हर्रो
परिभाषासम्पादन
ठूलठूला पात हुने, मञ्जरीका रूपमा ससाना नीला फूल फुल्ने तथा छोहोराका आकारका टर्रा फल फल्ने एक जातको बोट । आयुर्वेदमा रेचक, वात–पित्त–कफनाशक, आँखालाई फाइदा गर्ने, अग्निवर्धक र बुद्धिवर्धक भनी बताइएको त्यसैको टर्रो स्वादको फल; त्रिफलामध्ये एक । यसलाई अंग्रेजीमा Myrobalans, Black myrobalan, Chebulic Myrobalan वा Indian Gall Nut तथा ल्याटिन भाषामा Terminalia chebula Retz, Terminalia oritrina Roxb, Terminalia chebula (Gaertn.) Retz, Terminalia chebula Retz.C.B.Clark in part वा Terminalia citrina Roxb. ex Flem. भनिन्छ ।
हर्रो | |
---|---|
![]() | |
पात झरेको हर्रोको रुख | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
भाग: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | T. chebula
|
वैज्ञानिक नाम | |
Terminalia chebula Retz. | |
पर्याय[१] | |
Walp.
|
उत्पत्तिसम्बन्धी प्राचीन प्रसङ्गसम्पादन
- इन्द्रले अमृत पिउँदा एक थोपा अमृत पहाडमा खस्न पुग्यो र त्यही अमृतको थोपाबाट सात प्रकारका हर्रोहरु उत्पन्न भए ।
- हर्रो शिवको भवन (हिमाल) मा उत्पन्न भएको हो ।
- चराहरूका राजा गरुडले अमृत पिउँदा केही थोपा अमृत जमिनमा खसे, त्यसैबाट हर्रो उम्रियो ।
- हर्रो अमृतबाट उत्पन्न भएको हो ।
हर्रोका संस्कृत पर्यायवाची नामहरुसम्पादन
अभया, अमृता, अमोघा, अव्यथा, कायस्था, चेतकी, चेतनिका, जया, जीवनिका, जीवनीया, जीवन्ती, जीवप्रिया, जीव्या, दिव्या, देवी, नन्दिनी, पथ्या, पूतना, प्रपथ्या, प्रमथा, प्राणदा, भिषग्वरा, रोहिणी, वयस्था, विजया, वृतना, शिवा, श्रेयसी, हरीतकी र हैमवती ।
हर्रोका जातहरुसम्पादन
हर्रो विजया, रोहिणी, पूतना, अमृता, अभया, जीवन्ती र चेतनी गरी सात प्रकारका हुन्छन् । नेपालतिर पाइने कालो रङको, ससानो फल फल्ने एक जातको हर्रोलाई भने 'जङ्गी हर्रो' भनिन्छ ।
हर्रोका विभिन्न नाम र जात रहनुका कारणहरुसम्पादन
- “हरीतकी” त्यसलाई भनिन्छ जसले रोगलाई सजिलैसँग हटाई शरीरलाई पुनः रोग लाग्नबाट बचाउँदछ । यहाँ “की” ले चमकलाई बुझाउँदछ ।
- सबै रोगलाई हरण गर्ने भएको हुनाले हर्रोलाई हरीतकी भनिएको हो ।
- सेवन गर्नाले रोगहरूको डर हुँदैन त्यसैले यसलाई अभया भनिन्छ ।
- शरीरलाई स्थिर बनाउने हुनाले यसलाई कायस्था भनिएको हो ।
- शरीरलाई प्रशोधन गरी पवित्र पार्ने हुनाले यसलाई पूतना भनिएको हो ।
हर्रोका जात अनुसारका रूप वा चिन्ने तरिकासम्पादन
- अभया: पाँच वटा धर्का हुन हर्रोेलाई अभया भनिन्छ ।
- अमृता: मोटो वा धेरै गुदी हुने अनि तीन वटा गेडा हुने हर्रोलाई अमृता भनिन्छ ।
- चेतकी: तीन धर्सा हुने हर्रोलाई चेतकी भनिन्छ । यो सेतो र कालो गरी दुई थरीको हुन्छ । सेतो छ अमल र कालो एक अमल लामो हुन्छ ।
- जीवन्ती: सुनजस्तो पहेँलो र चम्किलो हर्रोलाई जीवन्ती भनिन्छ ।
- पूतना: पातलो बोक्रा, ठुला गेडा र गुदी कम हुने हर्रोलाई पूतना भनिन्छ । कसैकसैले “जसको गेडा सानो हुन्छ त्यसलाई पूतना भनिन्छ” पनि भनेका छन् ।
- रोहिणी: गोलो जातको हर्रोलाई रोहिणी भनिन्छ ।
- विजया: तुम्बे लौकाको जस्तो नाइटो हुने वा यस्तो आकार हुने हर्रोलाई विजया भनिन्छ ।
हर्रोका जात अनुसारका गुणसम्पादन
- अभया: आँखाका रोगको उपचारका लागि अभया जातको हर्रो प्रयोग गर्नु पर्दछ ।
- अमृता: रोगीलाई दिसा लगाउनु पर्दा अमृता जातको हर्रो उपयुक्त हुन्छ ।
- चेतकी: सबै रोग नाश गर्न चेतकी जातको हर्रो उपयोगी हुन्छ । मानिसले हातमा चेतकी जातको हर्रो समाएर जबसम्म बस्दछ तबसम्म त्यो हर्रोको प्रभावले गर्दा निश्चय नै बेगले दिसा भइरहन्छ । धुलो प्रयोग गर्नुपर्दा पनि चेतकीको प्रयोग गर्नु उत्तम हुन्छ । चेतकी हर्रोको बोटमुनि छायामा जाने मानिस, पशु, पंक्षी, मृग आदि जीवले तुरुन्तै मलत्याग गरि दिन्छन् । यसैले राजा, सुकुमार पुरुष, दुर्बल र औषधी खान मन नपराउने पुरुषका लागि चेतकी जातको हर्रोले लाभ गर्दछ र सजिलै दिसा खुलाउन सहयोग गर्दछ ।
- जीवन्ती: दीर्घरोग नाश गर्न जीवन्ती जातको हर्रो उपयोगी हुन्छ । यो सबै रोगमा ओखती हुन्छ ।
- पूतना: लेप लगाउन पूतना जातको हर्रो उपयुक्त हुन्छ अर्थात् लेदोको प्रयोग गर्नुपर्दा वा मलम लगाउनु पर्दा पूतनाको प्रयोग गर्नु पर्दछ ।
- रोहिणी: सबै खालका ओखतीमा रोहिणी जातको हर्रो उपयोगी हुन्छ । घाउ हुँदा, खटिरा आउँदा र चोटपटक लाग्दा रोहिणी जातको हर्रो खानु पर्दछ ।
- विजया: सबै खालका ओखतीमा विजया जातको हर्रो पनि उपयोगी हुन्छ । सात जातका हर्रोमध्ये विजया जातको हर्रो सबभन्दा उत्तम हुन्छ । यो सर्वसुलभ हुन्छ र सबै रोगमा प्रयोग गर्न हुन्छ ।
कस्तो हर्रो ओखतीका लागि प्रयोग गर्ने?सम्पादन
- पानीमा हाल्दा डुब्ने हर्रोलाई उत्तम हर्रो भनिन्छ । पटकपटक डुबाउँदा पनि डुबिरहने खालको हर्रोलाई विज्ञ वैद्यजनले सर्वोत्तम हर्रो भनी थाहा पाउनु पर्दछ ।
- नयाँ वा ताजा,
- चिल्लो,
- पुष्ट वा खँदिलो,
- गोलो,
- जोख्दा दुई तोला हुने ।
हर्रोको स्वाद सम्पादन
हर्रोमा नुनिलो बाहेकका अन्य गुलियो, तितो, पिरो, टर्रो र अमिलो गरी पाँच रस हुन्छन् । हर्रोको बीजको बाहिरी भाग गुलियो तथा बीजको भित्री भाग पिरो हुन्छ । गुदी अमिलो र टर्रो हुन्छ । हर्रोको टुप्पोमा गुलियो, फलका रेशामा अमिलो, भेट्नु र बोक्रामा तितो र गेडानजिकको भागमा टर्रो रस रहेको हुन्छ । हर्रोको बोक्रा (चक्कुले) ताछेर खाँदा यसको स्वाद सखरको जस्तै तर केही टर्रो हुन्छ । हर्रो पचेपछिको रसको स्वाद गुलियो हुन्छ । (आयुर्वेद अनुसार खानपिन पचेर रस बन्दछ र रस पचेर रगत बन्दछ) ।
फाइदासम्पादन
- यो रेचनी हुन्छ । पेटमा रहेका राम्ररी पचेका वा केही नपचेका खाएका कुरालाई पातलो बनाई मलद्वारतिर धकेल्ने औषधीको गुणलाई रेचनी भनिन्छ ।
- यसले पेटका (कलेजो, फोक्सो आदि समेत) रोग नाश गर्दछ ।
- यो रसायनी हुन्छ । बुढ्यौली आउन नदिने वा बूढालाई तन्नेरी गराउने अथवा शरीरको बुढ्यौली (सत्तरी वर्ष पछि) मा हुने रोग र (सबै उमेरका) जरो आदि रोगलाई निको पार्ने खालको ओखतीको गुणलाई रसायनी भनिन्छ ।
- यसले आँखाका रोग, त्रिदोष (वात, पित्त र कफ), अल्काई रोग, कमलपित्त अर्था् जन्डिस, कलेजोका रोग, कुष्ठरोग, खटिरा (व्रण), खोकी, गुल्म अर्थात् गानुगोला र छालाका रोग नाश गर्दछ ।
- यो योगवाहिनी हुन्छ । शरीर भित्र गर्मी गर्ने पदार्थसँग मिलेर अति गर्मी गर्ने र ठण्डी गर्ने पदार्थसँग मिली अति ठण्डी गर्ने गुण हुने ओखतीलाई योगवाहिनी भनिन्छ ।
- यसले आध्मान अर्थात् अपानवायु रोकिनाले छालाको थैलो फुले जसरी पेट फुल्ने रोग नाश गर्दछ ।
- यसले आनाहअर्थात् पचेर अथवा नपची दूषित भएको मलमूत्र पेटमा रोकिएर हुने रोग नाश गर्दछ ।
- यसले उदावर्त (अपानवायु माथितिर सरी मलमूत्रलाई पनि माथिमाथि तान्ने पेटको रोग । अपानवायु, दिसा, पिसाब, हाई आँसु, हाच्छिउँ, डकार, बान्ता, शुक्र, भोक, तिर्खा, निःश्वास र निद्रा आउन लाग्दा जबरजस्ती रोक्ने गरे यो रोग लाग्दछ । रोग लागिसकेपछि दिसा, पिसा र अपानवायु बन्द हुन्छ । पेट कराउने गर्दछ । शरीर कमजोर भई दुख्न थाल्दछ) रोग नाश गर्दछ ।
- हर्रोले ग्रहणी रोग (जठराग्निको आधार भएकी नाइटोभन्दा केही माथि ग्रहणी (खानपिन ग्रहण गर्ने) एउटा नाडी हुन्छे । यिनको काम नपचेको कुरा पचाई मलमूत्र मनाएर शरीर बाहिर निकाल्नु हो । यो नाडीमा कुनै विकार भई खाएपिएको नपची बाहिर निस्कने वा पचेपनि पटकपटक गरेर बाहिर निस्कने रोगलाई ग्रहणी भनिन्छ । खाएको चिजमा बोसे आन्द्रोले गर्नुपर्ने काम गर्न नसक्दा हुन जाने पेटको रोगलाई पनि ग्रहणी भनिन्छ । यो रोगमा पेट फुल्ने, दुख्ने, दिसा लागिरहने र भोक नलाग्ने समस्या हुन्छ ।) नाश गर्दछ ।
- यसले घाँटीको स्वर बस्ने वा धोत्रिने आदि रोग, चर्मरोग (दाद, लुतो आदि), छारेरोग (मूर्छा हुने रोग), छेरपटी, जडता (सबैखाले प्यारालाइसिस), जरो, टाउकाका रोग, तिघ्रा गल्ने रोग, दम, पत्थरी, मूत्रकृच्छ्र (पिसाबले च्याप्ने तर गर्न खोज्दा थोपा थोपा मात्र हुने रोग), पाण्डु (सेतो दुभी), पेटमा पर्ने चुर्ना आदि, अन्य पेटसम्बन्धी रोग, प्रदर (स्त्री–जननेन्द्रियबाट सेतो पानी बग्ने रोग), प्रमेह रोग (पिसाबसँग मिसिई वीर्य अथवा शरीरका अरू धातु पातलिएर जाने मधुमेह लगायतका २१ थरी रोगहरू), फियोका रोग, बाडुली रोग, बोसोसम्बन्धी रोग, मुटुसम्बन्धी रोगहरू, मूत्रघात (पिसाब नखुल्ने रोग), वाकवाकी, विबन्ध (कब्जियत) र विषमज्वर (टाइफाइड) जस्तै रोग नाश गर्दछ ।
- हर्रोले विष विकार (दुई वा दुईभन्दा बढी द्रव्यको संयोगले पैदा हुने), शूल, सुजन, स्रोत ग्रन्थीमा हुने अडचनका रोग र क्षयरोग नाश गर्दछ ।
- हर्रो शरीरलाई प्रशोधन गर्ने गुणको हुन्छ । यो पचाउन सजिलो हुन्छ ।
- यसले (दिसा आदि) खुलाउने वा सार्ने काम गर्दछ । विशेषतः यसले आमलाई पचाउने काम गर्दछ । खाएपिएका कुरा पचेपछि बन्ने रस अथवा प्रिायः आहार राम्ररी नपाकी वा नपची बनेको रसलाई आम भनिन्छ ।
- हर्रोले बुद्धि-बल र इन्द्रियलाई एक आपसमा मिलन गराउने, दिर्घायु प्रदान गर्ने तथा वीर्य, पुष्टि, बुद्धि र पाचनशक्तिलाई बढाउँदछ ।
- हर्रो ज्ञानेन्द्रियलाई बलियो बनाउने गुणको हुन्छ ।
- हर्रोको अर्कले जाइफलको मदात्यय नाश गर्दछ ।
- भनिएको छ कि “आमा बरु आफ्ना सन्तानसँग रिसाउलिन् तर पेटभित्र गएको हर्रो रिसाउँदैन” । अर्थात् यसले कुनै बेफाइदा गर्दैन ।
हर्रोको महत्व दर्शाउने खालको “हर्रो हराउँदो बर्रो धाउँदो” भन्ने उखान नेपालमा पहिले पहिले सुनिन्थ्यो ।
बेफाइदासम्पादन
हर्रोमा विशेष गरी कसिलो (शरीर भित्रका हरेक रस वा धातुलाई सोस्ने र बाँध्ने) गुण हुन्छ । यो फल रुखो हुन्छ र गर्मी गर्दछ । बाहिरी बोक्रा बाक्लो हुने, रसिलो र साना गेडा हुने हर्रो पचाउन कठिन हुन्छ अरु हर्रो पचाउन सहज हुन्छ । हर्रोले शुक्रलाई सोस्दछ वा सुकाउँदछ (शोषणी च हरीतकी) । वीर्य–लेखन हर्रोको गुण हो । अरु कुनै रोग विशेषका लागि हर्रो त्यत्तिकै वा पोलेर चुसिरहने गर्दा हर्रोले गर्ने उपर्युक्त दोषका बारेमा पनि थाहा पाइरहनु पर्दछ । त्रिफलाकारुपमा हर्रोको प्रयोग गर्दा हर्रोको यो गुण (वा दोष) कम हुन्छ ।
हर्रोको प्रयोग विधिसम्पादन
हर्रो चुसेर खाए पाचन शक्ति बढाउँदछ । लेदो (पेस्ट) बनाएर वा घोटेर खाए आन्द्रामा भएको मल सफा गर्दछ वा दिसा खुलाउँदछ । उमालेर वा बफ्याएर खाए यसले खाएको कुराबाट पौष्टिकतत्व लिने शरीरको क्षमता बढाउँदछ र दिसा बन्द गराउँदछ । भुटेर खाए यसले त्रिदोष (कफ, वात र पित्त) लाई सन्तुलित बनाउँदछ । खानासँगै हर्रो खाँदा बुद्धि, बल र इन्द्रियलाई लाभ गर्दछ, वात–पित्त–कफ नष्ट गर्दछ, मलमूत्रसम्बन्धी विकारलाई शरीरबाट बाहिर निकाल्दछ । खाना खाएपछि खाइएको हर्रोले गलत खानपिनका कारण हुने त्रिदोषका विकार र खाद्य कैफियत (फूड प्वाइजनिङ्ग)लाई तुरुन्त हटाउँदछ । (भुटेर) धुलो बनाई खाए अन्नले पेटभित्र गरेको बिगारलाई नाश गर्दछ ।
हर्रोलाई नुनसँग मिसाएर खाए कफविकार (खोकी आदि) ठीक गर्दछ । चिनीसँग मिसाएर खाए पित्त (मुखबाट अमिलो पानी आउने, पेट पोल्ने आदि पित्तजन्य रोगहरु) ठीक गर्दछ । घिउसँग मिसाएर खाए वात (अमिलो डकार आउने, हावा भरिएर पेट फुुल्ने आदि) ठीक गर्दछ । सखरसँग खाए सबै रोग नष्ट गर्दछ ।
जो रस प्रयोजनका लागि हर्रो खान चाहन्छन् तिनले हर्रोलाई ग्रीष्म ऋतु (जेठ र असार महिना) मा सक्खर वा मिस्रीसँग बराबर मात्रामा मिसाएर, वर्षा ऋतु (साउन र भदौ महिना) मा सिधेनुनसँग आवश्यक मात्रामा मिसाएर, शरद ऋतु (असौज र कार्तिक महिना) मा सफा सक्खर वा चिनीसँग बराबर मात्रामा, हेमन्त ऋतु (मंसिर र पुस महिना) मा अदुवाको धुलो (सुठो) सँग आवश्यक मात्रामा, शिशिर ऋतु (माघ र फागुन महिना) मा पिप्लासँग आवश्यक मात्रामा र वसन्त ऋतु (चैत र वैशाख महिना) मा महसँग आवश्यक मात्रामा मिसाएर खानु पर्दछ । यसरी खाने गरिएको हर्रोले सबै रोग नाश गर्दछ ।
हर्रो खान नहुने अवस्थासम्पादन
तिर्खा लागेका बेलामा, चिउँडो र कन्चटका बीचको हाड नचल्ने रोग हुँदा (हनुस्तम्भ), कफ बढेर सास फेर्न असजिलो पार्ने घाँटीको रोग (गलग्रह) हुँदा, कुनै पनि किसिमका क्षयरोग (शोष) हुँदा, नयाँ ज्वरमा (भर्खर जरो आउन लाग्दा), कमजोर हुँदा र गर्भिणी हुँदा हर्रो खानु फाइदाजनक हुँदैन । हिँडेर वा परिश्रमले थाकेको बेलामा, कमजोर अवस्थामा, शरीर सुक्खा भएको बेलामा, लामो समय उपवास बसेको बेलामा, पित्त धेरै बढेको अवस्थामा (कमलपित्त आदि भएको अवस्थामा), गर्भिणी अवस्थामा तथा रगत बहाएर उपचार गरि रहिएको अवस्थामा वा यस्तो उपचारपछि वा शरीरबाट रगत भिकिए पछि तुरुन्त हर्रो नखानू ।
उपर्युक्त जानकारीको श्रोत ग्रन्थहरूसम्पादन
- अमरकोश,
- नेपाली बृहत् शब्दकोश,
- के.यन.स्वामीको अनलाइन संस्कृत–नेपाली शब्दकोश,
- आयुर्वेद महाकोश,
- राज निघण्टु,
- मदनपाल निघण्टु,
- भावप्रकाश निघण्टु, https://archive.org/details/1_20220303_20220303_1550
- शार्ङ्गधर संहिता, https://archive.org/details/20220511_20220511_0831
- आयुर्वेद–महोदधि, https://archive.org/details/20220303_20220303_2331
- अर्कप्रकाश, https://archive.org/details/20220504_20220504_0756
चित्र दिर्घासम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "The Plant List: A Working List of All Plant Species", अन्तिम पहुँच ७ अगस्ट २०१५।