लिच्छवि काल

ऐतिहासिक काठमाण्डौ उपत्यकाको राजवंश

लिच्छवि काल प्राचीन नेपालमा सन् ४०० देखि ७५० सम्म (करिव ३५० बर्ष) रहेको इतिहास पाइन्छ।[स्रोत नखुलेको] कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री हुयान साङ को यात्रा वृत्तान्त अनुसार वैशालीबाट भागेर आएका केही वीर पुरुषले किराँतहरूलाई खेदेर लिच्छवि वंशको स्थापना गरे । पाइएका शिलालेख, मुद्रा र चाँगुनारायण मन्दिरका अभिलेखहरू अनुसार मानदेव लिच्छवि वंशका प्रथम ऐतिहासिक राजा थिए । लिच्छवि वंशमा सुपुष्प नामका राजा भए जसलाई लिच्छवि राजवंशका संस्थापक भएको मानिन्छ। तर, मानदेव भन्दा १६ पुस्ता अगाडि विक्रम संवतको दोश्रो शताब्दीमै जयदेव प्रथमले लिच्छवि राज्यको जग बसालेको मानिन्छ। जयदेव प्रथम पश्चातका लिच्छवि राजाहरू हरीदत्त, वृषदेव, शंकरदेव र धर्मदेव हुन् । मानदेव पछि भने वसन्तदेव र रवि गुप्तको द्वैध शासन, रामदेव र क्रमलीलको संयुक्त शासन, गंगादेव र भौमगुप्तको शासनकाल चल्यो। वसन्तदेवको पालामा सुरु भएको संयुक्त शासन अंशुवर्मा र शिवदेवको पालामा चरमोत्कर्षमा पुग्यो।

लिच्छविहरूको उत्पत्तिसम्पादन

लिच्छविहरू सूर्यवंशी क्षेत्रीय भएको कुरामा अधिकाँशको मतैक्यता रहेको छ। नेपाल आउनु भन्दा पहिले लिच्छविहरूले बिहारमा गंगा नदीको उत्तरमा अवस्थित मुजफ्फरपुर जिल्लको वैशाली इलाका (हालको बसाढ़को नजिक) मा गणतन्त्रामक राज्य चलाएकोमा राजतन्त्रामक राज्यहरूलाई दमन गर्न थालेपछि नेपाल उपत्यकामा किरातीहरूको शासन भइरहेको समयमा शाक्य, मल्ल, वृज्जिहरूका साथै लिच्छविहरू पनि शरणार्थीका रुपमा प्रवेश गरी किरातीहरूलाई विस्थापित गरी शासनमा अधिकार जमाए। किरातीहरू र आगन्तुक लिच्छवि, मल्लहरीको रहन सहन भिन्न रहेकाले लिच्छविहरूको नेतृत्वमा किरातीहरूसंग विद्रोह गरी सत्तामा नियन्त्रण कायम गरेको कुरा ललितपुरको च्यासटोलमा आठ सय किरातीहरू मारिएको घटनाले पुष्टि गर्छ।

लिच्छविहरू अयोध्याका सूर्यवंशी राजा दशरथका वंशका ८ औ पुस्तापछि सुपुष्प राजा भएको कुरा जयदेव द्वितीयको वि.स. ७९० को पशुपतिको अभिलेखमा लेखिएको छ। सुपुष्प जयदेव प्रथम भन्दा २३ औ पुस्ता अगाडिका राजा भएकाले इसापुर्व तेस्रो शताब्दीमा नेपालमा लिच्छवि शासन सुरु भ्तेको मान्नेहरूले सुपुष्पलाई नेपालको प्रथम लिच्छवि राजा मानेका छन्।

गोपालराजवंशावलीमा उल्लेख भए अनुसार सुपुष्पले वर्णव्यवस्था, न्याय व्यवस्थाको संरचना गरेको र पशुपतिको मन्दिर बनाएका थिए। इश्वी सन आरम्भतिर मात्र नेपालमा लिच्छवि शासनको आरम्भ भएको मान्नेहरूले जयदेव प्रथमलाई नेपालको पहिलो लिच्छवि शासक मानेका छन्। जयदेव प्रथमपछि हरिदत्त, वृषदेव, शङ्करदेव, धर्मदेव आदि १६ पुस्ताले नेपालमा शासन गरेपछि धर्मदेवका छोरा मानदेव राजा भएपछि नेपालको इतिहास तथ्यमा आधारित हुन् पुग्यो। अंशुवर्मा, शिवदेव, जयदेव द्वितीय आदि प्रतापी राजाहरले नेपालको उन्नति र सम्बृद्धिमा योगदान दिए। अंशुवर्माको भारतका राजा हर्षवर्धनसँग निकटतम वैवाहिक सम्बन्ध थियो । यस तथ्यबाट यो पुष्टि हुन्छ कि गण्डकीदेखि कोशीसम्म पहाडी भूभागमा लिच्छविहरूले किराँतहरूलाई धपाई एकछत्र राज्य गरेका थिए भने तराई प्रदेशमा प्रसेनजीतर अजातशत्रुका सन्तानहरू मिथिला राज्यलाई आफ्नो अन्तर्गत वैशाली र पाटलीपुत्र राज्यमा समावेश गरेका थिए । अंशुवर्मापछि नरेन्द्रदेवलाई भारतीय रजौटाहरूले समर्थन सहयोग गरी राज्यारुढ गरेका थिए । नरेन्द्रपछि गुप्त वंशका शासनले गर्दा सम्पूर्ण राज्य स-साना राज्य रजौटामा विभाजित भयो । यी सम्पूर्ण घटना ईसा पूर्वका हुन् । उता बङ्गालमा चालुक्यसेनहरूको राज्य थियो । नान्यदेव चालुक्य राजाको सेनापति थिए । जसले तिरहुत डोय राज्यको स्थापना गरी सिम्रोनगढलाई राजधानी बनाए । मुसलमान आक्रामक सुद्धिन तुगलकका भयले नान्यदेवका पनाति हरि सिंहदेव सर्लाही जिल्ला हुँदै भक्तपुर पुगे र यिनकी श्रीमती राजल देवीले जयस्थिति मल्ललाई ज्वाइँ बनाई मल्लवंशको शासन स्थापित गराइन् ।

शासन व्यवस्थासम्पादन

लिच्छविहरूको शासन काललाई नेपालको स्वर्णयुग भनिन्छ।

लिच्छवि कालमा राजाहरूलाई नृप, महाराजाधिराज, भट्टारक महाराजाधिराज, वास्पपादानुधात जस्ता उपाधिबाट विभूषित हुन्थे। दरबारमा चारवटा अड्डाहरूको स्थापना गरिएको पाइन्छ जसमा पुर्वाधिकरण (पुर्व भागको प्रशासन हेर्ने), पश्चिमाधिकरण (पश्चिम भागको प्रशासन हेर्ने), भट्टाधिकरण (जात र धर्मको रेखदेख गर्ने) र विष्टि (झारा सम्वन्धित वा श्रमको बन्दोवस्त गर्ने) पर्छन। केन्द्रमा बस्ने जनतालाई पौर र प्रान्तमा बस्ने जनतालाई जनपद भनीन्थ्यो। जिल्लामा भन्सार तथा शुल्क उठाउन शौल्लिकक, जिल्लाको सुरक्षा चौकी हेर्न गौल्मिक आदि नियुक्त गरिन्थ्यो। गाउभित्रको मुद्धा मामिला हेर्न पांचचाली गठन गरिन्थ्यो। लिच्छवि कालमा ग्रामिण क्षेत्र ग्राम, तल र द्रंग गरी ३ श्रेणीमा विभाजित हुन्थ्यो। गाउँमा राजाको प्रतिनिधिका रुपमा प्रतिहार (द्वारे) नियुक्ति हुन्थे।

लुम्बिनीको निग्लहवामा स्थापित अशोकस्तम्भबाट के स्पष्ट हुन्छ भने लिच्छविकालमा संस्कृत र पालि भाषामा वार्तालाप गरिन्थ्यो भने लेखाईमा ब्राह्मी लिपिको प्रयोग हुन्थ्यो। चिनियाँ यात्री हु एन साङ को यात्रा वृत्तान्तमा ‘शिक्षित् राजाका अशिक्षित जनता’ भन्ने उल्लेख भएकाले राजपरिवार शिक्षित भएपनि जनता अशिक्षित नै रहेको बुझ्न सकिन्छ। शैक्षिक संस्थाहरूको भुमिलाई ‘अग्रहार’ अर्थात् कर तिर्न नपर्ने व्यवस्था गरिएको थियो।

व्यवस्थापिकासम्पादन

लिच्छविकालमा व्यवस्थापिकाको कार्य अन्तरासन (राज्यसभा) ले गर्थ्यो । असल शासन व्यवस्था कायम गर्न आवश्यक पर्ने एन कानुनको निर्माण गर्न, राजालाई सल्लाह र सुझाव दिने काम यही अन्तरासनले गर्थ्यो। लिच्छविकालमा ग्राम, तल, द्रंग आदि विभिन्न प्रशासनिक एकाईहरू थिए। यसको प्रमुखमा प्रधान रहन्थे भने प्रशासनिक कार्य पन्चालीले गर्थे जसलाई स्थानीय स्तरका कतिपय नीति नियमहरू बनाउने अधिकार दिईएको हुन्थ्यो।

कार्यपालिकासम्पादन

लिच्छविकालमा कार्यपालिकाको प्रमुख राजा हुन्थे। राज्य व्यवस्था दैनिक प्रशासन राजालाई सघाउन प्रधानमन्त्री (महाअमात्य), मन्त्री (अमात्य), प्रहरी प्रमुख (दण्डनायक), सेना प्रमुख (महाबलाध्यक्ष), राजाका निजि सचिव (महाप्रतिकार) आदिको व्यवस्था थियो। केन्द्रदेखि टाढा रहेका गाउमा तिरो उठाउने र झैँ-झगडा मिलाउने काम द्वारेहहरूले गर्थे। यिनीहरू राजाका प्रतिनिधिका रुपमा रहन्थे र आफुले समाधान गर्न नसक्ने मुद्ध राजाकहाँ पठाउथे। त्यसैले केन्द्रदेखि टाढाको क्षेत्रमा स्थानीय सामन्तहरूले शासन चलाउथे। जिल्लामा राजप्रतिनिधीको रुपमा ‘विषय पति’ हुन्थे।

न्याय व्यवस्थासम्पादन

लिच्छविकालमा न्याय व्यवस्थाका लागि कुठेर, माप्चोक, लिंगवल, शुल्ली वा शोल्ल जस्ता अदालतहरूको व्यवस्था थियो। यस कालमा वाकदण्ड (हप्काउने), धिकदण्ड (बेइज्जत गर्ने), धनदण्ड (जरिवाना तिराउने), बध दण्ड (अंग छेदन) र सर्वस्वहरण जस्ता दण्डहरू दिईन्थयो। ग्राम – पांजलीहरूले चिनेको मुद्धाको पुनरावेदन द्वारेमार्फत सम्बन्धित अधिकारीमा गर्नुपर्ने व्यवस्था थियो। महासर्वदण्ड नायकले प्रधानन्याधिशलाई जनाउछ। लिच्छविकालिन समयमा कुथेर, माप्चोक, लिंगवल, शुल्ली वा शोल्ल गरी ४ अधिकरणको व्यवस्था थियो जसमध्ये कुथेर अधिकरणले राजस्व संकलन, जग्गा खरिदविक्री तथा भुमिसम्बन्धि मुद्धा हेर्ने, माप्चोक अधिकरणले विवाह, पारपाचुके तथा सम्पतिको मुद्धा हेर्ने र शुल्ली वा शोल्ल: पन्चपराध (चोरी, जारि, गत्या, राजद्रोह र अपराधीसंग मिलेमतो हेर्ने)को मुद्धा हेर्ने व्यवस्था थियो।

समाज व्यवस्थासम्पादन

लिच्छविकालमा चार वर्ण, अठार जातको प्रथा थियो। वसन्तदेवद्वारा जारि गरिएको सनदमा १८ वटा जातिहरूको उल्लेख गरिएको छ। लिच्छविहरू सूर्यवंशी क्षेत्रीय भएको, राजपद लगायत अन्य राजकीय कार्यहरू, शान्तिसुरक्षा जस्ता महत्वपूर्ण जिम्मेवारीहरू यिनैमाथि भए पनि ब्राह्मणपछि दोश्रो स्थान क्षेत्रीयहरूको थियो। वर्णाश्रम व्यवस्था अनुसार तेश्रो स्थानमा रहेका वैश्यले खेतीपातीका साथै वाणिज्य व्यापारका कार्यहरू गर्दथे। व्यापारिक नेतालाई सार्थबाह, साधारण व्यापारीलाई वणीक शब्दको प्रयोग हुन्थ्यो। चौथो स्थानका सुद्रलाई चांडकाल भनिन्थ्यो।

मुद्राहरूसम्पादन

 
जिंशु गुप्ताको समयमा प्रयोग भएको तावाको मुद्राको अगाडिको भाग।

इशापूर्व देखि नै भारतमा प्रचलनमा रहेका मुद्राहरू कोर्षापण, पुराण, पण आदि मुद्राहरू लिच्छविकालमा प्रचलनमा आएका थिए। तावा निर्मित सबैभन्दा कम मुल्यको मुद्रा पण सबैभन्दा बढी प्रचलनमा थियो भने १६ तामाको पण बराबर हुने १ पुराण हुने सबैभन्दा बढी मुल्यको मुद्रा चांदीबाट निर्मित हुन्थ्यो। कोर्षापण पुराणकै अर्को नाम हो जुन चांदीबाट निर्मित हुन्थ्यो र १६ ताम्रपण वरावर १ कोर्षापण हुन्थ्यो। अंशुवर्माको अभिलेखमा वृतिका, मानक, गुणक, अंशुवर्मा, वैश्रवण, पशुपति, जिष्नुगुप्त, वृष नामक मुद्राको प्रयोग हुने पुष्टि हुन्छ।

अन्त्यकालसम्पादन

प्रारम्भका लिच्छवि राजाहरू जस्तै अन्त्यतिरका लिच्छवि राजाहरू शक्तिशाली र लोकोपकारी भएनन्। लिच्छवि वंशलाई द्वैध शासनले पनि ठुलो असर पुरायो। राजा अंशुवर्मापछि नेपालमा द्वैध शासन चलेको थियो। यसै क्रममा ध्रुवदेव, जिष्णु गुप्त, भीमार्जुन-जिष्णु गुप्त र विष्णु गुप्तको संयुक्त शासन रह्यो भने राजा नरेन्द्रदेवलाई शक्तिशालि भारदारहरूले २० बर्षसम्म चीनमा विस्तापित् हुन् वाध्य तुल्याईएको थियो। चीनको सहयोगमा नरेन्द्रदेवले आफ्नो गुमेको राज्य पुन: प्राप्त गरेका थिए। नरेन्द्रदेवको शासन पछि जयदेवको पालामा सत्ता प्राप्तिको लागि भिष्ण संघर्ष भयो। द्वैध शासनले जर्जर भएकाले लिच्छविहरूले लोककल्याणकारी कार्यमा ध्यान पुर्याउने सकेनन्। लिच्छवि शासनको उत्तरार्धमा सामन्ती शोषणबाट जनता पिडित भएकाले लिच्छवि वंश र तत्कालिन सामन्तहरूको विरुद्धमा विशाल जनसंघर्ष हुँदा लिच्छवि वंश धराशायी भई नेपालमा ठकुरी वंशको स्थापना भएको मानिन्छ।

सन्दर्भ सूचीसम्पादन