गौतम बुद्ध
भगवान् सिद्धार्थ बुद्ध बुद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो। बालक सिद्धार्थको जन्म भएको ७ दिनपछि सौतेनी आमा गौतमी ले पालनपोषण गरेको हुनाले सौतेनी आमाको नामबाट बालकको नाम गौतम पनि रहन गएको हो ।
सिदार्थ गौतम | |
---|---|
![]() सारनाथमा रहेको बुद्धको मूर्ति | |
जन्म | ५६३ ई.पू. लुम्बिनी, नेपाल |
मृत्यु | ४८३ ई.पू.(उमेर ८०) कुशीनगर, भारत |
जातीयता | शाक्य, राजकुल, मागधी, मंगर |
चिनारीको कारण | बुद्ध धर्मका प्रवर्तक |
अग्रज | कस्यप बुद्ध |
उत्तराधिकारी | मैत्रेय बुद्ध |
सिद्धार्थ बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् ।[१] पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ ।[२] तथापि सिद्धार्थ बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको रूपन्देही जिल्लाको लुम्बिनी= ल्हुङ्गबेनी मा भएको थियो ।[३] उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला ? भनी चिन्तित रहन्थे। सिद्धार्थ बुद्धको कथा अनुसार उनी पुर्व जन्मका बोधिसत्व भएकोले मानिसको दुःखको कारण र दुःखको निवारण के हुन सक्छन् भन्ने कुरामा निकै संबेदनसिल थिए। केही न केही मार्ग त अवस्य हुन सक्छ भन्ने प्रश्नोत्तर अधुरो र धुलमिल रुपमा उनको मनमा आभाष भइसकेको थियोे । कठिन ध्यान र खोजको माध्ययमबाट दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यकसम्वोधि प्राप्त भयो र त्यसपछि उनी सम्यक सम्बुद्ध कहलाईए। त्यसपछि शेष ४५ वर्षसम्म उनी भारत र नेपालका बिभिन्न ठाउँ पुगी दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।
जन्म र नामकरणसम्पादन
सिद्धार्थ गौतमका बाबु शुद्धोदन तत्कालीन तिलौराकोट राज्यमा शाक्यवंशका राजा थिए। यिनकी आमाको नाम मायादेवी थियो । भनिन्छ रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन् । त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो । शाक्य कुलको रिति अनुसार पाँचौं दिनमा त्रिवेदले पारंगत १०८ ब्राह्मणहरूलाइ निमन्त्रणा गरी भोजना गराइ ती उपस्थित मध्ये सर्वश्रेष्ठ ब्राम्हणहरूबाट नामाकरण गराएका थिए। सबै मनोकामनाले पूर्ण गर्ने भन्ने अर्थमा ती ब्राम्हणहरूले यी बालकको नाम 'सर्वार्थसिद्ध' राखे । यहिं शब्दको छोटकरीमा 'सिद्धार्थ' नामले उनलाइ पुकारियो । [५]
बाल्यकाल र विबाहसम्पादन
राजर्षी सुखसयलमा हुर्किएको हुनाले उनको बाल्यकाल सुखद नै रह्यो भन्न सकिन्छ । जन्मँदा बित्तिकै आमा गुमाउनु परेपनि आफ्नी सौतेनी आमाको भरणपोषणमा हुर्किएका गौतम बुद्ध १६ उमेर पुगेपछि उनको बिवाह यशोधरा नामकी राजकुमारी सँग भयो । यशोधराबाट राहुल नामको एक पुत्रको पनि जन्म भएको थियो ।
बैराग्यता र गृहत्यागसम्पादन
बाल्यकाल देखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो । दैनिकी कै क्रममा उनले बुढो, रोगी मानिसलाई देखे । उनले मानिस मरेको पनि देखे । यसबाट उनमा बैराग्य पैदा भयो । मानिस के कारणले रोगी हुन्छ? के कारणले बुढो हुन्छ? र के कारणले मर्छ? भन्ने प्रश्नले उनलाई बैरागी बनायो । यीनै प्रश्नको समाधान खोज्न बाबूको उत्तराधिकारमा आउने आफ्नो राज्यको समेत पर्वाह नगरी २९ वर्षको उमेरमा उनी एकदिन राति सुटुक्क दरवार छोडेर निस्किए ।
तपस्या र बुद्धत्त्वसम्पादन
संसारको निस्सारता महसुस गरेर आजित भएका गौतम बुद्धले यस निस्सारताबाट मुक्ती पाउन चाहे । उनमा संसार प्रति कुनै मोह बाँकी रहेन । उनलाई सबै कुरा क्षणभङुर लाग्यो । उनमा संसार प्रति वैराग्य उत्पन्न भयो । बैराग्यका कारण विभिन्न ठाउँमा भौंतारिँदै सिद्धार्थ गौतम भारतको बोधगया पुगेर त्यहाँ तपस्या गरे । तपस्या गर्दै गर्दा उनले बुद्धत्त्व प्राप्त गरे । उनी साम्सारिक दुखको जड सम्म पुगे र बुझे की संसारमा आफ्नो भन्नु केही छैन । संसारमा दुखको जड भनेको मान्छे आफै हो ।
बौद्ध धर्म उत्थानको कारणसम्पादन
भारतका सम्राट अशोकले बुद्ध धर्मको प्रचारमा सर्वाधिक महत्त्वपूर्ण योगदान गरेको विवरण पाइन्छ । आफुले बौद्ध धर्म धर्म ग्रहण गरे पछि उनले आफ्ना सबै छोरा छोरीलाई बुद्धका उपदेश प्रचार गर्न चारैतिर पठाए । बौद्ध धर्मलाई राजकीय धर्म बनाएर बौद्ध विहार बनाउने, भिक्षुसंघलाई रावकीय सम्मान प्रदान गर्ने कार्य गरे । यसबाट बुद्ध धर्मको उत्थान हुन गयो । परवर्ती कालमा हिन्दु पण्डितहरूलाई शास्त्रार्थ गरेर हराउने परम्परा बस्यो । फलस्वरुप बौद्ध धर्ममा तार्किकताका सिद्धान्त विकसित भए । वैभाषिक, शून्यवाद इत्यादि दर्शनको विकास गर्न पछिल्ला बौद्ध अनुयायीहरूको योगदान रहेको छ ।
वैदिककालमा विषेश गरी दुई प्रकारको धार्मिक वादको मान्यता रहेको देखिन्छ - ब्राह्मणवाद र स्रमणवाद। ब्राह्मणहरु वेदमा विश्वास गर्थे भने स्रमणहरु अवैदिक थिए। स्रमणहरु आस्तिक र नास्तिक दुवै थिए । स्रमणहरु ब्रह्मचर्य पालन गर्थे तर ब्राह्मणहरु गृहस्थ थिए र वैदिक विधिनुसार मन्त्र, जप, दान, होम आदि अनुष्ठान गर्थे । होम आदिमा पशुबलिको प्रथा फस्टाएको थियो । विधि पुर्वक भएकोले यसलाई हिंसा मानिदैन थियो। पुरोहितहरु समाजमा उच्च बर्गमा गनिन्थे र वर्णाश्रम व्यवस्था फस्टाएर गयो । ब्राह्मणहरु विस्तारै सम्पत्ति र विलासी जिवनको मोहमा फस्दै गए । धर्मको डर, त्रास देखाएर मानिसबाट अनियोचित दान माग्थे । मानिस सरल र दार्शनिक जगतमा व्याप्त विभिन्न वाद र मतको अराजकताबाट छुटकारा चाहन्थे । जनचाहनाको यहि तथ्यबाट गौतम बुद्धले मध्यमार्गी धार्मिक र दार्शनिक धार प्रतिपादन गरेका थिए । समाजमा हिसाविरोधी मत बलियो देखिन थाल्यो, होमादिको सार्थकतामाथि प्रश्न उठाउन थालियो, होमादिबाट मुक्ति नहुने रहेछ भन्ने चेतना जागृत हुन थाल्यो । यसरी विस्तारै मानिसहरु कर्मकाण्ड भन्दा विभिन्न दार्शनिक प्रश्नमा विचार विमर्स गर्न थाले र यस्तै परिवेशमा नेपालको लुम्विनीमा गौतम वुद्धको जन्म भएको थियो।
बुद्धले आफ्ना शिक्षालाई धम्म-विनय भन्ने नाम दिए । विनय भन्नाले भिक्षुहरूका लागि बनाईएको नियमहरूको सङ्ग्रह बुझिन्छ भन्ने धम्म भन्नाले दु:खमुक्तिका लागि भिक्षु र गृहस्थ सबैका लागि बुद्धले दिएका शिक्षा भन्ने बुझिन्छ । बुद्धका लगभग सारा शिक्षा र उपदेशलाई त्रिपिटकको रूपमा सङ्ग्रहित गरिएको छ जसमा बुद्धका ८२,००० र उनका प्रमुख शिष्यहरूका २००० गरी ८४,००० सुत्र सङ्ग्रहित छ्न् ।
बुद्धले दु:ख मुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्त्व दिदैंनथे । उनी भन्दथे, "भिक्षुहरू म दुई कुरा मात्र सिकाउंछु: दु:ख र दु:खमुक्तिको उपाय ।" बुद्धको प्रयोगत्मक् शिक्षालाई ३ किसिमले वर्गिकरण गर्ने चलन छ: शील, समधि र पज्ञा। शीलको जगमा रहेर ध्यानद्वारा समधि पुष्ट गर्दै पज्ञा उत्पन्न् गराउन सकेमा नै दु:खमुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो। शील, समाधि र प्रज्ञाको मार्गमा पुष्ट हुने क्रममा चार आर्यसत्यलाई पूर्णरूपले बुझ्दै जान सकिन्छ। चार आर्यसत्यहरू यस प्रकार छन्:
- दु:ख सत्य: दु:ख छ भन्ने कुरा र यसको अवस्थाको बोध
- दु:खको कारण सत्य: दु:खको कारण आसक्ति र अन्तत: अविद्या हो भन्ने बोध
- दु:खको निवारण सत्य: दु:खको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार
- दु:खको निवारणको मार्ग सत्य: दु:खको निवारण गर्ने आर्य अष्टांगिक मार्गको बोध र यसको पालना। आर्य अष्टांगिक मार्गलाई शील, समाधि र प्रज्ञाको रूपमा पनि वर्गिकरण गर्ने गरिन्छ।
धार्मिक सिद्धान्तसम्पादन
बुद्धको केन्द्रिय दार्शनिक सिद्धान्त प्रतित्य-समुत्पाद हो। बुद्धले सम्पुर्ण आधारभुत गुणहरु अनित्य, दु:ख र अनात्मका बारेमा प्रकास पार्नु भयो। जसलाई बुद्धको आधारभुत सिद्धान्त रूपमा चिनिन्छ। चार आर्य सत्य
महापरिनिर्वाण (मृत्यु)सम्पादन
संसारलाई अहिंसाको पाठ सिकाउने र युद्ध, आतङ्क, काटमारबाट मानिसको हित नदेख्ने महामानव गौतम बुद्धको मृत्यु भारतको कुशीनगरमा ईशापूर्व ४८३ को बैशाख शुक्ल पूर्णिमाको दिनमा अर्थात जन्मदिन मा नै भएको थियो । उनले ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गरेका थिए ।
बुद्धको ख्यातीसम्पादन
नेपालको लुम्बिनीमा आजभन्दा करिब छब्बिस सय वर्ष पहिला जन्मिएका गौतम बुद्धको ख्याती हाल विश्वभर फैलिएको छ ।आज भोलि धेरै देश का मानिसहरू एक आदर्श, तत्वज्ञानी पुरूषको रूपमा र बौद्ध धर्मावलम्बीहरू आफ्नो धर्मका पर्वतकका रूपमा गौतम बुद्ध लाई निकै श्रद्धाका साथ सम्मान गर्दछन् ।
धार्मिक सहिष्णुतासम्पादन
गौतम बुद्धलाई केहिं हिन्दू पुराणहरूमा भगवान विष्णुका दश अवतार मध्येका एक अवतारको रूपमा प्रस्तुत गरेको पाइन्छ । यसले सर्वसाधारणमा धार्मिक सहिष्णुता कायम गर्न निकै मद्दत पुर्याएको छ । नेपालमा बुद्ध धर्म अन्य धर्महरू सँग अत्यन्त सहिष्णुता भावमा चलिआएको छ ।
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ L. S. Cousins (1996), "The dating of the historical Buddha: a review article", Journal of the Royal Asiatic Society (3)6(1): 57–63.
- ↑ The Date of the Historical Śākyamuni Buddha (२००३) सम्पादन: A. K. Narain. B. R. Publishing Corporation, New Delhi. ISBN 81-7646-353-1.
- ↑ नेपालको इतिहास र संस्कृति
- ↑ "Lumbini, the Birthplace of the Lord Buddha", UNESCO, अन्तिम पहुँच २६ मे २०११।
- ↑ भिक्षु अश्वघोष, बुद्ध चरित, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।