समुन्द्र सतहदेखि १७०० मिटर उचाइमा ३४ सय हेक्टरमा फैलिएको रेसुङ्गा क्षेत्र गुल्मी जिल्लाका एघार गाविसमा पर्छ। प्राचीन युगमा ऋष्यशृंग ऋषि (जसले अयोध्याका राजा दशरथको सन्तान नजन्मेपछि पुत्रेष्ठी महायज्ञ गराएका थिए । र बल्ल भगवान राम लगायतका उहाँका भाइहरू जन्मनुभएको थियो ) ले तपस्या गरेको कारण यसको नाम रेसुङ्गा रहन गयको विश्वास गरिन्छ । सिद्धबाबा, विष्णु, शिव, गणेश लगायतका विभिन्न देवीदेवताका मन्दिरले पनि यो ठाउँको धार्मिक महत्त्वलाई बढाएका छन्। यहाँ भगवान राम र लक्ष्मण पनि ऋष्यशृंग ऋषिको दर्शन गर्न आएर यहाँ के को समस्या छ भनि सोध्दा पानीको समस्या ऋषिले बताएपछि आफ्नो धनुबाणले हानेर पानी निकालीदिएको रामकुवा पनि छ ।

रेसुङ्गामा निर्माण गरिएको भ्यू टावर

रेसुङ्गाबाट उत्तरतिर हेर्दा एकैदिनमा पुगिएला जत्तिकै नजीकमा अन्नपूर्ण प्रथम, दोस्रोतेस्रोका साथै धवलागिरी, माछापुच्छ्रे लगायत १५ भन्दा बढी हिमाल देखिन्छन्। सूर्यास्तको बेला धवलागिरीको छायाँ त रेसुङ्गामै पर्दछ। चिसो हावापानी, घना वन र जैविक विविधताले त्यत्तिकै आकर्षित गर्छ। यो क्षेत्रको भ्रमणका लागि मङ्सिरदेखि वैशाखसम्मको समय उपुक्त मानिन्छ।

पुग्ने कसरी? सम्पादन गर्नुहोस्

 
रेसुङ्गामा भएको एक पोखरी

बुटवल वा पोखराबाट बस चढेर पाल्पा, तानसेन पुग्न सकिन्छ। पाल्पाको पश्चिम-उत्तरतिर ७९ किलोमिटर पक्की सडकमा साढे दुई-तीन घण्टाको बस यात्राबाट पुगिन्छ गुल्मीको सदरमुकाम तम्घास। तानसेनको काखैमा ढल्किएको छ, रेसुङ्गा पर्वत। तम्घासबाट एकघण्टाको हिँडाइमा सजिलै रेसुङ्गा पुगिन्छ। अथवा यो हिँडाइ पनि बढी लाग्छ भने, अझ्ै माथिसम्म पनि गाडी जानसक्छ, जम्मा २० मिनेट हिँडेर रेसुङ्गा पर्वतको शिखरमा पुग्न सकिन्छ।

प्राकृतिक सौन्दर्यका अलावा गुल्मी व्यावसायिक कफी खेतीका लागि पनि प्रसिद्ध छ। रेसुङ्गा पुगिसकेपछि एक घण्टाको हिँडाइमा जुभुङ्ग गाविस पुगी कफीका बोटबिरुवा र उत्पादन प्रक्रिया पनि हेर्न सकिन्छ। यहाँको कफी जापानलगायतका मुलुकमा निर्यात हुन्छ।

एकैदिनमा रेसुङ्गा घुमेर बास बस्न साँझ् तम्घास फर्किन सकिन्छ। अथवा रेसुङ्गामै पाल टाँगेर पनि रात बिताउन सकिन्छ। यहाँ हालै मात्र होटल पौवा प्रालीले रिसोर्ट सुरु गरेको छ । मनोरम स्थानमा रिसोर्ट बनेपछि रेसुङ्गाको भ्रमण गर्नेहरुका लागि झन सहज बनेको छ । रेसुङ्गामा अब आध्यात्मिक पर्यटन प्रवद्र्धन गर्न सघाउ पुग्ने देखिन्छ ।

भोलिपल्ट फर्केर तानसेनतिर आउँदा डेढघण्टा जतिमा कालीगण्डकी र रिडी खोलाको सङ्गम रिडी आइपुगिन्छ। धार्मिक दृष्टिले नेपालका बराहक्षेत्र र मुक्तिक्षेत्रको समकक्षमा आउने रूरूक्षेत्रको रिडीमा ऋषिकेशव, रूरू कन्या, भृगुतुङ्गेश्वर लगायत ४० भन्दा बढी मन्दिर घुम्न करिब दुई घण्टा लाग्छ। माघे सङ्क्रान्ति, कात्तिक-एकादशीलगायत ग्रहण आदिमा रिडी, कालीगण्डकीमा स्नान गर्दा पुण्य प्राप्तिका साथै आत्मसन्तुष्टि मिल्छ भन्ने विश्वास छ। रिडीबाट फर्किने क्रममा बाटोमै पर्ने पाल्पाको रणउद्देश्वरी मन्दिर ,भैरवस्थान मन्दिरको दर्शन गर्न सकिन्छ, जसको प्रमुख विशेषता ठूलो त्रिशूल हो। थप दुई दिनको समय छ भने, रेसुङ्गाबाट फर्केर पाल्पाको प्राकृतिक सुन्दरता र मगर संस्कृतिको नजीकबाट अवलोकन गर्न सकिन्छ। तानसेनबाट चारघण्टाको पैदल बाटोमा पुगिने नेपालको ताजमहल रानीमहल गएर फर्किन सकिन्छ। वि.सं. १९५०-५४मा पाल्पाका बडाहाकिम खड्ग सम्शेरले आफ्नी प्रेमिकाको नाममा निर्माण गराएका यो महल तानसेनबाट उत्तरतर्फ कालीगण्डकीको किनारमा ढुङ्गाको पहरामाथि बनाइएको छ।

पाल्पापछि सिद्धार्थ राजमार्गबाट पोखरा निस्किन पनि सकिन्छ। अथवा ३९ किलोमिटर तल बुटबल जाने हो भने जितगढी, मणिमुकुन्द सेनको दरबार र पार्कहरू हेर्न सकिन्छ। बुटवलबाट केही पूर्व गौतम बुद्धको मामाघर रहेको ठाउँ देवदह, भैरहवादेखि २२ किमि पश्चिम बुद्धको जन्मस्थल लुम्बिनी र अझ्ै पश्चिम कपिलबस्तुस्थित तिलौराकोट दरबारको भ्रमण गर्न सकिन्छ। यहाँबाट भैरहवा वा बुटवल फर्केपछि देशका जुनसुकै ठाउँमा पुग्ने यातायातको सुविधा उपलब्ध हुनेछ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्