चार्वाक दर्शन प्राचीन भारतीय भौतिकवादी दर्शन हो, जसलाई लोकायत दर्शन पनि भनिन्छ। यस दर्शनले प्रत्यक्ष प्रमाणलाई ज्ञानको प्रमुख स्रोत मानेको छ र आत्मा, ईश्वर, स्वर्ग, नर्क जस्ता आध्यात्मिक अवधारणाहरूलाई नकार्छ।

चार्वाकको सिद्धान्त

चार्वाक शब्दको व्युत्पत्ति “चारु” (सुन्दर) र “वाक” (बोली) बाट भएको मानिन्छ। मूलत: यसले मीठो भाषण गर्ने वा प्रभावकारी तरिकाले बुझाउन सक्ने व्यक्तिलाई जनाउँथ्यो। तर, कालान्तरमा यसलाई नकारात्मक अर्थमा प्रयोग गर्न थालियो, र चार्वाकलाई यस्तो व्यक्ति भनिन थालियो जो केवल मीठा कुरा गरेर अरूलाई प्रभावित गर्छन् तर सत्य र तथ्यको कमी हुन्छ।

चार्वाक दर्शनको सिद्धान्त अनुसार, केवल यो दुनियाँ र यथार्थ नै सत्य हो । यो दर्शनले सुखलाई जीवनको अन्तिम लक्ष्य मानेको छ। धर्म, आत्मा, ईश्वर जस्ता कल्पनाहरूलाई नकार्दै, चार्वाक मतले जीवनको आनन्द र अनुभूति नै मानव अस्तित्वको सार हो भनेको छ। यसले लोककल्याण र लोकहितलाई ध्यानमा राख्दै, मानवीय अनुभूतिहरूमा आधारित भएर जीवन जिउन प्रेरित गर्छ ।

चार्वाक दर्शनमा धर्मग्रन्थहरू, स्वर्ग-नर्क र मोक्ष जस्ता अवधारणाहरूलाई नकार्दै प्रत्यक्ष अनुभव र वैज्ञानिक सोचलाई महत्त्व दिइएको छ।

गीतामा समेत अप्रत्यक्ष रूपमा यस दर्शनबारे सङ्केत गरिएको छ ।[] प्रचलनमा भएको लोकाचार पार्ने नेपाली उखानको पनि यस शास्त्रसँग केही सम्बन्ध छ कि? यो एक खोजीको विषय हुन सक्छ ।

लोकायत शास्त्र

सम्पादन गर्नुहोस्

आधुनिक समयमा जुन दर्शनलाई भौतिकवादी दृष्टिकोण भनिन्छ, त्यस दृष्टिकोणलाई पूर्वीय दर्शनकारहरूले लोकायत शास्त्र भनेका छन् । त्यस बेला भौतिकवाद प्रतिष्ठित भइसकेको थिएन । अन्य कुनै पनि वाद प्रतिष्ठित थिएन । प्राचीन समयमा केवल वैदिक र वेदबाह्य दुइ थरी विचार थिए । सर्वदर्शनसंग्रह पछि लोकायतको नाम चार्वाक बढी प्रसिद्ध हुन गयो र वर्तमान जीवनलाई मात्र प्रमुख मान्ने विचारलाई पछि चार्वाक दर्शन भन्न थालियो । वेदबाह्य छ वटा दर्शनमध्ये एक हो चार्वाक र अन्य पांचवटा हुन्– माध्यमिक, योगाचार, सौत्रान्तिक, वैभाषिक र आर्हत । यी दर्शनहरूले आत्माको अनवश्वरतालाई अप्रमाणित विषय मान्दछन् । शंकराचार्यको समयमा पनि चार्वाक मतावलम्बीहरूको सम्प्रदाय थियो भन्ने कुरा बुझिन्छ । आजभन्दा बारह शय वर्ष अघि आदिगुरु शंकराचार्यले चार्वाक, सौगत, क्षपणक, जैन, बौद्ध, कुक्कुरसेवक, विष्वक्सेन उपासक तथा कामदेवता मतावलम्बीहरूसँग शास्त्रार्थ गरेको कुरा उनका जीवनीकारहरूले उल्लेख गरेका छन् ।

सृष्टिको लागि चार तत्वको भूमिका

सम्पादन गर्नुहोस्

चार्वाक दर्शनले चराचर सृष्टि चार प्रकारका तत्वहरूबाट बनेको मान्यता छ । यी चार तत्वहरू पृथ्वी, जल, तेज, र वायु हुन् । चार्वाकहरू बौद्धहरूको जस्तै आकाश भन्ने तत्वको अस्तित्वमा विश्वास गर्दैनन्, उनीहरूको दृष्टिमा यो केवल शून्य हो । माथिका चार तत्वहरू बाह्य संसार, भावना, वा शरीरको रूपमा अनुभव गर्न सकिन्छ, तर आकाशलाई प्रत्यक्ष रूपमा देख्न सकिदैन । त्यसैले, यो शून्य मात्र हो भन्ने विश्वास राखिन्छ ।

जसरी पृथ्वीका तत्वहरूमा गन्ध, स्वा र स्पर्शको अनुभव गरिन्छ, हामी ती तत्वहरूको सम्बन्धलाई इन्द्रियमार्फत व्यक्त गर्दछौं । आकाशका गुणहरू अन्य तत्वहरूभन्दा भिन्न छन् । त्यसैले उनीहरूको विचारमा आकाश नामको कुनै तत्व छैन ।

चार तत्वहरूको कारण के हो ? चार्वाकको यस प्रश्नमा उत्तर छैन । यो संसार केवल चार महाभूतहरूको मिश्रण र टकराव हो, जुन विभिन्न रूप र मात्रामा उपस्थित हुन्छ ।

चार्वाकको उल्लेख

सम्पादन गर्नुहोस्

हुन त, महाभारतमा चार्वाक नामको उल्लेख छ, तर चार्वाक दर्शन त्यहाँ पाइँदैन । रामायणमा चार्वाकको नाम त छैन, तर अयोध्याकाण्डमा महर्षि जाबालिले रामचन्द्रलाई वनवास छोडेर अयोध्या फर्किन दिनु भएको सुझाव चार्वाक दर्शनसँग मिल्दोजुल्दो छ । यस दर्शनसँग मेल खाने विचारहरू धेरै ग्रन्थहरूमा छरिएका छन् । यो दर्शनले प्रत्यक्ष प्रमाणबाहेक अन्य कुनै पनि तर्कलाई अस्वीकार गर्छ । इन्द्रियले प्रत्यक्ष रूपमा थाहा पाएको मात्र सत्य हुन्छ । यस दर्शनअनुसार, "अनुमान ज्ञानको आधार हुन सक्दैन" किनकि यसले केवल सम्भावना उत्पन्न गर्न सक्छ । अनुमान भनेको प्रत्यक्ष ज्ञानलाई भूतकाल वा भविष्यमा फैलाउने मात्र हो, र यस्तो विस्तार असम्भव तथा निरर्थक ठहर्छ ।

चार्वाक मतका केही भनाईहरु[]

सम्पादन गर्नुहोस्

चार्वाक मतमा भनिएका केही प्रचलित भनाइहरू यस प्रकार छन्–

  • यदि यज्ञमा बलि चढाइएको पशु स्वर्ग जान्छ भने यजमानले आफ्ना बाबु आमालाई किन मार्दैन ? यज्ञमा जुन पशु बलि हुन्छ यसले यज्ञलाई धर्म होइन अधर्म सिद्ध गर्छ ।
  • चार्वाकको विचारमा सुख दुख सबै यसै संसारमा भोगिने कुरा हुन् । दुख छ भनेर यस संसारको सुख छोडेर कल्पित सुख र स्वर्गको खोजी गर्ने मूर्ख हुन् । यस दर्शनले प्रश्न गरेको छ– माछामा काँडा छन् भनेर माछा खाँदै नखाने ? गाईबस्तुले खेती खाइदिन्छ भनेर खेती गर्नै छोडिदिने ? जब यस संसार बाहेक अन्यत्र स्वर्ग नर्क छैन भने धर्मको फल भन्नु फजुल कुरा हो ।
  • चार्वाक मतमा केवल चार तत्त्व प्रमुख छन्– पृथ्वी, जल, तेज, र वायु । यी चार तत्त्व स्थूल हुन्छन् । आकाश तत्त्वलाई चार्वाक मतले अस्वीकार गर्छ । किनभने त्यसलाई देखाउन सकिँदैन । बौद्ध दर्शन जस्तो यसले अरू सबैलाई शून्य मान्छ । चार महाभूत किन र कसरी उत्पत्ति हुन्छन् ? यिनीहरूको उत्पत्तिको कारण के हो भन्ने कुरा यस दर्शनमा स्पष्ट गरिएको छैन ।
  • यस दर्शन अनुसार आत्मा भन्ने वस्तुको अस्तित्व छैन । चेतना शरीरको गुण हो । यो शरीर नै आत्मा हो । यसलाई सिद्ध गर्ने तीन तरिकाहरू चार्वाक मतमा छन्– तर्क, अनुभव र आयुर्वेद प्रमाण ।
  • तर्कका आधारमा यस दर्शनले के मान्दछ भने शरीर रहुन्जेल आत्मा हुन्छ । त्यस पछि सबै समाप्त हुन्छ । केही पनि हुँदैन । आफैँले प्रत्यक्ष बताउने अनुभव के छ भने म दुर्बल छु, म गोरो छु इत्यादि ।
  • यी सबै शरीरका अनुभव हुन् । यो पनि एक प्रकारको स्थूल जानकारी हो । स्थूलता, दुर्बलता आदि शरीरका धर्म हुन् । म भनेको त्यही शरीर हो । तेस्रो प्रमाणलाई आयुर्वेद प्रमाण भन्न सकिन्छ । यो रासायनिक प्रक्रियाको सिद्धान्त हो । मिश्रण वा यौगिक निर्माण हुने सिद्धान्त । जसरी गुँड, चामल, र महुआको संयोगले स्वतः मदिरा तैयार हुन्छ अथवा पान, चुना, कत्था र सुपारी मिसाउँदा आफैँ रातो रङ्ग उत्पन्न हुन्छ । त्यसै गरी भूमि, जल, तेज र वायु यी चार कुराको संयोगले शरीरमा चेतना आफैँ उत्पन्न हुन्छ । यसलाई आयुर्वेद प्रमाण भनिन्छ । तर यस सिद्धान्तले के स्पष्ट गर्दैन भने यी तत्त्वहरूलाई विशिष्ट मात्रामा नै मिश्रण गर्नु पर्ने कारण के हो ? यसबारे यो दर्शन मौन छ ।
  • चार्वाक मतमा राजा भनेको यस लोकको स्वामी हो । उसको नियम सबैले मान्नु पर्छ । त्यसैले प्रत्यक्ष ईश्वर भनेको त्यही राजा हो । किनभने उसले असल र खराबको निर्णय गरी दण्ड र पुरस्कार दिन्छ ।
  • सुख र धर्म तथा दुख र अधर्मको सम्बन्धलाई कोइली र कागको बोलीबाट स्पष्ट गरिएको छ । जसरी कोइलीको बोली प्रभाव मधुर हुन्छ र कागको बोली प्रभाव कर्कश हुन्छ । धर्म र अधर्मको प्रभाव स्वाभाविक हो । प्राकृतिक हो ।
  • जुन कामले शरीरलाई सुख पुर्‍याउँछ । इन्द्रिय तृप्त हुन्छ । त्यो गर्नु पर्छ । इन्द्रिय आनन्द लिन जुन कुरा बाधक हुन्छ त्यसलाई समाप्त गर्नु पर्छ । चार्वाक दृष्टिमा अर्थ र काम नै पुरुषार्थ हो । स्त्री, पुत्रादिबाट प्राप्त सुख मात्र सुख हो । त्यसैको प्राप्ति पुरुषार्थ हो ।
  • शरीर हुन्जेल कष्ट हुन्छ । शरीर सिद्धिए पछि कष्ट हराउँछ । त्यो हराउनु नै मोक्ष वा मुक्ति हो ।
  • बीउबाट वृक्ष बन्नुमा ईश्वरीय चमत्कार देख्नु हास्यास्पद छ । त्यो केवल भूमि, जल, तेज इत्यादिको संयोगले उत्पन्न हुने कुरा हो ।
  • मेरो शरीर भन्ने कुरालाई चार्वाक दर्शनमा एक प्रकारको भाषिक अपवाद मानिन्छ । यस दर्शनले उदाहरणका लागि राहुकेतुलाई प्रस्तुत गरेको छ । सबैले राम्ररी जानेको कथा के हो भने राहु र केतु एउटै राक्षसका दुई भाग हुन् । टाउकोलाई राहु र टाउको देखि तलको भागलाई केतु भनिन्छ । तर बोल्दा राहुको टाउको भनिन्छ । त्यस्तै मेरो शरीर भनिएको हो । म भनेको र मेरो शरीर भनेको एउटै कुरा हो ।
  • चार्वाक दर्शनमा शरीरभन्दा पृथक् जीवको अस्तित्व हुँदैन । शरीर विनाश हुँदा जब दाहसंस्कार गरिन्छ, त्यो जीव भन्ने वस्तु पनि नष्ट हुन जान्छ । धर्म, अधर्म, पाप पुण्य सबै समाप्त हुन्छन् ।

    बार्हस्पत्य अर्थशास्त्रमा स्पष्ट लेखिएको छ– सर्वथा लौकायतिकमेव शास्त्रमर्थसाधन काले । बृहस्पति सूत्र ।।२.५।। अर्थ साधनका लागि एक मात्र शास्त्र लोकायत शास्त्र हो । यसबाट बृहस्पतिको समयमा यो शास्त्रको रूपमा प्रतिष्ठित थियो भन्ने स्पष्ट हुन्छ । तर बृहस्पति सूत्र लेख्ने बृहस्पति कुन हुन् ? उनको समय कुन हो ? यो स्पष्ट गर्न सकिंदैन । कसै कसैले लोकायत दर्शनका प्रतिपादक आंगिरस बृहस्पति हुन् भन्ने तर्क गर्छन् । अहिले यो शास्त्र रूपमा वा ग्रन्थ रूपमा उपलब्ध पनि छैन । बृहस्पति सूत्र नै छिन्न भिन्न अवस्थामा छ । यसका दुइ दर्जन सूत्रहरु कौटिलीय अर्थशास्त्रमा पाइन्छन् ।[]
    कौटिल्यले केही फरक मत राखेका छन् । कौटिल्यका अनुसार– सांख्य, योगो लोकायतं चेत्वान्वीक्षिकी ।[] अर्थात् सांख्य, योग, र लोकायत यी तीनवटा दर्शन हुन् । आन्वीक्षिकी शास्त्र हुन् । यी तीनवटा दर्शनको अध्ययन गरे पछि वेदमा भएका धर्म– अधर्म, वार्ता शास्त्रमा भएका अर्थ– अनर्थ र दण्ड नीतिमा भएका सुशासन– दुःशासन बुझ्न सकिन्छ । त्रयी आदि विद्याहरूको प्रधानता– अप्रधानता अर्थात् बलाबललाई भिन्न भिन्न युक्तिहरूले निर्धारित गर्दै यी तीन दर्शनले लोक कल्याणको बाटो प्रशस्त गर्छन् । सुखदुखबाट बुद्धिलाई स्थिर गराउंछन् । फलस्वरुप विचार गर्ने, विश्लेषण गर्ने, बोल्ने र काम गर्ने शक्ति प्राप्त हुन जान्छ ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. ज्ञवाली, बाबु राम, वि.सं.२०७२, जीवनको दोस्रो पाना (श्रीमद्भगवद्गीता दोस्रो अधयायको विश्लेषणात्मक अध्ययन, रुपन्देही : ज्ञानज्योति प्रकाशन, पृ.१२
  2. सर्वदर्शनसंग्रह
  3. बृहस्पति अर्थसूत्र, सन् १९२६, अनुवादक एफ डब्लु थोमस, लाहौर : लाहौरा बुक डिपो ।
  4. कौटिलीय अर्थशास्त्र, वि.सं.२०३१, अनु. केशव प्रसाद अर्याल सं. पं. सोमनाथ शर्मा, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्