योगमाया न्यौपाने
योगमाया न्यौपाने (वि.सं. १९२४ - वि.सं. १९९८) पूर्वी नेपालको भोजपुर जिल्लामा जन्मिएकी एक नेपाली धार्मिक गुरु, महिला अधिकारकर्मी तथा कवयत्री थिइन्।[१] एक आन्दोलनकर्ताको रूपमा उनले समाजका विकृतिहरूलाई परास्त गर्नमैै आफ्नो जीवन लगाएकी थिइन्। योगमाया नेपाली साहित्यमा क्रान्तिकारी नारीहरूकी प्रतीक पनि हुन्। बूढी औँठाको ल्याप्चेका भरमा आफ्नो हस्ताक्षर दिने योगमाया नै त्यस्ती आशुकवयित्री हुन् जसले जे देख्यो त्यही फररर भन्न र जे भेट्यो त्यही विषयमा कविताबाट बोल्न र जे सुन्यो त्यही विषयलाई कविताबाटै बिट मार्न सक्षम थिइन्। न्यौपानेलाई नेपालको समकालीन कविहरू मध्येमा लिइन्छ जसमा उनले उनको कविताहरूको एकमात्र प्रकाशित पुस्तक सर्वार्थ योगवाणीलाई उनको सबैभन्दा महत्त्वपूर्ण योगदान मानिन्छ।[२]
योगमाया न्यौपाने | |
---|---|
जन्म | मझुवाबेसी, नेपालेडाँडा, भोजपुर, नेपाल | अप्रिल १, १८६७
मृत्यु | ५ जुलाई १९४१ अरुण नदी, भोजपुर, नेपाल | (उमेर ७४)
योगमायाको कविताहरूले नेपालमा राणा शासन भारतमा ब्रिटिस राजको समयलाई वर्णन गर्दछ। त्यस समयको साँस्कृतिक र राजनीतिक उत्पीडनबाट चित्रित उनको लेखनशैली उच्च स्तरको र खारिएको थियो। धार्मिक गुरुको रूपमा हिन्दू दर्शनमा विशेष ध्यानको बाबजुद पनि उनका कविता महिला र उत्पीडित समुदायहरूको अधिकारमा आधारित थिए जसकारण उनले निकै लोकप्रिय हासिल गरेकी थिइन्। उनको जीवनको अन्तिम क्षणमा राणा शासकको आज्ञा अनुसार उनको कृतिहरूलाई निषेधित गरिएको थियो भने उनलाई कडा निगरानीमा राख्न भनिएको थियो। यतिहुँदा हुँदैपनि उनले नेपालमा नै रहने निर्णय लिएकी थिइन्। योगमायालाई वि.संं १९७५ मा नेपालको पहिलो महिला समितिको स्थापना गरेको र यसले वि.सं १९७७ सालमा नेपालमा सती प्रथामाथि रोक लगाउनेको श्रेय दिइन्छ।[३]
योगमायाले सन्यास लिएर नेपाल फर्किएपछि उनको सक्रियतावाद सुरु भएको थियो। सरकारले योगमाया र उनको समर्थकहरू प्रतिको अत्याचार र आफ्नो भ्रष्ट व्यवहारलाई सुधार गर्नमा आनाकानी गरेको कारण योगमाया र उनको ६७ अनुयायीहरूले वि.सं १९९८ मा अरुण नदीमा हामफालेर नेपालको इतिहासको सबैभन्दा ठूलो जलसमाधि गरेका थिए।[४] वि.सं २०७२ सालमा उनको योगदानहरूका लागि नेपाल सरकारले उनको नाममा एक डाँक टिकट जारी गरेको थियो।
जीवनी
सम्पादन गर्नुहोस्प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्योगमायाको जन्म वि.सं १९२४ मा नेपालको भोजपुर जिल्ला अन्तर्गत पर्ने मझुवाबेसीको नेपालेडाँडा एक ब्राह्मण परिवारमा भएको थियो। उनी बुबा श्रीलाल उपाध्याय न्यौपाने र आमा चन्द्रकला न्यौपानेको तीन सन्तान मध्ये एक र एकमात्र छोरी थिइन्। तत्कालीन समयमा प्रचलित ब्राह्मण रीतिहरूको अनुसार सात वर्षको उमेरमा योगमायाको मनोरथ कोइरालासँग विवहा भएको थियो। सानै उमेरमा विवहा भएका कारण नयाँ घरमा समायोजन हुन निकै कठिन भएको थियो भने उनी घरेलु हिंसाको पनि शिकार भएको मानिन्छ। घरेलु हिंसाको शिकार बनेकी योगमायाले किशोर अवस्थामा घरलाई छाडेर माइतीघर गएकी थिइन्। माइतीघरमा फर्किएकी योगमायाको परिवारले र समुदायले उनलाई अस्वीकार गरेका थिए भने उनीहरूले उनलाई श्रीमानकै घर जान भनेका थिए। उताबाट पनि उनलाई घर प्रवेश गर्न नदिएपछि माइतीले उनी र उनकी छोरीलाई घरमा बास दिएका थिए।
योगमायाका श्रीमान मनोरथ कोइरालाको बारेमा दुई फरक धारणा रहेका छन्। लोकप्रिय रूपमा वर्णन गरिएका संस्करणहरूमा उनको १० वर्षको उमेरमा मृत्यु भएको र योगमाया बाल विधवा भएको उल्लेख गरिएको छ जसले उनको विधवा स्थितिलाई ससुरालीको दुर्व्यवहारको कारणको रूपमा जिम्मेवार ठहराउँदछ। यद्यपि योगमायाको वरिपरिका केही आधुनिक साहित्यहरूमा उनी वास्तवमा कहिल्यै बाल विधवा थिइनन् र योगमाया घरबाट भागेपछि उनका श्रीमानले दोस्रो विवहा गरेका थिए भनेर उल्लेख गर्दछ।[५]
असममा प्रवास तथा पुनर्विवाह
सम्पादन गर्नुहोस्किशोरावस्थाको मध्यतिर तत्कालीन अति रुढिवादी र दमनकारी ब्राह्मण समाजमा एकल महिला भए तापनि योगमायाले गोप्य रूपमा कँडेल थर भएका एक छिमेकी ब्राह्मण केटासँग प्रेम सम्बन्ध गाँसेकी थिइन्। हिन्दू समाजमा पुनर्विवाह वा विधवा विवाहलाई सकारात्मक रूपमा नलिइएकाले योगमायाले भोजपुरस्थित आफ्नो घरबाट भाग्ने निर्णय गरिन् र पछि उनले असममा आफ्नो प्रेमीसँग दोस्रो विवाह गरेकी थिइन्। एक दशकभन्दा बढी समयसँगै बसेपछि योगमायाले आफ्नो दोस्रो श्रीमनबाट छुट्टीएर छोरीलाई छोडेर गएकी थिइन्। केही स्रोतहरूले उनको दोस्रो श्रीमानको मृत्यु भएको उल्लेख गरेका छन् जबकि अन्यले यो जोडी वास्तवमा सहमतिमै छुट्टीएको भनेर उल्लेख गरिएको छ। केही साहित्यहरूमा उनले आफ्नो दोस्रो श्रीमानको मृत्युपछि डोटेल थर गरेका व्यक्तिसँग तेस्रो विवाह गरेको उल्लेख गरिएको छ। योगमायाले दुई छोरी जन्माइन् कि एक छोरी जन्माइन् भन्ने विषयमा इतिहासकारहरूको मत फरकफरक रहेको छ तर नैनकला न्यौपानेको उनको छोरीको भएको जानकारी अभिलेखहरूमा पाइएको थियो।[६][७]
सन्यास र नेपालमा फिर्ती
सम्पादन गर्नुहोस्योगमाया विवाह र सांसारिक मोहलाई त्याग गरी एक फरक किसिमको जीवनको सुरुवात गर्ने र बाँकी जीवन एक तपस्वी भएको बिताउने निर्णयमा पुगेकी थिइन्। त्यस समयमा हिन्दू समाजमा पुरुषहरू तपस्वी हुनु सामान्य कुरा भए तापनि महिलाहरूको लागि यो निकै दुर्लभ थियो। त्यसपछि योगमाया छोरी नैनाकलालाई लिएर मझुवाबेसीस्थित आफ्नो गाउँ फर्किएकी थिइन् र छोरी नैनाकलालाई दाइ अग्निधर न्यौपाने र भाउजू गङ्गाको हातमा सुम्पिएर आफ्नो सबै जिम्मेवारी त्याग गरी एक तपस्वीको जीवन ग्रहण गरेकी थिइन्। यसै क्रममा योगमायाले आफ्ना धार्मिक कविताहरू रचना गर्न पनि सुरु गरेकी थिइन्। योगमाया आसाममा बस्दा भारतभरि अपार लोकप्रियता कमाएका सुधारवादी हिन्दू नेता दयानन्द सरस्वतीको सिद्धान्तबाट निकै प्रभावित भएको विद्वान्हरूले औँल्याएका छन्।[७]
योगमायाले पछि नेपालका विभिन्न भागहरूमा आफ्नो तपस्वी यात्रा सुरु गरेकी थिइन्। आफ्नो यात्राको क्रममा उनी स्वर्गद्वारी महाप्रभु अभयानन्द द्वितीय सहित धेरै प्रसिद्ध धार्मिक नेताहरूको सम्पर्कमा आइन् जसले उनको भक्तिको उच्च प्रशंसा गरे र यसरी उनलाई जोशमणि सन्त परम्परा अन्तर्गत योगिक आध्यात्मिक शिक्षाको साथ मार्गदर्शन गरेका थिए। यात्रापछि योगमायाले आफ्नो गाउँ फर्केर ध्यान साधनाको जोडतोडका साथ अभ्यास गर्ने निधो गरेकी थिइन्।[७]
मझुवाबेसीमा फिर्ती, लोकप्रियता र स्थानीय सामन्तहरूको विरोध
सम्पादन गर्नुहोस्योगमायाले साधनाको क्रममा केही अत्यन्त कठिन ध्यान विधिहरूको अभ्यास गरेकी थिइन् जसमा ग्रीष्मऋतुको समयमा आगोको नजिक दिनमा ध्यान गर्नु र त्यसपछि जाडोको समयमा चिसो गुफाभित्र बाक्लो लुगा नलगाई ध्यान गर्नु समावेश थियो। कहिलेकाहीँ उनी उपवास बस्दा पनि ध्यानमा बस्ने र धेरै हप्तासम्म पानी मात्र पिएर ध्यनमा लागिरहन्थिइन्। अरू बेला उनी आफ्ना कविताहरू सुनाउने मानिसहरू र तिनका नातेदारहरूसँग भेट्दथिइन्। मझुवाबेसीका मानिसहरूले कहिल्यै नसुनेको वा चिनेको कुनै पनि कुराको विपरीत उनका कविताहरूले धेरै स्थानीयहरूलाई प्रभावित गर्दा उनको अनुयायीहरू निरन्तर बढ्न थालेका थिए। उनका एक चेला भीमबहादुर बस्नेतले पछि योगमायाका लागि एउटा झुपडी बनाए र उनका कविताहरू सङ्कलन गरेर पछि सिक्किमबाट प्रकाशित गरेका थिए।
योगमायाले आफ्नो पूर्व तपस्वी जीवनमा भोगेका त्रासदी र विभेदले नेपाली हिन्दू समाजमा विद्यमान अन्यायप्रतिको उनको दृष्टिकोणलाई धेरै हदसम्म परिभाषित गरेको छ। हिन्दू आध्यात्मिक दर्शनको अनुयायी र उपदेशक भए तापनि तत्कालीन पितृसत्तात्मक समाज महिला, तल्लो जात समूह र नेपालको सन्दर्भमा निम्न आर्थिक वर्गप्रति पनि अन्यायपूर्ण रूपमा विभेदकारी रहेको उनको अनुभव थियोे। उनका कविताहरूले भोजपुर आसपासका जनतालाई यस्तो अन्तर्निहित भेदभावको बारेमा सचेत गराउने प्रयास गरेको थियो जुन ठूलो सङ्ख्यामा स्थानीयहरूको साथ प्रतिध्वनित भएको थियो। उनका कविताहरू प्रकाशित भएपछि दार्जिलिङ र काठमाडौँसम्मका मानिसहरू उनका भक्त बन्न थालेका थिए।
योगमायाको शिक्षाले धेरै विपन्न र राजनीतिक रूपले अलग्गिएका जनसमुदायलाई सहजै प्रभावित गरे तापनि बस्नेत वंशका धेरै स्थानीय सामन्ती जमिन्दारहरू र काठमाडौँका केन्द्रीय प्रशासकहरूका नजिकका स्थानीय मानिसहरूले तपस्वी र उनका अनुयायीहरूलाई आफ्नो पितृसत्तात्मक विशेषाधिकारका लागि खतरा ठानेर तिनको चर्को विरोध गर्न थालेका थिए। अन्ततः उनको सक्रियता र लोकप्रियताले क्रूर राणा शासनका प्रशासकहरूको पनि ध्यान खिचेको थियो।[४][७]
राज्यसँग सम्पर्क
सम्पादन गर्नुहोस्योगमायाले हिन्दू धार्मिक संहिताको पालना गरेको भनी जनमानसमा प्रचार गरे पनि प्रशासन अत्यन्त भ्रष्ट भएको र धर्मको पालना नगरेर सर्वसाधारणहरूलाई दुःख मात्र दिएको बताएकी थिइन्। उनले आफ्ना कविताहरूमार्फत घुसखोरीबाट फस्टाउने र जनतालाई आधारभूत अधिकारबाट समेत बञ्चित गर्ने शासकहरूको खुलेर आलोचना गरेकी थिइन्। योगमायाले आफ्ना एक जना भक्त प्रेमनारायण भण्डारीलाई वि.सं १९८७ सालमा काठमाडौँ पठाएकी थिइन्, जसलाई पछि गएर काठमाडौँका जनताले हरेराम प्रभु भनेर चिन्न थालेका थिए। नेपालका तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले पनि भण्डारीलाई भेट्ने निर्णय गरेपछि उनले सत्यको पवित्र प्रतिज्ञा पालन गर्ने वचन दिएर योगमायालाई सन्देश पठाएका थिए। तथापि, प्रशासकहरूले त्यसपछिका चार वर्षमा आफ्ना कुनै पनि क्रूर र भ्रष्ट मानसिकतालाई सुधार गरेका थिएनन्। काठमाडौँका शासकहरूको व्यवहारबाट दिक्क भएर योगमायाले वि.सं १९९३ मा भण्डारीलाई फेरि एकपटक काठमाडौँ पठाइन् र त्यही वर्षको अन्त्यतिर उनी स्वयं आफ्नी छोरीसहित काठमाडौँ आएकी थिइन्। जुद्धशमशेरले उनको भ्रमणका क्रममा उनलाई स्वागत गरेका थिए जहाँ उनले उनलाई के चाहिएको छ भनेर सोध्दा जवाफमा योगमायाले 'सत्य र न्यायको पवित्र आदेशको भिक्षा' भनेर जवाफ दिएकी थिइन्। प्रधानमन्त्रीले उनलाई फेरि आश्वासन दिए तर उनको समूहले अपेक्षा गरेअनुसार कुनै ठोस सुधार कार्यान्वयन भएको थिएन। त्यसपछि काठमाडौँ उपत्यका छोड्नुअघि योगमायाले आफू र आफ्ना अनुयायीहरूले देशमा हेर्न चाहेका सुधारका बारेमा प्रधानमन्त्रीलाई २४ बुँदे माग व्यक्त गरेकी थिइन्। यसले जुद्धशमशेर र उनका अनुयायीहरूलाई चिन्तित तुल्याउँदा योगमायालाई आफ्नो राजनीतिक संस्थापनका लागि खतराको रूपमा हेर्न थालिएको र त्यसैले त्यही वर्ष उनलाई भोजपुर फिर्ता पठाउने विशेष तयारी गरिएको थियो।[१][७]
राज्यप्रतिको असन्तुष्टि र सामूहिक आत्महत्याको धम्की
सम्पादन गर्नुहोस्वि.सं १९८० को दशकको उत्तरार्धमा राणा शासनविरुद्ध असहमति बढ्न थालेको थियो जुन मुख्यतः भारतको स्वतन्त्रता आन्दोलनबाट प्रभावित थियो। त्यसको प्रतिक्रियास्वरूप तत्कालीन सरकारले विद्रोहीहरू विरुद्ध थप क्रूरता प्रदर्शन गरेको थियो। योगमाया र उनका अनुयायीहरूले माग गरेका सुधारक तत्वहरूलाई राज्यले पटकपटक बेवास्ता गरेको थियो र उनको समूहका गतिविधिमाथि निरन्तर निगरानी राखेको थियो। वि.सं १९९२ मा योगमायाले भ्रष्ट र क्रूर प्रशासनको सार्वजनिक रूपमा विरोध गर्न सुरु गरेको थिइन्। उनले नेपाली समाजमा व्याप्त अन्याय, अन्धविश्वास र भ्रष्ट आचरणको अन्त्य गर्दै नयाँ युगको स्थापना गर्ने समय आएको बताएकी थिइन्। उनले आफू मुक्तिको नजिक पुगिसकेकाले बदलिँदो युगमा फस्न नचाहेको र चाँडै नै ईश्वरको नाममा आफूलाई बलि चढाउन लागेको बताएकी थिइन्।
जुद्धशमशेरले आफ्नो आश्वासन पूरा नगरेको बहानामा योगमायाले अग्नि समाधि नामक अनुष्ठानमा २४० जना इच्छुक भक्तहरूसहित विशाल चितामा बसेर आफ्नो प्राण त्याग गर्ने योजना बनाएकी थिइन् भने यसरी आफ्ना अनुयायीहरूलाई कार्तिक शुक्ल पूर्णिमासम्म आफ्नो समूहलाई दिन सक्ने कुनै पनि प्रकारको भिक्षाका लागि आम जनसमुदायसमक्ष सार्वजनिक आग्रह गर्ने आज्ञा दिएकी थिइन्। उनले धनकुटा जिल्लाका तत्कालीन प्रधान प्रशासक माधवशम्शेर र जुद्धशमशेरलाई पनि भिक्षाका लागि व्यक्तिगत आग्रह पठाएकी थिइन्।
प्रशासकहरूले तिनको आग्रहलाई फेरि ध्यान नदिएपछि योगमायाले आफ्नो बलिदानको मिति वि.संं १९७५ कार्तिक २७ का दिन तोक्दै सार्वजनिक रूपमा यसको लागि तयारी गर्न थालेकी थिइन्।[१][८]
राज्यद्वारा हस्तक्षेप अनुयायीहरूको गिरफ्तारी
सम्पादन गर्नुहोस्तोकिएको दिनमा सामूहिक बलिदान कुनै समयपनि हुनसक्ने डरले जुद्धशमशेरले कात्तिक २८ गते कार्यक्रमस्थलमा करिब ५०० सुरक्षाकर्मी परिचालन गरी कार्यक्रम बिथोल्न आदेश दिएपछि ११ जना पुरुष भक्तहरूलाई धनकुटाको कारागारमा राखिएको थियो भने योगमाया नैनाकलालगायत अग्नि समाधिमा सहभागी अधिकांश महिलालाई भोजपुरस्थित राधाकृष्ण मन्दिरमा थुनिएको थियो। प्रशासकहरूले महिला सदस्यहरूलाई तीन महिनापछि नजरबन्दबाट मुक्त गरे भने अधिकांश पुरुष अनुयायीहरूलाई तीन वर्षपछि अर्थात् वि.सं १९९७ चैतमा जेलबाट रिहा गरिएको थियो।
जलसमाधि
सम्पादन गर्नुहोस्आफ्ना सबै भक्तहरू कारागारबाट छुटेपछि योगमायाले आफ्ना आत्मत्यागी योजनाहरूलाई निरन्तरता दिने निर्णय गरेकी थिइन् भने यसपटक उनले यस्ता योजनाहरूलाई समूहगत रूपमा गोप्य राख्न आदेश दिएकी थिइन्। उनले आत्मत्यागको नयाँ मिति वि.सं १९९८ असार २२ गरेका दिन तय गरिन् जुन पवित्र हरिशयनी एकादशीको दिन थियो र व्यक्तिगत रूपमा भक्तहरूको एक समूहलाई मात्र उनीसँग सामेल हुन अनुमति दिएकी थिइन्। जलसमाधिको धार्मिक अनुष्ठान वि.सं १९९८ असार २१ गतेको रातबाट सुरु भएको थियो र २२ गतेका दिन बिहानको ४ बजे तिर योगमायाले अरुण नदीको किनारमा आफ्नो टाउकोमा तेलको आगोको दियो भएको प्लेट राखेर चट्टानमा चढेर विधिपूर्वक आत्महत्या गरेकी थिइन्। योगमायापछि उनका ६५ जना भक्तहरूले त्यस दिन एकपछि अर्को गर्दै नदीमा हामफाले र अर्को दिन उनका थप दुई जना भक्तहरूले पनि नदीमा हाम फालेर आत्महत्या गरेका थिए। अन्ततः यस घटनाबाट मृत्यु हुनेहरूको कुल सङ्ख्या ६८ पुगेको थियोे।[१][४][९]
पुस्तक र वृत्तचित्र
सम्पादन गर्नुहोस्योगमाया सम्बन्धी पुस्तक पत्रकार लेखनाथ भण्डारीले लेखेका छन्। अस्मिता महिला प्रकाशन गृहको पहलमा पत्रकार लेखनाथ भण्डारी र वैकल्पिक समूह नामक संस्थाको सक्रियतामा सर्वार्थ योगवाणी नामक उक्त पुस्तक प्रकाशित भएको हो। उक्त पुस्तक पहिलो विद्रोहिणी योगमाया, पूर्व प्रकाशित योगवाणीको भूमिका, भजन र तपोभूमि माहात्म्य र पूर्व प्रकाशित योगवाणी गरी तीन भागमा विभाजित छ। निरक्षर योगमायाका कवितात्मक धारणालाई उनकी निरक्षर छोरी नैनकलाले कण्ठ गरेकी थिइन्। तिनै नैनकलाबाट पण्डित प्रेमनारायणले लिपिबद्ध गरिदिएका योगमायाका विचार र भावनालाई योगवाणीको नामबाट चिनिएको हो। उनकै बारेमा वृत्तचित्र भने वि.सं २०६३ मा बनाइएको थियो। प्रथम सुधारवादी महिला योगमाया नाम दिएर वृत्तचित्र सुमन चापागाई र दीपक बान्तवाले तयार पारेका थिए।[१०]
विरासत
सम्पादन गर्नुहोस्योगमाया र उनकी छोरी नैनकला निरक्षर थिए। उनको कविताहरूको सङ्कलन र प्रकाशन उनको साक्षर अनुयायीहरूद्वारा गरिएको थियो।[११] वास्तवमा योगवाणीलाई उनको कविता सङ्ग्रहको एक छोटा अंश मानिन्छ जुन उनले आफ्नो जलसमाधिको वर्षसम्म लेख्न जारीनै राखेकी थिइन्। वि.सं २००७ सालमा राणा शासनको अन्त्यसम्म योगमाया र उनको जलसमाधिसँग सम्बन्धित सबै खबरहरू माथि निषेध लगाइएको थियो। प्रथम बहुदलीय गणतन्त्र काल र नेपाली पञ्चायती व्यवस्थाको समयमा पनि योगमायाको कामहरूको उल्लेखलाई हतोत्साहित गरिएको थियो। कडा निषेधको बाबजुद पनि भोजपुर, खटाङ र सङ्खुवासभामा फैलिएका उनका अनुयायीहरूले उनको कृतिहरूलाई विस्तार गर्न छाडेका थिएनन्। योगमायाको केही महिला अनुयायी टुम्लिङटारको मनकामना मन्दिरमा रहेका थिए।[१२]
पञ्चायत कालमा विदेशीहरूले नेपालमा प्रवेश गर्ने अनुमति प्राप्त भएपछि योगमायाको बारेमा अनुसन्धान सुरु भएको थियो। वि.सं २०३६ सालमा बारबरा निमरी अजिज र माइकल हट जस्ता पश्चिमी विद्वानहरूले योगमायामा आधारित आफ्नो कृतिहरूलाई प्रकाशित गरेका थिए। योगमायासँग सम्बन्धित विषयवस्तुहरूलाई नेपालको विभिन्न विश्वविद्यालयहरूमा समाजशास्त्र, मानवशास्त्र र महिलाशास्त्र जस्ता विधाहरूमा समावेश गरिएको छ।[१३]
योगमायाको कृति तथा कामहरूको प्रचार र उनको सन्यासी जीवनसँग सम्बम्धित नेपालेडाँडा र दिङ्गला जस्ता क्षेत्रहरूको संरक्षणका लागि उनको आफन्त र स्थानीय वासिन्दाहरू मिलेर योगमाया शक्तिपीठ तपोभूमि विकास संस्थाको स्थापना गरेका थिए। वि.सं २०७३ मङ्सिर १ का दिन नेपाल सरकारले नेपालको इतिहासमा योगमायाद्वारा दिइएको योगदानहरूलाई लिएर एक डाँक टिकट जारी गरेको थियो। लेखिका नीलम कार्की निहारिकाले योगमायाको जीवनीमा आधारित उपन्यास लेखेर वि.सं २०७५ सालमा मदन पुरस्कार प्राप्त गरेकी थिइन्।[१४] पछि नेपाली नाटककार टङ्क चौलागाईले सोही उपन्यासमा आधारित एक नाटक लेखेका थिए जसलाई वि.सं २०७६ मा काठमाडौँको एक नाटकघरमा प्रदर्शन गरिएको थियो।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ १.३ भण्डारी, लेखनाथ (२०१३-०७-१३), ""साहसी सुधारक"", कान्तिपुर, योगमाया शक्ति पीठ तपोभूमि विकास तथा विकास संस्थाद्वारा पुष्टि गरिएको मिति, अन्तिम पहुँच २०१६-०३-३१ – कान्तिपुर दैनिकद्वारा।[स्थायी मृत कडी]
- ↑ Nadeau, Kathleen M.; Rayamajhi, Sangita (२०१३-०६-११), Women's Roles in Asia (अङ्ग्रेजीमा), ABC-CLIO, आइएसबिएन 9780313397493।
- ↑ "In focus: Yogmaya, who gave her life fighting Rana atrocities", kathmandupost.ekantipur.com, अन्तिम पहुँच २०१६-०३-३१।
- ↑ ४.० ४.१ ४.२ Pandey, Binda (२०११), Women Participation In Nepali Labour Movement, Nepal: GEFONT-Nepal, पृ: 21, आइएसबिएन 99933-329-2-5।
- ↑ "योगमाया बाल विधवा थिइनन् !", बाह्रखरी (नेपालीमा), मूलबाट २८ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मई २०२०।
- ↑ "NEPAL: Yogmaya Neupane: Nepal's First Female Revolutionary" [नेपाल: योगमाया न्यौपाने: नेपालको पहली महिला क्रान्तिकारी], पिसविमेन (अङ्ग्रेजीमा), ३ फेब्रुअरी २९१५, अन्तिम पहुँच १७ फेब्रुअरी २०१९।
- ↑ ७.० ७.१ ७.२ ७.३ ७.४ न्यौपाने, केदार (२०१४), ओजस्वी नारी योगमाया न्यौपाने र उनको सम्बन्धका आयामहरू (जीवनवृत्त र योगदानका प्रसङ्गहरू), काठमाडौँ: नेपाल स्रष्टा समाज, पृ: 15–21, आइएसबिएन 9937-2-6977-6।
- ↑ Aziz, Barbara Nimri Aziz (२००१), Heir to a Silent Song: Two Rebel Women of Nepal, Kathmandu: CNAS, पृ: 33–72, आइएसबिएन 99933-52-13-6।
- ↑ Administrator, "Lecture Series XLIX—Michael Hutt: 'The Iconisation of Yogmaya Neupane'", www.soscbaha.org, अन्तिम पहुँच २०१६-०३-३१। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-१५ मिति
- ↑ "इतिहासको पानाबाट योगमाया", नेपालगञ्ज न्युज, अन्तिम पहुँच २०१६-०३-३१। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०९-०५ मिति
- ↑ "Women Writers of Nepal | Jagadish Rana", www.jagadishrana.com, अन्तिम पहुँच २०१६-०३-३१। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-०३ मिति
- ↑ Aziz, Barbara Nimri (१९९३), Shakti Yogmaya: A tradition of dissent in Nepal, Zurich: Volkerkundemuseum der Universitat Zurich, पृ: 19–29।
- ↑ "योगमाया - हुलाक सेवा विभागले याेजमायाकाे नाममा यस वर्ष... | Facebook", फेसबुक, अन्तिम पहुँच २०१६-०३-३१।
- ↑ "योगमायालाई मदन पुरस्कार, मानन्धरलाई जगदम्बाश्री", अनलाइन खबर, अन्तिम पहुँच २०७५ भदौ ११।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- योगमाया वृत्तचित्रमा
- योगमाया चलचित्रमा वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति