कुशेश्वर दुम्जा
कुशेश्वर दुम्जा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, सिन्धुली जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४९७३ रहेको थियो जसमध्ये २३६६ पुरुष र २६०७ महिला रहेका थिए भने यहाँ १०१० घरधुरी रहेको थियो।[१][२] यो हाल सुनकोशी गाउँपालिकामा पर्दछ।
कुशेश्वर दुम्जा | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°४′०″उ॰ ८६°१७′०″पू॰ / २७.०६६६७°N ८६.२८३३३°Eनिर्देशाङ्कहरू: २७°४′०″उ॰ ८६°१७′०″पू॰ / २७.०६६६७°N ८६.२८३३३°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | सिन्धुली जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ४,९७३ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
सिन्धुली सदरमुकामबाट चौध कोस उत्तर-पश्चिम र काठमाडौंबाट १८ कोस पूर्वमा कुशेश्वर दुम्जा गाउँ विकास समिति पर्दछ। राताम्य लालीगुँरास फुल्ने महाभारतको उच्च पहाडी शृंखलादेखि रोसी र सुनकोसीको समथर फाँटले कुशेश्वर दुम्जा गा वि स लाई भौगोलिक विविधता प्रदान गरेको छ ।
जातीय विविधताबीच धार्मिक अनि सामाजिक एकता दुम्जाको विशेषता बनेको छ । उच्च पहाडी भेगमा मगर जातिको बाहुल्य छ भने मध्य भागमा अल्पसंख्यक हायू र तामाङहरूको बसोवास छ । पहाडका तल्लो भाग अर्थात् कछाडतिर बाहुन, क्षेत्री, नेवार, घर्ती (भुजेल), गिरी र दलितहरूमा कामी, दमाईं, सार्कीहरूको बसोवास रहेको छ । धार्मिक रूपमा हेर्दा, यहाँका अधिकतम बासिन्दाहरू हिन्दूहरू छन् , त्यसपछि बौद्ध धर्मवालाम्वीहरूको संख्या पनि कम छैन, तर यी भन्दाबाहेक धर्मका धर्मवालाम्वीहरू सायद छैनन् होला । महाभारतबाट उत्तर तर्फ झर्ने पहाडी झरनाहरूले प्राकृतिक मोहकता मात्र हैन विकासका प्रशस्त सम्भावना पनि बोकेका छन् । तीन जिल्लाको संगमस्थलको रूपमा रहेको यस गा वि स को पूर्वमा सिन्धुली जिल्लाकै झाँगाझोली, दक्षिणमा नेत्रकाली, तामाजोर र वस्तिपुर गा वि स पर्दछन् भने पश्चिममा काभ्रे जिल्लाको भीमखोरी र मेच्छे गा वि स छन् अनि उत्तरमा रामेछाप जिल्लाको राकाथुम गा वि स रहेको छ । सुनकोसीका उन्मुक्त छाल छेउ र रोशी खोलाको दोभानमा विशिष्ट धार्मिक आस्थाका केन्द्रविन्दुका रूपमा रहेका आदिलिङ्ग कुशेश्वर महादेवको नामबाट गा वि स को नाम कुशेश्वर रहन गएको हो ।
सिन्धुली जिल्ला क्षेत्र नं.३ ईलाका नं. १० को भौगोलिक एवम् प्रशासनिक सीमानाभित्र रहेको कुशेश्वर दुम्जासम्म बनेपा-सिन्धुली-बर्दिवास बीपी राजमार्गको चौथो खण्ड सडक मार्ग पुगिसकेको छ । बनेपाबाट करीव ५१ किलोमिटर र काठमाडौंबाट ८० किलोमिटरको दूरीमा कुशेश्वर दुम्जा गा वि स रहेको छ । कुशेश्वर गाविस दुम्जा २७°२४′००″ अक्षांश ८५°४८′४५″ देशान्तरसम्म फैलिएको छ। चार हजार दुई सय छ हेक्टर क्षेत्रफल रहेको दुम्जा गाविस चर्तुभुजाकार रूपमा उत्तरी मोहडामा फैलिएको छ । यो गा वि स समुद्री सतहबाट करिव ७ सय ५० मिटरदेखि तीन हजार सात सय मिटरसम्मको उचाइमा छ । औसत तापक्रम अधिकतम २८-३० सेन्टिग्रेडदेखि न्युनतम ५-१० सेन्टिग्रेडसम्म रहन्छ । पूर्व र पश्चिम दिशामा लमतन्न परेर सुतेको जस्तो देखिने दुम्जा डाँडामा वडा नं.१ देखि ४ सम्म पर्दछ । ५ नम्बर वडा बेंसी र केही होचो भागमा रहेको छ । वडा नं. ६, ७, ८ र ९ पहाडी र उच्च पहाडी भागमा रहेका छन् । २०५८को जनगणनाअनुसार दुम्जाको जनसङ्ख्या ५ हजार २११ रहेको छ । यसैगरी ७ सय ८२ घरधुरी छन् । २००८ सालमा स्थापित कुशेश्वर विद्यापीठ मा वि (बहुमुखी क्याम्पस)ले उक्त क्षेत्रको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको यथार्थलाई नकार्न सकिन्न । उक्त विद्यालयसम्म आँपघारी (बीपी राजमार्ग)बाट कच्ची सडक पुर्याइएको छ । यसैगरी लीलावती, पुण्यमती र रोसमतीका नामले चिनिने रोशीखोलाको दोभान र सुवर्ण कौशिकी अर्थात् सुनकोसीको तिरमा रहेको कुशेश्वर महादेव सनातन हिन्दू धर्मको आस्था र विश्वासको केन्द्र मानिन्छ । महाभारत लेकबाट हामफाल्ने छाँगाहरूबाट जलविद्युत् निकाल्ने प्रयास पनि भइरहेको छ । त्यही लेकबाट ल्याइएको खानेपानीमा दुम्जा डाँडाका वासिन्दाहरू आश्रित रहेका छन् ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति