आर्थिक विचारको इतिहास
परिचय
सम्पादन गर्नुहोस्आर्थिक विचारको इतिहासमा अर्थशास्त्र विषयका उद्गम स्रोत दुइवटा मानिन्छन्– एउटालाई पाश्चात्त्य अर्थशास्त्र भनिन्छ भने अर्कोलाई पूर्वीय अर्थशास्त्र भनिन्छ ।
पाश्चात्त्य अर्थशास्त्र
सम्पादन गर्नुहोस्प्लेटो, एरिस्टोटल र अन्य विचारक
सम्पादन गर्नुहोस्पाश्चात्त्यको अर्थ हो पश्चिम तर्फको । यसलाई अङ्ग्रेजीमा ओक्सिडेन्टल Occidental भनिन्छ । त्यसैले यसका लागि उचित नेपाली शब्द हुन्छ प्रतीच्य । पाश्चात्त्य आर्थिक दर्शनको प्रारम्भ सोक्रेटीजका शिष्य प्लेटोबाट प्रारम्भ हुन्छ । सोक्रेटीजका आर्थिक विचारहरूलाई उनको शिष्य परम्परामा जिनोफोन (४३०–३५५ वि.पू.), प्लेटो (४२८–३४८ वि.पू.), र एरिस्टोटल (३८४–३२३ वि.पू.) द्वारा निरन्तरता दिइएको हो । जीनोफोन एक आदर्शवादी आर्थिक विचारक थिए । उनले सादा जीवन र सदाचारलाई उच्च महत्त्व दिएका छन् । कृषिलाई उनले उच्च मर्यादित पेशा मानेका छन् । उनले श्रम विभाजन, मूल्य निर्धारण, र दास प्रथा आदि आर्थिक र सामाजिक विषयमा उल्लेख गरेका छन् । प्लेटोले राज्यको उत्पत्तिको आवश्यकताको सिद्धान्त प्रतिपादन गरेका छन् । उनले श्रम विभाजन, आदर्श राज्य, दास प्रथा, र जनसङ्ख्या विषयमा आफ्ना स्पष्ट विचार व्यक्त गरेका छन् । यूटोपियाई समाजवादका समर्थक प्लेटो ब्याज लेनदेनका विरोधी थिए । एरिस्टोटलले पनि राज्यको उत्पत्ति, आदर्श राज्य, दास प्रथा, सम्पत्ति, मूल्य, विनिमय, मुद्रा र ब्याजका विषयमा विचार व्यक्त गरेका छन् । एरिस्टोटल ब्याजका विरोधी र व्यक्तिगत सम्पत्तिका समर्थक थिए । ग्रीसका विचारकहरूमा धर्मको गहिरो प्रभाव थियो । उनीहरूले अर्थशास्त्रलाई परिभाषित गर्ने प्रयास गरेका छन् । शिष्य परम्परामा प्रवाहित हुंदै गएका प्लेटोका यी विचारहरु पुस्तकाकार रूपमा वि.सं. १८३० मा ल्याटिन भाषामा प्रकाशित भएका हुन् ।
रोमन विचारक
सम्पादन गर्नुहोस्प्राचीन रोमन विचारकहरूमा सिसेरो, सेनेका, प्लिनी द एल्डर, मारकस औरेलियस, एपिक्टेटस, ल्युक्रेशस, आदि पर्दछन् । यी सबैले कृषि, वाणिज्य र श्रम विभाजन आदि आर्थिक विषयमा विचार गरेका छन् ।
प्लेटोका आर्थिक विचारको यो परम्परा सुरुमा वाणिज्यवादी र पछि प्रकृतिवादीले अघि विस्तार गरेका हुन् । यिनै प्रकृतिवादीहरूको प्रभावले वेल्थ अफ् नेशन्स पुस्तकको रचना एडम स्मिथले गरेका हुन् । [१] सत्रौँ शताब्दीमा फ्रान्सबाट सुरु भएको विचारलाई वणिकवाद, कोलबर्टवाद, केमरावाद, राजकोषवाद इत्यादि नामले जानिन्छ । वणिकवादले कृषिलाई कम महत्त्व दियो र व्यापारद्वारा धन आर्जनमा जोड दिएको थियो । यस विचारधाराले प्रत्येक देशलाई अधिकाधिक धन थुपार्न प्रेरित गर्यो । यसको फलस्वरुप उपनिवेशवादका अवधारणाहरूको विकास भयो ।
वणिकवादले व्यक्तिको स्वतन्त्रतालाई अत्यधिक नियन्त्रण गरेकोले त्यसको विरोध हुन थाल्यो । यसको नेतृत्व फ्रेन्च दार्शनिक फ्रान्सिस क्वेनेले गरे । यस विचारधाराले वणिकवादको विपरीत कृषिलाई बढी महत्त्व दियो । व्यक्तिगत स्वतन्त्रतालाई अत्यधिक महत्त्व दियो । फ्रान्सका व्यापारीहरूले सरकारसंग लासेज फेयर लासेज पासर (अहस्तक्षेप) को नीति लागू गर्न जोड दिन थाले । यस नीतिको अर्थशास्त्रीहरूले पनि समर्थन गरे । प्रकृतिवादीहरूले कृषकलाई मात्र अर्थव्यवस्थाको उत्पादक क्षेत्र मानेका छन् ।एडम स्मिथ यसै विचारधाराबाट प्रभावित थिए ।
एडम स्मिथ, जसलाई अर्थशास्त्र विषयका जन्मदाताको सम्मान प्राप्त छ, वास्तवमा एक अर्थ चिन्तक, दार्शनिक एवं प्रभावशाली लेखक हुन् । उनको कृति जसलाई छोटकरीमा वेल्थ अफ नेशन्स भनिन्छ, मा नै आधुनिक अर्थशास्त्रको स्रोत रहेको छ ।
वेल्थ अफ नेशन्सदेखि राजनीतिक अर्थशास्त्रसम्म
सम्पादन गर्नुहोस्यूरोपमा जब अर्थशास्त्र विषयको जन्म भएको थियो, यस विषयको स्वतन्त्र अस्तित्त्व र स्पष्ट नामकरण भएको थिएन । त्यसैले एडम स्मिथले अर्थशास्त्रलाई राज्यको सम्पत्ति बढाउने कारणहरूको खोजीको शास्त्र भनेका हुन् । एडम स्मिथको विचारबाट प्रभावित भएर कैयौँ लेखकहरूले यस विषयलाई धन सम्पत्तिको शास्त्र माने । एडम स्मिथले धन वा सम्पत्तिको सम्बन्ध केवल राज्यसंग हुन्छ भन्ने मान्यता राख्दथे तथापि यस विषयलाई पोलिटिकल इकोनोमी भन्नुमा उनलाई द्विविधा थियो । त्यसैले एडम स्मिथले राष्ट्रको सम्पत्ति खोजी गर्ने शास्त्र भन्ने अलमल नाम उल्लेख गरे । तर अङ्ग्रेजीको वेल्थ र संस्कृतको धन शब्दमा एउटा अन्तर छ, त्यो के भने संस्कृतको धन एकवचन र बहुवचन दुवै रूपमा प्रयोग हुन्छ तर वेल्थ शब्दको केवल एक वचनमा प्रयोग हुन्छ, त्यसको बहुवचनमा प्रयोग हुंदैन । यस विषयलाई पाश्चात्त्य लेखकहरूले विभिन्न नाम दिने प्रयास गरेका थिए । कसैले वेल्थ, कसैले क्रेमाटिस्टिक्स, कसैले प्लुटोलोजी नामकरण गरे । अठारौँ शताब्दी भरि यस विषयको नाम पोलिटिकल इकोनोमी अर्थात् राजनीतिक अर्थशास्त्र बढी लोकप्रिय हुन पुग्यो ।[२]
राजनीतिक अर्थशास्त्रदेखि अर्थशास्त्रसम्म
सम्पादन गर्नुहोस्उन्नाइसौँ शताब्दीमा विचारकहरूले के अनुभव गर्न थाले भने राजनीतिक अर्थशास्त्रले यस शास्त्रको सम्पूर्ण विषय वस्तु समेट्न सक्दैन । राज्यले निश्चित गर्ने कर, रोजगार, राजकीय आय व्यय, राज्यको सम्पत्ति, राजकीय उद्यम व्यवस्था यी सबै पोलिटिकल इकोनोमी Political Economy का विषय हुन् । तर यस शास्त्रमा सामाजिक मानिसहरूका आर्थिक सम्बन्ध र त्यसमा भइरहने परिवर्तनहरूको अध्ययन गरिन्छ । यस्ता कुराहरूको राजनीतिसंग बहुधा सम्बन्ध हुदैन । त्यसैले जर्मन अर्थशास्त्रीहरूले यस विषयलाई सोशल इकोनोमिक्स Social Economics भन्नु उचित ठाने । अर्थात् उनीहरूले यसलाई राजनीतिबाट अलग्याउने प्रयास गरे । तर उन्नाइसौ“ शताब्दी पछि पुनः इकोनोमिक्स Economics भन्ने प्रचलन भयो । यस विषयलाई अर्थशास्त्र Economics नामकरण गरेर यसलाई लोकप्रिय बनाउन प्रो मार्शलको विशेष योगदान छ । यद्यपि मार्शलले यस नामको प्रयोग गरेका हुन् तथापि उनी आफैंले भने अर्थशास्त्र र राजनीतिक अर्थशास्त्र दुवैलाई पर्यायवाची शब्द मानेका छन् । अर्थशास्त्री पल ए सैमुअल्सनले भने आफ्नो पुस्तकलाई केवल इकोनोमिक्स भनेका हुन् । अर्थशास्त्रलाइै लोकप्रिय बनाउन सैमुअलसनको ठूलो योगदान छ ।
पूर्वीय अर्थशास्त्र
सम्पादन गर्नुहोस्हिन्दु, बौद्ध, जैन, इसलाम, ताओ, कन्फ्युशिसय, जापानी विभिन्न संस्कृतिका विचारहरु पूर्वीय हुन् तर यी सबैमा हिन्दु संस्कृति सर्वाधिक प्राचीन र समृद्ध भएको हुनाका साथै संस्कृत भाषामा धर्मशास्त्र, अर्थशास्त्र र कामशास्त्रका शयौं पुस्तक उपलब्ध छन् । त्यसैले पूर्वीय वा प्राच्य वा पौरस्त्य भन्नासाथ संस्कृत ग्रन्थका विषय बुझिन्छ । दार्शनिक विवेचनका लागि यसलाई अङ्ग्रेजीमा ओरिएन्टल Oriental र नेपालीमा पौरस्त्य भनिन्छ । अतीतमा अर्थशास्त्र एक प्रतिष्ठित विद्या रहिआएको थियो र अनेक आचार्यहरूले अर्थशास्त्र नाम गरेको ग्रन्थ रचना गरेका थिए भन्ने कुराको प्रमाण कौटिलीय अर्थशास्त्रमा उल्लिखित अर्थशास्त्राणि शब्दबाट स्पष्ट हुन्छ । यस शब्दले बहुवचन जनाउछ । यसबाट कौटिलीय समयमा अर्थशास्त्रका अनेक ग्रन्थ थिए र त्यसका अनेक आचार्यहरु थिए भन्ने प्रमाण प्राप्त हुन्छ । ती मध्ये अधिकांश आचार्यको नाम कौटिल्यले उल्लेख पनि गरेका छन् तर ती आचार्यहरूले रचना गरेका सबै ग्रन्थहरु उपलब्ध छैनन् । मुख्यतः घोकेर ज्ञान हस्तान्तरण गर्नु पर्ने भएकोले अथवा भोजपत्रमा राख्नु पर्ने भएकोले त्यस समयमा ज्ञान सुरक्षित राख्न कति कठिन थियो यो कुरा हामीले अनुमान गर्न सक्छौं । यस विषयको नाम परिवर्तन हुंदै गई नयशास्त्र वा नीतिशास्त्र हुन पुगेको थियो तर पन्ध्रौँ शताब्दी पछि वैदेशिक आक्रमणहरूको राजनीतिक, सामाजिक र सांस्कृतिक प्रभावले गर्दा यो विषय पूर्णतः लोप हुन पुग्यो । आज कस्तो स्थिति उत्पन्न भएको छ भने अर्थशास्त्र विषयका विद्वानहरूलाई पनि थाहा छैन कि पूर्वीय अर्थशास्त्रमा यस विषयका अनेक महत्त्वपूर्ण ग्रन्थ रचना भएका थिए । यस प्रकार एडम स्मिथभन्दा धेरै अघि पूर्वमा अर्थशास्त्र विषयका एक होइन अनेक प्रामाणिक ग्रन्थ उपलब्ध थिए र यो विषय आफ्नो सुविकसित रूपमा थियो ।[३]
पूर्वीय आर्थिक चिन्तनका स्रोत
सम्पादन गर्नुहोस्पूर्वीय,दर्शन जसलाई प्राविधक शब्दमा पौरस्त्य दर्शन भनिन्छ, का स्रोतहरू वेद, उपनिषद्, स्मृति, ब्राह्मण, नीतिग्रन्थ, पुराण, रामायण, महाभारत, ऐतिहासिक शिलालेख, नीतिकथाहरू, प्राचीन मुद्रा, पुराताित्वक सामग्री आदि अनेक ठाउमा छरिएका छन्, जसको समग्र अध्ययन संभव छैन ।[४] विद्वानहरूका अनुसार जुनबेला कल्पसूत्रहरूको रचना पूर्णावस्थामा पुगेको थियो त्यस बेला राजनीतिलाई निर्देशित गर्ने शास्त्रको रूपमा पौरस्त्य अर्थशास्त्र एक प्रामाणिक विषय भइसकेको थियो ।[५] धर्मशास्त्रको विकास हुनु अघि अर्थशास्त्र विकसित अवस्थामा रहेको कुरा याज्ञवल्क्य स्मृति, नारदस्मृति र भविष्य पुराणमा उल्लेख छ । अथर्ववेदको ४९औ परिषदमा अर्थशास्त्रलाई ऋग्वेदको उपवेद भनिएको छ । अर्को एक विचार अनुसार अर्थशास्त्र अथर्ववेदको उपवेद हो ।[६] विगतमा अर्थशास्त्र एक प्रतिष्ठित विज्ञान रहेको कुरा बौद्ध जातकहरूको विवरणबाट पनि स्पष्ट हुन्छ ।[७] जैन ग्रन्थहरु अर्थशास्त्रको विवरण प्राप्त हुन्छ । महाभारत शान्ति पर्व र शुक्रनीति अनुसार ब्रह्माले प्रारम्भमा एक लाख श्लोकको शास्त्र रचना गरे । यस विस्तृत शास्त्रलाई महेश्वर, इन्द्र, बृहस्पति, र शुक्रले क्रमशः संक्षिप्त र सरल गर्दै लगेका हुन् ।[८] जायसवालले यस लामो परम्परामा भृगु, राजपुत्र, रैभ्य, जैमिनी, नारद, गौतम, गर्ग, कौशिक, ऋषिपुत्र, हारीत, चारायण, पारस्कर, भारद्वाज, र मनुको योगदान रहेको कुरा उल्लेख गरेका छन् । [९]
कौटिल्य पूर्वका आर्थिक विचारक
सम्पादन गर्नुहोस्कौटिल्यले आफ्नो ग्रन्थ रचनाको सन्दर्भमा सर्वप्रथम शुक्र र बृहस्पति प्रति कृतज्ञता प्रकट गरेका छन् । शुक्र र बृहस्पतिले पैतामहतन्त्रको परम्परामा आआफ्ना ग्रन्थ रचना गरेका बताएका छन् । कौटिलीय अर्थशास्त्रको विषय वस्तु व्याख्या गर्ने क्रममा आचार्य कौटिल्यले ११२ स्थानमा पूर्वाचार्यहरूको कथन, सिद्धान्त, विश्लेषण, र उदाहरणहरू प्रस्तुत गरेका छन् [१०] औशनस र भारद्वाजको नाम सात पटक, बृहस्पति, वैशालाक्ष, र पराशरको नाम छ पटक, मनु, वातव्याधि, र पिशुनको पांच पटक, कौणपदन्तको चार पटक, बाहुदन्तीपुत्र र आम्भीको नाम एक एक पटक सन्दर्भ उल्लेख गरिएको छ । अन्य अज्ञातनाम आचार्यहरूलाई मेरो आचार्य, आचार्य वा अन्य भनी उल्लेख छ । यस्ता आचार्यहरूको नाम ५९ पटक उल्लेख छ ।[११] महाभारतमा उल्लेख भएको र पितामह ब्रह्माले रचना गरेको स्वतन्त्र ग्रन्थ पाईंदैन । प्राचीनतम अर्थशास्त्रको यो ग्रन्थ संभवतः लोप भइसक्यो ।[१२]
कौटिल्य र शुक्र
सम्पादन गर्नुहोस्अर्थशास्त्री बोकाडेका अनुसार, आर्थिक विचारधाराको इतिहासमा कौटिलीय र शुक्रकृत परिभाषा सबभन्दा पुराना र प्रथम दुइ परिभाषाहरू हुन् ।
कौटिलीय परिभाषा
सम्पादन गर्नुहोस्अर्थशास्त्रको मौलिक स्वरूपमा केही फरक भए तापनि त्यस बेला दिइएका अर्थशास्त्रका जुन परिभाषा छन् तिनीहरु आधुनिक अर्थशास्त्र विषय अनुरुप छन् । कौटिल्यले तन्त्रयुक्ति अध्यायमा अर्थशास्त्रलाई यसप्रकार परिभाषित गरेका छन्–
मनुष्याणां वृत्तिरर्थः। मनुष्यवती भूमिरित्यर्थः । तस्याः लाभपालनोपायः शास्त्रमर्थशास्त्रमिति ।
अर्थ– मानिसहरूको वृत्ति–जीविकालाई अर्थ भनिन्छ । मानिसहरू भएको भूमि पनि अर्थ हो । यस्तो वृत्तिको आधार भूमिलाई प्राप्त गर्ने र त्यसको पालनका उपायहरू निरुपण गर्ने शास्त्र नै अर्थशास्त्र हो ।
यस परिभाषाका मुख्य विशेषता यस प्रकार छन्–
- मानवीय जीविका नै आर्थिक क्रियाकलाप हो ।
- कृषिका लागि प्रयोग गरिने तथा मानिसहरू बसोबास गरिएको भूमि व्यक्ति र राज्यका आयको स्रोत हो ।
- अर्थशास्त्रमा विभिन्न स्रोतबाट प्रात गर्ने प्रतिफलको अध्ययन गरिन्छ ।
- यसका साथै त्यसका वृद्धिका उपायहरू पनि व्याख्या गरिन्छ ।
शुक्रनीतिमा अर्थशास्त्र
सम्पादन गर्नुहोस्शुक्रनीति ग्रन्थमा अर्थशास्त्र विषयलाई यस प्रकार परिभाषित गरिएको छ
- श्रुतिस्मृत्यविरोधेन राजवृत्तादिशासनम् ।
- सुयुक्त्यार्थार्जनं यत्र ह्यर्थशास्त्रं तदुच्यते ।।
अर्थ– वेद र स्मृतिले बताएका नियमहरू अन्तर्गत रही राजकाजको सञ्चालन र उत्कृष्ट विधिले धन आर्जन गर्ने कुरा जुन शास्त्रमा अध्ययन गरिन्छ त्यो नै अर्थशास्त्र हो । यस परिभाषाका मुख्य विशेषता यस प्रकार छन् :-
- अर्थशास्त्र मानवीय व्यवहारको अध्ययन हो ।
- परम्परागत ज्ञान (वेद) तथा प्रचलित कानुन (स्मृति) मा विरोध नपर्ने गरी आर्थिक क्रियाकलाप सम्पन्न गर्नु पर्छ ।
- अर्थशास्त्र राजकीय प्रशासनसंग पनि सम्बन्धित छ ।
- आदर्शतम स्तरको उत्पादन प्राप्त हुने गरी क्रियाकलाप सम्पन्न गर्नु पर्छ ।
कौटिल्य पछिका अर्थशास्त्रकार
सम्पादन गर्नुहोस्वि.सं. १५४१ मा सोमदेव सूरीद्वारा रचना गरिएको नीतिवाक्यामृत भन्ने पुस्तकमा कौटिल्य पछिका लगभग ३० जना टीकाकारको विवरण छ जसमध्ये २० जना अर्थशास्त्रका विद्वान् भनिएको छ । विचारकहरुका अनुसार, १० औँ शताब्दी देखि १४ औँ शताब्दीसम्म अर्थशास्त्र विषयक विशेष ग्रन्थ उपलब्ध हु“दैन । त्यसपछि १४औ“ शताब्दीदेखि १८औं शताब्दीसम्म यस सम्बन्धी ग्रन्थहरू पाइन्छन्, उदाहरणको रूपमा यी ग्रन्थ प्रस्तुत गर्न सकिन्छ– युक्तिकल्पतरु, राजनीति रत्नाकर, राजनीति कल्पतरु, राजनीति कामधेनु, वीरमित्रोदय, र राजनीति मयूख ।
राजनीति रत्नाकर
सम्पादन गर्नुहोस्कौटिलीय अर्थशास्त्रको उल्लेख राजनीति रत्नाकरमा पाइन्छ । यस ग्रन्थको रचना सिमरौनगढलाई राजधानी बनाएर राज्य सञ्चालन गर्ने राजा हरिसिंहदेवका विद्वान मन्त्री आचार्य चण्डेश्वरले १४ औँ शताब्दीमा गरेका हुन् । उनका पिताको नाम वीरेश्वर तथा पितामहको नाम देवादित्य थियो । उपलब्ध ऐतिहासिक तथ्यहरूको विवरणबाट के स्पष्ट हुन्छ भने नेपालका लागि कौटिल्य समतुल्य यी आचार्य राजा हरिसिंहदेवको दरबारका मन्त्री थिए । हरिसिंहदेव कर्णाटवंशी थिए र उनको राजधानी सिमरौनगढमा थियो । राजा हरिसिंहदेवले २८ वर्षसम्म न्यायपूर्वक राज्य सञ्चालन गरेका थिए । सिमरौनगढ राज्य मध्यकालीन नेपालको अत्यन्त सभ्य र सुसंस्कृत राज्य मानिन्छ ।
चण्डेश्वरको ग्रन्थ कौटिलीय अर्थशास्त्र जस्तो विशाल छैन, मनुस्मृति जस्तो प्राचीनतम पनि छैन, तथा शुक्रनीति जस्तो चर्चित पनि छैन तर नेपाल र नेपालीको गौरवको प्रतीक यो ग्रन्थ राजनीति शास्त्री र अर्थशास्त्रीहरूका लागि ज्यादै महत्त्वपूर्ण र विवेचनीय छ ।
कौटिलीय अर्थशास्त्र, शुक्रनीति, मनुस्मृति र नारदस्मृतिको विषय वस्तुसंग मिल्दो जुल्दो ग्रन्थ हो राजनीतिरत्नाकर । यसमा १६ अध्याय अथवा तरङ्गहरु छन् ।
राजनीतिरत्नाकर ग्रन्थमा चण्डेश्वरले अर्थशास्त्र विषयको परम्परामा अमरसिंह, कात्यायन, कामन्दक, कुल्लुक भट्ट, कौटिल्य, नारद, मनु, याज्ञवल्क्य, लक्ष्मीधर, वशिष्ठ, विष्णु, बृहस्पति, व्यास, शुक्र, श्रीकर, र हारीत १६ जना विद्वान तथा तीनवटा ग्रन्थ भागवत, रामायण, र महाभारतको नाम उल्लेख गरेका छन् । यस ग्रन्थमा कौटिलीय अर्थशास्त्रमा उल्लेख नभएका तीन जना विद्वानहरूको नाम पाइन्छ– कुल्लुक भट्ट, श्रीकर, र लक्ष्मीधर ।[१३]
किरांत कालमा नेपालको ऊनी वस्त्र देश विदेशमा निकै प्रसिद्ध भएको कुरा कौटिलीय अर्थशास्त्रको विवरणले थाहा हुन्छ ।[१४] मल्लकालिक नेपालको सम्पन्नता इतिहास प्रसिद्ध छ । यसले त्यस समयमा आर्थिक चिन्तनले राजकीय मान्यता पाएको थियो भन्ने तथ्य प्राप्त हुन्छ । पृथ्वीनारायण शाहको अवधारणामा राज्यका दुइवटा मजबूत आधार स्तम्भ हुन्छन्– किसान र अनुशासित सैनिक ।[१५] पृथ्वीनारायणले उपलब्ध भएसम्म सबै जमीनहरू खेती गराइ उपयोगमा ल्याउन चाहन्थे । कृषियोग्य जमीनमा घर बनेका भए त्यस्ता घरहरू भत्काउनु पर्दछ भन्ने र जमीन जोगाउन धेरै तला भएका भवन निर्माण गर्ने पक्षमा उनी रहेको पाइन्छ । उनको विचारमा घूस दिने र घूस लिने दुवै मुलुकका लागि शत्रु हुन्, त्यसैले तिनीहरूलाई मृत्युदण्डसम्म दिनु पर्दछ भन्ने थियो ।[१६] कृषिलाई महत्त्व र आर्थिक भ्रष्टाचार गर्नेलाई कडा दण्ड दिने पृथ्वीनारायण शाहको नीति थियो । अर्थव्यवस्थालाई आत्मनिर्भर र स्वदेशी अर्थतन्त्रका पक्षधर उनले घरेलु उत्पादन, कला, संगीत र संस्कृतिलाई अभिवृद्धि गर्न निर्देशन जारी गरे ।[१७] जंगबहादुर (वि.सं.१९०३–१९३४) को समयमा मुलुकी ऐनको निर्माण भयो, त्यस पछिका शासकहरूबाट वैदेशिक रोजगारीको प्रारम्भ, पात्रो प्रकाशन, पुल निर्माण, स्कूल, कलेज र अस्पतालहरूको स्थापना, पुस्तकालय स्थापना, र घण्टाघरको निर्माण जस्ता कामहरू भए । मालपोत उठाउने नयां व्यवस्था पनि त्यसै समयमा सुरु भएको हो । सरकारी समाचार पत्रको प्रारम्भ, आन्तरिक हुलाक सेवाको प्रारम्भ, विद्यालयहरू स्थापना, कर्मचारीहरूलाई कार्यालय समयको निर्धारण, सती प्रथा उन्मूलन, विद्युत केन्द्रको स्थापना, अस्पतालको स्थापना, नेपाली भाषा प्रकाशिनी समितिको स्थापना, रेलवे र रोपवेको निर्माण तथा नेपालको नक्शा निर्माण जस्ता कामहरू रणोद्दीपदेखि चन्द्रशम्शेर (वि.सं.१९३४–१९८६) को समयसम्म भइसकेको थियो । उद्योगको रूपमा जूट उद्योग र संयुक्त पू“जी कम्पनीको रूपमा नेपाल बैङ्क लिमिटेडको स्थापना, उच्च अदालत, र आगो निभाउन संस्थागत दमकल व्यवस्थाको सुरुआत भयो । म्युजियम, चिडियाखानाको स्थापना, आकाशवाणीको प्रचलन, र राष्ट्रिय आर्थिक समितिको गठन पनि यस अवधिमा भयो । नेपाली अर्थव्यवस्थाको प्रारम्भिक सर्वेक्षण अन्तिम राणा प्रधानमन्त्री मोहन शम्शेरको समयमा भएको हो । जसको प्रारम्भ नेपालविद् प्रो. टोनी हागेनले गरेका थिए ।
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ वैश्य, एम सी (सन् १९९३), आर्थिक विचारोंका इतिहास, आगरा: रतन प्रकाशन मन्दिर, पृ: पृ. १९–२८।
- ↑ {{cite book|last1=ज्ञवाली|first1=बाबु राम|title=पूर्वीय अर्थशास्त्र – प्राचीनतम तथ्य, नवीनतम जानकारी|date=२०१२|publisher=ज्ञानज्योति प्रकाशन|location=रुपन्देही नेपाल
- ↑ {{cite book|last1=ज्ञवाली|first1=बाबु राम|title=पूर्वीय अर्थशास्त्र – प्राचीनतम तथ्य, नवीनतम जानकारी|date=२०१२|publisher=ज्ञानज्योति प्रकाशन|location=रुपन्देही नेपाल
- ↑ के पी जायसवाल (सन् १९७८), हिन्दु पोलिटी, बेंगलोर: द बेंगलोर प्रिन्टिंग एन्ड पब्लिशिंग कम्पनी लि., पृ: पृ २।
- ↑ गैरोला, वाचस्पति (अनु.) (सन् २००९), कौटिलीय अर्थशास्त्रम्, वाराणसी: चौखम्बा भवन, पृ: पृ. ७१।
- ↑ थोमस, एफ डब्लु (सन् १९२१), बृहस्पति सूत्र, लाहौर: द पञ्जाब संस्कृत बुक डिपो, पृ: पृ. २।
- ↑ वाचस्पति गैरोला अनु. (सन् २००९), कौटिलीय अर्थशास्त्रम्, वाराणसी: चौखम्बा भवन, पृ: पृ. ७१।
- ↑ जगदीश्वरानन्द, अनु. (वि.सं. २०६५), शुक्रनीति सार, हरियाणा: रामलाल कपूर ट्रष्ट, पृ: १.३.४।
- ↑ के पी जायसवाल (सन् १९७८), हिन्दु पोलिटी, बेंगलोर: द बेंगलोर प्रिन्टिंग एन्ड पब्लिशिंग कम्पनी लि., पृ: पृ ४।
- ↑ रङ्गराजन, एल एन (सन् १९९२), कौटिल्य– द अर्थशास्त्र, देल्ही इन्डिया: पेंगुइन क्लासिक्स, पृ: १६।
- ↑ काङ्ले, आर पी (सन् २००६), कौटिलीय अर्थशास्त्र ३, दिल्ली: मोतीलाल बनारसी दास, पृ: ४२।
- ↑ ञवाली, बाबुराम (भदौ असौज, वि.सं. २०६८). "कौटिलीय अर्थशास्त्र एवं पैतामहतन्त्रको संक्षिप्त परिचय". मिर्मिरे, नेपाल राष्ट्र बैङ्क. वर्ष ४० अङ्क ३ (पूर्णांक ३१०): ८५–९२.
- ↑ ज्ञवाली, बाबु राम,(२०१२) कौटिल्य र शुक्रको राजनीतिक अर्थशास्त्र, ज्ञानज्योति प्रकाशन, रुपन्देही नेपाल 978-9937-2-7362-6 p.12
- ↑ ज्ञवाली, बाबु राम, वि.सं.२०७१, कौटिल्य र शुक्रको राजनीतिक अर्थशास्त्र, ज्ञानज्योति प्रकाशन, पृ.१७०
- ↑ ( महत, राम शरण, वि.सं. २०६३, लोकतन्त्रका पक्षमा, नेपाली अर्थ राजनीतिका चरण र चुनौती, काठमाडौँ : मकालु प्रकाशन गृह, पृ. १ ।
- ↑ राम शरण महत, वि.सं. २०६३, लोकतन्त्रका पक्षमा, नेपाली अर्थ राजनीतिका चरण र चुनौती, काठमाडौँ : मकालु प्रकाशन गृह, पृ. ९
- ↑ ( चितरंजन नेपाली, वि.सं. २०५८, वर्तमान नेपालको निर्माणमा श्री ५ पृथ्वीनारायण शाह, पृथ्वी जयन्ती २०५८, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।