प्रधान (Pradhan) नेपाल को नेवार समुदाय अन्तर्गत पर्ने छथरीय/छथरी (क्षत्रिय को नेपाल भाषा मा अपभ्रंश रुप) जात मध्य को एक उच्चस्तरीय भारदारी कूल/थर हो।

आधुनिक नेपालमा प्रधानहरु लाई मल्ल कालिन कर्नाट, रघुवंशी, र बैंस राजपूतहरु को वंशज मानिन्छ। उनिहरु मल्लकाल को १३ औँ देखी १६ औँ शताब्दीमा उत्तर र पश्चिम भारत बाट नेपाल छिरे र यहाँं आएर मल्ल राजवंश सँग सम्वन्ध गाँसी प्रधान, प्रमान, प्रधान महापात्र (पमा:) को दर्जा पाई मल्ल वंश का प्रधान सेनापती वा प्रधान मन्त्री को हैसियतमा काम गरे। प्रधानहरु मध्य काठमाडौं र पाटनका गरी दुई परम्परागत वंश, क्रमश - थबही (ठमेल) प्रधान र पाटन (मुन्सी र धालाछेँ) प्रधान - ख्याती प्राप्त छन। नेवार समुदाय मा यिनिहरु क्षत्रिय/छथरी वर्ण-जात अन्तर्गत मध्य को पनि उच्चतम "ठाकुर" (थकुर/थकु/ठकुरी) श्रेणी मा पर्छन जस अन्तर्गत मल्ल राजपरिवार र उनका नाता-गोता र भाई-भारदारी का सन्तान पर्दथ्यो। नेपालको एकीकरण पस्चात आफ्नो अस्ली पहिचान लुकाउन भक्तपुरका धेरै छथरीय र मल्लहरु स्वयमले आफ्नो कूल प्रधान वा प्रधानांग मा परिवर्तन गरे र नेपाल भर छरिए। ऐतिहासिक रुपमा छथरीय अन्तर्गत पर्ने अरु कूलहरु जस्तै मल्ल, जोशी, राजभण्डारी, राजवंशी, पात्रवंशी, हाडा-राठौर, अमात्य, कर्माचार्य, कायस्थ, आदी सँग यिनको अन्तर्विवाह हुन्छ। नेवार जाति प्रणालीले यिनिहरूलाई क्षत्रिय वर्ण अन्तर्गत स्तरीकृत गर्दछ, र १८५४ मुलुकी ऐन स्तरीकरणले छथरीय नेवारहरूलाई जनै धारण गर्ने तागाधारी समूह (द्विज जाती) मा राखेको छ। सामन्य रुपमा नेपाल का प्रधानहरु तीन गोत्र मा विभाजीत भएको देखिन्छ - काश्यप, माण्डव्य, मानव।

भारत को सिक्किम, पश्चिम बंगाल, असम राज्य र भुटानका केही अंशहरू मा पनि प्रधानहरु को उपस्थिती देखिन्छ। यिनीहरु काठमाडौं उपत्यकाबाट मुख्यतया १८ औं शताब्दी देखि बसाई सरेर आएका हुन। यहाँ को प्रधान को मुख्य विशेषता भनेकै बसाई सरेर आएका आप्रवासी माथिल्लो र तल्लो जात का नेवार सबैले 'प्रधान' पदलाई आफ्नो एकल जाति-नामको रूपमा अपनाए, जबकी नेपालमा प्रधान लेख्ने इतिहास केवल काठमाडौं र पाटन को माथी उल्लेखित प्रख्यात कूलहरु मा मात्र पाईन्छ। यही कारणले गर्दा काठमाडौं का प्रधानहरूले सिक्किम र दार्जिलिंगका प्रधानहरूको जात-स्थितिलाई शंकाको साथ हेर्छन् र उनीहरूसँग वैवाहिक सम्बन्धलाई टाढा राख्छन्। सिक्किमका केहि प्रचलित प्रधानहरूमा व्यापारी चन्द्रवीर प्रधान (कायस्थ), साहित्यकार पारसमणि प्रधान (शाक्य), नेपालका प्रथम प्रधान न्यायाधीश हरिप्रसाद प्रधान, बलिउड सिनेमाटोग्राफर बिनोद प्रधान, फुटवलर सञ्जु प्रधान, १९७४ एडी प्रमुख गायक एड्रियन प्रधान, अभिनेत्री मेनुका प्रधान, पूजना प्रधान, उत्तम प्रधान लगायतका रहेका छन। भारतको सकारात्मक आरक्षण कार्यनीतिको सन्दर्भमा भारत को नेवार/प्रधानहरुलाई सिक्किम बाहेक सम्पूर्ण भारतमा सामान्य (General) समुह मा वर्जित गरिएको छ भने सिक्किममा नेपाली मूलको सम्पूर्ण जनसंख्यालाई जस्तै नेवार/प्रधानहरूलाई अन्य पिछडिएको वर्ग (Other Backward Classes) को दर्जा दिईन्छ। सिक्किममा बाहुन, क्षेत्री, र नेवार लाई OBC वर्गीकरण गरिएको छ भने बाँकी का सम्पूर्ण नेपाली बोल्ने जनसंख्या लाई अनुसूचित जाति (Scheduled Caste) वा जनजाति (Scheduled Tribe) अन्तर्गत वर्गीकृत गरिएको छ।