कैलाली कंचनपुर सुदूरपश्चिमाञ्चल विकासक्षेत्र नेपालका पाँच विकासक्षेत्रमध्येको एक विकासक्षेत्र हो । यस विकासक्षेत्रमा कैलाली, कंचनपुर, डोटी, डडेल्धुरा जिल्ला, अछाम, बाजुरा, बझांग , दार्चुला र बैतडी गरेर नौ जिल्लाहरू रहेका छन् । १९५३९ बर्ग किलो मि क्षेत्रफलमा फैलिएको सुदूरपश्चिमाञ्चलको राष्ट्रिय जनगणना २०६८ अनुसार २५ लाख ५२ हजार ५ सय १७ जनसङ्ख्या छ । विकासको दृष्टिले धेरै पछाडी परेको मानिने यहाँको हिमाली र पहाडी क्षेत्रमा ४४ - ४९% सम्म गरिबीको रेखामुनी रहेका मानिसहरु बसोबास गर्दछन् । यहाँका हिमालीभूमि पर्यटन र जटिबुटीकोलागि महत्त्वपूर्ण छन् । पहाडीभूमि पशुपालन ,फलफुल र तरकारी उत्पादनकोलागि महत्त्वपूर्ण छन् । त्यस्तै खाधान्न उत्पादनकालागि सुदूरपश्चिमाञ्चलको अभाज्य अङ्ग रहेको अन्नको भण्डार कैलाली कंचनपुरको समथर भूमि हो । नेपालको संविधान २०७२ अनुसार सङ्घीय प्रदेश,नं ७ मा रहेको तराई, पहाड र हिमालसम्म फैलिएको सुदूरपश्चिमाञ्चल विकासक्षेत्रको उत्तरी नाका चीन, पश्चिम र दक्षिणी नाका भारतसँग जोडिएको छ । यहाँको उचाई अनुसार हरेक कुरामा फरक-फरक पन छ । तराई देखि उच्च हिमालीभूमि सम्मनको प्रकृति अनुसार हुर्केका बोट-बिरुवा,जनावर, मानव र मानबिय रहन सहन संस्कृति, भेषभूषा हावापानी अनुसारको मौलिकता यहाँको सम्पति हो, यो पर्यटन विकासको आधार पनि हो । घना वनजंगल अनि कर्णाली र महाकालीजस्ता पानीका ठूला जल भण्डार रहेको यो भूगोल भित्र असंख्य गाड, खोला नाला रहेका छन् । प्राकृतिक हिसाबले सुन्दर मानिने यस विकासक्षेत्रमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष र खप्तड राष्ट्रिय निकुञ्ज पर्दछन् । दुर्लभ मानिने जलचर प्राणी डल्फिनहरु यस भूमिको पूर्व र दक्षिणमा रहेको कर्णाली र मोहना नदीमा डुबुल्की लगाउँदै सयल गर्ने गर्दछन् । प्राचीन इतिहाससँग सम्बन्धित पुरातात्विक स्थलहरूको भण्डार रहेको यो क्षेत्र कला संस्कृतिको पनि धनि छ । यहाँ डोटेली, मगर, भोटे, रानाथारु र डगौराथारुको परम्परागत भेषभुषा रहनसहन रीतिरिवाज र संस्कृति देख्न पाईन्छ । पूर्वी नेपालदेखि पश्चिमको हिमाल सम्मनका चार जात क्षत्तिस वर्ण भित्र पर्ने नागरिकहरू सुदूरपश्चिमाञ्चलको तराई बेल्टमा बसोबास गर्दछन् । यस कारण यो क्षेत्र हामी सबैको साझा फुलवारी हो । बर्गीय हिसाबले हेर्ने हो भने यहाँ बसोबास गर्ने सबै जात जातिका मानिसहरु समान छैनन् । धनि देखि गरिबीको रेखामुनी रहेका मानिसहरू यहाँका प्रत्येक जाति/समुदायमा भेटिन्छन् । जातिय भन्दा पनि बर्गीय हिसाबले आर्थिक उन्नतिका कार्यक्रमहरूको आवस्यकता यहाँ छ । सबै जाति समुदायका कला संस्कृतिको जगेर्ना गर्दै बिपन्न र पिछडिएको जातिय उत्थानकालागि जागरण फैलाउँनु छ । सबै जात-जाति, भाषा-भाषी, वर्ग र जातिका मान्छेमा जातिय सद्भाव कायम गर्नु छ । तराईको अन्नले हिमालको भोक मेट्नु पर्छ । हिमालको रमणीय स्थानको मज्जा तराईले लिन पाउँनु पर्छ । पहाडका फलफुलले यहाँका मानिसहरूलाई स्वाद दिनु सक्नु पर्छ । हाम्रा साझा भावना साझा विचारले यो भूमि अझै रंगिन बनाउँदै सुन्दर र शान्त विकसित तुल्याउँनु पर्छ । यस कारण यो भूमिको तराई हाम्रो आधार हो, पहाड हाम्रो छाती हो भने हिमाल हाम्रो शीर हो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्