रुरु क्षेत्र

रुरु क्षेत्र जसलाई रिडीको नामले समेत चिन्ने गरिन्छ, नेपालको रिडी खोला र कालीगण्डकी नदीको किनारमा अवस्थित एक धार्मिक र सांस्कृतिक स्थान हो। यो स्थानको बारेमा हिन्दू पुराण तथा शास्त्रहरूमा उल्लेख भएको पाइन्छ।[१] यो धार्मिक क्षेत्र गुल्मी, पाल्पास्याङ्जा जिल्लाको सङ्गममा अवस्थित रहेको छ।[२]हिन्दू धार्मिक ग्रन्थ बराह पुराणमा यस स्थानको पौराणिक इतिहास र स्वस्थानी किताबमा यहाँ सतीदेवीको दन्त पतन भएको वर्णन गरिएको छ। नेपालमा रहेका हिन्दू धर्मावलम्बीहरूको चार वटा धार्मिक क्षेत्रहरू (रुरु क्षेत्र, बराह क्षेत्र, पशुपति क्षेत्र र मुक्ति क्षेत्र) मध्ये यो पनि एक हो।[३] यो स्थानलाई नेपालको बनारस भनेर चिन्ने गरिन्छ।[४] लेखक पर्सिवल ल्यान्डनले स्वयं अनुसन्धान गरि लेखेको पुस्तक 'नेपाल'मा बनारसमा उपलब्ध सम्पूर्ण विशेषताहरू यो स्थानसँग मेल खाने भएकोले यो क्षेत्रलाई 'नेपालको बनारस' भनेर उल्लेख गरेका छन्।[५] यो धार्मिक स्थल हिन्दूहरूको लागि पवित्र घाट समेत हो।

रुरु क्षेत्र
हिन्दू पवित्र तीर्थस्थल
देशनेपाल
राज्यलुम्बिनी प्रदेशगण्डकी प्रदेश
जिल्लागुल्मी, पाल्पास्याङ्जा जिल्लाको सङ्गम

माघे सङ्क्रान्तिको तीन दिनसम्म यो क्षेत्रमा 'रिडी मेला' आयोजना गर्ने गरिन्छ। यहाँ आयोजना हुने मेलाको पहिलो, दोस्रो तथा तेस्रो दिनलाई क्रमशः जेठी सङ्क्रान्ति, माइली सङ्क्रान्ति र कान्छी सङ्क्रान्ति भन्ने गरिन्छ।

रुरु क्षेत्रमा रहेको ऋषिकेश परिसरलाई सन् २००८ मा युनेस्कोले सम्भावित विश्व सम्पदा क्षेत्र सूचीमा सामेल गरेको छ। भगवान विष्णुको प्रतीकको रूपमा रहेको शालिग्राम, यस क्षेत्र भएर बग्ने कालीगण्डकी नदीको तटीय क्षेत्रमा पाउने गरिन्छ।

भूगोलसम्पादन

प्राचीन कालदेखि नै पवित्र हिन्दू तिर्थस्थलको रूपमा रहेको यो क्षेत्र गुल्मी, पाल्पास्याङ्जा जिल्लाको सङ्गममा अवस्थित रहेको छ।[२] लुम्बिनी प्रदेशको राजधानी बुटवलदेखि लगभग ७० किलोमिटर उत्तरमा रहेको यो क्षेत्र गुल्मी जिल्लाको प्रवेशद्वार हो। यो स्थान समुद्र सतहदेखि न्यूनतम ५०० मिटरदेखि १६३८ मिटरको उचाइमा रहेको छ। यो क्षेत्रलाई चारै दिशाबाट पहाडले घेरेको र बिचको भाग समथर जमीन रहेकोले यसको प्राकृतिक बनावट उपत्यका जस्तो देखिन्छ।[६]

वि.सं. २०१८ सालको भीषण बाढीसम्पादन

वि.सं. २०१८ सालमा यस क्षेत्रमा आएको भीषण बाढीले गर्दा यहाँ रहेको रिढी बजार पूर्ण रूपमा ध्वस्त बन्न पुगेको थियो। बाढीले गर्दा यहाँ रहेका ऐतिहासिक तथा धार्मिक महत्त्वका सम्पदाहरू लगायत ठुलो धनजनको क्षति भएको थियो। त्यसपछि यहाँ बनेका नयाँ भवन, मन्दिर, पाटी, पौवा तथा बगैचाहरूले यो ठाउँलाई व्यवस्थित बनाएको छ।

नामाङ्कनसम्पादन

रुरुक्षेत्र यो ठाउँको पौराणिक नाम हो। यसलाई रिडी क्षेत्र पनि भन्ने गरिन्छ। यसको नामाङ्कन कसरी भयो भन्ने बारेमा आज धेरै ब्यक्तीहरू बिच मतभेद रहेको पाइन्छ। रुरुक्षेत्र भन्ने नामको सन्दर्भमा रुरु अर्थात मृगले देवदत्त ऋषीको पुत्रीलाई स्तनपान गराइ हुर्काएको कारणले तिनलाई रुरुकन्या भनियो। पछि तिनै कन्याले यहाँ कठोर तपस्या गरी मुक्ती पाएकोले यो ठाउँ उनै कन्याको नामबाट 'रुरुक्षेत्र' भनी चिनिन थाल्यो भन्ने मत पाइन्छ। 'रिडी'क्षेत्रको सन्दर्भमा रुरुक्षेत्र भन्ने शब्द अपभ्रंश भई 'रिडी' क्षेत्र बन्नगएको भन्ने मान्यता पाइन्छ। त्यसैगरी धार्मिक मान्यता अनुसार मानिस जन्मदै तीन वोटा ऋण: देव ऋण,पित्री ऋण र ऋषी ऋण लिएर आएको हुन्छ। जो ब्यक्ती हिमालय देखी बग्दै आएको काली गण्डकीको सँगम अर्थात दोभान(जुन रुरुक्षेत्रमा पर्छ)मा स्नान गर्छ सो ब्यक्तीको पाप पखालिन्छ भन्ने मान्यता रहेकोले यो स्थानलाई ऋणी भनीन थालियो पछि ऋणी भन्ने शब्द अपभ्रम्श भई 'रिडी' बन्न गएको भन्ने धारणा पाइन्छ। त्यस्तै अर्को मान्यता अनुसार 'रिडी' भन्ने शब्द मगर भाषाबाट आएको हो। मगर भाषामा 'री'भन्नाले कालो तथा 'डी' भन्नाले पानी भन्ने अर्थ लाग्छ। अर्थात कालो पानी बग्ने क्षेत्र (कालीगण्डकी )भएकोले यसलाई 'रिडी' भनिएको हो भन्ने तर्क पाइन्छ।

पौराणिक गाथासम्पादन

धेरै समय पहिले रुरुक्षेत्रमा देवदत्त नाम गरेको एकजना ब्राम्हण बस्दथे। उनले कालीगण्डकीको किनारमा आश्रम बनाइ तपस्या गर्नथाले। महात्माको तपस्या धेरै समय सम्म चलिरह्यो । अत्यन्तै कठोर तपस्यामा लागेको देखेर देवराज ईन्द्र सशंकित भई उनको तपस्या भङ्ग गर्नतर्फ लागे। सोही अनुरूप उनले देवदत्तको आश्रममा प्रह्मलोचा नामको अप्सरालाई तपस्या भङग गर्न पठाए। जब देवदत्त उनको ध्यानबाट उपरत भई केही समय यताउती घुम्न थाले तब उनले टाढैबाट भकुन्डो खेली राखेकी अत्यन्तै सुन्दरी प्रह्मालोचालाई देखे। अप्सराको हाउभाउ कटाक्षले मुनी मोहित भए। उनको सुन्दरता प्रति बसिभुतभई विवाहको प्रस्ताब राखे र दुबै जना विवाह बन्धनमा बाँधीइ संसारिक सुखमा बिलिन भए। केही समयको अन्तराल पछि प्रह्मालोचाले एउटी कन्यालाई जन्म दिइन। ततपश्चात उनले आफ्नो उधेश्य पुराभएको सम्झी ति कन्यालाई त्यही आश्रममा छाडेर स्वर्ग गइन। जब देवदत्तले यो कुराको वास्तविकतालाई बुझे तव उनी छाँगाबाट खसे झै भए। उनको हृदयमा तिब्र बैराग जागेर आयो ततपश्चात उनी उत्तरतिरको भृगु आश्रमतिर लागे र भगवान शिवको कठोर तपस्या गर्नथाले। उनको तपस्या देखी भगवान शिव प्रशन्न भई उनको सामु प्रकट भए र आशिर्बाद दिए 'जसले गण्डकीको नदीमा स्नानगरी शिवलिङ्ग(भृगुतुमको)को दर्शन गर्ला उसले राम्रो योगफल तथा शिद्धी प्राप्त गर्नेछ'। यती भनी भगवान शिव अन्तरध्यान भए। देवदत्तले पनि शिवजीबाट आशिर्बाद पाइ आफू मुक्तभएको अनुभब गरे।

प्रह्मालोचाबाट जन्मेकी कन्यालाई पछि मृगले दुध पिलाएर हुर्काए। संस्क्रित भाषामा मृगलाई रुरु भनिन्छ। त्यही रुरुले दुध पिलाएर हुर्केकी कारणले तिनको नाम रुरुकन्या रहनगयो। पछि उनले भगवान नारायणको कठोर तपस्या गर्न थालिन। उनको कठोर तपस्या देखी भगवान नारायण प्रशन्न हुनुभयो र उनको सामु प्रकट भई बारदान माग्न भन्नु भयो। भगवानको यस्तो वाक्य सुनेर रुरुकन्याले बिन्ती गरिन "हे नाथ यदी मलाई बारदान दिनु हुन्छ भने यही चतुरवाहु श्री नारायणको रूपले हजुर यही बिराजमान होइबक्सीयोस र मेरो नामबाट यो क्षेत्र प्रशिद्ध होस् " उनको यस्तो प्रार्थना सुनी भगवानले भन्नु भयो "अब उपरान्त यो ठाउँ रुरुक्षेत्र नामले प्रख्यात हुने छ्। यो क्षेत्रमा जसले स्नान गरेर तीन दिन यहाँ रही चतुरबाहु ह्रिषीकेशको दर्शन गर्छन् त्यो पवित्र हुन्छ भनी भगवान अन्तरध्यान हुनु भयो। (त्यसैले ३ दिन माघे संक्रान्ती मेला लाग्ने गर्छ)। ति रुरुकन्या केही समय त्यही रहिन् र पछि उनले देहत्याग गरिन् र उनले मुक्ती पाइन्। भगवानको आशिर्बादले गर्दा त्यो दिन देखी रुरु क्षेत्र पुण्य क्षेत्र बन्यो। यो क्षेत्र अत्यन्तै पवित्र भयो र रुरु कन्याको नामले रुरुक्षेत्र भनी हिन्दू जगतमा प्रशिद्ध भयो। पश्चिम नेपालको तानसेन बजारदेखि उत्तर-पश्चिममा गुल्मीपाल्पाको सिमानबाट बग्ने पवित्र कालीगण्डकी र गण्डकीको तिरमा अवस्थित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण स्थल हो। यस क्षेत्रमा मणिमुकुन्द सेन द्वारा प्रतिस्थपित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण ऋषिकेश मन्दिर रहेको छ। रिडी यस क्षेत्रको प्रमुख बजार हो।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "नेपालका धार्मिक चार धाम मध्ये रुरु क्षेत्र धाम एक अनौठो इतिहास र महत्व", नौलो टुडे (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-०५ 
  2. २.० २.१ "मृगको दूध पिएर हुर्केकी रूरू कन्या", प्रदेश टुडे (नेपालीमा), २०१९-०४-०७, अन्तिम पहुँच २०२१-०१-०५ 
  3. "गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम नेपालको प्रसिद्ध धार्मिक तिर्थस्थल रुरुक्षेत्र", नेपाल पत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-०५ 
  4. "नेपालको बनारस रूरू (रिडी) क्षेत्र : ‘हिजो आज र भोली’", पबिल न्युज (नेपालीमा), २०१६-०१-१७, अन्तिम पहुँच २०२१-०१-०५ 
  5. "नेपालको भूगोल सम्बन्धी सामान्य ज्ञान", निजामति खबर (नेपालीमा), २०२०-०१-२९, अन्तिम पहुँच २०२१-०१-०५ 
  6. "रुरुमा पितृ मोक्ष बिराट ज्ञान महायज्ञ हुदै", सुदूर पत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-०५ 

बाह्य कडीहरूसम्पादन