चुरिया सुरुङ

चुरिया सुरुङ ५०० मी (१,६०० फिट)-चुरे पहाड को भित्र हुँदै मकवानपुर र बारा जोड्ने सुरुङ मार्ग हो।

Churia Tunnel
चुरिया सुरुङ
चुरिया सुरुङ प्रवेशद्वार
अवलोकन
भौगोलिक स्थिति हेटौँडा, नेपाल
निर्देशांक २७°२१′२८″उ॰ ८४°५९′५७″पू॰ / २७.३५७७८°N ८४.९९९१७°E / 27.35778; 84.99917निर्देशाङ्कहरू: २७°२१′२८″उ॰ ८४°५९′५७″पू॰ / २७.३५७७८°N ८४.९९९१७°E / 27.35778; 84.99917
स्थिति प्रयोगमा छैन
तकनीकी जानकारी
डिजाइन इञ्जीनियर डिल्लीजङ्ग थापा
निर्माण 1917 (१०३ years ago)
लम्बाई ५०० मी (१,६०० फिट)

सुरुङमार्गको डिजाइन इन्जिनियर कर्णेल डिल्लीजङ्ग थापाले १९७५ सालमा गरेका हुन् । प्रधानमन्त्री चन्द्रशमशेरको आदेशमा सुरुङमार्ग बनाउन नेपाली सेना खटिएको बताइन्छ । थापा पनि नेपाली सेनाका इन्जिनियर थिए । उक्त सुरुङमार्गको चौडाइ ९ फिट र उँचाइ १० फिट छ । लहरी (एकप्रकारको मालबाहक सवारी साधन) छिर्ने आकारमा यसको निर्माण भएको छ । काठमाडौँको लागि तराईबाट हुने आपूर्ति र यातायात सहज बनाउनु यसको उद्देश्य थियो ।[१] नेपालका पहिलो सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजङ्ग थापाले डिजाइन गरेको चुरिया सुरुङ सन् १९१७मै बनेको थियो ।[२] यसलाई टोनी हेगनले आफ्नो पुस्तक ‘नेपाल’मा एसियाकै पहिलो सुरुङ भएको उल्लेख गरेका छन् । जीर्ण अवस्थामा रहेको यो सुरूङ हाल प्रयोगमा छैन ।

राणाका गाडीलाई चुरे पहाड छिचोल्न सुरुङमार्ग बनेको सय वर्षपछि सरकारले बल्ल ‘टनेल प्रविधि’को आवश्यक्ता महसुस गरेको छ ।

मानव निर्मित सुरुङको इतिहास पुरानो छ । इसापुर्व ३६ मै इटालीको नेपल्स र पोजोली जोड्ने ४ हजार ८ सय फिट चौडाइ र ३० फिट उचाइको सुरुङ बनेको थियो । युरोपमा सुरुङलाई सुरुसुरुमा मूलत: खानी उत्खनन र सामरिक उपयोगमा बढी प्रयोग गरिएको पाइन्छ ।[३]

१९ औँ शताब्दीको सुरुआतदेखि त्यहाँ सुरुङ निर्माण र उपयोग व्यापक रूपमा गर्न थालिएको छ । अहिले विश्वभरि अत्याधुनिक उपकरणहरू प्रयोग गरेर सुरुङ निर्माण गरिन्छ ।

नेपालमा विद्युत् उत्पादन प्रयोजनका लागि विदेशीहरूले सुरुङ खनेका छन् । मेलम्चीका पानी काठमाडौँ ल्याउन पनि सुरुङ खनिएको छ । तर सवारी साधन आवत–जावत गर्नका निम्ति दक्षिण एसियामै पहिलो मानव निर्मित चुरिया सुरुङ निर्माण गरिएको थियो । एक दशकभन्दा बढी यो सुरुङ हुँदै साना हलुका सवारी साधनहरू आवत–जावत गरे । मकवानपुरबाराको सिमाना पर्ने चुरियामाई मन्दिरछेउको सुरुङ दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङ भएको भूगर्भविद् टोनी हागनले आफ्नो ‘नेपाल’ मा उल्लेख गरेका छन् ।

पथलैयाहेटौँडा सडक निर्माण भएपछि यो सुरुङ सञ्चालनमा आउन छाडेको हो । हेटौँडा उपमहानगरपालिका १७ मा अवस्थित उक्त सुरुङ संरक्षणको अभावमा पुरिने अवस्थामा पुगेको छ । सडक छेउको सुरुङ मुखमाथिबाट माटो झरेर पुरिसकेको छ । वीरगन्जतर्फवाट आउँदाको सुरुङको प्रवेशद्वारको अवस्था भने राम्रै देखिन्छ । करिब ७ सय मिटर लामो सुरुङ करिब सय वर्षअघि निर्माण गरिएको थियो । नेपालका प्रथम ग्राजुएट सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाको डिजाइनमा सुरुङ निर्माण गरिएको हेटौँडा उपमहानगरपालिकाका सहरी विकास, अनुसन्धान तथा वातावरण महाशाखा प्रमुख बीके महर्जनले बताए । सुरुङको निर्माण सन् १९१७ मा गरिएको थियो । इन्जिनियर थापाले अमलेखगन्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गरेका थिए । अमलेखगन्ज र भीमफेदी सडकबीचमा पर्ने चुरिया सुरुङ खन्नुपर्ने वा बक्स कटिङ गर्नुपर्ने बाध्यता थियो । बक्स कटिङ गर्न उपकरणहरू नभएकाले मानिसद्वारा सुरुङ खनिएको थियो । चुरियामाई मन्दिर पनि इन्जिनियर थापाले नै बनाएका हुन् । सपनामा उनले त्यसै स्थानमा देवी देखेको र पूजाआजा गरेर मात्र सुरुङ खन्नू भनेकाले विधिपूर्वक पूजा गरेर सुरुङ खन्ने काम गर्नुको साथै मन्दिर पनि बनाएको हो ।

उक्त सुरुङको संरक्षण गर्ने उद्देश्यले हेटौँडा उपमहानगरपालिकाले सुरुङको इतिहास, चुरियामाई मन्दिर स्थापनाको कथा र संरक्षणको डिजाइन तयार पारिरहेको छ ।

सुरुङ निर्माणका बेला ‘यस क्षेत्रका बासिन्दाहरूले गीतै बनाएका थिए, ‘हाम्रा राजा क्या अक्कलदारी, ल्याए मोटर चुरेमा भ्वाङ पारी ।’ भीमफेदीबाट काठमाडौँ आवत—जावत गर्न निर्मित उक्त सुरुङले त्यति बेला नेपालीहरूको जनजीवनलाई निकै सहज बनाएको थियो । ‘त्यति बेला यो सुरुङ नभएको भए भीमफेदीसम्म साना र हलुका सवारी साधनहरू आवत–जावत नै गर्न सक्ने थिएनन्,’ महाशाख प्रमुख महर्जनले भने, ‘यही सुरुङ भएर विश्वविख्यात भूगर्भविद् डा. टोनी हेगेन आफ्नो साना गाडी छिराएर भीमफेदीसम्म आइपुगेका थिए । भीमफेदीबाट उनको गाडी पनि बोकेर काठमाडौँ लगिएको थियो ।’

डा. टोनी हेगनले ‘नेपाल’ मा २४ अक्टोबर १९५० का दिन मानव निर्मित सुरुङ देखेर आफू आठौँ आश्चर्यमा परेको लेखेका छन् । उक्त पुस्तकमा उनले लेखेका छन्, ‘नेपालभन्दा ठूलो भारतले पनि सुरुङ प्रविधि भित्र्याउन नसकेको अवस्थामा नेपाल सफल भएको छ ।’

तत्कालीन सडक विभागका चिफ इन्जिनियर दीप्तिजंग थापाद्वारा लिखित पुस्तकका अनुसार चिफ इन्जिनियर डिल्लीजङ्ग थापाले आफ्नो कार्यकालमा मुलुकमा १२ वटा महत्त्वपूर्ण भौतिक संरचनाको डिजाइनका साथै निर्माण गराएका थिए । चुरिया सुरुङ, हेटौँडा—काठमाडौँ रोपवे, विसं १९९० सालको भूकम्पपछि भत्किएको धरहराघण्टाघरको पुनर्निर्माण, काठमाडौँमा रहेका राणाजीहरूका दरबार, नेपालको प्रथम कार्यालय डिल्लीबजार चारखाल अड्डा, नेपालको प्रथम रेलवे जनकपुर–जयनगर रेलवे निर्माण गर्नुका साथै १९९० को भूकम्पबाट भत्केको शीतल निवासको पुनर्निर्माण गरेका थिए ।[४]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "यो हो देशकै पहिलो सुरुङमार्ग", हिमालमिडिया प्रा.लि., अन्तिम पहुँच आइतबार, मंसिर १, २०७६ 
  2. Gartaula, Gopal (२०१९-११-१३), "Nepal's first, and forgotten, tunnel", Nepali Times, मूलबाट १६ नोभेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-११-१६ 
  3. https://www.onlinekhabar.com/2018/06/683058
  4. https://www.kantipurdaily.com/koseli/2017/05/06/20170506095327.html