नेवार जाति

(नेवार बाट पठाईएको)

नेवाः भन्ने शब्दले नेपालको एउटा मूलबासी भाषिक समुदायलाई जनाउंदछ। नेवाःहरूको मूलथलो काठमाडौँ उपत्यका हो। [१] नेवाः कुनै जात वा जाति वा जनजाति वा नश्ल वा धर्म विषेश होईन । नेवाः एउटा भाषिक समुदाय पनि हो, नेपाल-वासी (अहिलेको काठमाडौँ उपत्यका) को साझा संस्कृति हो। नेवाः भित्र कयौँ मूल-जातिहरू छन - (आदिबासी, कन्याकुब्ज, बङ्गाली, राजस्थानी, आसामी, मैथिली )। नेवाः भित्र सनातन धर्म अन्तर्गतका धेरै सम्प्रदायहरू छन - (शैव, शाक्त, तान्त्र, वैदिक, वज्रयान, महायान, नाथ, वैश्नव, आदि)। नेवाः भित्र ४ जात-वर्ण (ब्राह्मण, क्षत्रीय, वैश्य, शुद्र) र यस भित्र थुप्रै उप-जातहरू रहेका छन (ज्यापू, श्रेष्ठ, क्षत्रीय, गुभाजू, उराय, सायमी, ब्राह्मण, नाय, गाथु, भा, द्यला, आदि)। यसैगरी नेवाः भित्र मूलत: ३ नस्ल छन - आर्य, द्रविड । नेवाः समुदाय साँस्कृतिक रूपले निकै सम्पन्न जाति हो।

अर्गःचा खेल्दै नेवाः बालिकाहरू
इहिमा सहभागि नेवाः बालिकाहरू
सापारुको बेलामा बासुरी बजाउदै नेवाः समुदायका महिला

जात (caste) वर्गीकरणसम्पादन

नेवाः समुदायमा पेशाका आधारमा वर्ण, जात र थरहरु छुट्याईएका छन्। वर्तमान मा नेवा: समुदाय भित्र ४ वर्ण र २८ वटा पेशागत जातहरु नेवा: हरु को छाता संगठन नेवा: देय दबू अन्तर्गत संस्थापित छन जस अनतर्गत ऐतिहासिक हिसाबले हरेक जातको आफ्नै जातिय पहिचान छ।

१. उदाय/उदास - वैश्य-ब्यापार तथा व्यवसायलाई आफ्नो पेशा मान्दै आएका काठमाडौं का बौध धर्मावलम्बी, यस अनतर्गत पेशागत उप-कूल - तुलाधर (व्यापारी), बनिया (व्यापारी), कंसकार (काँस धातु), ताम्राकार (तामा धातु), सिख्रकार (छाना बनाउने), शिलकार, सेलालिक (हलवाई), स्थापित (काष्ठकार)।

२. ताम्राकार - वैश्य-ब्यापार तथा तामाको काम गर्ने पाटन र भक्तपुर का हिन्दू

३. बराही, शिल्पकार - वैश्य-ब्यापार तथा काष्ठकार गर्ने पाटन र भक्तपुर का हिन्दू

४. अवाले, अवा - इट्टा, झिंगटी, टायल पोल्ने

५. कुमाह, प्रजापति - माटाका साधन भाडाकुडाँहरू बनाउने

६. हलवाई - मिठाईजन्य पदार्थ बनाउनेलाई, यस अनतर्गत थर - मधिकर्मी, राजकर्णिकार,

७. ज्यापु - प्रायः खेतिपातीको काम गर्ने, यस अनतर्गत पेशागत उप-कूल - महर्जन, डंगोल, सुवाल, सिं , दुवाल, तण्डुकार, बलामी, अरु कयौं थरहरु

८. सायमी वा मानन्धर - तोरीको तेल पेल्ने, तेल व्यवसाय गर्ने

९. माली वा गाथु - फूलबारीमा काम गर्ने, मालाकार

१०. नकर्मी - फलामजन्य कार्य गर्ने

११. नापित वा नाउ - कपाल अथवा केश काट्ने

१२. चित्रकार वा पुँ - चित्र लेख्ने र कोठा रंगाउने

१३. रंजितकार वा छिपा - लुगामा रङ्ग लगाउने

१४. दली वा पतवार - पालकी बोक्ने

१५. कुस्ले वा कपाली - कपालीका पंथ अनतर्गत को दशनामी-सन्यासी का वंशज, बाजा बजाउने र लुगा सिउने पहिले पानी-नचल्ने मानिएको वर्ग, यस अनतर्गत थर - कपाली, कुस्ले, जोगी, दर्शनधारी

१६. भा वा कारंजीत - हिन्दू नेवा: को मृत्यु संस्कार का विषेश पुजारी, महा-ब्राह्मण भनिने, पहिले पानी-नचल्ने मानिएको वर्ग

१७. नाय - मासुका कारोबार र नाय बाजा बजाउने पहिले पानी-नचल्ने मानिएको वर्ग, यस अनतर्गत थर - खड्गी, शाही, कसाईं

१८. कुलु - छाला संबन्धी काम गर्ने पहिले अछुत मानिएको वर्ग

१९. पोडे - सर-सफाई गर्ने, पहिले अछुत मानिएको वर्ग, यस अनतर्गत थर - सुवर्णकार, द्योला

२०. च्यामे - सर-सफाई गर्ने, पहिले अछुत मानिएको वर्ग

२१. गुभाजु वा बज्राचार्य - बौध पुरोहित र मन्दिर पुजारी वर्ग

२२. वरेजु वा शाक्य - बौध मन्दिर पुजारी र सुन-चाँदिका गहना बनाउने काम गर्ने, कपिलवस्तु का शाक्यका वंशज

२३. द्य ब्राह्मण वा राजोपाध्याय - हिन्दू वैदिक ब्राह्मण वर्ग, कान्यकुब्ज ब्राह्मणका वंशज, यस अनतर्गत थर - राजोपाध्याय, शर्मा, आचार्य, सुवेदी

२४. तिर्हुतबाजे वा झाबाजे - हिन्दू मन्दिर पुजारी वर्ग, मैथिल ब्राह्मण का वंशज, यस अनतर्गत थर - मिश्रझा

२५. छथरी/क्षत्रीय-श्रेष्ठ - मल्लकाल का हिन्दू क्षत्रीय शाही र भारदारी समुह, सरकारी/प्रशासनिक र जमिनदारी व्यवसायलाई आफ्नो पेशा मान्दै आएका, यस अनतर्गत उप-कूल - मल्ल, प्रधान, मास्के, अमात्य, राजभण्डारी, राजवैद्य, कायस्थ, हाडा, जोछेँ, राठौर, प्रधानांग, नेमकुल, मुनंकमी, मुलेपती, रघुवंशी, राजवंशी, पात्रवंशी, छथरी-तह का श्रेष्ठ र अरु कयौं थरहरु

२६. जोशी - ज्योतिशी गर्ने, साईत कुण्डली बनाउने, छथरी-श्रेष्ठ अनतर्गत बिहे-बारी चल्ने

२७. आचाजु वा कर्माचार्य - हिन्दू तान्त्रिक मन्दिर पूजारी, छथरी-श्रेष्ठ अनतर्गत बिहे-बारी चल्ने

२८. पाँचथरी-श्रेष्ठ - छथरी/क्षत्रीय नभै वैश्य-वर्ण तह का श्रेष्ठ, व्यापार र प्रशासन आफ्नो पेशा मान्दै आएका, कयौं थर तर प्राय श्रेष्ठ लेख्ने, ठिमी, भक्तपुर, बनेपा, धुलिखेल, दोलखा, नुवाकोट, आदी का श्रेष्ठ

जनसङ्ख्यासम्पादन

विं. सं २०४८ सालको जनगणना अनुसार ५ लाख १९ हजार १ सय १५ पुरुष र ५ लाख २१ हजार ९ सय ७५ महिला गरी १० लाख ४१ हजार ९० नेवाः जनसङ्ख्या रहेको छ । त्यसैगरि वि. सं. २०५८ सालको जनगणनाअनुसार १२ लाख ४५ हजार २ सय ३२ जनसङ्ख्या उल्लेख छ । नेवाः समुदायको आफ्नै भाषा र लिपि रहेको छ । नेपालभर नेपालभाषा बोल्नेहरूको संख्या ६ लाख ९० हजार ८ रहेको आँकडाले देखाएको छ । शिक्षाको क्षेत्रमा नेवाः जाति अन्य जाति भन्दा निकै अगाडि छन् । नेवाः समुदाय शिक्षित र शहरिया समुदाय भएकै कारण यिनीहरु हरेक क्षेत्रमा अघि छन् । मुख्यतया जहाँनिया राणा शासन देखि नेवाःहरूले मुख्य पेशाका रूपमा व्यापार र व्यवसायलाई अंगाल्दै आएका छन् । जहाँ शहरीकरणको प्रभाव परेको छ त्यहाँ नेवाःहरूको वर्चस्व कायम छ भन्दा अत्युक्ति हुँदैन; अर्थात नेपाल राष्ट्र भित्र जहांजहाँ नेवाःहरू पुगे त्यहाँ व्यापार -व्यवसाय सहित शहरबस्तीको स्थापना र विस्तार हुँदै गएको पाईन्छ ।

संस्कृतिसम्पादन

जंकोसम्पादन

बुढाबुढी भएपछि नेवाःहरूको जंको गर्ने चलन छ। सकेसम्म परिवार, समाज र देशको लागि धेरै काम गरिसकेको हुँदा त्यसै कार्यको उच्च मूल्यांकन गरी सम्मान गर्ने र उसको सुस्वास्थ्यको कामना गर्दै लामो आयु होस् भन्ने मनसाय राखी उनीहरूबाट आशिर्वाद थाप्ने हो। साँस्कृतिक मान्यता अनुसार मनुष्य यति लामो आयु बाँचेपछि देवता सरह भएको मानिन्छ र त्यसै अवसरमा यो कार्यक्रम गरिन्छ। त्यसैले जंको गरिसकेका बुढाबुढीहरूले भनेको मान्ने कोसिस गरिन्छ। उनीहरूलाई चित्त दुख्ने काम गरिंदैन। बुढा भएसम्म बुढाको उमेर अनुसार साइत हेरेर दुबैको जंको गर्छ। बुढी मात्र रहे उनकै उमेर अनुसार साइत हेरेर जंको गर्छ। तर पहिला बुढासँगै जंको गरिसकेको छ भने फेरि गर्नु पर्दैन। थरीथरीको बुढाजंको हरू यसरी मानेर आएको देखिन्छ:

  • क) भीम रथारोहण (पहिलो जंको )- उमेर: ७७ साल, ७ महिना, ७ दिन, ७ घडी, ७ पला।
  • ख) चन्द्र रथारोहण (दोश्रो जंको )- जन्म भएर एक हजार पटक चन्द्रमा दर्शन हुने बेलाको साइतमा ८२ वर्षको उमेरमा लाख बत्ती बालेर गरिन्छ।
  • ग) देव रथारोहण (तेश्रो जंको )- उमेर: ८८ साल, ८ महिना, ८ दिन, ८ घडी, ८ पला। यस बेला जंको गरिएको बुढा वा बुढीलाई रथयात्रापछि झ्यालबाट भित्र्याइन्छ।
  • घ) दिव्य रथारोहण (चौथो जंको )- उमेर: ९९ साल, ९ महिना, ९ दिन, ९ घडी, ९ पला। यस बेला सम्म बाँचिरहने बुढाबुढीलाई नयाँ घ्याम्पोमा राखेर घ्याम्पो पूजा गरिन्छ। त्यसपछि फेरि बच्चा जन्मेको भावले घ्याम्पो फुटालेर निकाल्ने गरिन्छ । यसबेला पांग्रा भएको रथमा राखेर घुमाउन लैजान्छन् । नाति पतातिहरूले रथ तान्ने र छोरा छोरी ज्वाँईहरूले लावा अबिर छर्कने गर्छ । यस बेलाको रथलाई दिव्यरथ भन्दछन्।
  • ङ) महादिव्य रथारोहण (पाँचौं जंको )- उमेर: १०८ वर्ष, ८ महिना, ८ दिन, ८ घडी, ८ पला । अष्टमा टेकेको बेला केही अनिष्ट नहोस् भन्ने कामना गरेर यसबेलाको रथलाई महादिव्य रथ राखिएको छ।

नेवाः संगीतसम्पादन

नेवाः जातिको काहाँ, क्वताः, धिमय्, प्वङ्गा, कान्तां दबदब, पैताखिं, मुहालि, कुकुवय्, पछिमा, तिन्चु, भुस्याः, वयः, खिं, कोंचा खिं , आदि प्रमुख बाजाहरू हुन्।

नेवाः वास्तुशास्त्रसम्पादन

नेवाः ललितकलासम्पादन

नेवाः समुदायमा ललितकलाको आफ्नै पहिचान रहेको पाइन्छ । तिब्बती चित्रकलाका रूपमा प्रख्यात थाङ्काको उत्पत्ति वास्तवमा नेवाः ललितकला अन्तर्गत विकास भएको पौभाः चित्रकला हो । सुरूमा यो पौभाःको सिर्जना काठमाडौं उपत्यकामा मात्रै हुन्थ्यो र तिब्बती बौद्ध समुदाय काठमाडौंबाट नै आयात गर्दथे । तर कालान्तरमा नेवाः कलाकारहरूबाट तिब्बती कलाकारहरू प्रशिक्षित भए र पछि तिब्बतमा नै यसको सिर्जना हुन थाल्यो ।[2]

नेवाः परिकार

बजि (चिउरा), व: (बारा), खें (अण्डा), मुस्या (भटमास), छोयला, कचिला, त:कुला, डायकुला, चतांमरी, योमरी, चाकु, अयला (रक्सी), थों (जाँड)आदी धेरै प्रकार छन्। नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवाः समुदायमा नै छन्। नेवाःहरू जन्मदेखि मृत्यु पश्चातसम्म र पर्व अनुसारको खाना प्रकार अलग अलग तयार गर्दछन्।

नेवाः चाडपर्व र जात्राहरूसम्पादन

नेवाः समुदायमा चाडपर्व गथामुग:बाट शुरु भई सिथी नख: पछि अन्त हुन्छ। गथामुग: पछि गुन्हुपुन्हि (गाइजात्राको ९ दिन), मोहनी (दशैं), स्वन्ती वा न्हुदँ (तिहार), माघे संक्रान्ती, श्रीपंचमी, सिलाचह्रे (शिवरात्री), चैत्रदशैं, पाँहाचह्रे (नेपालीमा घोडेजात्रा), भोटोजात्रा, बुद्धजयन्ती, आदी मुख्य पर्वहरू मनाउने गर्दछन्।

जात्राहरू आफ्नो स्थानीय अनुसार अलग अलग मनाउने गर्दछन् । काठमाडौँमा इन्द्रजात्रा, सेतो मच्छेन्द्रनाथ जात्रा, पाटनमा रातो मच्छेन्द्रनाथ जात्रा, भक्तपुरमा बिस्केट जात्रा, कीर्तिपुरमा सातगाउँले जात्रा, हाँडीगाउँ जात्रा, खोकनामा सिकाली जात्रा, बनेपामा चण्डेश्वरी जात्रा, फर्पिङ्ग जात्रा, आदी जात्राहरू मनाउने गर्दछन् ।

नेवाः नाचसम्पादन

नेवाः समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् । प्राय नाच देवीदेवताका हुन्छन् । यी मध्ये लाखे नाच धेरै रोचक हुन्छ । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा काठ्माडौँमा देखाइन्छ । नवदुर्गा नाच भक्तपुर लगायत बनेपा, नाला, धुलिखेल, पनौती, साँगा, देवपत्तन आदि ठाउँमा देखाइन्छ ।

नेपालभाषासम्पादन

नेपालभाषा नेवाःहरूको मातृभाषामात्र होइन यो भाषा उपत्यकाका राज्यहरूमा प्रचलनमा रहेको राष्ट्रिय भाषा हो यसलाई नेपालभाषा पनि भनिन्छ । नेपालभाषा तिब्बत बर्मेली भाषा परिवारमा पर्ने एक भाषा हो । नेपालभाषालाई नेवाः बोलीचालीको भाषामा नेवाःभाय् भन्छन् जसको अर्थ नेवाः भाषा हो । तर, नेवारी भन्ने शब्द यो समुदायले मन पराउँदैन । कीनकी नेवाः जात नभएर समुदाय हो । जसरी तामाङ समुदायको भाषालाई तामाङी, गुरूङ समुदायको भाषा गुरूङी हुँदैन, त्यसरी नै नेवाः समुदायको भाषा नेवारी हुँदैन भन्ने मान्यता यस समुदायको छ । जातको नाम नेवार, नेवार भाषाको आैपचारिक नाम नेपालभाषा भनेर बुझ्नु पर्दछ । यस भाषामा शब्दका भण्डार छन्। क देखि ज्ञ सम्म क का कि की ... एक एक अक्षर समेतको अर्थ रहेका छन्। त्यस्तै १ देखि ९ सम्म र १०, २०, ३०, ४०, ५० आदि भन्न आए पछि सबै भन्न सक्नेछ। नेपाली भाषामा जस्तो अमिल्दो छैन। अङ्ग्रेजीमा समेत ११ देखि १९ सम्म मिल्दैन। तर नेपालभाषामा मिल्ने भएकोले अझ बैज्ञानिक देखिन्छ। जस्तो १(छि), २नसि, ३स्व, ४ पि, ५ न्या, ६ खु, ७ न्हस, ८ च्या, ९ गु, १० झि(सान्ह), ११ झिछ(सान्हछि), १२ झिनि, १३ झिस्व, १४ झिप्य, २० नी, २१ नीछि, ३० स्वी, ३१ स्वीछि, आदी। अनि साइज अनुसारको गणना गर्ने गरिन्छ । गोलो आकारको गणना गर्दा "ग" जोडेर "छग", "निग", "स्वग", आदी । लाम्चो आकारकोमा "पु" जोडेर "छपु", "निपु", आदी । यसको धेरै शब्दहरू जापानीज र चिनिया भाषासँग मिल्दो जुल्दो छन् ।

यो पनि हेर्नुहोस्सम्पादन


सन्दर्भ सामग्रीसम्पादन

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np 


2. बसन्त महर्जन । २०७३ । खादा बहिष्कारः यस्तो पनि राष्ट्रवाद ! । हिमाल साप्ताहिक खबरपत्रिकाः २-८ असोज , पृ. ३६