नो, नट अगेन (अङ्ग्रेजी: No, Not Again) नेपालको आम निर्वाचन २०७९ मा पुराना नेताहरूलाई निर्वाचित हुनबाट रोक्ने उद्देश्यले सामाजिक सञ्जालमा सञ्चालित अभियान हो । कम्तीमा एकपटक प्रधानमन्त्री वा मन्त्री भएका नेताहरू यस अभियानका निशानामा छन् । यो अभियान निर्वाचन आयोगले निर्वाचन मिति घोषणा गर्नुभन्दा पहिला नै सुरु भएको थियो ।[१] निर्वाचन आयोगले यसलाई गैरकानुनी र आचारसंहिताविपरीत भनेपछि यो अभियान झनै आक्रामक बनाइएको छ ।[२][३][४]

तर्क र आरोपहरू सम्पादन गर्नुहोस्

अभियानका क्रममा पुराना नेताहरूमाथि विभिन्न आरोप लगाउँदै उनीहरू अब संसदमा दोहोरिन नहुने तर्कहरू गरिएका छन् । तीमध्ये केही यस्ता छन्-

  • हामी चाहन्छौँः पटक-पटक फेल भइसकेका उनीहरुबाटै फेरि शासित हुन नपरोस् । अबको निर्वाचनबाट स-सम्मान बिदा गरौँ ।
  • तपाईँहरूलाई बारम्बार जिताउनु हाम्रो गल्ती थियो । यसपटक हामी सच्चिनेछौँ ।
  • हामीलाई ठूलाठूला भाषण होइन, प्रकृतिमैत्री दिगो विकास चाहिएको हो ।
  • हाम्रो भोटको सधैँ गलत मानिसहरूले फाइदा उठाए । अझै कति गल्ती गर्ने ?
  • उद्योग बेचिए, सार्वजनिक जग्गा मिचिए, अस्पताल खण्डहर बने, स्कूल\कलेज राजनीतिले सक्यो ।
  • हाकाहाकी भ्रष्टाचार गरेकै हो भन्छन् । गरीब-मजदुरको हत्या गरेर कैद बसेकाहरू चुनावका उमेदवार तोकिन्छन् । यो देश परिश्रमी जनताको हो । भ्रष्टाचारी, हत्यारा, बिचौलिया र तिनका मालिकहरूको होइन ।
  • किन राष्ट्रिय मुद्दाका विषयमा पनि सत्ता र सत्ताइतर हुँदा बोली फेरिन्छ ? मीठो हैन, साँचो बोली चाहिएको हो । अब झुटको खेती चल्दैन ।
  • तपाईँको नाम त फोर्ब्समा विश्वकै अर्बपतिको सूचीमा आउँछ । पटकपटक सांसद पनि हुनुभएको छ तर देश सधैँ किन गरीब छ ? हामीलाई तपाईँमाथि शंका छ ।
  • चर्को स्वरले चिच्याउनु, सांसद अपहरण गर्नु र धाकधम्की दिँदै बस्नु संसदीय मर्यादा होइन । टोले गुण्डा शैलीमा देशले विकास पाउँदैन ।
  • लगातार ३ दशकदेखि तपाईँ सत्तामा हुँदा जनताले के पाए ? अब हिसाब खोज्ने बेला आएको छ ।
  • अझै ताजा छन् हामीले गुमाएका सहिदहरू, उनीहरूका सपना । मधेस आन्दोलनको अर्थ यस्तो सत्तालिप्सा थिएन । तपाईँलाई सत्तामा पुर्‍याउन सिंगो मधेस जलेको होइन ।

निशाना सम्पादन गर्नुहोस्

  1. शेरबहादुर देउवा
  2. पुष्पकमल दाहाल
  3. माधवकुमार नेपाल
  4. बाबुराम भट्टराई
  5. झलनाथ खनाल
  6. केपी शर्मा ओली
  7. महन्थ ठाकुर
  8. उपेन्द्र यादव
  9. राजेन्द्र महतो
  10. विष्णुप्रसाद पौडेल
  11. विजयकुमार गच्छदार
  12. कृष्णप्रसाद सिटौला
  13. आरजु राणा देउवा
  14. अर्जुननरसिंह केसी
  15. गगन थापा
  16. सुवास नेम्बाङ
  17. महेश बस्नेत
  18. प्रेम आलेमगर
  19. विनोद चौधरी
  20. मोहम्मद आफ्ताब आलम
  21. गोकुल बाँस्कोटा
  22. ईश्वर पोखरेल
  23. भानुभक्त ढकाल
  24. पूर्णबहादुर खड्का
  25. राजेन्द्रप्रसाद पाण्डे
  26. कृष्णगोपाल श्रेष्ठ
  27. देव गुरुङ
  28. वर्षमान पुन
  29. जनार्दन शर्मा

विवाद सम्पादन गर्नुहोस्

निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गरी निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूका बारेमा लाञ्छनापूर्ण अभिव्यक्ति र मिथ्या सूचना फैलाएको आरोप लगाउँदै त्यस्ता सामग्री हटाउन र यस नामका खाता तथा समूहहरूलाई निष्क्रिय बनाउन निर्देशन दिएको छ । आयोगले यसलाई विद्तयुतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ३ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल भनेको छ । साथै कारवाहीको चेतावनी पनि दिएको छ ।[५] अभियान पक्षधर तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आयोगको यस कदमलाई अभिव्यक्ति स्वतन्त्रताविरोधी भनेका छन् भने आयोगले आफ्नो कदमको बचाउमा थप अर्को विज्ञप्ति जारी गरेको छ ।[६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्