बागलुङ नगरपालिका

नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चलको बागलुङ जिल्लामा अवस्थित एक नगरपालिका हो । वि.सं. २०५३ साल माघ १८ मा जिल्लाको पुर्वी क्षेत्रमा कालीगण्डकी नदीको तटवर्ति इलाकामा रहेका तत्कालिन कालिका, मुलपानीलहरेपिपल गाविसलाई समायोजन गरी घोषणा गरिए पनि २०५४ सालको स्थानीय निर्वाचनबाट यसको गठन भएको थियो । बागलुङ नगर ११ वटा वडामा विभाजित थियो । यो नगरपालिका काठमाडौंदेखि पश्चिम २७२ किलोमिटर दूरीमा रहेको धौलागिरी अञ्चलको एकमात्र नगरपालिका थियो । स्थापनाको समयमा १९.२३ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको नगरपालिकामा २०६८ को राष्ट्रिय जनगणना अनुसार कुल जनसङ्ख्या २९,३६० मध्ये महिला संख्या १५,८०४ र पुरुष संख्या १३,५५६ थियो । उक्त तथ्यांक अनुसार नगरको जनसङ्ख्या वृद्धिदर २.८ प्रतिशत थियो । नगरपालिकाको स्थापना कालदेखि लगातार भाडाको घरवाट दैनिक सेवा प्रवाह हुंदै आएकोमा २०७० साल वैशाख १२ गते देखि नगरपालिकाले आफ्नै कार्यालय भवनवाट सेवा प्रवाह गरिएको छ । नगरपालिकाको पहिलो नेतृतव दिने व्यक्तित्वमा ऋषिराम सापकोटा हुनुहुन्छ । उहाँले २०५४ देखि २०५८ सम्म नेतृत्व प्रदान गर्नुभएको थियो । उहाँपछि नगरप्रमुखका रूपमा विदुर खड्का र उपप्रमुखका रूपमा चित्रबहादुर सुवेदीले नेतृत्व प्रदान गर्नुभएको थियो ।

बागलुङ

Baglung
देश नेपाल
राज्यप्रदेश नं. ४
जिल्लाबागलुङ जिल्ला
स्थापना१८ माघ २०५३ र २७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • प्रमुखजनक पौडेल (एमाले)
 • उपप्रमुखसुरेन्द्र खड्का (राप्रपा)
 • कार्यकारीरमेश ढकाल
क्षेत्रफल
 • जम्मा९८.०१ किमी (३७.८४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५७,८२३
 • घनत्व५९०/किमी (१,५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-६८
केन्द्रसाविकको बागलुङ नगरपालिकाको कार्यालय
वेबसाइटbaglungmun.gov.np

वि.सं. २०७३ मा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकको बागलुङ नगरपालिका र साविकका मालिका, पाला गाविसको वडा नं. ६ देखि ९ सम्म, सिँगाना गाविसका वडा नं. १ देखि ५ र ७ देखि ९ सम्म, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, पैयुँपाटानारायणस्थान गाउँ विकास समितिहरूलाई समेटेर बागलुङ नगरपालिका बनाइएको हो ।[१] यस नगरपालिकाको कूल जनसङ्ख्या ५७,८२३ रहेको छ । यसको क्षेत्रफल ९८.०१ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको बागलुङ नगरपालिकाको कार्यालयमा राखिएको छ । यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको सिमाना पूर्वमा पर्वत जिल्ला, पश्चिममा काठेखोला गाउँपालिका, उत्तरमा म्याग्दी जिल्ला तथा दक्षिणमा जैमिनी नगरपालिकासम्म फैलिएको छ ।[२][३]

पर्वतम्याग्दी जिल्लासँग जोडिएको बागलुङ नगरपालिकामा बागलुङ कालिका मन्दिर, जङ्गेश्वर महादेव मन्दिर, निरायघाट, आदि यहाँका प्रमुख धार्मिक स्थल हुन् । कारीकोट मुख्य पर्यर्टकीय स्थल हो । बागलुङ बजारको अवलोकन गर्न हालै बागलुङ भ्यु टावर निर्माण गरिएको छ । भौगोलिक दृष्टिकोणले झण्डै मध्य नेपालमा पर्ने र प्रशासनिक दृष्टिकोणले पश्चिामाञ्चलमा पर्ने पहाडी जिल्ला बागलुङको पुर्वी इलाकामा प्रसिद्ध कालीगण्डकी र काँठेखोलाको संगम इलाकामा अवस्थित छ बागलुङ नगरपालिका । यो नगरपालिका समुन्द्री सतहबाट ८०५ मिटरदेखि करिव २,१५० मिटर सम्मको उचाईमा अवस्थित छ । बागलुङ नगरमा ऐतिहासिक महत्त्वका ताराजलकोट, कारिकोट, माझकोट, राँयकोट, संसारकोट, आदि कोटहरू रहेका छन् । त्यस्तैगरी धार्मिक तथा पर्यटकीय महत्त्वका कालिका भगवती मन्दिर क्षेत्र, मालिका भगवती मन्दिर क्षेत्र, निराघाट क्षेत्र र कैलाम पोखरी क्षेत्र रहेका छन् । यस क्षेत्रको प्रसिद्ध कालिका भवगती मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल पक्ष र चैत्र शुक्लपक्षको नवदुर्गा अवधिमा भक्तजनहरूको ठुलो घुँइचो लाग्दछ भने चैत्र शुक्लपक्षमा कालिका मन्दिर परिसरमा चैते दशैं मेला लाग्दछ । नगरपालिकामा ब्राह्मण, क्षेत्री, नेवार, मगर, सुनार, कामी, सार्की, दमाई, माझी लगायतका जातजातिका मानिसहरूको बसोबास छ । बागलुङ नगरपालिका कालीगण्डकी नदी र किनारमा पाइने शालीग्रामले पनि प्रसिद्ध छ । धौलागिरी हिमालको काखमा रहेको बागलुङ बजार धौलागिरी अञ्चलको अञ्चल सदरमुकाम हो । विभिन्न ठाउँबाट यहाँ व्यापार व्यवसाय सञ्चालन गर्न आउने मानिसको संख्या धेरै छ ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य लिङ्कहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन