मुख्य सूची खोल्नुहोस्

महाकाव्य

नेपाली महाकाव्य सिद्धान्त

कविता विधा नेपाली साहित्यको ज्यादै महत्वपूर्ण विधा हो। साहित्यको लयगत र साङ्गीतिक भेद नै कविता हो। छन्द वा लयलाई मूल आधार मानेर साहित्यको वर्गीकरण गर्दा समग्र साहित्य गद्य र पद्य गरी दुई भेदमा विभक्त हुन्छ। गद्यविधाको विपरीत छन्दको प्रयोग गरी रचना गरिने विधा नै पद्य हो र पद्य कविता विधाको पुरानो नाम पनि हो। त्यसैले लयात्मक प्रधानता भएको एकालापपूर्ण कथन पद्धतिमा सिर्जना हुने साहित्यिक विधा कविता हो। कविताको आयाम (लम्बाइ, चौडाइ र गहिराइ) को विस्तारका कारणले कविताभित्र पनि उपविधाको निर्माण हुन पुग्दछ। यस परिच्छेदमा आयामका आधारमा कविताका विविध रूपको परिचय दिई बृहत् आयाम महाकाव्यको सैद्धान्तिक चर्चा गरिएको छ। कविताको आयाम विस्तारका कारण यसका विविध रूपको निर्माण हुन पुग्दछ। जीवनका सूक्ष्मतमदेखि स्थूलसम्मका अभिव्यक्तिहरू कविताको आयामभित्र प्रवाहित भएका हुन्छन्। कविताको सबैभन्दा सानो रूपगत आयाम मुक्तक हो भने सबैभन्दा ठुलो आयाम महाकाव्य हो। कवितामा जीवन र जगत्को अनुभूति एक हरूफ, चार पाउदेखि लिएर एउटा सिङ्गो र बृहत् महाकाव्यसम्म विस्तारित हुन सक्छ[१]

विषयसूची

कवितामा उपभेदका बारेमा संक्षिप्त चर्चा :सम्पादन

कविताको लघुतम रूप : मुक्तकसम्पादन

कविताको सबैभन्दा सानो एकाइ लघुतम रूप हो । यस अन्तर्गत कविताका ज्यादै साना संरचनाहरू समेटिन्छन् । छोटो छरितो भनाइबाट व्यङ्ग्य प्रहार गर्ने कविताको एक झिल्का नै कविताको लघुतम रूप हो । यस्तो कविताको संरचना निकै सानो हुन्छ तर आफैमा पूर्ण हुन्छ । यो सर्जकका मनमा तत्काल जन्मन्छ अनि तत्काल समाप्त भएर जान्छ । कविताका यस्ता स्वरूपमा दुई, तिन वा चार पाउसम्मका मुक्तक, हाइकु, सायरी र लोकसूक्तिहरू पर्दछन् [२]

कविताको लघु रूप : फुटकर कवितासम्पादन

कविताको लघुतम रूपभन्दा विस्तृत र मझौला रूपभन्दा सानो एकाइ लघु रूप हो । कविताको लघु रूप गद्य र पद्य दुवैमा रहेको हुन्छ । पद्यमा दुई श्लोकभन्दा बढी र गद्यमा दुई अनुच्छेदसम्मको रचना यसभित्र पर्दछ । कविताको लघु एकाइमा सानो घटनालाई सीमित घेरामा राखी भावपूर्ण, मिठासपूर्ण तरिकाले प्रस्तुत गरिएको हुन्छ । यस्ता रचनामा आख्यान तत्वको प्रयोग लघुतम रूपको अपेक्षा स्थूल रूपमा गरिएको हुन्छ । यसरी आख्यानको सूक्ष्मतालाई अपेक्षित मानिएकाले यी रचनाहरूका अभिव्यक्तिमा विविधता नआई भावमा समेत एकरूपता भएको हुन्छ । कस्ता रचनाहरूमा कविताको लघु रूप समेटिएको हुन्छ भन्ने सन्दर्भमा वासुदेव त्रिपाठीको भनाई उल्लेखनीय रहेको छ – “पत्र पत्रिका र कवि गोष्ठीमा प्रस्तुत गरेका अधिकांश साना कविता कृतिहरू फुटकर कविता नै हुन् जसले कविताको लघु रूपको प्रतिनिधित्व गर्दछन् ” (त्रिपाठी र अन्य, २०४८ः पृ. ४२–४३)। यस कुराबाट के स्पष्ट हुन्छ भने भावनाको संक्षिप्त पोखाइ भएको फुटकर रचना नै कविताको लघु रूप हो ।

कविताको मझौला रूप : खण्डकाव्य/लामो कवितासम्पादन

कविताको ज्यादै विस्तृत र ज्यादै सङ्कुचित नभएको रचनालाई मझौला रूप भनिन्छ । यस्ता रचनामा एक विषय, एक घटना, एक सन्दर्भ र जीवनको एक पक्षको उद्घाटन भएको हुन्छ । अनुभूतिको उत्तरोउत्तर वृद्धि र विकास हुँदै जाँदा कविताको आख्यान तन्तु र संरचनागत सुगठनलाई अँगाल्न पुग्दछ त्यस अवस्थामा कविता मध्यम आयाममा प्रवेश गर्दछ । कविताको मझौला आयामलाई खण्डकाव्य वा लामो कविता पनि भनिन्छ । विषयवस्तुको आयाम विस्तार, आख्यान र संरचनाका कारणले गर्दा कविताको मझौला रूप फुटकर कविताबाट छुट्टिन थाल्दछ । कविताको मझौला रूपमा आख्यानलाई अनुभूतिसँग घोलेर प्रस्तुत गरिएको हुन्छ । आख्यानयुक्त रचना र सुगठित संरचना भएको कविताको आयाम नै कवितामा मझौला रूप हो र यो लामो कविता र खण्डकाव्यमा विभक्त भएको हुन्छ ।

कविताको बृहत् रूप : महाकाव्यसम्पादन

कविताको सबैभन्दा ठूलो आयामलाई बृहत् रूप भनिन्छ । यसमा कविताका लामा रचना र खण्डकाव्यभन्दा माथिका सबै सिर्जनाहरू समेटिन पुग्दछन् । यस्ता रचनाको सिर्जना बृहत आख्यानीकरणबाट मात्र सम्भव हुन्छ र यसमा जीवन जगत्को सर्वपक्षीय अध्ययन भएको हुन्छ । कविताले जब सिङ्गो युग, जीवन र समाजलाई बोकेर हिँड्न लाग्छ र अनुभूतिको आख्यानीकरणमा कवित्वको महाप्रवाह बहन थाल्दछ तब कविताको बृहत् रूप महाकाव्य प्रकट हुन्छ [३]। कविताको यस्तो आयाममा जीवन जगतको सिङ्गो प्रस्तुति, खण्डयोजना, सन्धि, अर्थ प्रकृति र कार्यावस्था जस्ता प्राविधिक कुराको संयोजन गरिएको हुन्छ । कविताको बृहत् रूप चाही अनुभूतिको महाप्रवाह, जीवनको सिङ्गो अभिव्यक्ति, मानव सभ्यता र समाजको सिङ्गो इतिहासलाई बोकेको विराट संरचना र आख्यानलाई बोकेको कविताहरूको स्वरूप हो । कविताको विस्तारित आयामयुक्त यस्तो रूपले सिङ्गो युगलाई नै आत्मसात् गरेको हुन्छ[४]। कविताको बृहत् रूप विकासशील अवस्थामा रहेको हुन्छ र यसको प्रवाह निरन्तर रूपमा चलिरहेको हुन्छ । जसले गर्दा कविताको बृहत् आयाम ललित महाकाव्यबाट माथि उठेर आर्ष महाकाव्यका तहसम्म पनि विस्तारित हुन पुग्छ । यसकारण कविताको बृहत् आयाममा विकसित र विकासशील, ललित र आर्ष महाकाव्य समेटिन पुग्दछन् ।

कविता र महाकाव्यबीचको सीमासम्पादन

कविताको उपविधाका रूपमा रहेको महाकाव्यमा कविताका सबै गुणहरू रहेका हुन्छन् तर पनि यी दुईका बिचमा केही भिन्नता पनि रहेको पाइन्छ । कविताको विकासशील र विराट् आयाम नै महाकाव्य हो, जब कवितामा आख्यान र संरचनाले विस्तृत रूप लिन्छ, तब मात्र कविता महाकाव्यमा परिणत हुन्छ । आख्यान, संरचना र साङ्गठनिक सुगठनले गर्दा नै महाकाव्य कविताबाट बिस्तारै अलग्गिन पुग्छ । कवितामा अनुभूतिको सूक्ष्म प्रवाह रहन्छ तर महाकाव्यमा आख्यान, चरित्र, परिवेश, काव्यात्मक आङ्गिक विकास र विस्तार तथा संरचनात्मक सुगठन आदिको बृहत् संयोजन रहेको हुन्छ । भावनामा एकरूपता र हार्दिकता कविता र महाकाव्य दुवैका मिल्दा पक्ष हुन् ।

महाकाव्यको परिचयसम्पादन

महाकाव्य शब्दको निर्माण ‘महा’ (महान्) र ‘काव्य’ दुई शब्दको योगबाट भएको छ । यसले शाब्दिक अर्थमा काव्यको सबैभन्दा ठूलो स्वरूपलाई बुझाउँछ । महाकाव्यलाई कविताको आयाम विस्तारका क्रममा निर्माण भएको सबैभन्दा ठुलो स्वरूपमा रूपमा चिनाइएको छ । ‘महाकाव्य’ शब्दलाई व्युत्पत्तिगत अर्थका रूपमा हेर्दा यसको निर्माण ‘कवृ’ वर्णने धातुबाट वा ‘कुङ’ शब्दे धातुबाट ‘कवि’ शब्द निष्पन्न हुन्छ । कवि कर्मबाट ‘काव्य’ शब्दको निर्माण हुन्छ र काव्य शब्दमा ‘महा’ शब्द पूर्वयोग गरेर महाकाव्य शब्दको निर्माण हुन पुग्छ । यसले काव्यको सबैभन्दा बृहत् संरचनालाई बुझाएको हुन्छ ।

हजारौँ वर्ष पहिले छापाखानाको कुनै व्यवस्था नहुँदा स्रष्टाहरूले धेरै वर्ष लगाई हातले नै पुस्तक तयार गर्दथे । त्यस समयमा नाटक आदिलाई अभिनय गराउने र महाकाव्य, खण्डकाव्य र गीतिकाव्य अरुलाई सुनाउने गरिन्थ्यो । यसै आधारमा काव्यलाई दृश्य र श्रव्य गरी दुई भागमा विभाजन गरेको पाइन्छ । हाल आएर साहित्य शब्दले काव्य शब्दको भन्दा पनि व्यापक अर्थलाई समेट्न थालेको छ । काव्य शब्द अब महाकाव्य, खण्डकाव्य र गीतिकाव्य जस्ता शब्दमा रूढ हुन थालेको छ तर अर्थमा भने कुनै भिन्नता रहेको पाइँदैन । यस्तै साहित्यका सीमित र व्यापक दुई अर्थ पनि रहेका छन् । व्यापक अर्थमा साहित्यले समग्र वाङ्मयलाई बुझाउँछ भने सीमित अर्थमा केवल गद्य, पद्य र चम्पूलाई बुझाउँछ । यी अर्थहरूमध्ये पद्य अन्तर्गत पर्ने प्रबन्ध र मुक्त काव्यमध्ये प्रबन्ध काव्यको बृहत्, बृहत्तर स्वरूप भएका रचनालई महाकाव्यका रूपमा चिनाइएको छ । पूर्वीय र पाश्चात्य काव्य चिन्तन परम्परामा महाकाव्यलाई चिनाउनका लागि विभिन्न समयमा विविध विद्धान्हरूले आ–आफ्ना धारणाहरू अगाडि सारेका छन् । यिनै विचारका सापेक्षतामा महाकाव्यलाई परिचित गराउन महाकाव्यका केही परिभाषालाई यहाँ समेटिएको छ । जसले महाकाव्य भनेको के हो ? भन्ने कुरालाई बुझाउन सहयोग गरेका छन् ।

पूर्वीय साहित्य चिन्तनका सापेक्षतामा महाकाव्यको परिभाषासम्पादन

पूर्वीय साहित्य चिन्तनमा महाकाव्य सम्बन्धी चिन्तन एकै पटक थालिएको होइन । यस सम्बन्धमा पुराणहरूमा पनि केही कुराको उल्लेख पाइन्छ । पौराणिक कालबाट हालसम्म आइपुग्दा यसका बारेमा व्यापक चर्चा भएको पाइन्छ । यसै सन्दर्भमा सहाकाव्यका केही पूर्वीय परिभाषालाई यहाँ उठाइएको छ ।

सर्वप्रथम अग्नि पुराणमा महकाव्यलाई यसरी चिनाइएको छ – ‘संक्षेपमा अभीष्ट अर्थ व्यक्त गर्ने दोषरिहत, गुणसहित पदावली नै काव्य हो’[५]। यस परिभाषामा महाकाव्यलाई भन्दा पनि समग्र काव्यलाई परिचित गराउने काम गरिएको छ । यस भनाइले समग्र वाङ्मयलाई समेटेको हुनाले यो परिभाषाले महाकाव्यलाई पनि सङ्केत गरेको बुझ्नुपर्ने हुन्छ । यसले काव्यमा गुणलाई अपेक्षित सामग्री र दोषलाई वर्जित सामग्रीका रूपमा लिएको छ तर के गुण हो र के दोष हो भन्ने कुरालाई यस भनाइले कतै स्पष्ट पारेको छैन । यो प्रथम परिभाषा पछि मात्र यसको विधागत रूपमा चिन्तन अगाडि आएको छ ।

महाकाव्यका बारेमा धारणा राख्ने काव्य चिन्तक भामह हुन् । उनका अनुसार महाकाव्य भनेको लामो कथानक नभएको महान चरित्रमा आधारित, नाटकीय पञ्च सन्धि समन्वित उत्कृष्ट एवं अलङ्कृत शैलीमा रचित तथा जीवनका विविध रूप र कार्यको वर्णन गर्ने सर्गबद्ध र सुखान्त काव्य हो ( २०३८ः श्लोक १९–२०)। उनको यो परिभाषाले महाकाव्यलाई लामो कथानक नभएको, महान् चरित्रमा आधारित, सन्धियुक्त र आलङ्कारिक भाषा भएको रचनाका रूपमा सङ्केत गरेको छ । उनले यस्तो परिभाषा निर्माणका लागि महाभारत र रामायण जस्ता काव्यलाई आधारका सामग्रीका रूपमा लिएको देखिन्छ । यस परिभाषामा आएको लामो कथानक नभएको रचना महाकाव्य हो भन्ने कुराले केही विवाद सिर्जना गरेको छ । यस कुरालाई महाकाव्यको कथामा अनावश्यक विस्तार हुनु हुँदैन भन्ने सन्दर्भमा बुझ्नु जरुरी हुन्छ ।

यसैगरी महाकाव्यलाई परिभाषित गर्ने अर्का आचार्य दण्डी हुन् । उनका अनुसार महाकाव्य आशीर्वाद, नमस्क्रिया वा वस्तुनिर्देशमध्ये कुनै एउटाबाट थालिएको हुनु पर्दछ । सर्गबद्ध र इतिहास प्रसिद्ध कथानक भएका सदाश्रयी, चतुर एवं उदात्त किसिमको नायक हुनु पर्दछ । महाकाव्यले चतुर्वर्गफल दिनुपर्छ । नगर, शैल, सँगर, चन्द्रोदय तथा रत्युत्सव आदिको वर्णन गरिएको हुनुपर्छ । त्यस्तै मन्त्रदूतप्रयाणदि र नायकको उदयको वर्णन भएको अलङ्कृत संक्षिप्त रसनिरन्तरतायुक्त सन्तुलित सर्गयुक्त पञ्चसन्धि समन्वित एवं लोक रञ्जक कथानक भएको रचना हो[६]। दण्डीको यस परिभाषाले महाकाव्यलाई व्यापक रूपमा परिभाषित गर्ने काम गरेको छ । वस्तु निर्देश, मङ्गलाचरण, कथानक, नायक, परिवेश र भाषाशैली आदि विषय महाकाव्यमा कस्ता रहन्छन् भन्ने सन्दर्भमा पनि यस परिभाषाले प्रकाश पारेको छ ।

महाकाव्यको परिभाषाका क्रममा आचार्य रुद्रटले महाकाव्यलाई यसरी परिभाषित गरेका छन्– महाकाव्यमा कथानक कल्पित वा अकल्पित जुनसुकै भए तापनि महान् हुन्छ । यस कथानकभित्र अवान्तर कथाहरू पनि समाविष्ट हुन सक्दछन् । यसले युग र जीवनको चित्रण गर्दछ । नायक सर्वगुण सम्पन्न द्विजकुलोत्पन्न र शक्तिशाली हुनुका साथै युद्धमा विजय प्राप्त गर्नसक्ने खालको हुनुपर्छ (२०३२ः श्लोक ५–७)। आचार्य दण्डीले इतिहास प्रसिद्ध कथालाई महाकाव्यको कथास्रोत मानेका थिए तर रुद्रटले कल्पित वा अकल्पित कथानक भनेर कल्पनालाई पनि कथानकको स्रोत मानेका छन् तर कथानक महान् हुनुपर्छ भन्नेमा भने दुवैको एकमत रहेको छ । कथानकभित्र अवान्तर कथाहरू पनि आउने कुराको थप व्यवस्था रुद्रटको परिभाषाको नवीन पक्ष हो ।

यसै क्रममा आचार्य हेमचन्द्रले महाकाव्यलाई यसरी परिभाषित गरेका छन्– पद्यबद्ध रूपमा प्रायः संस्कृत, अपभ्रंश आदि भाषामा विभिन्न कथानकलाई लिएर शब्द वैचित्य, अर्थ वैचित्य, रसयुक्त, छन्दोबद्ध एवं लोकरञ्जक गुण बोकेको काव्य नै महाकाव्य हो [७]। आचार्य हेमचन्द्रले संस्कृतेतर भाषालाई पनि महाकाव्योचित भाषाका रूपमा स्वीकार गरेका छन् । शब्द र अर्थको वैचित्य हुनुपर्छ भन्ने कुराले महाकाव्य अन्योक्ति मूलक रचना हो भन्ने कुरालाई बुझाएको छ ।

संस्कृत साहित्यका विशिष्ट चिन्तक आचार्य विश्वनाथले महाकाव्यलाई यसरी परिभाषित गरेका छन् । उनका आनुसार– महाकाव्य सर्गबद्ध हुन्छ र त्यसको नायक शूर सद्वंशी, क्षेत्रीय, एकै वंशका धेरै पनि हुन सक्दछन् । श्रृङ्गार, वीर र शान्तमध्ये कुनै एक अङ्गी र अन्य अङ्ग रस हुनुपर्दछ । कथानक नाटकीय पञ्च सन्धि समन्वित हुनु पर्दछ । कथानक इतिहासप्रसिद्ध र सज्जनाश्रित हुनु आवश्यक हुन्छ । सुरुमा वस्तु निर्देश, नमस्क्रिया वा आशीर्वाद रहनु पर्दछ । सत्पात्रको गुणको बयान र दुर्जनको निन्दा गरिएको हुनु पर्दछ । न धेरै लामा न धेरै छोटा कम्तीमा आठ वटा सर्ग रहनु पर्छ । सर्गको अन्त्यमा भावीसर्गको सूचना हुनु पर्दछ । सम्पूर्ण कालचक्र (सन्ध्या, प्रभात, रजनी, मध्याह्न, आदि) सम्पूर्ण ऋतुचक्र, स्वर्गदेखि धर्तीसम्म र धर्तीदेखि स्वर्गसम्मको सम्पूर्ण परिवेशको वर्णन महाकाव्यमा हुनुपर्दछ । सम्भोग, विप्रलम्भ, पुत्रोत्पत्ति आदिको वर्णन महाकाव्यमा हुनु पर्दछ । रणप्रयाण एवं सत्को विजय देखाइएको हुनुपर्दछ । नायक, कथानक वा कविको नामबाट महाकाव्यको नामकरण गरिएको हुनु पर्दछ । विविध छन्दको प्रयोग गरिनुका साथै सर्गको अन्त्यमा छन्द बदल्नु पर्दछ [८]

आचार्य विश्वनाथ को प्रस्तुत परिभाषाले परम्परित परिभाषाहरूको समर्थन मात्रै नगरी केही नवीन पक्षलाई पनि समेटेको देखिन्छ । चतुवर्गफलको सिद्धिमध्ये कुनै एउटाको प्राप्तितर्फ परिभाषाले सङ्केत गरेकोले उनको विचार ललित वा कलात्मक महाकाव्यतिर बढी झुकेको पाइन्छ । यस्तै अङ्गीरसमा करुण रसको कुरा उल्लेख नगर्नाले पनि यो कुरालाई पुष्टि गर्न थप मद्दत पुगेको छ । विश्वनाथको यस परिभाषाले महाकाव्यलाई ज्यादै औपचारिक रचनाका रूपमा परिभाषित गरेको छ ।

विश्वनाथपछि आचार्य जगन्नाथले सम्पू्र्ण काव्यलाई नै परिभाषित गरेकाले भामहदेखि विश्वनाथसम्मका परिभाषालाई समेटेर महाकाव्यलाई विश्वनाथलाई जुन रूपमा चिनाएका छन् सोही रूपमा चिनाउने काम गरेका छन् । माथि प्रस्तुत गरिएका पूर्वीय महाकाव्य परिभाषालाई हेर्दा भामह र दण्डीय आर्ष महाकाव्यलाई आधार बनाएर महाकाव्यको परिभाषा निर्माण गरेका छन् भने अन्य आचार्यहरूले ललित वा कलात्मक महाकाव्यलाई आधार बनाएका छन् ।

संस्कृत साहित्यका चिन्तकहरूले प्रस्तुत गरेका महाकाव्यका परिभाषाका सारलाई समेट्दा महाकाव्यलाई सर्गबद्धता, छन्दोबद्धता, पञ्सन्धियुक्तता, अलङ्कृत भाषाशैली, इतिहासप्रसिद्ध, काल्पनिक वा दन्त्य कथामा आधारित कथानाक, सत्पात्रको चरित्र चित्रण, रसभावको निरन्तर प्रवाह भएको चतुवर्ग फलमध्ये कुनै एकको प्राप्ति हुने जीवनको सुखान्त अभिव्यक्तिका रूपमा चिनाएको छ ।

पाश्चात्य साहित्य चिन्तनका सापेक्षतामा महाकाव्यको परिभाषासम्पादन

पाश्चात्य साहित्यमा युनानी स्रष्टा होमरद्वारा रचित इलियडओडिसी जस्ता प्रसिद्ध रचनाद्वारा साहित्य सिर्जनाको सुरुवात भएको हो । पश्चिमको सिङ्गो साहित्य चिन्तनपरम्पराको आरम्भ प्लेटो (सन् ४२७–३५ )ले गरेका हुन् (सुवेदी, २०३२ः पृ. १)। तर महाकाव्यका बारेमा चिन्तनको सुरुवात भने एरिस्टोटल( सन् ३८४–३२२)बाट भएको हो । एरिस्टोटलले महाकाव्यका बारेमा छुट्टै सिद्धान्तको प्रतिपादन नगरे पनि दुःखान्तको चर्चा गर्ने क्रममा आफ्नो काव्यशास्त्र (पेरिूपोइतिकेस) मा दुःखान्तक र महाकाव्यका बिचमा तुलना गरेका छन् । यस क्रममा एरिस्टोटलले महाकाव्यलाई यसरी चिनाएका छन्– महाकाव्यमा आफ्नो सीमामाथि विस्तार गर्ने विशिष्ट क्षमता हुन्छ । जसको रूप आख्यानात्मक तथा छन्द एउटामात्र प्रयोग भएको हुन्छ । कथानकको विकास आदि मध्य र अन्त्यमा भएको हुन्छ । यसमा एक पूर्ण घटनाको उल्लेख हुनु आवश्यक छ र यसले एउटा जीवन्त प्राणीले जस्तै आनन्द प्रदान गर्दछ [९]एरिस्टोटलको यस परिभाषमा होमरद्वारा रचित इलियड र ओडिसी जस्ता विकसित महाकाव्यलाई समेटिएको छैन । उनले दुःखान्तक र महाकाव्यका बिचमा तुलना गर्दा केवल कलात्मक महाकाव्य (इपिक अफ आर्ट) लाई मात्र सङ्केत गरेका छन् । उनको परिभाषाले एक छन्दको प्रयोगलाई जोड दिएको छ । जे भए तापनि पश्चिममा महाकाव्यका बारेमा गरिएको यो प्रथम अभिव्यक्ति भएका कारणले उनको धारणा बढी महत्वपूर्ण रहेको छ ।

एरिस्टोटलपछि पश्चिममा महाकाव्यसम्बन्धी चिन्तन धेरै समयसम्म अवरुद्ध भएको छ । धेरै समयको अन्तरालपछि मात्र यसमा निरन्तरता आएको छ । यसै क्रममा जोसेफ एडिसनले जान मिल्टनको प्याराडाइज लस्टको भूमिकामा महाकाव्य सम्बन्धी आफ्नो विचारलाई अगाडि सारेका छन् । उनका अनुसार – महाकाव्य दन्त्य कथा पूर्ण वा अपूर्ण हुन्छ । यसमा कम्तीमा तिन कुरा प्रमुख रूपमा रहेका हुन्छन् । महाकाव्य हुनको लागि एउटा घटना हुनुपर्छ, घटना महान् हुनुपर्छ (दि नोर्तोन एएन्थोलजी अफ इङ्लिस लिटेरचर, सन् १९७३ः पृ. १७७) [१०]। एडिसनले महाकाव्यमा कथानकलाई मात्र महत्व दिएका छन् । कथानकलाई गतिशील बनाउने नायक परिवेश आदि कुराका बारेमा उनको विचार ज्यादै मौन बसेको छ । उनका विचारमा घटनालाई पूर्णतामा पुर्याउन सक्ने खालको महान् पात्रको आवश्यकता महाकाव्यमा हुन्छ भन्ने कुराको अनुमान हामीले गर्न सकिन्छ । यसर्थ उनको महाकाव्य सम्बन्धी प्रस्तुत धारणा पूर्ण छैन ।

यसै गरी पाश्चात्य साहित्य चिन्तक एवर क्रम्बेले महाकाव्यको परिभाषा दिने क्रममा महाकाव्यलाई साहित्यिक र ऐतिहासिक हाँगाहरूमा विभाजन गर्दै आलङ्कारिक रूपमा मनोरञ्जन पाराले लेखिएको रचनालाई साहित्यिक महाकाव्य र ऐतिहासिक पारामा कथानकमा समय अनुसार स्वरूप निर्माण गरिएको महाकाव्यलाई ऐतिहासिक महाकाव्य मानेका छन् । उनको यस विचारले विषयअनुरूप महाकाव्यलाई विभाजन गरेर अध्ययन गर्न सकिने कुरालाई सङ्केत गरेको छ ।

यसैगरी पाश्चात्य समालेचक सि.एम. बाबराले महाकाव्य सम्बन्धी परिभाषा अनुसार – त्यो बृहदाकार कथात्मक काव्य महाकाव्य हो जसमा महत्वपूर्ण र गरिमामय घटनाको वर्णन हुन्छ तथा त्यसमा केही पात्रहरूको क्रियाशील एवं भयङ्कर कार्यले भरिएको जीवनकथा हुन्छ । त्यो पढ्दा हामीलाई घटना र पात्रले हाम्रो हृदयमा मानवीय उपलब्धिहरू तथा गौरव र महत्वमाथि दृढ आस्था उत्पन्न गरिदिन्छन् (सि.एम.बाबरा, सन् १९४५ः पृ. १६) । उनको यस भनाइले महाकाव्यलाई ज्यादै गहन काव्यका रूपमा परिभाषित गरेको छ । यसै गरी अन्य केही ग्रन्थहरूले पनि महाकाव्यलाई परिभाषित गर्ने काम गरेका छन् । जसमध्ये एक उल्लेख्य परिभाषा अनुसार वीरतापूर्ण कार्यको सुविस्तृत रूपमा वर्णन गरिएको वर्णनात्मक कविता नै महाकाव्य हो । यसमा नायक प्रायः एउटै हुन्छ । उच्चस्तर राष्ट्रिष्ता, सार्थकता शौर्य आदिको विस्तृत वर्णन समेत यसमा हुन्छ । यस विचारले महाकाव्यलाई वीरतापूर्ण एउटा भएको विस्तृत कथाका रूपमा चिनाएको छ । यसै गरी अर्को थरि परिभाषा अनुसार महाकाव्य भनेको गम्भीर रूपमा लेखिएको आख्यानात्मक एवं आलङ्कारिक पदावलीको प्रयोग गरिएको दैवी वा अर्ध दैवी पात्रको समावेश भएको औपचारिक एवं वृत्ताकार शैलीमा लेखिएको रचना हो (एम.एच. अब्राहम्स्, सन् १९९३ः पृ. ५३)। यस परिभाषाले महाकाव्यलाई आख्यानात्मक, आलङ्कारिक भाषा भएको दैवी पात्रको प्रयोग हुने विशिष्ट रचनाका रूपमा चिनाएको छ ।

पाश्चात्य साहित्यको चिन्तन परम्परालाई हेर्दा महाकाव्य बारेका प्रमुख धारणाहरूमा, महाकाव्य वर्णनात्मक कविता भएको, छन्दोबद्धता र आलङ्कारिक भाषिक योजना रहने, महान् कथामा महान् नायक रहनु पर्ने, सिङ्गो युग सभ्यता समाज र संस्कृतिको प्रतिबिम्बका रूपमा महाकाव्य रहने जस्ता चिन्तन उल्लेख्य रहेका छन् ।

यसबाट महाकाव्यमा महान नायकले महान कथा बोकेको हुन्छ र त्यो छन्दोबद्ध गरिमामय लामो वर्णनात्मक रचना हो भन्ने निष्कर्ष निस्कन्छ ।

महाकाव्य सम्बन्धी अन्य धारणाहरूसम्पादन

संस्कृत र पाश्चात्य काव्य चिन्तनका अतिरिक्त नेपाली र हिन्दी साहित्यमा पनि महाकाव्यलाई चिनाउने विविध प्रयासहरू भएका छन् । यसै सन्दर्भमा केही उल्लेखनीय विचारहरूलाई यहाँ समेटिएको छ ।

महाकाव्यलाई चिनाउने क्रममा भारतीय समालोचक नागेन्द्रका अनुसार– महाकाव्यलाई उदात्त कथानकयुक्त, उदात्त नायकयुक्त, उदात्त उद्देश्ययुक्त एवं उदात्त भाव र शैलीयुक्त वर्णनयुक्त रचना हो (नगेन्द्र, सन् १९८१ः पृ. १२७) । उनको यस विचारले महाकाव्यलाई गरिमामय काव्यका रूपमा चिनाएको छ ।

यसैगरी अर्का भारतीय समालोचक भगीरथ मिश्रका अनुसार– महाकाव्य महाकविको कल्पनासंयम तर प्रबल हुन्छ । ऊ भित्र नवनिर्माणको चेतनाका सार्थ हरेक वस्तुका विशेषताहरूलाई सूक्ष्म रूपमा निरीक्षण गर्न सक्ने क्षमता रहन्छ । महाकविभित्र रहेको पदावलीको जादुले महाकवि र अन्य कविका बिचमा भिन्नता रहेको हुन्छ (मिश्र, २०४७ः पृ. ५५) । अतः महाकाव्य आफ्नो महत्तामा अक्षुण रहन्छ । उनको यस भनाइले पनि महाकाव्यलाई महान् रचनाका रूपमा नै परिभाषित गरेको छ ।

यसैगरी नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि महाकाव्यका बारेका आफ्नो विचार प्रस्तुत गरेका छन् । उनका अनुसार– ‘साधारण सामाजिक औपन्यासिक सामग्री र युक्तिको कल्पनाद्वारा रचना गरिएको कविता उपन्यास जसलाई महाकाव्य भन्ने साधारण समझको उपाधि सायद उपाधि नै हुने गरी दिइएको छ । कति मात्रामा सुहाउँदो छ म भन्न सक्दिन’ (देवकोटा, २००३) ।

देवकोटाले महाकाव्यलाई कवितामा रचना गरिएको औपन्यासिक कृतिका रूपमा चिनाएका छन् जुन कुरा उनका महाकाव्यका भूमिकामा उनले प्रस्तुत गरेका विचारबाट स्पष्ट हुन्छ ।

यसैगरी नेपाली साहित्यका समालोचक वासुदेव त्रिपाठीले महाकाव्यलाई यसरी चिनाएका छन्– ‘महाकाव्य भनेको वस्तुगत रूपमा समसामयिक धरातलमा टेकेर मानसिक भावनात्मक र वैचारिक चिन्तनात्मक स्तरमा महत्तम कविता छविद्वारा जीवनको विस्तृत अझ विराट् अभिव्यञ्जना गरिएको रचना हो ।’ (त्रिपाठी, २०४८ः पृ. १०९) । उनको यस भनाइले महाकाव्यलाई कविताको वृहत् स्वरूप भएको हार्दिक र बौद्धिक पक्ष समेटिएको रचनाका रूपमा चिनाएको छ ।

नेपाली समालोचना क्षेत्रका व्यक्ति ईश्वर बरालद्वारा सम्पादित नेपाली साहित्यकोशमा महाकाव्यलाई यसरी चिनाइएको छ : “कुनै पनि राष्ट्र वा जातिका महत्वमा आदर्श संस्कार, संस्कृति इतिहास जीवन दर्शन र नीति जस्ता सम्पूर्ण राष्ट्र वा जातिद्वारा गौरव गरिने सम्पूर्ण राष्ट्र वा जातिकै स्वाभिमानको प्रतिनिधित्व गर्ने सम्पदाहरूको सङ्गठन भएको सबै अङ्ग र रूपले परिष्कृत र परिमार्जित उत्कृष्ट काव्य नै महाकाव्य हो” (बराल, २०५२ः पृ. ५९७) । यस परिभाषाले पनि महाकाव्य विधालाई जीवन जगत्का विविध पक्ष समेट्ने आदर्श र गरिमामय बृहद् आयामयुक्त रचनाका रूपमा परिभाषित गरेको छ ।

समालोचक कृष्ण गौतमले महाकाव्यका सन्दर्भमा आफ्नो धारणा यसरी प्रस्तुत गरेका छन् : “कुनै कृतिले ठूलो हुँदैमा महाकाव्यको अभिधान पाउँदैन महाकाव्यका निम्ति उच्चता हुनु पर्दछ र एउटै शब्दमा भन्ने हो भने गाम्भीर्य हुनु पर्दछ” (गौतम, २०५५ः पृ. ३)। उनको यस परिभाषाले काव्यको कलात्मक उचाइलाई ध्यान दिनुका सार्थ आकारमा व्यापक नभए पनि भावमा गाम्भीर्य, उच्च भाव, भव्य र गरिमामय रचना विधालाई महाकाव्यका रूपमा परिचित गराएको छ ।

महाकाव्य सम्बन्धी पूर्वीय र पाश्चात्य मान्यताको समीक्षासम्पादन

पूर्वमा भामह र पश्चिममा एरिष्टोटलका विचारहरू नै महाकाव्य सम्बन्धी चिन्तन परम्परालाई अगाडि बढाउने प्रथम उद्गम विन्दु हुन् । यिनीहरूका विचारका उत्तरवर्तीहरूले चिन्तन मनन गर्दै महाकाव्य चिन्तनलाई वर्तमानसम्म ल्याइ पु¥याएका छन् । पूर्वमा र पश्चिममा महाकाव्यलाई चिनाउने सन्दर्भमा आ–आफ्नै किसिमले परिभाषाहरू गरिएका छन् । यी दुवै थरीका विचारमा कतै समानता कतै असमानता देखिएका छन् । भामह र एरिस्टोटल दुवैले महान् चरित्रको वर्णन भएको परिष्कारूपूर्ण र बोलीचालीको भन्दा ज्यादै भिन्न कलात्मक भाषामा रचना गरिएको एउटै मूल कथावस्तु भएको छन्दोबद्ध रचनालाई महाकाव्य मानेका छन् । पूर्वमा पञ्चसन्धिको आवश्यकतालाई अनिवार्य ठानिएको छ भने एरिस्टोटल त्रासदीमा हुने वस्तु सङ्गठनलाई महाकाव्यमा अपेक्षित ठान्दछन् । सन्धिको अनिवार्यतालाई पूर्वमा विश्वनाथले पनि समर्थन जनाएका छन् ।

यसैगरी अन्य केही कुरामा पूर्व र पश्चिममा केही भिन्नता रहेको पाइन्छ । पूर्वमा महाकाव्यमा छन्दको विविधतालाई स्वीकार गरिएको छ, तर पश्चिममा केवल एक छन्द (वीर छन्द)को अपेक्षा गरिएको छ । पूर्वमा श्रृङ्गार शान्त र वीर रसमध्ये एक रसलाई महाकाव्यको अङ्गी रस मानिएको छ भने अन्य रसलाई अङ्ग रस मानिएको छ । पश्चिममा भने करुण रसलाई अङ्गी रसको मान्यता दिइएको छ । यसैगरी पूर्वमा महाकाव्यमा आदर्श विचारलाई मान्यता दिइएको छ र त्यसको अपेक्षा महाकाव्यमा गरिएको हुन्छ । तर पश्चिममा जीवन र जगत्को वास्तविकतालाई देखाउने दुःखान्तक र भौतिकतालाई प्रतिनिधित्व गर्ने विचारलाई महत्व दिइएको छ । तुलनात्मक रूपमा हेर्दा पूर्वको महाकाव्य चिन्तनपरम्परा भामहदेखि विश्वनाथसम्म आइपुग्दा जति विकसित भएको छ पश्चिममा त्यसको अभाव रहेको देखिन्छ । महाकाव्यात्मक विचारको स्थापनाको निम्ति यी दुवैको महत्व उत्तिकै रहेको छ ।

पूर्व र पश्चिमको महाकाव्य चिन्तनलाई समेटेर महाकाव्यको परिभाषा गर्दा महाकाव्य गम्भीर कथानक बोकेको, उच्च नायकको चरित्रमा आधारित, युग, सभ्यता, समाज, संस्कृति तथा इतिहासका विविध पक्षहरूलाई समेटी लयात्मक तथा कलात्मक भाषाको प्रयोग भएको, पञ्चसन्धि समन्वित बृहत् आयामयुक्त गरिमामय आख्यानयुक्त सर्गबद्ध शाश्वत् कृति हो । महाकाव्य समसामयिक विधाका रूपमा पनि रहेको हुनाले यसलाई वर्तमानको सापेक्षतामा पनि परिभाषित गर्नु जरुरी हुन्छ ।

महाकाव्यको स्वरूपसम्पादन

माथि प्रस्तुत गरिएको महाकाव्यको परिचय र परिभाषाले महाकाव्य के हो ? भन्ने कुरालाई स्पष्ट पारेका छन् । त्यसैले ती कुरालाई समेटेर महाकाव्यको स्वरूपलाई चिनारि गराउने केही बुँदाहरूमाः महाकाव्य ज्यादै पुरानो विधा हो; महाकाव्य बृहत् आयाम भएको आख्यानात्मक कविता हो; महाकाव्यमा जीवनजगत्को बृहत् प्रस्तुति हुन्छ; महाकाव्य सर्गबद्ध रचना हो; महाकाव्य कलात्मक र आलङ्कारिक भाषामा रचित हुन्छ ।

महाकाव्यका तत्वसम्पादन

कुनै पनि रचना निर्माण हुनका लागि साना ठूला अवयवहरूको आवश्यकता पर्दछ । महाकाव्यको निर्माणका लागि आवश्यक पर्ने घटकहरूलाई महाकाव्यका तत्व भनिन्छ । महाकाव्यभित्र आ–आफ्नो महत्वका आधारमा कुनै तत्व प्रमुख रूपमा रहेका हुन्छन् भने कुनै गौण भूमिकामा रहेका हुन्छन् । पूर्वीय र पाश्चात्य महाकाव्य चिन्तनका आधारमा यहाँ महाकाव्यका तत्वको खोजी गरिएको छ ।

  • पूर्वीय धारणा अनुसार महाकाव्यका तत्व

महाकाव्यलाई परिभाषित गर्ने क्रममा पूर्वीय आचार्य भामह, दण्डी, रुद्रट, हेमचन्द, विश्वनाथ आदिका आ–आफ्ना ग्रन्थहरूमा प्रस्तुत गरिएका महाकाव्य सम्बन्धी धारणाहरूका आधारमा कथानक, पात्र वा चरित्र, भाषाशैली, परिवेश, उद्देश्य, रस जस्ता तत्वहरूलाई महाकाव्यका तत्वहरू मानिएको पाइन्छ ।

  • पाश्चात्य धारणा अनुसार महाकाव्यका तत्व

पाश्चात्य महाकाव्य चिन्तक एरिस्टोटलले गीत र दृश्य विधान बाहेक अन्य संरचनागत तत्वहरू दुःखान्तक र महाकाव्यका समान हुन्छन् (त्रिपाठी, २०५०ः पृ. ८४) । यस भनाइका आधारमा पश्चिममा महाकाव्यका तत्व भनेर कथानक, पात्र वा चरित्र, पदरचना र विचार तत्वलाई लिइएको पाइन्छ ।

  • पूर्वीय र पाश्चात्य मान्यताका सापेक्षतामा महाकाव्यका तत्व

मूल रूपमा माथि प्रस्तुत गरिएका तत्वहरूमा सबैजसो काव्यचिन्तकका मान्यता समेटिने हुनाले यिनै विचारलाई आधार मानेर महाकाव्यका आवश्यक तत्वहरू निर्माण गर्न सकिन्छ । पूर्वीय र पाश्चात्य दुबैतिरको मतलाई आधार मानेर हेर्दा महाकाव्यका तत्वहरू भनेर कथानक, पात्र वा चरित्र, परिवेश, उद्देश्य, शीर्षक चयन, भाषा शैलीय विन्यास, अलङ्कार, बिम्ब, प्रतीक, छन्द, गति र लय, कथनपद्धति, सर्गयोजना, आदिलाई लिइएको छ ।

महाकाव्यको वर्गीकरणसम्पादन

नेपाली महाकाव्यको विकासलाई हेर्दा विभिन्न किसिमका धेरै महाकाव्यहरू रचना भएका छन् । महाकाव्यको यो रचनाक्रम निरन्तर चलि नै रहने देखिन्छ । यसरी निरन्तर रूपमा रचना भएका महाकाव्यलाई विभिन्न आधारमा वर्गीकरण गरी अध्ययन गर्न सकिन्छ । महाकाव्य वर्गीकरणका प्रमुख आधारहरूमा विषयवस्तु, कथानक, शैली र विचार वा प्रवृत्ति पर्दछन् । यहाँ यिनै आधारमा महाकाव्यको वर्गीकरण गरिएको छ ।

विषय वस्तुका आधारमा महाकाव्यसम्पादन

विषयको भिन्नताले महाकाव्यलाई पनि फरक बनाउने गर्दछ । विषयमा परिवर्तन भएमा समग्र काव्यको ढाँचा नै परिवर्तन हुन्छ । विषय वस्तुलाई आधार मान्दा महाकाव्य निम्न लिखित पाँच प्रकारका रहेका छन् :

ऐतिहासिक महाकाव्यसम्पादन

महाकाव्यको कथा इतिहास प्रसिद्ध हुने कुरा माथिको प्रसङ्गबाट पनि स्पष्ट भएको छ । इतिहासको कुनै कालखण्डमा घटित घटनालाई विषयवस्तु बनाएर रचना गरिएको महाकाव्यलाई ऐतिहासिक महाकाव्य भनिन्छ । यसमा महाकाव्यको विषयवस्तु इतिहासको घटनामा आधारित रहेको हुन्छ । नेपाली साहित्यमा ऐतिहासिक महाकाव्यको रूपमा भीमसेन थापा, युगनायक, विभूतिदर्पण जस्ता महाकाव्यहरू रचना गरिएका छन् ।

सामाजिक महाकाव्यसम्पादन

समाजमा रहेका विविध पक्ष (घटना, समस्या, संस्कार, परम्परा आदि) लाई विषय बनाएर रचना गरिएका महाकाव्यलाई सामाजिक महाकाव्य भनिन्छ । यस्ता महाकाव्यले समाजमा रहेका विविध घटना, समस्यालाई उठाएका हुन्छन् । सामाजिक महाकाव्यबाट समाजको स्वरूप संरचना सामाजिक संस्कार आदि विविध परिूपाटिको ज्ञान गर्न सकिन्छ । नेपाली साहित्यमा सुलोचना, चिसो चुल्हो, मानव जस्ता महाकाव्य सामाजिक महाकाव्यका उदाहरण हुन् ।

दार्शनिक वा वैचारिक महाकाव्यसम्पादन

संसार रचनाका बारेमा वा मानिस र जगत्को सिर्जनाका बारेमा प्रचलित विविध दर्शनमध्ये कुनै एकलाई आधार बनाएर रचना गरिएका महाकाव्यलाई दार्शनिक महाकाव्य भनिन्छ । दर्शनको प्रबलता भएका यस्ता महाकाव्यमा विचारको प्रवाह हुने गर्दछ । यसैले दार्शनिक महाकाव्यलाई वैचारिक महाकाव्यका रूपमा पनि स्वीकार गरिएको छ । वैचारिक महाकाव्यमा विषयको गम्भीरताका कारण र तर्कको प्रस्तुतिका कारणले गर्दा केही अंशमा दुरुह र जटिल हुने गर्दछन् ।

पौराणिक महाकाव्यसम्पादन

प्राचीन धर्मग्रन्थ, महाभारत, पुराण आदिमा उल्लेख भएका प्रसिद्ध कथालाई आत्मसात् गरी रचिएका महाकाव्यात्मक रचनाहरूलाई पौराणिक महाकाव्य भनिन्छ । यस्ता रचनाले पुराणको कथालाई कति पुरानै स्वरूपमा कि त नवीन तरिकामा प्रस्तुत गरेका हुन्छन् । नेपाली साहित्यमा पौराणिक महाकाव्यका रूपमा देवासुर सङ्ग्राम, शाकुन्तल, कर्ण आदि रहेका छन् ।

प्रकृतिमूलक महाकाव्यसम्पादन

प्राकृतिक सिर्जनाको अपारतालाई स्रष्टाले आत्मसात् गर्दै प्रकृतिलाई नै मूल विषय बनाएर रचना गरिएका महाकाव्यलाई प्रकृतिमूलक महाकाव्य भनिन्छ । यस्ता महाकाव्यमा प्रकृतिका विविध रूपको प्रकटीकरण गरिएको हुन्छ । नेपाली साहित्यमा प्रकृतिलाई मूल विषय बनाएर रचना गरिएको महाकाव्यमा वसन्त पल्लव, तरुण तपसी आदि रहेका छन् ।

कथानकका आधारमासम्पादन

कथानकका आधारमा पनि महाकाव्यको वर्गीकरण गर्न सकिन्छ । यस आधारमा कथामा घटनाको प्रमुखता रहेको छ कि पात्र वा चरित्रका प्रमुखता छ भन्ने विषयलाई मूल रूपमा हेरिन्छ । यस आधारमा चरित्र प्रधान र घटना प्रधान गरी महाकाव्यलाई दुई भागमा विभाजन गर्न सकिन्छ ।

चरित्र प्रधान महाकाव्यसम्पादन

चरित्रलाई नै मूल स्थान दिएर रचना गरिएका महाकाव्यलाई चरित्र प्रधान महाकाव्य भनिन्छ । यस्ता महाकाव्यमा परिवेश र विषय चरित्रलाई प्रकाश पार्नका लागि उपयोग गरिन्छ । पात्रलाई नै मूल रूपमा महत्व दिइएको हुन्छ । चरित्र प्रधान महाकाव्यलाई नाटकीय स्वरूपमा प्रस्तुत गर्नु छ भने घटना र चरित्र दुवैलाई साङ्गठनिक रूपमा मिलाएर प्रस्तुत गरिएको हुन्छ । नेपाली साहित्यमा चरित्रप्रधान महाकाव्यका रूपमा रामायण, आदर्श राघव आदिलाई लिन सकिन्छ ।

घटना प्रधान महाकाव्यसम्पादन

पात्र वा चरित्रलाई भन्दा पनि घटनालई मूल प्राथमिकता दिएर रचना गरिएका महाकाव्यलाई घटनाप्रधान महाकाव्य भनिन्छ । यस्ता महाकाव्यमा कथालाई घटनाले अगाडि बढाउने काम गरेको हुन्छ । एकपछि अर्को गर्दै घटनाहरू निरन्तर रूपमा प्रवाहित भइरहने हुनाले घटनाप्रधान महाकाव्य बढी आख्यानात्मक भएका हुन्छन् । नेपाली साहित्यमा घटनाप्रधान महाकाव्यको राम्रो उदाहरण देवासुर सङ्ग्राम हो ।

शैलीका आधारमा महाकाव्यका प्रकारसम्पादन

शैली अभिव्यक्तिको तरिका हो । यस आधारमा पनि महाकाव्यलाई वर्गीकरण गर्न सकिन्छ । महाकाव्यकारले कस्तो कथनढाँचालाई अँगालेर महाकाव्यको रचना गरेको छ त्यस आधारलाई महाकाव्यको शैली भनिन्छ । यो मूल रूपमा तिन प्रकारको हुन्छ । कविप्रौढोक्ति, कविनिबद्ध वक्तृप्रौढोक्ति र मिश्रित यिनका बारेमा यहाँ चर्चा गरिएको छ ।

कविप्रौेढोक्तिसम्पादन

यस्तो खालको महाकाव्यमा महाकाव्यकारले आफ्नो विचार वा अभिव्यक्तिलाई प्रथम पुरुषको कथनढाँचामा प्रस्तुत गरेको हुन्छ । महाकाव्यको कथयिता व्यक्ति प्रथम पुरुष हुने भएकाले यस्ता महाकाव्यमा प्रमुख प्रस्तोताका माध्यमबाट काव्यमा हुन्छ । वैयक्तिक अनुभूतिले सजिएको महाकाव्य कविप्रौढोक्ति शैलीको महाकाव्य हो ।

कविनिबद्ध वक्तृ प्रौढोक्तिसम्पादन

यस्ता महाकाव्यमा महाकाव्यकारले आफ्नो सम्पूर्ण विचार वा अभिव्यक्तिहरूलाई सोझै प्रथम पुरुषका माध्यमबाट नभएर अन्य पात्रका सहायतामा सम्प्रेषणीय बनाएको हुन्छ । स्रष्टाले आफ्नो विचारलाई पात्र वा चरित्रका माध्यमबाट प्रस्तुत गर्ने भएकोले यस्ता महाकाव्यलाई कविनिबद्धवक्तृप्रौढोक्ति शैलीका महाकाव्य भनिन्छ ।

मिश्रितसम्पादन

महाकाव्यमा कविका विचार कतै पात्रका माध्यमबाट त कतै स्रष्टा स्वयंबाट प्रस्तुत भएमा मिश्रित शैलीका महाकाव्यको निर्माण हुन पुग्दछ । यसरी कवि र पात्रको साझा अभिव्यक्ति भएका महाकाव्यात्मक रचनाहरू शैलीका आधारमा मिश्रित शैलीका महाकाव्य हुन् ।

विचार वा प्रवृत्तिका आधारमासम्पादन

महाकाव्यमा के कस्ता विचारको प्रकटीकरण भएको छ त्यस आधारमा पनि महाकाव्यको वर्गीकरण गर्न सकिन्छ । यस आधारमा महाकाव्यलाई स्वच्छन्दतावादी महाकाव्य, परिष्कारवादी महाकाव्य, प्रगतिवादी महाकाव्य गरी विभाजन गर्न सकिन्छ । यिनीहरूको बारेमा सामान्य रूपमा यहाँ चर्चा गरिएको छ ।

स्वच्छन्दतावादी महाकाव्यसम्पादन

महाकाव्य सम्बन्धी प्रचलित नियम, सिद्धान्त, शास्त्रीय परिधिको अनुशासनमा नअल्मलिई मानवीय जीवनजगत्का विविध पक्षहरू स्वतन्त्र विचार, प्रकृतिप्रेम र मानवतावादलाई आत्मसात् गरी रचना गरिएका महाकाव्य स्वच्छन्दतावादी महाकाव्य हुन् । यस्ता महाकाव्यमा महाकाव्यकारको कल्पनाको उडान रहने गर्दछ । भावलाई समेट्नको लागि भाषा, व्याकरण र नियम अनुशासनको पालना यस्ता काव्यमा भएको हुँदैन । स्वच्छन्दतावादी महाकाव्यमा आत्मपरक रूपमा मानव समुदायका प्रेम, अनुराग, सौन्दर्य, दया, आशा, इच्छा आदिको उन्मुक्त प्रस्तुति गरिएको हुन्छ । नेपालीमा देवकोटाको शाकुन्तल महाकाव्य स्वच्छन्दतावादी महाकाव्य हो ।

परिष्कारवादी महाकाव्यसम्पादन

परिष्कारवादलाई अर्को अर्थमा शास्त्रीयतावाद पनि भनिन्छ । शास्त्रीय नियम अनुशासनमा रही महाकाव्यमा आवश्यक पर्ने नायक परिवेश भाषिक चयन, आदि कुरालाई ख्याल गरी रचना गरिएका महाकाव्यलाई परिष्कारवादी महाकाव्य भनिन्छ । यस्ता महाकाव्यमा भाषामा, परिवेशमा पात्रचयनमा बारम्बार परिष्कार र परिमार्जन गरिएको हुन्छ । परिष्कारवादी महाकाव्यलाई महाकाव्यको नियम र अनुशासनको घेरामा रहेर रचिएको काव्य पनि भनिन्छ । नेपाली साहित्यका आदर्श राघव परिष्कारवादी महाकाव्य हो ।

प्रगतिवादी महाकाव्यसम्पादन

समाजमा विद्यमान आर्थिक असमानता, वर्गीय संरचना आदिका कारणबाट उत्पन्न हुने निम्नवर्गमाथिको शोषण, अन्याय, अत्याचार, हेला, उपेक्षा आदि भेदभावपूर्ण विचारको वा सामाजिक कुसंस्कारको अन्त्य हुनुपर्ने धारणाको प्रस्तुति भएका महाकाव्यहरू प्रगतिवादी महाकाव्यका रूपमा रहेका हुन्छन् । प्रगतिवादी महाकाव्यले मूल रूपमा भौतिक द्वन्द्वलाई जोड दिएका हुन्छन् । यस्ता महाकाव्यले समतामूलक वर्गहीन समाज निर्माणको आग्रह गर्दछन् । नेपालीमा मोदनाथ प्रश्रितको मानव महाकाव्यलाई प्रगतिवादी महकाव्यका रूपमा लिन सकिन्छ । २.१०.४.४ प्रयोगवादी महाकाव्य द्वितीय विश्वयुद्धपछि मानव सभ्यतामा भित्रिएका निराशा निरथर्कता, आदि कुरालाई देखाएर रचना भएका महाकाव्यलाई प्रयोगवादी महाकाव्य भनिन्छ । परम्परित काव्यनिर्माणको अवस्थालाई परिवर्तन गरी नवीन शिल्पमा काव्यको रचना गर्ने परिूपाटी अनुरूप सिर्जना भएका महाकाव्यहरू यस भित्र पर्दछन् । साहित्यलाई प्रयोगका रूपमा लिई सोही अनुरूप काव्यको रचना गर्ने परिूपाटी नै प्रयोगवादी काव्य रचना हो । परम्परित नियममा नमई नयाँ प्रयोगमा रचना भएका महाकाव्यहरू प्रयोगवादी महाकाव्य हुन् । नेपालीमा जगदीश समशेर राणाको नरसिंह अवतार र गोपाल पराजुलीका देशमाथि आलेख यस्ता महाकाव्यका उदाहरण हुन् ।

महाकाव्यको विकासको पूर्वीय र पाश्चात्य सन्दर्भसम्पादन

धेरै पहिले महाकाव्यले विभिन्न स्थान, समय, सामाजिक परिस्थिति र परम्परा अनुसार मौखिक रूपमा निरन्तर अगाडि बढेको पाइन्छ । लेखनको विकास नभएका कारणले यस विधाले मौखिक रूपमा नै आफूलाई जोगाइराखेको थियो । त्यसैले महाकाव्य इतिहासका मौखिक परम्पराका रूपमा आफ्नो परिचय बनाउन सफल रहेको थियो । संस्कृतको वैदिक युगमा यो परम्परा जीवित रहेको थियो भन्ने कुरा इतिहासबाट प्रमाणित हुन्छ । जब लेखनको विकास भयो महाकाव्यले वैदिक युगको अन्त्यसँगै लिखित स्वरूप प्राप्त ग¥यो । लिखित परम्परामा महाकाव्यको प्रवेशसँगै यसमा समय समयमा विभिन्न मान्यताहरू पनि थपिँदै गए । यिनै मान्यताका आधारमा महाकाव्यलाई विश्वसाहित्यमा विविध धारा र उपधारामा विभाजन गरेर अध्ययन गर्न थालिएको छ । पूर्वीय काव्यचिन्तन परम्परामा महाकाव्यलाई तिन चरणमा विभाजन गरेर अध्ययन गरेको पाइन्छ । यस आधारमा महाकाव्यका विकासको अवस्थालाई यसरी देखाइएको छ :

  • प्रथम चरण : आर्ष महाकाव्य काल (सन् ६०० देखि सन् १००० सम्म)
  • द्वितीय चरण : कलात्मक महाकाव्य काल (सन् ५०० देखि इसाको चौथो शताब्दीसम्म)
  • तृतीय चरण : विचित्र मार्गी काव्य रचनाकाल (ईसाको चौथो शताब्दी देखि बाह्रौ शताब्दीसम्म)
  • चतुर्थ चरण : ह्रासोन्मुख काल (बाह्रौ शताब्दीदेखि हालसम्म)

संस्कृत वैदिक युग (सन् ४५०० – सन् ८००) पछि लौकिक महाकाव्य युग (सन् ८०० – सन् ८०० सम्म) को आरम्भ भएको मानिन्छ । यस समयमा महाकाव्य लिखित रूपमा प्रवेश गरेको छ (शर्मा, २०५३ः पृ. १०)। महाकाव्यको आरम्भ वैदिक युगमा भए तापनि लौकिक युगमा आएर मात्र आचार्य वाल्मीकि ऋषिले रामायण महाकाव्य पूरा गरेका हुन् । दैवी मानवीय, अर्ध मानवीय, वीरगाथा, प्रेमगाथा र ऋषिगाथा जस्ता विविध गाथाचक्रलाई समेटेर (सन् ५०० – सन् ६०० तिर) रचना गरिएको यो कृति नै संस्कृतको पहिलो मौलिक उपजीव्य महाकाव्य ग्रन्थ हो । पूर्वीय साहित्यमा यसैलाई हालसम्मको पहिलो लौकिक महाकाव्यका रूपमा लिइएको छ । ऋषिद्वारा रचित भएका कारणले यसले आर्ष महाकाव्यका रूपमा ख्याति पनि कमाएको छ । यसै समयमा व्यासको महाभारत पनि रचना भएको छ । महर्षि व्यासद्वारा रचिएको यो महाकाव्य पनि आर्ष महाकाव्यका रूपमा परिचित रहेको छ । यी दुवै महाकाव्यमा महाकाव्यका आदर्शलाई नसमेटिएको हुनाले यी रचनाहरू पछि मात्र महाकाव्यको लेखन क्रम थालिएको हो भन्न सकिन्छ । यस समयमा आदर्श काव्यका रचयिता ऋषिहरूमात्र भएकाले यस काललाई आर्ष महाकाव्य काल भनिएको पाइन्छ । यस अवधिमा सङ्ख्यात्मक रूपमा महाकाव्यको रचना हुन नसके पनि गुणत्मक रूपमा महाकाव्यको रचना भएको छ ।

महाकाव्य लेखनको दोस्रो चरण (सन् ५०० देखि ईसाको चौँथो शताब्दीसम्म) कालीदासअश्वघोषले नेतृत्व गरेको समयलाई लिइन्छ । यसै समयमा आएर महाकाव्यका आदर्शको स्थापना गरी ललित महाकाव्य रचनाको थालनी भएको पाइन्छ । यो समय पूर्वीय महाकाव्यको विकास कालका रूपमा परिचित भएको समय हो । यस समयमा ललित महाकाव्यकृतिको रचना भएको छ ।

यसपछि पूर्वीय महाकाव्य लेखन विचित्रमार्गी परम्परामा प्रवेश गरेको छ । यो समय महाकाव्य विकासको तेस्रो चरण (इसाको चौँथो शताब्दी देखि बाह्रौँ शताब्दीसम्म) हो यस समयका महाकाव्यकारहरूमा माघ, श्रीहर्ष, भारवी, हुन् । यिनीहरूले विद्वत्ता र शास्त्रीयतापूर्ण महाकाव्यको रचना गरेका छन् । भावको गाम्भीर्यका कारणले संस्कृत भाषाको गरिमालाई अझ उच्चतामा पु¥याउने काम उनीहरूका महाकाव्यले गरेका छन् । यस समयका महाकाव्यमा चरम कालीगढी देखिन थालेकाले महाकाव्य जटिलतातर्फ अग्रसर भएको छ । बाह्रौँ शताब्दीपछि पूर्वीय साहित्यमा महाकाव्यको रचना भए पनि त्यति उत्कृष्ट र युगान्तकारी महाकाव्यको रचना भने भएको छैन । पहिलो चरणका तुलनामा यस समयका महाकाव्य गुणात्मक रूपले न्युन बन्दै गएका छन् । यसैले पूर्वीय महाकाव्यको यस समयलाई ह्रासोन्मुख कालका रूपमा चिनाइएको छ ।

पूर्वमा आर्ष महाकाव्यबाट महाकाव्य लिखित रूपमा प्रवेश गरे झैँ पश्चिममा महाकाव्य विधाको आरम्भ विकासशील महाकाव्यबाट भएको मानिन्छ । पूर्वमा वाल्मीकि र व्यासका रामायण र महाभारत तथा पश्चिममा होमरका इलियट र ओडिसी जस्ता महाकाव्य नै विश्व साहित्यमा आदि महाकाव्यका रूपमा परिचित रहेका छन् । हालसम्म थाहा भएका यिनै महाकाव्यको उपजीव्यतामा पूर्वीय र पाश्चात्य साहित्यमा महाकाव्यको विकास अहिलेसम्म पनि भइ नै रहेको छ ।

नेपाली महाकाव्यको विकास प्रक्रियासम्पादन

नेपाली महाकाव्यको विकासको पृष्ठभूमिका रूपमा नेपाली कविता विधा रहेकाले कविता विधाका आधारमा महाकाव्यको विकास प्रक्रियालाई देखाउनु स्वभाविक हुन्छ । नेपाली कविताको विकासका बारेमा अधिकांश विद्वानहरू सहमत भए अनुसार नेपाली कविताको आरम्भ सुवानन्द दासका वीर भावनाले भरिएकाे पृथ्वीनारायण कविताबाट भएको हो । करिव साढे दुई सय वर्ष अघिको यस कालदेखि वर्तमानसम्म पनि कविता विधाको विकास निरन्तर रूपमा भइ नै रहेको छ । दयाराम श्रेष्ठमोहनराज शर्माका अनुसार विभिन्न मोड र उपमोडमा विकास हुँदै आएको नेपाली कविताको विकासक्रम निम्नानुसार रहेको छ:

  • आदि वा वीरगाथा काल (वि.सं. १८०१ – वि.सं. १८७२)
  • पूर्वमध्य वा भक्तिकाल (वि.सं. १८७३ – वि.सं. १९३९)
  • प्राक आधुनिक वा तव्यकाल (वि.सं. १९४० – वि.सं. १९७४)
  • आधुनिक काल (वि.सं. १९७५ – हालसम्म)[११]

नेपाली महाकाव्य लेखनका हिसाबले नेपाली कविताको वीरगाथा काल नै यस विधाको सुरुवात कालका रूपमा रहेको पाइन्छ । यसै समयमा पं. उदयानन्द अज्र्यालले पृथ्वीन्द्रोदय (१८७२) महाकाव्यको रचना गरिसकेको पाइन्छ । यसैगरी नेपाली कविताको अर्को वर्गीकरण अनुसार नेपाली कवितालाई निम्नानुसार पनि वर्गीकरण गरिएको छ ः

  • प्रथमिक काल (वि.सं. १८२६ – वि.सं. १९४०)
  • माध्यामिक काल (वि.सं. १९४१ – वि.सं. १९७४)
  • आधुनिक काल (वि.सं. १९७५ – हालसम्म)
  • पूर्वाद्र्ध (वि.सं. १९७५ – वि.सं. २०१६)
  • उत्तराद्र्ध (वि.सं. २०१७ – हालसम्म) [१२]

वर्गीकरणसम्पादन

समयको विकाससँगै महाकाव्य लेखनको पनि विकास भएको पाइन्छ । नेपाली महाकाव्यको विकासक्रमलाई यसरी वर्गीकरण गरिएको छ :

  • देवकोटा पूर्व युग ( सुरु देखि २००१ सम्म)
  • देवकोटाकालीन युग (वि.सं. २००२ – २०१६)
  • देवकोटाका उत्तरयुग (वि.सं. २०१७ – हालसम्म)

यो वर्गीकरण लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल महाकाव्यलाई केन्द्र बनाइ गरिएको देखिन्छ । देवकोटा पूर्व युगमा महाकाव्य लेखनका चेष्टा देखा पर्नु र देवकोटा युगमा महाकाव्यले प्राप्ति भएको छ भने देवकोटा उत्तर युगमा महाकाव्य लेखनमा ह्रास आएको पाइन्छ । यो वर्गीकरणको तेस्रो युग देवकोटा उत्तर युगलाई महाकाव्य विस्तार युग नामकरण गर्नु सान्दर्भिक देखिदैन ।

साहित्य लेखन प्रक्रियालाई साहित्यकारको जन्म, राज्यको शासनकाल आदिका आधारमा मात्र वर्गीकरण नगरी साहित्यमा भित्रिएका विभिन्न धारा उपधाराका आधारमा वर्गीकरण गरेको पाइन्छ । पाश्चात्य साहित्यमा परिष्कारवादी स्वच्छन्दतावादी र यथार्थवादी प्रवृत्तिले साहित्यमा परिवर्तन भएको देखिन्छ भने नेपाली महाकाव्यलाई पनि यसरी नै विभाजन गरिएको छ ।

परिष्कारवादी धारा एउटा शास्त्रीयतावादी धारा पनि हो । यस धारा अन्तर्गत अनुशासनमा बाँधिएका महाकाव्य पर्दछन् । नायक परिवेश भाषिक चयन आदिका कुराहरूलाई ख्याल गरी परिष्कारवादी महाकाव्य लेखिन्छन् । उदाहरणको रूपमा सोमनाथ सिग्देलको आदर्श राघव महाकाव्य लिन सकिन्छ ।

स्वच्छन्दतावादी धारा अन्तर्गत रहेर पनि नेपाली महाकाव्यहरू रचना भएका छन् । विशेषगरी आत्मपरक रूपमा मानव समुदायका प्रेम, अनुराग, सौन्दर्य, दया, आशा, इच्छा आदिका उन्मुक्त प्रकाशित छन् नेपाली साहित्यको स्वच्छन्दतावादी महाकाव्य शाकुन्तल, सुलोचनामहाराणाप्रताप हुन् ।

प्रगतिवादी धारा अन्तर्गत निम्नवर्ग माथिको शोषण अन्याय अत्याचार भेदभावपूर्ण विचार सामाजिक कुसंस्कारको अन्त्य हुनुपर्ने धारणा प्रस्तुत भएका महाकाव्य पर्दछन् । नेपाली साहित्यको प्रगतिवादी महाकाव्य मोदनाथ प्रश्रितको मानव हो ।

प्रयोगवादी धारा अन्तर्गत मानवमा हुने निराशा, निरर्थकता आदि कुरा समेटिएका महाकाव्य प्रयोगवादी धारा अन्तर्गत पर्दछन् । नवीन शिल्पमा काव्य रचना गरी प्रयोगका रूपमा यस धाराका महाकाव्यलाई हेरिन्छ । नेपालीमा बालकृष्ण समको चिसो चुल्हो र जगदीश समशेर राणाको नरसिंह अवतार प्रयोगवादी महाकाव्य हुन् । (लामिछाने बुनु, शोधपत्र, २०५८ः पृ. २४)

कालसम्पादन

नेपाली साहित्यमा कविता लेखन तथा प्रकाशनदेखि वर्तमान समयलाई हेर्दा नेपाली महाकाव्य परम्पराको विकास क्रमलाई वि.सं.२००१ देखि अगाडिको समयलाई महाकाव्यको पृष्ठभूमि काल २००२ देखि २०१६ सम्मको अवधिलाई उत्कर्ष काल र २०१६ पछिको समयलाई निरन्तर काल भनी वर्गीकरण गर्न सकिन्छ । यसलाई निम्नानुसार छुट्टाछुट्टै विश्लेषण गरिन्छ ।

पृष्ठभूमिकाल (२००१ भन्दापूर्व)सम्पादन

नेपाली साहित्यमा उदयानन्द अर्यालद्वारा लिखित पृथ्वीन्द्रोदय (वि.सं. १८७२ तिर अप्रकाशित) महाकाव्यबाट नेपाली महाकाव्यको बिजारोपण भएको पाइन्छ । यसपछि आदिकवि भानुभक्त आचार्यद्वारा अनुवादित (संस्कृतबाट) अर्धमौलिक महाकाव्य ‘रामायण’ (वि.सं.१८९८–१९१०) देखापर्दछ । वाल्मीकिकृत रामायणलाई नेपाली जनजिब्रो अनुसार अनुवाद गरे । ईश्वरभक्ति तथा मानवीय सत्गुण, नीति, आदर्श र सत् चरित्रताको उदाहरणका रूपमा यो काव्य रहेको छ । वाल्मीकि रामायणको कतिपय अप्रसाङ्गिक प्रसङ्गहरूलाई हटाउँदै नेपाली समाजमा सुहाउने प्रसङ्ग जोड्दै मौलिक बनाउने प्रयास गरिएको छ । नेपाली साहित्यमा महाकाव्य लेखेर आफ्नो प्रतिष्ठा कमाउने भन्दा पनि नेपाली समाजलाई रामकथा सुनाएर आध्यात्मिक चेतना जगाउने उद्देश्यले रामायण लेखिए तापनि यस कालको सर्वोत्कृष्ट काव्यका रूपमा रह्यो भने भानुभक्त नै यस युगका प्रतिनिधि कविका रूपमा देखापर्दछन् ।

यस अवधिमा लेखिएका रमाकान्त बरालको अद्भूत रामायण (१९४९), शिखरनाथ सुवेदीको वृहत कृष्णचरित्र (१९५५), कुञ्ज विलास गौतमको महाभारतका शल्य पर्वहरू (१९५६), सुब्वा होमनाथ खतिवडाको रामायण अश्वमेख काण्ड (१९६०), शम्भुप्रसाद ढुङ्गेलको महाभारत (१९६०) र बृहत कृष्णचरित्र (१९७८) रामप्रसाद सत्यालको महाभारत अठार पर्व, नरेन्द्रनाथ रिमालको महाभारत अठार पर्व (१९८२) जस्ता केही महाकाव्यात्मक स्वरूपका कृतिहरू लेखिएका पाइन्छ । देवीदत्त पराजुलीद्वारा महाकाव्यको दावी गर्दै लेखिएको कविता गुच्छाहार (१९९८) पनि यसै समयमा आएको पाइन्छ । तर यो कृतिमा महाकाव्योचित गुण पाईँदैन । लक्ष्मीप्रसाद देवकोटाले पनि यसै समयमा सुष्मालोचन (अपूर्ण) महाकाव्य लेख्ने प्रयत्न गरेको देखिन्छ भने माधव प्रसाद घिमिरेले पनि गोविन्द (अपूर्ण) महाकाव्य लेख्ने प्रयास गरेको पाइन्छ ।

नेपाली साहित्यमा महाकाव्यको पृष्ठभूमि समयको आरम्भमा कविताभन्दा विस्तृत आकारका कृतिहरू देखिए जसमा महाकाव्यात्मक गुणहरूको भने अभाव रहेको पाइन्छ । पछिल्ला अवस्थामा केही महाकाव्यात्मक कृतिहरू देखिए तापनि पूर्ण हुन नसकेको पाइन्छ । योक समयमा पौराणिक विषयवस्तुमा आधारित रामायणले मात्र सफल पाएको देखिन्छ भने केही मौलिक विषयवस्तु समेतमा महाकाव्य लेखिने चेष्टा गरेको देखिन्छ ।

उत्कर्ष काल (वि.सं. २००२ – वि.सं. २०१६ सम्म)सम्पादन

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘शाकुन्तला महाकाव्यको प्रकाशन (२००२) पनि नेपाली महाकाव्य जगतमा आधुनिक मौलिक महाकाव्य लेखनको सुरुवात भएको हो । पौराणिक विषयवस्तुमा आधारित शाकुन्तल महाकाव्य प्रकाशनका दृष्टिले मात्र नभएर स्तरीय कवित्वको विराट् प्रवाह र बृहत आख्यानात्मक प्रबन्ध विधानका दृष्टिले पनि नेपाली साहित्यको सर्वप्रथम मौलिक महाकाव्य बनेको पाइन्छ । स्वच्छन्दतावादी धारामा लेखिएको शाकुन्तल महाकाव्यले देवकोटाको कवित्वको समेत पहिचान दिएको पाइन्छ । देवकोटाद्वारा लिखित ‘सुलोचना’ (२००३), महाराणप्रताप (२००३), वनकुसुम (२००३) आदि काव्यहरूले यस समयलाई स्वर्णिम बनाउने कृतिका रूपमा रहेका छन् । देवकोटाद्वारा नै ६÷६ वटा महाकाव्य लेखिनु र त्यसमा पनि ‘शाकुन्तला’ जस्तो उत्कृष्ट महाकाव्य नेपाली साहित्यले प्राप्त गर्नु यस समयको महान् उपलब्धी हो । यसै समयमा सोमनाथ सिग्देलद्वारा लेखिएको शास्त्रीयतावादी महाकाव्य ‘आदर्श राघव’ (२००५), लेखनाथ पौड्यालद्वारा पूर्ण परिष्कृत गरी लेखिएको महाकाव्य ‘तरुण तपसी’ (२०१० नव्यकाव्य) र बालकृष्ण समद्वारा गद्य शैलीको प्रयोग गरी लेखिएको प्रगतिशील महाकाव्य ‘चिसो चुल्हो’ (२०१५) पनि यस समयका उत्कृष्ट प्राप्ति हुन् ।

यस अवधिमा नेपाली साहित्यमा जम्मा नौ वटा महाकाव्य लेखिएका छन् भने त्यसमा पनि ६ वटा महाकाव्य देवकोटाकै छन् । स्वच्छन्दतावादी, शास्त्रीयतावादी, नवशास्त्रीयतावादी तथा प्रगतिशील धारामा महाकाव्यहरू लेखिएको पाइन्छ । कवित्व, कला, भाव, विचार आदिका दृष्टिले यो अवधिलाई महाकाव्य लेखनको उत्कर्ष काल नै मानिन्छ ।

निरन्तर काल (वि.सं. २०१६ पछि)सम्पादन

देवकोटाको अवसानपछि नेपाली महाकाव्य लेखनमा मन्दता आएको देखिन्छ । नेपाली कविता लेखनमा प्रयोगवादी प्रवृत्तिको सुरुवातले गर्दा यसले महाकाव्य स्तरको कृति दिए तापनि महाकाव्यकै लेखनमा भने मन्दता पाइन्छ ।

यस अवधिमा काव्यकारहरूले परिष्कारवादी धारा, स्वच्छन्दतावादी धारा, प्रयोगवादी धारा, प्रगतिशील धारा आदि विविध धाराहरूमा काव्य रचना गरेको पाइन्छ । यस अवधिका काव्यहरूमा पनि इतिहास, पुराण, सामाजिक विषयवस्तु नै प्रमुख रहेको पाइन्छ ।

यो अवधिमा कृष्णप्रसाद घिमिरेका देश नरेश (२०१७) र राष्ट्रिय चरित्र (२०१७) ऐतिहासिक विषय वस्तुमा आधारित, गोविन्दप्रसाद भट्टराईका पृथ्वी महेन्द्र (२०१९) र भावना (२०२०) पौराणिक मौलिक विषयवस्तु मोदनाथ प्रश्रितका मानव (२०२३) र देवासुर सङ्ग्राम (२०३०) सामाजिक विषयवस्तु मोदनाथ शर्मा शास्त्रीको भानु (२०२४) ऐतिहासिक मौलिक विषयवस्तु, हरिहर शास्त्रीको उषाविनोद (२०२४), रम्भा (२०२५) सामाजिक मौलिक विषयवस्तुमा आधारित छन् । यसैगरी यस समयमा नीरविक्रम प्यासीको दबला (२०२४), श्री हरि फुयालको आँसुको सङ्ग्राम (२०२६), भरतराज मन्थलीयका देवयानी (२०३९), महारामायण (२०५०), भरतराज पन्तको दोभान (२०४१), भानुभक्त पोखरेलका मृत्युञ्जय (२०४७) र जागृति राज (२०५६), शैलेन्द्र प्रकाश नेपालको ‘जुनु’ (२०४८) पूर्ण प्रकाश नेपाल ‘यात्री’ को वसन्त पल्लव (२०५०), रामप्रसादको आत्मसमर्पण (२०५५), कुलचन्द्र कोइरालाको भिमसेन थापा (२०५९), बुनु लामिछानेको याचना (२०६०), भुषण हुमागाँईको तथागत (२०६१) आदि रहेका छन् ।

नेपाली महाकाव्य विकासक्रमको निरन्तर कालमा लगभग १५५ भन्दा बढी महाकाव्यको लेखन भएको पाइन्छ । ऐतिहासिक विषयवस्तुमा आधारित देश नरेश महाकाव्यबाट सुरु भएको यो समयमा मानवजस्तो प्रगतिशील र नरसिंह अवतार जस्तो प्रयोगवादी महाकाव्यको निर्माण भएको पाइन्छ । आकारका दृष्टिले हालसम्मका सबैभन्दा ठूला महाकाव्यहरूमा पूर्ण प्रकाश नेपाली ‘यात्री’ को सिजापतिवाला (जसमा १०८ सर्ग र १०, ८४५ श्लोक) छन् । चन्द्र प्रसाद न्यौपानेको बृहत्तर महाकाव्य चन्द्रयुग भाग–१ (जसमा २०० सर्ग २१, २२३ श्लोक) पनि यसै समयमा प्रकाशित हुन्छन् । यो अवधि महाकाव्य लेखनको निरन्तरताको अवधि भएकाले यस अवधिमा गुणात्मक भन्दा परिमाणात्मक उपलब्धि प्राप्त भएको पाइन्छ । विषयवस्तु र शिल्पका दृष्टिले यस अवधिक, नरसिंह अवतार देवासुर सङ्ग्राम, दोभान, मृत्युञ्जय आदि उत्कृष्ट महाकाव्यहरू हुन् । यस अवधिमा वर्णमात्रिक मात्रिक र गद्य तीनवटै शैलीमा महाकाव्य लेखन भएको पाइन्छ । ऐतिहासिक, पौराणिक र सामाजिक तीनवटै विषयवस्तुमा आधारित र परिष्कारवाद, स्वच्छन्दतावाद, प्रगतिवाद र प्रयोगवादमा आधारित महाकाव्य लेखन रहेको पाइन्छ । यस क्रममा पाश्चात्य साहित्यको प्रभावसँग विष्णु भण्डारीले पनि गद्य अन्तर्गत रहेर प्रगतिवादी महाकाव्य उत्सर्ग लेखेको पाइन्छ । जसमा सामन्ती समाज जहाँ अन्याय, अत्याचार, शोषण र दमन बढ्दै गएको छ । यसलाई परिवर्तन गर्नुपर्छ भन्ने सोचलाई आफ्ना रचनामा प्रस्तुत गरेको पाइन्छ ।

निष्कर्षसम्पादन

पूर्वीय आचार्यहरूले सिङ्गो साहित्यका अर्थमा काव्य शब्दको प्रयोग गरेका छन् । आचार्यहरूले कविताका रूपमा परिभाषा नगरी पुरै साहित्यका रूपमा काव्यको परिभाषा दिएका छन् । सुरुका आचार्यहरूले सौन्दर्ययुक्त र सौन्दर्यबिहीन दुवैलाई काव्य भनेको पाइन्छ । आचार्य भामहले आफ्नो परिभाषामा शब्द र अर्थ दुवैलाई बराबर मानी तिनको सहभावलाई काव्य भनेका छन् । पण्डितराज जगन्नाथले शब्दलाई मात्र काव्य मानेका छन् । केही आचार्यहरूले पूर्ववर्ती काव्य परिभाषालाई निरन्तरता दिएका छन् भने केहीले मौलिक तथा नवीन मान्यता समेत प्रस्तुत गरेका छन् । आचार्यहरूले आ–आफ्ना अवधारणाहरूमा अलङ्कार, रीति, ध्वनि, वक्रोक्ति, औचित्यलाई आत्मा मानी परिभाषा दिएका छन् । यसरी आचार्यहरूका बीचमा काव्य आत्माका बारेमा मत भिन्नता देखिए तापनि रसानुभूति, सौन्दर्य र रमणीयतालाई सबैले स्वीकारेका छन् । पूर्वीय आचार्यहरूको साहित्य चिन्तनमा अलङ्कार र रीतिले संरचनालाई, वक्रोक्ति र औचित्यले वस्तुलाई, रस र ध्वनिले आत्म जस्ता तत्वलाई जोड दिएको पाइन्छ ।

पाश्चात्य साहित्यका विभिन्न कवि एवं समालोचकहरूले कविता विधा विशेषमै केन्द्रित भई परिभाषा दिएका छन् । आजका कविताले जे बुझाउँछ त्यसका लक्षण र स्वरूप चिनाउने काममा पश्चिमी विद्वानहरूबाटै भएको पाइन्छ । पोयमले बुझाउने विशिष्ट अर्थको अभिव्यक्तिको विकास र विस्तार पश्चिमबाटै भएको पाइन्छ । पाश्चात्य कविहरूका कवितासम्बन्धी परिभाषाहरूले एक÷एक पक्षलाई जोड दिई सम्पूर्ण पक्षलाई चिनाउन नसके तापनि युगको प्रतिनिधित्व गर्ने विशिष्ट एवं मौलिक परिभाषाहरू दिएका छन् । उनीहरूले कवितालाई अनुकरण कलाको रूपमा चिनाउन सुरू गरी समयक्रमसँगै विविध रूपमा समेत चिनाएका छन् । विशेष गरी पाश्चात्य विद्वानहरूले कवितामा कल्पना, भावना, संवेग, लय, अभिव्यक्तिगत विशिष्टता आदि कुराहरू मध्ये कुनै न कुनै एक पक्षमा जोड दिएका छन् । केही विद्वानहरूले कल्पना र भावनाको संयुक्त आवश्यकतामा जोड दिएकाक छन् भने केहीले त्यस बाहेकका साथै अन्य तत्वको पनि समायोजन हुनु पर्ने बताएका छन् । समग्र रूपले कविताको परिभाषा गर्न नसके तापनि कविता विधालाई नै केन्द्रित गरी परिभाषा गर्नुलाई पाश्चात्य साहित्यको उपलब्धिपूर्ण मानिन्छ ।

उपर्युक्त नेपाली कवि समालोचक एवं साहितय चिन्तकहरूले समय अनुकूल कविताको परिभाषा प्रस्तुत गरेका छन् । नेपाली कविहरूले कविताको समग्रपक्षलाई आफ्ना विचारमा समेट्न नसके तापनि समग्रपक्ष चिनाउने तर्फ भने उन्मुख देखिन्छन् । नेपाली साहित्यकारका अधिकांश परिभाषाहरू पूर्वीय तथा पाश्चात्य मान्यताबाट प्रभावित देखिन्छन् । केही विद्वानहरूले दुवै मान्यतालाई समन्वयात्मक रूपमा प्रस्तुत गरेका छन् भने निजात्मक गुण पनि पाइन्छ । नेपाली साहित्यका परिष्कारवादी कविहरूले बौद्धिकतालाई र स्वच्छन्दतावादी मान्यताका कविहरूले हार्दिकतालाई आफ्ना परिभाषामा जोड दिएका छन् । अन्य साहित्य चिन्तकहरूले कवितामा, कल्पना, अनुभूति, विचार जस्ता कुराहरूको कलात्मक रूपले प्रस्तुति हुनुपर्छ साथै यथार्थ सत्यको उद्घाटन हुनुपर्छ भन्ने मान्यता अघि सारेका छन् । समग्र नेपाली विद्वान एवं साहित्य चिन्तकहरूको परिभाषाहरूमा हार्दिकता बौद्धिकता, कल्पना, भाव, विचार, सौन्दर्यको रूपमा यथार्थको प्रकटीकरणलाई स्थान दिएका छन् । नेपाली कविताका परिभाषाहरूले कविताको समग्र रूपलाई समेट्न नसके तापनि युगीन प्रतिनिधित्व भने गर्न सकेको पाइन्छ ।

पूर्वीय साहित्यमा आचार्यहरूको काव्यसम्बन्धी अवधारणबाट नै कविताको परिभाषा खोज्नुपर्ने हुन्छ । सुरूमा काव्य मान्यतामा कि शब्द कि अर्थलाई मात्र जोड दिएका थिए भने भामहले शब्द र अर्थ दुवैको समन्वयबाट काव्यको निर्माण हुन्छ भन्दै शब्दार्थलाई बराबरी ठानेका छन् । आचार्यहरूले समयको विकाससँगै धेरै साहित्यिक मान्यताहरूको स्थापना गर्दै आफ्ना काव्य सम्बन्धी अवधारणाहरू अघि सारेका छन् । ती मतहरूमा रसानुभूति, सौन्दर्य र रमणीयतालाई स्वीकार गरेको पाइन्छ । यसै गरी पश्चिमी साहित्य चिन्तकहरूले कविता, विधा नै भनि किटान गरी परिभाषा दिएका छन् । उनीहरूले कवितालाई अनुकरणको कला भनी चिनाउन सुरु गरेका छन् । पाश्चात्य मतका कवितामा कल्पना, भावना, संवेग, लय, अभिव्यक्तिगत विशिष्टता जस्ता पक्षहरूलाई विशेष जोड दिएको पाइन्छ । केही विद्वानहरूका परिभाषामा कविताको समग्र पक्षलाई चिनाउने चेष्टाका साथै मौलिकता पनि पाइन्छ । कविताको परिभाषा गरी चिनाउने काम नेपाली साहित्यकारहरूले पनि गरेका छन् । नेपाली कविका परिभाषाहरूमा केही पूर्वीय एवम् पाश्चात्य प्रभाव देखिए पनि मौलिक रूपमा कविताको समग्र, पक्षलाई समेट्ने चेष्टा गरेका पाइन्छ । नेपाली विद्वानहरूका परिभाषामा भाव, विचार, कल्पना, सौन्दर्य जस्ता कुरामा जोड दिएका छन् । उपर्युक्त विभिन्न साहित्य चिन्तकमहरूका मतलाई अध्ययन गर्दा कविता भाव तथा अनुभूतिको लयात्मक भाषिक संरचना हो भनी चिनाउन सकिन्छ ।

कविताको उपविधा अन्तर्गत महाकाव्य पर्दछ । कविका अनुभूतिले आख्यानलाई काखी च्यापेपछि यसले क्षेत्र विस्तृत अनुभूतिबाट महाकाव्य बन्दछ । पूर्वीय साहित्यमा महाकाव्यलाई चिनाउने काम ई.स.को सुरुवातसँगै भए तापनि महाकाव्यकै रूपमा परिभाषा गर्ने काम भामहबाट भएको पाइन्छ । सुरुमा महाकाव्यलाई चिनाउँदा सर्गबद्ध भएको, महान नायकको चरित्रमा आधारित हुँदै ठूलो आकारको काव्यलाई मानियो । महाकाव्यमा रस, सन्धि, चतुर्वर्गलाई विशेष महत्व दिएको पाइन्छ । दण्डीले सर्गका साथै तीन मङ्गलाचरण सुरुमा हुनुपर्छ भन्दै नयाँ मान्यता थपेका छन् । विषयवस्तु, चरित्र, प्रकृति चित्रण जस्ता कुराहरूमा जोड दिँदै मौलिकपन दिएका छन् । पछिल्ला आचार्यहरूले नायकको वंश परम्परा, विषयवस्तुमा मौलिकता, सर्गको किटान सर्गान्तरमा छन्दको परिवर्तन सर्ग बीच एक अर्कामा सम्बन्ध विभिन्न परिवेशको चित्रण गर्नु पर्नेमा विशेष जोड दिएका छन् । यसरी महाकाव्य इतिहास, पुराण वा कविकल्पित विषयवस्तु भएको सत् तथा उच्च कुलिन नायक भएको कम्तिमा आठ सर्गमा बाँधिएको पञ्चसन्धिले युक्त शृङ्गार, वीर र शान्त मध्ये एक रस प्रमुख भएको प्रकृति, चन्द्र, सूर्य आदिको वर्णन गरिएको आलाङ्कारिक भाषा शैलीमा वर्णित विस्तृत आयाम भएको महाकाव्य हो ।

पाश्चात्य साहित्यमा महाकाव्य नै भनी किटान गरी आ–आफ्ना मान्यताहरू विद्वान, आलोचक, समीक्षकहरूले नराखे तापनि दुःखान्तको विशेष चर्चा गर्ने क्रममा महाकाव्य सम्बन्धी धारणाहरू ठाउँ ठाउँमा भने चर्चा गरेका छन् । अरस्तुले दुःखान्तको विवेचना गर्दा महाकाव्यको पनि चर्चा गरे पश्चात् समयक्रमसँगै अन्य समीक्षकहरूको आ–आफ्ना धारणाहरू अघि सारेका छन् । पाश्चात्य साहित्यमा महाकाव्यको विषयवस्तु प्रख्यात वा दन्त्यकथा मुलकमा जोड दिएका छन् । चरित्रलाई विशेष महत्व दिँदै नायक उदात्त हुनुपर्छ । उसका जीवनका यावत् कुराहरूको चित्रण गर्दै पाठकहरूमा आनन्द प्रदान गर्नु पर्दछ । महाकाव्यमा कविको कल्पना, विचारधारा, चरित्र चित्रणको सफल प्रयोग हुनुपर्दछ उदात्त शैलीको प्रयोगले नै महाकाव्य महान् बनाउन सकिन्छ भन्ने मान्यता रहेको छ । पाश्चात्य विद्वानहरूका सम्पूर्ण धारणाहरूलाई समेट्दा महाकाव्य गौरवपूर्ण गाथाले भरिएको उदात्त नायक भएको, एउटै छन्दको प्रयोग गरिएको, आलङ्कारिक शैलीमा रचिएको आख्यानात्मक कृति हो ।

सन्दर्भसम्पादन


  1. (त्रिपाठी र अन्य, २०४८ः पृ. २५७)
  2. (जोशी, २०४०ः पृ. ११)
  3. (जोशी, २०४०ः पृ. १२)
  4. (त्रिपाठी र अन्य, २०४८ः पृ. ८५–८६)
  5. (उपाध्याय, सन् १९६२, श्लोक ६०)
  6. ( २०२८ः श्लोक १४–१९)
  7. ( सन् १९३४ः पृ. ३९५)
  8. ( सन् १९६३ः पृ. ५४९)
  9. (नागेन्द्र र महेन्द्र, सन् १९७३ः पृ. १७७)
  10. (दि नोर्तोन एएन्थोलजी अफ इङ्लिस लिटेरचर, सन् १९७३ः पृ. १७७)
  11. (श्रेष्ठ र शर्मा, २०६३ः पृ. २६)
  12. (त्रिपाठी र अन्य, २०४८ः पृ. १०१–१०५)