दरबार हत्याकाण्ड

नेपाली ऐतिहासिक घटना

२०५८ जेठ १९ मा, (सन् २००१ जुन १ तारिखका दिन) राजपरिवारका १० सदस्यको हत्या गरिएको थियो जसलाई दरबार हत्याकाण्डका नामले चिनिन्छ। घटना पश्चात् सार्वजनिक समाचारमा युवराज दीपेन्द्रले राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानेर हत्या गरेर त्यसपछि युवराज दीपेन्द्रले आफैँमाथि गोली प्रहार गरेको भनेर प्रचार गरिएको थियो। अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पिएको थियो। राजपरिवारका सबै सदस्यको सामूहिक अन्तिम संस्कार गरिएको थियो। २०५८ जेठ २२ गते राजा दीपेन्द्रको मृत्युको औपचारिक घोषणा गरिएको थियो र ज्ञानेन्द्र नयाँ राजा घोषित भएका थिए। नयाँ राजाले सर्वोच्च अदालतका प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालिन सभामुख तारानाथ रानाभाट रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाका सम्बन्धमा छानबिन गर्न आदेश दिएका थिए। एक हप्तापछि समितिले राजालाई प्रतिवेदन प्रस्तुत गर्दै त्यसलाई सार्वजनिक गरेको थियो। प्रतिवेदनमा लागू पदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको निष्कर्ष निकालिएको थियो।[]

दरबार हत्याकाण्ड
तत्कालीन नारायणहिटी राजदरबार जसलाई पछि सङ्ग्राहलयमा परिणत गरिएको थियो।
स्थानत्रिभुवन सदन; नारायणहिटी दरबार, काठमाडौँ, नेपाल
मिति२०५८ जेठ १९
लगभग रातको ८ बजे (नेपालको प्रमाणिक समय)
लक्ष्यराज परिवार
वीरेन्द्र शाह
आक्रमणको प्रकार
पारिवारिक हत्या, जन हत्या
हतियारहरू
  • कोल्ट, एम१६ राइफल
  • मेसिन गन
  • ग्लोक पेस्तोल ९ मिलिमिटर पेस्तोल
  • मृत्यु१०
    घाइते

    घटना पश्चात्

    सम्पादन गर्नुहोस्

    घटनालगत्तै सबैलाई हतारहतार छाउनीस्थित सैनिक अस्पताल पुर्‍याइयो । अस्पतालको माहौल निकै तनावपूर्ण बनेको थियो । चिकित्सकहरू घाइतेको उपचारमा व्यस्त थिए । त्यसबेला पोखरामा रहेका तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहसँग पनि सम्पर्कको प्रयास भइरहेको थियो ।[] राजा वीरेन्द्र शाहको सैनिक सचिव विवेक शाहले दरबारका अन्य उच्च कर्मचारी, सेनापति, प्रहरी प्रमुख, गृहका उच्च अधिकारी सबैलाई त्यही बोलाए । प्राधानमन्त्री कोइरालाले पनि पहिले ज्ञानेन्द्र शाहलाई ल्याउनुपर्नेमा जोड दिए ।

    मौसमको प्रतिकूलताले हेलिकोप्टर पोखरातिर जानै सकिरहेको थिएन । कोइरालाले यसबीच चिकित्सकसँग केही कुरा गरे । तत्कालीन अधिराजकुमार शाह बिहानमात्रै आइपुगे। उहाँलाई लिन कोइराला अस्पतालको हेलिप्याडसम्मै पुगे। उनीहरूबीच अस्पतालकै पुस्तकालयमा केही कुरा भयो ।

    तत्कालीन राजा वीरेन्द्रको निधन भइसकेको थियो । नयाँ राजा घोषणा नभएसम्म पूर्वराजाको मृत्यु घोषणा गर्न नमिल्ने प्रचलन थियो । ज्ञानेन्द्र, कोइराला र तत्कालीन राजपरिषदका सभापतिबीच छलफल भयो । अब के गर्नेभन्दा कोइरालाले परम्परा, विधि जे छ, सोहीअनुरूप गर्नुस्, सरकारको तर्फबाट मैले के सहयोग गर्नुपर्छ, गर्छु मात्र भन्नुभयो । अन्तमा तत्कालीन युवराज दीपेन्द्रलाई राजा घोषणा गर्ने र ज्ञानेन्द्रलाई राज्यसहायक बनाएर उहाँबाट देशवासीका नाममा सम्बोधन गर्ने तय भयो ।[]

    नेपाल अधिराज्यको संविधान २०४७ राजगद्दी उत्तराधिकारी सम्बन्धी कानून, रीत र परम्परा अनुसार राज परिषद्को बैठकले युवराज दीपेन्द्र बेहोस अवस्थामा राजा घोषणा गर्यो[] र राजा शारीरिक अशक्तताको कारण कार्यभार संचालन गर्न असमर्थ भएकाले अधिराजकुमार ज्ञानेन्द्रलाई राज्य सहायक घोषणा गरियो।[]तदनुसार, गृह मन्त्रालयबाट सम्बधित पदाधिकारीहरुलाई दिउँसो ३:३० बजे औपचारिक पोशाकमा शवयात्रामा उपस्थित हुन उर्दी जारी गरियो। सिंहदरबार बाहिर आमजनको शोक जुलुसलाई नियन्त्रण गर्न कठिन हुँदा ठाउँठाउँमा कफ्र्यू लगाउने बाध्यता पर्यो । जताततै सुरक्षाकर्मी तैनाथ गरिए पनि सैनिक अस्पताल छाउनीबाट शुरु शवयात्रा जुलुसमा प्रधानमन्त्री र मन्त्रीहरु माथि स्वयम्भू क्षेत्रमा ढुङ्गा बर्सियो । मानिसहरु स्वस्फूर्त शवयात्रामा समेल हुन सडकमा ओइरिए ।[]

    राजपरिवारका सदस्यहरुको पशुपतिनाथ मन्दिर अगाडि राजकीय अन्त्येष्टि गरिएको थियो। राज्य सहायक ज्ञानेन्द्रले २०५८ जेठ २१ मा दिएको शाही सन्देशमा "उक्त घटना आकस्मिक रुपमा स्वचालित हतियार पड्किन गई" भएको बताएका थिए।[]

    अधिराजकुमार ज्ञानेन्द्रको राज्यारोहण

    सम्पादन गर्नुहोस्

    २०५८ जेठ २२ बिहान ३:४५ मा राजा घोषित दीपेन्द्रको मृत्यु भयो। [] [] जेठ २२ गते कर्फ्यु लगाएर दीपेन्द्रको शवयात्रा गरिनु अघि नयाँ राजा ज्ञानेन्द्रको राज्यारोहण गरियो। राज्यारोहणपछि हनुमानढोकाबाट नारायणहिटी दरबारसम्म बग्गीमा चढेर आउँदा  दरबारको नयाँ नेतृत्व विरुद्ध चारै तर्फ नारा-जुलूस भैरह्यो। आक्रोशित भीडले ढुंगाली हानला भनेर प्रधानमन्त्रीलाई नयाँ राजाको बग्गीमा समेत राखिएन। [] बिहानैदेखि काठमाडौंका सहरहरूमा स्वत:स्फूर्त रुपमा ओर्लन थाले। राजा दीपेन्द्रको शव राखिएको छाउनी स्थित सैनिक अस्पताल नजिक मानिसहरू पुगेका थिए। सडकमा उत्रिएका आक्रोशित जनतालाई रोक्न सरकारले जेठ २२ गते दिउसो ४ बजे देखि कर्फ्यु लगायो। कर्फ्यूको समयमा नै सेनाको घेरा भित्र राखी बिना जनसमुदाय राजा दीपेन्द्रको शवयात्रा गरियो। [] ठाउँ ठाउँमा जनताले कर्फ्यू तोडेर जुलूस प्रदर्शन गर्यो। जुलूसमाथि सशस्त्र प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा १२ जना घाइते भए, ४ जना मारिए, र सयुं गिरफ्तार भए।

    उच्चस्तरीय समिति

    सम्पादन गर्नुहोस्
     
    माधवकुमार नेपाल

    शाही सन्देशमा राजा ज्ञानेन्द्रले राजादरबारमा घटेको घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने प्रक्रिया स्वरूप प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेका थिए। उक्त समितिमा सभामुख तारानाथ रानाभाट तथा प्रतिनिधि सभाका विपक्षी दलका नेता माधवकुमार नेपाललाई सदस्य तोकिएको थियो। यस समितिलाई तीन दिन भित्र प्रतिवेदन जाहेर गर्न निर्देश दिइएको थियो।[१०] तर नेता माधवकुमार नेपालले "उक्त समितिमा रहेर काम गर्ने सम्बन्धमा २०५८ जेठ २३ गते बसेको नेकपा (एमाले) स्थायी कमिटीको बैठकले मेरो हकमा उक्त समितिमा रहन नसकिने निर्णय गरेकाले सोही बमोजिम सो समितिबाट राजिनामा जाहेर गरेको छु।" भनेर राजिनामा दिएका थिए।[११] उक्त समितिलाई देहाय बमोजिमका अधिकार प्राप्त थिए;- [११]

    1. घटनास्थालको अवलोकन गर्ने र घटनास्थालाको तस्वीर सहितको विवरण सङ्कलन गर्ने
    2. घटानास्थलमा जमघटका लागि उपस्थित पारिवारिक सदस्यहरू तथा अन्य व्यक्तिहरू, राजपरिवारको सुरक्षा एवं सेवामा खटिएका व्यक्तिहरू, उपचारमा संलग्न रहेका चिकित्सकहरू एवम् परिचारिकाहरू तथा समितिले आवश्यक देखेका अन्य व्यक्तिहरूबाट जानकारी लिन सक्ने
    3. सो घटनासंग सम्बन्धित हतियार, गोलीलागायतका अन्य चिज वस्तुको सङ्कलन र जाँच गर्न सक्ने एवम् घटनाका सम्बन्धमा अस्पतालबाट भएको जाँच परिक्षणको विवरण प्राप्त गर्न सक्ने
    4. घटनाको सम्बन्धमा विशेषज्ञहरूको आवश्यक सहयोग लिन सक्ने
    5. समितिले आफ्नो कार्य सम्पादन गर्न आवस्यक व्यक्तिहरूको सहयोग लिन सक्ने

    उक्त समितिले जेठ २६ गतेबाट आफ्नो काम सुरु गरेको थियो। ३ दिनमा काम नसकिएकाले राजाबाट सो समितिको कार्य अवधि जेठ ३२ गते सम्म ४ दिन थप भएको थियो।[१२] त्यो छानबिन प्रतिवेदनभन्दा पनि मुचुल्का प्रतिवेदन जस्तो थियो, जसमा प्रत्यक्षदर्शीहरुको बयान समेटिएको थियो। नशाले अनियन्त्रित युवराज दीपेन्द्रले नै गोली चलाएर यो घटना भएको भन्ने प्रतिवेदन नै अहिलेसम्मको आधिकारिक मानिन्छ। [१३] समितिले सम्पूर्ण प्रतिवेदनलाई ३ भागमा विभाजन गरेको थियो। पहिलो भागमा समितिको गठन तथा कार्यप्रक्रिया उल्लेख छ। दोस्रो भागमा घटनासँग सम्बन्धित तथ्य एवम् तथ्याङ्कहरुको प्रस्तुति थियो। र, तेस्रो भागमा घटनाको यथार्थ विवरण उल्लेख थियो।

    तर समितिको प्रतिवेदनले आम स्वीकार्यता पाउन सकेन। अहिले पनि सो घटनालाई षड्यन्त्रको विभिन्न आयामको प्रतिफल मान्ने मानिसहरु प्रशस्तै छन्।[१४]

    अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले राजा वीरेन्द्रको असामयिक निधनले अत्यन्त मर्माहत र स्तब्ध भएको बताएका थिए। ह्वाइट हाउसबाट जारी गरिएको बक्तव्यमा भनिएको थियो "राजा वीरेन्द्रको असामयिक निधनले म अत्यन्त मर्माहत र स्तब्ध छु । म रानी ऐश्वर्या र परिवारका अन्य सदस्यहरूको निधनमा शोक व्यक्त गर्दछु र राजाको विस्तारित परिवारमा गहिरो समवेदना प्रकट गर्दछु। यस दु:खद घडीमा म नेपाली जनताप्रति समवेदना व्यक्त गर्दछु। नेपाल सरकार र जनताप्रति हाम्रो प्रार्थना छ।" ।[१५]

    षड्यन्त्रको सिद्धान्त

    सम्पादन गर्नुहोस्

    राजा वीरेन्द्र र उनका छोरा दीपेन्द्र नेपाली जनताद्वारा अत्यन्त लोकप्रिय र सम्मानित थिए।[१६] हत्याकाण्डका दिन ज्ञानेन्द्र पोखरामा थिए भने अन्य राजपरिवारका सदस्यहरू रात्रिभोजसमारोहमा सहभागी भएका थिए। त्यस बेला ज्ञानेन्द्रकी पत्नी कोमल, छोरा पारस र छोरी प्रेरणा राजदरबारको कोठामा थिए। वीरेन्द्रको सम्पूर्ण परिवारहरू मारिँदा ज्ञानेन्द्रको परिवारमा कसैको पनि हत्या गरिएको थिएन।[१७] उनको छोरा सामान्य चोटपटकबाट मात्र लाग्यो र कोमललाई पनि केही भएन जसले गर्दा यसले षडयन्त्रका सिद्धान्तहरूलाई जन्म दिएको थियो।[१८]

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड'ले भारतीय अनुसन्धान तथा विश्लेषण शाखा वा अमेरिकी केन्द्रीय गुप्तचर संस्थाले नरसंहारको योजना बनाएको दाबी गरेका थिए। नरसंहारपछि केही प्रत्यक्षदर्शीको बयान सार्वजनिक भएको थियो, 'युवराज दीपेन्द्रको मुखौटा लगाएका थुप्रै मानिस कुनै बेला कोठामा उपस्थित थिए। हत्याकाण्ड पछि केही प्रत्यक्षदर्शीले 'युवराज दीपेन्द्रको मुखौटा लगाएका धेरै व्यक्ति हरू कुनै बेला कोठामा उपस्थित थिए' जस्ता बयानहरू दिएका थिए। राजपरिवारका केही सदस्यको शव भोजन कक्षमा नभई दरबारमा अन्यत्र फेला परेको थियो भने दीपेन्द्रलाई गोली लाग्ने पहिलो व्यक्तिका रुपमा उल्लेख गरिएको थियो। दरबारका दुई कामदारहरूको अन्तर्वार्तामा आधारित "रक्तकुण्ड" नामक पुस्तक प्रकाशित छ जसमा यी सिद्धान्तहरूको वर्णन गरिएको छ। यी विचारका प्रवर्तकहरूले उक्त नरसंहारमा ज्ञानेन्द्रको हात रहेको आरोप लगाएका थिए र उनको उद्देश राजा बन्ने रहेको आरोप लगाएका थिए।[१९] उनका भतिजा दीपेन्द्र र निराजनलाई उत्तराधिकारीको लाइनबाट हटाएको भए मात्र उनको सिंहासनमा आरोहण सम्भव हुने थियो। त्यति मात्र होइन, ज्ञानेन्द्र र उनका छोरा राजकुमार पारस निकै अलोकप्रिय थिए। हत्याकाण्डका प्रत्यक्षदर्शीमध्येका एक लालबहादुर मगरले यो नरसंहारको मुख्य कारण पारस नै भएको दाबी गरेका थिए। मगर त्यतिबेला युवराज दीपेन्द्रका अंगरक्षकमध्येका एक थिए।[२०]

    सन्दर्भ सामग्रीहरू

    सम्पादन गर्नुहोस्
    1. १.० १.१ "Dipendra kicked his father after he shot him - Nepali Times", nepalitimes.com, मूलबाट २ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मे २०१५ 
    2. २.० २.१ शाह, विवेक (चैत्र १८, २०६६), "दरबार हत्याकान्ड र कोइराला" 
    3. मान्धर, जीतबहादुर, "राज्यारोहणको घोषणा", नेपाल राजपत्र, खण्ड ५१ (अतिरिक्ताङ्क १३)। 
    4. महर्जन, पशुपतिभक्त (२०५८ जेठ २१), "राज्यसहायक श्री ५ अधिराजकुमार ज्ञानेन्द्र वीरविक्रम शाहबाट देशवासीका नाममा २०५८ जेठ २१ गते आइतबार बक्सेको सन्देश", नेपाल राजपत्र, खण्ड ५१ अतिरिक्ताङ्क १४: 2। 
    5. पाण्डे, आत्माराम (१९ जेठ, २०७७), "त्यो दरबार, यो दरबार (सन्दर्भः राजदरबार हत्याकाण्डकाे १९ वर्ष)", हिमालखबर 
    6. महर्जन, पशुपतिभक्त (२०५८ जेठ २१), "नवघोषित श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट २०५८ साल जेठ २२ गते सोमबार देशवासीका नाममा बक्सेको सन्देश", नेपाल राजपत्र, खण्ड ५१ अतिरिक्ताङ्क १४: पृष्ठ १। 
    7. महर्जन, पशुपतिभक्त (२०५८ जेठ २२), "नवघोषित श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहबाट देशवासीका नाममा २०५८ जेठ २१ गते आइतबार बक्सेको सन्देश", नेपाल राजपत्र, खण्ड ५१ अतिरिक्ताङ्क १५ (क): 1। 
    8. महर्जन, पशुपतिभक्त (२०५८ जेठ २२), "श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहबाट देशवासीका नाममा २०५८ जेठ २२ गते सोमबार बक्सेको शाही सन्देश", नेपाल राजपत्र, खण्ड ५१ अतिरिक्ताङ्क १५ (क): 1। 
    9. ९.० ९.१ महर्जन, तुलसीदास, "जनता सडकमा, पार्टीहरू कोठामा", मुल्याङ्कन (८८): पृष्ठ २५। 
    10. महर्जन, पशुपतिभक्त (२०५८ जेठ २२), "श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहबाट देशवासीका नाममा २०५८ जेठ २२ गते सोमबार बक्सेको शाही सन्देश", नेपाल राजपत्र, खण्ड ५१ अतिरिक्ताङ्क १५ (क): पृष्ठ ३। 
    11. ११.० ११.१ महर्जन, पशुपतिभक्त (२०५८ जेठ २२), "श्री ५ महाराजधिराजका प्रमुख सचिवालय राजदरबारको विज्ञप्ति", नेपाल राजपत्र, खण्ड ५१ अतिरिक्ताङ्क १५ (ग)। 
    12. महर्जन, पशुपतिभक्त (२०५८ जेठ २८), "श्री ५ महाराजधिराजका प्रमुख सचिवालय राजदरबारको सूचना", नेपाल राजपत्र, खण्ड ५१ अतिरिक्ताङ्क १५ (घ)। 
    13. Salokya (जुन १, २०१२), "दरबार हत्याकान्डः ११ वर्ष भो, रहस्य खुलेन", Mysansar 
    14. "दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको 'घटनाको यथार्थ विवरण'", नेपाल लाइभ, जेठ १९, २०७७। 
    15. THE WHITE HOUSE Office of the Press Secretary, "Statement by President Bush on Deaths of Nepal's Royal Family", US Department of States 
    16. "Nepalese diaspora fears for future", BBC News, ४ जुन २००१, मूलबाट २२ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मे २०१२ 
    17. "Nepal's errant crown prince", BBC News, ५ जुन २००१, मूलबाट ७ जनवरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मे २००९ 
    18. "Nepal queen leaves hospital", BBC News, २७ जुन २००१, मूलबाट ७ जनवरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मे २००९ 
    19. "Apathy, date quirk make Nepal forget royal massacre", The Times of India, १ जुन २०११, मूलबाट १३ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मे २०१२  वेब्याक मेसिन अभिलेखिकरण १३ मे २०१३ मिति
    20. "Gyanendra, Paras involved in 2001 royal massacre: Report", The Economic Times, डिसेम्बर २५, २००९। 

    बाह्य कडीहरू

    सम्पादन गर्नुहोस्