कुरुक्षेत्र युद्धको पहिलो दिन
कुरुक्षेत्र युद्धको पहिलो दिन दुशासनले कौरब सेना र भीमसेनले पाण्डव सेना हाँकेका थिए। युद्धको कोलाहल गुञ्जियो। ढोलहरू, सिँगहरू, शंखहरू र बिकुलहरू खलबल हुने गरी बज्यो। उन्मत्त हात्तीहरूले तीखो स्वर गरी बिकुल बजाए। लडाकुहरूले सिंहनाद गरेर आवाज निकाले। बाणहरू उज्ज्वल उल्काहरू जस्तै आकाशबाट बर्सिन थाले। बाबु, छोरा, काका भतिजाहरूले पहिलेको प्रेम र सम्बन्धहरू बिर्सेर आफु-आफुमा काटमार गर्न थाले। प्रचण्ड हत्या काण्ड भयो।[१][२]
पृष्ठभूमि
सम्पादन गर्नुहोस्पाण्डवहरूले १२ वर्षको बनवास र १ वर्षको लागि गुतवास पूरा गरेपछि पनि कौरवहरूले पाण्डवहरूलाई उनको राज्य दिन इन्कार गरे। त्यसकारण पाण्डवहरूले लडाई गर्न वाध्यतावश खडा गर्नु परेको थियो, तर श्री कृष्णले युद्ध रोक्न सबै सम्भव हुने सुझाव दिए।
त्यसपछि श्री कृष्ण पाण्डवको तर्फबाट कुरु राज्य सभामा शान्तिदुतका रूपमा गए र त्यहाँ कृष्णले दुर्योधनलाई पाण्डवहरूलाई केवल पाँचवटा गाउँ दिएर युद्ध रोक्न प्रस्ताव गरे। तर जब दुर्योधनले पाण्डवहरूलाई सियोको टुप्पो जत्ति जमिन पनि दिन इन्कार गरे, युधिष्ठिर अन्ततः युद्ध गर्न बाध्य भए। यसरी कौरवले ११ अक्षौहिणी र पाण्डवले ७ अक्षौहिणीह सेना एकत्रित गरे। युद्धको तयारी पूरा गरिसकेपछि कौरव र पाण्डव दुबै कुरुक्षेत्रमा पुगे, जहाँ यो भयंकर लडाई भयो [३]
भीष्म-अभिमन्यु युद्ध
सम्पादन गर्नुहोस्पहिलो दिनको मध्यान्ह कालमा पाण्डव सेनाहरू नराम्रोसँग सिथिल भए। भीष्मको रथ जहाँ-जहाँ गयो त्यहाँ त्यहाँ संहारको नृत्य जस्तै बन्यो। अभिमन्युले सो सहन सकेनन् र उनले भीष्म पितामहलाई आक्रमण गरे। सबभन्दा जेठा र सबैभन्दा कान्छाको बीच युद्ध भएको बेला त्यस द्वन्द युद्ध हेर्न देवताहरू पनि आएका थिए । अभिमन्युको रथमा सुबर्णको कर्णिकार रुख देखिने ध्वजा उज्ज्वल भएर फरफराएको थियो । उनको एउटा बाण कृतबर्मालाई लाग्यो, शल्यलाई पाँच चोटी र भीष्मलाई नै नौ चोटी लागेको थियो । तरबारको धार जस्तो भएको अभिमन्युको बाणहरू मध्य एउटा बाणले दुरमुखको सारथिलाई लाग्यो, उनको छेदन भएको टाउको जमिनमा गुट मुटिएको थियो । अर्को बाणले कृपाचार्यको बाणलाई भाँचि दियो । तमाशा हेर्न आएका देवताहरूले अभिमन्युको पराक्रममा फूल बर्साएका थिए । भीष्म र अन्य वीरहरूले अभिमन्युको प्रशंसा गर्दै ठूलो स्वरले भन्यो –" साँचै नै धनञ्जयको सुयोग्य पुत्र भएको रहेछ" । [४]
तद अन्तर कौरब सेनाहरूले त्यस वीर नवयुबक उपर संयुक्त आक्रमण गरे, तर उनीहरू सबैको अगाडि उनी अविचलित भएर बसेका थिए । भीष्मले प्रहार गरेका सबै बाणहरूलाई अभिमन्युले काटेका थिए । उनले ताकेर हानेको एउटा बाणले ताडिको रुख भएको भीष्मको ध्वजालाई पतन गरिदिए । त्यो देखेर भीमसेनले अति हर्ष गरेर बीर भतिजालाई र्को प्रोत्साहन दिनको लागि सिँहनाद गरेका थिए ।[५]
वीर बालकको बहादुरी देखेर पितामहलाई ठूलो हर्ष भयो । इच्छा नहुँदा नहुँदै पनि त्यस बालकमाथि पूर्ण बल लगाएर भीष्मले आक्रमण गर्नु परेको थियो । त्यस नव-युबक वीर अभिमन्युलाई भरोसा दिन बिराट, उनका छोरा उत्तर, द्रुपदका छोरा धृष्टद्युम्न र भीम आए। सबै मिलेर पितामहलाई आक्रमण गरे र भीष्मको ध्यान अभिमन्युबाट हटाए ।[६][७]
भीष्मले यसपछि पाण्डव सेनाको विनाश गर्न थाले।
राजाकुमार उत्तर र स्वेतको वीरगती
सम्पादन गर्नुहोस्उता राजा शल्य र राजकुमार उत्तर बिच लडाइँ सुरु भयो। राजा बिराटको छोरा उत्तरले हात्तीमा आरोहण गरेर शल्य माथि भयानक आक्रमण गरे। शल्यका रथका घोडाहरू मरे। त्यसो भए पछि शल्यले उत्तरलाई गदाले प्रहार गरे। गदा उत्तरको कवच छेडेर उनको छातीमा छातिमा नै लाग्यो । उत्तरको हातबाट अङ्कुश र तोमर खस्यो र उनी लडेर मरे । तर हात्ती हटेर गएन । त्यसले हमला गर्दै रह्यो । तर शल्यले त्यसको सूँढ काटी शरीरको धेरै ठाउँहरूमा बाणहरूले प्रहार गरे । त्यतिमा पनि हात्तीको जोश साम्य भएन। यस्तो देखेर शल्यले उनको मर्म स्थानहरूलाई वाणहरूद्वारा क्षतविक्षत पारे। अनि त्यो हात्ती ठूलो स्वरले करायो र मर्यो । शल्यले कृतबर्माको रथ चढेका थिए ।
बिराटको जेठो छोरा श्वेतले आफ्नो भाइ उत्तर मरेको देखे। घ्यु होमेको आगो जस्तै उनको क्रोध उठ्यो । उनले शल्य तिर रथ बढाए। तुरुन्तै शल्यको सहायता गर्न रथ चढी सात जना वीरहरू आइपुगे। चारैतिरबाट उनिहरूले शल्यको रक्षा गरेका थिए। श्वेत उपर उनीहरूले बाणहरू वर्षा गराए। शस्त्रहरू बादलमा बिजुलि चम्के जस्तै चम्केका थिए । अपूर्ब सित श्वेतले आफ्नो रक्षा गरेका थिए। श्वेतले शत्रुका सबै बाणहरू बीचैमा रोकिदिएका थिए । उनी माथि प्रहार गरेका गदाहरू पनि सबै काटीदिएका थिए। श्वेतले देखाएको कार्यकुशलतामा दुबै पक्षका योद्धाहरू छक्क परेका थिए। सो बेला दुर्योधनले कुनै समय गुमाएन । शल्यलाई बचाउन फौजहरू पठाएदिए । त्यहाँ धुनधानको युद्ध भयो । हजारौँ सिपाहीहरूको नाश भयो । ध्वस्त भएका रथहरू र मरेका हात्ती घोडाहरू अनगिन्ति थिए । दुर्योधनका मानिसहरूलाई भगाउन शवेत सफल भए । अघि बढेर भीष्मलाई आक्रमण गरे । श्वेतले भीष्मको झण्डा खसालिदिए । भीष्मले पनि श्वेतको घोडा र सारथिलाई मारिदिए । त्यस पछि तिनीहरूले परस्परमा गदा प्रहार गरी युद्ध गरे। श्वेतले गदा रिङ्ग्याएर भीष्ममाथि प्रहार गरे। रथ चूर्ण भयो। तर पितामह भीष्म गदा रथमा लाग्नु अगाडि नै त्यसो हुन्छ भनेर जानेर रथबाट हाम्फालेका थिए। जमिनबाटै धनुष कानसम्म खिचेर भीष्मले श्वेतलाई सांघातिक बाणले हमला गरे । श्वेतलाई सो बाणले लाग्यो र ढली मर्यो। दुशासन सिँग फुकेर खुसी भै नाचे। त्यस पछि भीष्मले पाण्डव सेना माथि ठूलो आक्रमण गरे ।[८]
सूर्यास्त पश्चात
सम्पादन गर्नुहोस्पहिलो दिनको समाप्तिमा पाण्डव पक्षको भारी हानि भयो। प्रथम दिनको युद्धमा पाण्डवहरूको फौजले ठूलो दु:ख पाएको थियो। यता युधिष्ठिरलाई ठूलो चिन्ता लागेको थियो भने उता दुर्योधनको खुसीको सीमाना थिएन। यस दिन पाण्डवले हुने पनि मुख्य कौरव वीरलाई मार्न सकेनन्।[९][१०]
पहिलो दिनको युद्धमा पाण्डवको सेना निकै नष्ट भए। श्रीकृष्णलले सबैलाई ढाडस दिँदै युधिष्ठिरसँग भने-" भरतश्रेष्ठ! तपाईं कुनै पनि पिर नगर्नुहोस् । तपाईंका चारै भाइहरू विख्यात बहादुर छन् । तर फेरि पनि तपाईं त्यसै भय विह्वल भइरहनु भएको छ। तपाईंलाई मद्दत गर्नका लागि विराटराज, पाञ्चालराज, उनका वीर पुत्र धृष्टद्युम्न, म छु भने आत्तिनुपर्ने कुरा के छ? शिखण्डीको एक मात्र लक्ष्य भीष्मलाई मार्ने छ भन्ने कुरा पनि तपाईंलाई स्मरण भएन?" यसरी श्रीकृष्णले युधिष्ठिर र पाण्डव सेनालाई धैर्यधारण गराए।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "कथा महाभारतको तर युद्धको होइन, युद्धरत सैनिकको भोजन प्रबन्धको", देश सञ्चार (नेपालीमा), अन्तिम पहुँच २१ जनवरी २०२१।
- ↑ "महाभारत युद्धका अठार दिन", जागरण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २१ जनवरी २०२१। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२८ मिति
- ↑ महाभारत-गीताप्रेस गोरखपुर
- ↑ "यसरी लेखिएको थियो महाभारत, एक अद्भूत कथा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २१ जनवरी २०२१।
- ↑ "महाभारत युद्धमा मारिएका थिए हजारौं मानिस तर भेटिएन शव", दैनिक अनलाइन (नेपालीमा), अन्तिम पहुँच २१ जनवरी २०२१। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-१६ मिति
- ↑ "मैले दुर्योधनलाई सोधेँ- पाण्डवहरू नर्क गए, तपाईं चैं कसरी स्वर्ग?", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २१ जनवरी २०२१।
- ↑ "रहस्यमयी महाभारतका अद्भुत रहस्यहरू", केन्द्रबिन्दु (नेपालीमा), अन्तिम पहुँच २१ जनवरी २०२१।
- ↑ "यस्तो छ हिन्दू ग्रन्थ महाभारतको इतिहास", थाहा अनलाइन, अन्तिम पहुँच २१ जनवरी २०२१।
- ↑ महाभारत-गीताप्रेस गोरखपुर,भीष्मपर्व
- ↑ "आज गीता जयन्ती", घटना र विचार (नेपालीमा), अन्तिम पहुँच २१ जनवरी २०२१।