विमल गुरुङ
विमल गुरुङ्ग (अङ्ग्रेजी: Poet Bimal Gurung जन्म २०२८ कार्तिक १९ - मृत्यु २०४८ वैशाख २४) नेपाली कवि हुन् ।[१]
विमल गुरुङ्ग | |
---|---|
जन्म | वि.सं २०२८ कार्तिक १९ गते किङ्गस पार्क अस्पताल, पोलुम, हङकङ्ग |
मृत्यु | २०४८ वैशाख २४ गते जुकेपानी (थानकोट र नौविसेबीच पर्ने ठाउँ) |
मृत्युको कारण | बस दुर्घट्ना |
राष्ट्रियता | नेपाली |
पेशा | लेखन |
चिनारीको कारण | कविता |
उल्लेखनीय कार्य | आत्मघोषणा, स्व. बिमल गुरुङ्गका केही कविता |
गृहनगर | धरान |
मातापिता | पूर्ण बहादुर गुरुङ्ग, सरस्वती गुरुङ्ग |
जीवनी
सम्पादन गर्नुहोस्प्रारम्भिक जीवन र शिक्षा
सम्पादन गर्नुहोस्वि.सं २०२८ कार्तिक १९ गते पिता पूर्ण बहादुर गुरुङ्ग र माता आमा सरस्वती गुरुङ्गको कोखबाट विमल गुरुङ्गको हङकङको किङ्गस पार्क अस्पतालको पोलुममा जन्म भएको हो ।[१][२] बालापनका केही समयहरु र प्रारम्भिक शिक्षा हङ्कङ्ग मै गोर्खा आर्मी चिल्ड्रेन्स स्कूलबाट शिक्षा लिएका उनी वि.सं. २०३६ सालमा आमा बुबाका साथ धरान फर्किए पछि धरान ४ स्थित सेकेण्डरी बोर्डिङ्ग स्कूलमा भर्ना भई एस.एल.सी सम्मको अध्ययन पूरा गरे ।[२] सानै उमेरदेखि विमल अरु केटाकेटी भन्दा फरक स्वभावका भएका कारण खेल, मनोरन्जन तिर भन्दा अध्ययन, चिन्तन र लेखन तिर नै बढि झुकाउ थियो ।[३]
साहित्यिक यात्रा
सम्पादन गर्नुहोस्वि.सं. २०४३ सालको एस.एल.सी. परीक्षा दिएपछिको समय पश्चात २०४४ सालदेखि घरैमा स्वतन्त्र अध्ययन र लेखन कार्य थाले । साहित्य र दर्शनशास्त्रहरूको अध्ययनका साथै विश्व विख्यात व्यक्तित्वहरूको जीवनी र कृतिहरुबारे अध्ययन गरे । स्वाभिमानी र स्वतन्त्रता प्रेमी युवा विमल आफ्नो देशको माटो र जाति प्रति सदा गर्व गर्ने गर्दथे । बहुसंख्यक शोषित पीडित जनताहरूको पक्षमा बोल्न र लेख्न सदा तत्पर रहने विमल न्यायपूर्ण र सुन्दर भविष्य निर्माणमा लागि पर्ने अठोटका साथ कलम चलाउने गर्दथे । आफ्ना सशक्त युवा अभिव्यक्तिहरु कविता मार्फत प्रस्तुत गरेर श्रोता वर्गलाई चकित तुल्याउने विमलले आफू लगायत दौंतरी युवाहरूको साहित्य प्रतिको चाखलाई ख्याल गरी सोको प्रबद्र्धनका निमित्त उत्साहित युवा साथीहरु सँग मिलेर धरान १८ स्थित बुद्ध चौकमा वि.सं. २०४५ साल तिर बुद्ध वाचनालयको स्थापना गरे । सोही वाचानालय मार्फत विमल कै सम्पादनमा वि.सं. २०४६ साल मंसिर २५ गतेका दिन इँटा नामक हस्तलिखित भित्ते पत्रिकाको प्रकाशन समेत शुरु गरे । इँटाको प्रकाशनले वि.सं. २०४७ साल फाल्गुण २५ गते सम्म निरन्तरता पाई जम्मा १५ अङ्क सम्म प्रकाशित भएका छन् । २०४७ साल माघ १५ गतेका दिन खाडी नामक हस्तलिखित भित्ते पत्रिकाको एक अङ्क पनि प्रकाशित भएको छ जो तत्कालीन खाडी युद्ध सम्बन्धमा रहेको छ ।[२]
१५/१६ वर्षको उमेरदेखि नै साहित्य लेखनतर्फ अग्रसर विमलले प्रशस्त कविता, लेख रचना सिर्जना गरेका छन् । विमलले विशेष समाचारपत्रहरूमा रिपोर्टिङ्ग गर्दा वा प्रतिकृयाहरु छपाउनु पर्दा "सर्वेक्षण" नामक उपनामबाट छपाउने गर्दथे । उनको लेख र निबन्धतर्फ पनि विशेष रुचि थियो । वि.सं. २०४६ साल बैशाख १ गते धरान जेसिजद्धारा आयोजित प्रतियोगतात्मक कविता गोष्ठीमा उनको कविता "एक किलो जंगल" प्रथम भएको थियो ।[२]
सत्र वषैको कलिलो उमेरमै उनी राजनीतिक रूपले सजग र कविता सृजनामा सशक्त भैसकेका थिए । उनले "एक किलो जंगल" जस्तो ओजस्वी कविता सत्रै वर्षको उमेरमा रचेका थिए भने बांकी अठार वर्षको उमेरमा रचेका हुन् । अल्पायुमै सैकडौ कविता र अनेकौ निबन्ध रचेका विमल गुरुङ्गले पढाइका साथै सङ्गठनात्मक कार्यहरु चालु राखेका थिए ।[४][५] उनको असामयिक महायात्रापछि उनीमाथि कवि श्यामलले लेखे, "लाखौं सूर्यहरुमध्ये खस्यो एउटा सूर्य"। अनि मोदनाथ प्रश्रितले उनीमाथि नै लेखे, "इतिहास चुक्चुकाइरहेछ" ।[६]
एक किलो जंगल
- बिमल गुरुङ
अब मुद्दाको कविता लेख्न लागेको छु
वर्षौं - वर्ष देखि
आकाशतिर नियाल्दै
आफ्नो शुरमा
आफ्नै सुसाहट बोकेर
बगिरहेकी बगिरहेकी
दुधकोशीको तिरमा बसेर
लेख्न लागेको छु, लेख्न बसेको छु
फांसीको - फंन्दाको
कविता लेख्न लागेको छु ।
~
तीन त्रिलोक, चौध भुवनको
समस्त फूलबारीहरूको
अपुर्ब ब्याख्या गर्दै थाकका थाक लेखे कबिहरूले
कबिहरूले महलमा बसेर
पृथ्वीका सुन्दरी अप्सराहरुका
हाउभाउ र कटाक्षका कबिता लेखे
कबिहरूले समुन्द्रका कबिता लेखे
कबिहरूले झरनाका कबिता लेखे
धकै नमानी
कबिहरूले
दाउरे दाईले बनजांचको आखा छलेर
बनबाट ल्याएको दाउरले पकाएको खाना खाईरहे
क्रमश:
टेबुलमाथि
ब्राण्डी/भ्याट-६९ र स्कचका बोतलहरु लडिरहे
लडिरहे
ओंठमा याक जलिरहे जलिरहे
एष्ट्रेमा मोर निभिरहे निभिरहे
कबिहरूले दाउरे दाईको भोक-प्यास-सपनाको
कबिता लेखेको कसैलाई थाहा भएन
यसैले, म बाध्य छु तलबवाला कबिहरु !
म अब गोलभेडाको कबिता लेख्छु
म अब तिर्खाको कबिता लेख्छु
म अब न्याउरी मुसाको चाहनाको कबिता लेख्छु
म अब बेसी फुर्सद पाएर बैशले पात्तिएका
महाजनहरुका छाउरा/छाउरीहरुका खिल्ली उडाउंदै कबिता लेख्छु ।
~
कबिहरूले
खोलाका एकनास-एकनास धुनहरुका कबिता लेखे
कबिहरूले
चांप/लालीगुराँस/ सुनगाभा र सयपत्रीका कबिता लेखे
कबिहरूले
आफ्नै बहिनीको चोलो च्यात्ने
मालिक साहेबको जयजयकार गर्दै कबिता लेखे
मालिक साहेबलाई रिझाइबक्सन
कबिहरूले स्तुति र गुणगानका कबिता लेखे
कबिहरूले भक्ति र प्रसंशाका कबिता लेखे ।
~
(कवितांश... एक किलो जंगल)
(२०४५/११/२१
(२०४५ को जनआन्दोलनले चरम उचाई लिइरहेको अवस्थामा जेलनेल भोगिरहेका बिमल गुरुङ्गद्वारा जेलयात्राकै क्रममा लेखिएको यो कबिताले उनलाई निरंकुश पञ्चे शासकहरूको नजरमा अझ बढि अराष्ट्रिय कुतत्व हुन मद्दत मिलेको थियो)[७]
लेखनशैली
सम्पादन गर्नुहोस्अभिव्यक्ति प्रस्तुत गर्ने क्रममा विमल कवितातर्फ जीवनवादी र प्रगतिवादी देखिन्छन् भने गद्य रचना र लेखनतर्फ उनी हक्की र केही आक्रामक देखिन्छन् ।
शैली, प्रतीक, विम्ब आदि सबै दृष्टिले परिपक्व पुगेको वान्किी परेका कविता लेख्ने उनले सबै कविता छन्दको रमरम आभाष मिल्ने गद्य शैलीमा रचेका छन् लघु कविता, मुक्तक र हाइकुतिर उनको लेखनी रमाएको छ ।
कवि मोदनाथ प्रश्रित कवि गुरुङ्गबारे अझ भन्छन्, मेरी सपनाकी प्रेमिका, विधवा गरीजस्ता कविता कलात्मक सौन्दर्यमा खरा छन् । कलिलो उमेरमै उनी सुन्दर कविता सिर्जिन्थे भने आज उनी भएका भए राष्ट्रिय स्तरका प्रगतिवादी कविका रूपमा सुप्रशिद्ध हुन्थे ।
मृत्यु
सम्पादन गर्नुहोस्राजनीतिक चेत भएका सुन्दर कविता लेख्ने कवि गुरुङ्ग मनभरी सुर्य बोकेर सूर्यलाई जिताउन काठमाडौबाट धरानतिर लाग्दा जुकेपानी (थानकोट र नौविसेबीच पर्ने ठाउँ) मा २४ बैशाख २०४८ मा बस दुर्घट्नामा परी उनको दुखद निधन भयो ।[८]
लेखन एवम मुख्य कृतिहरू
सम्पादन गर्नुहोस्- स्व. बिमल गुरुङ्गका केही कविता, २०४९, विमल गुरुङ्ग स्मृति पुस्तकालय, धरान
- आत्मघोषणा, २०६५, विमल गुरुङ्ग स्मृति पुस्तकालय, धरान
विमल गुरुङ्ग स्मृति पुस्तकालय
सम्पादन गर्नुहोस्कवि विमल १९ वर्ष ६ महिनाको उमेरसम्म बांचे । विमलको मृत्युपछि उनकै स्मिृतिमा उनका आमा र बुबा पूर्णबहादुर गुरुङ्गले बुद्धचौक धरान १८ मा कवि विमल स्मृति पुस्तकालय स्थापना गर्नुभयो ।[६][८] उक्त पुस्तकालय स्थापना गर्दा २ करोडको आफ्नै लगानी गरी पुस्तकालयका साथै कार्यक्रमहरू सञ्चालनार्थ गुरुङ्ग दम्पत्तिले पुस्तकालयका लागि ५० लाखको अक्षयकोष पनि खडा गरिदिए ।[९][१०]
चर्चित साहित्यकार तथा राजनीतिज्ञ मोदनाथ प्रश्रितले उद्घाटन गरेका यस पुस्तकालयको पूर्व-प्रधानमन्त्री मनमोहन अधिकारी, पूर्व-मन्त्री प्रदीप नेपाल, सिपी मैनाली, कुन्ता शर्मा लगायतले अवलोकन गरिसकेका छन् । पुस्तकालयमा हालसम्म साहित्य, जीवनी, जीवनदर्शन, इतिहास लगायत बालमैत्री पुस्तकहरु समेत गरी जम्मा ८००० भन्दा बढी पुस्तकहरु रहेको छ । साहित्यक कार्यक्रमहरू सञ्चालन गर्न पुस्तकालयमा १०० देखि १५० जना अटाउने क्षमता भएको हल पनि निर्माण गरिएको छ[६] जहां साहित्यसम्बन्धी प्रतियोगिता लगायत एकल कविता वाचन, पुस्तक विमोचन जस्ता कार्यक्रमहरू सञ्चालन हुंदै आईरहेका छन् ।[१०][११]
उक्त पुस्तकालयले "इँटा" पत्रिकालाई निरन्तरता दिनका लागि पुस्तकका रूपमा छाप्ने कार्य गर्यो साथै गुरुङ्गका केही चुनिएका कविताहरूको सङ्ग्रह "आगो बोल्छ" शीर्षक दिएर वि.सं. २०४९ साल बैशाखमा प्रकाशित गरेको छ । विमल स्मृति पुस्तकालयले प्रत्येक वर्ष विशेष रूपले विमलकै जन्मोत्सव पारेर कार्तिक १९ गते राष्ट्रिय युवा कविता प्रतियोगिता आयोजना गर्दै आइरहेको छ र शैक्षिक, साहित्यक र अन्य रचनात्मक कार्यहरु गर्र्दै आईरहेको छ । प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो कविलाई क्रमशः नगद २०, १५ र १० हजार पुस्तकालयले प्रदान गर्दै आइरहेको छ ।[८][९][११][१२][१३]
कवि विमल गुरुङ्ग स्मृति पुस्तकालयले पुस्तक साहित्य, कला संस्कृति, खोज अनुसन्धानमध्ये जुनसुकै विधाको वर्षभरिमा प्रकाशितमध्ये उत्कृष्ट पुस्तकलाई ५१ हजार रुपैयाँसहित पुरस्कृत गर्ने भएको छ । उक्त पुरस्कार प्रत्येक वर्ष वैशाख २४ गते कवि विमल गुरुङ्गको स्मृति दिवस पारेर प्रदान गरिनेछ ।[१३][१४][१५]
पुस्तकालयले आगामी वर्षदेखि एक प्रतिभालाई ‘पूर्ण–सरस्वती सम्मान’ पनि प्रदान गर्ने भएको छ । उक्त सम्मान कात्तिक १९ गते आयोजना हुने राष्ट्रिय कविता प्रतियोगिताको दिन दिइनेछ ।[१३][१४][१५]
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ मोदनाथ प्रश्रित, इतिहास चुकचुकाइरहेछ : स्व. बिमल गुरुङ्गका केही कविता, धरानः विमल गुरुङ्ग स्मृति पुस्तकालय, २०४८..
- ↑ २.० २.१ २.२ २.३ युवा कवि विमल, गुफाथुम्की गर्जनः त्रैमासिक साहित्यक पत्रिका, वर्षः१, अंक ५, कार्तिक-पुष २०७१.
- ↑ मोदनाथ प्रश्रित, इतिहास चुकचुकाइरहेछ : स्व. बिमल गुरुङ्गका केही कविता, धरानः विमल गुरुङ् स्मृति पुस्तकालय, २०४८..
- ↑ मोदनाथ प्रश्रित, इतिहास चुकचुकाइरहेछ : स्व. बिमल गुरुङ्का केही कविता, धरानः विमल गुरुङ् स्मृति पुस्तकालय, २०४८..
- ↑ सुदीप पाख्रिन, एउटा कविता यस्तो : अन्नपूर्ण पोस्ट, २०७१ साल, जेठ २४ गते.
- ↑ ६.० ६.१ ६.२ शिवराज योगी, छोराको बाटो, अन्नपूर्ण फुर्सद, शनिबार, ५ बैशाख २०७२ वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-२१ मिति
- ↑ एक किलो जंगल, स्रष्टा-साहित्य चौतारी
- ↑ ८.० ८.१ ८.२ सुदीप पाख्रिन: एउटा कविता यस्तो, अन्नपूर्ण पोस्ट, २०७१ साल, जेठ २४ गते
- ↑ ९.० ९.१ दुई दिने विमल कविता उत्सव शुरु, ‘यो बाटो’ कविता प्रथम, MeroDharan, November 14, 2014 वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर १८, २०१४ मिति
- ↑ १०.० १०.१ श्रेष्ठ, मणिकुमार (जेठ २८, २०७४), "दुर्घटनामा परी मृत्यु भएका छोराको स्मृतिमा २ करोड खर्चेर पुस्तकालय", थाहा खबर, अन्तिम पहुँच २०१८-०४-२५।
- ↑ ११.० ११.१ चन्द्र गुरुङ्, छोराको यादमा समर्पित आंशुका कणहरु, आत्माघोषणा वेब्याक मेसिन अभिलेखिकरण २०१६-०९-१७ मिति
- ↑ कवि विमल गुरुङ्गको ४३ औँ जन्मजयन्ती वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-०१ मिति
- ↑ १३.० १३.१ १३.२ "किताबलाई ५१ हजारको विमल स्मृति पुरस्कार", purbibazar.com, पूर्वी बजार.कम, नोभेम्बर १३, २०१७, अन्तिम पहुँच २०१८-०४-२५। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-१८ मिति
- ↑ १४.० १४.१ "उत्कृष्ट पुस्तकलाई ५१ हजारको विमल स्मृति", kantipurdaily.com, कान्तिपुर, कार्तिक २८, २०७४, अन्तिम पहुँच २०१८-०४-२५।
- ↑ १५.० १५.१ "५१ हजारको पुरस्कार पाउने हो ? पुस्तक पठाउनुहोस्", newslaya.com, Newslaya, शनिबार २५, कार्तिक २०७४, अन्तिम पहुँच २०१८-०४-२५। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-१८ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- आत्मघोषणा वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
- Poet Bimal Gurung -विमल गुरुङ्ग