अजयमेरुकोट
अजयमेरु नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र, महाकाली अञ्चलको डडेलधुरा जिल्लामा अवस्थित अजयमेहरु कोटको नामले नामाकरण भएको एक गाउँ विकास समिति हो। बाइसे राज्य कालिन डोटी राज्यको राजधानी यसै गाविसमा रहेको थियो। डडेल्धुरा जिल्ला अमयमेरु गाविस वार्ड नम्बर ८ हाँटकोट भन्ने स्थानमा बहुचर्चित अजयमेहरु कोट छ। यो कोट अजयमेरु गाउँ विकास समितिको ७, ८ र ९ वार्ड नं.का ३ वटा डाँडाको फेदले छोएको डाँडाको टाकुरामा छ। तीनवटै वार्डहरूले छोएको भएपनि वाड नं ८ को धेरै भूभाग यस कोटभएको स्थलमा पर्दछ । यस कोटलाई स्थानीयहरु हाँटकोट भनेर चिन्दछन् । यो स्थान डडेल्धुरा जिल्लाको सदरमुकामबाट पश्चिम २ घण्टाको बाटो पैदल हिंडेपछि बस्ती र खेतको बीचमा प्राचीन स्थलको रूपमा छ। जसलाई अजयमेहरकोट भन्ने गरिन्छ। यसलाई रणथम्मकोट तथा हाँटकोटको नामले पनि चिनिन्छ। कत्युरी राजवंशका राजा अजयपालदेवले ११औँ शताव्दीको शुरुवात तिर यो दरवारको स्थापना गरेका थिए। यहाँ प्राचीन दरवारको भग्नावाशेष, नाउला देवल, वीरखम्ब कलात्मक सिलिङ्ग राजाको वैठक स्थल सहितका ऐतिहांसिक वस्तुहरु छरिएर रहेकाछन्। अजयमेहरमा रहेका ३ नाउलामध्ये दुई नाउँला भग्न अवस्थामा छन्भने एक नाउला पानीखान प्रयोग भईरहेको छ। रानी नुहाउन जाने सिडी कोटदेखि तल खोलासम्म छ। यस स्थानका नाउला र निरोली, रिसेडीकोट वरपर रहेका नाउलाहरूको वनौट उस्तै उस्तै देखिन्छ। राजा निरयपालदेवका ताम्रपत्र र वि.स.१४१९ सम्मका लेखहरु रहेको यो अजयमेहरु कोट रैका राजवंश का नागीमल्लले वि.स.१४४१ मा कब्जा गरेपछि भने रैका राजा नागीमल्लको कोटको रूपमा चिनिन गयो। त्यसैले यसकोटलाई केही मान्छेहरु राजा नागी मल्लको कोट पनि भन्ने गर्दछन्। वास्तवमा यो कोट कत्यूरी पालराजाहरूले निर्माण गराएको कोट हो। अजयपालको नामबाट अजयमेरुकोट नामाकरण भएको डोटी खोलाको अभिलेखले पनि प्रमाणित गर्दछ।
अजयमेरुकोट | |
---|---|
देश | नेपाल |
अञ्चल | महाकाली अञ्चल |
जिल्ला | डडेलधुरा जिल्ला |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
अजमेरुकोट क्षेत्रको भौगोलिक अवस्था
सम्पादन गर्नुहोस्अजैमरुकोट भएको स्थानको डाँडालाई सर्पले वेरे जस्तै गरी गाड (नदी) ले घेरेको छ। तल गाड देखिमाथि कोट भएको स्थानमा पुग्न १५/२० मिनेटको उकालो उक्लनु पर्दछ। यस कोट भएको डाँडामाथि दरवार र राजाका भाइभारदारहरूको बस्ने स्थानहरु भग्नावशेषको रूपमा छन। दरवारको संरचना सबै भत्केको अवस्थामा छ। यहाँ राजाका घोडा बाँध्ने स्थान छ। यसलाई स्थानीयहरु “घोलिडाँस” (घोडाको तबेला) भन्ने गर्दछन। यस दरवार स्थलको पूर्व दक्षिणबाट तल गाढ (नदी) भएको स्थानसम्म रानीले पानी भर्न र नुहाउन जाने जमीन भित्रबाट कोरेर ढुङ्गाले चिनेर माथिबाट बन्द भएको कोटदेखि गाडसम्म जाँदा अँध्यारो नहोस भन्ने उदेश्यले बनाएका २५ वटा झ्यालहरु भएको प्राचीन सिडि छ। यी सबै कत्यूरी “जाड” राजाले बनाएको हो भन्ने मान्यता छ । यो कोट बनाउदा खलङ्गा गाविस वर्तमान अमरगढी नगरपालीका अन्तरगत सुनेडा भन्ने स्थानबाट तलीगाँ भन्ने ठाउँमा जाने बाटोको दक्षिण तर्फ रहेको “हिराखानी” भन्ने स्थानबाट ढुङ्गा ल्याएर बनाएको भनिन्छ। कोट स्थलको एक किनारमा नागीमल्लद्वारा धामी नचाउँने र तल गाड फाल्ने ढुँङ्गाको खलो छ। कोटस्थलदेखि तल गाडका किनारमा दरवारका मान्छेहरूको वैठकबस्ने वैठकस्थल छ । यसलाई स्थानीयहरु “ओखडेकी” माँडौ भन्ने गर्दछन । गाडको केहीमाथि चेतरामनाथको घर नजिक दुईवटा देवल छन । चेतरामनाथको घर तल वैलवाट भन्ने खेतको नाम करपुटार खेत हो । यसको सिरानमा पानी खाने ३ वटा प्राचीन नाउलाहरु छन। यी ३ नाउला मध्ये एक नाउलामा खेतमा रोपाई भैरहेको अवस्थामा बल्लहरु जुवा र मै सहित आएर पानीखाँदा त्यही डुबे भन्ने किवदन्ती रहेको नाउलो छ । यस करपुटार खेतको गाड तर्फ खेतको किनारमा भैरौ देवताको थान छ । यो भैरौ देवता जाड राजाका पालाको हो । यहाँ श्रीवेताल, र समैजी देवता पनि छन । अजैमरुकोट भएको माटो वेताल देवताको हो । अजैमरुकोटको दक्षिण तर्फ गाडदेखि पारी खजानाकोट छ ।[१]
अजयमेहरु कोटमा दुई राजवंशको राजधानी
सम्पादन गर्नुहोस्- कत्युरी राजवंश
वि.स.१४१९ सम्म अजयमेरु कोट कत्युरी राजवंश का पाल राजाको डोटी क्षेत्रको कोट (दरवार) मानिन्थ्यो ।
- रैका राजवंश
वि.स.१४४१ को अभिलेख रैका राजवंश का नागमल्लको भेटिएका कारण वि.स.१४४१ पछि नागी(नाग)मल्लको कोट अजयमेरु भनियो ।
- अन्जानकाल खण्ड
वि.स.१४१९ देखि १४४१ को अवधि (२२वर्ष सम्म)यस कोट वरपर कुनै प्रमाणहरु नभेटिएको कारण यस बीचको अवधिमा कत्यूरी पाल र रैकाका बीचमा युद्ध भएको अवधि मानिन्छ ।
अजमेरुकोट क्षेत्रमा बर्तमानमा बसोबास
सम्पादन गर्नुहोस्अजैमहरूकोट क्षेत्रवरपर वर्तमानमा नाथ, गौली, विष्ट, सेटी, भुल(सार्की), भाँण, टमट्टा, सुनार, ओड, कठायत, भट्ट र धिक्त जातिका मान्छेहरु बस्छन् ।
नागीमल्लले धामी कमाउने स्थान
सम्पादन गर्नुहोस्दरवार रहेको स्थानदेखि केही वर डाँडामा एक चाक्लो ढुङ्गा छ । त्यसमा निगालाको मोट्टो राख्ने त्यसमाथि धेरै संख्यामा कालिगेडा (रिठाका भित्र रहेका कालाकाला दानाहरु) राख्ने गरिन्थ्यो । यी कालीगेडामाथि काँसाको थाल राखेर त्यो माथि धामी बसेर नाच्नु पर्ने हुन्थ्यो । यसरी नाँच्दा त्यो बसेको स्थान गाडीको चक्का हिँडे जस्तै यताउता सर्ने र बसेको मान्छे धामी काँप्दा पहरोमा खसेर मर्ने गर्दर्थे । यस प्रकार धेरै देवताका धामीहरू मरेका थिए । यही क्रममा वेताल देवताको पालो आए छ । श्री बेताल देवताको धामी बोहरा थरका व्यक्ति थिए । ती बुढा थिए, तिनलाई वेतालको धामी आयो । वेताल देवताको शक्तिले त्यहाँका सबै ढुङ्गा, मोट्टो, कालिगेडा र थाली लाई जाँम गरिदियो र यसै समयबाट नागी मल्लले धामी लाई पैरोमा लोटाएर मार्ने काम रोकियो भन्ने छ । यो अजैमहरु क्षेत्र वेतालको क्षेत्र हो । यस स्थानमा समैजी पछि आएका हुन । समैजी देवता पैलेक गाविसको सिलिङ्ग (मुद्रराण) भन्ने ठाँउको कोलासमैजीबाट एउटा शिला बगेर आएको किवदन्ती छ । यहाँको वेतालको जाँत भाद्रमहिना पूर्णिमाका दिन सरादपक्ष लाग्नु भन्दा पहिले हुन्छ ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्https://www.blpathak.com.np/2020/05/14/डडेल्धुरा-जिल्लाको-अजयमे/ वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-२७ मिति
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ अजैमेहरु गाविस ७ जिजोडा डडेल्धुराका इतिहास व्याख्याता वर्ष ४६का लालबहादुर सुनारका अनुसार