भेडेटार नेपालको १ नं प्रदेशको सुनसरी र धनकुटा जिल्लामा पर्ने एक पर्यटकीय बजार हो । यो बजार धरानको ४ नं वडा र साँगुरीगढी गाउँपालिकामा अवस्थित छ। भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ। यो ठाउँ धरान उपमहानगरपालिकाको जिरो पोईन्टबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरीधनकुटा जिल्लाको सिमानामा अवस्थित छ । भेडेटार समुन्द्री सतहबाट १,४२० मिटर उचाईमा पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्दछन । अझ भेडेटारको भ्यू टावर अर्थात चार्ल्सप्वाइन्ट यस्तो स्थान हो जहाँबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू एकै पटक हेर्नसकिन्छ ।

भेडेटार
Bhedetar
भेडेटारको दृश्य
भेडेटारको दृश्य
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लाधनकुटा जिल्ला
उन्नतांश
१,४३० मिटर (४६९० फिट)
जनसङ्ख्या
 (2011)
 • जम्मा२,९७७
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०२५

पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वार पनि हो । यहाँबाट धनकुटा सदरमुकाम ३६ कि.मी. दूरीमा रहेको छ। भेडेटारबाट पाँचथर जिल्लाको राँकेसम्मको निर्माणधिन सडक पूर्वतर्फ गएको छ भने धरानको विष्णुपादुका, आहाले हुँदै वराहक्षेत्र जाने निर्माणधिन सडक पश्चिम तर्फ गएको छ । उच्च पहाडमा रहेको वाह्रैमास चिसो हावा बहने हुनाले यहाँ गर्मी मौसममा शीतल हावा खान र जाडो मौसममा पिकनिकको लागि आउने मानिसहरूको भीड लाग्दछ। यहाँको चिसो हावापानी र मनोरम प्राकृतिक दृश्य अवलोकनका लागि तर्राई क्षेत्र र भारतका गर्मी ठाउँहरूबाट पनि मानिसहरू आउने गर्दछन् ।

भेडेटारमा रहेको ईमान सिंह चेमजोङको सालिक

भेडेटारको शिरमा शैलुङ्गडाँडा नामक एउटा अग्लो चुचुरो छ। २०३८ सालमा वेलायतका युवराज चार्ल्स शैलुङ्गडाँडाको टुप्पोमा चढ्नु भएको हुदाँ यस डाँडालाई चार्ल्स प्वाइन्ट नामकरण गरिएको हो । चार्ल्स प्वाइन्टको संरक्षण तथा पर्यटकको सुविधालाई ध्यानमा राखी जिल्ला विकास समिति धनकुटाबाट डाँडाको टुप्पो सम्म पुग्ने सिंढी निर्माण पुरा भएको छ र दृश्य अवलोकन टावर निर्माण भइरहेको छ ।

भेडेटारबाट १० किलोमिटर नजीकै उत्तरपट्टी कोशी राजमार्गको "नमस्ते मोड" छेउमा रमणीय प्राकृतिक नमस्ते झर्ना बगेको छ । भेडेटारबाट केही पश्चिममा धरान २० नं वडामा किराँतकालिन ऐतिहासिक सानगढी (साँगुरीगढी) र साँगुरी भञ्ज्याङ रहेको छ। गढीलाई जिर्णोद्धार गरिएको छ र त्यस गढीमा किराँतकालिन पुरातात्विक निशान, तोप तथा अन्य सामग्री धनकुटा सदरमुकाममा रहेको हुँदा हाल सोही गढीमा ल्याई सूरक्षा दिई पर्यटकीय स्थलको रूपमा विकास गर्न पहल भएको छ। साँगुरी भञ्ज्याङ्ग परापूर्वकालदेखिको तराई र पहाडको पैदल यातायातको मूख्य व्यापारिक तथा सामरिक मार्ग रहेको थियो हाल मोटरबाटो भेडेटारबाट गएपछी यो भञ्ज्याङ्ग उजाड भएको छ। तथापि हाल स्थानीय तह र प्रदेशको संयुक्त प्रयासमा पुनर्निर्माण गरी नया ट्रेकिङ्ग रुट बनाउन प्रयाश भै रहेको छ।

भेडेटारमा पिकनिक तथा गर्मी छल्ने तराई तथा भारतीय पर्यटकहरूको अत्यधिक आवतजावतले रौनक भरेको छ। यहाँ पहाडी मौसम लगायत अर्ग्यानिक फलफूल तथा तरकारी एवं स्थानीय परिकारहरु पस्किने भएको हुँदा सबैको आकर्षणको केन्द्र बनेको छ। यातायातको यातायात, सञ्चार र होटल, रेस्टुरेन्ट आदिको राम्रो सुविधा भएको भेडेटार पर्यटकीय महत्त्वको स्थानको रूपमा अझ विकसित हुदै जाने सम्भावना रहेको छ । [१]

जनसङ्ख्या सम्पादन गर्नुहोस्

बि.स. २०६८ को जनगणना अनुसार भेडेटारको जनसङ्ख्या २,९७७ रहेको छ ।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्