प्रकाशशरण महत

नेपाली कांग्रेसका नेता

डा.प्रकाशशरण महत नेपाली कांग्रेसका राजनीतिज्ञ हुन्। उनी हाल २०७९ चैत्र १७ देखि अर्थमन्त्री छन्। उनी डा. रामशरण महतका भाइ हुन्।

डा. प्रकाशशरण महत
अर्थ मन्त्री
पद बहाली
वि.सं. २०७९ चैत १७[१]
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रीपुष्पकमल दाहाल
पूर्वाधिकारीविष्णु प्रसाद पौडेल
परराष्ट्र तथा उर्जा मन्त्री
कार्यकाल
वि.सं. २०७३ साउन २०[२] – वि.सं. २०७४ जेठ १७
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीकमल थापा
उतराधिकारीकृष्णबहादुर महरा
प्रतिनिधि सभा सदस्य
पद बहाली
वि.सं. २०७९ मङ्सिर २८
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

राजनीति सम्पादन गर्नुहोस्

डा. महतले ने.वि.संघको महामन्त्री, सात पार्टीको वार्ता कमिटी सदस्य र परराष्ट्र राज्यमन्त्रीको जिम्मेदारी सम्हालिसकेका छन्। महतको राजनीतिका यात्रा २०३६ सालमा शुरु भएको हो, जुनवेला उनी विद्यार्थी थिए। यसक्रममा उनी पटक पटक पक्राउ परेका थिए।

परराष्ट्र,राज्यमन्त्री सम्पादन गर्नुहोस्

२०६१ जेठमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा परराष्ट्र मन्त्रालयमा राज्यमन्त्री थिए। राज्यमन्त्री हुँदाको समयमा भुटानी शरणार्थी मामिलाको दुईपक्षीय वार्ता, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनमा निर्देशक नियुक्ति र कर्मचारी पोष्टिङमा पनि महत विवादमा परेका थिए। परराष्ट्र सचिव मधुरमण आचार्यसँग पनि त्यस समय उनको सम्बन्ध राम्रो भएन। २०६१ माघको राजनैतिक घटना पछि उनी पदमुक्त भए।

उर्जामन्त्री, २०६६ सम्पादन गर्नुहोस्

 
नयाँ दिल्लीमा भारतीय जलस्रोत मन्त्री श्री भिन्सेन्ट पालासँगको बैठकमा, २००९ अगस्ट २०

बि.सं. २०६६ सालमा मा बनेको माधवकुमार नेपाल नेतृत्वको कांग्रेस-एमाले गठबन्धन सरकारमा प्रकाश शरण महत उर्जा मन्त्री भएका थिए। करिब एक बर्ष उर्जा मन्त्री रहेका महत विभिन्न विवादमा परेका थिए। ऊर्जामन्त्री हुँदा सामान खरिदको विवादमात्रै नभएर मन्त्रालयका सचिवसँग हातपातमै उत्रिएको आरोपसमेत उनलाई लागेको थियो।

ऊर्जामन्त्री हुँदा तत्कालीन सहसचिव अर्जुनकुमार कार्कीलाई माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको नियुक्तिको विषयमा उनले कार्यकालभर विवाद गरेका थिए। कार्कीलाई पहिले आफैले जिम्मेवारी दिने निर्णय गरेर पत्रसमेत बनाउन लगाएका महत केही दिनमै एकाएक पछाडि फर्किएका थिए। त्यसको केही समयमै ऊर्जासचिव शंकर कोइराला गए। कोइरालाले ऊर्जामन्त्रीकै पहिलेको निर्णयअनुसार अर्जुनकुमार कार्कीलाई तामाकोशीमा नियुक्त गरेर पत्र थमाए। त्यसपछि ऊर्जामन्त्री रहेका महत र सचिव कोइरालबीच कार्यकक्षमै हात हालाहालको स्थिति बनेको थियो।[३]

कर्मचारीसँगको खराब सम्बन्धले मात्र होइन उनी त्यसबेला 'थर्मल प्लान्ट' खरिद प्रक्रियामा पनि विवादमा परेका थिए। धान्नै नसक्ने थर्मल प्लान्ट ल्याएर विद्युत प्राधिकरण डुबाउने खेलमा लागेको भन्दै प्राधिकरणकै कर्मचारीले समेत विरोध गरेका थिए।

करोडौँ रूपैयाँ पर्ने थर्मल प्लान्ट ल्याउने विषयमा त्यसबेला ठूलो विवाद भएको थियो। मन्त्री महतले थर्मल प्लान्ट ल्याउने निर्णय गराउनका लागि तत्कालीन सचिव कोइरालालाई दबाब दिएका थिए। युरोपबाट डिजेल थर्मल प्लान्ट ल्याउने विषयमा लामो समय विवाद भएको थियो। लोडसेडिङ मुक्त गर्ने भन्दै थर्मल प्लान्ट ल्याउने योजना सार्वजनिक गरेता पनि ल्याउन भने सकेनन्।

ऊर्जा मन्त्रालयमा सँगै काम गरेका एक कर्मचारीले मन्त्री महत कीर्तिपुर क्याम्पसको विद्यार्थी राजनीतिभन्दा माथि उठ्न नसक्ने स्वभावको भएको आरोपसमेत लगाए। ती कर्मचारीका अनुसार ‘मन्त्री महत सानो सानो विषयमा पनि आफै नै लाग्ने स्वभावका छन्, पहिले पनि पिउनदेखि हाकिमको सरुवामा उनको चासो हुने गरेको थियो।

तत्कालीन समयमा मन्त्री महत विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिमा समेत चर्को विवादमा परेका थिए। उनले जीवेन्द्र झालाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएका थिए। जुन निर्णयलाई राजनीतिक वृत्तमै पनि धेरैले राम्रो रुपमा लिएनन् ।

उर्जा मन्त्री छँदा नै महत लोडेसेडिङ अन्त्य गर्ने बाटोमा नलागी इन्भर्टर आयात गर्ने विवादास्पद व्यापारीलाई पोस्नतिर लागेको आरोपसमेत लागेको थियो। ऊर्जा क्षेत्रमा काम गरिरहेकाहरू विद्युत उत्पादन अनुमति दिने, नविकरण गर्ने लगायतका विषयमा पनि मन्त्री महतको शैली त्यसबेला ठीक नदेखिएको सम्झन्छन्।

परराष्ट्र मन्त्री,२०७३ सम्पादन गर्नुहोस्

 
नयाँ दिल्ली भ्रमणको क्रममा डा. महत,२०१६;सेप्टेम्बर १२

२०७३ मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको कांग्रेस माओवादी गठबन्धन सरकारको बेला पराराष्ट्रमन्त्री भए। परराष्ट्र मन्त्री हुँदा पनि अनावश्यक वैदेशिक भ्रमण, राजदूत नियुक्तिका विवादित निर्णय र रुखो स्वभावका लागि मात्र उनी बढी चिनिए। स्पेनमा दूतावास स्थापना गर्ने, लस एन्जलमा वाणिज्य दूतावास स्थापना गर्ने अध्ययनबिनाको भाषणले पनि उनी विवादमा तानिएका थिए।

उनका प्रसंसकहरु भने उनको कार्यकाल सफल भएको मान्छन् । पूर्ववर्ती ओली नेतृत्व सरकारको पालामा सम्बन्ध सुधार हुन नसकेकोले भारतसंगको सम्बन्ध सौहार्द बनाएर नेपाली जनजीवन सहज बनाउनु पर्ने आवश्यकतालाई मनन गर्दै डा. महतले तीन पटक भारतको भ्रमण गरे । सम्बन्ध सामान्यीकरण भयो । बिग्रिएको सम्बन्ध सुधारियो । नाकाबन्दी खुलेर आपूर्ति व्यवस्था सुचारु भयो । भारतका विदेशमन्त्री सुषमा स्वराजले नेपालको भ्रमण गरिन् । नेपालमा भारतीय सहयोगमा सञ्चालित परियोजनाहरु सुचारु भए ।

यही समयमा नेपालले गण्डक संझौता अन्तरगत पाउनुपर्ने सुविधा नपाएको बिषय उठाएर त्यो दिन भारतलाई प्रतिबद्ध बनाउने काम भयो । भारतसंगको दक्षिणी सीमामा हुने बाढी र डुबानको संयुक्त निरीक्षण गरी समाधान खोज्ने सहमति भयो । महाकाली सिंचाईको डीपीआर टुंग्याउने काम भयो । हरेक दुई बर्षमा संयुक्त संयन्त्रको बैठक बस्ने सहमति कायम भयो ।

यही कार्यकालमा चीनसंगको सम्बन्धलाई पनि सन्तुलित राख्ने काम भयो । चीन सरकारले प्रस्ताव गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)लाई नेपालको हित अनुकूल हुनेगरी कार्यान्वयनमा ल्याउने संझौतामा हस्ताक्षर सम्पन्न भयो ।[४]

परराष्ट्रमन्त्री हुँदा पनि उनी पाँच पटकको दिल्ली यात्रा र राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका गएर लामो समय उतै बिताएर विवादमा नै परे। त्यस समय अमेरिकाबाटै युरोप जान लागेका उनी 'धेरै नै विरोध भयो' भन्दै नेपाल फर्किएका थिए।

त्यस समय परराष्ट्रमन्त्री के गर्दैछन् भन्ने प्रश्नमा कर्मचारी र उनी निकटस्थको जवाफ हुन्थ्यो, 'हाल भ्रमणमा छन्, त्यसपछि अन्य भ्रमणको तयारी गर्नुहुन्छ।'

त्यतिका भ्रमणपछि पनि उनले छिमेकी एवं अन्य देशहरूसँगको सम्बन्ध सन्तुलित र सुदृढ बनाउन भने सकेका थिएनन्। त्यस समय राजदूत नियुक्तिका विषयमा होस् या अन्य विषयमा नै किन नहोस् परराष्ट्र सचिव शंकरदास वैरागीदेखि अन्य सहसचिवहरू मन्त्री महतको विपक्षमा थिए।

'आफूले गल्ती नै गरे पनि त्यसलाई सच्याउन पट्टी नलागेर त्यो ठीक हो भन्ने शैली महतमा देखिन्छ' उनीसँग काम गरेका एक पूर्वकर्मचारीले भने।

अर्थमन्त्री सम्पादन गर्नुहोस्

गठबन्धनबाट अर्थमन्त्री बनेका प्रकाशशरण महतले संकटोन्मुख अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने जिम्मेवारी पाएका छन् । प्रकाशशरणका दाजु रामशरण महत भने यसअघि पटकपटक अर्थमन्त्री बने ।[५]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

नुवाकोट, कविलासका डा. प्रकाशशरण महत संविधानसभामा समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद् भएका थिए। दुई सन्तानका पिता डा. महतले अमेरिकाबाट अर्थशास्त्रमा पी-एच्. डी. गर्नुभएको छ। समाजसेवामा उहाँको विशेष रुचि छ। विभिन्न पत्रपत्रिकामा उहाँका आर्थिक विश्लेषण र परराष्ट्र सम्बन्ध सम्बन्धी लेख प्रकाशित हुँदै आएका छन्। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, मानव अधिकार, प्रेस स्वतन्त्रता र युवा रोजगारीका मुद्दालाई आफूले संविधानसभामा विशेष जोड दिएर उठाउने वताउनुहुन्छ। [६]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Newly-appointed Deputy Prime Minister and ministers sworn in", The Himalayan Times, अन्तिम पहुँच ३१ मार्च २०२३ 
  2. "13 new ministers take oath from President", The Himalayan Times, अन्तिम पहुँच १ नोभेम्बर २०१७ 
  3. दाहाल, केदार (२०७९ चैत्र १७), "यसअघि ऊर्जा र परराष्ट्रमा राम्रो थिएन प्रकाशशरणको शैली, अब अर्थमा सुध्रिएलान्?", बिजनेस भेन्चर मिडिया प्रा लि 
  4. "को हुन् अर्थमन्त्री डा. प्रकाशशरण महत ? यस्तो छ उनको राजनीतिक र व्यवसायिक जीवनको पृष्ठभूमि", बीमापोस्ट, २०७९ चैत्र १७। 
  5. धिताल, कमल (२०७९ चैत्र १८), "अर्थतन्त्र सुधार्ने जिम्मा महतलाई", कान्तिपुर 
  6. संविधान सभा निर्वाचन पोर्टल