माल्टा, ललितपुर
माल्टा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, ललितपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १८३८ रहेको थियो जसमध्ये ९१९ पुरुष र ९१९ महिला रहेका थिए भने यहाँ ३७० घरधुरी रहेको थियो।[१][२] यो हाल बागमती गाउँपालिकामा पर्दछ।
माल्टा, ललितपुर | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°३७′N ८५°२२′E / २७.६२°N ८५.३७°Eनिर्देशाङ्कहरू: २७°३७′N ८५°२२′E / २७.६२°N ८५.३७°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | ललितपुर जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | १,८३८ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लाको बागमती गाउँपालिकाको २ नं. वडामा पर्ने माल्टा एउटा रमणीय र सुन्दर गाउँका रूपमा चिनिन्छ । पवित्र बागमती नदीले सिंचित बेशीं र माल्टाकै पहराका पानीले भिजाएको समथर फाँटलाई चारैतिरबाट पहाडले घेरिएको माल्टालाई मनमोहक र सानो उपत्यका भन्दा कुनै अत्युक्ति नहोला । यस ठाउँको नाम कसरी माल्टा रह्यो भन्ने सम्बन्धमा विभिन्न किंवदन्तीहरु रहेको पाइन्छ । कुनै समयमा यस ठाउँमा प्रशस्त खुर्सानी उत्पादन हुन्थ्यो, त्यस समयमा काठमाडौंका नेवार समुदायहरु मकवानपुर जिल्लाको ‘W’ आकारको डाँडोमा रहेको नटारम्भेश्वर महादेवको दर्शन गर्न बागमती नदी किनारै-किनार माल्टा हुदै आवत-जावत गर्ने गर्दथे र धेरै खुर्सानी फल्ने भएकाले यस ठाउँलाई नेवारहरूले मल्टा (नेवारी भाषामा खुर्सानीलाई मल्टा भनिन्छ ।) भन्दा-भन्दै पछि अपभ्रंश भइ माल्टा रहन गएको हो भन्ने भनाइ छ साथै तत्कालीन समयमा मकवानपुरको व्यापारिक केन्द्र भिमफेदीबाट ललितपुर र काभ्रे तथा सिन्धुलीका केही भागमा व्यापारका लागि उपभोग्य सामानहरु ओसार-पसार गर्दा सुरक्षित तरिकाले मालताल राख्ने ठाउँ भएकाले यस ठाउँको नाम माल्टा रहन गएको हो भन्ने भनाइ पनि रहेको पाइन्छ । यस ठाँउको नाम एक युरोपेली देशको नामसँग मिल्दो भएकाले पनि यो आफैंमा एउटा गौरवान्वित नाम हो । भौगोलिक बनावट नै माल्टाको मुख्य विशेषता हो साथै वनजङ्गलको विविधता, विभिन्न जातिहरूको रहन-सहन र भेष-भुषा आदिको विविधताले गर्दा पनि यस वडाले आफ्नो छुट्टै पहिचान बोकेको छ। धार्मीक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक रूपले पृथक पहिचान बोकेको हुँदा माल्टामा ठूलो पर्यटकीय सम्भावना पनि पनि रहेको देखिन्छ।
भूगोल
सम्पादन गर्नुहोस्भौगोलिक सिमाना
सम्पादन गर्नुहोस्बागमती गाउँपालिकाको २ नं. वडा अन्तर्गत पर्ने माल्टाको पूर्वमा बागमती गाउँपालिकाको ३ नं. वडा भट्टेडाँडा, पश्चिममा मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकाको इपा पञ्चकन्या, उत्तरमा बागमती गाउँपालिकाको १ नं. वडा घुसेल र गोदावरी नगरपालिकाको ७ नं. वडा देविचौर र दक्षिणमा बागमती गाउँपालिकाको ४ नं. वडा प्युटार पर्दछ।
भौगोलिक स्थिति
सम्पादन गर्नुहोस्माल्टा गा.वि.स. बागमती अञ्चल अन्तर्गत ललितपुर जिल्लाको दक्षिण-पश्चिममा अवस्थित छ। यस वडालाई पूर्वमा भट्टेडाँडासँग पहाडी श्रृङ्खलाले, पश्चिममा मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकाको इपा पञ्चकन्यासँग पवित्र बागमती नदिले, उत्तरमा बागमती गाउँपालिकाकै १ नं. वडा घुसेल र गोदावरी नगरपालिकाको ७ नं. वडा देविचौरसँग गगनचुम्बी पहाडले र दक्षिणमा बागमती गाउँपालिकाकै ३ नं. वडा प्युटारसँग खानीखोलाले सिमाना छुट्टयाएको छ। माल्टाको फैलावट लगभग २७ डिग्री २८ मिनेट देखि २७ डिग्री ३१ मिनेट उत्तरी अक्षांश र ८५ डिग्री १४ मिनेट देखि ८५ डिग्री १६ मिनेट पूर्वी देशान्तर(अनुमानित)सम्म रहेको छ। यस वडा समुद्री सतह देखि लगभग ७१० मिटर देखि २२५० मिटरसम्मको उचाईमा रहेको छ। यस माल्टा गा.वि.स.ले करिब ७०५०(अनुमानित) एकड जमीन ओगटेको छ। यस गा.वि.स.को लगभग एक तिहाइ भन्दा कम भू-भाग समथर रहेको छ भने बाँकी भाग पहाडै-पहाड रहेको छ। बेशीं, टार, समथर फाँट, अग्ला पहाड र भञ्ज्याङ्ग नै माल्टा गा.वि.स.का भौगोलिक विशेषता हुन्। माल्टा गा.वि.स. समुद्री सतहबाट करिब ७१५ दखि २२५० मिटरको उचाइमा अवस्थित छ। यस गा.वि.स.मा ६ वटा स-साना खोल्साहरु बग्ने गर्दछन जसको कुल लम्बाइ लगभग १५ कि.मि. रहेको छ । माल्टाको समथर फाँट बागमती नदिले बगाएर ल्याएर थुपारेको पाँगो माटोले बनेको अनुमान लगाउन सकिन्छ। यो पाँट पहिले बन्ने क्रममा पूर्वी पहाडको फेदैसम्म फैलिएको र पछि लप्से र खहरे खोलाले पूर्वी पहाड तथा सल्लेलाई माल्टासँग छुट्टयाएको सहजै अनुमान गर्न सकिन्छ। माल्टा गा.वि.स. चारैतिर पहाडै-पहाडले घेरिएको एक सानो उपत्यकाको रूपमा रहेकोले माल्टा गा.वि.स.लाई ललितपुर जिल्लाकै अनुपम स्थलको रूपमा लिन सकिन्छ।
अर्थतन्त्र
सम्पादन गर्नुहोस्माल्टालीहरूकोको मुख्य पेशा भनेको कृषि नै हो। यहाँका करीब ९०% भन्दा बढी मानिसहरू कृषिमा निर्भर रहेको पाइन्छ भने बाँकी १०% मानिसहरू राजधानीमा गई अन्य उद्योग, व्यवसाय तथा सेवामा लागेको पाइन्छ। यहाँका मुख्य खाद्य बालीहरूमा धान, मकै, गहुँ, कोदो, फापर आदी रहेका छन् साथै रातो सिमी(राजमा), मास नगदे बालीको रूपमा रहेको छ भने तेलहन बालीहरूमा तोरी, सर्स्युँ र हाल सुर्यमुखी फुललाई पनि तेलहन बालीका रूपमा प्रयोग गर्न थालिएको पाइन्छ। यस गा.वि.स.लाई यातायातले राजधानीसँग जोडिसकेको छ साथै चापागाउँबाट नियमित रूपमा दैनिक सार्वजनिक बस पनि सञ्चालन भैरहेको छ । वि.सं. २०१८ सालतिर निर्माण भएको कान्ति लोकपथ यही गा.वि.स. भएर गएको छ, कान्ति लोकपथलाई तराई तथा बागमती प्रदेशको राजधानी हेटौँडा लाई राजधानीसँग जोड्ने सबैभन्दा छोटो राजमार्गको रूपमा लिइन्छ। हाल यो लोकपथ निर्माणाधीन अवस्थामा रहेको छ।
धर्म
सम्पादन गर्नुहोस्यस गा.वि.स.मा विशेषत: हिन्दू र बौद्ध धर्मावलम्बिहरुको बाहुल्यता रहेको छ भने क्रिश्चयन धर्म मान्नेहरू पनि न्युन मात्रामा छन । यहा प्रायः हिन्दु र बौद्ध धर्मको बिचमा साँस्कृतिक रूपमा उत्तम सम्बन्ध रहेको छ । यहाँका मनिसहरु दशै, तिहार,सोनाम ल्होसार, बैशाख पुर्णिमा (जस्लाई माल्टामा बारना पुर्णिमा भनेर पनि चिनिन्छ) लगायतका चाड पर्व मान्ने गर्छन । क्रिश्चियनहरु माल्टाको वडा नं.४ को पाखोला र वडा नं. २ को बगुवामा छन् भने अन्य वडामा खासै छैनन् । वैशाख पुर्णिमाका समयमा तीन दिन सम्म माल्टा उपत्यका भित्र मानिसहरु काम नगरी बस्ने चलन रहि आएको छ ।
जीवनशैली
सम्पादन गर्नुहोस्नेपाल विकासोन्मुख देश हो । माल्टा नेपालको एक गाविस भएको कारणले यो पनि विकासोन्मुख गा.वि.स. हो । यहा रहेका मानिहरुको जीवनशैली स्वभावतः नेपाली जनताको जीवनशैलिसँग मेल खान्छ । उ यश गा.वि.स.मा मध्यम तथा न्यून आर्थिक अवस्था भएका मानिसहरुको बसोबास रहेको छ । उनिहरु विशेषतः खेतीपातीमा सक्रिय रहन्छन् । तामाङ, मगर, ब्राह्मण, दमाई, कामी लगायतका जातजाति रहेको माल्टाको जीवनशैलीमा भने प्रायः सामन्जस्यता रहेको छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति