देवल माटोको प्रयोग नगरेर खाली कलात्मक ढुङ्गाहरूबाट निर्माण गरिएका सामुहिक एकल र पाँचको संख्यामा रहेका अग्ला मन्दिर आकारका ऐतिहासिक सभ्यतालाई दर्साउने अवशेष हुन्। यस्ता देवलहरू नुवाकोटदेखी पश्चिम र उत्तर भारतको कुमाउँ गढवाल पूर्वको भु-भागमा मात्र प्राप्त भएका छन्।[१] देवलहरू सबैभन्दा बढी दैलेख जिल्लामा प्राप्त भएको छन्। यी देवलहरूले हिन्दु धर्मबौद्ध धर्मलाई समान रूपमा ग्रहण गरेको छन्। देवलहरूको उपस्थितीले समग्रमा तत्कालिन कर्णाली प्रदेशको प्रभाव क्षेत्रलाई प्रतिनी धित्व गरिरहेको छ।[१] तिथिमिति उल्लेख गरिएका देवलहरूको विश्लेषण गर्दा यस प्रकारका देवलहरू निर्माण गर्ने परम्परा सिंजा साम्राज्यको स्थापनासँगै विकास भएर उक्त शासनकालको अन्तसँगै समाप्त भएको देखिन्छ। त्यो अवधि भन्दा पहिले र त्यो अवधि पश्चात निर्माण भएका देवलहरू आज सम्म कहिं कतै फेला परेका छैनन्।[१] दैलेख क्षेत्र सिंजा साम्राज्यको केन्द्रविन्दु भएकोले नै सबै भन्दा बढी देवलहरूको संख्या फेला परेको हो। यस्ता देवलहरूको अस्तित्वले दैलेख जिल्लाको तत्कालिक समाजिक महत्त्वलाई दर्साउछन्। यी देवलहरूलाई महाभारतको कालमा पाण्डवहरूले बनाएका हुन् भन्ने जनविश्वास रहेको छ। विक्रम सम्वत २०३१-३२ सम्म पनि जुम्लाकालिकोटबाट आएर भुर्तीका देवलमा वार्षिक श्राद्ध तर्पण गर्ने प्रचलन रहेको भन्ने स्थानिय भनाइले भुर्तीका पञ्चदेवलहरू सम्भतः खसमल्ल शासनकालको सबभन्दा पछिल्लो अवधिमा निर्माण गरिएका देवलहरू हुन सक्ने सम्भावना देखिन्छ।

दुल्लु दरबार नजिकमा रहेका जोडा देवलहरू

निर्माणशैली सम्पादन गर्नुहोस्

 
दैलेख जिल्लाको सदरमुकाम नजिक भुर्ती गाउँमा रहेका समूह देवल

सबै देवलहरू कडा प्रकारको कालो ढुङ्गाद्वारा शिखरशैलीमा समान प्रकारले निर्माण गरिएका छन्। देवल निर्माणमा प्रयोग भएका ढुङ्गाको बाहिरी भाग विभिन्न कलात्मक आकारमा कुँदिएका छन् भने भित्री भाग सामान्य सरसफाइ समेत नगरेर जथाभावी तरिकाले प्रयोग गरिएका छन्। सबा देवलहरू गारो अथवा कुनैपनि रसायनको प्रयोग नगरी केवल धातुको बलियो तार वा कैंचीले जोडेर बनाइएका छन्। देवलको शिर्षभागमा चक्राकार आमलक शिला राखिएका छन्। देवल प्रवेश द्वारको निदालमा कतै देव मूर्ति, कतै पुष्प आकृती, कतै निर्माण वष उत्कृण गरिएको पाइन्छ।[१] पुरातात्विक दृष्टिकोणले हेर्दा देवलहरू तत्कालिन मानव बस्तिभन्दा अलग एकान्त स्थल अथवा तत्कालिन मन्दिरको वरिपरी निर्माण गरिएका छन्। दैलेख जिल्लाकै कुरा गर्दा दुल्लु दरबार बाहेक अन्यत्र रहेका देवलहरू तत्कालिन घना जङ्गलको बीचमा निर्माण गरिएका छन्। केही देवलका अवशेषहरू शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुकास्थानडुङ्गेश्वर समेतमा पाइएका छन्। पादुकास्थानमा प्राप्त प्रस्तर अवशेष र चक्राकार शिला तथा अमलकको सङ्ख्याको आधारमा यस स्थानमा करिब एकसय भन्दा बढी देवलहरू रहेको सङ्केत गर्दछन्।[१] देवलहरू रहेका स्थानहरू जस्तै भुर्ती, किमुगाउँ, तरताङ, कुइकाना कट्टी, रावतकोट, दवाडा, काशिकाँध, बडलम्जी, छिउडी, छुवाला, भगवानपाउ (पादुका), ब्याउली, दुल्लु मुढे देवल आदी सबै स्थानहरूमा धेरै पछिल्लो अवधिमा मानवबस्ती विकास भएको देखिन्छ। तत्कालिन समयमा यस प्रकारका देवलहरू मानवबस्ती भएको क्षेत्रमा देवल निर्माण गरिने तथ्यलाई कुनै आधारमा पनि प्रमाणित गर्न सकिदैन।[१] "मानवबस्तीभित्र देवालयको रूपमा देवलहरू निर्माण तथा स्थापना गरिए, दैवी प्रकोप अथवा कुनै दैवी विपत्तीका कारण मानव विनाश भयो र त्यस स्थानमा घना जङ्गलहरू बन्न गए, तर माटो गारोले नजोडिएका र विशाल प्रस्तरपट्टद्वारा निर्मित देवलहरू आजसम्म जस्ताको त्यस्तै रहे होलान्" भन्ने तर्क पनि हास्यस्पद हुनेछ।[१] देवलहरू कहिं एकल रूपमा कहिं जोडा देवलको रूपमा मण्डप जोडेर कहिं समूह रूपमा रहेका छन्। दुल्लु पटाङ्गेनीमा रहेका देवलहरू दुईवटा भए पनि मण्डप जोडिएको छैन। भुर्तीका २२ देवल मध्य दुईवटा देवलमा मण्डप जोडिएका छन्। समुह अथवा एकल रूपमा स्थापना भएका देवहरू बाहेक अधिकांश देवलहरू पञ्चदेवलको रूपमा निर्माण भएका छन्। प्राय सबै स्थानहरूमा देवलको स्तित्व रहेकै देखिन्छ भने दैलेख जिल्लाको पादुकाका समूह देवल, नाभिस्थान, धुलेश्वर, डुङ्गेश्वर र अभिलेख सहितको दुल्लुको मुढे देवलको अस्तित्व भने पूर्ण रूपमा समाप्त भएको छ।[१]

उपयोगिता सम्पादन गर्नुहोस्

देवलहरू के कामको लागि निर्माण गरिएका थिए र यिनको उपयोगिता के हो भन्ने बारे आजसम्म कुनै पनि अभिलेखहरू प्राप्त भएका छैनन्।[१] डडेलधुराको अजयमेरु स्थित अजयमेरुकोटमा रहेको तत्कालिन राजा निरयपालको देवल र दुल्लुको मुढे देवल बाहेक अन्यत्र रहेका कुनै पनि देवलहरूमा अभिलेख रहेको पाइदैन।[१] हाल दुल्लुको मुढेदेवल अस्तित्वमा रहेको छैन। त्यो देवलमा रहेका अभिलेखहरूलाई शुरक्षाका दृष्टिकोणले कीर्तिस्तम्भको पिंधमा राखिएको छ। जसले कीर्तिस्तम्भको ऐतिहासिक तथा पुरातात्विक महत्त्वलाई दिग्भ्रमित तुल्याउने निश्चित छ। अन्य केही देवलहरूमा भने निर्माण वर्ष सम्म उल्लेख गरिएको पाइन्छ। बैतडी जिल्लाको देवलहाट स्थित देवलको बाहिर शिवलिङ्ग राखेर पूजा गर्ने र डडेलधुराको जगन्नाथ मन्दिरमा नित्य पूजाको प्रचलन बाहेक अन्य कुनै पनि देवलहरूमा देवप्रतिमा वा पूजा परम्परा रहेको छैन। उपर्युक्त आधारमा कर्णाली प्रदेशमा रहेका सबै देवलहरूमा देवपुजाको प्रचलन रहेको थियो भनेर मान्न सक्ने अवस्था रहँदैन।[१] एउटा सामान्य कार्य गरे पनि आफ्नो कीर्ति अमर राख्न चाहने वा एउटा सामान्य पित्तलको घण्ट वा त्रिशुल अर्पण गरे पनि त्यसमा आफ्नो नाम उल्लेख गराउने मानविय स्वभाव विपरीत अत्यन्त कलात्मक ढङ्ग ले कुँदेर सयौं कामदारको श्रम र ठुलो धनराशी खर्च गरेर निर्माण गरिएका यस प्रकारका देवलहरूमा निर्माण कर्ताले आफ्नो नामनामेसी उल्लेख गर्न हिचकिचाउनुलाई स्वभाविक मान्न सकिदैन। त्यसैगरी मानव समाजले धार्मिक आस्थाका कारण स्थापना गरेका पञ्चकोशी लगायतका धर्मस्थलीहरूमा लामो समयदेखी आजपर्यन्त निरन्तर पूजा परम्परा, अटुट श्रद्धा र विश्वास कायम नै रहेको छ तर कर्णाली प्रदेश क्षेत्रमा बाह्रौँदेखि सोह्रौँ शताब्दीका बीच निर्माण भएका देवलहरूमा रहेको पूजा परम्परा खसमल्ल शासनकालको प्रारम्भसँगै सुरु भई अवसानसँगै समाप्त भयो होला भनेर पनि मान्न सकिदैन। त्यसैगरी देवलहरू पूजा परम्पराका निमित्त निर्माण भएको भए सोको संरक्षण संवर्द्धन तथा नित्यपूजा प्रतिष्ठाका निमित्त कहिंकतै धार्मिक गुठी वा बन्दोबस्तको चाँजोपाँजो समेत गरेको देखिदैन।[१] तत्कालिन खसमल्ल साम्राज्यकालमा त्यस क्षेत्रमा बौद्धधर्मको बाहुल्यता रहेको थियो। सोही समयमा सिंजा साम्राज्यभरी निर्माण गरिएका धारा, पाटी, पौवा, अभिलेस्तम्भ तथा वंशावलीहरू आदीले त्यो समयका शासकहरू बौद्धमार्गीहरू थिए भन्ने प्रसस्त सङ्केत गरेका छन्। खसमल्ल साम्राज्यकालका शासकहरू महायानी बौद्धमार्गी थिए भन्ने कुनै द्विविधा रहेको छैन। सम्राट पृथ्वी मल्लले शाके १२८० मङ्सिर १३ गते सोमबारको दिन वैश्वानर ज्वालाक्षेत्रको हरिशंकरी यात्राको सम्पन्न गरेको ताम्रपत्र बाहेक यस समयमा हिन्दू देवताका मन्दिरहरू निर्माण गरिएका अथवा जिर्णोद्धार गरिएका कुनै प्रमाणहरू भेटिदैनन्।[१] बरू धारा, पाटी, पौवा, चैत्य अभिलेखस्तम्भ निर्माण गरेमा त्यसमा चैत्य आकृति र रञ्जना शैलीमा "ॐ मणि पद्मे हुँ" नै राख्ने प्रचलन विकसित भएको थियो।[१] तसर्थ उपर्युक्त तर्कहरूका आधारमा खसमल्ल साम्राज्यकालमा निर्माण यस प्रकारका देवलहरू देवस्थल नभएर तत्कालिन समाजका शक्तिशाली तथा लब्धप्रतिष्ठित घरानाका व्याक्तित्वहरू वा बौद्ध सम्प्रादयसँग सम्बद्ध धर्मगुरुहरूको समाधी स्थल भएको सङ्केत गर्दछन्।[१] पश्चिम नेपालको इतिहास लेखनमा जिवनोत्सर्ग गरेका विद्वानहरूले यस तर्फ यथोचित ध्यान दिएको देखिदैन वा यो सन्दर्भ महत्त्वहिन ठानिएर यस तर्फ विद्वानहरूले कलम चलाएको देखिदैन। यही कारणले गर्दा खसमल्ला शासण कालका शासकहरूको जन्म, मृत्यु, राजद्रोह, विद्रोह, राजनीतिक हत्याहिंसा, कपट पूर्ण षडयन्त्र, दैवी विपत्ती आदीका सम्बन्धमा कहिंकतै उल्लेख भएको पाइदैन। विभिन्न स्थानहरूबाट प्राप्त गरिएका अभिलेख, ताम्रपत्र, जनश्रुती, वंशावलीहरूको आधारमा मात्र तत्कालिन शासकहरूको जिवनकाल गणना गर्ने र इतिहास कोर्ने काम गरिएको छ।[१] भारतको बोधगया देखी कुमाउँ गढवाल को बाराहाट सम्म र उत्तरको तिब्बत देखी दक्षिणको तराईसम्म फैलिएको सिंजा सम्राटहरूको ख्यातिका सम्बन्धमा पनि प्रशस्त प्रमाणहरू उपलब्ध रहेकाले उनीहरूको राजकिय मर्यादाका बारेमा आसंका गरिरहनु आवश्यक छैन। उनिहरूको जन्म, मृत्यु, विरता र दुःखद घटनाहरूला उनेर बनाएका पश्चिम नेपालको देउडा सस्कृतिमा रहेको हुड्केउली भाकामा गाइने भारत (गाथा) अझैं पनि लोकप्रिय रहेका छन् र परम्परागत रूपमा गाइँदै आएका पनि छन्। तत्कालिन साम्राज्यका सैनिक तथा योद्वा वा पैकलाहरूको स्मृतीका लागि त ठाउँ ठाउँमा वीरखम्बाहरू स्थापना गरिएका छन् भने वीर, पराक्रमी र चक्रवर्ती पुरुषहरू राजपरिवारमा जन्म भई राजकिय शासनसत्ता उपभोग गरेर नाम निसान मेटिने गरी एकाएक हराउन पुगे भनेर मान्नु इतिहास लेखनकार्यमा अर्को अनर्थ हुन जान्छ। उनिहरूको जिवनको उतरार्द्धको अवस्था र मृत्युका सम्भावीत कारणहरू आजसम्म रहस्यकै गर्भमा रहेको छ। यदी दुल्लुको कीर्तिस्तम्भ नभएको भए सायद पश्चिम नेपालको इतिहासको हालसम्मको यात्रा पनि सम्भव थिएन। तसर्थ देवलहरू निश्चितरूपमा कुनै मठ मन्दिर नभएर तत्कालिन शासकवर्ग वा सम्भ्रान्त परिवारहरूको समाधीस्थल नै भएको अनुभव गरिन्छ।[१]

समाधी परम्परा सम्पादन गर्नुहोस्

खसमल्ल साम्राज्यका संस्थापक नागराजको वंश तथा गोत्रावली पुष्ट्याइँ गर्ने प्रमाणहरू आजपर्यन्त उपलब्ध छैनन्, तर पृथ्वी मल्लका पूर्वजहरू सूर्यवंशी पालहरू थिए भन्ने कुरा स्वयं कीर्तिस्तम्भले नै प्रमाणित गरेको छ।[१] नागराजको वंश पहिचान नभएको तिब्बती वंशावली लगायतका दश्तावेजहरूमा नागराजलाई गुगेप्रान्तका राजाको सन्तानको रूपमा व्याख्य गरिनु, सिञ्जा साम्राज्यकालमा बौद्ध धर्मको सम्मान र संरक्षण सम्बर्द्धनका लागि तिब्बतको शाक्यमठले निर्देशनात्मक भुमिका निर्वाह गर्न पाउनु, धारा, पटी, पौवा, चैत्य, अभिलेखस्तम्भ, कनकपत्र, ताम्रपत्र आदीमा चैत्य आकृती र "ॐ मणि पद्मे हुँ" लेखिनुले पनि नागराजका वंशजहरू बैद्धमार्गी रहोको कुरा निर्विवाद तथ्य हो।[१] तत्कालिन समयमा उच्च हिमाली भेकको तल्लो क्षेत्रमा बसोवास अधिकांश नागरिकहरू हिन्दू थिए। कुशल शासन प्रणालीको लागि तिब्बती मुलका शासक र दक्षिणी भेकका हिन्दु नागरिकका बीच राजकिय तथा शासकिय सामञ्जस्य कायम गर्नु अनिवार्य थियो। त्यसै कारण नागराजवंशका चाप, चापिल्ल, क्राधिचल्ल, र क्राशिचल्लपछिका शासकहरूको हिन्दु धर्मप्रतिको स्पष्ट सहानुभुति देखिएका प्रशस्त प्रमाणहरू रहेका छन्। खस सम्राट आदित्य मल्लको जिवन कालमा नै उनका छोरा कल्याण मल्लको देहान्त भएको र आदित्य मल्लका नाति प्रताप मल्ल सानै उमेरमा भिक्षु भइदिएका कारण अविवाहित नै रहेका र सन्तान वृद्धि क्रम रोकिएकाले नागराजको वंश कल्याण मल्लाका छोरा प्रताप मल्लसम्म पुगेर अन्त्य भएको छ। त्यसपछि सिंजा साम्राज्यको बागडोर समाल्ने र नागराजको वंश निरन्तरता कायम कायम रहने सम्भावना रहेन।[१] त्यस पछि कर्णाली साम्राज्यको राजसिंहासैनमा प्रताप मल्लका फुपाजु अथवा आदित्य मल्लका ज्वाँइ गेलावंशी पुण्यपाल (मल्ल)लाई अभिशेष गरिएको छ। पुण्यपालकी रानी अथवा आदित्य मल्लकी छोरीको नाम शकुनमाला थियो। [१] तत्कालिन समयमा पत्नीको जात अनुसार पतिको जात रहने परम्परा थियो अथवा ससुरालीको अपुताली प्राप्ता गरेकोले हो गेलाबाट दुल्लुमा आएर घरज्वाइँ बसेका पुण्यपाल पनि पुण्य मल्ल हुन पुगेका छन्। यसरी पत्नी तर्फको जातभातले पति तर्फको जातभात फरक पार्न सक्ने त्यो अवस्थामा पति तर्फको जातभातले पत्नी तर्फको जातभात, धर्म, संस्कृति र परम्परालाई फरक पारेन भन्न सकिन्न। त्यसमाथि झन ससुरालीको राज्य पाएर कर्णाली साम्राज्याका महाराजा बन्न पुगेका छन् पुण्य मल्ल। क्रमशः चल्दा गयो बाल्यकालदेखी यौवनावस्थासम्म अध्यायन तथा पठन पाठन र त्यसपछि राजकाज र वृद्धावस्थामा वानप्रस्थ पछिल्ला दिनहरू सम्म। यही खसमल्ल शासन राज्य परम्परामा तत्कालिन शासकहरू आफू बौद्ध भए पनि हिन्दु धर्मप्रति स्वभाव राख्ने भएकाले यस्ता देवलहरू पनि स्वभावकै आधारमा निर्माण भएका छन्। सबै देवलहरू विशेष व्याक्तीहरूको सम्मानका खातिर विशेष अनुष्ठानका साथ निर्माण गरिएका छन्। जहाँ देवलमा अभिलेखहरू राखिएका छन् त्यसमा साधक वा मृतकहरूकै सम्मानमा उत्कृण गरिएका छन्।[१]

सम्भावना सम्पादन गर्नुहोस्

देवलहरू सबै स्थानमा समान संख्यामा निर्माण नभए पनि आकार प्रकार वा शैली भने सबै ठाउँमा समान रहेको पाइन्छ। कहिं एउटा मात्र, कहिं दुईवटा वा भोग मण्डप जोडेर जोडा देवलको रूपमा, कतै पाँचवटाको समूहमा, कतै आठवटा वा दशवटाको समूहमा कतै पच्चिसौं समूहमा समेत निर्माण गरिएका छन्। पञ्चदेवल, एकलदेवल अथवा समूह देवल भनेर संख्यात्मक समूहकै आधारमा तीनको नामकरण गरिएको छ। यी देवलहरू किन र के प्रयोजनको लागि निर्माण गरिएका थिए भन्ने स्पष्ट प्रमाण कहिं कतै उल्लेख गरिएको छैन।[१] सबै ठाउँमा निर्माण गरिएका समान प्रकारका देवलहरू हेर्दा देवलहरू निर्माण गर्नको उद्दश्य फरक फरक हुन सक्दैन। न त देवललाई तत्कालिन दरबार नै भन्न सकिएला। यी देवलहरूलाई मठकै रूपमा व्याख्य गर्ने हो भने पनि देवलहरूमा मठ रहेको कुनै सङ्केत सम्म पाइएको छैन। अर्को सम्भावना भनेको देवलहरू महायानी बौद्धमार्गीहरूको ध्यानकेन्द्र हुन सक्छन् भन्ने हो, तर नुवाकोट देखी कुमाउ गढवासम्म नै यती धेरै ध्यानकेन्द्रहरू एकै ठाउँमा हुन पनि सम्भव छैन।[१] तसर्थ देवलहरू जीवनको अन्तिम कालमा मृत्युवरण गर्नका लागि आफ्नो जीवनकालमै निर्माण गरिएका आश्रम अथवा समाधी स्थल हुन सक्ने सम्भावना देखिन्छ। स्वभाविक मृत्युका कारण दिवंगत भएका व्याक्तीहरूको समाधिका लागि एकल देवल निर्माण गरिएका हुन सक्छन्। समूहगत रूपमा रहेका देवहरूले सामूहिक रूपका समाधिको परम्परालाई सङ्केत गर्छन्। देवलहरू निर्माण भएको स्थललाई तत्कालिन समाजले समाधि स्थल अथवा श्मसानघाटको रूपमा प्रयोग गरेको देखिन्छ। देवलहरूको भौतिक अवस्था र प्रकृतीको सुक्ष्म विश्लेषण गर्दा सबै देवलहरू एकै समयमा निर्माण नभए पनि पाँचवटाको समूहमा निर्माण गरिएका देवलहरू भने एकै समयमा निर्माण गरिएको आभास हुन्छ। अन्यथा पाञ्चायन वास्तु प्रणाली अवलम्बन गर्न सहज देखिन्न। कुनै देवल भत्किएपछि सो स्थानको उत्खनन गरेर मात्र देवलहरूको वास्तविकता उजागर गर्न सकिने छ।[१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ १.१२ १.१३ १.१४ १.१५ १.१६ १.१७ १.१८ १.१९ १.२० १.२१ १.२२ १.२३ १.२४ कीर्तिखम्ब नामक पुस्तक पहिलो संस्करण पृष्ठ संख्या १२०-१२२ लेखक विश्व के.सी. (पोखरेल)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्