नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वी सम्बत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार विभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ । यस अवसरमा आपसमा सद्भावको आदान प्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस दिन सार्वजनिक बिदा पनि हुन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।

नयाँ वर्ष २०७१ को शुभकामना झल्काउने चित्र

नेपालमा नयाँ वर्षसम्पादन

विक्रम सम्वत्सम्पादन

विक्रम सम्वत् पात्रो अनुसार सौर्यमानक हिसाबले बैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । [१]

विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो हो। यो पात्रो नेपाल, भारत जस्ता देशहरूमा चलनचल्तीमा रहेको छ। यो नेपालमा औपचारिक कामकाजको पात्रो हो । यो प्राचीन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित सौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रो अनुसार वर्षको आरम्भ नेपालमा बैशाख महिनाको पहिलो दिनबाट हुन्छ भने भारतमा चैत्र महिनाको पहिलो दिन । विक्रम सम्वत् सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्वत् लाई सौर्य पात्रोमा आधारित पात्रो भनिएको हो । यस सम्वत् सूर्य सँग सम्बन्धित भएकाले यस पात्रोमा सूर्य ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । राजा विक्रमादित्यले आरम्भ गरेको विक्रम सम्वत्को नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको कार्यकाल देखि प्रचलनमा आएको हो ।

नेपाल सम्वत्सम्पादन

नेपाल सम्बतको आरम्भ शंखधर साख्वाले गरेका थिए । नेपाल सम्बत विस‌ं ९३६ र ईसं २० अक्टोबर ८७९का दिन भक्तपुरका राजा राघब देवको आज्ञामा नेपालको कार्यालहरूमा चलाईएको थियो । नेपालमा औपचारिक रूपले यो सम्बत चन्द्रसम्शेर राणाको कार्यकालसम्म प्रचलनमा रह्यो । यो सम्बतको चन्द्रमासमा आधारित पात्र अनुसार पहिलो दिन म्ह पूजा कार्तिक शुक्ल पक्ष प्रतिपदा (कछलाथ्व पारु)को दिनमा हुन्छ भने सौर्यमासमा आधारित पात्र अनुसार पहिलो दिन कछला १ (अक्टोबर २०)को दिनमा हुन्छ । यस दिन विशेषत: नेवार समुदायले न्हुदँ अर्थात नयाँ वर्षको रूपमा मनाउने गर्दछन् ।

ल्होसारसम्पादन

ल्होसार तामाङ, शेर्पा, गुरुङ, थकाली आदि जातीले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । 'ल्होछार' शब्दमा 'ल्हो' को अर्थ वर्ष वा साल हुन्छ भने 'छार' वा 'सार'को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ 'नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । ल्होसार मनाउने समुदायले यस्ता 'ल्हो' अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तो : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ । यसरी यस समुदायले बाह्र वर्षो एक युगको परिकल्पना गरेको हुनसक्छ ।

येले सम्वत्सम्पादन

येले सम्वत् अनुसार माघे संक्रान्तिका दिन नयाँ वर्ष मनाइने गरिन्छ ।

इस्वी सम्वत्सम्पादन

इस्वी सम्वत् ग्रेगोरियन क्यालेन्डर वा क्रिश्चियन क्यालेन्डरमा आधारित साल हो । यसमा जनवरी १ तारिखको दिनमा नयाँ वर्षको आरम्भ हुन्छ । यो दिन विशेष ईसाई धर्मालम्बीहरूले नयाँ वर्षको रूपमा मनाउने भए तापनि हिजोआज विश्वका प्राय सबै देशहरूमा नयाँ वर्ष मनाउने गरिन्छ ।

अन्य देशहरूमा नयाँ वर्षसम्पादन

विभिन्न देशमा नयाँ वर्ष मनाउने तरिका आ-आफ्नै रहेका छन् । केही देशमा नयाँ वर्ष कसरी मनाइन्छ भन्ने कुराको जानकारी निम्न छन् ।

  • भारत :यहाँको स्थान नै पिच्छे नयाँ वर्ष मनाउने तरिका फरकफरक रहेको पाइन्छ ।
  1. बङ्गालमा नयाँ वर्षको उपलक्ष्यमा देवीदेवताको पूजा गरी नाँचगान र हाँसखेल गरिन्छ ।
  2. कुमाउ र गढवालमा नयाँ वर्षको दिनमा पहेंलो लुगा लगाएर आफ्नो बन्धुलाई उपहार प्रदान गरिन्छ ।
  3. आसाममा यस दिन पशुलाई पूजा गर्दछन् । पञ्जाबमा पनि यस दिन झाँगड नृत्य आयोजना गर्नुका साथै गणेशलक्ष्मीको पूजा गरी सामूहिकरूपमा नाँचगान गरिन्छ ।
  4. राजस्थानमा पनि नयाँ वर्षको अवसरमा मीठामीठा परिकार खाएर आपसमा रमाइलो गरिन्छ भने जनजाति विशेषले आफ्ना मन नपरेका जीवनसाथी भए तिनीहरूसँग छोडपत्र गरी नयाँ जीवनसाथी छान्ने प्रचलन रहेको पाइन्छ ।
  • इन्डोनेसिया :यहाँ नयाँ वर्षलाई 'गोलुगान' भन्छन् । त्यसदिन त्यहाँका मानिस नयाँ लुगा लगाउँछन् । मीठामीठा परिकार खाएर एक आमसमा बधाई र शुभकामना व्यक्त गर्दछन् ।
  • मङ्गोलिया : यस दिन मङ्गोलियन रातभरि जागा रहेर आफ्ना आमाबाबु तथा मान्यजनबाट आर्शीवाद लिई मीठा परिकार खाएर रम्छन् ।
  • कुवेत : नयाँ वर्षको अवसरमा रातभरि घरमा दीपावली गरी खुसीले शुभकामना आदानप्रदान गरी नाँचगान गर्छन् ।
  • मेक्सिको : यहाँका जनजातिको वाहुल्यता भएको स्थानमा यस दिन चर्चमा गएर सामूहिक विवाह गरी नयाँ वर्ष मनाउँछन् ।
  • जर्मनी : यस दिन त्यहाँ पानीले भरिएको धातुको भाँडामा मुद्रा -सिक्का) खसाएर त्यसको आकृतिलाई नियालेर भविष्य वक्ताले मानिसको भविष्यवाणी गर्ने चलन रहेको छ ।
  • पोर्चुगल: यस देशमा नव वर्षको दिन साँढे जुद्धाएर रमाइलो गर्नुका साथै सहरभर धुनी जगाएर पटाकावाजी गरेर धूमधामका साथ रम्ने रमाउने प्रचलन रहेको छ ।
  • बेलायत : यहाँ ३१ डिसेम्बरदेखि नै घरघरमा बत्तीले झिलिमिली पार्छन् । नयाँ रङ्गीचङ्गी लुगा लगाएर नाँच्छन् रातको ठीक १२ बजे बढाई हुन्छ । यसको अर्थ पुरानो वर्ष बितेर नयाँ वर्षको आरम्भ भएको भन्ने हुन्छ ।

यो पनि हेर्नुहोससम्पादन

सन्दर्भ सूचीसम्पादन

बाह्य लिङ्कहरूसम्पादन

  1. "हिंदू नववर्ष 2018: जानिए, क्या है नवसंवत्सर का महत्व और इतिहास", आज तक।