमारी (२०५१ माघ ५), सङ्गीतका विशिष्ट अनुसन्धाता, प्रजातन्त्र साप्ताहिक।
- ↑ ३.० ३.१ पौड्याल, बद्री (असोज २०५१), "प्राज्ञिक धरातलको निर्माण", विमोचन १३ (७)।
- ↑ ४.० ४.१ पहाडी, डम्बर (कार्तिक २०६८), "लोकसङ्गीत सम्राट : एक स्मृति", नेपालीमञ्च २१ (६)।
- ↑ पराजुली, गोपाल (२०६९ असार २), आजीवन सङ्गीत अनुसन्धानदाता, गोरखापत्र।
- ↑ ६.० ६.१ ६.२ प्रसाई, नरेन्द्रराज (२०६८ असोज २८), बाँचेको मान्छे : सङ्गीत अन्वेषक, अन्नपूर्ण पोष्ट।
- ↑ पलिखे, बद्री (२०६४ चैत्र ४ गते), "जसको सम्झना आइरहन्छ", ज्ञानगुनका कुरा १२६ (दर्नाल अङ्क १)।
- ↑ ८.० ८.१ बराइली, गोपाल। "रामशरण दर्नाल"। नेपाली हिमाल डटकम। हिमाल खबरपत्रिका। सङ्ग्रह मिति २०१९-०३-१६।
- ↑ ९.० ९.१ भट्टराई, जयदेव (२०६८ भाद्र ३१), सङ्गीतमय जीवनको अवसान, गोरखापत्र।
- ↑ दर्नाल, प्रकाश (२०७१), "बुबालाई सम्झदा", in राजेन्द्र महर्जन तथा पदम सुन्दास, सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म, दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति, पृ: २१–२७, आइएसबिएन 9789937284578।
- ↑ Medolin
- ↑ दर्नाल, हरिमाया (२०७१), "साथमा बिताएका ती ६५ वर्ष", in राजेन्द्र महर्जन तथा पदम सुन्दास, सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म, दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति, पृ: १६०–१६२, आइएसबिएन 9789937284578।
- ↑ भादगाउँले, अमृत (२०५८ माघ १२), साताकी गृहणी, साप्ताहिक।
- ↑ १४.० १४.१ मल्ल, अशेष (२०४८ असार २७), गितार र मेन्डोलिन भित्र्याउने सर्जक, साप्ताहिक जनमञ्च।
- ↑ १५.० १५.१ १५.२ खाती, रमेश, "सङ्गीतका शिखर पुरुष रामशरण", yalambartimes.com, अन्तिम पहुँच २०१९-०३-१६।
- ↑ भट्टराई, देवेन्द्र (२०५८ चैत्र ३१), मुर्चुङ्गाजस्तो जिन्दगी, कान्तिपुर।
- ↑ खड्का, रामकला (२०६० माघ ३), अर्कै लोकको आभास, अन्नपूर्ण पोष्ट।
- ↑ वाग्ले, अनन्तप्रसाद (२७ मङ्सिर २०५१), "तिलौरी किन्दा हर्जाना तिर्नुपर्यो", कोपिला (कान्तिपुर)।
- ↑ १९.० १९.१ दिक्पाल, राजकुमार (२०६८ असोज १४), दुःखद दशैं (श्रद्धाञ्जली), अन्नपूर्ण पोष्ट।
- ↑ बाला, राई (२०६६ भदौ २६), लोकबाजा अन्वेषक र जगदम्बाश्री पुरस्कार, अन्नपूर्ण पोष्ट।
- ↑ श्रेष्ठ ‘सरित’, इन्द्रकुमार (२०४५ वैशाख ७), "”लोकसङ्गीत नै राष्ट्रको प्राण हो !”, रामशरण दर्नाल", विवेक ७ (४)।
- ↑ धमला, चेतनाथ (२०५९), "”सङ्गीत र संस्कृतिः नङ र मासुजस्तो”, रामशरण दर्नाल", नेपाल जागरण साप्ताहिक ११ (५)।
- ↑ सापकोटा, दीपक (२०६६ कार्तिक १३), बाजा-संवाद : रामशरण दर्नालसँग, गोरखापत्र।
- ↑ खपाङ्गी मगर, नरेश (२०६० भदौ ७), बाजाबारे सोधखोज नहुँदा, गोरखापत्र।
- ↑ भट्टराई, जयदेव (२०६६ असोज ३), छाप्रोमै बसेर लेखे, गोरखापत्र।
- ↑ २६.० २६.१ शर्मा, सन्तोष (२०६८ असोज ७), अन्वेशकको अस्त, नागरिक।
- ↑ ढुङ्गाना, गोपीकृष्ण (८ माघ २०६५), आ-आफ्नै पङ्ख उचाली, अन्नपूर्ण पोष्ट।
- ↑ नेपाली सङ्गीतका मुर्धन्य धरोहरः रामशरण दर्नाल १५ (१), नेपालीमञ्च, २ असोज २०६२, पृ: मध्यपृष्ठ।
- ↑ दर्नाल, किरण (२०७१), "पत्राचारमा बाबु र छोरा", in राजेन्द्र महर्जन तथा पदम सुन्दास, सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म, दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति, पृ: १६५–१६७, आइएसबिएन 9789937284578।
- ↑ "सङ्गीत अन्वेषक रामशरण दर्नालको नाममा हुलाक टिकट जारी", alldalit.blogspot.com, अन्तिम पहुँच २०१९-०४-१६।
- ↑ "Class 9 Solution: सङ्गीतज्ञ रामशरण दर्नाल", khullakitab.com, अन्तिम पहुँच २०१९-०४-१६। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०५-२० मिति
- ↑ मुकारुङ, बुलु (२०६८ असोज १३), विस्मृतिमा रामशरण दर्नाल र लोकबाजा, राजधानी।