नयराज पन्त
नयराज पन्त (वि.सं. १९७० - वि.सं. २०५९) एक नेपाली इतिहासकार हुन् । उनले उनले लिच्छवि संवत्को निर्णय नामक पुस्तकका लागि वि.सं. २०४३ को मदन पुरस्कार प्राप्त गरेका थिए ।[१]
नयराज पन्त | |
---|---|
जन्म | वि. सं. १९७० साउन २६ महाबौद्ध, काठमाडौँ |
मृत्यु | वि.सं. २०५९ कात्तिक १८ |
पेशा | प्राध्यापन इतिहासकार |
उल्लेखनीय कार्य | इतिहास संशोधन मण्डल |
सन्तान | २ छोरा : महेशराज पन्त दिनेशराज पन्त ३ छोरी: अम्बिका, धन र अमिता पन्त |
मातापिता | कृष्णदत्त पन्त यज्ञयुवादेवी |
जीवनी
सम्पादन गर्नुहोस्पन्तको जन्म बाबु कृष्णदत्त पन्त तथा आमा यज्ञयुवादेवीका सुपुत्रका रूपमा वि. सं. १९७० साउन २६ गते महाबौद्ध, काठमाडौँमा भएको थियो।[२] नयराज जन्मेको डेढ वर्षमा नै कृष्णदत्तको मृत्यु भएको थियो। त्यसपछि यज्ञयुवा आफ्नो नाबालक छोरो बोकेर माइत गइन्। त्यही नै नयराज पन्त हुर्के, बढे र पढे। मामाघरमै १३ वर्षका पन्तको जनकराज पण्डित (पाण्डे)की छोरी १२ वर्षीया बुधकुमारीसँग विहे भयो। पन्तदम्पत्तिबाट दुई छोरा महेशराज पन्त तथा दिनेशराज पन्त अनि तीन जना छोरी अम्बिका, धन र अमिताको जन्म भयो।
शिक्षा
सम्पादन गर्नुहोस्पन्तको आफ्नी आमाका बुबा भुवननाथ पाण्डेबाट अक्षराम्भ भएको थियो। पन्तले सानैदेखि मावलका तिनै हजुरबुबाको आडमा ज्योतिष र इतिहास विषयक ज्ञान आर्जन गर्न थालेका थिए। वास्तवमा उनका हजुरबाबु यी दुवै विषयमा संलग्न भएका कारण पन्तले पनि त्यही बाटो मात्रै समाइरहे। उनैको वातावरण, भावना र हुटहुटीले नै पन्तले बाल्यकालदेखि इतिहासमा चासो राखेका थिए। आफ्नो शैक्षिक अनुभव आर्जन गर्नचाहिं उनी कुमारी चोकको भाषा पाठशालामा भर्ना भए। अनि उनी स्रेस्ता पाठशाला पनि पुगे। त्यसपछि उनको पढाई रानीपोखरीको संस्कृत पाठशालामा हुन थाल्यो। पन्तले आफूले जानेको विद्या आफ्ना टोलका आफूभन्दा सानाहरूलाई पनि सिकाउँथे। उनी फकाईफकाई बालबच्चा पढाउँथे तर ट्युसन पढाउँदा कसैसँग पैसा लिदैन थिए। पन्तले काशीको राजकीय संस्कृत पाठशालाबाट गणित ज्योतिषमा आचार्य गरे र उनी त्यसमा प्रथम श्रेणीमा प्रथम भएका थिए। त्यही क्रममा यिनले संस्कृतको धेरै नै अध्ययन गरेका थिए। वास्तवमा त्यसै बेला उनी संस्कृतभाषा लेख्न र बोल्नमा सिद्धहस्त पण्डितका रूपमा नै प्रस्तुत भएका थिए। साथै यिनले अङ्ग्रेजी साहित्यको पनि विशेष अध्ययन गरेका थिए। अनि हिन्दी भाषाको लेखापढीमा पनि उनको दिलचस्पी थियो।
सरकारी सेवा
सम्पादन गर्नुहोस्रानीपोखरी संस्कृत पाठशाला
सम्पादन गर्नुहोस्आचार्य गरेपछि पन्तले रानीपोखरीको संस्कृत पाठशालामा काम पाए। त्यहाँ उनी ज्योतिषको अध्यापक थिए। सरकारी स्कुलमा काम गर्न थालेपछि उनको दिनचर्या पनि राम्रो हुन थाल्यो। उनको कामले उनी आफै पालिने अवस्थामा अनुवाद हुन थाले। त्यसपछि उनी लेखन र सम्पादनमा पनि जुट्न थाले।
वाल्मीकि विद्यापिठ
सम्पादन गर्नुहोस्पन्तको योगदान वाल्मीकि विद्यापिठमा पनि पुग्यो। त्यहाँ उनी नेपाल सरकारको प्रथम श्रेणी अधिकृत स्तरका प्राध्यापकका नियुक्त भए। अनि उनले त्यहाँ झन्नै सत्र वर्षसेवा गरे।
त्रिभुवन विश्वविद्यालय
सम्पादन गर्नुहोस्वाल्मीकि विद्यापिठपछि उनी त्रिभुवन विश्वविद्यालयअन्तर्गत अन्वेषणमा पसे। अनि उनी खगोल गणित ज्योतिषमा संलग्न भए। त्यसपछि उनको योगदानको चर्चा राजदरबारसम्म पनि पुग्यो।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
सम्पादन गर्नुहोस्२०३६ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्यका रूपमा नयराज पन्तको प्रज्ञा भवनमा प्रवेश भयो ।[३] उनी झन्नै पन्ध्र वर्षम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्यमा आबद्ध भए। प्रतिष्ठानबाट प्राप्त जिम्मेवारीमध्ये उनले तीन–तीन महीनामा जंगबहादुर राणासम्बन्धी प्रवचन दिने क्रममा २०३६ साल असार ३२ गते ‘जंगबहादुरको अङ्ग्रेजसँग षाडगुण्य’ शीर्षकमा प्रवचन दिए । कात्तिक ९ गते ‘जंगबहादुरको राजभक्ति’ शीर्षकमा नयराजको दोस्रो प्रवचन भयो । उनले यस्तो श्लोक उल्लेख गरेका थिए[४]–
हाम्रा राजा तरङ्गी, कलुषित चरित राजपत्नी हुनाले
धेरैले दुःख पाए, मुलुक पनि भताभुङ्ग बन्दो छ ऐले
पृथ्वीनारायणख्य प्रषित नृपतिको बुद्धिले जोडिएको
हाम्रो देश अहिले कुमति नृपतिको कामले डुब्न आँट्यो।
यो श्लोकले प्रज्ञा प्रतिष्ठानमा तहल्का मच्चियो। त्यतिखेर प्रज्ञाका कुलपति लैनसिंह बाङ्देल थिए। यस श्लोकमा उल्लेख भएको ‘कुमति नृपति’ भनी राजा वीरेन्द्र र "कलुषित चरित राजपत्नी " भनी ऐश्वर्यलाई लक्षित गरिएको भन्दै बिरोध गर्ने समूहको नेतृत्त्व उपकुलपति माधवप्रसाद घिमिरेले गरेका थिए। घिमिरेलाई साथ दिनेहरूमा सदस्यसचिव विजयबहादुर मल्ल, बालकृष्ण पोखरेल, भूपी शेरचन र ढुण्डिराज भण्डारी थिए।
उक्त श्लोकसहितको नयराज पन्तको प्रवचन लेखका रूपमा प्रज्ञा-प्रतिष्ठानको पूर्णांक २८ मा छापिएर तयार गरी वितरणका लागि ठिक्क पारिएको थियो। त्यतिखेरै नयराजमाथि श्लोक हटाउन चर्को दबाब आयो। तर नयराज आफ्नो अडानमा अडिए। ढुण्डिराज भण्डारीले नयराज पन्तलाई लेखमा उल्लेख गरिएका श्लोक हरफहरूमा अन्डरलाइन गरी दरबारमा पेस गर्नेसम्मको धम्की दिए। सहकर्मी प्राज्ञहरू यस्तो दबाबपछि नयराज न्याय माग्न प्रतिष्ठान कुलपति बाङ्देलसमक्ष गए। तर उनी पनि ‘माधव घिमिरेहरू मान्दै मान्दैनन्’ भनी पन्छिए। यो विषय नारायणहिटी दरबारसम्म पुग्यो। हुँदाहुँदै माधव घिमिरे पक्षहरूले ‘यदि, तपाईं श्लोक हटाउनुहुन्न भने हामी च्यात्छौँ’ भन्न थालेपछि नयराजले पनि उनीहरूलाई ‘तपाईंहरू बलवान हुनुहुन्छ भने च्यात्नुहोस्’ भनी चुनौती दिए।
यसरी आफ्नो लेखरचना च्यातिएपछि नयराजले प्रज्ञा-प्रतिष्ठानको सम्पादक मण्डलबाट राजीनामा दिए। तर राजीनामा स्वीकृत भएन।[५]
माधवप्रसाद घिमिरेहरूले नयराजलाई त्यसबेला राजद्रोहकै आरोप लगाएर दरबारसम्म कुरा पुर्याएका थिए। प्रज्ञा प्रतिष्ठानमा नयराजको सहायक भएर काम गरेका रुक्मनाथ पौडेलका अनुसार राजदरबारबाट नयराजमाथि कुनै नराम्रो दृष्टि भने परेको देखिएन। बरु अर्को वर्ष २०३७ मा राजा वीरेन्द्रको जन्मोत्सवमा नयराजको नाम दरबारबाट गोरखा दक्षिण बाहु (दोस्रो)का लागि घोषणा गरिदा[६] माधवप्रसाद घिमिरेहरूको अनुहार हेर्नलायक बनेको नयराजले रुक्मनाथहरूलाई सुनाएका थिए।[७]
संशोधन मण्डल
सम्पादन गर्नुहोस्पन्तले नेपाली भाषासाहित्यको उत्थानका लागि किशोरावस्थादेखि आफ्नो गच्छे रोपे। उनको जागरणका कारण उनी नेपाली भाषा प्रकाशनी समितिको सदस्य पनि भए। त्यहाँ पनि यिनले आफ्नो मन, वचन र कर्म अर्पण गरे। आफू इतिहासमा जागरुक भएपछि यिनको समेत पहलमा वि.सं. २००९ सालमा संशोधन मण्डलको स्थापना भयो। त्यसपछि उनी एकोहोरो त्यहीं लागिरहे। संशोधन मण्डलले नेपालको इतिहासका धेरै तथ्यहरू खोजेर बाहिर ल्याएको छ । पन्तले नेपाली पात्रोलाई आकाशमा देखिने वास्तविक ग्रह स्थितिअनुसार शुद्ध पार्ने योजना बनाए र तत्कालीन सरकारसमक्ष प्रस्तुत गरे, तर पञ्चायती सरकारले उनको त्यो योजनालाई कुनै सहयोग गरेन । पन्तले फुटकर रूपमा कविता र प्रबन्ध लेखे। धेरै चाहिं उनले इतिहास नै लेखे। उनका इतिहास विषयक पुस्तकमात्र पन्ध्रवटा प्रकाशित भए। साथै उनीद्वारा लिखित ज्योतिष विषयक कृतिहरू मात्र दसवटा प्रकाशनमा आए। उनीद्वारा लिखित संस्कृत वाङ्मयका बारे लेखिएको एउटा कृति पनि प्रकाशनमा आएको छ।
पुरस्कार
सम्पादन गर्नुहोस्पुरस्कार | प्राप्त | कारण, योगदान | सन्दर्भ |
---|---|---|---|
मदन पुरस्कार | वि.सं. २०४३ | लिच्छवि संवत्को निर्णय | [८] |
गोरखा दक्षिण बाहु प्रथम | वि.सं. २०३७ | नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान | [९] |
सम्मानार्थ महाविद्यावारिधी, त्रिभुवन विश्वविद्यालय | वि.सं. २०५७ | ||
त्रिभुवन प्रज्ञा पुरस्कार | २०४५ |
यिनले महेन्द्र विद्याभूषण पाइका थिए। साथै उनले, आदिकवि भानुभक्त पुरस्कार (२०५३),लगायत विभिन्न प्राज्ञिक, वाङ्मयी र सामाजिक सङ्घ संस्थाबाट सम्मान, अभिनन्दनहरू ग्रहण गरिरहे।
निधन
सम्पादन गर्नुहोस्उनको निधन वि.सं. २०५९ साल कात्तिक १८ गते भएको थियो।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०४४)", मदन पुरस्कार गुठी, सेप्टेम्बर २६, १९८७।
- ↑ मिश्र, तीर्थप्रसाद (अगस्ट १४, २०२४), "अमर व्यक्तित्वः पण्डितराज नयराज पन्त", प्रभाव दैनिक: page 4।
- ↑ पन्तको ‘राजद्रोह’, राजकुमार दिक्पाल, "महारानी राज्यलक्ष्मीको शंकास्पद सम्बन्ध र नयराज पन्तको ‘राजद्रोह’", हिमालमिडिया, अन्तिम पहुँच २०२५-०१-१२।
- ↑ पन्त, महेशराज (२०७१), को हुन् त नयराज पन्त, पृ: २०७–१०।
- ↑ श्रेष्ठ, तीर्थबहादुर (२०६२), नेपालका बौद्धिक विभूति नयराज पन्त, पृ: १७।
- ↑ "श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट मौसुफको जन्मोत्सवमा मानपदवी अलङ्कार र पदकहरु प्रदान गरेको", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२५-०१-१२।
- ↑ दिक्पाल, राजकुमार (२०७९), जंगबहादुरको युग, पृ: १४२।
- ↑ "नयराज पन्त", मदन पुरस्कार गुठी, जुन २५, २०१५।
- ↑ "श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट मौसुफको जन्मोत्सवमा मानपदवी अलङ्कार र पदकहरु प्रदान गरेको", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२५-०१-१२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- मदन पुरस्कार गुठी
- नयराज पन्त स्कुल अफ हिस्ट्री
- नयराज पन्त वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-३१ मिति