तनहुँ जिल्ला

तनहुँ जिल्ला नेपालको गण्डकी प्रदेशमा पर्ने एउटा पहाडी जिल्ला हो । दमौली बजार यसको सदरमुकाम हो ।[३] नेपालको साबिकको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अ‍ञ्चलको दक्षिण पूर्वमा अवस्थित तनहुँ जिल्ला मुलत: महाभारत श्रृङखला र मध्य पहाडी भु-भागमा पर्ने विकासोन्मुख जिल्ला हो । यो काठमाडौंबाट १०० कि. मी. पश्चिम र पोखराबाट १९ कि. मी. पूर्वमा अवस्थित छ । मानचित्रमा यो जिल्ला ८३°७५ " देखि ८४°३४" पूर्वी देशान्तर, २७°३" देखि २८°०५" उत्तरी अक्षांश सम्म फैलिएको छ । यसको क्षेत्रफल १५४६ वर्ग कि.मी अथवा कुल नेपालको भूभागको १.०५% रहेको छ ।[३]

तनहुँ
नेपालको नक्शामा तनहुँ जिल्ला (रातो)
नेपालको नक्शामा तनहुँ जिल्ला (रातो)
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ जिल्ला
सदरमुकामदमौली
क्षेत्रफल
 • जम्मा१,५४६ किमी (५९७ वर्ग माइल)
उच्चतम उचाई
२,१३४ मिटर (७,००१ फिट)
न्यूनतम उचाई
१८७ मिटर (६१४ फिट)
जनसङ्ख्या
 (वि. सं. २०६८)नेपालको राष्ट्रिय जनगणना[१][२]
 • जम्मा३२३,२८८
 • घनत्व२०९/किमी (५४०/वर्ग माइल)
जातीयता
 • मुख्य जातीयताब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार
भाषा
 • मुख्य भाषाहरूनेपाली, मगर, गुरुङ भाषा
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-६५
गाविस संख्या३७
नगरपालिकाहरू
वेबसाइटwww.ddctanahun.gov.np

परिचयसम्पादन

गण्डकी नदीको जलप्रवाह क्षेत्रसँग आवद्ध यस जिल्लामा सीमा नदीको रूपमा पूर्वी दिशामा मर्स्याङ्दीत्रिशुली नदी तथा दक्षिणमा कालीगण्डकी वहन्छ भने जिल्लाको मध्य भागमा मादीसेती नदी प्रवाहित हुन्छ । यस जिल्लाको अधिकतम उचाई भएका पहाडहरूमा छिम्केस्वरी २१३४ मि., सौगातकोट २२१५ मि., कोटाथाम १६३० मि., राईपुरकोट १५४१ मि., मिर्लुङ्गकोट [[१]]१६५० मि. र चोक १४२९ मिटर आदि हुन भने सबैभन्दा होचा वस्तीहरूमा देवघाट १८७ मि., कोता २१० मि., दमौली ३२० मि. आदि हुन । यसप्रकारको तनहूँको अधिकांश भूभाग ३०० मि. - १२०० मि. बीचको होचो पहाडी भूभागमा पर्दछ । यस जिल्लाको पूर्वमा चितवनगोर्खा, पश्चिममा स्याङ्गजा, उत्तरमा कास्कीलमजुङ तथा दक्षिणमा पाल्पा, नवलपरासीचितवन जिल्ला रहेका छन् ।[३]

जनसङ्ख्यासम्पादन

राष्ट्रिय जनगणना २०६८ अनुसार तनहुँ जिल्लाको कूल जनसङ्ख्या ३,२३,२८८ जना मध्ये पुरुष १,४३,४१० जना र महिला १,७९,८७८ रहेका छन् ।[१] जनघनत्व २०९ प्रति कि.मि छ भने ग्रामिण जनसङ्ख्या १,८७,८८२ रहेको छ।

शैक्षिक विवरणसम्पादन

तनहुँ जिल्ला मा साक्षरता ७४.८% (२०६८ को जनगणना अनुसार) रहेको छ जस मध्ये महिला ६७.९% र पुरुष ८३.7% साक्षर छन् । बाल विकास केन्द्र ४९६, प्राथमिक विद्यालय ३७९, निम्न माध्यमिक विद्यालय १०३, माध्यमिक विद्यालय १०२, उच्च माध्यमिक विद्यालय ६२ र क्याम्पस १३ रहेका छन् |[३]

जिल्लाको नामाकरणसम्पादन

तनहुँको नामाकरण विषयमा विभिन्न विद्वानहरूले फरक-फरक मत पेश गरेका छन्। यसको नामाकरण बारे सत्यतथ्य प्रमाण प्राप्त गर्न नसकिए पनि प्राप्त जानकारी अनुसार तनहुँको राजधानी तनहुँसुर वरपरका ३ वटा चुचुराहरू जहाबाट तनहुँ राज्यको सुरक्षा व्यवस्था हेरिन्थ्यो सोहि ३ चुचुरालाई आधार मानेर भएर कालान्तरमा तनङ्गु र पछि तनहु हनु गएको हो । "वासुदेव रसानन्द" संस्कृत ग्रन्थमा तनहुको तात्पर्य "त्रितङ्गु राजधन्यो" भनेर लखेको पनि पाइन्छ । यस भेगका प्रमुख स्थानको नाउँको पछाडि "हुँ" ("काहुँ, मान्हुँ आदि) भनिने गरेकोले "तनङ्ग"मा "हुँ" थपिएर "तर्नङ्गहु" हुदै तनहुँ भएको पनि उत्तिकै पत्यारिलो देखिन्छ । प्राचीन समयमा तनहुँको दुई ठाउँमा तमारे र तामिन भन्ने गाउँ थिए र ती गाउँको नाउँबाट अपभ्रंश भएर पछि तनहुँ रहनुका साथै तनहुँ राजधानी रहेको तनहुँसुरमा र दमौली माथिको मानङ्गु डाडँमा क्रमशः चिउडो सानो भएका (तनहुनु) र चिउँडो ठूलो भएका (महाहनु) श्रृषिले तपस्या गरको हुनाले आज यस रूपमा तनहुँ र मानहुँ नाम बन्न/रहन गएको भन्ने पनि किंबदन्ती छ ।[३] अरु पनि मान्यताहरु छन्। मगर भाषामा काहूँ (काट हूँक) एकबाँस, मान्हूँ (मानी न्हूँ) मानीढुंगा र तनहूँ (टान न्हूँ) तानढुङ्गाबाट नामाकरण भएको हो । किनभने त्यस वरपर सबै स्थानका नाम पद मगर भाषासंग नजिक छन् । कलेस्ती, रम्घा, चु्दी, ब्यासडी, बुलडी, माँडी, छाप्डी, गुणाडी, खुँदी, कुन्हूँ आदि ।

जिल्लाको इतिहाससम्पादन

तनहँ जिल्लाको इतिहास हेर्दा यो जिल्ला केवल एउटा जिल्लाको नाम मात्र रहको पाइदैन। नेपाल एकीकरण हुनु पुर्व चौविसे राज्यहरु मध्ये जमिन, धन र जनशक्तिमा सम्पन्न तनहुँ राज्य वर्तमान तनहुँ र चितवन जिल्लाका अतिरिक्त भारतको विहार राज्यको पश्चिमी चम्पारन जिल्ला अन्तर्गत रामनगर तथा वेतियाको भू-भागसम्म फैलिएको थियो। वि.स १६१० देखि १८३९ सम्मको २३० वर्षे अवधिसम्म पृथक अस्तित्वमा रही पाल्पाली राजा मणिमुकुन्द सेनका वंशज ९ जना सेनवंशी राजाहरु द्वारा शासित तनहुँ राज्य श्री ५ रणबहादुर शाह र राजमाता राजेन्द्रलक्ष्मीको शासनकालको एकीकरण अभियानमा नेपाल अधिराज्यमा गाभिन गयो।[४]

प्रमुख धार्मिक स्थलहरुसम्पादन

 
तनहुँ जिल्लाको एक प्रसिद्ध धार्मिक स्थलका रूपमा परिचित ढोरबराहि मन्दिर
  • व्यास गुफा, दमौली
  • पराशर गुफा
  • पञ्च मन्दिर, दमौली
  • तनहुँ कालिका मन्दिर
  • टिन खोला मन्दिर, खैरेनीटार
  • सहिद तनहुँ जंगल पार्क
  • ठुलो पहरो गुफा, म्याग्दे गाउँपालिका
  • छाब्दि बाराही मन्दिर, छाब्दि
  • देवघाट
  • छिम्केश्वरी मन्दिर
  • मादिसेती संगम स्थल
  • सिद्ध गुफा, (दक्षिण एसियाको सर्बाधिक ठूलो गुफा)
  • ढोरबराहि मन्दिर, शुक्लागण्डकि नगरपालिका
  • अकला मन्दिर

प्रसिद्ध व्यक्तित्वहरूसम्पादन

तनहुँले जन्माएका धेरै शिक्षा, साहित्य, कला, राजनीति, पत्रकारिता, उद्योग, वाणिज्य आदि क्षेत्रका विशिष्ट व्यक्तित्वहरूमध्ये केहीको सूची यसप्रकार छ ।[५]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. "नेपालका जिल्लाहरूको सम्पूर्ण विवरण (जनसङ्ख्या, क्षेत्रफल, सदरमुकाम )", http://www.statoids.com/ynp.html 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ "जिल्ला विकास समिति, तनहुँ (तनहुँ जिल्लाको पार्श्वचित्र)", जिल्ला विकास समिति, तनहुँ, नेपाल सरकार। 
  4. जिल्ला विकास समितिको कार्यालय, तनहुँ आ.व २०७३/०७४ प्रकाशन
  5. मिश्र, डिल्लीराम, नेपाल अधिराज्यमा तनहुँ, २०४७

यो पनि हेर्नुहोस्सम्पादन



बाह्य कडीहरूसम्पादन