कोदो
कोदो (वैज्ञानिक नामः Eleusine coracana, अङ्ग्रेजीःfinger millet) विश्वको एक प्रमुख अन्न बाली हो। यसको रोटी, ढिंडो लगायतका परिकार बनाइन्छ। कोदोबाट जाँड, रक्सी पनि बनाइन्छ । ग्रीक खाद्यान्न देवी ‘एल्युजिन’-को नामबाट यसको उत्पत्ति नाम इल्युजिन भएको हो। यसको साझा अङ्ग्रेजी नाम ‘फिंगर मिलेट’ फूलडाँठमा औंलाजस्तै बालाको झुप्पा आउने भएकोले त्यसैबाट आएको हो। कोदो वा रगी भारतमा उत्पादन गरिने एउटा महत्त्वपूर्ण खाद्यान्न हो। यो कर्णाटक र देशका केही पहाडी भेकको एक प्रमुख खाद्य हो। यो कडा मेहनत गर्ने श्रमजीवी मानिसहरूको रुचिकर खाद्य हो भने मधुमेह (डायबेटिज)-को रोग लागेको मानिसको लागि पनि यो निकै उपयोगी हुन्छ। समुद्रसतहदेखि १८०० मिटर उँचाइसम्ममा यसको खेती गर्न सकिन्छ। यसमा क्यालसियम, फस्फोरस र फलामको मात्रा प्रचुर हुन्छ। केही पहाडी क्षेत्रमा यो सानो खाद्यान्नको रूपमा उब्जाउ गरिन्छ, जसलाई अन्न र गाईवस्तुको आहार दुवै हिसाबले उत्पादन गरिन्छ। देशका उत्तरी पहाडी भेकमा कोदो प्राय: रोटी बनाएर खाइन्छ भने दक्षिण भारतमा केक, मिष्टान्न वा मिठाइहरू बनाउन कोदोको प्रयोग गरिन्छ। उम्रिएको वा टुसा पलाएको कोदोबाट पेय पदार्थ बनाइन्छ अनि नानीहरूलाई खुवाइन्छ। यो गर्भवती महिलाको निम्ति उत्तम हुन्छ अनि विभिन्न उमेरका वयस्क मानिसका लागि परिवर्तित खाद्यको रूपमा पनि यसलाई लिइन्छ। सिक्किममा नेपालीको ‘कोदो’ शब्द नै लोकप्रिय रहेको छ। सिक्किमको सामाजिक तथा आर्थिक परिवेशले यो बालीलाई विशेष महत्त्व दिएको छ। यहाँ कोदो मुख्य रूपले छाङ वा जाँड जस्ता पेय पदार्थ बनाउन प्रयोग गरिन्छ। यसको पीठोले रोटी वा ढिंडो बनाइन्छ। यसको नल पशुको राम्रो आहार मानिन्छ। यो एक बर्खे बाली हो अनि राज्यको सबै उच्च पहाडी क्षेत्रमा ५००० हेक्टर इलाकामा यसको खेती गरिन्छ। यो अन्नको उत्पादन १९९८-९९मा ४७१३ टन भएको थियो। मोठ उत्पादित क्षेत्रको ४.११ प्रतिशत यो बालीले ओगटेको छ।
Finger millet | |
---|---|
Finger Millet grains of mixed color. | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | |
प्रजाति: | E. coracana
|
वैज्ञानिक नाम | |
Eleusine coracana Gaertn. |
उत्पत्ति तथा इतिहास
सम्पादन गर्नुहोस्डे क्याण्डोल (१८८६)-का अनुसार, कोदोको अनेकौँ रूप हाम्रो देशमा पाइएकोले कोदो सम्भवत: भारतबाटै उत्पत्ति भएको हो। उत्तर भारतको विभिन्न भागमा पाइने एल्युजिन इण्डिका नामक घाँसजातीय वनस्पतिबाट यसको उत्पत्ति भएको हुनसक्छ। यो भारतबाट एबिसिनिया र बाँकी अफ्रिकी देशहरूमा फैलिएको हुनसक्छ। तर भेभिलो (१९५१) र मेहरा (१९६२) एल्युजिन कोराकाना अफ्रिकी मूलको भएको ठान्छन् अनि यो बाली शुरुमा सोबोइन मार्ग भएर अफ्रिकाबाट भारतमा आएको बताउँछन्।
क्षेत्र तथा वितरण
सम्पादन गर्नुहोस्नेपाल, भारत, अफ्रिका, सिलोन, मलेसिया, चीन र जापानमा कोदो व्यापकमात्रामा उत्पादन गरिन्छ। भारतमा २.६५ बिलियन हेक्टर क्षेत्रमा कोदोको खेती गरिन्छ जसको कुल उत्पादन लगभग २.९ मिलियन टन रहेको छ। कर्णाटका, तामिलनाडु, आन्ध्र प्रदेश, उडिसा, बिहार, गुजरात, महाराष्ट्र अनि उत्तर प्रदेश र हिमाचल प्रदेशको पहाडी क्षेत्रको विस्तृत भागमा कोदो उब्जाउ गरिन्छ।
वनस्पति विज्ञान
सम्पादन गर्नुहोस्कोदो एक ठाडो घाँसजातीय एकवर्षे बाली हो । यो ६० देखि १२२ सेन्टीमिटरसम्म अग्लो हुन्छ, बोटको जरा व्यवस्थामा ठूलो संख्यामा स्थायी र रेसादार जरा रहेको हुन्छ, जसले माटोबाट क्रमिक रूपमा अनि राम्रोसँग ओस चुस्न सक्छ। बोटको भुइँडाँठ फिँजिएको हुन्छ। काण्ड खदिलो हुन्छ, तर डाँठ गोलाकार हुन्छ। पातहरू पंक्तिमय पाराले मिलेको र छुट्टै प्रकारको पातको बीचमा करङजस्तो डाँठ, लिगुल (पातको दापको भित्री भागमा रहेको झिल्लीदार त्वचा) र रेसायुक्त किनार हुन्छ। आँख्लाको अन्तमा रहेको डाँठले औंलाजस्तो बालाको गुबो (चारदेखि आठवटा) बनाउँछ, जसमा फूलडाँठको बाहिरी भागमा खापमाथि खाप परेर पत्रदल वा फुलगुच्छहरू निस्कन्छन्। प्रत्येक फूलगुच्छले चारदेखि पाँचवटा फूल बोकेको हुन्छ। पूर्ण रूपले फूल फुल्नको निम्ति फूलडाँठले छ: देखि आठ दिन लिन सक्छ। सबै औंलाजस्तो गुबोमा सँगसँगै फूल फुल्छ। सामान्यतया यो बालीले आफै पराग हाल्छ। फूलगुच्छले तीनदेखि आठवटा दाना बोकेको हुन्छ, जुन आकारमा धेरै सानो र सामान्यतया रातो-खैरो रंगको हुन्छ। कोदोलाई लगभग चारवटा समूहमा विभाजित गरिएको छ:
क. दोब्रिएको
ख. खुला (नङकटुवा वा फुर्के)
ग. फिष्टी
घ. टुप्पोमा दोब्रिएको
खेतीपाती
सम्पादन गर्नुहोस्कोदो मात्र यस्तो अन्न हो जसमा घून र किरहरूले कुनै नोक्सान पुगाउन सक्दैन । यसलाई चिसो र सुखा ठाउँमा राख्यो भने धेरै वर्षसम्म बिग्रदैन । प्रायः नेपालमा कोदोको खेती गर्ने दुईवटा तरिका अपनाइएको पाइन्छ । पहिलो तरिका जमिनलाई राम्ररी जोतखन गरी कोदोको बिउ छर्ने गरिन्छ भने दोश्रो तरिका पहिले बेर्ना उमारी पछि उखेलेर अर्को ठाउँमा रोप्ने गरिन्छ । कोदो खेती गर्दा परिश्रम भने कडा गर्नु पर्दछ । कोदो एक वर्षेबाली भएकाले छरुवा कोदो गोड्न निकै धामा पर्दछ भने रोपुवा कोदो रोप्न धामा पर्छ । जेठको दोश्रो हप्ता देखि असारको पहिलो हप्ता भित्रमा कोदो छर्ने उत्तम समय मानिन्छ । असारको अन्तिम हप्ता देखि साउनको पहिलो हप्ता भित्र छरुवा कोदो गोड्ने तथा रोपुवा कोदो रोप्ने उत्तम समय हो । त्यस पछि पनि भदौ नलाग्दै कोदो एक पटक गोड्नु पर्दछ । कात्तिक कोदो पाक्दछ । कोदो पाकेपछी बाला र नल छुट्टा छुट्टै काट्नु पर्छ । बाला राम्ररी सुके पछि लठ्ठीले चुटेर अथवा गोरु घुमाएर कोदो माडिन्छ । नल काटेर सुकाउनु पर्छ । नल राम्ररी सुखे पछि ओभानो ठाउँमा राखेर पछि गाई वस्तुलाई घाँस बनाइन्छ ।
पौष्टिक तत्व
सम्पादन गर्नुहोस्प्रत्येक १०० ग्राम कोदोमा पाइने पौष्टिक तत्वहरु:
- प्रोटिन ७.६ ग्राम
- फ्याट १.५ ग्राम
- कार्बोहाइड्रेट ८८ ग्राम
- क्यालसिएम ३७० ग्राम
- भिटामिन ०.४८ मिलिग्राम
- थाइमिन (बि१) ०.३३ मिलिग्राम
- राइबोफ्ल्याबिन (बि२): ०.११मिलिग्राम
- नाइसिन(बि३) : १.२ मिलिग्राम
- फाइबर: ३ ग्राम[१]
कोदोका फाइदाहरू
सम्पादन गर्नुहोस्कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यो सजिलै पच्दछ । यसमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व हुन्छन् । केही व्यक्ति ग्लुटेन प्रति संवेदनशील हुन्छन् । यस्ता व्यक्तिका लागि कोदो राम्रो विकल्प हो । कोदो खाए शक्ति मिल्दछ । यो ऊर्जाको राम्रो स्रोत हो । यसबाहेक तौल घटाउनसमेत कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन, जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ । मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ । यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ । कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुर्याउँछ । यसमा आइरनसमेत निकै हुन्छ, जसले गर्दा रगतको कमीले हुने रोगले छुन पाउँदैन । पेटको स्वास्थ्यका लागि कोदोको सेवन धेरै लाभकारी मानिन्छ । कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रूपमा कोदोको रोटी वा ढिडो खाने गरे आराम पाइन्छ । केहि अध्ययनका अनुसार कोदो क्यान्सरबाट बचाउन पनि सहयोगी हुन्छ । यसको नियमित सेवनले मधुमेहको खतरासमेत कम हुन्छ ।[२]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Eleusine coracana - (L.)Gaertn.", Plants For A Future, अन्तिम पहुँच १९ नोभेम्बर २०१२।
- ↑ कान्तिपुर दैनिक
बाह्य सूत्र
सम्पादन गर्नुहोस्- 'Eleusine coracana (L.) Gaertn.' वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२४ मिति
- Rag(i)s to Riches by Vikram Doctor