ईश्वरबल्लभ

कवि, गीतकार, लेखक


ईश्वरबल्लभ (वि.सं. १९९४ - वि.सं. २०६४) नेपाली साहित्यकार हुन् । उनलाई नेपाली साहित्यको आयामेली अभियानका प्रवर्तकमध्ये एक भनिन्छ। बैरागी काँइलाइन्द्रबहादुर राई सहित उनलाई तेस्रो आयाम साहित्यिक अभियान का प्रवर्तक मानिन्छ। उनले वि.सं. २०२९ सालमा मदन पुरस्कार पाएका थिए ।

ईश्वरबल्लभ
जन्म(१९३७-०७-११)जुलाई ११, १९३७
जैसीदेवल, काठमाडौँ, नेपाल
मृत्युमार्च २२, २००८(२००८-०३-२२) (७० वर्ष)
काठमाडौँ
पेशासाहित्यकार
राष्ट्रियतानेपाल नेपाली
विधाकविता
साहित्यिक आन्दोलनतेस्रो आयाम
उल्लेखनीय कार्यहरूआगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्
उल्लेखनीय पुरस्कारहरूमदन पुरस्कार
जीवनसाथीकमला भट्टराई

जीवनीसम्पादन

ईश्वरबल्लभ (भट्टराई) वि.सं. १९९४ साल असार २८ गते मंगलबार काठमाडौको जैसीदेवलमा पं. मुरलीधर भट्टराई र राममाया का जेठा छोराका रूपमा जन्मिएका ईश्वर पछि ईश्वरवल्लभ का रूपमा प्रख्यात भए । मुरलीधर प्रसिद्ध पुराणवाचक र राणाविरोधी क्रान्तिकारी पण्डित थिए। उनले गोरखाबाट काठमाडौँ आई नेवार जातकी राममायासँग विवाह गरेका थिए। ईश्वरबल्लभका भाइ विश्वबल्लभ पनि गीतकार र सङ्गीतकार हुन्। ईश्वरबल्लभ जन्मिएको २ वर्षपछि उनका बाबुलाई पुराण सुनाउँदा-सुनाउँदै प्रजातन्त्रको कुरा गरेको आरोपमा राणाहरूले झ्यालखानामा हाले। त्यसैले उनलाई सानै उमेरमा आमाले पढ्न-लेख्न सिकाएकी थिइन्।

ईश्वरबल्लभ दरबार हाइस्कुलमा पढ्दथे र स्कूलबाट फर्कदा बाबुलाई भेट्न झ्यालखानामा जान्थे र फर्कदा बाबुले दिएको नुन र चामलको पोको बोकेर घर फर्कन्थे। उनको कपाल सानै उमेरमा फुलेकोले उनलाई देख्ने मानिसहरू दङ्ग परेर हेर्दथे । उनी १० वर्षका भएपछि बाबु झ्यालखानाबाट छुटे। उनी स्कूलमा पढिरहेकै बखत उनकी आमाको मृत्यु भयो। त्यसपछि विरक्त भएर उनी भारतको इलाहावाद पुगे र त्यहीबाट म्याट्रिक परीक्षा उत्तीर्ण गरे। उनकै आग्रह मानेर ईश्वरबल्लभ सर्लाहीको मलङ्गवामा आए र महिनाको ४० रूपिया तलब लिएर त्यहाँको विद्यालयमा पढाउन थाले। त्यहाँ पढाउँदा-पढाउँदै उनले इलाहावाद बोर्डबाट प्राइभेट स्नातक उत्तीर्ण गरे।

सर्लाही बसेको डेढ वर्षपछि उनी घुम्दै दार्जिलिङ पुगे। उनले त्यहाँ उपन्यासकार रूपनारायण सिंहको विशाल शवयात्रा देखे। साहित्यकारको त्यत्रो मान्यता देखेर उनी छक्कै परे। उनलाई त्यही बस्न मन लाग्यो। नभन्दै उनले त्यहाँको टर्नबुल हाइस्कूलमा पढाउने मौका पाए। त्यतिबेला उनी विद्यार्थीहरूलाई ट्युसन पनि पढाउँथे। आफैले ट्युसन पढाएकी कमला क्षेत्रीसँग उनको मन मिल्यो र उनले वि.सं. २०१६ सालमा कमलासँग विवाह गरेर त्यसपछि उनी रेडियो खर्साङमा उद्घोषणको काम गर्न थाले। केही समयपछि त्यो जागीर छुट्यो। उनले पसल थापे। जीविकाका लागि उनले ठेक्कापट्टा पनि गरे। वि.सं. २०२७ सालमा उनी सह-परिवार काठमाडौ फर्किए।

लेखन तथा काव्यप्रवृत्तिसम्पादन

ईश्वरबल्लभ सानैदेखि गीत र कविताहरू लेख्थे। उनको पहिलो कविता वि.सं. २०१२ सालमा दार्जिलिङबाट पारसमणि प्रधानले निकाल्ने 'भारती' पत्रिकामा छापियो। 'मेरो आमाले आत्महत्या गरेको देश' उनको प्रसिद्ध कविता हो। ईश्वरबल्लभ सम्पादक पनि थिए। उनले 'टुकी', 'प्रज्ञा', फूलपातपत्कर' र 'तेस्रो आयाम' नामक पत्रिकाहरूको सम्पादन गरेका थिए। 'आगो का फुलहरू हुन ,आगो का फुलहरू होइनन' जस्ता प्रख्यात कृति का रचनाकार वल्लभले नेपाली भाषा-साहित्यको सेवा गरेवापत मदन पुरस्कार, साझा पुरस्कार, रत्नश्री स्वर्णपदक, मुक्ति पुरस्कार, व्यथित सिन्धु पुरस्कार र प्रेस काउन्सिल पुरस्कार पाएका थिए।

बिक्रम संवत २०१२ सालको भारतीमा प्रकाशित " म के हुँ " शीर्षक कविताका माध्यमबाट आफ्नो कवितायात्रा प्रारम्भ गरेका ईश्वरबल्लभका " आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् ", एउटा शहरको किनारमा, समान्तर, कस्मै देवाय, धूवाँको जंगल जस्ता कविता संग्रहहरू प्रकाशित छन् ! यिनले आफ्नो कवित्व मूलत प्रगीतात्मक संरचनामा केन्द्रित गरेका छन् !

प्रारम्भमा स्वच्छन्दतावादी प्रवृत्तिका कविता लेख्ने कवि आयमेली आन्दोलनको स्थापनापछि त्यसकै मान्यता अनुरुप जीवनलाई परम्पराभन्दा भिन्न ढङ्गले वौद्धिक व्याख्या गर्न र अमूर्तताभित्र वस्तुत र सम्पूर्णताको खोजीलाई कवितात्मक प्रस्तुति गर्न उघट देखिन्छन् ! युगीन जन-जीवनका संकीर्णताको घेरा नाघी विशालताको आत्मसात् गर्दै जीवनका जटिलता, विवशता, बाध्यता, बिषमता, अस्तव्यस्तता आदिको अभिव्यञ्जना गर्ने यिनका कवितामा अस्तित्ववादी जीवनवादी र आशावादी चिन्तनको प्रस्तुति पाइन्छ ! यिनका कवितामा सब र विषयमा परिस्थितिका बीचबाट गुज्रिएको मानवजीवनलाई विविध कोणबाट चित्रण गर्दै मानवीय सोचाईका बीचको बिषमताको मार्मिक अभिव्यञ्जना गरिएको छ ! युगीन बिषमता, अस्तव्यस्तता र जर्जरतालाई यिनले संवेदनशीलतापूर्वक प्रतीकात्मक, प्रफावशाली र बौद्धिक ढङ्गले प्रस्तुत गरेका छन् !

ईश्वरवल्लभका कवितामा इतिहास, पुराण, दन्त्यकथा आदिबाट ताक्षणिकता वहन गर्ने खालका आघबिम्ब र प्रतीक तथा चित्रात्मक, अमूर्त, किलिष्ट, दुर्बोध्य, विचलनयुक्त, भाषिकविन्यास पाइन्छ ! वौद्धिक र प्रतीकात्मक अभिव्यक्ति तथा कतिपय कृत्रिम शिल्पसज्जाका कारण यिनका कतिपय कविता दुर्बोधसमेत बन्न पुगेका छन् ! यति हुँदाहुँतै पनि आनुप्रासिक संयोजन, रुनरावृत्तीय भाषिकविन्यास वा समान्तरताको बहुप्रयोग कारण मुक्तछन्दमा संरचित यिनका गद्यकविताहरू अन्त लयात्मक र अन्त सांगीतिक गुणले अनुप्राणित छन् ![१]

निधनसम्पादन

ईश्वरबल्लभ उच्च रक्तचापमधुमेहका रोगी थिए। ७० वर्षका उमेरमा हृदयघातको उपचार गर्दागर्दै २०६४ साल चैत ९ गते शनिवार अस्पतालमै उनको निधन भयो।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. गुरुङ, अनुष्कर पुष्कर, कवि ईश्वर बल्लभको काव्यप्रवृत्ति, सिलिगुडी: नेपाली विभाग, सिलिगुडी कलेज। 

बाह्य कडीहरूसम्पादन