पूर्वीय दर्शन वा एसियाली दर्शन ले पूर्वी तथा दक्षिण एसियामा उत्पत्ति भएका दर्शनहरूलाई जनाउँदछ । यसमा चिनियाँ दर्शन, जापानी दर्शन, कोरियाली दर्शन, भियतनामी दर्शन पनि पर्दछन् ।[१] खासगरी भारतवर्ष भनेर चिनिने दक्षिण एसिया क्षेत्रमा उत्पत्ति भएका हिन्दु दर्शन, जैन दर्शन र बौद्ध दर्शन बढी प्रभाव भएका पूर्वीय दर्शन हुन्, जसको ठूलो प्रभाव दक्षिण एसियाका अलावा दक्षिणपूर्वी एसिया, तिब्बतमंगोलियामा समेत छ ।[२][३] युरोपीय महाद्वीपदेखि पूर्वतर्फका दार्शनिकहरूको चिन्तन भएको हुनाले यस क्षेत्रका दार्शनिक चिन्तनलाई पूर्वीय दर्शन भनिएको हो । खासगरेर हिमवत्खण्ड तथा यसका दक्षिणी भेगका दार्शनिक चिन्तन नै पूर्वीय दर्शनका रूपमा स्थापित भएका हुन् ।[४] पूर्वीय दर्शनमा नास्तिक र आस्तिक दर्शन भनी विभाजन गर्ने गरिन्छ ।[५]

नास्तिक दर्शन

सम्पादन गर्नुहोस्

वेदमा अर्थ्यााइएका सिद्धान्तलाई जस्ताको तस्तै नमान्नेलाई नास्तिक दर्शन भनिन्छ । चार्वाक, जैन र बौद्ध दर्शनलाई वैदिक सिद्धान्तभन्दा भिन्न मानिन्छ ।

ईश्वर, आत्मा वा परमात्मा नमान्ने र भाग्यमा विश्वास नगर्ने लोकायत दर्शन प्राचीन दक्षिण एसियाको एक भौतिकवादी दर्शन हो । यसले यस लोकका अतिरिक्त अर्को लोक वा परलोक छ भन्ने विश्वास गर्दैन । ईश्वर, आत्मा, परमात्मा, पुनर्जन्म, स्वर्ग, नर्क आदि कुरामा पनि विश्वास गर्दैन । त्यसैले जे छ, वर्तमान छ । जे गर्छौ, वर्तमानमा गर । भविष्यको चिन्ता नगर । मरेपछि स्वर्ग जाने वा फेरि जन्मने कुरामा विश्वास नगर भन्ने विचार राख्छ । यसलाई ‘चार्वाक मत’ र ‘बार्हस्पत्य सूत्र’ पनि भनिन्छ । लोक र आयत दुई शब्द मिलेर बनेको यो दर्शन लोकको पक्षपाती अथवा जनतामा फैलिएको लोकमा आधारित भन्ने हो । यसले आफ्नो कुरालाई पुष्टि गर्नका लागि एउटा सूत्र नै बनाएको छ— यावज्जिवेत् सुखं जिवेत् ऋणं कृत्वा घृतं पिवेत् । भष्मीभूतस्य देहस्य पुनरागमनम् कुत: । अर्थात् जति बाँच्छौ, सुखले बाँच, ऋण काढेर भए पनि घिउ खाऊ । जलेर खरानी हुने देह फेरि फर्केर आउँछ भन्ने कुरामा विश्वास नगर ।[६]

जैन दर्शन संसारलाई जीव र अजीवमा विभाजन गरेर हेर्ने एक निरीश्वरवादी एवम् वेदलाई प्रमाण नमान्ने र ब्राह्मणवादविरोधी दर्शन हो । यो प्राचीन दक्षिण एसियाली दार्शनिक धाराहरूमध्ये बेग्लै दर्शन हो । यसलाई दर्शनभन्दा बढी धार्मिक विश्वास पनि मानिन्छ । जैनका दुई सम्प्रदाय छन्— श्वेताम्बर र दिगम्बर । श्वेताम्बरले सेता कपडा लगाउँछन् भने दिगम्बरले कपडा लगाउँदैनन्, निर्वस्त्र हुन्छन् र आकाशलाई नै वस्त्र ठान्छन् । यिनीहरू आफ्ना सम्पूर्ण आवेगलाई शमन गरी आफूलाई पूर्ण रूपमा वशमा राख्न चाहन्छन् । जैन दर्शनले संसारलाई जीव र अजीव गरी दुई भागमा बाँडेको छ । जीवको अर्थ आत्मा हो । यस दर्शनमा सबै शरीरमा जीवले वास गर्दछ । उसले प्रत्येक जन्ममा एक छुट्टै शरीर धारण गर्दछ । जन्म र मरण भइरहन्छ तर जीव वा आत्मा भने अनादि एवम् अनन्त छ भनिएको छ । कुनै पनि परम सत्तालाई स्वीकार नगर्नु र सबै कुरालाई संशयका साथ हेर्नु यस दर्शनको एक प्रमुख विशेषता हो ।

बौद्ध दर्शन संसारका सबै वस्तुहरू अनित्य एवं क्षणिक छन् भन्ने एक अनिश्वरवादी एवं अनात्मवादी दर्शन हो । यस दर्शनको प्रतिपादन सिद्धार्थ गौतमले गरेका हुन् र त्यही कारण उनी भगवान् गौतम बुद्धका नामले कहलिएका हुन् । यो दर्शन अहिंसामा आधारित छ । गौतम बुद्धले प्रतिपादन गरेको ज्ञान तीनवटा खण्ड (त्रिपिटक)मा समेटिएको छ । बुद्धका शिक्षालाई संक्षिप्तमा चार आर्य सत्य भनिन्छ । ती हुन्— संसारमा दुःख छ, दुःखका कारण छन्, दुःख निवारणका उपायहरू छन् । इन्द्रियद्वारा भौतिक वस्तुमा हुने आशक्तिलाई दुःख भनिएको छ । असीमित इच्छालाई त्याग गर्दै तृष्णालाई शमन गर्न सकियो भने दुःखको निवारण हुन सक्छ भन्ने यस दर्शको मान्यता रहेको छ । दुःख निवारणका लागि आठवटा उपाय बताइएको छ । ती हुन्— सद् विश्वास, सही अठोट, सत्य कार्य, सत् जीविका, सत् प्रयास, सही चिन्तन र साँचो एकाग्रता । बौद्ध दर्शनले आत्मा, ईश्वर, बह्म आदि कुरालाई मान्दैन । यसले जीव र जगतको सृष्टि ईश्वरले गरेको भन्ने कुरामा पनि विश्वास गर्दैन । यसका साथै बुद्धवादले वेद आदि ग्रन्थलाई स्वतः प्रमाण पनि मान्दैन । यसले मानिसको पूर्वजन्म र पुनर्जन्ममा भने विश्वास गर्दछ ।

आस्तिक दर्शन

सम्पादन गर्नुहोस्

वैदिक सिद्धान्तका आधारमा जगतलाई व्याख्या तथा विश्लेषण गर्ने सिद्धान्तलाई आस्तिक दर्शन भन्ने गरिन्छ । यसअन्तर्गत न्याय दर्शन, सांख्य दर्शन, वैशेषिक दर्शन, योग दर्शन, मीमांसा दर्शन र वेदान्त दर्शन पर्दछन् ।

न्याय दर्शनका संस्थापक आचार्य महर्षि गौतम हुन् । न्याय दर्शनका १६ पदार्थहरू छन् । यिनलाई प्रमाण, प्रमेय, संशय, प्रयोजन, दृष्टान्त, सिद्धान्त, अवयव, तर्क, निर्णय, वाद, जल्प, वितण्डा, हेत्वाभास, छल, जाति र विग्रह स्थान भनिन्छ । न्याय सिद्धान्तको मुख्य उद्देश्य नै मानव कल्याण र मुक्ति प्रदान गर्नु हो । यी सबै पदार्थ वा तत्त्वबाट मानवमा रहेका सबै दोषहरूको अन्त्य भई मुक्ति प्राप्त हुन्छ भन्ने न्याय दर्शनको सिद्धान्त हो ।

वैशेषिक दर्शनका प्रणेता महर्षि कणाद हुन् । वैशेषिक दर्शनअनुसार दुुःखबाट मुक्ति पाउन भगवानको दर्शन पाउन आवश्यक छ । यसनिम्ति श्रवण, मनन र ध्यान गर्नु आवश्यक हुन्छ । महर्षि कणाद दुईवटा प्रमाणलाई मान्दछन् । पहिलोलाई प्रत्यक्ष र दोस्रोलाई अनुमान भनिन्छ । यस दर्शनमा सबै पदार्थमा गुण हुन्छ भनी विश्वास गरिन्छ । यस दर्शनमा पृथ्वीमा गन्ध, जलमा रस, अग्निमा रूप, वायुमा स्पर्श र आकाशमा शब्दजस्ता विशेष गुण हुन्छ भनी उल्लेख गरिएको छ । काल, दिक र आत्माको विशेष गुण हुँदैन भनिएको छ । महर्षि कणादले पदार्थका एघार गुण मानेका छन् । यस्ता गुणहरूमा रूप, रस, गन्ध, स्पर्श, सङ्ख्या, परिमाण, पृथक्त, संयोग, विभाग, पुरत्व र अपुरत्व पर्दछन् ।

योग दर्शनका प्रणेता महर्षि पतञ्जलि थिए । महर्षि पतञ्जलिभन्दा अघि महर्षि हिरण्यगर्भ र याज्ञवल्क्यले पनि योग दर्शनमाथि विवेचना गरेका थिए । तर, महर्षि पतञ्जलिले यसलाई अझै व्यापक बनाएका थिए । यिनले योग दर्शनलाई सूत्रका रूपमा सरल रूपमा प्रस्तुत गरेका थिए । यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलाई अष्टांगयोग भन्दछन् । अष्टांगयोगको साधनाबाट मानिसको अज्ञानता नाश भएर जीवन सुखी र सम्पन्न बन्दछ । योगाभ्यासद्वारा इन्द्रियहरूलाई नियन्त्रण गरी मोक्ष प्राप्त गर्न सकिन्छ र योग नै मोक्ष मार्ग हो भन्ने दर्शन हो यो । यस दर्शनको पनि मौलिक योग दर्शनमा चित्त वा मनका क्रियाकलापको नियन्त्रण गर्नुलाई योग भनिन्थ्यो भने पछि आएर योग भनेको मन र ईश्वरका बीच संयोग गराउने साधन वा आत्म ज्ञानको साधन अर्थात् ब्रह्मज्ञान प्राप्त गरी ‘म नै ब्रह्म हुँ’ भन्ने निष्कर्षमा पुगेर सांसारिक बन्धनबाट मुक्त हुने माध्यम हो भन्न थालियो । कतिपय विद्वानहरूले सांख्य दर्शनलाई सिद्धान्त र योगलाई त्यसैको व्यावहारिक पक्षका रूपमा पनि मान्ने गरेका छन् । पछिल्लो चरणमा योग भन्नाले ध्यानद्वारा आत्मालाई ईश्वरसँग जोड्ने साधनका रूपमा लिइएको हुँदा यस दर्शनलाई पूर्णतः भाववादी दर्शनका रूपमा लिइन्छ । तथापि योगद्वारा शरीर, मन, वचन, कर्मको शुद्धि गरिने र यसले शरीरलाई तन्दुरुस्त र स्वस्थ राख्ने हुँदा यसलाई व्यावहारिक दर्शनका रूपमा लिन सकिन्छ ।

महर्षि कपिलबाट सांख्य दर्शनको प्रतिपादन भएको मानिन्छ । सामान्य अर्थमा साङ्ख्य भन्नाले संख्या वा गणना भन्ने बुझिन्छ तर प्राचीनकालमा संख्या शब्दको अर्थ कुनै विषयलाई प्रमाणित तथा परिष्कृत रूपमा विचार गर्नु हो । यस दर्शनले प्रकृति र पुरुषलाई दुई मूल तत्त्व मान्दछ । यस दर्शनअनुसार प्रकृति जड छ भने पुरुष चेतन नित्य छ । प्रकृति र पुरुषको संयोगबाट नै सृष्टिको अस्तित्व कायम रहेको छ । यस दर्शनले प्रकृति जड र एक मात्र छ तर पुरुष चेतन र नित्य छ भन्ने विश्वास गर्दछ । सांख्य दर्शनले तत्त्वलाई चार भागमा बाँडेको छ- प्रकृति, प्रकृति–विकृति उभयात्मक, केवल विकृति र चौथोेमा अनुभयात्मक ।

मीमांसा दर्शनका प्रवर्तक महर्षि जैमिनी हुन् । धर्मको अनुष्ठानबाट नै फल प्राप्त गर्न सकिन्छ भन्ने मीमांसा दर्शनको मुख्य सार हो । श्रुति, स्मृति, पुराणजस्ता ग्रन्थबाट धर्मको फल प्राप्त गर्न सकिन्छ भन्ने मीमांसा दर्शनको मान्यता हो । पूर्वीय मीमांसा दर्शनमा धर्मको लक्षण के हो र धर्मको प्रमाण के हो भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरिन्छ । महर्षि जैमिनीको मीमांसा दर्शन १६ अध्यायमा विभाजित छन् । यसका सुरुका १२ अध्याय द्वादशलक्षणिका नामबाट प्रसिद्ध छन् । यसका अन्तिम चार अध्यायहरू संषणकाण्डबाट चिनिन्छ । मीमांसाका प्रत्येक अध्यायमा अनेक पादहरू छन् । मीमांसा दर्शन पनि पूर्वमीमांसा र उत्तरमीमासा गरी दुई प्रकारको छ ।[७]

वेदान्त दर्शन प्राचीन दक्षिण एसियाली दार्शनिक प्रणाली अन्तर्गतको एक मनोगत भाववादी दर्शन हो । वेदान्त दर्शनको सामान्य अर्थ वेदको सिद्धान्त हो । वेदको अध्ययनपछि निकाल्ने निष्कर्ष वा अन्त्य नै वेदान्त हो । यसलाई वैष्णव दर्शन पनि भनिएको छ । वेदान्त दर्शन उपनिषद्हरूको सिद्धान्तहरूमा आधारित छन् । यसका विभिन्न सम्प्रदायहरू छन् । यिनलाई अद्वैत, विशिष्टाद्वैत, द्वैत र शुद्धाद्वैत भनिन्छ । वेदान्त दर्शनका प्रणेता तथा व्याख्याता महर्षि व्यास हुन् । यिनको व्रह्मसूत्र ग्रन्थले वेदान्त दर्शनको सार प्रस्तुत गरेको छ । ब्रह्मको सत्तामा विश्वास गर्ने भएकाले वेदान्त दर्शनलाई ब्रह्मवाद पनि भनिन्छ । वेदान्त दर्शन पछिल्ला वैदिक साहित्यको विवेचना भएकाले यसलाई उत्तरमीमांसासमेत भनिन्छ । ज्ञानमा जोड दिने भएकाले यस दर्शनलाई ज्ञानकाण्ड पनि भनिन्छ ।

शैव वा पाशुपत वा शाक्त दर्शन

सम्पादन गर्नुहोस्

शैव एवं पाशुपत र शाक्त दर्शन पनि वेदान्त दर्शनजस्तै भाववादी दर्शन हो । वेदान्त दर्शनमा वैष्णववादी व्याख्या गरिन्छ भने यसमा शिव या शैव तत्त्वलाई सृष्टिको कारण मान्ने गरिएको छ । यस धारामा पनि केही उपधारा रहेका छन्, ती हुन्—शैव, पाशुपत र शाक्त । यी तीनै उपधाराहरूको आआफ्नै किसिमले व्याख्या गरिएको छ । शैव दर्शनले कर्मादि सापेक्ष अर्थात् कर्मादिसँग सम्बद्ध परमेश्वरलाई जगतको कारण मानेको छ । पाशुपत धाराले महेश्वरलाई जगतको कारण मानेको छ भने शाक्त धाराले जगतको सृष्टि, स्थिति र प्रलयको कारण चेतनातत्वलाई मानेको छ । यसले निर्विकल्प चेतनालाई शिव भनेर पुकार्छ ।[८]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Elman, Benjamin A.; Duncan, John B.; Ooms, Herman (२००५), Rethinking Confucianism: Past and present in China, Japan, Korea, and Vietnam 
  2. Ram-Prasad, Chakravarthi; "Eastern philosophy" (2005)
  3. Fischer-Schreiber, Ehrhard, Friedrichs; Encyclopedia of Eastern Philosophy and Religion (1994)
  4. https://beta.gorkhapatraonline.com/arts/2020-11-21-26844?
  5. https://sankalpakhabar.com/2019/06/15/18497/ वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-२२ मिति?
  6. https://chakrapath.com/newsdetails/24781?
  7. https://elibrary.tucl.edu.np/bitstream/123456789/10688/2/Thesis.pdf वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-२२ मिति?
  8. https://annapurnapost.com/news/55740-55740