डोटी जिल्ला

डोटी जिल्ला नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रमा अवस्थित एउटा जिल्ला हो। ज्ञानेश्वर भटृराईको वृहत ज्ञान कोषको अनुसार यहाँ प्रवाहित हुने खोलाको नाम डोटी खोला रहेको र सोही डोटी खोलाको छेउछाउको भागलाई डोटी क्षेत्र भन्ने गरिएकोले सोही आधारमा जिल्लाको नाम डोटी रहन गएको हो।

डोटी जिल्ला

ऐतिहासिक पृष्ठभूमीसम्पादन

बाइसे-चौबिसे राज्यकालमा बाइसे राज्य भन्दा परको विशाल तथा शक्तिशालि मानिएको रैका राज्य या डोटी राज्य पूर्वमा कर्णाली नदी पश्चिममा रामगंगा (कुमाउँ) उत्तरमा ठाकुरजी देखि दक्षिणमा तराईसम्म फैलिएको थियो। डोटीमा दुई राजवशको राज्य स्थापित थियो | जसमध्ये कत्युरी र जुम्ला नागराजका वंशजका रैका राजा थिए । डोटीका शासक कत्युरवंशी (कत्युरी राजवंश)का राजा सुभिक्षराज सन् (१०४५-१०६५) डोटीका अतिरिक्त अल्मोडा र गढवालका समेत शासक थिए । कत्युरी राजाको वंशजलाई बि.स १४२० पश्चातको युद्दमा रैका राजाले विजय गरेपछि डोटी बि.स १४४१ पछि रैका राजाको राज्यको रूपमा परिचित/चर्चित बन्यो । डोटीका राजालाई महाराजाधिराको उपाधिको स्थानीय नाउ रैकाज्यू भनिन्थ्यो। यहाका रैका राजवंशको राज्य बि.स १४४१ पछि रैका राजा दीपशाहीको पालामा कप्तान रणवीर खत्रीको नेतृत्वमा गएको नेपाली फौजले डोटीमाथि आक्रमण गरी विसं १८४७ सालमा विशाल नेपाल राष्ट्र अन्तर्गत बिजय गरेको थियो। राणाकालमा प्रशासनिक केन्द्रको रूपमा तोकिएको डोटी गौंडाको नियन्त्रणमा अछाम, बाजुरा बझाङ, जुम्ला र बैतडी थिए।

भौगोलिक अवस्थासम्पादन

 
डोटी जिल्लाको खेतका फाँट

नेपाल अधिराज्यको सुदुर पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलमा अवस्थित डोटी जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र वैतडी, उत्तरमा बझाङ्ग र दक्षिणमा कैलाली र कंचनपुर जिल्लाहरू रहेका छन्। २०२५ बर्ग किमिमा फैलिएको यो जिल्ला २८० ५४' उत्तर देखि २९० ५४' उत्तर अक्षांश र ८०० ३०' पूर्वदेखि २१० १४' पूर्वी देशान्तरसम्म फैलिएको छ। भौगोलिक दृष्टिले अत्यधिक विविधता भएको यो जिल्ला उचाईको दृष्टिले ३०० मिटर (घाङल गा वि स को पिपलकुण्टा ) देखि ४००० मिटरसम्म फैलिएको भए तापनि यसको अधिकांश भू-भाग भने ३०० मिटर देखि २००० मिटरको उचाई क्षेत्रमा पर्दछ। अर्थात उत्तरमा उच्च हिमाली क्षेत्र देखि दक्षिणमा चुरे पर्वत श्रृंखलासम्म फैलिएको यो जिल्लाको अधिकांस भू-भाग भने मध्य पहाडी क्षेत्रमा नै पर्दछन। यस जिल्लामा खप्तड लेक,सकार लेक,महाभारत लेक तथा गोलेदेउ लेक जस्ता उच्च पहाडी स्थानका साथै दिपायल,वानेडुग्रीसैन तथा नारीदाङ्ग जस्ता अर्ध उष्ण हावापानी भएका नदी किनारामा अवस्थित समथल भू-भाग पनि रहेका छन्।[१]

हावापा‍नीसम्पादन

यस जिल्लाको भू-बनोट असमान उचाई र विविध धरातलिय स्वरूप भएको कारण हावापानीमा निकै विषमता छ। यस जिल्लाको ६०% भू-भाग समशितोष्ण,१७% भू-भाग अर्द्योष्ण र २३% भू-भाग शीत प्रदेशमा पर्दछ। भू-वनोटीय उचाईमा भएको विविधताको कारण यँहाको हावापानी तथा जलवायुमा पनि विविधता पाइन्छ। यहाँ खासगरी समशितोष्ण देखि शितोष्ण हावापानी पाइन्छ। सन् १९७६-८६सम्मको सिलगढी स्टेशनको रेकर्ड अनुसार यँहाको वार्षिक औषत वर्षा १,३४७ मिलिमिटर पाइएको छ। जिल्लाको वर्षैभरि हुने वर्षाको वितरण एकनाशको पाइदैन। हिउँदमा कम वर्षा हुन्छ भने करीब ७०% वर्षा जुन देखि सेप्टेम्बर महिनामा हुन्छ। त्यस्तै सिलगढी स्टेशनको रेकर्ड अनुसार अत्यधिक तापक्रम ३६.३ डिग्री सेन्टिग्रेड (मे १९९७) र न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेड (जनवरी १९८५) रेकर्ड गरिएको छ।

राजनीतिक विभाजनसम्पादन

राजनीतिक हिसाबले यस जिल्लालाई ५० वटा गाविसहरू, १ नगरपालिका (दिपायल सिलगढी नगरपालिका), ११ इलाका र २ वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो भने हाल सात वटा गाउँपालिका र २ नगरपालिकामा विभाजन गरिएको छ। सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम दिपायल सिलगढी नगरपालिकाको राजपुरमा रहेको छ। डोटी जिल्ला को सदरमुकाम सिलगढिमा रहको छ ।

यो पनि हेर्नुहोससम्पादन

डोटी जिल्लाको सुदूर दक्षिणमा रहेको गा•वि•स• लानाकेदारेश्वरमा धार्मिक तथा प्रयटकीय दृष्टिकोणले अत्यन्तै महत्त्वपुर्ण पवित्र तिर्थस्थल ठूला केदार छ । यहां कार्तिक शुक्लपक्षको त्रयोदशीका दिन भब्य जांत लाग्छ र उक्त अवसरमा मनोकांक्षा पूरा हुने बिश्वासका साथ भारत सम्मका भक्तजनहरूको घुइचो लाग्छ ।

तस्विर ग्यालरीसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ "संङ्क्षिप्त परिचय", डोटी जिल्ला विकास समिति 

बाह्य कडीहरूसम्पादन