फुटबल खेल
एसोसिएसन फुटबल जसलाई प्राय: फुटबल (अङ्ग्रेजी: फुट: खुट्टा वा पद, बल: भकुण्डो) वा सकर भन्ने गरिन्छ, यो संसारकै लोकप्रिय खेलहरू मध्ये एक हो। यो एउटा सामूहिक खेल हो र यसलाई ११/११ खेलाडीहरूको दुई समूह बीच खेल्ने गरिन्छ। फुटबललाई सामान्यत: एउटा आयताकार घाँस वा कृत्रिम घाँस भएको मैदानमा खेलिन्छ जसको अन्तिममा एउटा गोलपोस्ट हुन्छ। खेलाडीहरूद्वारा विरोधी समूहको गोलपोस्टमा आफ्नो चालाकीले भकुण्डोलाई गोल गर्नुनै यस खेलको उद्देश्य हो। खेलमा गोलरक्षक नै एउटा मात्र यस्तो खेलाडी हुन्छ जसले भकुण्डोलाई रोक्न अथवा बचाउनका लागि आफ्नो हात प्रयोग गर्न अनुमति हुन्छ। समूहको बाँकी खेलाडी प्रायजसो भकुण्डोलाई हिर्काउन (किक)का लागि आफ्नो खुट्टाको प्रयोग गर्छन्। तथा कहिलेकाहीं हावामा भकुण्डो रोक्नका लागि आफ्नो छाती या टाउकोको प्रयोग गर्छन्। जुन समूह खेलको अन्त वा समय समाप्ति सम्म बढी गोल गर्न सफल हुन्छ त्यहि टोली विजय घोषित हुन्छ। खेलको अन्त अर्थात समय समाप्तिसम्म यदि खेल बराबर रहेमा त्यस खेललाई बराबर वा टाई घोषित गर्न सकिन्छ अथवा खेललाई अतिरिक्त समयमा लिएर जानु र पेनाल्टी-सुटआउटद्वारा जितहारको निर्णय गर्नु प्रतियोगिताको स्वरुप माथि निर्भर हुन्छ।[५]
उच्चतम अन्तराष्ट्रिय संस्था | फिफा |
---|---|
Nicknames | सकर, फुटी, 'द ब्युटिफुल गेम'[१], "द वर्ल्ड गेम" |
पहिलो खेल | ब्रिटेन (१९औँ शताब्दीको मध्यमा)[२][३][४] (इङ्ल्यान्डमा १५औँ शताब्दी देखि फैलिदै) |
अभिलक्षण | |
सम्पर्क | हुन्छ |
टिम सदस्य | ११/११ जना |
लैङ्गिक विभाजन | महिला/पुरुष |
श्रेणीकरण | समूह खेल, भकुण्डे खेल |
खेल सामाग्री | फुटबल वा "सकर भकुण्डो" |
आयोजना स्थान | फुटबल खेल मैदान |
उपस्थिति | |
ओलम्पिक | १९०० |
आधुनिक फुटबललाई इङ्ल्यान्डमा 'द फुटबल एसोसिएसन' (फुटबल सङ्घ)को गठनसँगै गाँसिएको थियो र त्यस लगत्तै सन् १८६३ मा बनाइएको 'लव्ज अफ द गेम' (खेलको कानुन) को आधारमा नै आज फुटबल खेल्ने गरिन्छ। अन्तर्राष्ट्रिय आधार वा स्वरूप माथि फुटबलको नियन्त्रण (फेडरेसन इन्टरनेसनल डी फुटबल एसोसिएसन) वा एसोसिएसन फुटबलको अन्तर्राष्ट्रिय महासङ्घ जसलाई सङ्क्षेपमा FIFA वा एसोसिएसन फुटबलको अन्तर्राष्ट्रिय महासङ्घले गर्छ। फुटबलको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय र लोकप्रिय प्रतियोगिता फिफा विश्व कप हो जसको आयोजन प्रत्येक चार वर्षको अन्तरमा गरिन्छ। यस प्रतियोगितालाई व्यापक रूपमा सम्पूर्ण विश्वमा हेर्ने गरिन्छ र यसको दर्शक ग्रीष्मकालीन ओलम्पिक खेलहरूलाई हेर्ने दर्शकहरूको लगभग दुई गुणा बढी हुन्छ।
इतिहास
सम्पादन गर्नुहोस्यो खेल प्राचीन ग्रिकहरूले पनि खेल्ने गरेको पाईएको छ। त्यसबेलाको फुटबल खेललाई हार्पास्टोन भनिन्थ्यो। त्यसैगरी रोमनहरूले खेल्ने त्यस्तै किसिमको फुटबल खेललाई हार्पास्टुम भनिन्थ्यो। मध्ययुगमा इटलीमा फुटबल खेल खेलिन तथा विकसित हुन थाल्यो। त्यसैताका पोलिनेसियाका बासिन्दाहरूले पनि बाँसका फाइबरबाट बनेका फुटबलले धेरै किसिमका खेलहरू खेल्ने गर्थे। एस्किमोहरू हिमाली झारपातका बिरुवाहरूको डल्लो बनाई फुटबल खेल्थे। आजभोलि खेलिने विभिन्न किसिमका फुटबलहरू इंग्ल्याण्डमा खेलका रूपमा विकसित तथा संयोजित भए। त्यसबेला नै पश्चिमा देशहरूमा फुटबल यति लोकप्रिय थियो की इंग्ल्याण्डका राजा एडबर्ड द्धितीयाले सन् १३१४ मा तथा हेनरी छैंठोले यो खेलमाथि प्रतिबन्ध नै लगाए। त्यसरी फुटबल खेलमाथि प्रतिबन्ध लगाउनुको कारण चाँहि फुटबल खेलका कारण सिपाहीको क्षमता जोगाउनु थियो। त्यसबेला फौजका सिपाहीहरू फुटबल खेलप्रति अति आकर्षित थिए। सिपाहीहरू युद्धमा आवश्यक पर्ने सैनिक कला धनु बिद्यालाई बेवास्ता गर्न थालेका थिए। मध्यकालमा फुटबल खेलमाथि विभिन्न सात जना शासकहरूले अलग अलग समयमा पटक पटक प्रतिबन्ध लगाएको इतिहास छ। तर, प्रतिबन्धले यो खेलको लोकप्रियता तथा विकासलाई रोक्न सकेन। फुटबलले आधुनिक र ब्यबस्थित स्वरुप सन् १८६३ मा भएको हो। त्यसै वर्षदेखि इंग्ल्याण्ड फुटबल एशोसिएशनको गठन भयो। सन् १८७२ मा इंग्ल्याण्ड र स्कटल्याण्डका बीच पहिलो अन्तराष्ट्रिय खेल भयो। पछि फुटबल एशोसिएशन कपको शुरुवात भयो। भारतमा डुरंड कप प्रतियोगिता आयोजना गरियो। यो प्रतियोगिता बिश्वको दोश्रो आधुनिक फुटबल प्रतियोगिता मानिन्छ। ओलम्पिक खेलमा फुटबल खेल सन् १८९६ देखि समावेश गरियो। शुरुका चारवटा ओलम्पिकमा फुटबल प्रतियोगिताको पदक इंग्ल्याण्डले जितेको थियो। यता सन् १९०४ मा युरोपका सातवटा फुटबल सङ्गठनहरूको एक बैठक बस्यो। फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्यान्ड, स्पेन, स्विडेन र स्वीट्जरल्याण्डका फुटबल सङ्गठनहरू सहभागी रहेको उक्त बैठकले फुटबल खेललाई अन्तराष्ट्रिय रुपमै एकरुपता पार्न तथा ब्यबस्थित ढङ्गले सञ्चालन गर्न एउटा अन्तराष्ट्रिय संस्था बनाउने निर्णय गर्यो। फलत अन्तराष्ट्रिय फुटबल महासंघको जन्म भयो। फिफा गठन भएकै अवसरमा भएको पहिलो बैठकमा फिफाले प्रत्येक चार वर्षमा एक पटक बिश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्ने निर्णय गर्यो। तर, अन्तराष्ट्रिय स्तरको बिश्वकप फुटबल सञ्चालन गर्ने निर्णय तत्काल कार्यान्वयन हुन सकेन । निर्णय भएको करीब २६ वर्षपछि मात्र सन् १९३० मा पहिलो पटक बिश्वकप फुटबल प्रतियोगिता उरुग्वेमा आयोजना गरियो। उरुग्वेमा भएको उक्त पहिलो बिश्वकप फुटबल प्रतियोगितामा आयोजक राष्ट्र उरुग्वेले नै अर्जेटिनालाई फाइनलमा पराजित गर्यो। त्यस खेलमा १३ वटा टोली सहभागी थिए। युरोपका शक्तिशाली राष्ट्रहरूको पहलमा भएकोले मात्र नभई आर्थिक रूपमा नै पनि सफल भएको उक्त प्रतियोगिता बिश्वब्यापी रूपमा नै आम जनमानसको ध्यान आफूतिर तान्न सफल भयो। अव युरोपका अन्य प्रमुख राष्ट्रहरू पनि यस खेलप्रति आकर्षित भए। तर इंग्ल्याण्ड फिफाको सदश्य भइसकेको थिएन। त्यसैले उसले बिश्वकप फुटबल प्रतियोगितामा भाग लिन अस्वीकार गर्यो। सन् १९३४ को बिश्वकप फुटबल फासिस्ट तानशाह मुसोलिनले शासन गरिरहेको देश इटलीमा भयो। उक्त प्रतियोगिता पनि आयोजक देशले नै अर्थात इटलीले जित्यो। सन् १९३८ को बिश्वकप फुटबल प्रतियोगिता फ्रान्सले आयोजना गर्यो। यस पटक पनि प्रतियोगिता इटलीले नै जित्यो। रोचक कुरा त के छ भने यो बेलासम्म आइपुग्दा फुटबलमा ३६ वटा राष्ट्रका टोलीहरूले भाग लिएका थिए र बिश्वकप फुटबलको ईतिहासमा पहिलोपटक अन्तिम १६ जना प्रतियोगीहरू छान्नका लागि सहभागी राष्ट्रहरूबीच पूर्व छनौट प्रतियोगिता समेत सञ्चालन गर्नुपरेको थियो। अन्य खेलहरूलाई जस्तै बिश्वयुद्धले बिश्वकप फुटबल प्रतियोगितालाई पनि ठूलो बाधा पुर्यायो र सन् १९५० मा आएर मात्र ब्राजिलमा बिश्वकप फुटबल पुन सञ्चालन हुन सक्यो। पहिलोपटक इंग्ल्याण्डले भाग लिएको यस प्रतियोगितामा इंग्ल्याण्डको टोली अमेरिकाको टोलीबाट १ का बिरुद्ध शुन्य गोलले पराजित भयो। यस पटकको प्रतियोगिता आयोजक राष्ट्र ब्राजिललाई हराएर उरुग्वेले जित्यो। स्वीट्जरल्याण्डमा भएका सन् १९५४ को बिश्वकपमा जर्मनीले हंगेरीलाई परास्त गरेर जित्यो । बिश्वकप प्रतियोगितकै कारण फुटबल खेल बिश्वब्यापी रूपमा सबैभन्दा लोकप्रिय खेलको रूपमा परिचित भयो। बिश्वकप फुटबल तथा यस खेलको बढ्दो लोकप्रियता के ले पनि प्रष्ट पार्न सक्छ भने शुरुवातमा १३ वटा मात्र टोलीले भाग लिएको बिश्वकप प्रतियोगितामा सन् १९९४ सम्ममा आइपुग्दा बिश्वका १ सय ४० भन्दा धेरै राष्ट्रका टोलीले भाग लिएका थिए। यति ब्यापक परिणाममा सहभागी हनुकै कारण बिश्वकप प्रतियोगिताकका लागि प्रत्येक महादेश भित्रका देशहरू बीच नै छनौट प्रतियोगिताको आयोजना हुन्छ। यसरी छनौट हुँदै गएको अन्तिम चरणको प्रतियोगितामा भाग लिन पाउँछन्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "In a globalised world, the football World Cup is a force for good", The Conversation, १० जुलाई २०१४, अन्तिम पहुँच ११ जुलाई २०१४।
- ↑ "History of Football – Britain, the home of Football", FIFA।
- ↑ Post Publishing PCL., "Bangkok Post article", Bangkok Post।
- ↑ "History of Football – The Origins", FIFA, अन्तिम पहुँच २९ अप्रिल २०१३।
- ↑ "Procedures to determine the winner of a match or home-and-away", Laws of the Game 2010/2011, FIFA, पृ: 51–52, अन्तिम पहुँच ४ मार्च २०११।