लिम्बुवान–गोरखा युद्ध
लिम्बुवान–गोरखा युद्ध बि.स. १८२९ देखि १८३१ सम्म गोरखाका राजा र लिम्बुवानका विभिन्न राज्यका शासकहरूबीच लडिएका लडाइहरूको शृङ्खला हो। गोर्खाहरूले माझ किराँत (खम्बुवान राज्यहरू) र वाल्लो किराँतहरूमाथि विजय हासिल गरेपछि उनीहरूले लिम्बुवानलाई दुईवटा मोर्चामा आक्रमण गरे। एउटा मोर्चा चैनपुर (वर्तमान सङ्खुवासभा जिल्ला) र दोस्रो मोर्चा विजयपुर (वर्तमान धरान, सुनसरी जिल्ला) मा थियो। विजयपुर लिम्बुवान याक्थुङ लाजेको मोरङ राज्यको राजधानी थियो।[१]
लिम्बुवान–गोरखा युद्ध | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
नेपालको एकीकरणको भाग | |||||||||
| |||||||||
योद्धा | |||||||||
पृथ्वीनारायण शाह |
कामदत्त सेन |
विजयपुर कब्जा
सम्पादन गर्नुहोस्अभिमानसिंह र पारथ अम्बरपुर (सप्तरी)मा रहेर त्यहाँबाट कोशी तरी विजयपुर दखल गर्ने साइत पर्खेर बसिरहेका वेला राजा कर्ण सेन र दिवान बुद्धिकर्ण राय विजयपुरमै थिए। उनीहरू दुवै हिउँद नलागी गोरखालीले विजयपुर आक्रमण गर्दैनन् भन्नेमा ढुक्क थिए। त्यसै समय राजा कर्ण सेन आफ्ना जहान पूर्णियामा पुर्याएर आउँछु भनी गए। तर‚ फर्किएर आएनन्।
मध्यवर्षादको उर्लंदो भेलमा अभिमानसिंहले गोरखाली सेनालाई हात्तीबाट कोशी पार गराई विजयपुरमा हमला गरे। हमलापछि बुद्धिकर्ण भागे। ८५ जना लिम्बू सैनिकको मृत्यु भयो। विजयपुर गोरखालीको अधीनमा पुगेपछि १० लिम्बुवानका लिम्बूहरूले सरदार रामकृष्ण कुँवरलाई अरुण पार चैनपुरमा बोलाए । त्यसपछि अभिमानसिंह बस्न्यातको नेतृत्वको फौजले पल्लोकिरातमा पुगी उत्तरतिर तिब्बतको सिमाना र पूर्वमा तमोर नदीसम्म अधिकार गरे ।[२]
विजयपुर गोरखालीको अधीनमा आइसकेपछि पृथ्वीनारायण शाहले योगी भगवन्तनाथलाई विसं १८३१ भदौ सुदी ६ शुक्रबार काठमाडौंबाट लेखेको पत्रमा ‘किरातको अम्बल मदेश पहाड भोट जति थियो. आफ्ना आशिर्वादले सवै फत्य भयो. मध्येशमा कनकाई नदी पहाडमाहा सभा खोलो तमोर नदीका साध लाग्यो. मानिस काट्न पाइयेयन. भाग्यो कति मोगलानतिर गयो. कति सुखिमतिर गयो. अरु झार जलमाँहा ८५ वेसि काटिया’ भन्ने उल्लेख छ [३]। यसले युद्धमा ज्यान बचाएर लिम्बूहरू सिक्किमको शरणमा पुगेको भन्ने स्पष्ट हुन्छ।
नुनपानीको सन्धि
सम्पादन गर्नुहोस्वि.सं. १८३१ साउन २२ गते लालमोहर सन्धि हुने भएपछि
विजयपुरका प्रतिनिधिहरू श्रीसुन राय, श्रीफुङ राय र श्रीजंग रायले एउटा ठूलो तामाको खड्कुलोमा सङ्लो पानी खन्याई नुन हाली तामाकै डाडुले घोली अभिमानसिंहलाई पानीबाट नुन झिक्न लगाए। अभिमानसिंहले बिलिसकेको नुन झिक्न असम्भव छ भन्ने जवाफ दिंदा किरात प्रतिनिधिले भने, ‘तिमीहरूले हामी किरात वंशलाई तिम्रो वंशमा मिलाउनु भनेको नुन पानीमा विलीन भई पानी भए जस्तो भई हामी किरात वंश पनि गोरखा वंशमा मिली विली गोरखा वंश हुनु भनेको हो। हामी सर्तसहित मिसिन तयार भयौँ । तर, हामी मिसिँदा तिमीहरू पनि पूर्ववत् पानीजस्तै पानी मात्र रहेनौ ।’
किरात प्रतिनिधिले सेन मकुवानीले दिएको थिति बमोजिम आफ्नो थितिमा कुनै प्रकारको गडबडी नगरी आफ्ना पितापुर्खाका पालादेखि पाइखाई ल्याएको थिति बमोजिम जग्गा भोग गर्न दिने हो भने गोरखालीसँग मिल्ने प्रस्ताव गरे। मिलिसकेपछि आफ्नो वंशलाई हेला गरे, थिति बिगारी जग्गा खोसेर लगे नुन पानीमा विलाएर हराए झैं गोरखाली वंशको नाश होस् भनी कसम खान प्रस्ताव गर्दा गोर्खाका पृथ्वीनारायण शाहको तर्फबाट अभिमानसिंह बस्नेत, पारथ भन्डारी, किर्तसिंह खवास र बलि बानियाले नुन-पानीको सपथ लिन मन्जुर गरे । एक–एक अञ्जुलि नुनपानी लिएर ‘तिमीहरूको लिम्बुवानको पुर्ख्यौली भूमि जफत गरेमा र तिमीहरूको अहित चिताउने काम गरेमा, यदि तिमीहरूलाई नस्ट गरी अहित चिताउने, धोका दिएमा गोर्खा राजा र तिनका उत्तराधिकारीहरू जुन ईश्वरको निर्भरमा छन्, उनै ईश्वरले तिनीहरूको राज्य पनि भंग गर्ने छ’ भनी सपथ लिए । लिम्बुवानको तर्फबाट पनि नुनपानी अञ्जुलिमा लिएर ‘लिम्बुवान र गोर्खा (नेपाल) बीचको लालमोहर सन्धि उल्लंघन नभएसम्म तिमीहरूको राजाको विरुद्धमा जाँदैनौँ’ भनेर सपथ लिए ।
यो सपथ लिएपछि लिखित लालमोहर लिम्बुवान पक्षलाई गोर्खालीहरूले हस्तान्तरण गरे । यही प्रक्रिया नै ‘नुनपानीको सन्धि’ भनी इतिहासमा उल्लेख भएको छ ।[४][५]
लालमोहर
सम्पादन गर्नुहोस्लालमोहरको पूर्ण पाठ (चेम्जोङ, २०६३ः १७५; राजवंशी, २०२५ः २९, श्रेष्ठ, २०५२ः ५३; माबुहाङ, २०६३ः ३८; कुरुम्बाङ, २०६५ः ३४
“ | स्वस्ति श्री गिरिराज चक्रचूडामणि नरनारायणेत्यादि त्यादि बिबिध विरुदावली विराजमान मनोन्नत श्रीमन माहाराजाधिराज श्री श्री श्री महाराज पृथ्वीनारायण शाह बहादुर शमशेर जङ्ग देवानाम सदा समर विजयीनाम------------------------------------------------------------------
स्वस्ति श्री आगे राजभारा सामर्थ श्री सुन राय, श्री कुम राय, श्री जुङ (फुङ) राय, अरु सबै गैह्र लिम्बू रायके पूर्ण मोहोरको पत्र यथोचित--------------------------------------------------------- उप्रान्त... ... मिल... ... मिलन्तम् यहाको लागि ताहाँलाई कुशल चाहियो । मेरो धर्म मन भलो छ । तिमीहरू हिजु पनि पिछा बक्सेका हौ । तिम्रा मुलुक हाम्रा प्रतापले... ... तिमी तुतु तुम्याङ याकहाङ्ग सन्तान हौ । आज त्यो मुलुक हाम्रा भयो तापनि तिमीहरू हाम्रै छौ । तिम्रा जाहनका पिछा हामीले लियौं । जजसको जे जे तिम्रा खाइन पाइन र लुङवाङगड सिङवाङगड असुद्धलाई सब खत बात सभा शुद्ध गरी खानामा हिजुको तिम्रा मुलुकभित्रको सबै थामिबक्स्यौं । तिमीहरू हाम्रा भारदारसँग सामेल रहौ र मद्दत सघाई हिजु आपै आप आपुङगी बसी आये बमोजिम त्यो मुलुक सम्भार गरी जिमी भूमि रहन्ज्याल तिम्रा शाखा सन्तानतक भोग्य गर । अरु नौलाख के पटि होइन के अर्थले हो भन्या अरु राजा मासिने हुँदा तिमीहरू राजा नै भन्ने नमासिने हौ । यो तिमीहरूको नीति हामीले जानेको छ । तर कुराको बिस्तार तिम्रा नाभीमा बसेकोले तिनले गर्यो । सुखिमको र हाम्रो घर नभायाको हो । हाम्रो भलो मानिस र चौधरीले बोल कुरा गरी गयाको छ । उनबाट कुराको बिस्तार बुझौला । मिली तिमीहरू आप आपुङगी खाइन पाइन माथि लेखे बमोजिम जिमी भूमि जानी चलन गरी खानू । हामीले खोसे मासे मानी पुजी ल्याएको देवताले हाम्रो राजकाज भङ्ग गरोस् भन्या तावापत्रको तसल्ली मुलुकी लालमोहर बाँधी माथि लेखिन्ये लिम्बू कुल भाइलाई दियौं । इति सम्वत् १८३१ साल मिति श्रावण सुदि २२ रोज २ बार मुकाम कान्तिपूर राजधानी शुभाय शुभम् । |
„ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Saul Mullard, D.Phil (2009) from the Department of South and Inner Asia, University of Oxford, "Opening of the Hidden Land, State Formation and the Construction of Sikkimese History" Rachana Books & Publications, Development Area, Gantok, Sikkim 737101,1979
- ↑ बाबुराम आचार्य (२०६१), श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पृ: ४२१-४२२।
- ↑ योगी नरहरिनाथ (२०५५), इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह, भाग १, पृ: ६-७।
- ↑ माखिम, खगेन्द्र, "लिम्बुवान–गोर्खा लालमोहर सन्धिको ताॽधक्", chetlung।
- ↑ दिक्पाल, राजकुमार (बुधबार, मंसिर १४, २०७९), "गाेरखालीले सजिलै जितेको थिएन लिम्बुवान"।