ढुङ्गे धारा

नेपालमा ढुङ्गे धाराका फोहोरा

ढुङ्गे धारा ढुङ्गा खोपेर खानेपानी खसाल्ने व्यवस्था गरिएको परम्परागत धारा वा एक प्रकारको खानेपानी आपूर्तिको सामुदायिक प्रणाली हो। नेपाल भाषामा ढुङ्गे धारालाई 'हिटी' भन्ने गरिन्छ। पाइपबाट घरघरै पानी वितरण गर्ने आधुनिक प्रणाली विकसित नहुन्जेल खानेपानीको मुख्य स्रोत नै ढुङ्गे धारा, इनार र कुवाहरू थिए।[]

मुक्तिनाथ मन्दिर परिसरमा रहेको दुङ्गेधाराहरू

सांस्कृतिक सम्पदा

सम्पादन गर्नुहोस्

नेपालको खासगरी काठमाडौँ उपत्यकामा ढुङ्गाका कलात्मक धारा बनाई विभिन्न टोल र अरु सार्वजनिकस्थलमा खानेपानी खसाल्ने व्यवस्था गरिएको पाइन्छ। यसमा परम्परागत संस्कार र संस्कृति पनि अभिन्नरुपले जोडिएका छन्। काठमाडौँ उपत्यकाका अधिकांश ढुङ्गे धारा गोही आकारमा देउता थपना गरी बनाइएको देखिन्छ। ढुङ्गाका धारामा नाग वा बाघका टाउकाजस्ता देखिने कलात्मक आकृति वा देवीदेवताका मूर्तिसमेत कोरेर पूज्यरुपमा राखिएका पनि पाइन्छन्। ढुङ्गे धारामुनि भगीरथको मूर्ति हुन्छ। भगीरथले गङ्गालाई स्वर्गबाट ल्याई धर्तीबासीलाई पानी खुवाएको धार्मिक विश्वास छ। यी धारा तान्त्रिक गुभाजुहरूद्वारा जडान गरेका भनेर पनि विश्वास गरिन्छ।[] त्यसैले ढुङ्गे धारा सांस्कृतिक सम्पदाका रूपमा रहेका छन् ।

इतिहासविद्का अनुसार लिच्छविकालमा (सन् ७८ देखि ८८०) मा जनतालाई पानीको हाहाकारबाट जोगाउन जल आपूर्ति गर्ने ठूला परियोजना सञ्चालन गरिएका थिए। आकाशबाट परेको वा मूल फुटेर निस्केको पानी ठूल्ठूला पोखरीमा जम्मा पार्नु वा ढुङ्गे धारासम्म पुर्‍याउनु त्यसैको एक उदाहरण हो।[] १७औँ शताब्दीमा उपत्यकामा ढुङ्गे धाराका लागि ठूलो परिमाणमा पानी जम्मा पार्न काठमाडौँका राजा प्रताप मल्लभक्तपुरका जितामित्र मल्लले राजकुलो नामक ठूलो नहर बनाएका थिए। ढुङ्गे धाराको इतिहासलाई नियाल्दा काठमाडौँको हाडीगाउँमा उत्खननबाट फेला परेको अनुमानित सन् ५५० मा निर्माण गरिएको एक ढुङ्गे धारालाई नै सबैभन्दा पुरानो ढुङ्गे धाराको रूपमा मानिन्छ भने सन् ५७० मा निर्माण भएको पाटनको गङ्गा हिटीलाई अर्को पुरानो धाराको रूपमा चिनिन्छ।

प्राचीनकालदेखि नै ढुङ्गे धारा निर्माणको कार्य सुरु भएको भए पनि लिच्छविकालबाट धाराहरूलाई कलात्मक आकृति दिएर व्यवस्थित गर्ने परम्पराको थालनी भएको पाइन्छ। उपत्यकाको मौलिक सभ्यताको पहिचानको रूपमा रहेका अधिकांश कलात्मक ढुङ्गे धाराहरू सहरी क्षेत्रमा नै धेरै छन्। काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र मात्र ११७ वटा ढुङ्गे धाराहरू छन् भने भक्तपुर नगर क्षेत्रमा मात्र १०५ भन्दा बढीको सङ्ख्यामा छन्। त्यस्तै ललितपुर उपमहानगरपालिकाको क्षेत्रभित्र पनि यस्ता ढुङ्गे धाराहरूको सङ्ख्या ४० भन्दा बढी रहेका छन्। ढुङ्गे धाराहरूको हस्तकलाको विविध कलात्मक पक्षले नेपालको प्राचीन तथा मध्यकालीन इतिहासलाई प्रतिनिधित्व गरेको छ। उदाहरणको रूपमा हामी पाटनमा सिद्धिनरसिहं मल्लले बनाएको ७२ प्रकारका कलात्मक ढुङ्गाहरूको टुसा हिटी नामक ढुङ्गे धारा, त्यस्तै सन् १६५२मा हनुमानढोका क्षेत्रमा राजा प्रताप मल्लले बनाएको ४० वटा कलात्मक देवदेवीको चित्रसहित ढुङ्गाहरूबाट बनेको मोहनकाली ढुङ्गे धारालाई लिन सकिन्छ।

ढुङ्गे धाराको धार्मिक तथा सांस्कृतिक प्रसिद्धी त्यसको सङ्ख्याले पनि निर्धारण गर्ने गर्दछ। धार्मिकरूपमा प्रसिद्धी कमाएका धेरै यी धाराहरूमध्ये बालाजुको २२ धारा चैत्र पूणिर्मा र मातातीर्थको दिन नुहाउनका लागि प्रसिद्ध छ भने प्रत्येक १२ वर्षमा नुहाउनका लागि गोदावरीको नौ धारा प्रख्यात छ भने मुक्तिनाथको १०८ धारा पनि प्रमुख नै मानिन्छ। धार्मिकरूपमा विषेश चर्चामा रहेको धाराहरूमध्ये पाटनको गङ्गा हिटीलाई पनि लिन सकिन्छ। यस धाराको दाहिनेतर्फबाट थापिएको जलले सधैं पाटनको कृष्ण मन्दिरमा धार्मिक कार्य सञ्चालन गरिन्छ भने सोही धाराको देब्रेतर्फबाट थापिएको जल हिरण्य कस्यपुलाई चढाउने गरिन्छ। त्यस्तै भक्तपुरको तलेजु भवानीलाई सुन्धाराको जल लगेर चढाउने पराम्परा पनि यथावत् नै छ।

 
ललितपुर दरवार क्षेत्रमा रहेको ढुङ्गे धारा

ढुङ्गे धाराको सभ्यतालाई हेर्दा यसको बनावटको पक्षलाई भने अवमूल्यन गर्न हुँदैन। सन् १८२८ मा भीमसेन थापाले निर्माण गर्न लगाएका धरहरा छेउको सुन्धारालाई कलात्मक धाराको रूपमा लिने गरिएको छ। त्यस्तै उपत्यकाभित्रका चर्चित ढुङ्गे धाराको मुखहरू सुन, चाँदी तथा काठको आकर्षक डिजाइनमा कुँदिएको कारण पनि यस्ता धाराहरू बढी कलात्मक देखिन्छन्। हाम्रो सामाजिक संस्कृतिअनुरूप गोहीलाई जलदेवीको वाहनको रूपमा लिइने कारण पनि प्राचीन तथा मध्यकालमा कतिपय धाराहरूको आकृति गोहीकै स्वरूपमा तयार गर्ने गरिएको संस्कृतिविद्हरूको तर्क छ।

उपत्यकाभित्रको पानीको अभावलाई धेरै हदसम्म निधान गर्न भूमिका खेल्ने ढुङ्गे धाराहरूको संरक्षणबाट नै हाम्रो सम्पदा र संस्कृतिको पनि संरक्षण हुन्छ भन्ने अध्ययन हुन नसक्दा दुई दशकभित्रमा करिब एक सयको हाराहारीमा यस्ता धाराहरू उपत्यकाभित्र लोप भइसकेको अनुमान गरिएको छ भने ५० प्रतिशत धाराहरूबाट पानी आउन छोडेको र बाँकी धाराहरू सङ्कटको सूचीमा परेका छन्।

मूल फुटेर निस्केको, आकाशबाट परेको वा राजकुलोबाट आएको पानी पोखरीमा जम्मा हुने व्यवस्था गरिन्थ्यो। ढुङ्गे धारा खाल्डो बनाएर सीधा राखिन्थ्यो। आकाशको पानी जमिनले संरक्षण तथा प्रशोधित गर्छ। जमिनको अलिकति तल ढुङ्गे धारा राखिन्थ्यो। कतिपय ढुङ्गे धाराभित्र पानी प्रशोधन संयन्त्र थिए।[] जमिनको सतहबाट खाल्डामा रहेका ढुङ्गे धारासम्म पुग्नका लागि ढुङ्गाकै सिँढी बनाइएका हुन्थे । धाराका दायाँबायाँ सुविधाजनक रुपमा बस्न, प्रतीक्षा गर्न वा लुगा धुन पेटीहरू निर्माण गरिन्थे।[][][]

ढुङ्गे धारा मर्मत, सम्भार र संरक्षणका लागि धेरै समुदायले गुठी स्थापना गरेको पाइन्छ।[] सहरमा जथाभावी सिमेन्टका ठूला संरचनाको विस्तार र खुला ठाउँ मासिँदै गएको कारण भूमिगत पानीको पुनर्भरण हुन सकिरहेको छैन। राजकुलो पनि मासिँदै गएकोले ढुङ्गे धारामा आउने पानीको स्रोत सुक्दै गएको छ। कतिपय ढुङ्गे धारा भएका सार्वजनिक स्थल नै मासेर सामुदायिक वा निजी प्रकारका नयाँ संरचना बनाएर अतिक्रमण गरिएको छ। ढुङ्गे धारामा विद्यावारिधि गरेकी त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक सन्ध्या खनालले गरेको अध्ययन अनुसार वि.सं. २०७२ सालमा काठमाडौंमा २०४, पाटनमा ६३ र भक्तपुरमा ९९ वटा ढुङ्गे धारा थिए। कुल ३६६ ढुङ्गे धारामध्ये ११९ मा राम्रोसँग पानी आउने, १९ वटामा थोपाथोपा पानी आउने, २४ वटामा वर्षामा मात्रै पानी आउने र कहिल्यै पानी नआउने ९२ र लोप हुने अवस्थाका ९ ढुङ्गे धारा थिए।[]

चित्र दीर्घा

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "काठमाडौँ उपत्यका पुनर्भरण - सूचना पुस्तिका", सेन्टर फर इन्टिग्रेटेड अर्बन डिभेलपमेन्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-१९ 
  2. रेग्मी, बालमुकुन्द, "ढुंगेधारा, तलाउ र हरियाली", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-१९ 
  3. ३.० ३.१ लोहनी, सुनिता, "हरायो पानी जोगाउने ज्ञान", नेपाल पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-१९ 
  4. "Vastu Shastra Hiti Dayeka" [वास्तुशास्त्र हिटी दाएक], ब्रिटिस सङ्ग्रहालय लुप्तप्राय अभिलेख कार्यक्रम (नेवारीमा), अन्तिम पहुँच २०२२-१२-१९ 
  5. तिवारी, सुदर्शन राज, "The Pit Conduit Water Supply System of Kathmandu" [काठमाडौँको ढुङ्गे धाराको पानी आपूर्ति प्रणाली], कैलाशकूट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-१९ 
  6. रेमन्ड, बेकर, "Dhunge-Dharas in the Kathmandu Valley- An Outline of their Architectural Development" [काठमाडौँ उपत्यकाका ढुङ्गे धाराहरू - तिनीहरूको वास्तु विकासको रूपरेखा], प्राचीन नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-१९ 
  7. ढकाल, हरिनाथ (२०१८-०१-१७), "निजी गुठी र कानूनी व्यवस्था" (नेपालीमा), पृ: २२–२९, अन्तिम पहुँच २०२२-१२-१९ 
  8. "फोटोफिचर: काकाकुल ढुंगेधारा", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-१९