छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र छिन्नमस्ता को सखडा गाउँमा पर्छ । छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुॅदा नेपालभारतका आम जनमानसको ठुलो आस्था रहेको छ । यो मन्दिर सप्तरी सदरमुकाम राजविराजबाट १० किमी को दुरीमा रहेको छ । यो मन्दिर भारतीय सीमा नजिक रहेको छ । यस मन्दिरमा हिन्दुहरूको महान् चाड दशैँमा ठुलो घुइँचो लाग्ने गरेको छ र यहाँ बोकाको बलि दिने गरिन्छ । प्रायजसो हिन्दूहरू साना ठूला सवारी किन्दा चोख्याउन यहाँ आउने गरेका छन् ।

छिन्नमस्ता भगवती
छिन्नमस्ता भगवती मन्दिर
प्राथमिक विवरण
स्थान:सखडा, छिन्नमस्ता
सम्बन्धनहिन्दुत्व
जिल्लासप्तरी
देशनेपाल
देवी भगवतीको मुर्ति

इतिहास

प्राचीन इतिहास र किम्वदन्तीका अनुसार, सन् १०९७ मा मुसलमानले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव भागेर पाटलीपुत्र हुँदै मिथिला आई पुगेर सिम्रौनगढ (बारा)मा राजधानी कायम गरे। यिनै नान्यदेव वंशको पाँचौँ पुस्तामा शक्रसिंह देव राजा भएका थिए। उनी नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आए। त्यसबेला जङ्गलले ढाकिएको यस स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी राखे भन्ने भनाइ छ। देवीको शिर नभएकोले केही समयपछि छिन्नमस्ता भगवती भन्न थालिएको हो।

सिम्रौनगढका राजा शक्रसिंह देवले आफ्नो कुल देवी शुक्रेश्वरीको स्थापना गरी मन्दिर बनाएका थिए। [] राजा शुक्र सिंहको अपभ्रंश भएर नै उक्त गाउँ सखडा हुन गएको हो। तीन दशक पूर्वसम्म सखडा भगवतीलाई सखडेश्वरी भगवती भनेर नै पूजा गरिन्थ्यो।

मन्दिर

मन्दिरभित्र मूल देवीको रूपमा भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ। उक्त मूर्तिको पाउतिर राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुङ्गामा कुँदिएको छ। मूल मूर्तिको देब्रेपट्टि दक्षिणकाली, महषमर्दिनी र दाहिनेतिर चामुण्डा भैरवी र त्यस्तै कालो रङको अर्को प्रस्तर मूर्ति स्थापित छ। ती मूर्तिहरूलाई पञ्चभगिनी पनि भनिन्छ।

पूजा समितिले वर्षका चारवटै नवरात्रमा ५६ प्रकारका परिकार बनाई मध्यरातमा पूजा गर्ने गर्दै आएको छ। पूजा गर्दा केही विघ्नबाधा उत्पन्न हुन थालेपछि भगवतीको सिंहासनमा एउटा जन्तर राखी महाअष्टमीको राति तान्त्रिक विधिद्वारा पूजा गर्ने गरिएको छ। यहाँ बलि प्रदान गर्दा निस्केको रगतमा झिङ्गा नबस्नु, रगत लुगामा लागे पनि दाग नलाग्नु, रगत पोखरीको पानीमा मिसिदा रातो नहुनु, बलि प्रदान गर्ने नाममा राखेका खसी बाख्रालाई केही नहुनु, बलिका लागि किनेका पशुलाई कुकुर र स्याल टोकेको छ भने मन्दिर नपुग्दै मर्नु आदि आश्चर्यजनक काम हुँदै आएको भनाई रहेको छ ।

महत्त्व

छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुँदा यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरूको बोका, भेंडा, परेवा, हाँस र माछा आदि बलिदान सामग्रीसहित दिनहुँ घुइँचो लाग्ने गरेको मूल पूजारी महानन्द ठाकुर बताउनुहुन्छ। यहाँ प्रत्येक दिन ५० वटाभन्दा बढी तथा बडादसैँमा हजारौँ बोका, भेंडा, परेवा, हाँस र माछाको बलि चढाइन्छ। मनोकामना पूरा भएकाहरूले पञ्चबलिसमेत गर्छन्। यहाँ वर्षेनी ३० हजार भन्दा बढि बलि प्रदान हुने गरेको विश्वास गरिन्छ ।[]

छिन्नमस्ता भगवती मुसलमानहरूको पनि आस्थाको केन्द्र बनेको छ। मुसलमान समुदायका हजारौँ व्यक्ति विभिन्न मनोकामना लिएर छिन्नमस्ता भगवती मन्दिर बाहिर बसी फूल हैस गर्न आउने गरेका पूजारी ठाकुर बताउनुहुन्छ।

करिब सवासय वर्षअघि सखडाको भगवती मन्दिर एउटा गुफाको रूपमा थियो। त्यहाँ स्थानीय बासिन्दा च्याखुरी नानी र चुनीलाल ठाकुरले सफा गरी भीक्षाटनबाट सङ्कलित रकमबाट सानो मन्दिर निर्माण गरेका थिए तर सो मन्दिर वि.सं. १९९० सालको भूकम्पमा भत्किएकोले त्यस बेलाका पूजारी अनिरुद्ध ठाकुरले समाजको सहयोगमा टिनको छाना भएको मन्दिर बनाएका थिए सो पनि जीर्ण हुँदै गएकाले वि.सं. २०२८ सालमा तत्कालीन भारतीय रेल मन्त्री ललित नारायण मिश्रले पक्की मन्दिरको साथै तीन कोठे धर्मशाला पनि बनाउन लगाएका थिए। वि.सं. २०४४ सालमा तत्कालीन राजा बीरेन्द्रले मन्दिर निर्माणको लागि रु. पाँच लाख चढाएर भगवतीको प्यागोडा शैलीको भव्य मन्दिरको निर्माण गराए जुन अद्यावधि छ।

नेपाली बृहत् शब्दकोशमा छिन्नमस्ताको अर्थ घाँटी छिनेको, आफ्नो टाउको हातमा लिई घाँटीबाट निस्केको रगतको धारा त्यसै टाउकोलाई खुवाई रहेको भन्ने छ। यस कुरा सखडास्थित मूर्तिसंग मेल खाँदैन। वि.स. १९८४ मा सप्तरी जिल्लाको तिलाठी निवासी ज्योतिषी यदुनन्दन मिश्रले अष्टधातुले बनेको एउटा घण्टा सखडा मन्दिरमा चढाएका थिए। उक्त घण्टामा शक्रेश्वरी एकपटक र महिषमर्दिनी दुईपटक लेखिएको छ। यसबाट स्पष्ट हुन्छ शक्रसिंहले आफ्नो इष्टदेवी भगवती स्थापना गरेका थिए।

सखडा भगवतीको मूर्तिलाई सूक्ष्मरूपले हेर्दा तीनवटा टुक्रा मिलाएर स्थापित गरिएको देखिन्छ। सन् १३२८ मा गयाशुद्धिन तुगलकले तिरहुतमाथि आक्रमण गरेका थिए। जसको फलस्वरूप सिम्रोनगढ ध्वस्त भयो। सिम्रौगढका मूर्तिहरू समेत अहिले पनि फुटेकै अवस्थामा छन्। यस प्रकार सखडा भगवतीको मूर्ति पनि त्यहीबेलाको आक्रमणमा फुटेको इतिहासविद् हरिकान्तलाल दास अनुमान गर्नुहुन्छ। []

मेला

दशैंको समयमा यहाँ भव्य मेला लाग्ने गर्दछ । सप्तरी, सिरहा, सुनसरी, धनुषा, मोरङ, उदयपुर लगायत नेपाल तथा भारतको बिहार राज्यबाट श्रद्धालु भक्तजनहरूको घुइचो लाग्ने गर्दछ । दसैँको समयमा यहाँ घटस्थापना देखि टिकासम्म मेला लाग्ने गर्दछ ।

सन्दर्भ सामग्रीहरू

  1. मेचीदेखि महाकाली भाग- १
  2. "प्रसिद्ध शक्तिपीठ सखडेश्वरी", गोरखापत्र, अन्तिम पहुँच १० नोभेम्बर २०१४ 
  3. युवामञ्च, असोज २०६६, गोरखापत्र

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्