भलाक्चा नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । भलाक्चा गाविस रुकुम जिल्लामा पर्ने ४३ गाविस मध्ये सदरमुकाम खलङ्गा देखि तीन कोष दक्षिणी क्षेत्रमा अवस्थित भलाक्चा गाविस पनि एक हो । पहाडी भूगोलमा रहेको भलाक्चा गाविस आफ्नै खालको ऐतिहासिक भौगोलिक धार्मीक राजनीतिक तथा सामाजिक महत्त्व र विशेषता बोकेर रहेको छ ।

भलाक्चा
Bhalakachha
देश नेपाल
अञ्चलराप्ती अञ्चल
जिल्लारुकुम जिल्ला
जनसङ्ख्या
 (२०११)[१]
 • जम्मा३७१३
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-८८
वेबसाइटwww.ddcrukum.gov.np

भूगोल सम्पादन गर्नुहोस्

भौगोलिक स्वरूपलाई हेर्दा यो गाविस समथर भिरालो फाँट लेक जस्ता विविध भौगोलिक बनावट रहेको छ भने घना जङ्गल चट्टान समेत रहेको छ। यो गाविसको थोरै भाग फाँट र ज्यूलामा पर्दछ भने अन्य भाग पहाडी तथा लेकाली भागमा पर्दछ । भलाक्चा गाविसको पूर्वमा चौखावाङसाँख गाविस पश्चिममा [[पेउघा] र मुरु गाविस उत्तरमा खलङ्गा गाविस र दक्षिणमा रुँघा गाविसको विचमा रहेको छ।

इतिहास सम्पादन गर्नुहोस्

भलाक्चा गाविसको ऐतिहासिक पृष्ठभूमिलाई खोतल्दा यस गाविसलाई भलाक्चा रहनुको मुख्य कारण नपाइएता पनि यहाँका बुढापाका तथा बुद्धिजीविका अनुसार करिब एक सय वर्ष पहिला हालको वडा नं. १ निवासी महादेव पुन नाम गरेका एक ब्यक्तिले खुर्सानी बेच्न हिड्दै गरेको बेला अचानक बाटोमा एउटा गिद्धले सिक्काले भरिएको थैली च्यातिरहेको देखेपछि आफुसँग भएको खुर्सानीको थैलो फालेर पैसाले भरिएको थैली घर लिएर फर्कीएको भन्ने भनाई रहेको छ। पैँसाको थैली लिएर घर गएपछि उनले त्यो पैँसा पाए स्वरूप प्रत्येक वर्ष उनले राँगा काटेर गिद्धलाई भोज खुवाउने गरीब दुखीलाई समस्या परेको बेला सहयोग गर्ने जस्ता सामाजिक सेवा तथा गाउँलेको भलोका लागि पैँसा खर्च गर्दै जाँदा उनी बसेको ठाउँलाई भलो भन्ने गरेको सुन्नमा पाइएको छ। त्यही भलो नामको अपभ्रंस हुँदै यस गाविसको नाम भलाक्चा रहन गएको भनाई रहेको छ।

रहन सहन सम्पादन गर्नुहोस्

यस गाविसका अधिकांश परिवारहरू कृषि पेशामा नै निर्भर रहेका छन् । कृषि पेशाका अलावा यस गाविसका अत्याधिक कम रूपमा सरकारी रोजगारी धेरै जसो वैदेशिक रोजगारीका लागि विदेश पलायन हुने र केहीले ब्यापार गरेर जीवन निर्वाह गरिरहेका छन्। यस गाविसमा पाइने जडिबुटी तथा ब्यापार ब्यवसाय नै यहाँको प्रमुख आयश्रोत हो। यस गाविसमा खेतियोग्य जमीन जम्मा नौ सय ९३ दशमलव ९७ हेक्टर रहेको यस गाविसमा भिरालो पनाको कारण कृषि पेशामा प्रत्यक्ष प्रभाव पारेको पाइन्छ । भलाक्चा गाविसमा क्षेत्री बाहुन दलित जनजाति लगायतका विभिन्न जातिको वसोवास भएता पनि यहाँको रहन सहन प्रायः एकै खालको रहेको छ।

कृषि उपज सम्पादन गर्नुहोस्

मकै, धान, गहुँ, जौँ, कोदो, तोरी यस गाविसमा उत्पादन हुने प्रमुख खाद्यान्न बाली हुन् भने आलु, सिमी, काउली, गोलभेडा, लसुन, प्याज, घुइया, पिडालु, भटामास, अदुवा, गहत, भान्टा, टमाटर, बोडी आदि यस गाविसमा उत्पादन हुने ताजा तरकारी उत्पादन हुने गर्दछन्। यसरी नै सुन्तला कागति नास्पति पलम अमिलो ज्यामिर भ्याकुर काफल केरा तेजु आरु ओखर लगायतका फलफूलहरू उत्पादन हुने गर्दछन् ।

प्रमुख मेला तथा जात्राहरू सम्पादन गर्नुहोस्

यस गाविसको वडा नम्बर १ ५ र ९मा पर्ने भगवतीका मन्दिर र कुलपूजा गर्ने स्थानहरू प्रमुख धार्मिक स्थलहरू हुन्। यस गाविसको वडा नम्बर १मा खालीचौर मेला र वडा नम्बर ५मा कार्तिक पूर्णिमाको दिन टाकुरे मेला लगायतका विभिन्न समयमा ठूला ठूला जात्राहरू लाग्ने गर्दछन्।

जंगली जनावर तथा जडीवुटीहरू सम्पादन गर्नुहोस्

कुरिलो टिमुर सिलाजु समायो दालचिनी कटुको रिठा अमला पाँचऔले चिराइतो जटामसी भलायो आदि भलाक्चा गाविसमा पाईने जडिबुटीहरू हुन्। यस्तै यहाँ बाघ भालु स्याल घोरल राते दुम्सी, बँदेल, थार, जस्ता बन्यजन्तुहरू र डाँफे कालिज चाकुरा तित्रा आदि पंछिहरू पाइन्छन्।

प्रमुख स्थलहरू सम्पादन गर्नुहोस्

यस गाविसमा केही पर्यटकीय महत्त्वका स्थानहरू पनि रहेका छन्। ती मध्ये राता पहरको झरना महादेवको गुफा यहाँका प्रमुख पर्यटकीय महत्त्वका स्थानहरू हुन्। त्यस्तै यस गाविसमा रहेका पुराना घर तथा ऐतिहासिक बस्ती तथा घना जङ्गल पर्यटकीय एवं ऐतिहासिक महत्त्वको स्थान हो।

शाक्षरता सम्पादन गर्नुहोस्

शिक्षा क्षेत्रमा हेर्दा यो गाविसमा शैक्षिक जनशक्ति उत्पादन कमी रहेको छ। २०५८ सालको तथ्याङ्क अनुसार यस गाविसमा २३ दशमलव ३५ प्रतिशत महिला र ६७ दशमलव २२ प्रतिशत पुरुष गरी कुल साक्षरता ५६ दशमलव ९० प्रतिशत रहेको छ। समग्रमा हेर्दा भलाक्चा गाविस दुरीगत हिसावले सदरमुकाम देखि नजिकभएता पनि विकासका दृष्टिले पछि परेको देखिन्छ।

यातायात सम्पादन गर्नुहोस्

भलाक्चा गाविस हुँदै खलङ्गासम्म राप्ती राजमार्ग पुगेको छ। राप्ती राज मार्गले भलाक्चा गाविसलाई छोएको भएपनि पुरै गाविसलाई भने सडकले छेडन सकिरहेको छैन। भलाक्चा गाविस प्राकृतिक स्रोत साधनले सम्पन्न गाविस नै हो।[२]

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", नेपाल सरकार, राष्ट्रिय योजना आयोग, नवम्बर २०१२।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०२-०२ मिति
  2. "गाविस सुची", रुकुम जिल्ला विकास समिति 

बाह्यलिङ्कहरू सम्पादन गर्नुहोस्