क्यानोनिङ नेपालमा हाल व्यावसायिक रूपमा विकसित हुँदै गएको साहसिक खेल हो । डरलाग्दो चट्टानी पहरामा डोरीको सहायतामा झुण्डिदै हाम्फाल्दै चिप्लिदै झरनाखोलाका छाँगाबाट खस्दै खेलिने साहसिक खेल क्यान्योनिङ नेपालमा साहसिक पर्यटकीय आकर्षणका रूपमा विकसित हुँदँछ । युरोपअमेरिकामा निकै लोकप्रिय यो अति साहसिक खेल नेपालका पहाडी र हिमाली भेगमा प्रशस्त मात्रामा हुने झरना र खोलाको छाँगाका कारण नेपाल नयाँ पर्यटकीय आकर्षणका रूपमा विदेशीहरूको रोजाइमा परेको छ । साहसिक खेलको रूपमा विकसित क्यान्योनिङ अग्ला झरनाबाट डोरीको सहायताले झुण्डिदै झर्ने अवरोहण गर्ने खेल हो । चिप्लिने, हाम्फाल्ने, पौडिने र झर्ने यसको मुख्य विशेषता हो । ज्यानको बाजी लगाएर गरिने यो कठिन र जोखिमपूर्ण खेल हो । क्यानोनरलाई हेलमेट, हार्नेस, वेटसुट, डोरी, जुत्ता र झोला सहितका सामग्री आवश्यक पर्दछ ।

सुन्दरीजलमा क्यान्योनिङको मज्जा लिँदै एक पर्यटक
नेपालमा क्यानोनिङ

हिमाल आरोहण, पदयात्रा, जलयात्रा र रमणीय प्राकृतिक सौन्दर्यका कारण विकसित नेपालको पर्यटन क्षेत्रमा पछिल्लो समयमा पर्यटक लोभ्याउने नयाँनयाँ गन्तब्य सम्पदा र खेलले पर्यटक तान्ने क्रममा क्यान्योनिङको प्रवर्द्धन हुन थालेको हो । राफ्टिङ, प्याराग्लाईडिङ, अल्ट्रालाईट बेलुनमा उड्ने, बन्जी जम्पिङका साथै ज्यानकै बाजी लगाएर खेलिने क्यान्योनिङ खासगरी युरोप अमेरिका र अपि्रुकी मुलुकका पर्यटकका लागि आकर्षण बनेको छ । विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने मर्स्याङ्दी उपत्यका, भोटेकोसी नदी, सुनकोसी नदी, सुन्दरीजलककनीमा चट्टानी पहाराबाट झर्ने झरना र खोलाका छाँगाहरू क्यान्योनिङ गर्ने प्रमुख स्थल हुन् । हिमालपारीको जिल्ला मनाङको फू गाविसमा हिमालबाट झर्ने ५,२१५ मिटर उचाइको लुगा खोलाको छाँगा क्यान्योनिङको लागि विश्वकै सबैभन्दा उचाइको भनी पहिचान भएको छ । नेपाली प्राविधिक प्रशिक्षक टोलीले सो छाँगा व्यवहारिक रूपमै क्यान्योनिङ गर्न उपयुक्त भएको सफल परीक्षणपछि नेपाल विश्वमा क्यान्योनिङका लागि नयाँ र सर्वाधिक रोमाञ्चक गन्तब्य बन्ने भएको छ । उक्त झरनाको सिधा लम्बाई ५२५ मिटर छ । खेल गर्ने झरनाको शिर ५२३६ मिटर र फेद ४६९० मिटर उचाइमा पर्छ । सानो ठूलो गरी झरनामा १५ स्टेप छन् दुई ठाउँमा मात्र उद्धार गर्न सकिने खोँच छ ।

क्यान्योनिङको व्यावसायिक तालिम फ्रान्सबाट लिएका राजेश र कविन्द्र नेपालकै पहिलो क्यानोनर प्राविधिक प्रशिक्षक मानिन्छन् । क्यानोनर प्राविधिक र गाइड नेपालमा नगन्य छन् । एडभान्स तालिम लिएका जनक लामा दोमी शेर्पा जाङवु शेर्पा सुमेक अधिकारी रत्नमान तामाङ प्रशिक्षकका रूपमा कार्यरत छन् । अन्य १२ जनाले यस सम्बन्धी आधारभूत तालिम लिएको बताइन्छ ।

वर्षेनी लाखौं विदेशी पर्यटक नेपाल भित्रिन्छन् । नेपालमा अरनिको राजमार्गमा पर्ने भोटेकोसी उपत्यकालाई क्यान्योनिङप्रेमीका लागि लुकेको स्वर्गझै अद्वितियस्थलका रूपमा लिइन्छ । राजधानी काठमाडौंबाट १०० करिब किमी टाढा यो उपत्यका बाह्रबीसेबाट १५ किमी दुरीमा पर्छ । यहाँका काभ्रे, हाडी, जम्बो, ग्यालुङ र फाङफुङ खोला क्यान्योनिङ गर्ने प्रसिद्ध प्रमुख आकर्षकस्थल हुन् । सडक नजीक, छोटो यात्रा, उपयुक्त तापक्रम तथा सिकारु र व्यावसायिक सबैलाई भोटेकोसी सजिलो र सस्तो गन्तव्य मानिन्छ । नेपालमा स्वदेशी विदेशीको ६० प्रतिशत क्यान्योनिङ भोटेकोसीमै हुने बताइन्छ । औसत चार दिनको प्याकेज हुने यहाँ सिकारुको लागि तीन गाइडले १६ जना सम्मलाई खेलाउन सक्छन् ।

पदयात्राको लागि विश्वमै प्रख्यात अन्नपूर्ण चक्रीयमार्गको लमजुङमा पर्ने मर्स्याङ्दी उपत्यका छेउछाउका खोला र झरना पनि क्यान्योनिङप्रेमी पर्यटकको रोजाइमा पर्छन् । लमजुङको सदरमुकाम बेसीसहरबाट छोटो सडक र पदयात्रापछि पुगिने भुलभुले, कविन्द्र, चिप्ला, तातोपानी, रेन्दु, स्याँगे, जगत, च्याम्चे तालसाचुप झरना साहसिक एवम् व्यावसायिक खेलाडीले बढी रुचाउँछन् । एउटा गाइडले छ जनासम्मलाई खेलाउन सक्ने यहाँको चार हजार २०० मिटरमा पर्ने च्याम्चे झरना क्यान्योनिङ गर्न संसारकै सबैभन्दा लामो दूरीको मानिन्छ । दुर्गम पहाडी हिमाली क्षेत्रको यहाँको प्याकेज हप्ता दिनको हुन्छ । तर खेलाडीको सङ्ख्या यस क्षेत्रमा न्यून हुने गरेको बताइन्छ ।

छोटो समयको लागि काभ्रेपलाञ्चोकको सुनकोसी-तिमालक्षेत्रमा पर्ने बोल्दे, कल्लेरी, बन्दिवा र टाङटुङ खोला पनि यो साहसिक खेलको केन्द्र बनेको छ । काठमाडौंबाट ३५ किलोमिटर दुरीको नुवाकोट जिल्लाको ककनीमा पर्ने सिस्नेरी छहरे १४५ मिटर र फुङफुङे १८५ मिटर पनि व्यावसायिक छोटा र सहज मानिन्छन् ।

वार्षिक एक हजार २०० जतिले नेपालमा क्यान्योनिङको मज्जा लिने गरेको अनुमान छ । यस रोमाञ्चक खेलका लागि उपकरण सामग्री गाइड खानेबस्ने र प्राविधिक सहित दैनिक एक विदेशी पर्यटकलाई ८० डलर खर्च लाग्छ । दुर्गम बस्ती प्रविधि उपकरण र समूहमा नहुँने हुँदा यो खर्चिलो छ । असोजदेखि जेठसम्मको मौसम यो खेलको लागि उपयुक्त मौसम हो । नेपालमा बोर्डरल्यान्ड र द लास्ट रिसोर्ट जस्ता कम्पनीले सन् १९९६ देखि भोटेकोसीमा क्यान्योनिङको व्यावसायिक सुरूवात गरेका हुन् । भोटेकोसीमा बन्जी जम्पिङ आउनेलाई एक दुई समूह गर्दै प्राकृतिकस्थलमा डोरी बाँधेर भोटेकोसी क्षेत्रमा यो खेल सुरू गरिएको हो । सन् २००२ देखि २००७मा फ्रान्सेली टोलीसँग मिलेर फ्रेन्डस एडभेन्चर टिम प्रालि लगायतले मर्स्याङ्दी र काभ्रेका नयाँ क्षेत्र क्यान्योनिङको लागि उपयुक्त भएको भनी यसको विकास गरे । नेपाल क्यान्योनिङ एशोसिएसनले पनि फ्रान्सेली टोलीसँग मिलेर भोटेकोसी जस्ता क्षेत्रहरूमा यसको विकास गरेको छ । सन् १९९९मा फ्रान्सबाट आएका मौरिस डुमेन जो गुफा सम्बन्धी विशेषज्ञ थिए उनले अन्नपूर्ण पदयात्रामा जाँदा मर्स्याङ्दीको स्याँगे झरनाको फोटो लिएर आफ्नो देशमा गएपछि नेपालमा क्यान्योनिङ सम्बन्धी विस्तृत अध्ययन र सम्भावनाको खोजी प्रारम्भ भएको यसमा लागेका व्यवसायीहरू बताउँछन् ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्