रामचन्द्र पौडेल (वि.सं. २००१ असोज २९) नेपाली राजनीतिज्ञ र नेपालको तेस्रो निर्वाचित राष्ट्रपति हुन्। यिनी प्रतिनिधिसभाकाे सभामुख, उप प्रधानमन्त्री लगायत नेपाल सरकारको विभिन्न मन्त्रालयकाे मन्त्री भएर कार्य गरिसकेका छन्। उनी तनहूँ २ बाट आम निर्वाचन २०५१ तथा २०५६ मा विजयी हुनुका साथै पहिलोदोस्रो संविधान सभामा विजयी भएका थिए भने तनहूँ १ बाट उनले आम निर्वाचन २०४८ र प्रतिनिधि सभा निर्वाचन २०७९ मा विजय प्राप्त गरेका थिए। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका पौडेल नेपाली कांग्रेसको पूर्व संसदीय दलका नेता थिए।

रामचन्द्र पौडेल
नेपालको तेस्रो राष्ट्रपति
पद बहाली
वि.सं. २०७९ फागुन २८
प्रधानमन्त्रीपुष्पकमल दाहाल
उपराष्ट्रपतिनन्दकिशोर पुन
राम सहाय यादव
पूर्वाधिकारीविद्यादेवी भण्डारी
शान्ति तथा पुनर्निर्माण मन्त्री
कार्यकाल
वि.सं. २०६३ – वि.सं. २०६५ भदौ[१]
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीबाबुराम भट्टराई
पूर्वाधिकारीपद स्थापना
उतराधिकारीसत्य पहाडी
व्यक्तिगत विवरण
जन्म (1944-10-15) १५ अक्टोबर १९४४ (उमेर ७९)
तनहुँ जिल्ला, नेपाल अधिराज्य
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस
जीवन साथीसबिता पौडेल

प्रारम्भिक जीवन

रामचन्द्र पौडेलको जन्म वि.सं. २००१ असोज २९ गते व्यास नगरपालिका, तनहुँ जिल्लामा आमा ऋषिमा र पिता दुर्गाप्रसादको घरमा ब्राह्मण परिवारमा भएको थियो।[२] आफ्नो जीवनको प्रारम्भमा, वि.सं. २०२० देखि २०२४ सम्म उनले संस्कृत महाविद्यालयबाट संस्कृत साहित्यको अध्ययन गरेका थिए।[३] वि.सं.२०२७ बाट उनले नेपाली साहित्यको अध्ययन गरेका थिए।[२] उनले नन्दीरात्रि माध्यमिक विद्यालय, नक्सालबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका थिए।[४] पौडेलले सविता पौडेलसँग विवाह गरेका छन् र उनीहरूको चार छोरी र एक छोरा छन्।[२]

राजनीतिक जीवन

प्रारम्भिक वर्षहरू (वि.सं. २०१७ ― २०४५ )

रामचन्द्र पौडेलले आफ्नो राजनीतिक जीवन सोह्र वर्षको उमेर बाटै सुरु गरेका थिए।[५] वि.सं. २०१७ मा नेपाल संस्कृत छात्र सङ्घको काठमाडौँ अधिवेशनमा पौडेल प्रतिनिधि थिए।[६] वि.सं. २०१७ साल पुस १ गतेमा, राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान, सरकार तथा विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकार भङ्ग गरेका थिए।[६] त्यसपछि कोइरालालाई कैद गरिएको थियो जसको पौडेलले विरोध गर्दै प्रजातान्त्रिक आन्दोलनमा सहयोग गरेका थिए।[६] प्रतिगमन विरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पछिल्लो पटक एक वर्षसम्म नजरवन्दमा परेका थिए।[७]

वि.सं. २०३४ सालमा कांग्रेस तनहुँको सदस्य हुँदै वि.सं. २०३६ मा जिल्ला उपसभापति भएका थिए।[६] वि. सं. २०३७ बैशाख २० गते बहुदलीय व्यवस्था वा सुधारिएको पञ्चायत विषयमा जनमत सङ्ग्रह भएको थियो जसमा पौडेलले कांग्रेस तनहुँ समितिको संयोजक बनेका थिए।[६] वि.सं. २०४० सालमा कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख र वि.सं. २०४३ सालमा कांगेस केन्द्रीय सदस्य बनेका थिए।[६] वि.सं. २०१८ सालमा कांग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको दोषारोपणमा एक महिना जति हिरासत दण्ड पाएका थिए।[६] वि.सं. २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी परेका छन्।[५][६]

मन्त्रीको रूपमा (वि.सं. २०४८ ― २०७९)

वि.सं. २०४८ सालमा भएको आम निर्वाचनमा पौडेल तनहुँ १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। त्यसपछि उनी तनहुँ २ बाट वि.सं. २०५१२०५६ को आम निर्वाचन त्यस्तै वि.सं. २०६४ को पहिलो र २०७० को दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचित भएका थिए।[६] वि.सं. २०७९ मङ्सिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा उनि तनहुँ १ बाट निर्वाचित भएका थिए।[६] वि.सं. २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषदबाट पौडेल तत्कालीन स्थानीय विकास मन्त्री बनेका थिए।[५] यसै क्रममा उनलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा (संसद) गोल्छे सार्कीले कुटपिट गरेका थिए।[५]

उनि वि.सं. २०४९ सालमा कृषि मन्त्री बनेका थिए भने आम निर्वाचन २०५१ पछि प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका थिए।[८] वि.सं. २०५६ सालमा उपप्रधान मन्त्री, सूचना तथा सञ्चारमन्त्री, स्थानीय विकास र गृहमन्त्री बनेका थिए।[८] उनले वि.सं. २०६५ मा कांग्रेस संसदीय दलको नेता बनेर विपक्षी दलको नेताको भूमिका निर्वाह पनि गरेका थिए।[८] माओवादी जनयुद्धको शान्ति प्रक्रियामा पौडेल वि.सं. २०६१ देखि २०६२ सम्म शान्ति समितिको संयोजक रहेका थिए र पछि उनी शान्ति तथा पुनःनिर्माण मन्त्री बनेका थिए।[८][६] विस्तृत शान्ति सम्झौताको लागि उनले मस्यौदा पनि लेखेका थिए।[४]

नेपालको राष्ट्रपति (वि.सं. २०७९ ― हाल)

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट २५,३१८ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।[५] वि.सं. २०७९ मा सम्पन्न नेपालको राष्ट्रपतिय निर्वाचनमा उम्मेदवारी दिएर उनले ३३,७०२ निर्वाचक मण्डलको मत प्राप्त गरी राष्ट्रपतिको चुनाव जितेका थिए।[९] राजतन्त्रको अन्त्यपछि उनी नेपालको तेस्रो राष्ट्रपति बनेका हुन्।[९]

लेखन जीवन

कीर्तिहरू

  • कांग्रेसको सङ्क्षिप्त इतिहास[२]
  • प्रजातान्त्रिक समाजवाद एक अध्ययन (२०४७)[२]
  • कांग्रेस र नेपालको आधुनिकीकरण[२]
  • कांग्रेस के भन्छ ?[२]
  • आस्थाको यात्रा (राजनीतिक विश्लेषण) (२०५५)[२]
  • कांग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद (२०७५)[२]
  • कृषि क्रान्ति र समाजवाद[२]
  • राजनीतिको राजमार्ग, २०७९[२]
  • कांग्रेस रूपान्तरणको मार्गचित्र[२]
  • सन्दर्भमा समाजवाद[२]
  • जेल जीवनमा केही कविता र निबन्ध रचना तथा प्रकाशन[२]

पुरस्कार

  • महेन्द्रविक्रम शाह पुरस्कार[२]
  • अर्डर अफ द राइजिङ सन (सन् २०२०; जापान)[४]

सन्दर्भ सामग्रीहरू

  1. "पूर्व मन्त्रीज्यूहरू", peace.gov.np, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, अन्तिम पहुँच २०७० पुस १२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-०५ मिति
  2. २.०० २.०१ २.०२ २.०३ २.०४ २.०५ २.०६ २.०७ २.०८ २.०९ २.१० २.११ २.१२ २.१३ २.१४ "वामपन्थी राजनीति छाडेर कांग्रेसमा होमिएका रामचन्द्र, यस्तो छ बेलथुम्कीदेखि शीतलनिवाससम्मको यात्रा ", शिलापत्र, अन्तिम पहुँच २५ फागुन २०७९ 
  3. "संस्कृत भाषाको पुनर्जागरण गर्नुपर्छः रामचन्द्र पौडेल", देशसञ्चार, २०२१-०६-१४, अन्तिम पहुँच २५ फागुन २०७९ 
  4. ४.० ४.१ ४.२ "१४ वर्षको बन्दी जीवनदेखि राष्ट्रपतिसम्म", गोरखापत्र, अन्तिम पहुँच २०२३-०३-०९ 
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ "रामचन्द्र पौडेल: बाहुनपोखरादेखि शितलनिवाससम्म", बीबीसी न्यूज नेपाली, २०२३-०३-०९, अन्तिम पहुँच २५ फागुन २०७९ 
  6. ६.०० ६.०१ ६.०२ ६.०३ ६.०४ ६.०५ ६.०६ ६.०७ ६.०८ ६.०९ ६.१० "यस्ताे छ राष्ट्रपतिमा निर्वाचित पौडेलको जीवनी", रेडियो नेपाल, अन्तिम पहुँच २५ फागुन २०७९ 
  7. "के गर्दैछन् कांग्रेस नेता रामचन्द्र पौडेल ?", अन्नपूर्ण, अन्तिम पहुँच २५ फागुन २०७९ 
  8. ८.० ८.१ ८.२ ८.३ "रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति", कान्तिपुर, अन्तिम पहुँच २०२३-०३-०९ 
  9. ९.० ९.१ "गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित", नागरिक, अन्तिम पहुँच २०२३-०३-०९