पूर्व पाकिस्तान

पूर्व पाकिस्तान (बङ्गाली: পূর্ব পাকিস্তান, पूर्बो पाकिस्तान; उर्दू: : مشرقی پاکستان‎, मशरिकी पाकिस्तान), एक इकाई व्यवस्था अन्तर्गत तत्कालीन पाकिस्तानको पूर्वी इकाई वा भाग थियो। यो हाल बङ्गलादेशको स्थानमा सन् १९५५ देखि सन् १९७१ सम्म विद्यमान रहेको थियो। यसको राजधनी ढाका र राष्ट्रियभाषा बङ्गाली थियो। पूर्व पाकिस्तानको कुल क्षेत्रफल १,४७,५७० वर्ग किलोमिटर रहेको थियो। यो क्षेत्रको पूर्व उत्तर र पश्चिममा भारत र दक्षिणमा बङ्गालको खाडीको रहेको थियो। यसको साथसाथै यसको पूर्वी भूभागको सीमाले छिमेकी देश बर्मालाई छोएको थियो। यो पाकिस्तानको सबैभन्दा ठूलो क्षेत्रको रूपमा स्थापित भएको थियो भने अर्थव्यवस्था, राजनैतिक प्रतिनिधित्व र जनसङ्ख्याको आधारमा पूर्व पाकिस्तान तत्कालीन पाकिस्तानको सबै ठूलो राज्य बनेको थियो। सन् १९७१ डिसेम्बर १६ का दिन ९ महिनापछि समाप्त भएको स्वतन्त्रता युद्धमा विजय हासिल गरेपछि एक नयाँ सार्वभौम राष्ट्रको रूपमा बङ्गलादेशको उदय भऐको थियो। [१]

পূর্ব পাকিস্তান
مشرقی پاکستان
पाकिस्तानको पूर्वी भाग

सन् १९५५–१९७१
Flag प्रतीक
राजधानी ढाका
भाषा बङ्गाली (सरकारी)
बिहारी भाषा
उर्दू
अङ्ग्रेजी
धर्म इस्लाम
सरकार समाजतान्त्रिक राष्ट्र (सन् १९५५–१९५६)
राष्ट्रपतिशासित प्रजातन्त्र (सन् १९६०–१९६९)
सैन्य एकनायकतन्त्र (১৯৬৯–১৯৭১)
प्रशासक
 - सन् १९६०–१९६२ मुहाम्मद आजम खान
 - सन् १९६२–१९६९ आब्दुल मोनेम खान
 - सन् १९६९–१९७१ सैयद मुहाम्मद आहसान
 - सन् १९७१ आमिर आबदुल्लाह खान नियाजी
मुख्यमन्त्री
 - सन् १९५५–१९५६, १९५८ आबु हुसाइन सरकार
 - सन् १९५६–१९५८ आताउर रहमान खान
गभर्नर
 - सन् १९५५–१९५६ आमिरउद्दिन आहमेद
 - सन् १९५६–१९५८ आबुल काशेम फजलुल हक
 - सन् १९५८–१९६० जाकिर हुसाइन
विधायिका ऐनपरिषद्
ऐतिहासिक युग स्नायुयुद्ध
 - प्रतिष्ठा सन् १९५५
 - एक इकाई २२ नोभेम्बर १९५४
 - बङ्गलादेशको स्वतन्त्रता युद्ध २२ मार्च १९७१
 - सन् १९७१ को भारत पाकिस्तान युद्ध ३ डिसेम्बर १९७१
 - विलुप्ती १६ डिसेम्बर १९७१
क्षेत्रफल १४७,५७० km2 (५६,९७७ sq mi)
मुद्रा पाकिस्तानी रुपी
हालको भुभाग Flag of Bangladesh.svg बङ्गलादेश
Warning: Value specified for "continent" does not comply

बेलायती शासनको समयमा सुरु गरिएको जमिन्दार प्रणालीलाई भूमि सुधार नीति अन्तर्गत सन् १९५० मा समाप्त गरिएको थियो तर पूर्व पाकिस्तानको आर्थिक तथा जनसाङ्ख्यिकीय महत्वको बाबजुद पनि पाकिस्तान सरकार र सेना पश्चिम पाकिस्तानको पूर्ण नियन्त्रणमा रहेको थियो। सन् १९५२ को भाषा आन्दोलनले पाकिस्तानको दुई पाटाहरूको बीच सङ्घर्षको पहिलो सङ्केत दिएको थियो। त्यसको अघिल्लो दशकमा पूर्व पाकिस्तानका बासिन्दाहरूले केन्द्र सरकारको आर्थिक तथा साँस्कृतिक पहलहरूको विरुद्धमा विरोध गर्न सुरु गरेका थिए। पश्चिम पाकिस्तानको प्रभाव र सत्तावादी धारणको विरुद्ध पहिलो कदम मओलाना भासानीको नेतृत्वमा आवामी मुस्लिम लिगको स्थापनाको साथ भएको थियो जसको स्थापना सन् १९४९ मा भएको थियो। सन् १९५४ को संयुक्त मोर्चका चुनावहरूमा विजय र सन् १९६५ को राष्ट्रपतीय चुनावमा पाकिस्तानको सैन्य प्रशासक जनरल अयुब खानलाई पराजित गर्ने उद्देश्यका साथ गठबन्धन विपक्षी दलको गठन भएको थियो। पछि पाकिस्तानी सैन्य शासनमा पूर्व पाकिस्तानी राजनेताहरूको नेतृत्वमा भएको आन्दोलनमा एक उपलब्धि बनेको थियो। सन् १९५० को दशकमा मध्यबाट पूर्व पाकिस्तानको स्वतन्त्रताको प्रश्न उठ्न सुरु भएको थियो। बङ्गाली राष्ट्रवादको अवधारणाले सन् १९६० को दशकको मध्यमा आकार लिन सुरु गरेको थियो। सन् १९६९ मा घटेको आगरतला षड्यन्त्र मामिलालाई पूर्व पाकिस्तानलाई पश्चिम पाकिस्तानबाट छुट्टाउने अभियोगका साथ दायर गरिएको थियो। सन् १९६९ मा अयुब खानको पतन भएपछि पनि सैन्य शासन जारीनै रहेको थियो। सन् १९७० मा आम निर्वाचनको आयोजना गरिएको थियो। जसमा आवामी लिगले निर्वाचन लडेको थियो भने यस दलले पाकिस्तानमा एक बहुमत हासिल गर्न सफल भएको थियो। आम निर्वाचनमा बहुमत प्राप्त गर्दै निर्वाचनमा जित हासिल गरेतापनि पश्चिम पाकिस्तानी राजनेताहरूको षड्यन्त्रका कारण राष्ट्रपति याह्या खानले शेख मुजिबुर रहमानलाई सत्ता हस्तान्तरण गर्नबाट रोक लगाएका थिए।

पृष्ठभूमिसम्पादन

पाकिस्तानको स्थापना र पाकिस्तान आन्दोलनका मुख्य व्यक्ति रहनुमा मुहम्मद अली जिनाह थिए। सन् १९४७ मा भारतीय स्वतन्त्रता ऐन लाई पारित गरिँदै भारतलाई विभाजन गरिएपछि पाकिस्तानको स्थापना भएको थियो। यस विभाजनको अनुसार बेलायती भारतको पूर्वी र पश्चिम भूभागमा इस्लाम धर्मालम्बीहरूको बाहुल्यता भएका क्षेत्रहरूलाई पाकिस्तानमा सामेल गरिएको थियो। यसको साथसाथै विभाजनको अनुसार बेलायती-भारतको पञ्जाब र बङ्गाल प्रदेशहरूलाई पनि विभाजित गरिएको थियो भने पूर्वी बङ्गाल र पश्चिमी पञ्जाबलाई पाकिस्तानमा सम्मिलित गरिएको थियो। पाकिस्तानको भूक्षेत्रमा बेलायती शासित भारतको पाँच प्रदेशहरू ; पूर्वी बङ्गाल, पश्चिमी पञ्जाब, बलुचिस्तान, सिन्ध र उत्तर-पश्चिम सीमान्त प्रदेश रहेका थिए। यसबाहेक अन्य रियासतहरूलाई पनि पाकिस्तानी सङ्घमा सामेल गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गरिएको थियो।

विभाजन पश्चात लाखौँ मानिसहरूले धर्मको नाममा बसाइँसराइ गरेका थिए। त्यस पछि नवीनतम पाकिस्तानमा कुनै पनि संविधान नभएको कारण सन् १९३५ को भारत सरकार ऐन अन्तर्गत पाकिस्तान भारतद्वारा शासित थियो। दुवै पक्षका राजनीतिक नेतृत्वले संविधानसँग सम्बन्धित धेरै महत्वपूर्ण विषयहरूमा समन्वयको स्थितिमा आउन नसक्नु संविधान निर्माण नबन्नुको एक महत्वपूर्ण कारण बनेको थियो। विभाजन र पाकिस्तानको स्थापना पश्चात्‌ व्यवस्थापिकालाई पाकिस्तानको दुई पृथक् भागहरूलाई (जो करीब हजार माइलको भारतीय भूमिबाट टाढा थिए) एकैठाउँबाट प्रशासित गर्नबाट उत्पन्न भएको असुविधाको सामना गर्नु परेको थियो। पाकिस्तानको पश्चिमी भाग कबाइली र अन्य विभिन्न रियासतहरू गरी ४ भागमा विभाजित थियो जबकी पूर्वी भागमा मात्र एक प्रान्त रहेको थियो। यसबाहेक पूर्वी भागमा पश्चिमी भागको तुलनामा व्यवस्था र सैन्य सुरक्षाको अति निष्पर्याप्ती रहेको थियो भने पश्चिमी भाग तुलनात्मक रूपबाट पूर्वी भन्दा अधिक विकसित थियो भने यस भागमा ठूलो सङ्ख्यामा सेना र पर्याप्त व्यवस्थापिका रहेको थियो। पाकिस्तानको पूर्वी भागमा पश्चिम पाकिस्तानको बराबर जनसङ्ख्या रहेतापनि यसका लागि विकास र सम्पन्नताको बाटो निकै कठिन रहेको थियो। यस स्थितिमा पूर्वी भागका मानिसहरूको मनमा भाषा र सांस्कृतिक मुद्दाहरू बाहेक शक्ति सुविधाको भागबन्डा र सैन्य तथा आर्थिक समानताको विषयलाई लिएर गम्भीर प्रश्नहरू खडा भएका थिए।

यस भौगोलिक स्थानबाट उत्पन्न भएको प्रशासनिक र असमानताको समस्यालाई सम्बोधन गर्नका लागि एउटा विशेष प्रान्तीय प्रणालीको मस्यौदा तयार पारिएको थियो जसलाई "एक इकाई प्रणाली"को नाम दिइएको थियो। यस प्रणाली अन्तर्गत दुवै क्षेत्रहरू मात्र एक प्रान्त हुने भनिएको थियो भने दुवैले समान राजनीतिक शक्ति प्राप्त गर्नेछ भनी उल्लेख्य गरिएको थियो। यसका साथै अन्य विकास नीतिहरू पनि यस योजनामा ​​समावेश थिए। प्रधानमन्त्री चौधरी मुहम्मद अलीले सन् १९५५ सेप्टेम्बर ३० का दिन पाकिस्तानको राष्ट्रिय सभामा यस नीतिलाई पारित गरी पश्चिम पाकिस्तानका सबै प्रान्तहरूलाई एकताबद्ध गर्न र एक इकाई प्रणाली कार्यान्वयन गर्न ऐन लागू गरेका थिए। यसभन्दा पहिले प्रधानमन्त्री मोहम्मद अली बोगराले सन् १९५४ नोभेम्बर २२ का दिन यसको आधिकारिक घोषणा गरेका थिए। यी सबै कुराहरू बाहेक यस प्रणालीको अर्को पक्षमा धेरै राजनीतिज्ञहरूले पाकिस्तानको विभिन्न क्षेत्रीय परम्परा र संस्कृतिहरू हटाएर पाकिस्तानलाई राष्ट्रिय संस्कृतिमा सार्न खोजेका थिए जसकारण विभिन्न क्षेत्रीय प्रदेशहरूको अन्त्य देखि सम्पूर्ण देशलाई साँस्कृतिक एकाई बनाउन उपयुक्त हुन पुगेको थियो। यस नीतिलँई प्रान्तीय र क्षेत्रीय संस्कृतिहरू हटाएर राष्ट्रिय संस्कृतिको प्रवर्द्धनको लागि ल्याइएको थियो।

इतिहाससम्पादन

 
सन् १९४८ मार्च २१ का दिन मोहम्मद अली जिनाह जिन्नाले उर्दू भाषालाई राष्ट्रभाषाको रूपमा घोषणा गर्दै

पाकिस्तानको स्थापना हुनु भन्दा अगाडि नै आलिगढ विश्वविद्यालयका डाक्टर जियाउद्दिनले उर्दु भाषालाई पाकिस्तानको राष्ट्रभाषा बनाउने प्रस्ताव गरेका थिए भने यसको विपक्षमा ढाका विश्वविद्यालयका डाक्टर मुहम्मद शहीदुल्लाहले बङ्गली भाषालाई राष्ट्रभाषा बनाउने प्रस्ताव गरेका थिए। सोही समय ढाका विश्वविद्यालयका अध्यापक आबुल कासेमको नेतृत्वमा तमद्दुन मजलिसले बङ्गाली भाषालाई पाकिस्तानको राष्ट्रभाषाको रूपमा दावि गर्दै प्रचार अभियान सुरु गरेका थिए। सन् १९४८ मार्च ११ का दिन ढाका विश्वविद्यालयका विद्यार्थीहरूले पाकिस्तानको संविधानसभामा बङ्गाली भाषालाई राष्ट्रभाषाको रूपमा स्वीकार नगर्नेको विरोधमा प्रदर्शन र ठाउँठाउँमा आम हड्ताल गरेका थिए। सोही दिन परिचालित प्रहरीहरूको समूहले प्रदर्शनलाई रोक्दै थुप्रै विद्यार्थीहरूलाई पक्राउ गरेको थियो जसमध्ये शमशुल हक, शेख मुजिबुर रहमान, अली अाहाद, शओकत आली, काजी गोलाम माहबुब प्रमुख थिए। त्यसपछि ढाका विश्वविद्यालयमा केन्द्रित रहेर देशभर विद्यार्थी आन्दोलन सुरु भएको थियो जसको परिणामस्वरूप प्रधानमन्त्री ख्वाजा नाजिमुद्दिनले मार्च १५ का दिन विद्यार्थीहरूसँग एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए। त्यसको चार दिन पछि पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्ना ढाका आएर मार्च २१ मा ढाका घोडदौड मैदानमा एक जनसभालाई सम्बोधन गर्दै उर्दु भाषालाई राष्ट्रभाषा बनाउने कुरालाई स्पष्टताका साथ घोषणा गरेका थिए। मार्च २४ का दिन ढाका विश्वविद्यालयको दीक्षान्त समारोहमा जिन्नाले आफ्नो भाषण दोहोराएका थिए।

विद्यार्थीहरूले तत्काल भाषणको विरोध गरेका थिए। २४ मार्चमा राष्ट्रभाषा कार्य परिषद्को एक प्रतिनिधिमण्डलले जिन्ना लाई भेट गर्दै बङ्गाली भाषालाई पाकिस्तानको एक राज्य भाषा बनाउनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका थिए। प्रतिनिधिमण्डलमा शामशुल हक, कामरुद्दिन आहमेद, आबुल काशेम, ताजउद्दिन आहमेद, मोहाम्मद तोयाहा, आजिज आहमद, अली आहाद, नईमउद्दिन आहमद, शामसुल आलम र नजरुल इसलाम थिए। सन् १९४८ नोभेम्बर ७ का दिन पाकिस्तानका प्रधानमन्त्री लियाकत अली खान ढाका विश्वविद्यालय स्थित एक खेल मैदानमा विद्यार्थीहरू माझ एक भाषण दिएका थिए। यस सभामा ढाका विश्वविद्यालयको केन्द्रीय विद्यार्थी संसदले बङ्गाली भाषालाई राष्ट्रभाषा बनाउनु पर्ने माग पुनः उठाएको थियो तर लियाकत अली खानले यसमा टिप्पणी गर्दै अस्वीकार गरिदिएका थिए। [२]

सन् १९५२ जनवरी २६ का दिन पाकिस्तानका प्रधानमन्त्री ख्वाजा नाजिमुद्दिनले ढाकामा अखिल पाकिस्तान मुस्लिम लिगको अधिवेशनमा आफ्नो भाषणमा उर्दु पाकिस्तानको राष्ट्रभाषा हुने घोषणा गरेका थिए। यसको विरोधमा जनवरी ३० का दिन ढाकामा एक विद्यार्थी हडताल गरिएको थियो जहाँ अताउर रहमान खानको अध्यक्षतामा आवामी मुस्लिम लिग, युवा लिग, छत्रा लिग, विश्वविद्यालय सङ्ग्राम परिषद् र खिलाफते रब्बानी पार्टीको प्रतिनिधित्व गर्दै एक सर्वदलीय कार्य परिषद्को गठन गरिएको थियो। ८ फेब्रुअरीका दिन विद्यार्थी हड्तालको अवलोकन गर्दै २१ फेब्रुअरीलाई राष्ट्रभाषा दिवसको रूपमन मनाउने निर्णय गरिएको थियो। २० फेब्रुअरीको साँझ नुरुल आमिन सरकारले ढाकामा १४४ धारा जारी गरेका थिए। आबुल हाशिमको अध्यक्षतामा नवाबपुरको आवामी लिगको कार्यालय कक्षमा १४४ धारालाई भङ्ग नगर्ने निर्णय गरिएको थियो यद्यपि विश्वविद्यालय सङ्घर्ष परिषद् धारा १४४ लाई भङ्ग गर्ने पक्षमा कटिबद्ध रहेको थियो। सङ्ग्राम परिषदको बैठकमा आब्दुल मतिन, अली आहाद र गोलाम मओलाले धारा १४४ को उल्लङ्घन गर्ने पक्षमा मतदान गरेका थिए। विद्यार्थीहरू १० व्यक्तिको असङ्ख्य समूहमा विभाजित भए र अनुशासनको साथ धारा १४४ लाई भङ्ग गर्ने निर्णय गरेका थिए। जब विद्यार्थीहरूले फेब्रुअरी २१ का दिन धारा १४४ लाई उल्लङ्घन गर्न सुरु गरे तब प्रहरी र विद्यार्थीहरू बीच झडप भएको थियो। व्यवस्थापिकाको बजेट सत्र दिउँसो सुरु हुने भनिएको थियो। विद्यार्थीहरू भाषाको माग गर्दै परिषद् भवनतिर जाँदै गर्दै परिचालित प्रहरीहरूको समूहले उनीहरूलाई अवरोध गर्दै गोली चलाउन सुरु गरेका थिए। पहिलो चरणमा रफिकउद्दिन र जब्बार मारिएका थिए। ढाका विश्वविद्यालयका विद्यार्थी आबुल बरकत पछि घाइते भए र राती उनको हत्या गरिएको थियो। २२ फेब्रुअरी का दिन ढाका मेडिकल क्याम्पस प्राङ्गणमा ठूलो शोक जुलुस निकालिएको थियो। प्रहरीहरूको समूहले विद्यार्थीहरूलाई उच्च अदालत र कर्जन हल बीचको सडकमा रोके र गोली हान्न सुरु गरेको थियो। यस समय शफीउर रहमान र रिक्सा चालक आउवाल मारिएको थियो। २३ फेब्रुअरीका दिन विद्यार्थीहरूले एक सहिद मीनारको निर्माण गरेका थिए। २४ फेब्रुअरी बिहान सहिद शफीउर रहमानका बुबाले अनधिकृत रूपमा सहिद मीनारको उद्घाटन गरेका थिए भने फेब्रुअरी २६ का दिन आबुल कालाम शामसुद्दिनले आधिकारिक रूपमा सहिद मीनारको उद्घाटन गरेका थिए। यसैबीच प्रहरीले सुरक्षा ऐन अन्तर्गत आबुल हाशिम, आब्दुल हामिद खान भासानी, प्राध्यापक मुनिर चौधुरी, प्राध्यापक अजीत कुमार गुह, पुलिन दे, अध्यापक पृथ्वीश चक्रवर्ती, ली आहाद र अन्यलाई पक्राउ गरेको थियो। नुरुल अमिन सरकारले भाषा आन्दोलन कर्मीहरूलाई भारतीय जासूस, हिन्दु र कम्युनिस्टहरूको सङ्ज्ञा दिएका थिए।[३]


एक इकाई प्रणालीसम्पादन

 
सोहरावार्दी (बीचमा) ड्विट डी आइजेनहावेर र जोन फोस्टर डुलेस

सन् १९५५ मा प्रधानमन्त्री मोहाम्मद आली बगुडाले एक इकाई योजना लागू गरेका थिए जसले चार पश्चिमी प्रान्तहरूलाई पश्चिम पाकिस्तान र पूर्वी बङ्गाललाई नाम पूर्व पाकिस्तान नाम दिएको थियो। एक इकाई प्रणाली लागू गरिएपछि पाकिस्तानले आफ्नो प्रभुत्व स्थिति समाप्त गर्दै सन् १९५६ मा गणतन्त्रात्मक संविधानलाई अपनाउँदै इस्लामी गणतन्त्रको घोषणा गरेको थियो। यस पछि पूर्व पाकिस्तानका जनवादी नेता सोहरावार्दीलाई पाकिस्तानको प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो। प्रधानमन्त्री बन्ने बित्तिकै सोहरावार्दीले संयुक्त निर्वाचन प्रणालीलाई पुनर्जीवित गर्ने कानुनी कार्यको सुरुवात गरेका थिए भने यसै समय पश्चिम पाकिस्तानमा संयुक्त मतदाता प्रणालीको कडा विरोध रहेको थियो। यसपछि मुस्लिम लिगले जनताबाट यस मुद्दालनई ग्रहण गरी छुट्टै मतदाता प्रणाली लागू गर्नका लागि आह्वान गर्न थालेको थियो। पश्चिम पाकिस्तानको विपरित, संयुक्त मतदाता पूर्व पाकिस्तानमा अत्यधिक लोकप्रिय थियो। सन् १९५६ मा पश्चिम पाकिस्तानका चार प्रान्तहरूको एकीकरणको बाबजुद संवैधानिक रूपबाट बाध्य राष्ट्रिय आर्थिक आयोग कार्यक्रमलाई प्रधानमन्त्री सोहरावर्दीद्वारा तत्काल निलम्बित गरिएको थियो। सोहरावर्दीले राष्ट्रिय अर्थव्यवस्थालाई केन्द्रीकरण गर्नका लागि युएसएसआर-आधारित पाँच-वर्षीय योजनाहरूको वकालत गरेका थिए। यस रूपबाट पूर्व पाकिस्तानको अर्थव्यवस्था निकै चाँडो केन्द्रीकरण भएको थियो भने सबै प्रमुख आर्थिक नियोजन पश्चिम पाकिस्तानमा स्थानान्तरण भएको थियो।[४]

पश्चिम पाकिस्तानमा अर्थव्यवस्थाको केन्द्रीकरण गर्ने प्रयासहरूले ठूलो प्रतिरोधको सामना गर्ने परेको थियो भने सम्भ्रान्त एकाधिकारवादी र व्यापारी समुदाय नीति स्वीकार गर्नबाट अस्वीकार गरेका थिए। कराचीका व्यापारिक समुदायले पूर्व पाकिस्तानका विकासित क्षेत्रहरूमा १० मिलियन अमेरिकी डलर आइसिए सहायताको आर्थिक वितरणले कुनै पनि प्रयासलाई कमजोर गर्ने र एक राष्ट्रिय किनमेल निगमको स्थापना गर्नका लागि आफ्नो राजनैतिक सङ्घर्ष सुरु गरेको थियो। कराची, लाहोर, क्वेटा, र पेशावर जस्ता पश्चिम पाकिस्तानका आर्थिक सहरहरूमा कुलीन व्यापारिक समुदाय र निजी क्षेत्रद्वारा समर्थित सोहरावर्दीको आर्थिक नीतिका विरुद्ध ठूलो श्रम हडताल गरिएको थियो।

यसबाहेक विवादास्पद एक इकाई प्रणालीबाट ध्यान हटाउन प्रधानमन्त्री सोहरावर्दीले लगानीकर्ताहरूको सानो समूहलाई देशमा साना व्यवसाय स्थापना गर्न आह्वान गर्दै सङ्कट अन्त्य गर्न खोजेका थिए। धेरै पहलहरूको बाबजुद र एनएफसी पुरस्कार कार्यक्रमलाई रोके पनि सोहरावर्दीको राजनीतिक स्थिति र छवि पश्चिम पाकिस्तानका चार प्रान्तहरूमा खस्किन पुगेको थियो। धेरै राष्ट्रिय नेता र मुस्लिम लिगका कार्यकर्ताहरू संवैधानिक रूपले बाध्य भएको एनएफसी कार्यक्रम निलम्बनको कारण निराश बनेका थिए। उनका आलोच र मुस्लिम लिगका नेताहरूले एनएफसी पुरस्कार कार्यक्रमलाई निलम्बन गरिएपछि, सोहरावार्दीले पश्चिम पाकिस्तानको तुलनामा पूर्व पाकिस्तानलाई अधिक आर्थिक रकमको सहायता, अनुदान र अवसर दिने कोसिस गरेका थिए जसमा पश्चिम पाकिस्तानका ४ प्रान्तहरू पनि सामेल थिए। प्रधानमन्त्रीत्वको अन्तिम दिनहरूमा सोहरावार्दीले देशको पूर्व र पश्चिम खण्डका बीच आर्थिक असमानतालाई हटाउने कोसिस गरेतापनि यसबाट कुनै लाभ लिन सकिएको थिएन। सोहरावार्दीले मुलुकमा खाद्यान्न अभावलाई कम गर्न असफल प्रयास गरेका थिए।

केन्द्रीय सन्धि सङ्गठन र दक्षिणपूर्व एसिया सन्धि सङ्गठनमा पाकिस्तानी सदस्यतालाई सुदृढ गर्दै सोहरावर्दलेी संयुक्त राज्य अमेरिकासँगको सम्बन्ध सुदृढ बनाएका थिए। सोहरावार्दीले जनवादी गणतन्त्र चीनसँगको सम्बन्धलाई पनि प्रबर्धन गरेका थिए। सन् १९५६ को पाकिस्तान संविधान निर्माणमा सोहरावार्दीको योगदान महत्वपूर्ण रहेको थियो भने सोहरावार्दीले उदारवादी लोकतन्त्रको संसदीय ढाँचा अनुरूप नागरिक स्वतन्त्रता र विश्वव्यापी स्वतन्त्रता सम्बन्धी प्राबधानलाई समेट्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए।[५]

अयुब खानको शासनकालसम्पादन

सन् १९५८ मा राष्ट्रपति इस्कान्दार मिर्जाले पाकिस्तानी सेनाका प्रमुख अयुब खानद्वारा गरिएको सैन्य आहातको एक भागको रूपमा देशमा सैन्य कानुन लागु गरेका थिए। त्यसको दुई हप्ता पश्चात् पाकिस्तानको सशस्त्र बलका साथ राष्ट्रपति मिर्जाको पाकिस्तान सशस्त्र सेनासँगको सम्बन्ध बिग्रिन पुगेको थियो भने सेनाका प्रमुख सेनापति अयुब खानले राष्ट्रपतिलाई उनको राष्ट्रपति पदबाट हटाउनुका साथै राष्ट्रपति मिर्जालाई जबरजस्ती अधिराज्य निर्वासनमा पठाएका थिए। अयूब खानले पछि राष्ट्रिय रेडियोमा यसको घोषणा गरेपछि आफ्नो कार्यहरूलाई उचित ठहराएका थिए। सन् १९६२ सम्म सैन्य शासन लागु नै रहेको थियो भने खानले सरकारबाट कयौँ राजनेताहरू तथा नागरिक सेवकहरूलाई पुरस्कृत गर्दै उनीहरूलाई सैन्य अधिकारिहरहरूको साथ फेरबदल गरिदिएका थिए। अयुब खानले आफ्नो शासनकाललाई कालाबाजारी र भ्रष्टाचारको साफाई गर्ने क्रान्तिको रूपमा व्याख्या गरेका थिए। खानले मिर्जालाई राष्ट्रपतिको रूपबाट प्रतिस्थापित गर्दै ११ वर्षसम्मका लागि देशको शक्तिशाली व्यक्ति बनेका थिए। सन् १९६२ सम्म जारी रहेको सैन्य शासनका शासक अयुब खानको सरकारले पाकिस्तानको मुख्य न्यायाधीश मुहाम्मद शहाबुद्दीनको अधीनमा संवैधानिक समितिको गठन गरेका थिए जसमा १० वरिष्ठ न्यायधीशहरू रहेका थिए भने यी मध्ये पूर्व र पश्चिम पाकिस्तानका पाँच पाँच न्यायाधीशहरू रहेका थिए। सन् १९६१ मे ६ का दिन आयोगले आफ्नो मस्यौदा राष्ट्रपति अयुब खान समक्ष पठाएका थिए। उनीहरूले आफ्नो मन्त्रिमण्डलको साथ परामर्श गर्दै मस्यौदालाई राम्रोसँग जाँच गरेका थिए।

सन् १९६२ को जनवरीमा मन्त्रिपरिषद्ले अन्तत: १ मार्च १९६२ का दिन राष्ट्रपति अयुब खानले घोषणा गरेको नयाँ संविधानको पाठलाई अनुमोदन गरेको थियो जसलाई सन् १९६२ जुन ८ का दिनबाट लागु गरिएको थियो। सन् १९६२ को संविधान अन्तर्गत पाकिस्तान एक राष्ट्रपतीय गणतन्त्र राज्य बनेको थियो। पछि आधारभूत लोकतन्त्र प्रणालीको पक्षमा विश्वव्यापी मताधिकार समाप्त भएको थियो। यस प्रणाली अन्तर्गत एक निर्वाचक मण्डल राष्ट्रपति र राष्ट्रिय सम्मेलनको लागि जिम्मेवार हुने भएको थियो। सन् १९६२ को संविधानले पश्चिम र पूर्व पाकिस्तानमा एक गभर्नरीय प्रणालीको स्थापना गरेको थियो। प्रत्येक प्रान्तले आफ्नै छुट्टै प्रान्तीय गभर्नरीय सरकारहरू चलाउँदै आएका थिए। संविधानले केन्द्रीय सरकार र प्रान्तहरू बीच शक्ति विभाजनलाई स्पष्ट पारेको थियो। फातिमा जिन्नालाई सन् १९६५ को राष्ट्रपतीय निर्वाचनमा अयुब खानलाई पराजित गर्न विफल भएपछि पूर्व पाकिस्तानमा कडा समर्थन प्राप्त भएको थियो।

सन् १९६२ मा ढाकालाई पाकिस्तानको दोस्रो राजधानीको रूपमा घोषित गरिएको थियो। यसलाई व्यवस्थापकीय राजधानीको रूपमा नामाङ्कीत गर्दै और लुई कानलाई एक राष्ट्रिय सभा परिसरको प्रारूप तैयार गर्ने काम सुम्पिएको थियो। सन् १९६० को दशक पछि ढाकाको जनसङ्ख्या वृद्धि हुँदै गएको थियो। यस प्रान्तमा सात प्राकृतिक ग्याँस क्षेत्रहरूको दोहन गरिएको थियो। पूर्व ग्याँस प्रशोधनको रूपमा विकसित पेट्रोलियम उद्योग बन्दरगाह सहर चट्टोग्राममा स्थापना गरिएको थियो।

छ बुँदे आन्दोलनसम्पादन

सन् १९६४ मा सोहरावार्दीको मृत्यु पश्चात् शेख मुजिबको निवासमा भएको एक बैठकले आवामी लिगलाई पुन: एकीकृत गर्ने निर्णय गरेको थियो। यस बैठकको प्रस्तावको आधारमा शेख मुजिब तत्कालीन पाकिस्तानको एक प्रमुख राजनैतिक दल आवामी लिगको महासचिव र मओलानम आबदुर रशीद तर्कबागीशलाई दलको सभापतिको रूपमा निर्वाचित भएका थिए। सन् १९६४ मार्च ११ का दिन सर्वदलीय सङ्घर्ष परिषद्को पनि गठन भएको थियो जसको माध्यमबाट शेख मुजिबले साम्प्रदायिक दङ्गा रोक्न विशेष उपायहरूको अवलम्बन गरेका थिए। सैन्य शासक अयूब खानको सैन्य शासन, राजनितीको नाममा मौलिक गणतन्त्र तथा पाकिस्तानको संरचनामा एक इकाई पद्धति विरोधी नेताहरू मध्ये शेख मुजिब अगुवा थिए। यस विधिका अनुसार शक्तिलाई केन्द्रित गर्ने योजना गरिएको थियो भने प्रदेशहरूलाई एकसाथ ल्याउन पनि पहल गरिएको थियो।[६] अन्य राजनीतिक दलहरूसँग काम गर्दा शेख मुजिबले अयूब विरोधी सबै दलका उम्मेदवारहरूको साथसाथै फातिमा जिन्नाको पनि समर्थन गरेका थिए जसकारण उनलाई चुनाव आउनु भन्दा दुई हप्ता अघि पक्राउ गरिएको थियो भने देशद्रोह र आपत्तिजनक प्रस्ताव बनाएको आरोपमा उनलाई एक वर्ष कारागार सजाय सुनाइएको थियो। यद्यपि उनलाई उच्च अदालतको फैसलामा एक वर्ष नपुग्दै कारागारबाट रिहा गरिएको थियो। यस समयमा सेनाको नरसंहार र बङ्गालीहरूको माग पूरा गर्न सेनाका शासकहरूको उदासीनताले पूर्वी पाकिस्तानका जनतालाई आक्रोशित बनाएको थियो।

सन् १९६६ फेब्रुअरी ५ का दिन विपक्षी दलहरूको राष्ट्रिय सम्मेलन लाहोरमा सम्पन्न भएको थियो। यस सम्मेलनमा शेख मुजिबले आफ्नो ऐतिहासिक ६ बुँदे माग पेश गरेका थिए जुन पूर्वी पाकिस्तानको स्वायत्तताको एक रूपरेखा रहेको थियो। शेख मुजिबले 'हाम्रो जीवन रक्षाको लागि माग' भन्ने शीर्षक अन्तर्गत यो मागको प्रचार गरेका थिए। यस मागको मुख्य मुद्दा भनेको कमजोर केन्द्रीय सरकारको अधीनमा रहेको पाकिस्तानी सङ्घमा पूर्वी पाकिस्तानको पूर्ण स्वायत्तता थियो। उक्त मागलाई सम्मेलनका आयोजकहरूले अस्वीकार गर्दै शेख मुजिबलाई बिखण्डनवादी रूपमा पहिचान गरेका थिए जसकारण उनले सम्मेलन बहिष्कार गर्दै पूर्वी पाकिस्तान फर्केका थिए।[७] सन् १९६६ मा शेख मुजिब आवामी लिगका सभापतिको रूपमा निर्वाचित भएका थिए। यस निर्वाचन पछि उनले छ बुँदाहरूको समर्थन जुटाउन राष्ट्रव्यापी अभियान चलाउँदै लगभग सबै देशहरूको यात्रा गरेका थिए भने यात्राको क्रममा उनलाई प्रहरीले सिलेट, मयमनसिङ्ह र ढाकामा थुप्रै पटक पक्राउ गरेको थियो। उनी यस वर्षको पहिलो चतुर्थाम्शमा उनलाई ८ पटक पक्राउ गरिएको थिए। उनलाई सोही वर्ष ८ मे का दिन नारायणगञ्जमा स्थित जुट कारखानाका मजदुरहरूको जुलुसमा भाग लिएको कारण पुनः पक्राउ गरिएको थियो। उनको रिहाइको माग गर्न ७ जुनका दिन राष्ट्रव्यापी हड्ताल आह्वान गरिएको थियो। हड्तालको क्रममा प्रहरीले गोलीबारी गर्दा ढाका र नारायणगञ्जमा कम्तिमा तीन प्रदर्शनकारीको मृत्यु भएको थियो।

अन्तिम वर्षसम्पादन

परीक्षणको क्रममा सन् १९६९ जनवरी ५ तारिख मा केन्द्रीय विद्यार्थी सङ्घर्ष परिषद्ले आफ्ना एघार बुँदे मागहरू प्रस्तुत गरेको थियो जसमा शेख मुजिबका ६ बुँदे मागहरू समावेश थिए। यस परिषद्को निर्णयले आगरतला षड्यन्त्र मुद्दा फिर्ता लिने माग गर्दै देशव्यापी विद्यार्थी आन्दोलनको तयारीमा ल्याएको थियो। यस सङ्घर्षले एक समयमा जनआन्दोलनको रूप लिएको थियो भने यो जनआन्दोलन उनन्सत्तरीको जन विद्रोह भनेर परिचित छ। महिनौँको विरोध र प्रतिरोध आन्दोलनले धारा १४४ को उल्लङ्घन, कर्फ्यू, प्रहरीको गोलीबारी चरम सीमामा पुगेपछि र हताहतको सङ्ख्यामा वृद्धि आएपछि पाकिस्तान सरकारले सहुलियतहरू दिन बाध्य भएको थियो। उक्त मुद्दा तत्कालीन राष्ट्रपति अयूब खानले राजनीतिक नेताहरूसँग गोलमेच बैठक पछि फिर्ता लिएको थियो। मुद्दा फिर्ता भएपछि शेख मुजिब लगायत सबै अभियुक्तहरूलाई रिहा गरिएको थियो। केन्द्रीय विद्यार्थी सङ्घर्ष परिषद्ले शेख मुजिबको सम्मानमा सोही वर्ष २३ फेब्रुअरीका दिन ढाकाको रेसकोर्स मैदानमा (हाल सोहरावर्दी उद्यान) एक सभाको आयोजना गरेको थियो। लाखौँ जनता उपस्थित उक्त सम्मेलनमा शेख मुजिबलाई "बङ्गोबोन्धु" उपाधि दिइएको थियो भने तत्कालीन छात्र नेता तोफायेल आहमेदले उक्त उपाधिको घोषणा गरेका थिए। यस सभामा भाषण दिँदै शेख मुजिबले विद्यार्थी सङ्घर्ष परिषद्को एघार बुँदे मागको पूर्ण समर्थन व्यक्त गरेका थिए।[८]

सन्‌ १९७० मा भोला नामक एक चक्रवातले पूर्वी पाकिस्तानको तटवर्ती क्षेत्रमा नोभेम्बर १२ को साँझको समयमा आँधीको प्रभाव परेको थियो जसकारण अनुमानित ३ देखि ५ लाख मानिसहरूको मृत्यु भएको थियो। यद्यपि सहि मृत्यु हुनेहरूको सङ्ख्या थाहा भएको थिएन। यो इतिहासमै सबैभन्दा घातक उष्णकटिबन्धीय चक्रवात मानिन्छ।[९] आँधीको एक हप्ता पछि सरकारले विपत्तिको परिमाण बुझ्न नसक्दा राहत कार्यहरूलाई सम्बोधन गर्न ढिलाइ भएको भनी राष्ट्रपति खानले स्वीकार गरेका थिए। पूर्वी पाकिस्तानका ११ राजनीतिक नेताहरूद्वारा जारी एक बयान चक्रवातको दश दिन पछि जारी गरिएको थियो जसले सरकारलाई घोर उपेक्षा, कठोर र पूर्ण उदासीनताका आरोप लगाएको थियो। उनीहरूले राष्ट्रपति माथि समाचार नबनाइएको समस्याको परिमाणलाई कम गर्नेहरूको पनि आरोप लगाएका थिए।[१०] १९ नोभेम्बरमा विद्यार्थीहरूले सरकारले प्रतिक्रिया दिनलाई ढिलासुस्ती गरेको भन्दै ढाकामा एक विरोध र्‍यालिको आयोजना गरेका थिए। आब्दुल हामिद खान भसानीले २४ नोभेम्बरमा ५० हजार मानिसहरूको एक र्‍यालीलाई सम्बोधित गरेका थिए जहाँ उनले राष्ट्रपति माथि अक्षमताको आरोप लगाउँदै उनको राजिनामा माग गरेका थिए।[११]

७ दिसेम्बर १९७० मा पाकिस्तानमा भएको पहिलो आम निर्वाचन पूर्वी पाकिस्तानको अवामी लिगको जित्न सफल भएको थियो जसले पूर्वी पाकिस्तान विधानसभामा १६९ मा १६७ सिटहरूका साथ पूर्ण बहुमत हासिल गरेको थियो भने ३१३ सिटहरू भएको राष्ट्रिय विधानसभामा लगभग पूर्ण बहुमत प्राप्त गर्न सफल भएको थियो भने तात्कालिक समयमा अवामी लिगका नेता शेख मुजिबुर रहमान थिए। पाकिस्तान पिपल्स राजनितीक दलले पश्चिम पाकिस्तानमा राष्ट्रिय विधानसभामा ८१ सिटहरूको साथ अधिकांश मत जित्न सफल भएको थियो भने तात्कालिक समयमा उक्त राजनितीक दलका नेता जुलफिकार अली भुट्टो रहेका थिए।[१२]

 
७ मार्च १९७१ का दिन शेख मुजिबुर रहमान एक ऐतिहासिक भाषण दिँदै

७ मार्च १९७१ का दिन शेख मुजिबुर रहमानले ढाकाको रेसकोर्स मैदानमा (हाल सोहरावार्दी उद्यान) लगभग २० लाख मानिसहरूको ठूलो जनसभामा दिउँसोको २ बजेर ४५ मिनेटदेखि ३ बजेर ३ मिनेटसम्म एक ऐतिहासिक भाषण दिएका थिए। त्यस समय तत्कालीन पूर्वी पाकिस्तान र शक्तिशाली पश्चिमी पाकिस्तानको बीच पूर्वी पाकिस्तानको स्वतन्त्रताका लागि तनाव बढ्दो अवस्थामा पुगेको थियो। आफ्नो यस ऐतिहासिक भाषणमा शेख मुजिबुर रहमानले "यस समयको सङ्घर्ष हाम्रो स्वतन्त्रताको हो, यस यमसको हाम्रो सङ्घर्ष स्वाधीनताको सङ्घर्ष हो" भनि एक महत्त्वपूर्ण वाक्य बोलेका थिए। उनले बाङ्ला प्रदेशमा नागरिक अवज्ञा आन्दोलनको घोषणा गर्दै प्रत्येक घरहरूबाट मानिसहरूको स्वतन्त्रताका लागि लड्न तथा अन्याय र अत्याचारको विरुद्ध आवाज उठाउन आह्वान गरेका थिए भने यही ऐतिहासिक भाषणका कारण बङ्गाली स्वतन्त्रताका लागि पश्चिम पाकिस्तान विरुद्ध उत्रिन प्रेरित बनेका थिए।[१३] यस ऐतिहासिक भाषणलाई लिएर एक लिखित प्रतिलिपी सार्वजनिक गरिएको थियो जसमा ताजउद्दिन आहमेदले केही हदसम्म संशोधन गरेका थिए। यस भाषणलाई संसोधित गरिनुको मुख्य उद्देश्य सामरिक शासनलाई निरस्त गर्ने र निर्वाचित प्रतिनिधिहरूलाई सत्ता हस्तान्तरण गर्नेका लागि जोड दिइएको थियो। भाषण पश्चातका दिनहरूमा पश्चिम पाकिस्तानबाट सशस्त्र सैन्य कार्वाहीको सुरुवात हुने लक्षण देखा परेको थियो। मुजिबुरको यस ऐतिहासिक भाषणको मात्र १८ दिन पश्चात् पश्चिम पाकिस्तानी सेनाले बङ्गाली, बुद्धिजीवी, विद्यार्थी, राजनीतिज्ञ तथा पूर्वी पाकिस्तानको सशस्त्र सैनिक विरुद्ध अप्रेसन सार्चलाइट नामक एक सुनियोजित सैन्य कार्वाहीको सुरुवात गरेका थिए जसकारण पूर्वी पाकिस्तानको स्वतन्त्रताका लागि लडाइँ सुरु भएको थियो।[१४]

 
१६ डिसेम्बर १९७१, पाकिस्तानी सैन्य अधिकारिकद्वारा आत्मसमर्पण पत्रमा हस्ताक्षर गरिँदै

सन् १९७१ डिसेम्बरको सुरुवाती दिनहरूमा भारत र बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका लडाकुहरू सिधै पाकिस्तान विरुद्धको युद्धमा सामेल भएको थियो।[१५] बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका लडाकु र भारतीय सेनाको संयुक्त आक्रमणका कारण पाकिस्तान पहिले देखिनै विभिन्न स्थानहरूमा पराजित भएको थियो जसकारण पाकिस्तानी सेनाले आत्मसमर्पण गर्ने निर्णय लिएको थियो। १६ डिसेम्बरका दिन लगभग ९३,००० सैनिकहरूको साथ पाकिस्तानी सैन्य अधिकारीहरूले ढाका स्थित रेसकोर्स मैदानमा औपचारिक रूपबाट आत्मसमर्पण गरेका थिए।[१६] जसकारण ९ महिनासम्म चलेको रक्तपात युक्त युद्धको समाप्त हुँदै एक स्वाधीनता देशको रूपमा बङ्गलादेशको उदय भएको थियो।

भूगोलसम्पादन

पश्चिम पाकिस्तानको मरुभूमि उच्च पहाडी भूभागहरूको विपरीत पूर्व पाकिस्तानमा संसारको सबैभन्दा ठूलो तटिय क्षेत्र र लगभग ७०० नदीहरूको साथ उष्णकटिबन्धीय पहाडी जङ्गल रहेको थियो। पूर्व पाकिस्तानलाई बेलायती बङ्गालबाट १७ जिल्लाहरूको विरासत प्राप्त भएको थियो। सन् १९६० मा तल्लो तिप्पोराको नाम परिवर्तन गरी कुमिल्ला राखिएको थियो। सन् १९६९ मा बाकरगञ्जबाट मयमनसिङ्ह र पटुवाखालीबाट छुट्टाएर टाङ्गाइल नामक जिल्लाको स्थापना गरिएको थियो।


 
पूर्व र पश्चिम पाकिस्तान
विभाग पूर्व पाकिस्तानी जिल्लाहरू हालका बङ्गलादेशी जिल्लाहरू
ढाका विभाग ढाका जिल्ला ढाका विभाग (टाङ्गाइल र विशाल फरिदपुर रहित)
फरिदपुर जिल्ला विशाल फरिदपुर
मयमनसिङ्ह जिल्ला मयमनसिङ्ह विभाग
टाङ्गाइल जिल्ला टाङ्गाइल
चट्टोग्राम विभाग चट्टोग्राम जिल्ला चट्टोग्राम पहाडी क्षेत्र
चट्टोग्राम जिल्ला चट्टोग्राम जिल्ला
कुमिल्ला जिल्ला कुमिल्ला, चाँदपुर, ब्राह्मनबाडिया
नोवाखाली नोवाखाली, फेनी, लोक्खीपुर
सिलेट जिल्ला सिलेट विभाग
कक्सबाजार जिल्ला कक्सबाजार जिल्ला
राजशाही विभाग बगुडा जिल्ला बगुडा, जयपुरहाट
दिनाजपुर जिल्ला दिनाजपुर, ठाकुरगाँउ, पञ्चगड
राजशाही जिल्ला राजशाही, नबाबगञ्ज, नाटोर, नउगाँ
रङ्पुर जिल्ला रङ्पुर विभाग (दिनाजपुर, ठाकुरगाँउ, पञ्चगड)
पाबना जिल्ला पाबना, सिराजगञ्ज
खुलना विभाग बाकेरगञ्ज जिल्ला बरिशाल, झालकाठी, पिरोजपुर
जशोर जिल्ला जशोर, नडाइल, मागुरा
खुलना जिल्ला खुलना, सातखीरा, बागेरहाट
कुष्टिया जिल्ला कुष्टिया, मेहेरपुर, चुयाडाङ्गा, झिनाइदह
पटुवाखाली जिल्ला पटुवाखाली, बरगुना, भोला

अर्थतन्त्रसम्पादन

 
सन् १९६५ मा काप्ताई बाँध
सन्।१९७१ को पूर्व पाकिस्तानको एक वृत्तचित्र
 
राष्ट्रपति अयुब खान (बाँया) आबुल कासेम खानको साथमा, चट्टोग्राम
 
आदमजी जुट मिल्सको प्रवेशद्वार, सन् १९५०

बेलायती भारतको विभाजनको समय पूर्वी बङ्गालको अर्थव्यवस्था कृषिमा आधारिच थियो। चट्टोग्राम पुरै संसार भरीमा चियाको सबैभन्दा ठूलो उत्पादक रहेकाले सन् १९४९ मा यस क्षेत्रमा चिया प्रशोधन उद्योगको स्थापना गरिएको थियो। पछि सन् १९५४ मा पूर्व पाकिस्तान विनिमय बजार सङ्घको स्थापना गरिएको थियो। पछि भारत, बर्मा र पूर्व बेलायती उपनिवेशहरूका केही धनाड्य मुसलमान व्यक्ति तथा प्रहरीहरू पूर्व पाकिस्तानमा बसेका थिए। इसपाहानी परिवार, अफ्रिकवाला भाइ र अदमजी परिवार यस क्षेत्रमा औद्योगीकरणका अग्रणी परिवारहरू थिए। आधुनिक बङ्गलादेशका केही प्रमुख कम्पनीहरूको स्थापना पूर्व पाकिस्तान कालमा भएको थियो। बेलायती बङ्गालमा स्थापित एक एअरलाइन, ओरियन्टल एअरवेजले ढाका-कलकत्ता-दिल्ली-कराची मार्गमा डिसी-३ विमानको साथ पूर्व र पश्चिमी पाकिस्तानको बीच महत्वपूर्ण हवाई सम्पर्कको सुरुवात गरेको थियो। ओरियन एअरवेज पछि पाकिस्तान अन्तर्राष्ट्रिय एअरलाइन्सको रूपमा विकसित भएको थियो जसको पहिलो अध्यक्ष पूर्व पाकिस्तान स्थित उद्योगपति मिर्जा आहमेद इसपाहानी थिए। सन् १९५० को दशकसम्म पूर्व बङ्गाले संसारका सबैभन्दा ठूलो जुट उद्योगमा पश्चिम बङ्गाललाई उछिनेको थियो। आदमजी जुट मिल्ससँग इतिहासको सबैभन्दा ठूलो जुट प्रशोधन गर्ने संयन्त्र रहेको थियो भने नारायनगञ्जमा यसको स्थान पछि यसलाई पूर्वको डन्डीको नामले चिनिन थालिएको थियो। आदमजी सर हाजी आदमजी दाउदका वंशज थिए।

बर्मा तेल कम्पनीद्वारा सन् १९५५ मा पूर्व पाकिस्तानको उत्तरपूर्वी भागमा प्राकृतिक ग्याँसको खोज गरिएको थियो। प्राकृतिक ग्याँसको औद्योगिक उपयोग सन् १९५९ मा सुरु भएको थियो। सेल तेल कम्पनी र पाकिस्तान पेट्रोलियमले सन् १९६० को दशकमा ७ प्रकृतिक ग्याँसका क्षेत्रहरूलाई पत्ता लगाएको थियो। चट्टोग्रामको औद्योगिक समुद्री सहरले बर्मा, पूर्व र पाकिस्तान राष्ट्रिय तेलको मुख्य कार्यालय बनेको थियो। पूर्ववर्ती तेल उत्पादक इरानले चट्टोग्राममा पूर्वी तेल संशोधन कम्पनीको स्थापनामा सहयोग गरेको थियो। ग्रामीण विकासको लागि पाकिस्तान एकेडेमीको कोमिल्ला मोडेल (हाल ग्रामीण विकासका लागि बङ्गलादेश एकेडेमी) को परिकल्पना आखतार हामिद खानले गरेका थिए। सन् १९६५ मा पाकिस्तानले अमेरिकी सहायोगका साथ पूर्व पाकिस्तानको दक्षिणपूर्वी भागमा काप्ताई बाँध जलविद्युत परियोजनालाई लागू गरेको थियो। यो पूर्व पाकिस्तानको एकमात्र जलविद्युतीय बाँध थियो। यो परियोजना क्षेत्रबाट ४० हजार भन्दा बढी मानिसहरूलाई विस्थापित गरेका कारण विवादास्पद बनेको थियो। पछि पूर्व पाकिस्तानको केन्द्रमा स्थित महानगर ढाकामा महत्वपूर्ण सहरी विकासहरू देखिएको थियो।

आर्थिक भेदभाव र असमानताहरूसम्पादन

वर्ष पश्चिम पाकिस्तानमा गरिएको खर्च (मिलियनमा पाकिस्तानी रुपी) पूर्व पाकिस्तानमा गरिएको खर्च (मिलियनमा पाकिस्तानी रुपी) पश्चिमको प्रतिशतको रूपमा पूर्वमा गरिएको खर्च
सन् १९५०–५५ ११,२९० ५,२४० ४६.४
सन् १९५५–६० १६,५५० ५,२४० ३१.७
सन् १९६०–६५ ३३,५५० १४,०४० ४१.८
सन् १९६५–७० ५१,९५० २१,४१० ४१.२
जम्मा १,१३,३४० ४५,९३० ४०.५
स्रोत: चौँथो पञ्चवर्षीय योजना सन् १९७०-७५ को लागि सल्लाहकार टोलीको प्रतिवेदन, प्रथम संस्करण,
पाकिस्तानको योजना आयोगद्वारा प्रकाशित

पूर्व पाकिस्तानको जनसङ्ख्या पश्चिमको भन्दा बढी भएता पनि पश्चिम पाकिस्तानले विभाजित देशलाई राजनैतिक रूपमा दमन गर्दै साधारण बजेटबाट पश्चिम पाकिस्तानका लागि बढी रकम विनियोजन गर्ने गरेको थियो। पूर्व पाकिस्तान पुरै पाकिस्तानको निर्माणको क्रममा आर्थिक हिसाबले पहिलेनै वञ्चित भइसकेको थियो। विभिन्न कारकहरूले विकास नीतिहरूमा जानाजानी राज्य बीच भेदभाव मात्र समावेश गरेन तर देशको राजधानी र पश्चिम पाकिस्तानमा बढी आप्रवासी व्यवसायीको उपस्थितिले त्यहाँ सरकारको ठूलो रकम छुट्याएको तथ्यलाई पनि समेटेको थियो। पूर्वी पाकिस्तानमा थोरै सङ्ख्यामा मात्रै स्वदेशी व्यवसायी, पर्याप्त श्रम अशान्ति र तनावपूर्ण राजनैतिक वातावरणका कारण पूर्वी पाकिस्तानमा विदेशी लगानी पनि कम रहेको थियो। पाकिस्तानी राज्यको आर्थिक दृष्टिकोण सहरी उद्योगतर्फ अग्रसर थियो जुन पूर्वी पाकिस्तानको मुख्यतया कृषि अर्थव्यवस्थासँग उपयुक्त थिएन।

प्रतिव्यक्ति घरेलु गार्हस्थ्य उत्पादन वृद्धिको वार्षिक दर पश्चिम पाकिस्तानमा ४.४ प्रतिशत रहेको थियो भने यसको विपरीतमा पूर्व पाकिस्तानमा प्रतिव्यक्ति घरेलुु गार्हस्थ्य उत्पादन वृद्धि दर सन् १९६० देखि सन् १९६५ सम्म जम्मा २.६ प्रतिशत रहेको थियो। बङ्गाली राजनीतिज्ञहरूले त्यसपछि बढी स्वायत्तताका लागि जोड दिएका थिए भने उनीहरूका अनुसार पूर्व पाकिस्तानका बङ्गाली जुट र चियाको निर्यातबाट पाकिस्तानको धेरै आय कमाएको ठहर गरेका थिए। सन् १९६० को उत्तरार्धमा पाकिस्तानको निर्यात आयको लगभग ७० हिस्सा पूर्व पाकिस्तानमा उत्पादित सामग्रीहरू मार्फत आर्जन भएको थियो तर अन्तर्राष्ट्रिय बजारमा जुटको मागमा कमी आएसँगै आय प्रतिशतमा गिरावट आएको थियो। सन् १९६० को दशकको मध्यमा पूर्व पाकिस्तान देशको निर्यात आयको ६०% भन्दा कम उत्पादनका लागि जिम्मेवार थियो। सन् १९७१ मा बङ्गलादेशले स्वतन्त्रता प्राप्त गरेपछि सन् १९७१ पछिका वर्षहरूमा निर्यात ५० प्रतिशत भन्दा तल झरेको थियो। सन् १९६६ मा मुजिबले पाकिस्तानका दुई फरक पाटाहरूकम लागि फरकफरक मुद्रा खाता राखिनु पर्ने र।विदेशमा फरकफरक व्यापार कार्यालयको स्थापना गरिनु पर्ने माग राखेका थिए। सन् १९६० को दशकको मध्यतिर पश्चिम पाकिस्तान गहुँमा आफ्नो सफल हरित क्रान्तिको साथ अयुबको "प्रगतिको दशक" र पश्चिम पाकिस्तानी वस्त्रहरूका लागि बजारको विस्तारबाट लाभान्वित हुँदै गएको थियो भने अर्कोतर्फ पूर्व पाकिस्तानका मानिसहरूको जीवन स्तर अति निम्न स्तरमा चलिरहेको थियो। राष्ट्रिय सरकारको सिट पश्चिम पाकिस्तानलाई प्राप्त भएको र अधिक विदेशी सहायता पनि पश्चिम पाकिस्तानले लिएकोमा बङ्गालीहरू निकै दुःखी बनेका थिए।[१७]

जनशाङ्खिकि र संस्कृतिसम्पादन

 
सन् १९७१ मार्च २३ का दिन फहराइएको पहिलो बङ्गलादेशी झण्डा

पूर्व पाकिस्तान पुरै पाकिस्तानको लगभग ५५ प्रतिशत जनसङ्ख्या ओगटेको थियो। यस प्रान्तको सबैभन्दा ठूलो जातीय समूह बङ्गाली थियो जुन पछि पुरै पाकिस्तानको सबैभन्दा ठूलो जातीय समूह बनेको थियो। बङ्गाली मुसलमानहरूले यहाँ प्रमुख बहुमत बनाएपछि यहाँ बङ्गाली हिन्दु, बङ्गाली बौद्ध र बङ्गाली इसाई धर्मका मानिसहरूको सङ्ख्या न्युन रहेको थियो। पूर्व पाकिस्तानमा केही आदिवासी समूह थिए जसअन्तर्गत चाकमा, मर्म, ग्रास, मणिपुरी, त्रिपुरी र सन्थाल जनजातिका मनिसहरू बसोबास गर्दै आएका थिए। यी जनजातिहरूको ठूलो सङ्ख्या बौद्ध, इसाई र मुख्यरूपमा हिन्दु धर्मवलम्बी थिए। पूर्व पाकिस्तानमा पश्चिम बङ्गाल, बिहार, गुजरात, उत्तरपश्चिमी सीमान्त प्रदेश, आसम, उडिसा, पञ्जाब र केरल सहित भारतीय उपमहाद्वीपका मुसलमानहरूको निवास रहेको थियो। पूर्व पाकिस्तानमा अर्मेनियाली र यहुदी अल्पसङ्ख्यकहरू पनि रहेका थिए। पाकिस्तानको एसियाली समाजको स्थापना सन् १९४८ मा आहमेद हासान दानी द्वारा पुरानो ढाकामा भएको थियो। पूर्व पाकिस्तानको राजशाही स्थित वीरेन्द्र अनुसन्धान सङ्ग्राहलय सिन्धु घाटी सभ्यताको अनुसन्धान गर्ने एक महत्वपूर्ण केन्द्र बनेको थियो भने त्यसपछि सन् १९५४ मा बाङ्ला एकेडेमीको भएको थियो। पूर्व पाकिस्तानको समाचार पत्रहरूमा; द डेली इत्तेफाक बङ्गाली भाषामा समाचार सम्प्रेषण गर्ने प्रमुख दैनिक समाचारपत्र थियो भने अङ्ग्रेजी भाषामा समाचार सम्प्रेषण गर्ने समाचार पत्र होलेडे नामक एक पत्रिकाले गर्दै आएको थियो।

विभाजनको समयमा पूर्व बङ्गालमा चलचित्र मन्दिरहरूको सङ्ख्या ८० रहेको थियो। सन् १९६५ मा पूर्व पाकिस्तानमा निर्मित पहिलो चलचित्र मुख ओ मुखोश थियो। सन् १९६५ मा लाहोर पश्चात् पाकिस्तान टेलिभिजनले ढाकामा आफ्नो दोस्रो स्टुडियोको स्थापित गरेको थियो। रूना लेला पाकिस्तानकी पहिलो पप गायिका थिइन् भने भारतमा पनि उनको लोकप्रिय त्यतिकै रहेको थियो। साबनम पूर्व पाकिस्तानकी एक प्रमुख अभिनेत्री थिइा्। फिरोजा बेगम बङ्गाली शास्त्रीय नजरुल गीति की एक प्रमुख प्रतिपादक थिइन्। जसिमउद्दीन र आब्बाउद्दीन आहमेदले बङ्गाली लोक सङ्गीतलाई बढावा दिएका थिए। मुनिर चौधुरी, सैयल मुजतबा आली, नुरुल मोमन, सुफिया कामाल र शामसुल रहमान पूर्व पाकिस्तानका प्रमुख साहित्यकारहरू थिए। पूर्व पाकिस्तानका केही प्रतिष्ठित व्यक्तिहरू सितारे इम्तियाजबाट सम्मानित भएका थिए।

मुख्यमन्त्रीहरूसम्पादन

कार्यकाल पूर्व पाकिस्तानका मुख्यमन्त्रीहरू राजनैतिक दल
२० जुन १९५५ - ३० अगस्ट १९५६ आबु हुसेइन खान
१ सेप्टेम्बर १९५६ - मार्च १९५८ आताउर रहमान खान आवामी लिग
मार्च १९५८ आबु हुसेइन सरकार
मार्च १९५८ - १८ जुन १९५८ आताउर रहमान खान आवामी लिग
१८ जुन १९५८ - २२ जुन १९५८ आबु हुसेइन सरकार
२२ जुन १९५८ - २५ अगस्ट १९५८ सरकारी शासन
२५ अगस्ट १९५८ - ७ अक्टोबर १९५८ आताउर रहमान खान आवामी लिग
७ अक्टोबर १९५८ पदलाई समाप्त गरिएको थियो
१६ डिसेम्बर १९७१ पूर्व पाकिस्तानको प्रान्त भङ्ग भएको थियो

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "বিশেষ প্রতিবেদন: পাকিস্তানের ব্রেকআপ ১৯৬৯–১৯৭১" 
  2. ইসলাম, পৃষ্ঠা ১৩২-১৩৬
  3. ইসলাম, পৃষ্ঠা ১৪১-১৪৫
  4. "আর্কাইভ কপি", मूलबाट ४ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जुन २०१६ 
  5. "আর্কাইভ কপি", मूलबाट ११ अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुन २०१६ 
  6. G. W. Choudhury, Bangladesh: Why It Happened (२००६-०७-०७)। "Bengali nationalism" (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २००६-०७-०७ 
  7. M. Rashiduzzaman, The Awami League In The Political Development of Pakistan (२००६-०७-०७)। "Awami League" (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २००६-०७-०७ 
  8. Charles Kennedy, Craig Baxter (२००६-०७-११)। "Governance and Politics in South Asia" (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २००६-०७-११ 
  9. India Meteorological Department (१९७०), "Annual Summary – Storms & Depressions" (PDF), India Weather Review 1970, पृ: 10–11, अन्तिम पहुँच १५ अप्रिल २००७ 
  10. Fritz, Hermann M.; Blount, Chris, "Thematic paper: Role of forests and trees in protecting coastal areas against cyclones", Coastal protection in the aftermath of the Indian Ocean tsunami: What role for forests and trees?, Food and Agriculture Organization of the United Nations Regional Office for Asia and the Pacific, मूलबाट २९ नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुलाई २०१५ 
  11. Schanberg, Sydney (२२ नोभेम्बर १९७०), "Yahya Condedes 'Slips' In Relief", The New York Times 
  12. Ahmed, Salahuddin (२००४)। "Bangladesh: Past and Present"। APH Publishing। पृष्ठ 63। 
  13. "বঙ্গবন্ধুর ৭ মার্চের ভাষণ ঐতিহাসিক দলিল: ইউনেস্কো"দৈনিক প্রথম আলো 
  14. বাংলাদেশের স্বাধীনতা যুদ্ধ - দলিল পত্র ১৫শ খণ্ড
  15. "India's Strategic Blunders in the 1971 War", Rediff.com, अन्तिम पहुँच ३ अगस्ट २०१४ 
  16. "The Simla Agreement 1972 – Story of Pakistan", Story of Pakistan, १ जुन २००३, मूलबाट १४ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुन २०११ 
  17. "Birth of Bangladesh", Economic and Political Weekly 51 (28), ५ जुन २०१५। 

बाह्य कडीहरूसम्पादन