ब्रह्मपुत्र नदी
ब्रह्मपुत्र (असमिया - ব্ৰহ্মপুত্ৰ, बङ्गाली - ব্রহ্মপুত্র) एसिया महादेशका ठूला नदीहरू मध्येको एउटा हो। यो नदी तिब्बत, भारत तथा बङ्गलादेश हुँदै बग्दछ। ब्रह्मपुत्र को उद्गमस्थल (चीन)को स्वायत्त शासित प्रदेश तिब्बतको दक्षिण-पश्चिम क्षेत्रमा मानसरोवर निकट चेमायुंग दुंग नामक हिमवाहबाट भएको हो, तिब्बतमा यसलाई यार्लुंग छंग्पो(सांग्पो) नदी भनिन्छ । यो नदी भारतको अरुणाचल प्रदेशमा डिहांग(दिहांग) नामले चिनिन्छ र आसाम राज्यमा ब्रह्मपुत्र नामले। बङ्गलादेश पुगेपछि यसलाई जमुना भनिन्छ। यस नदीले २९०० कि.मी. लामो यात्रा पूरा गर्दछ र यसको पथमा पर्ने सम्पूर्ण क्षेत्रहरूलाई सिंचाई, विद्युत् उत्पादन, यातायात, पेयजल, निर्माण सामग्रीहरू( ढुंगा, बालुवा आदि) प्रदान गर्ने एक मात्र नदी हो। यो नदी बङ्गलादेशमा पुगेपछि गंगा नदीको मूल शाखा पद्मासित मिलेर बङ्गालको खाडीमा गएर टुङ्गिन्छ। संस्कृत मा ब्रह्मपुत्रको शाब्दिक अर्थ ब्रह्माको पुत्र हुन्छ ।
